शिष्टाचार—ईश्वरभक्त मानिसहरूको गुण
१ आज मानिसहरूमा शिष्टाचार विरलै पाइन्छ। किन? किनभने मानिसहरू यति हतारमा हुन्छन् कि “कृपया,” “धन्यवाद” वा “माफ गर्नुहोस्” जस्ता शिष्टाचारका आधारभूत शब्दहरूबारे विरलै सोच्ने गर्छन्। परमेश्वरको वचनले अन्तको दिनमा मानिसहरूको आचरण खस्कनेछ भनेर पहिल्यै भविष्यवाणी गरेको थियो। जस्तै, मानिसहरू ‘स्वार्थी, अहंकारी, हठी, कृतघ्न, स्वाभाविक प्रेम रहितका, असंयमी, असल नरुचाउने र उत्ताउला’ हुनेछन् भनी भनिएको थियो। (२ तिमो. ३:१-४) यस्ता नराम्रा आचरणहरूले शिष्टाचार देखाउन मदत गर्दैन। ईश्वरभक्त मानिसहरूको हैसियतमा अरूको अलिकता पनि आदर नगर्ने यस संसारको आचरण ग्रहण गर्नदेखि मसीहीहरू जोगिनैपर्छ।
२ शिष्टाचार भनेको के हो? शिष्टाचारलाई अरूको भावनाप्रति सचेत हुनु, अरूसित शान्तिमा रहने क्षमता भनी परिभाषित गर्न सकिन्छ। शिष्टाचारका केही पक्षहरू अरूको ख्याल गर्नु, आदरपूर्वक व्यवहार गर्नु, दया प्रकट गर्नु, नम्रता देखाउनु, समझ अनि विचार प्रकट गरेर चल्नु आदि हुन्। परमेश्वर अनि आफ्ना छिमेकीहरूप्रतिको प्रेममा यी गुणहरूले जरा गाडेका हुन्छन्। (लूका १०:२७) हुन त, यी गुणहरू प्रदर्शित गर्न कुनै पैसा लाग्दैन तर अरूसँगको हाम्रो सम्बन्ध बढाउनमा यी गुणहरू निकै मूल्यावान् छन्।
३ येशू ख्रीष्टले सिद्ध नमुना बसाल्नुभयो। उहाँले सधैं यो सुनौलो नियम व्यवहारमा उतार्नुभयो: “जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) आफ्ना चेलाहरूसित व्यवहार गर्दा येशूले प्रकट गर्नुभएको विचारशीलता अनि मायालु आचरण देखेर के हामी छक्क पर्दैनौं र? (मत्ती ११:२८-३०) उहाँले देखाउनुभएको शिष्टाचार कुनै शिष्टाचारसम्बन्धी पुस्तकहरूमा तोकिएका नीति नियमहरूमा आधारित थिएन। ती सबै उहाँको निष्कपट अनि उदार हृदयबाट आएको थियो। हामीले उहाँको उत्तम नमुना अनुकरण गर्ने कोसिस गर्नैपर्छ।
४ मसीहीहरूले कहिले शिष्टाचार देखाउनु आवश्यक छ? अरूलाई आफूतर्फ आकर्षित गर्नुपर्दा वा कुनै विशेष अवसरमा मात्र? के अरूलाई प्रभावित पार्न मात्र? कदापि होइन! हामीले हर समय शिष्टाचार देखाउनुपर्छ। विशेष गरी, मण्डलीमा एक अर्कासित सरसंगत गर्दा हामीले कुनकुन तरिकामा शिष्टाचार देखाउनुपर्छ?
