विश्वासले तिनलाई काम गर्न उत्प्रेरित गऱ्यो
यहोवाले इस्राएल राष्ट्रलाई मिश्री दासत्वबाट मुक्त गर्न खटाउँदा सुरुमा मोशा यसो भन्दै पन्छिन खोजे: “प्रभो, म बोल्नमा उस्तो सिपालो छैनँ, नता अघि म सिपालो थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालो भएको छु, किनकि म बोल्नमा ढीलो छु, र मेरो जिब्रो उति लाग्दैन।” (प्रस्थान ४:१०) हो, मोशाले आफूलाई त्यस्तो गहन जिम्मेवारीको योग्य ठानेनन्।
त्यस्तैगरि आज यहोवाका अधिकांश सेवकहरू सुम्पेको काम पूरा गर्न कहिलेकाहीं आफूलाई अयोग्य ठान्छन्। उदाहरणका लागि, थिअडोर नाउँ गरेका मसीही निरीक्षक यसो भन्छन्: “यहोवाले मलाई अह्राउनुभएको कामहरूमध्ये क्षेत्र सेवकाई सबैभन्दा कठिन लाग्छ। केटाकेटी छँदा म दौडेर ढोकानिर पुग्थें र घण्टी बजाएजस्तो गर्थें, त्यसपछि कसैले थाह नपाओस् भनेर चुपचाप फर्कन्थें। अलिक हुर्केपछि मैले त्यसो गर्न छाडें तर घर-घर जाने कुरा सम्झने बित्तिकै जीउ फतक्क गल्थ्यो। अहिले पनि सेवकाईमा जाने भन्ने बित्तिकै चक्कर लाग्छ। तैपनि म जान्छु।”
मोशा र आधुनिक समयका थिअडोरजस्ता साक्षीहरूलाई कुन कुराले यस्तो डर हटाउन मदत गऱ्यो? बाइबलले यसरी जवाफ दिन्छ: “विश्वासैबाट . . . तिनले [मोशा] मिश्र देश छोड़े। किनकि अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।”—हिब्रू ११:२७.
निस्सन्देह, यहोवामाथि विश्वास गरेको कारणले गर्दा नै मोशाले आफू अयोग्य छु भन्ने भावनालाई हटाउन सके। तिनले न्यायकर्ता, अगमवक्ता, राष्ट्र नेता, व्यवस्था वाचाको मध्यस्थकर्ता, सेनापति, इतिहासकार र बाइबल लेखकको हैसियतमा आफ्नो जिम्मेवारी पूरा गरे।
हामीसित पनि मोशाको जस्तै विश्वास छ भने, “अदृश्यलाई देखेझैं गरी” अघि बढ्नेछौं। आफू अयोग्य महसुस भए तापनि त्यस्तो विश्वास छ भने, त्यसले हामीलाई साहस दिन्छ। फलस्वरूप हामी आफ्नो मसीही जिम्मेवारी पूरा गर्नसक्छौं।