अतिरिक्त लेख
ख्रिष्टियन आमाबुबालाई सन्देश:
आमाबुबा हो, तपाईँ आफ्ना प्यारा छोराछोरीले यहोवालाई प्रेम गरेको अनि आफ्नो जीवन उहाँलाई समर्पण गरेको चाहनुहुन्छ होला। तपाईँ कसरी तिनीहरूलाई बप्तिस्माको लागि तयार हुन मदत गर्न सक्नुहुन्छ? यो महत्त्वपूर्ण कदम चाल्न तिनीहरू कहिले तयार हुन्छन्?
येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: ‘सबै जातिका मानिसहरूलाई चेला बनाओ र बप्तिस्मा गराओ।’ (मत्ति २८:१९) यस पदबाट बप्तिस्मा गर्न चाहने व्यक्ति सबैभन्दा पहिला येसुको चेला भइसकेको हुनुपर्छ भनेर बुझ्न सक्छौँ। यसको मतलब तिनले उहाँको शिक्षा बुझेर अनि विश्वास गरेर मात्र पुग्दैन तर तिनी त्यसअनुसार चल्नु पनि पर्छ। साना केटाकेटीले पनि यसो गर्न सक्छन्।
छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुहोस्। तिनीहरूको हृदयमा यहोवाका शिक्षाहरू राखिदिनुहोस्। (व्यव. ६:६-९) यसको लागि तिनीहरूलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबबाट बाइबलको आधारभूत शिक्षा सिकाउनु अनि बाइबलमा पाइने सिद्धान्तहरूको आधारमा सोच्न र त्यसैअनुरूप जीवन बिताउन मदत गर्नु पनि आवश्यक छ। अरूलाई आफ्नै शब्दमा आफ्नो विश्वासबारे भन्न तिनीहरूलाई मदत गर्नुहोस्। (१ पत्रु. ३:१५) व्यक्तिगत अध्ययन, पारिवारिक उपासना, मण्डलीका सभाहरू, असल साथीसङ्गत र तपाईँबाट पाएको शिक्षा अनि प्रोत्साहनले तिनीहरूलाई बप्तिस्मा गर्न र त्यसपछि पनि अझै उन्नति गर्न मदत गर्नेछ। तिनीहरूले के-कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्छन्, त्यसबारे विचार गर्न निरन्तर मदत गर्नुहोस्।
हितोपदेश २०:११ यसो भन्छ: “बालकसमेत उसको व्यवहारबाटै चिनिन्छ, उसको चालचलन शुद्ध र असल छ कि छैन, त्यो थाह हुन्छ।” तपाईँको छोरा वा छोरी येसु ख्रिष्टको चेला हुन योग्य भइसकेको छ कि छैन अनि बप्तिस्मा गर्न तयार भइसकेको छ कि छैन भनेर कसरी थाह पाउन सक्नुहुन्छ?
बप्तिस्मा गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छोरा वा छोरीले आफ्नो आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। (प्रेषि. ५:२९; कल. ३:२०) येसु १२ वर्षको हुनुहुँदा उहाँले बसाल्नुभएको उदाहरणबारे बाइबलमा यस्तो लेखिएको छ: “उहाँ . . . [आमाबुबाप्रति] आज्ञाकारी भइरहनुभयो।” (लुका २:५१) हुनत तपाईँको छोरा वा छोरी त्रुटिपूर्ण छन्। तर बप्तिस्मा गर्न चाहने छोराछोरीले येसुको अनुकरण गर्न सक्दो गरेको हुनुपर्छ र आमाबुबाको अधीनमा बस्ने छोरा वा छोरीको रूपमा चिनिएको हुनुपर्छ।
साथै बप्तिस्मा गर्न चाहने छोरा वा छोरी बाइबलको सत्य कुरा सिक्न इच्छुक हुनुपर्छ। (लुका २:४६) के तपाईँको छोरा वा छोरी सभा जान र सभामा भाग लिन इच्छुक छन्? (भज. १२२:१) के तिनको नियमित रूपमा बाइबल पढ्ने र व्यक्तिगत अध्ययन गर्ने बानी छ?—मत्ति ४:४.
