इन्टरनेट सावधान हुनु किन आवश्यक?
विभिन्न जानकारीहरू हासिल गर्न अनि दिनानुदिन मानिसहरूसित सम्पर्क राख्न इन्टरनेट निश्चय पनि निकै लाभकारी सिद्ध हुनसक्छ। तथापि, निकै आकर्षक देखिने इन्टरनेटका प्राविधिक पक्षलाई एकतर्फ पन्छाउने हो भने टेलिभिजन, टेलिफोन, पत्रपत्रिका अनि पुस्तकालयहरूलाई धेरैअघिदेखि सताउँदै आएका समस्याहरूले इन्टरनेटलाई पनि सताएको देखिन्छ। अतः इन्टरनेटमा प्रस्तुत गरिने विषयवस्तुहरू आफू अनि आफ्नो परिवारका लागि उपयुक्त छ छैन, विचार गर्नु बेस हुनसक्छ।
थुप्रै रिपोर्टहरूले इन्टरनेटमा अश्लील सामग्रीहरू पाइन्छन् भन्ने टिप्पणी गरेका छन्। के त्यसको मतलब इन्टरनेट यौन दुराचारीहरूको ठूलो अखडा हो त? कसै कसैले यो तिललाई पहाड बनाउन खोजिएको मात्र हो भनेर आपत्ति जनाएका छन्। आपत्तिजनक सामग्रीहरू भेटाउन व्यक्तिविशेषले जानाजानी स्वेच्छापूर्वक यत्न गरेको हुन्छ भनेर तिनीहरू तर्क गर्छन्।
हो, हानिकारक सामग्रीहरू त्यतिकै फेला परिने होइन, खोज्नुपर्छ। तर कतिपय मानिसहरू अरू ठाउँमा भन्दा इन्टरनेटमा त्यस्ता सामग्रीहरू भेटाउन असाध्यै सजिलो छ भनेर तर्क गर्छन्। कि-बोर्डमा दुइ तीनवटा अक्षर थिचे मात्र पनि सुस्पष्ट अश्लील चित्रहरूका साथै अडियो भिडियो क्लिप्सहरू सजिलै भेटाउन सकिन्छ भनेर तिनीहरू भन्छन्।
अहिले इन्टरनेटमा कत्तिको अश्लील सामग्रीहरू छन् भन्ने कुरा नै तात्तातो विवादको विषय भएको छ। इन्टरनेटमा भ्रष्ट सामग्रीहरू छन् भनेर बढाइचढाइ रिपोर्ट गरिएका मात्र हुन् भन्ने कसै कसैको विचार पनि पाइएको छ। तथापि, तपाईंको करेसाबारीमा १०० वटा होइन, दुइ तीनवटा मात्र विषालु सर्पहरू छन् भनेर थाह पाउनुभयो भने के तपाईं आफ्नो परिवारको सुरक्षाबारे कम चिन्तित हुनुहुन्छ र? अतः, इन्टरनेट चलाउनेहरू सावधान हुनु बुद्धिमानी हुनेछ।
केटाकेटीलाई हात पार्नेहरूदेखि सावधान!