५ राज्यभवनमा: राज्यभवन हाम्रो उपासनास्थल हो। यहोवा परमेश्वरको निमन्त्रणमा हामी त्यहाँ उपस्थित हुन्छौं। यस अर्थमा हामी उहाँका अतिथिहरू हौं। (भज. १५:१) राज्यभवनमा उपस्थित हुँदा के हामी उदाहरणीय अतिथि हुन्छौं? के हामी आफ्नो पहिरन अनि कोरीबाटीमा उचित ध्यान दिन्छौं? हामी पक्कै पनि अति नै अनौपचारिक वा भड्किलो कोरीबाटी गर्न चाहँदैनौं। चाहे अधिवेशनहरू होस् या साप्ताहिक मण्डलीका सभाहरू, यहोवाका जनहरू परमेश्वरको आदर गर्ने राम्रो आचरण भएका व्यक्तिहरूको रूपमा चिनिन्छन्। (१ तिमो. २:९, १०) त्यसैले, हामी स्वर्गमा बस्नु हुने हाम्रो प्रबन्धकर्ता यहोवा र आमन्त्रित अन्य अतिथि दुवैको भावना बुझ्नुका साथै दुवैलाई उचित आदर देखाउँछौं।
६ सभाहरूमा शिष्टाचार देखाउने सन्दर्भमा हामीले गर्नुपर्ने अर्को कुरा सभाहरूमा समयमै पुग्नु हो। हो, यसो गर्नु सधैं सजिलो हुँदैन। कोही निकै टाढा बस्छन् वा कसैको ठूला परिवारहरू हुने भएकोले सबैलाई तयार हुन समय लाग्नसक्छ। यद्यपि, कुनैकुनै मण्डलीमा २५ प्रतिशतभन्दा बढी प्रकाशकहरूको बानी सुरुको गीत वा प्रार्थना सकेपछि मात्र सभा पुग्ने देखिएको छ। यो गम्भीर कुरा हो। शिष्टाचारमा अरूको भावनाप्रति सचेत रहनु पर्ने कुरा पनि विथोलित छ भन्ने कुरा नबिर्सनुहोस्। हाम्रो कृपालु प्रबन्धकर्ता यहोवाले यस आध्यात्मिक भोज हाम्रैलागि आयोजना गर्नु भएको हो। ठीक समयमा उपस्थित भएर हामी उहाँका भावनाहरूप्रति मूल्यांकन र चासो व्यक्त गर्छौं। यसको अतिरिक्त, सभाहरूमा ढिलो पुग्नु भनेको पहिल्यै उपस्थित भएर भाषण सुनिरहेका व्यक्तिहरूको ध्यान भंग गर्नु वा उनीहरूको अनादर गर्नु हो।
७ भेला हुँदा, के हामी उपस्थित नयाँ व्यक्तिहरूलाई ध्यान दिन्छौं? उनीहरूको स्वागत गर्नु पनि शिष्टाचारको एउटा भाग हो। (मत्ती ५:४७; रोमी १५:७) उदारचित्त भएर गरिने स्वागत, मित्रैलो भई हात मिलाउनु, मीठो मुस्कान, यी सबै सामान्य कुराहरू हुन् तर यी कार्यहरूले हामीलाई साँचो मसीहीको रूपमा चिनाउन मदत गर्छ। (यूह. १३:३५) पहिलो पटक राज्यभवनमा उपस्थित भइसकेपछि, एक जना मानिसले यसो भने: “मैले अपरिचित मानिसहरू बीच एकै दिनमा साँच्चै मायालु मानिसहरू भेटें, यस्ता मानिसहरू म आफू हुर्किएको चर्चमा कहिल्यै भेटेको थिइनँ। मैले सत्य पाएछु भन्ने कुरा यसबाट स्पष्ट भयो।” फलतः उसले आफ्नो जीवन परिवर्तन गऱ्यो र सात महिनापछि नै बप्तिस्मा लियो। हो, शिष्टाचारको असर चिरकालीन हुन्छ!
८ हामी अपरिचित व्यक्तिहरूसित त शिष्ट व्यवहार गर्छौं भने के हामीले “विश्वासका घरानातर्फ, भलाइको काम” गर्नु पर्दैन र? (गला. ६:१०) यहाँ यो सिद्धान्त लागू हुन्छ: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” (लेवी १९:३२) हाम्रा जमघटहरूमा कहिल्यै पनि यस्ता बूढापाकाहरूलाई बेवास्ता गरिएको हुनुहुँदैन।
९ ध्यान दिएर सुन्ने: मण्डलीका सभाहरूको दौडान, परमेश्वरका मसीही सेवकहरू हामीलाई बलियो बनाउन र केही आध्यात्मिक वरदानहरू दिन बोलिरहेका हुन्छन्। (रोमी १:११) निद्राले झुल्नु, खानेकुरा वा चुइङगम चपाउनु, आफूसँगै बस्ने व्यक्तिसित बारम्बार कानेखुसी गर्नु, अनावश्यक रूपमा घरीघरी शौचालय गइरहनु, असम्बन्धित कुराहरू पढ्नु वा सभा भइरहेको बेला अन्य कामहरू गर्नु जस्ता कार्यले निश्चय नै शिष्टाचार प्रदर्शित गरिरहेको हुनेछैन। यस सन्दर्भमा प्राचीनहरू उदाहरणीय हुनुपर्छ। असल मसीही आचरणले वक्ता अनि वक्ताले दिइरहेको बाइबल आधारित सन्देशमा एकाग्र ध्यान दिएर उचित आदर देखाउन उत्प्रेरित गर्छ।
