अध्याय ९
नरक कस्तो ठाउँ हो?
१. नरकको विषयमा धर्महरूले के शिक्षा दिएकाछन्?
करोड़ौं मानिसहरूलाई तिनका धर्महरूले, नरक भनेको यस्तो ठाउँ हो जहाँ मानिसहरूलाई सारै सास्ती दिइन्छ भन्ने कुराको शिक्षा दिइएकोछ। एनसाइक्लोपिडिया ब्रिटानिका अनुसार, “नरक . . . सदाकालाग रहिरहने छ; यसमा हुने यातनाको कहिले अन्त हुनेछैन भनेर रोमन कैथोलिक गिर्जाले शिक्षा दिन्छ।” एनसाइक्लोपिडिया अगाड़ि भन्दछ, “यो कैथोलिक शिक्षालाई, अझैपनि अनेक रूढिवादी प्रोटेस्टेन्ट समुदायहरूले अपनाएकै छ।” हिन्दू, बुद्धिष्ट, र मुसलमानहरू पनि नरक भनेको सास्ती दिने ठाउँ हो भन्ने शिक्षा दिन्छन्। त्यसैकारण, यस्ता शिक्षा पाएका मानिसहरूले, नरक त्यस्तो खराब ठाउँ भएको हुनाले, त्यसवारे कुरा गर्न नचाहेकोमा कुनै आश्चर्य छैन।
२. आगोमा छोरा-छोरीहरूलाई जलाउने सम्बन्धमा परमेश्वरले के सोंच्नु हुन्थियो?
२ यसबाट प्रश्न उठ्दछ: के सर्वशक्तिमान परमेश्वरले यस प्रकारको सास्ती दिने ठाउँ रचना गर्नु भएको हो? आफ्ना नजिकमा बस्नेहरूको नक्कल गर्दै, इस्राएलीहरूले जब आफ्ना बच्चाहरूलाई आगोमा जलाउन थाले, त्यस बेला परमेश्वरको के दृष्टिकोण थियो? उहाँले आफ्नै शब्दमा व्याख्या गर्नु भएको छ: “औ आफ्ना छोरा-छोरीहरूलाई आगोमा बलि गर्न हिन्नोनको छोराको बेंसीमा भएको तोपेतमा पूजा-थान तिनीहरूले बनाएका छन्। त्यसो गर्ने आज्ञा मैले दिएको थिइनँ। त्यो कुरा मेरो मनमा कहिले उब्जेको थिएन।”—यर्मिया ७:३१.
३. परमेश्वरले मानिसहरूलाई सास्ती दिनु हुनेछ भन्ने कुरा अविवेकपूर्ण हुनुका साथै धर्म-शास्त्र विपरीत किन हो?
३ यस वारे सोंच्नु होस्। मानिसहरूलाई आगोमा पोल्ने विचार कहिले पनि परमेश्वरको मनमा आएको थिएन भने, उहाँको सेवा नगर्नेहरूकालागि एउटा अग्निमय नरक उहाँले बनाउनु हुने कुरा कत्तिको तर्क-सङ्गत हुनसक्दछ? बाइबल भन्दछ: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) के एउटा मायालु परमेश्वरले मानिसहरूलाई सदाकालागि सास्ती दिनुहुनेछ? के तपाईं त्यसो गर्नु हुनेछ? परमेश्वर हामीहरूलाई प्रेम गर्नु हुन्छ भन्ने ज्ञान पाए पछि, नरक भनेको के हो भनेर जान्न उहाँको वचन तर्फ ध्यान दिने प्रेरणा हामीमा हुनुपर्छ। त्यहाँ को र कत्ति समयकालागि जान्छन्?
शीओल र हेडीस
४. (क) कुन हिब्रू र युनानी शब्दहरूलाई “नरक” भनेर अनुवाद गरिएको छ? (ख) किंग जेम्स भर्सन मा शीओल शब्दलाई कसरी अनुवाद गरिएको छ?
४ वेब्स्टर्स डिक्शनरी अनुसार, “नरक” भन्ने शब्द हिब्रू शब्द शीओल र युनानी शब्द हेडीसबाट लिइएको हो। जर्मन बाइबलहरूमा होइले; पुर्तगालिमा इनफर्ना, स्पैनिसमा इनफिएर्नो, र फ्रेन्चमा एनफर शब्दहरू प्रयोग गरिएकोछ। औथोराइज्ड भर्सन वा किंग जेम्स भर्सन का अनुवादकहरूले शीओललाई ३१ पटक “नरक”, ३१ पटक “चिहान” र ३ पटक “पाताल” भनेर अनुवाद गरेकाछन्। कैथोलिक डुवे भर्सनले शीओललाई ६४ पटक “नरक” भनेर अनुवाद गरेको छ। मसीही युनानी शास्त्रमा, (जसलाई साधारणतया “नया नियम” भन्दछन्) किंग जेम्स भर्सनले १० ठाउँमा हेडीस शब्दलाई “नरक” भनेर अनुवाद गरेको छ।—मत्ती ११:२३; १६:१८; लूका १०:१५; १६:२३; प्रेरित २:२७, ३१; प्रकाश १:१८; ६:८; २०:१३, १४.
