पाठकहरूका प्रश्नहरू
केही वर्ष यताको प्रतिवेदन हेर्दा स्मरणार्थ प्रतीकहरूमा भाग लिनेहरूको संख्या अलिक बढेको छ। के यसको अर्थ थुप्रै नयाँ व्यक्तिहरू पवित्र आत्माले अभिषिक्त भइरहेका छन्?
अभिषिक्त मसीहीहरूको १,४४,००० संख्या दशकौंअघि पूरा भइसक्यो भनेर विश्वास गर्ने असल कारण छ।
त्यस सीमित समूहका प्रथम व्यक्तिहरूबारे प्रेरित २:१-४ मा यस्तो लेखिएको पाउँछौं: “औ जब पेन्तिकोसको दिन आइपुगेको थियो, तब तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, ती तिनीहरू एक एक माथि बसे। अनि तिनीहरू सबै पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।”
त्यसपछि यहोवाले अरूलाई पनि छान्नुभयो र तिनीहरू- लाई पवित्र आत्माले अभिषेक गर्नुभयो। मसीही धर्मको प्रारम्भिक वर्षहरूमा अरू हजारौं व्यक्तिहरू थपिए। अनि आज हाम्रो समयमा स्मरणार्थ उत्सव मनाउँदा वक्ताले अक्सर रोमी ८:१५-१७ मा प्रेरित पावलका शब्दहरूप्रति ध्यानाकृष्ट गराउँछन्, जहाँ अभिषेक गरिएकाहरूले ‘धर्मपुत्र हुने आत्मा पाउँछन्’ भनेर उल्लेख गरिएको छ। तिनीहरूले पाएको पवित्र आत्माले ‘तिनीहरू परमेश्वरका सन्तान र ख्रीष्टसित साझे हकवालाहरू हुन् भनी आत्मा आफैले गवाही दिन्छ’ भनेर पनि पावलले थप कुरा बताए। यसरी आत्माद्वारा साँच्चै अभिषेक हुनेहरूले यो पक्कै पनि थाह पाउँछन्। यो, इच्छा गरेर वा भावनामा बहेर अनि आफ्नो विषयमा अवास्तविक दृष्टिकोण अपनाएर हुने होइन।
हामीलाई थाह छ, यो स्वर्गीय बोलावट शताब्दीयौंदेखि चल्दै आएको छ। तथापि, अँध्यारो युग कहलाइएको समयताक अभिषिक्त जनहरूको संख्या समय समयमा कम भएको हुनसक्छ।a गत शताब्दीको अन्तमा साँचो मसीही धर्मको पुनर्स्थापनासँगसँगै धेरै जना बोलाइए र छानिए। तर १९३० दशकको मध्यतिर चाहिं १,४४,००० को कुल संख्या लगभग पूरा भयो जस्तो देखिन्छ। त्यसैकारण त्यसबेलादेखि पार्थिव आशा भएका वफादार मसीहीहरूको अर्को समूह देखा पऱ्यो। तिनीहरूलाई येशूले “अरू भेडा” भन्नुभएको थियो। र अभिषिक्त मसीहीहरूसँगसँगै एउटै अनुमोदित बगालको रूपमा तिनीहरू एकताबद्ध भई सेवा गर्छन्।—यूहन्ना १०:१४-१६.
