पाठकहरूका प्रश्नहरू
नबूकदनेसरले दूराको मैदानमा निर्माण गरेको ठूलो मूर्तिसामु तीन जना हिब्रूहरूको परीक्षा हुँदा दानियल कहाँ थिए?
बाइबलले यसबारे केही बताएको छैन। त्यसैले, परीक्षाको बेला दानियल कहाँ थिए भनेर कसैले किटान गरेर बताउन सक्दैन।
कसैकसैले शद्रक, मेशक र अबेद्नगोको भन्दा दानियलको ओहदा उच्च भएकोले वा नबूकदनेसरबाट विशेष अनुग्रह पाएकोले तिनी दूराको मैदानमा जानु नपरेको हुनसक्छ भन्छन्। दानियल २:४९ ले दानियल केही समयको लागि आफ्ना तीन मित्रहरूभन्दा उच्च पदमा थियो भनी संकेत गर्छ। तर यो कारण देखाएर मात्र तिनी अरूसँगै मूर्तिअगाडि भेला हुनुपर्दैनथ्यो भनी हामी प्रमाणित गर्न सक्दैनौं।
दानियल त्यहाँ हाजिर नहुनको कारण बताउने प्रयास गर्दै अरू कतिपयले चाहिं तिनी सरकारी काममा कतै गएका थिए होलान् वा बिरामी परेको कारण उपस्थित हुन सकेनन् होला भनेका छन्। तथापि, बाइबलले त्यस्तो केही भन्दैन। कुरा जेसुकै होस, दानियल विरुद्ध आलोचना गर्ने ठाउँ थिएन। यदि हुँदो हो त, ईर्ष्यालु बेबिलोनी अधिकारीहरू तिनीमाथि अभियोग लगाउन पछि पर्ने थिएनन्। (दानियल ३:८) यस घटना अघि र पछि दुवै समय दानियलले आफ्नो निष्ठा प्रमाणित गरे अनि जस्तोसुकै परिस्थितिमा परमेश्वरप्रति वफादार रहे। (दानियल १:८; ५:१७; ६:४, १०, ११) अतः बाइबलले दानियल दूराको मैदानमा किन उपस्थित थिएनन् भनी नबताए तापनि, तिनी यहोवा परमेश्वरप्रति पूर्णतया वफादार थिए भनी हामी विश्वस्त हुनसक्छौं।—इजकिएल १४:१४; हिब्रू ११:३३.