बप्तिस्मा गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छोरा वा छोरीले परमेश्वरको राज्यलाई पहिलो स्थान दिन सक्दो गर्नुपर्छ। (मत्ति ६:३३) आफ्नो विश्वासबारे अरूलाई बताउने जिम्मेवारी तिनले स्विकार्नुपर्छ। तिनले प्रचारकार्यको विभिन्न पक्षमा भाग लिएको हुनुपर्छ। साथै आफ्ना शिक्षकहरू र स्कुलका साथीहरूलाई आफू यहोवाको साक्षी हुँ भनेर चिनाउन लाज मान्नु हुँदैन। तिनले जीवन र सेवा सभामा पाएको असाइनमेन्टलाई गम्भीरतासाथ लिएको हुनुपर्छ।
नराम्रो सङ्गतबाट अलग रहेर तिनी नैतिक रूपमा स्वच्छ हुनुपर्छ। (हितो. १३:२०; १ कोरि. १५:३३) तिनी कस्तो गीत सुन्छन्? कस्तो फिल्म अनि टिभी कार्यक्रम हेर्छन्? कस्तो भिडियो गेम खेल्छन् र इन्टरनेटमा के हेर्छन्? यसबाट तिनले नैतिक रूपमा स्वच्छ रहन सक्दो गर्दै छन् कि छैनन् भनेर थाह हुन्छ।
थुप्रै केटाकेटीले आफ्नो आमाबुबाको कडा मेहनत खेर जान दिएका छैनन्। तिनीहरूले सत्यलाई आफ्नो बनाएका छन् र युवावस्थामै बप्तिस्मा गर्न योग्य भएका छन्। बप्तिस्मा भनेको यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न चाल्नुपर्ने एउटा महत्त्वपूर्ण कदम हो। तपाईँले आफ्नो छोराछोरीलाई यो कदम चाल्न मदत गर्नुहुँदा यहोवाले तपाईँको प्रयासमा आशिष् देऊन्।
बप्तिस्मा नगरेका प्रकाशकलाई सन्देश:
बप्तिस्मा नगरेको प्रकाशकको रूपमा मण्डलीमा सेवा गर्न पाउनु ठूलो सुअवसर हो। तपाईँले गर्नुभएको आध्यात्मिक उन्नतिको हामी प्रशंसा गर्छौँ। बाइबल अध्ययन गरेर तपाईँले परमेश्वरलाई चिन्नुभएको छ र उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्नुभएको छ।—युह. १७:३; हिब्रू ११:६.
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुअघि सायद तपाईँ अर्कै धर्म मान्नुहुन्थ्यो होला। अथवा कुनै धर्म मान्नुहुन्न थियो होला। सायद तपाईँ बाइबलका सिद्धान्तहरूसित मेल नखाने काम गर्नुहुन्थ्यो होला। तर अब तपाईँले पश्चात्ताप गरेर अनि आफूलाई परिवर्तन गरेर विश्वास प्रकट गर्नुभएको छ। पश्चात्ताप गर्नु भनेको पहिला आफूले गरेको नराम्रो कामको लागि मनैदेखि पछुतो मान्नु हो। अनि परिवर्तन गर्नु भनेको गलत आनीबानी त्यागेर परमेश्वरको नजरमा जे सही छ, त्यही गर्ने अठोट गर्नु हो।—प्रेषि. ३:१९.
अथवा तपाईँलाई “शैशवकालदेखि नै” पवित्र लेखोटहरू थाह थियो होला। त्यसो हो भने तपाईँ बाइबलको शिक्षासित नमिल्ने आचरण देखाउन र गम्भीर गल्ती गर्नदेखि जोगिनुभएको छ। (२ तिमो. ३:१५) तपाईँले साथीहरूको दबाब र यहोवाको इच्छाविपरीत काम गर्ने प्रलोभनको सामना गर्न सिक्नुभएको छ। साँचो उपासनाको पक्षमा खडा भएर अनि आफूले सिकेको कुरा अरूलाई बताएर तपाईँले आफ्नो विश्वास प्रकट गर्नुभएको छ। तपाईँले सेवाको काममा तालिम पनि पाउनुभएको छ। अबचाहिँ तपाईँ आफैले बप्तिस्मा नगरेका प्रकाशकको रूपमा यहोवाको सेवा गर्ने निर्णय गर्नुभएको छ।
