अध्याय १
अनन्त जीवन एउटा सपना मात्र होइन
१, २. मानिसहरू पृथ्वीमा खुशीसाथ सदा जीवित रहन सक्छन् भनेर विश्वास गर्न किन कठिन छ?
पृथवीमा आनन्द—अल्प मात्र पनि अनुभव गर्न सम्भव छैन जस्तो लाग्छ। बिमारी, बृद्धावस्था, भोक, अपराध—यस्ता केही समस्याहरू छन्—जसले गर्दा जीवनलाई दु:खमय बनाइ दिन्छन्। त्यसकारण, तपाईं भन्नुहोला, एउटा प्रमोदबनमा अनन्त जीवन लिएर बाँच्ने कुरा गर्नु, वास्तविकता प्रति आँखा चिम्लिनु हो। तपाईं सोंच्नुहोला, अनन्त जीवन एउटा सपना मात्र हो र यसवारे कुरा गर्नु समय खेर फाल्नु हो।
२ यसमा कुनै सन्देह छैन, धेरै मानिसहरू तपाईंसँग सहमत हुनेछन्। तर पनि, पार्थिव प्रमोदबनमा तपाईं सदाकालागि वाँच्न सक्नु हुनेछ भनेर हामीहरू किन आश्वस्त हुन सक्दछौं? अनन्त जीवन एउटा सपना मात्र होइन भनेर हामीहरू किन विश्वाश गर्न सक्छौं?
हामी किन विश्वाश गर्न सक्छौं
३. परमेश्वर मानिसहरूलाई पृथ्वीमा खुशी देख्न चाहनुहुन्छ भनेर के ले देखाउँदछ?
३ हामीहरू विश्वाश गर्न सक्छौं किनकि एउटा सर्वोच्च शक्ति, सर्वशक्तिमान परमेश्वरले हामीलाई चाहिने सबै आवश्यक वस्तुहरूका साथ पृथ्वीलाई तैयार पार्नु भएको छ। हामीहरूलाई ठीक्क सुहाउने गरी उहाँले पृथ्वीलाई बनाउनु भएको छ! र यस पार्थिव घरमा—सदाकालागि पूर्णरूपले जीवनको आनन्द उठाउन, उहाँले पुरूष र स्त्रीलाई अत्युत्तम ढङ्गले सृष्टि गर्नु भयो।—भजन संग्रह ११५:१६.
४. मानव शरीर बारे बैज्ञानिकहरूले के सिकेकाछन् जसबाट मानिस सदा जीवित रहनकालागि बनाइएको थियो भन्ने कुरा जाहेर भएको छ?
४ मानव शरीरमा नवीकरणगर्ने क्षमता छ भन्ने कुरा वैज्ञानिकहरूलाई धेरै समय देखिन् थाह थियो। आवश्यकता अनुसार, शरीरका कोशिकाहरूको अद्भुत तरीकाले, प्रतिस्थापना या मरम्मत हुन्छ। र यो स्व:नवीकरण प्रक्रिया निरन्तर चलिरहनु पर्ने जस्तो देखिन्छ। तर यस्तो हुँदैन, र वैज्ञानिकहरूले अहिले सम्म यसवारे केही बुझ्न सकेकाछैनन्। मानिसहरू बूढ़ा किन हुन्छन् भनेर अझ राम्रोसँग तिनीहरूले बुझेका छैनन्। तिनीहरूको भनाइ अनुसार, उचित परिस्थितिमा, मानिसहरू सदाकालागि बाँच्न सक्नु पर्ने हो।—भजन संग्रह १३९:१४.
५. पृथ्वीकालागि परमेश्वरको उद्देश्य बारे बाइबलले के भन्दछ?
५ तथापि, मानिसहरू पृथ्वीमा सदाकालागि आनन्दपूर्वक बाँची रहून् भन्ने वास्तवमा परमेश्वरको उद्देश्य हो त? हो भने, अनन्त जीवन एउटा इच्छा वा सपना मात्र होइन—यो निश्चय पूरा हुनेछ! परमेश्वरका उद्देश्यहरू वारे वर्णन गर्ने पुस्तक, बाइबलले यस विषयमा के भन्दछ? यसमा परमेश्वरलाई “पृथ्वीका रचयिता र निर्माणकर्ता” भनिएको छ, र यो पनि भन्दछ: “उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नु भएन, उहाँले त्य आबाद गर्नलाई बनाउनु भयो।”—यशैया ४५:१८.