केही बाल यौन दुराचारीहरू इन्टरनेटको माध्यमद्वारा कलिला केटाकेटीहरूसँग कुराकानी गर्छन् भन्ने प्रमाणहरू हालैका समाचारहरूले देखाएका छन्। आफू पनि केटाकेटी नै हुँ भन्ने भान पारी यस्ता वयस्क दुराचारीहरूले बडो चलाखीकासाथ निर्बोध केटाकेटीहरूको नाउँ, ठेगानाहरू पत्ता लगाएका छन्।
हराएको वा दुर्व्यवहार गरिएका बालबालिकाहरूको राष्ट्रिय संगठनले (एन सि एम इ सि) यस्ता केही घटनाहरूका प्रमाणहरू संकलन गरेका छन्। उदाहरणका लागि, १९९६ मा प्रहरीले सं.रा.अ.-को साउथ क्यारोलाइनाबाट एक हप्तासम्म हराएका १३ र १५ वर्षका दुइ केटीहरू फेला पारे। ती केटीहरू इन्टरनेटमै भेटेका १८ वर्षीय केटासँग अर्को प्रान्तमा गएका रहेछन्। त्यस्तैगरि, एक जना ३५ वर्षीय पुरुषलाई १४ वर्षीय केटालाई फकाइ फुस्लाइ आमाबाबु नभएको बेला यौनसम्बन्ध राख्न उक्साएको आरोप लगाइयो। यी दुवै घटनाहरू इन्टरनेट च्याट रूममा भएका कुराकानीकै कारण भएका थिए। सन् १९९५ तिर यस्तै अर्को घटनामा त अझ एक जना लोग्नेमान्छेले इन्टरनेटमा सम्पर्क भएको १५ वर्षीय केटालाई स्कूलमा समेत भेट्न जाने हिम्मत गरेका थिए। त्यस्तैगरि, अर्को लोग्नेमान्छेले १४ वर्षीया केटीसँग अवैध यौनसम्बन्ध राखेको स्वीकारे। बुबाको कम्प्युटर चलाएर बुलेटिन बोर्ड मार्फत किशोरकिशोरीहरूसँग सम्पर्क राख्न खोज्दा सो केटीले यस लोग्नेमान्छेलाई भेटेकी रहिछे। अन्ततः यी सबै केटाकेटीहरूलाई फकाइ फुस्लाइ ती धूर्त मानिसहरूले आफ्नो असली परिचय प्रकट गर्न लगाएका थिए।
आमाबाबुको रेखदेख आवश्यक
हुन त, भर्खर उल्लेख गरिएका घटनाहरू तुलनात्मक रूपमा कमै हुने गर्छन्। तापनि, आमाबाबुले होशियारीपूर्वक जाँच गर्नु नितान्त आवश्यक छ। छोराछोरीहरूलाई अपराध अनि दुर्व्यवहारको शिकार हुन नदिन आमाबाबुले प्रयोग गर्नसक्ने के-कस्ता साधनहरू उपलब्ध छन् त?
यस दिशामा व्यापारिक संघ संस्थाहरूले विभिन्न साधनहरू बनाउन थालेका छन्, जसमा फिल्महरूको स्तर निर्धारण गर्न प्रयोग गरिने जस्ता प्रणालीहरूदेखि लिएर आपत्तिजनक शब्द वा वाक्य छन् वा छैन जाँचेर हानिकारक सामग्रीहरूलाई रोक्ने सफ्टवेयर अनि कुनै खास विषयवस्तु प्राप्त गर्न आफ्नो उमेर उपयुक्त भएको प्रमाणित गर्नुपर्ने प्रणालीहरू समावेश छन्। कुनै कुनै साधनहरूले त आपत्तिजनक सामग्रीहरूलाई हाम्रो घरको कम्प्युटरमा पुग्नु अगावै रोक्छन्। तथापि, प्रायजसो यस्ता साधनहरू त्रुटिरहित छैनन् र विभिन्न तरिकाहरू अपनाएर छल्न सकिन्छ। अनि यो पनि नबिर्सनुहोस्, सुरुमा इन्टरनेट तयार पार्दा त्यसलाई हर किसिमको बाधाबिघ्न उछिन्नसक्ने किसिमले बनाइएको थियो। अतः इन्टरनेटमा भएका विषयवस्तुहरूमा रोक लगाउनु कठिन छ।
क्यालिफोर्नियामा बाल दुर्व्यवहारसम्बन्धी छानबिन गर्ने टोलीको सुपरिवेक्षकसँग ब्यूँझनुहोस्! पत्रिकाले अन्तरवार्ता लिंदा तिनले यस्तो सुझाउ दिए: “आमाबाबुको निगरानी चाहिन्छ, चाहिन्छ; त्यसको कुनै विकल्प छैन। मेरो पनि १२ वर्षीय छोरो छ र हामीले उसलाई इन्टरनेट चलाउन दिएका छौं। तर हामी सपरिवार बसेर इन्टरनेट चलाउँछौं र इन्टरनेटमा कत्तिको समय बिताउने त्यो पनि राम्ररी निर्धारण गरेका छौं।” हामीले अन्तरवार्ता लिएको यो पिता विशेषगरि च्याट रूमहरूदेखि निकै सावधान भएको र त्यसको प्रयोगमाथि कडाइकासाथ रोक लगाएको हामीले पायौं। तिनी यसो पनि भन्छन्: “हाम्रो छोरोले चलाउने कम्प्युटर उसको कोठामा होइन तर घरमा सबैले देख्ने ठाउँमा राखेका छौं।”
छोराछोरीले इन्टरनेट चलाउनु आवश्यक छ वा छैन, छ भने कति प्रयोग गर्न दिने त्यस दिशातर्फ आमाबाबुले सक्रियतापूर्वक चासो लिनु जरुरी छ। त्यसोभए, यस सन्दर्भमा आमाबाबुले विचार गर्नुपर्ने व्यवहारिक अनि तार्किक कुराहरू के के छन् त?
