आफ्नो विश्वासबारे बताउने मौका पाउँदा के तपाईं त्यसको सदुपयोग गर्नुहुन्छ?
“के कुनै कुरा पूर्ण सत्य हुन्छ?” यो थियो—पोल्याण्डमा गरिएको राष्ट्रिय निबन्ध प्रतियोगिताको विषय। निबन्धसम्बन्धी दिइएको निर्देशनमा यस्तो लेखिएको थियो: “हामीलाई पूर्ण सत्य चाहिंदैन। कसैलाई पनि पूर्ण सत्य चाहिंदैन। किनकि पूर्ण सत्य छँदैछैन।” पन्ध्र वर्षकी आगाता हाइस्कूलमा पढ्छिन्। तिनी यहोवाका साक्षी हुन्। अनि तिनले यस प्रतियोगितालाई आफ्नो धार्मिक विश्वासबारे बताउने मौकाको रूपमा लिइन्।
निबन्ध लेख्न सुरु गर्नुअघि आगाताले यहोवासित डोऱ्याइ मागिन्। त्यसपछि निबन्धको विषयसित सम्बन्धित लेखहरू धमाधम जम्मा गर्न थालिन्। जुलाई १, १९९५ को प्रहरीधरहरा-मा तिनले यससम्बन्धी केही जानकारी पाइन्। पन्तियस पिलातसले येशूलाई सोधेको यो प्रश्न तिनले आफ्नो निबन्धमा उद्धरण गरिन्: “सत्य के हो?” (यूहन्ना १८:३८) यस प्रश्नले मानौं, ‘सत्य? के हो सत्य भनेको? सत्य भन्ने कुरा पनि छ र?’ भनेझैं शंकालु मनोवृत्ति झल्काउँछ भनेर तिनले उल्लेख गरिन्। आगाताले लेखिन्: “पिलातसको प्रश्नले निबन्धसम्बन्धी दिइएको निर्देशन मलाई याद आयो।”
त्यसपछि तिनले सापेक्षताको विकासबारे छलफल गरिन्। सापेक्षवाद भनेको एक जनाले सत्य भनेर मानेको कुरा अर्कोलाई असत्य लाग्ने र दुवै जना आ-आफ्नो ठाउँमा “सही” हुन सक्ने विचार हो। तिनले यस्तो प्रश्न सोधिन्: “वायुविज्ञानसित सम्बन्धित नियमहरू पूर्ण सत्य छैनन् भन्ने लागेको भए के हामी हवाईजहाज चढ्थ्यौं र?” त्यसपछि तिनले बाइबल औंल्याउँदै यसो भनिन्: “हामी परमेश्वरको वचनमा भर पर्न सक्छौं किनकि बाइबलका तथ्यहरू प्रामाणिक छन्।” निष्कपट भई पूर्ण सत्य खोज्ने व्यक्तिले त्यो नभेट्टाएसम्म धैर्य भई खोजिरहनेछ भनेर आफूले आशा राखेको कुरा पनि तिनले बताइन्।
आगाताले विशेष प्रमाणपत्र पाइन् र कक्षाका सम्पूर्ण साथीसामु आफ्नो निबन्ध सुनाउने मौका पनि पाइन्। स्कूलका थुप्रै साथीहरूले बाइबल अध्ययन स्वीकारे। आफ्नो विश्वासबारे थुप्रैलाई बताउन पाउने यो मौकाको सदुपयोग गर्न पाएकोमा आगाता यहोवाप्रति धन्यवादी छिन्। हो, आफ्नो विश्वासबारे अरूलाई बताउन पाउने मौका गुम्न नदिंदा त्यसको असल फल पाउन सकिन्छ। त्यसोभए, आफ्नो विश्वासबारे बताउन पाउने कस्ता मौकाको सदुपयोग तपाईं गर्नुहुन्छ? (w07 11/1)