६. (क) आज पृथ्वीमा कुन प्रकारका परिस्थितिहरू छन्? (ख) के परमेश्वरले यस्तै चाहनु भएको हो त?
६ के परमेश्वरले चाहे अनुसारनै आज पृथ्वी आबाद भएको छ जस्तो तपाईंलाई लाग्दछ? हुन ता हो, पृथ्वीका सबै भागमा मानिसहरू बसेका छन्। तर परमेश्वरले चाहे अनुसार, के तिनीहरू एउटा सुखी र संयुक्त परिवार भएर बसेका छन्? आज संसार विभाजित छ। यहाँ घृणा छ। यहाँ अपराध छ। यहाँ युद्ध छ। लाखौं मानिसहरू भोको र रोगी छन्। अनेकलाई घर, काम, र खर्चकालागि दैनिक चिन्ताहरू छन्। यी कुनै पनि कुराहरूले परमेश्वरलाई सम्मान प्रदान गर्दैन। त्यसकारण स्पष्ट छ, सर्वशक्तिमान परमेश्वरले प्रारम्भमा चाहे अनुसार पृथ्वी आबाद भएको छैन।
७. प्रथम मानव दम्पतीलाई सृष्टि गर्नु हुँदा पृथ्वीकालागि परमेश्वरको के उद्देश्य थियो?
७ प्रथम मानव दम्पतीलाई सृष्टि गरे पछि, परमेश्वरले तिनीहरूलाई पार्थिव प्रमोदबनमा राख्नु भयो। तिनीहरूले पृथ्वीमा अनन्त जीवनको आनन्द उठाएको उहाँ चाहनु हुन्थियो। तिनीहरूले त्यो प्रमोदबन सारा पृथ्वीभरि फैलाउन् भन्ने उहाँको उद्देश्य थियो। यो कुरा उहाँले तिनीहरूलाई दिनु भएको निर्देशनबाट थाहा हुन्छ: “फल्दै-फुल्दै, बृद्धि हुँदै, पृथ्वीमा भरिदैं, र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्पत्ति १:२८) हो, समयमा, शान्ति र सुखका साथ मिलेर बस्ने एउटा धर्मी, मानव परिवारको नियन्त्रणमा सारा पृथ्वीलाई ल्याउने परमेश्वरको उद्देश्य थियो।
८. प्रथम दम्पतीले परमेश्वरको आज्ञा भङ्ग गरेता पनि, पृथ्वीकालागि परमेश्वरको उद्देश्य बदलिएको छैन भनेर हामीहरू किन विश्वस्त हुनसक्छौं?
८ यद्यपि प्रथम मानव दम्पतीले परमेश्वरको आज्ञा उल्लङ्घन गरेका हुनाकारण, तिनीहरू अनन्त जीवन पाउने योग्यको नभएता पनि, परमेश्वरको प्रारम्भिक उद्देश्य बदलिएन। त्यसको पूर्ति हुनै पर्दछ! (यशैया ५५:११) बाइबल प्रतिज्ञा गर्दछ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन संग्रह ३७:२९) परमेश्वरको सेवागर्ने मानिसहरूलाई अनन्त जीवन दिने उहाँको व्यवस्था वारे बाइबल बराबर कुरा गर्दछ।—यूहन्ना ३:१४-१६, ३६; यशैया २५:८; प्रकाश २१:३, ४.
जीवित रहने अभिलाषा—तर कहाँ?
९. (क) सामान्यतया मानिसहरूको के इच्छा हुन्छ? (ख) ‘परमेश्वरले तिनीहरूको मनमा अनन्तताको बोध’ गराइ दिनुभएको छ भनेको अर्थ के हो?
९ हामीहरू सदा बाँची रहौं भन्ने परमेश्वरको उद्देश्य छ भनेर बुझ्दा हामीहरू साच्चैंनै खुशी हुनसक्छौं। एकछिन् सोंच्नु होस्, तपाईंले फैसला गर्नु परेमा, तपाईं मर्नकालागि कुन दिन छान्नु हुनेछ? के तपाईं कुनै एक दिन छान्न सक्नु हुनेछ? सकनु हुन्न। तपाईं मर्न चाहनु हुन्न, नता कुनै सामान्य स्वस्थ व्यक्ति मर्न चाहन्छ। परमेश्वरले हामीलाई मर्ने इच्छा होइन, जीवित रहने इच्छा सहित बनाउनु भएको छ। परमेश्वरले मनुष्यलाई बनाउनु भएको तरीका वारे बाइबल भन्दछ: “उहाँले तिनीहरूको मनमा अनन्तताको बोध गराइदिनु भएको छ।” (उपदेशक ३:११, बाइङ्गटन) यसको अर्थ के हो? यसको अर्थ हो, साधरणतया मानिसहरू न मरिकन सदा जीवित रहन चाहन्छन्। कहिले अन्त न हुने भविष्यको इच्छा भएको हुनालेनै, सदा जवान रहन सकिने तरीकाहरूको खोजीमा मानिसहरू धेरै समय देखिन् लागि रहेकाछन्।
१०. (क) मानिस कुन ठाउँमा सदा जीवित रहने इच्छा गर्दछ? (ख) हामीहरूले पृथ्वीमा अनन्त जीवन पाउने कुरा परमेश्वरले सम्भव पार्नु हुनेछ भनेर हामी किन विश्वस्त हुन सक्छौं?
