हाम्रा पाठकहरू सोध्छन्
के चमत्कारी चङ्गाइहरू परमेश्वरबाट हो?
यहोवा परमेश्वरसँग चङ्गाइ गर्ने अर्थात् रोग निको पार्ने शक्ति छ भन्ने कुरामा कुनै शंका छैन। साथै, उहाँ आफ्ना उपासकहरूलाई यो शक्ति दिनुहुन्छ भनेर पनि सन्देह छैन। उदाहणको लागि, प्रेरितहरूको समयमा चमत्कारी चङ्गाइ उहाँको पवित्र आत्माको एउटा विशेष वरदान थियो। प्रेरित पावल लेख्छन्: “तर सबैको फायदाको लागि ता आत्माको प्रकाश हरेकलाई दिइएको छ। किनकि एउटालाई आत्माद्वारा ज्ञानको कुरो . . . कसैलाई एउटै आत्मामा निको पार्ने वरदान . . . कसैलाई अगमवाणी बोल्ने . . . कसैलाई किसिम किसिमका भाषा बोल्ने . . . काम।” —१ कोरिन्थी १२:४-११.
यद्यपि, पावलले कोरिन्थीहरूलाई त्यही पत्रमा परमेश्वरको पवित्र आत्माको त्यो चमत्कारी वरदानको अन्त हुनेछ भनेर पनि लेखे। उनले यसो भने: “तर चाहे अगमवाणीहरू होऊन्, ती टली जान्छन्, चाहे भाषाहरू होऊन्, ती बन्द हुन्छन्। चाहे बुद्धि होस्, त्यो रद्दी हुन्छ।”—१ कोरिन्थी १३:८.
प्रथम शताब्दीको दौडान येशू ख्रीष्ट र उहाँका प्रेरितहरूले चमत्कारी चङ्गाइ गर्ने कामहरू गरे। प्रेरितहरूको समयमा ख्रीष्टियान मण्डली नयाँ हुँदा चङ्गाइ गर्ने क्षमतालगायत पवित्र आत्माका वरदानहरूको उद्देश्य यहोवालाई महिमित पार्नु र भर्खरै स्थापित भएको मण्डलीमा यहोवाको अनुमोदन र आशिष् छ भनेर देखाउनु थियो। तर परिपक्व वा पूर्ण रूपले स्थापित भएपछि ख्रीष्टियान मण्डलीले त्यस्तो विशेष वरदान देखाउनुभन्दा अटल विश्वास, आशा र प्रेम देखाएर यहोवाको अनुमोदन छ भन्ने प्रमाण दिने थियो। (यूहन्ना १३:३५; १ कोरिन्थी १३:१३.) त्यसैले इस्वी संवत् १०० तिर चमत्कारी चङ्गाइहरू बन्द भए जसले परमेश्वरको निगाह पाएको प्रमाण देखाउँथ्यो।a
तर तपाईं सोच्नुहोला, “किन अहिले पनि म चमत्कारद्वारा निको भएको खबरहरू सुन्छु त?” जस्तै: एउटा खबरपत्रिकाले एक जना मानिसबारे बतायो। भनिन्छ, ऊ क्यान्सरले ग्रस्त थियो। उसको टाउकोमा, मिर्गौलामा र हड्डीहरूको भित्री भागसम्म ट्युमर थियो। परमेश्वरले ऊसँग “बोल्नु” नभएसम्म उसको भविष्य कष्टमय देखिन्थ्यो। त्यसको केही दिनपछि उसको क्यान्सर निको भयो भनेर उक्त पत्रिकाले बतायो।
जब तपाईं यस प्रकारका घटनाहरू सुन्नुहुन्छ, आफैलाई यस्ता प्रश्न सोधे कसो होला: ‘के यो खबरमा भएको जानकारी वास्तविक हो? के यसको लिखित र डाक्टरी प्रमाण छ? अथवा कुनै चङ्गाइ भएको जस्तो देखिए तापनि के बाइबलले चमत्कारी चङ्गाइहरूजस्तो देखिने सबै कुरामा परमेश्वरको हात हुन्छ भनेर सिकाउँछ?’
अन्तिम प्रश्नको जवाफ पाउनु विशेष महत्त्वपूर्ण छ। येशूले चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “झूटा अगमवक्ताहरूदेखि होशियार रह . . . त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम [चमत्कारहरू] गरेनौं र?’ अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।”—मत्ती ७:१५, २१-२३
बाइबलका यी पदबाट स्पष्ट हुन्छ, चमत्कारी चङ्गाइ भनौंदा कामहरू परमेश्वरबाट नभई अर्कै स्रोतबाट आउन सक्छ। परमेश्वरको नाँउमा चमत्कारी काम गरेको दाबी गर्नेहरूको छलमा नपर्न परमेश्वरको सही ज्ञान लिनु, उहाँले दिएको तर्क शक्तिको प्रयोग गर्नु र उहाँको इच्छाअनुसार गरिरहेकाहरूलाई कसरी चिन्ने सिक्नु आवश्यक छ।—मत्ती ७:१६-१९; यूह. १७:३; रोमी १२:१, २. (w09 5/1)
[फुटनोट]
a यस्तो देखिन्छ, प्रेरितहरूको मृत्युसँगै चमत्कारी वरदानहरू दिइने कुरा अन्त भयो र यो वरदान प्राप्त गरेकाहरूको मृत्युसितै पवित्र आत्माको वरदान पनि सबै बन्द भयो।