सान होसे मर्करी न्युज पत्रिकाका कर्मचारी, डेभिड प्लटनिकोफ घरमा इन्टरनेट ल्याउन चाहने आमाबाबुहरूलाई यस्ता केही लाभदायी सुझाउ दिन्छन्।
• सँगै बसेर इन्टरनेट चलाउनुहोस्। त्यसो गर्नुभयो भने छोराछोरीहरूले इन्टरनेटबाट राम्रो फाइदा उठाउनसक्छन्। किनकि सँगै बसेर इन्टरनेट चलाउँदा तिनीहरूले तपाईंको विचार अनि निर्देशनको मूल्यांकन गर्न सिक्छन्। तथापि, तपाईंको निगरानी नभएको खण्डमा “इन्टरनेटमा पाइने सबै जानकारीहरू, पानी त छ, तर राख्ने गिलास छैन भनेजस्तै हुनेछ,” भनेर तिनी चेताउनी दिन्छन्। इन्टरनेट प्रयोग गर्ने सन्दर्भमा तपाईंले आफ्ना छोराछोरीका निम्ति नीतिनियम निर्धारण गरिदिनु भनेको “तपाईंले पहिल्यैदेखि तिनीहरूलाई सिकाउँदै आउनुभएको असल कुराहरूकै एउटा अंश हो।” जस्तै कि तपाईंले अपरिचित व्यक्तिहरूसँग कसरी अनि के कुरा गर्ने, सिकाउनुभएको होला र त्यही नियम इन्टरनेट प्रयोग गर्ने सन्दर्भमा पनि लागू गर्न सक्नुहुन्छ।
• इन्टरनेट सार्वजनिक स्थल हो। अतः, त्यसलाई केटाकेटी खेल्न छोड्ने ठाउँ ठान्नु हुँदैन। “के तपाईं १० वर्षको बच्चालाई ठूलो शहरमा छोडेर जहाँ जहाँ मन लाग्छ रमाइलो गरेर आऊ भन्नुहुन्छ?”
