‘के म परमेश्वरको लागि मूल्यवान् छु?’
“के मेरो कुनै मूल्य छ? के परमेश्वरले मेरो फिक्री गर्नुहुन्छ?” क्रिश्चियानिटी टुडे-मा प्रकाशित एउटा लेखको शीर्षक त्यस्तो थियो। त्यसका लेखक, फिलिप यान्से यसो भन्छन्, “लेखकको हैसियतमा मेरो पेशाको अधिकांश भाग नै पीडाको समस्यासित सम्बन्धित भएको छ। कहिल्यै निको नहुने पुरानो घाउ कोट्याएझैं म बारम्बार त्यही प्रश्न दोहोऱ्याउँछु। पाठकहरूका प्रतिक्रिया सुन्छु र तिनीहरूका पीडादायी कथाहरूले मेरा शंकाहरूलाई झनै पुष्टि गर्छन्।”
परमेश्वरले तपाईंको जीवनमा चासो राख्नुहुन्छ कि हुन्न भनेर तपाईंले पनि सोच्नुभएको होला। तपाईंलाई यूहन्ना ३:१६ मा के भनिएको छ, थाहै होला। त्यहाँ यसो भनिएको छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो।” अथवा तपाईंले मत्ती २०:२८ पढ्नुभएको होला जहाँ भनिएको छ, “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” येशू आउनुभयो। तपाईं अझै प्रश्न गर्नुहोला, ‘के परमेश्वरले मेरो परवाह गर्नुहुन्छ? के उहाँले मेरो व्यक्तिगत तवरमा फिक्री गर्नुहुन्छ?’ उहाँले फिक्री गर्नुहुन्छ भनेर विश्वास गर्ने ठोस कारणहरू यसपछिको लेखमा पाउनेछौं।