तपाईँले वयस्क भइसकेपछि यहोवाको तौरतरिकाबारे सिक्नुभएको होस् वा सानैदेखि, अब तपाईँ आध्यात्मिक उन्नति गर्ने क्रममा थप दुई कदम चाल्नेबारे गहिरिएर सोच्दै हुनुहुन्छ होला। ती हुन्, समर्पण र बप्तिस्मा। सधैँभरि यहोवाकै मात्र सेवा गर्ने आफ्नो निर्णय प्रार्थनामा बताएर तपाईँ उहाँलाई आफ्नो जीवन समर्पण गर्नुहुन्छ। (मत्ति १६:२४) समर्पण गरेको कुरा देखाउन पानीमा बप्तिस्मा गर्नुहुन्छ। (मत्ति २८:१९, २०) समर्पण र बप्तिस्मा गरेपछि तपाईँ यहोवा परमेश्वरको नियुक्त सेवक बन्नुहुन्छ। यो निकै ठूलो सुअवसर हो।
तर यहोवाको सेवक भएपछि थुप्रै बाधाविघ्न सामना गर्नुपर्ने हुन्छ भनेर पनि तपाईँले बाइबल अध्ययन गर्दा थाह पाइसक्नुभयो। याद गर्नुहोस्, बप्तिस्मा गर्नुभएको केही समयपछि नै “परमेश्वरको शक्तिले येसुलाई निर्जनभूमितिर डोऱ्यायो, जहाँ दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्यो।” (मत्ति ४:१) बप्तिस्मा गरेर येसु ख्रिष्टको चेला बनेपछि तपाईँले थुप्रै परीक्षाको सामना गर्नुपर्ने हुन सक्छ। (युह. १५:२०) ती परीक्षा विभिन्न खालका हुन सक्छन्। तपाईँको परिवारले विरोध गर्न सक्छ। (मत्ति १०:३६) स्कुलका, काम गर्ने ठाउँका वा पहिला सङ्गत गरेका साथीहरूले तपाईँको गिल्ला गर्न सक्छन्। यस्तो अवस्थामा मर्कुस १०:२९, ३० मा येसुले भन्नुभएको कुरा सधैँ मनमा राख्नुहोस्: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ, उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी, जग्गा-जमिन पाउनेछ र आउने युगमा अनन्त जीवन पाउनेछ।” त्यसैले यहोवासित नजिक भइरहन र उहाँको धार्मिक स्तरअनुरूप जीवन बिताउन भरमग्दुर कोसिस गरिरहनुहोस्।
बप्तिस्मा गर्न चाहनुहुन्छ भने एल्डरहरूको निकायको संयोजकलाई आफ्नो इच्छाबारे बताउनुहोस्। तिनीहरूले यसपछिको भागमा भएका प्रश्नहरूमा आधारित भई तपाईँसित छलफल गर्नेछन्। यो छलफलको उद्देश्य तपाईँ बप्तिस्मा गर्न योग्य हुनुहुन्छ कि हुनुहुन्न भनेर पक्का गर्नु हो। व्यक्तिगत अध्ययनको दौडान तपाईँ ती प्रश्नहरूको तयारी सुरु गर्न सक्नुहुन्छ।
छलफलको लागि तयारी गर्दा उद्धरण गरिएको सबै बाइबल पद पढ्नुहोस् र मनन गर्नुहोस्। तपाईँले यही किताबमा वा अन्त कतै नोट पनि लेख्न सक्नुहुन्छ। पछि एल्डरहरूसित छलफल गर्दा नोट र किताब हेर्दै जवाफ दिन सक्नुहुन्छ। प्रश्न बुझ्नुभएन भने आफ्नो बाइबल अध्ययन सञ्चालक अथवा एल्डरहरूसँग मदत माग्न अप्ठ्यारो नमान्नुहोस्।
एल्डरहरूसित छलफल गर्दा लामो जवाफ दिनुपर्छ भनेर नसोच्नुहोस्। आफ्नै शब्दमा छोटोमीठो जवाफ दिनु बेस हो। प्रश्नहरूको जवाफ दिनुहुँदा एक-दुइटा बाइबल पद पनि चलाउन सक्नुहुन्छ। यसो गर्दा तपाईँको जवाफ बाइबलमा आधारित छ भन्ने कुरा अझै स्पष्ट हुन्छ।
तपाईँले बाइबलको आधारभूत शिक्षा राम्ररी बुझ्नुभएको छैन रहेछ भने एल्डरहरूले तपाईँलाई मदत गर्न प्रबन्ध मिलाउनेछन्। यस्तो मदत पाएपछि तपाईँ बाइबलको शिक्षा आफ्नै शब्दमा बताउन र पछि बप्तिस्माको लागि योग्य हुन सक्नुहुनेछ।
[एल्डरहरूको लागि नोट: बप्तिस्मा गर्न चाहनेहरूसित कसरी छलफल गर्ने भन्ने विषयमा पृष्ठ २०८-२१२ मा निर्देशनहरू दिइएको छ।]