१० यसको अतिरिक्त, वक्ता र श्रोता दुवैप्रति विचारशील हुँदै, हामीले पेजर र सेलुलर टेलिफोनहरू बन्द गरेर सभालाई खलल पुऱ्याउनदेखि रोक्नुपर्छ।
११ शिष्टाचार र केटाकेटी: आमाबाबुहरू आफ्ना छोराछोरीहरूको आचरणप्रति सदैव सचेत रहनुपर्छ। सभा भइरहेको बेला साना केटाकेटीहरू रुन वा चकचक गर्न थालेमा र त्यसले अरूको ध्यान भंग हुन्छ भने तिनीहरूलाई चुप गराउन सकेसम्म छिटो सभाभवन बाहिर लैजान सुझाउ दिइएको छ। कहिलेकाहीं यसो गर्नु गाह्रो हुनसक्छ तर नबिर्सनुहोस्, यसले तपाईं अरूको भावनाप्रति सचेत हुनुहुन्छ भन्ने कुरा प्रदर्शित गरिरहेको हुन्छ। चकचक गर्न सक्ने स-साना केटाकेटी हुने आमाबाबुले प्रायः सभाभवनको पछिल्ला सिटहरू रोज्ने गर्छन्। यसो गर्दा, सभा भइरहेको बेला आफ्नो सिट छोडेर बाहिर निस्कँदा समेत सकेसम्म अरूको त्यति ध्यान भंग हुन पाउँदैन। निस्सन्देह, बाँकी श्रोताहरूले पनि यस्ता परिवारहरूप्रति विचारशील हुँदै आवश्यक परेमा पछाडिका सिटहरू खाली छोडिदिन सक्छन्।
१२ सभापछि र अघि पनि आफ्ना केटाकेटीहरूको आचरणमा आमाबाबु सचेत रहनुपर्छ। केटाकेटीहरूलाई भवनभित्र दौड्न दिनु हुँदैन, यसले दुर्घटनाहरू निम्त्याउनसक्छ। राज्यभवन बाहिर, विशेष गरी साँझपखतिर त्यति उज्यालो नहुने भएकोले दौड्दा चोटपटक लाग्नसक्छ। राज्यभवन बाहिर खुला ठाउँमा ठूल-ठूलो स्वरले कुरा गर्दा वरपरका छिमेकीहरूलाई बाधा पुग्नसक्छ र हाम्रो उपासनाप्रति नकारात्मक असर पर्नसक्छ। राज्यभवन बाहिर र भित्र होसियारीसाथ आफ्ना छोराछोरीहरूको रेखदेख गर्न प्रयत्न गर्ने आमाबाबुहरू प्रशंसाका योग्य छन् किनकि यसले हाम्रो एकआपसको एकतामा आनन्द थप्छ।—भज. १३३:१.
१३ मण्डली पुस्तक अध्ययनमा: मण्डलीका सभाहरूको लागि आफ्नो घर उपलब्ध गराउने हाम्रा भाइबहिनीहरूको आतिथ्यको हामी मूल्यांकन गर्छौं। मण्डली पुस्तक अध्ययनमा उपस्थित हुँदा हामीले उनीहरूको सरसम्पत्तिप्रति आदर देखाउनुका साथै विचारशील हुनुपर्छ। कार्पेट वा भुइँ फोहोर हुन नदिन कोठाभित्र पस्नुअघि जुत्ता राम्ररी पुछ्नुपर्छ। आमाबाबुहरूले आफ्ना छोराछोरीहरू पुस्तक अध्ययनको लागि तोकिएको ठाउँमा बसेका छन् कि छैनन्, निरीक्षण गर्नुपर्छ। पुस्तक अध्ययन समूह सानो हुनसक्छ र वातावरण पनि अलि अनौपचारिक देखिनसक्छ तर यसो भन्दैमा अरूको घरमा अनुमतिबिना जे गर्न पनि छुट छ भन्ने सोचाइ राख्नु हुँदैन। साना केटाकेटीहरू शौचालय जाँदा आमाबाबु पनि तिनीहरूसँगै जानुपर्छ। यसको अतिरिक्त, पुस्तक अध्ययन पनि मण्डलीकै सभा भएको हुनाले, यस सभामा पनि मण्डलीको सभामा उपस्थित हुँदा लगाएजस्तै पहिरन लगाउनु पर्छ।
१४ शिष्टाचार अत्यावश्यक छ: मसीही शिष्टाचार व्यवहारमा उतार्दा त्यसले हाम्रो सेवकाईमाथि राम्रो असर पार्नुका साथै अरूसित राम्रो सम्बन्ध गाँस्न पनि मदत गर्छ। (२ कोरि. ६:३, ४, ६) आनन्दित परमेश्वरका उपासकहरूको हैसियतमा अरूको खुसीको खातिर मुस्कुराउनु, मिजासिलो बोलिवचन गर्नु, सानातिना कार्यहरू भए पनि गर्नु, दयालु हुनु हाम्रोलागि स्वाभाविक हुनुपर्ने हो। यस्तो शिष्टाचारले परमेश्वरको जनको रूपमा हाम्रो जीवनमा सुगन्ध थप्नेछ।