१० साधरणतया मानिसहरू कुन ठाउँमा सँधै बाँची रहन चाहन्छन्? यसै पृथ्वीमानै, जहाँ तिनीहरूको बस्ने बानी भइसकेको छ। मानिस पृथ्वीकालागि र पृथ्वी मानिसकालागि बनाइएको हो। (उत्पत्ति २:८, ९, १५) बाइबल भन्दछ: “त्यो कहिल्यै नडग्मगाओस् भनेर, जसले [परमेश्वरले] पृथ्वीको जग बसाल्नु भयो।” (भजन संग्रह १०४:५) पृथ्वी सदाकाल सम्म कायम रहन बनाइएको हो भने, मानिस पनि सदाकाल सम्म जीवित रहनु पर्दछ। निश्चय पनि, एउटा मायालु परमेश्वरले मानिसलाई अनन्त जीवनको अभिलाषा दिनु भएर, त्यो अभिलाषा पूरा गर्न असम्भव पारि दिनु हुने थिएन!—१ यूहन्ना ४:८; भजन संग्रह १३३:३.
तपाईंले अभिलाषा गर्नु भएको जस्तै जीवन
११. पूर्ण स्वास्थ्य सहित मानिसहरूले अनन्त जीवन प्राप्त गर्न सक्छन् भनेर बाइबलले कसरी प्रदर्शित गर्दछ?
११ अगाड़िको पाना हेर्नुहोस्। कुन प्रकारको जीवनको आनन्द यिनीहरूले उठाइ रहेछन्? के तपाईं पनि तिनीहरूसँग सम्मिलित हुन चाहनु हुन्छ? जरूर, चाहनु हुन्छहोला! हेर्नुहोस्, तिनीहरू कति स्वस्थ र तरूनो देखिएकाछन्! यिनीहरू हजारौं वर्ष सम्म बाँचीरहेका हुन् भनेर तपाईंलाई कसैले भन्यो भने के तपाईं पत्याउनु हुनेछ? बाइबलले भनेकोछ बूढ़ो फेरि जवान हुनेछ, बिरामी निको हुनेछ र लङ्गड़ा, अन्धा, बहिरा, गूङ्गा सबैनै आफ्ना रोगहरूबाट मुक्त हुनेछन्। येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा, बिरामी मानिसहरूलाई निको पारेर अनेक चमत्कारहरू देखाउनु भएको थियो। ती चमत्कारहरू गर्नु भएर उहाँ यो प्रदर्शित गर्दै हुनुहुन्थियो कि भविष्यमा चाँड़ै एउटा शानदार समयमा बाँचेकाहरू ले पुनः पूर्ण स्वास्थ्य प्राप्त गर्नेछन्।—अय्यूब ३३:२५; यशैया ३३:२४; ३५:५, ६; मत्ती १५:३०, ३१.
१२. यी चित्रहरूमा हामी कस्ता परिस्थितिहरू देख्दैछौं?
१२ हेर्नुहोस् यो कस्तो राम्रो उद्यान घर छ! ख्रीष्टले प्रतिज्ञा गर्नु भए अनुसार, यो एउटा ठीक त्यस्तै प्रमोदबन हो, जसलाई अनाज्ञाकारी प्रथम पुरुष र स्त्रीले गुमाएका थिए। (लूका २३:४३) यहाँको शान्ति र मेल-मिलापलाई ध्यान दिनुहोस्। सबै जातिका मानिसहरू—काला, गोरा, पहेंला—एक परिवार समान बसेकाछन्। जनावरहरू समेत शान्तिमय छन्। सिंहसँग बालकले खेलेको हेर्नुहोस्। तर डराउनु पर्ने कुनै कारणनै छैन। यसवारे सृष्टिकर्ता घोषणा गर्नु हुन्छ: “ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ . . . र सिंहले गोरुले झैं पराल खानेछ। दूधे बालक साँबे सर्पको कुरमा खेल्नेछ।”—यशैया ११:६-९.