• इन्टरनेटमा गेम खेल्ने कहाँ, कुरा गर्ने कहाँ अनि गृहकार्य गर्न मदत लिने कहाँ, यी सब राम्ररी छुट्याउन सिक्नुहोस्।
इन्टरनेटकै सन्दर्भमा एन सि एम इ सिले निकालेको इन्टरनेट प्रयोग गर्दा छोराछोरीलाई हानिकारक विषयवस्तुहरूदेखि बचाउने भन्ने (अंग्रेजी) पर्चा केटाकेटीहरूलाई निम्न केही सुझाउहरू दिन्छ:
• आफ्नो ठेगाना, घरको टेलिफोन नम्बर वा स्कूलको नाउँ ठेगानाजस्ता व्यक्तिगत जानकारीहरू कहिल्यै नबताउनुहोस्। आमाबाबुको अनुमतिबिना फोटो पठाउँदै नपठाउनुहोस्।
• तपाईंलाई अप्ठ्यारो लाग्ने खालका जानकारीहरू पाउनुभयो भने तुरुन्तै आमाबाबुलाई खबर गरिहाल्नुहोस्। छेडछाड गर्ने रूखो सन्देशहरूको कहिल्यै जवाफ नफर्काउनुहोस्। तुरुन्तै आमाबाबुलाई खबर गरिहाल्नुहोस्। त्यसो गर्नुभयो भने तपाईंको आमाबाबुले त्यस्ता व्यक्तिहरूको उजुर गर्न सक्नुहुनेछ।
• कुन बेला कत्ति समयसम्म इन्टरनेट प्रयोग गर्ने अनि कस्ता विषयवस्तुहरू हेर्ने आमाबाबुले त्यसको सीमा निर्धारण गर्दा उहाँहरूको कुरा सुन्नुहोस् र उहाँहरूले तोक्नुभएको सीमाभित्र चल्नुहोस्।
नबिर्सनुहोस्! यसरी सावधान हुनु वयस्कहरूका निम्ति पनि लाभदायी छ। केही वयस्कहरू होशियार नहुँदा अनावश्यक सम्बन्धहरू गाँस्न पुगेका छन् र गम्भीर समस्याहरू भएका छन्। च्याट रूम प्रयोग गर्ने व्यक्तिहरूको परिचय अस्पष्ट हुने, कुराकानी गर्ने व्यक्तिसँग मुखामुख सम्पर्क नहुने र असली नाउँ प्रयोग नगरी उपनाउँ प्रयोग गरिने हुँदा केही व्यक्तिहरू आफू सुरक्षित छु भन्ठान्छन्। फलतः तिनीहरू चाहिनेजति सतर्कता अपनाउँदैनन्। वयस्कहरू हो, यस्तो गर्नदेखि होशियार हुनुहोस्!
सन्तुलित दृष्टिकोण राख्ने
इन्टरनेटमा पाइने कुनै कुनै विषयवस्तु एवं थुप्रै सेवाहरू जानकारीमूलक अनि लाभदायी छन्। थुप्रै व्यापारिक संगठनहरूले पनि बिस्तारै आफ्ना आन्तरिक कागजातहरू आन्तरिक नेटवर्क वा इन्ट्रानेटमा राख्न थालेका छन्। इन्टरनेटकै माध्यमबाट अडियो भिडियो सम्मेलन गर्न सकिने भएकोले पहिलेदेखि जे-जस्तो तरिका अपनाएर यात्रा गर्ने वा व्यापारिक सभा गर्ने गरेका छौं, त्यो सधैं सधैंको लागि परिवर्तन हुनसक्छ। इन्टरनेटको माध्यमबाट कम्प्युटर सफ्टवेयरहरू वितरण गरेर थुप्रै कम्पनीहरूले खर्च कम गरेका छन्। हाल यात्रा, स्टक तथा ऋणपत्र बेचबिखन गर्ने जस्ता व्यापारिक कारोबारहरू गर्न आवश्यक सुविधा उपलब्ध गराउने थुप्रै कम्पनीहरूले कर्मचारीहरूलाई काममा लगाएका छन्। भविष्यमा इन्टरनेटकै माध्यमबाट त्यस्तो सम्पूर्ण सेवा वा केही भए पनि उपलब्ध भएमा, त्यस्ता कम्पनीहरूलाई धक्का नपुग्ला भन्न सकिंदैन। हो, इन्टरनेटले निश्चय पनि निकै गहिरो प्रभाव पारेको छ र भोलि पनि जानकारी बाँड्ने, व्यापार गर्ने र एक आपसमा सम्पर्क राख्ने महत्त्वपूर्ण माध्यमको रूपमा यो अझै चलिरहनसक्छ।
अन्य साधनहरू जस्तै इन्टरनेटको पनि फाइदा छ। तर त्यसको दुरुपयोग हुने सम्भावना भने हुँदै नभएको होइन। केही व्यक्तिहरू अझै पनि इन्टरनेटका सकारात्मक पक्षहरूको लाभ उठाइरहन चाहलान् त कोही नचाहलान्, त्यो व्यक्तिगत कुरा हो र अरूको निर्णयमाथि टिकाटिप्पणी गर्ने अधिकार मसीहीसँग छैन।—रोमी १४:४.