अभिषिक्त जनहरूको बोलावट पूरा भएको र “महा संकष्ट” पार गर्ने आशा भएका बढ्दो “ठूलो भीड़[ले]” यहोवाको आशिष् पाएको कुरा बितेका दशकहरूको तथ्यले देखाउँछ। (प्रकाश ७:९, १४) उदाहरणका लागि, सन् १९३५ को स्मरणार्थ उत्सवमा ६३,१४६ जना उपस्थित थिए र आफ्नो विश्वासको आमघोषणाको प्रमाणस्वरूप त्यस प्रतीकमा भाग लिने अभिषिक्त जनहरूको संख्या चाहिं ५२,४६५ थियो। तीस वर्षपछि अथवा सन् १९६५ मा १९,३३,०८९ जना उपस्थित थिए भने भाग लिनेहरूको संख्या खस्केर ११,५५० पुग्यो। अनि यसको ३० वर्षपछि अर्थात् सन् १९९५ मा उपस्थिति संख्या बढेर १,३१,४७,२०१ पुग्यो तर ८,६४५ ले मात्र रोटी र दाखरस खाए। (१ कोरिन्थी ११:२३-२६) स्पष्ट छ, दशकौंको दौडान शेष जन कहलाइएकाहरूको संख्या निकै घट्यो। सन् १९३५ मा ५२,४०० थिए भने सन् १९६५ मा ११,५०० र सन् १९९५ मा ८,६०० पुग्यो। तथापि, पार्थिव आशा भएकाहरू भने आशिषित् भएका छन् र तिनीहरूको संख्या प्रशस्त मात्रामा बढेको छ।
प्रकाशित सबैभन्दा ताजा रिपोर्ट सन् १९९५ को हो। उक्त रिपोर्टअनुसार उपस्थित हुनेहरूको तुलनामा भाग लिनेहरूको संख्या वास्तवमा घटे तापनि गत वर्षको तुलनामा थप २८ जनाले भाग लिए। सबै कुरा विचार गर्दा वास्तवमा केही थप व्यक्तिहरू प्रतीकमा भाग लिन छानिएकोमा हामी चिन्तित हुनुपर्दैन। वर्षौंसम्म केही व्यक्तिहरू यहाँसम्म कि भर्खरै बप्तिस्मा लिएकाहरूले समेत अचानक प्रतीकमा भाग लिए। प्रायजसो घटनाहरूमा केही समयपछि त्यसो गर्नु गलत हो भनेर ती व्यक्तिहरूले स्वीकारे। कसै कसैले चाहिं आवेगमा आएर शायद मानसिक वा शारीरिक दबाबको कारण आफूले भाग लिएको हो भनेर स्वीकारे। जे होस्, तिनीहरूले आफू वास्तवमा स्वर्गीय बोलावट पाएकाहरू होइनन् भन्ने बुझे। आफ्नो भूल परमेश्वरले करुणामयी भएर बुझिदिऊन् भनी तिनीहरूले बिन्ती गरे। अनि पृथ्वीमा अनन्त जीवन पाउने आशासहित एक असल वफादार मसीहीहरूको रूपमा तिनीहरू उहाँको निरन्तर सेवा गरिरहेका छन्।
कुनै व्यक्तिले प्रतीकमा भाग लिन थाल्नु वा लिन बन्द गर्नु हामीमध्ये कसैको निम्ति पनि चिन्ताको कुरा होइन। कुनै व्यक्ति वास्तवमा पवित्र आत्माद्वारा अभिषिक्त भएर स्वर्गीय जीवनको निम्ति छानिएका हुन् वा होइनन्, त्यो पत्ता लगाउने जिम्मेवारी हाम्रो होइन। येशूको दृढ आश्वासनलाई सम्झनुहोस्: “म असल गोठालो हुँ, म आफ्ना जतिलाई चिन्छु।” आत्मिक पुत्रहरू हुन कसलाई छान्नुभएको छ त्यो यहोवालाई थाह हुनु पनि आश्वासनदायी छ। वृद्धावस्था अनि समय र अवसरको कारण पार्थिव जीवन अन्त हुँदा अभिषिक्त जनहरूको संख्या घट्दै जाने कुरामा विश्वास गर्नुपर्ने हरेक कारण छ। यद्यपि, साँच्चै अभिषेक भएका जनहरू जीवनको मुकुटको प्रत्याशा गर्दै मृत्युसम्मै विश्वासी साबित भएझैं थुमाको रगतमा आफ्नो लुगा धुने ठूलो भीडले पनि सन्निकट महासंकष्टमा बच्ने प्रत्याशा राख्नसक्छन्।—२ तिमोथी ४:६-८; प्रकाश २:१०.
[फुटनोट]
a प्रहरीधरहरा (अंग्रेजी) मार्च १५, १९६५, पृष्ठ १९१-२ हेर्नुहोस्।