१३. परमेश्वरका उद्देश्यहरूको पूर्ति भए पछि पृथ्वी बाट के समाप्त भएर जानेछ?
१३ मानिसहरूकालागि परमेश्वरले रचनु भएको प्रमोदबनमा, आन-न्दित हुने हरेक कारण हुनेछ। खानकालागि पृथ्वीमा प्रशस्त अन्न हुनेछ। कोई कहिले भोको रहने छैनन्। (भजन संग्रह ७२:१६; ६७:६) युद्ध, अपराध, हिंसा, घृणा र स्वार्थ समेत भूतकालका कुराहरू हुनेछन्। हो, ती सदाका लागि खतम् हुनेछन्! (भजन संग्रह ४६:८, ९; ३७:९-११) यो सबै सम्भव छ भनेर के तपाईं पत्याउनु हुन्छ?
१४. परमेश्वरले दुःखहरूको अन्त गर्नु हुनेछ भनेर कुन कुराले तपाईंलाई विश्वास दिलाउँछ?
१४ यसो सोंच्नु होस्, तपाईंसँग शक्ति भए, के तपाईं मानवीय दु:खका ती सबै कारणहरूलाई खतम् गर्नु हुने थिएन? र के तपाईं मानव हृदय ले लालसा गरेका परिस्थितिहरू उत्पन्न गर्नु हुने थिएन? निश्चय गर्नु हुने थियो। र हाम्रा मायालु स्वर्गीय पिताले पनि ठीक त्यस्तै गर्नु हुनेछ। उहाँले हाम्रा आवश्यकता र इच्छाहरू को पूर्ति गर्नु हुनेछ, किनभने भजन संग्रह १४५:१६ मा परमेश्वर वारे यसो भनिएकोछ: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” तर यो कहिले हुने हो?
महान आशिषहरू नजिक छन्
१५. (क) संसारको अन्तको अर्थ पृथ्वीकालागि के हुनेछ? (ख) खराब मानिसहरूकालागि यसको के अर्थ हुनेछ? (ग) परमेश्वरको इच्छा गर्नेहरूकालागि के अर्थ हुनेछ?
१५ पृथ्वीमा यी उत्तम आशिषहरूलाई सम्भव पार्न, दुष्टता र त्यसलाई प्रेरित गर्ने तत्व, दुवैलाई नष्ट गर्ने प्रतिज्ञा परमेश्वरले गर्नु भएको छ। साथै, उहाँको सेवा गर्नेहरूलाई रक्षा गर्नु हुनेछ, किनकि बाइबल भन्दछ: “औ संसार बितिजान्छ, तर परमेश्वरको इच्छा बमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१७) त्यो कत्रो परिवर्तन हुने हो! संसारको अन्तको अर्थ, हाम्रो पृथ्वीको अन्त होइन। बरु, नूहको समयमा विश्व-व्यापी जल-प्रलयमा भए जस्तै, यसको अर्थ, खराब मानिसहरू र तिनीहरूको जीवन-पद्धतिको अन्त हुनु हो। तर परमेश्वरलाई सेवागर्नेहरू यस अन्तबाट बाँच्ने छन्। अनि, त्यस पछि, हानि पुऱ्याउने र दुःख दिनेहरू बाट मुक्त भएर तिनीहरू यस स्वच्छ पृथ्वीमा आनन्द साथ बस्नेछन्।—मत्ती २४:३, ३७-३९; हितोपदेश २:२१, २२.
१६. “आखिरी दिनमा” कुन घटनाहरू बारे भविष्यवाणी गरिएको थियो?
१६ तर कसैले भन्न सक्छ: ‘परिस्थितिहरू राम्रो हुनुको सट्टा झन-झन बिग्रदों छ। यो महान परिवर्तन नजिक छ भनेर हामीहरू कसरी विश्वस्त हुनसक्दछौं?’ येशू ख्रीष्टले आफ्नो भावी अनुयायीहरूलाई धेरै कुराहरूको अग्रिम-सूचना दिनु भएर, ती कुराहरू तर्फ जागरुक रहने आदेश दिनुभयो ताकि परमेश्वरले संसारलाई समाप्त गर्ने समय आइपुग्यो भन्नेकुरा तिनीहरूले थाह पाउन सकून्। महायुद्ध, अनिकाल, महा-भूकम्प, बढदो अराजकता, र प्रेमको अभाव जस्ता कुराहरू, यो व्यवस्थाको अन्तिम दिनका चिन्ह हुनेछन् भनेर येशूले भन्नुभएको थियो। (मत्ती २४:३-१२) उहाँले भन्नुभयो “पृथ्वीमा जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ।” (लूका २१:२५) अझ बाइबल यसो भन्दछ: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” (२ तिमोथी ३:१-५) के अहिले हामीहरूले त्यस्तै प्रकारका परिस्थितिहरू अनुभव गरिरहेका छैनौं र?