इन्टरनेटको प्रयोगलाई एक किसिमले नयाँ मुलुकको यात्रासँग तुलना गर्न सकिन्छ। निश्चय पनि तपाईंले थुप्रै नयाँ कुरा हेर्न र देख्नुहुन्छ। तर जसरी यात्रा गर्दा शिष्ट व्यवहार देखाउन अनि सावधान हुन आवश्यक छ, इन्टरनेट अर्थात् जानकारीको महा राजमार्गमा उत्रने निर्णय गर्नुभएको खण्डमा त्यस्तै शिष्टाचार अनि सावधानी देखाउनु आवश्यक छ।
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
“हाम्रो छोरोले चलाउने कम्प्युटर उसको कोठामा होइन तर घरमा सबैले देख्ने ठाउँमा राखेका छौं”
[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]
इन्टरनेट सार्वजनिक स्थल हो। अतः त्यसलाई केटाकेटी खेल्न छोड्ने ठाउँ ठान्नु हुँदैन
[पृष्ठ ११-मा भएको पेटी/चित्र]
शिष्टाचार र सावधानीको आवश्यकता
शिष्टाचार
अर्को पक्षसँग सम्पर्क राख्नुअघि कस्तो शिष्टाचार देखाउनुपर्छ, सिक्नुहोस्। यस सन्दर्भमा इन्टरनेट सेवा उपलब्ध गराउने थुप्रै कम्पनीहरूले विचारणीय अनि राम्रा निर्देशनहरू दिएका छन्। तपाईंले त्यस्ता नीतिनियमहरू पालन गरेर शिष्ट व्यवहार देखाउनुभयो भने अरूले तपाईंको कदर गर्नेछ।
सावधानी
कुनै कुनै न्युजग्रुपहरूमा धर्म वा विवादास्पद विषयहरूमाथि बहस गरिन्छ। त्यस्ता छलफलहरूबारे आफ्नो टिप्पणी लेख्नदेखि होशियार हुनुहोस्। किनकि त्यसो गर्दा तपाईंको इ-मेल ठेगाना अनि नाउँ त्यस छलफल सेवा लिने सबैले पाउनसक्छ। फलतः तपाईंकहाँ अनावश्यक पत्रहरूको रास थुप्रिनसक्छ र समय खेर जानसक्छ। निस्सन्देह, कतिपय न्युजग्रुपहरू अन्तरक्रिया गर्न त परै जाओस्, पढ्नसमेत योग्यको छैन।
सँगी मसीहीहरूका लागि छलफल गर्ने समूह वा न्युजग्रुप बनाउन मिल्छ वा मिल्दैन, त्यस सन्दर्भमा के भन्न सकिन्छ? त्यस्तो न्युजग्रुप नबनाउनु नै राम्रो हो। किनकि त्यसले आशा गरेभन्दा ठूलो समस्या अनि खतराहरू निम्त्याउनसक्छ। उदाहरणका लागि, गलत मनसाय भएका केही व्यक्तिहरूले इन्टरनेटमा गलत बयान दिएको पाइएको छ। हाल, इन्टरनेटमा आफ्ना विचार व्यक्त गर्ने व्यक्तिहरू खासमा यस्तै हो भनेर कसैले किट्न सक्दैन। यसबाहेक, कुनै कुनै तरिकामा यस्ता सामूहिक छलफलमा भाग लिने व्यक्तिहरूलाई ठूलो, चिरकालीन जमघटसँग तुलना गर्न सकिन्छ। जहाँ मेजमानले आवश्यक अनि जिम्मेवारीपूर्ण सुपरिवेक्षण गर्न समय र बल हरबखत लगाइरहनुपर्ने हुन्छ।—हितोपदेश २७:१२ तुलना गर्नुहोस्।