तिनीहरू किन भेला हुन्छन्?
विश्वभरि हरेक वर्ष यहोवाका हजारौं साक्षीहरू अधिवेशनहरूमा भेला हुन्छन्। त्यहाँ तिनीहरू अरूसित सरसंगत गर्छन् र बाइबल निर्देनशनहरूले भरिएको उत्तम कार्यक्रम सुन्छन्। कसै कसैलाई यी अधिवेशनहरूमा उपस्थित हुन निकै प्रयास गर्नुपर्छ। उदाहरणका लागि, गत वर्षको कुरा हो, मलावीका ६० वर्ष नाघिसकेका एक दम्पती, आफ्ना छोराबुहारी तथा सानो बच्चासहित अधिवेशनमा उपस्थित हुन साइकल चढेर ८० किलोमिटर लामो यात्रा गरे। तिनीहरू बिहान सबेरै छ बजे गाउँबाट हिंडे र १५ घण्टापछि अधिवेशन स्थानमा पुगे।
मोजाम्बिकमा एउटा समूहले अधिवेशनमा उपस्थित हुन तीन दिनसम्म साइकल यात्रा गरे। एक रात बाहिरै पाल टाँगेर सुतिरहेका बेला नजिकै सिंहहरूको गर्जन सुनियो। सिंहहरूलाई धपाउन त्यतातिर आगोको भुंग्रो फ्याले तापनि बिहानसम्म ती सिंहहरू त्यहीं थिए। त्यही सम्मेलनमा गइरहेका अर्को एक जना साक्षीको पनि बाटोमा एउटा सिंहसित जम्काभेट भयो। तिनी चलहल नगरी चुपचाप बसे र पछि सिंह आफ्नो बाटो लाग्यो। “सिंहको मुखबाट छुटकारा” कसरी पाए भनेर यी साक्षीहरूले पछि अधिवेशनमा हाँसीहाँसी बताए।—२ तिमोथी ४:१७.
यहोवाका थुप्रै साक्षीहरू उपासनाको लागि अधिवेशन वा मण्डलीका साप्ताहिक सभाहरूमा उपस्थित हुन निकै प्रयास गर्छन्। किन? भेला हुनु किन त्यत्तिको महत्त्वपूर्ण छ भनेर यसपछिका लेखहरूले बताउनेछन्।