१७. आजको परिस्थिति बारे विचारशील मानिसहरूले के भन्दछन्?
१७ विश्व-घटनाहरूको अध्ययन गर्नेहरूको भनाई अनुसार, एउटा महान परिवर्तन आउन लागेको छ। उदाहरणकालागि, मियामी, संयुक्त राज्य अमेरिकाको हेराल्ड पत्रिकाका सम्पादकले लेखेका छन्: “अलिकता पनि तार्किक बुद्धि भएको कुनैपनि व्यक्तिले, बितेका केही वर्षहरूका प्रलय रूपी घटनाहरूलाई एकसाथ राखेर हेऱ्यो भने, यो संसार एउटा ऐतिहासिक संघारमा पुगेको छ भनेर बुझ्न सक्छ। . . . यसले मानिसहरूको जीवनशैलीलाई सदाकालागि बदली दिनेछ।” त्यस्तै प्रकारले, अमेरिकन लेखक लुईस ममफोर्डले भनेको छ: “सभ्यता ओरालो लाग्दैछ। बिल्कुलै निश्चित रूपले। . . . अतीतमा सभ्यता ओरालो लाग्दा, अपेक्षाकृत त्यो एउटा स्थानीय घटना हुन्थियो। . . . अब, आधुनिक सञ्चार साधनहरूले संसारका विभिन्न भागहरूलाई धेरैने एकत्रित पारेको हुनाले, सभ्यता ओरालो लाग्दा, सम्पूर्ण ग्रहनै ओरालो लाग्ने छ।”
१८. (क) भविष्य बारे आजका विश्व परिस्थितिहरूले के देखाउँदछ? (ख) वर्तमान सरकारहरूको ठाउँमा के आउनेछ?
१८ आज संसारको परिस्थिति देख्दा, यो सारा व्यवस्था नष्ट हुने बेलामा हामीहरू बाँची रहेकाछौं भन्ने कुरा स्पष्ट हुन्छ। हो, चाड़ैनै अब परमेश्वरले यस पृथ्वीलाई बरबाद गर्नेहरू सबैलाई नाश गरेर, यसलाई स्वच्छ पार्नु हुनेछ। (प्रकाश ११:१८) वर्तमान सरकारहरूलाई हटाएर यस पृथ्वीमा आफ्नो धर्मी सरकारले शासन गर्ने मार्ग उहाँले खोल्नु हुनेछ। यो त्यही राज्य हो जसकालागि ख्रीष्टले आफ्नो अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनु भएको थियो।—दानिएल २:४४; मत्ती ६:९, १०.
१९. हामीहरू अनन्त जीवन चाहन्छौं भने, हामीहरूले के गर्नु पर्छ?
१९ यदि तपाईं जीवनसँग प्रेम गर्नु हुन्छ, र परमेश्वरको शासनको अधीनमा यस पृथ्वीमा अनन्त जीवन प्राप्त गर्न चाहनु हुन्छ भने, परमेश्वर, उहाँका उद्देश्यहरू र उहाँका आवश्यकताहरू वारे यथार्थ ज्ञान लिन हतार गर्नु होस्। येशू ख्रीष्टले परमेश्वरसँग आफ्नो प्रार्थनामा भन्नु भयो: “औ अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनु भयो, अर्थात येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हामीहरूले अनन्त जीवन प्राप्त गर्न सक्दछौं—यो एउटा सपना मात्र होइन भनेर जान्न पाउँनु कत्रो हर्षको कुरा हो! तर परमेश्वरबाट आउने यो आशिषको आनन्द प्राप्त गर्नदेखिन् हामीहरूलाई वञ्चित गराउने एउटा प्रयत्नशील शत्रु छ र त्यसवारे जान्नु जरूरी छ।
[पृष्ठ ८, ९-मा भएको चित्र]
संसार यस प्रकारको होस् भन्ने के परमेश्वरको अभिप्राय थियो?
[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]