५. शीओल र हेडीसबारे के प्रश्न उठ्दछ?
५ प्रश्न यो छ: शीओल अथवा हेडीस कुन प्रकारको ठाउँ हो? नरक, चिहान, र पाताल यी सबै शब्दहरूको एउटै अर्थ हो भन्ने तथ्य किंग जेम्स भर्सनको अनुवादले प्रमाणित गर्दछ। नरकको अर्थ मानवजातिको साधारण चिहान हो भने, साथै यसको अर्थ अग्निमय सास्ती दिने ठाउँ हुन सक्दैन। त्यसो भए, शीओल र हेडीसको अर्थ चिहान हो वा सास्ती दिने ठाउँ?
६. (क) शीओल र हेडीस दुवै शब्दहरूको एउटै अर्थ हो भनेर बाइबलले कसरी देखाउँदछ? (ख) येशू हेडीसमा हुनुहुन्थियो भन्ने कुराले के दर्शाउँछ?
६ यस प्रश्नको उत्तर दिनु भन्दा पहिले, हिब्रू शब्द शीओल र युनानी शब्द हेडीस दुवैको एउटै अर्थ हो भन्ने कुरा स्पष्ट पारौं। यसलाई हिब्रू शास्त्र को भजनसंग्रह १६:१० र मसीही युनानी शास्त्र को प्रेरित को २:३१ मा हेऱ्यौं भने स्पष्टसँग देख्नेछौं। ध्यान दिनुहोस्, भजनसंग्रह १६:१० मा हिब्रू शब्द शीओललाई पाताल भनेर अनुवाद गरिएको छ भने, त्यसैलाई उद्धरण गर्दै प्रेरित २:३१ मा युनानी शब्द हेडीसलाई पनि पाताल भनेरनै अनुवाद गरिएको छ। अब यहाँ ध्यान दिनु होस्, येशू ख्रीष्ट हेडीसमा, अर्थात नरकमा हुनुहुन्थियो भनेर किंग जेम्स भर्सन जस्ता अनुवादकहरूले हेडिस शब्दलाई अनुवाद गरेको हामी पाउँछौं। उसो भए परमेश्वरले ख्रीष्टलाई अग्निमय नरकमा सास्ती दिनु भएको थियो भनेर हामीहरूले विश्वास गर्नु पर्ने हो ता? कदापि हुनसक्दैन! येशू आफ्नो साधारण चिहानमा हुनुहुन्थियो।
७, ८. याकूब र उसको छोरो यूसुफ तथा अय्यूब वारे भनिएका कुराहरू बाट, शीओल सास्ती खाने ठाउँ होइन भनेर कसरी प्रमाणित हुन्छ?
७ आफ्नो छोराको मृत्यु भयो भन्ने ठानेर, याकूबले आफ्नो छोरा यूसुफकालागि बिलौना गर्दै यसो भन्यो: “मेरो शोकमानै म मेरो छोराकहाँ चिहानमा जानेछु!” (उत्पत्ति ३७:३५) यहाँचाहिं किंग जेम्स भर्सनले शीओललाई “चिहान” भनेर अनुवाद गरेको छ, र डुवे भर्सनले त्यही शब्दलाई “नरक” भनेर अनुवाद गरेको छ। अब एकछिनकालागि यसो विचार गरौं। के याकूबले उसको छोरा यूसुफ अनन्तकाल सम्म सास्तीखाने ठाउँमा गएको छ भनेर विश्वास गरेको थियो, र आफू पनि उसलाई भेट्न सोही ठाउँमा जाने इच्छा गरको हो ता? वा, याकूबले यति मात्र सोंचेको थियो कि उसको छोरा मरेर चिहानमा छ र आफूपनि मरेर चिहानमा जान चाहेको थियो?
८ हो, असल मानिसहरू बाइबल वर्णित नरकमा जान्छन्। उदाहरणकालागि, असल मानिस अय्यूबले दु:ख पाएको बेलामा, परमेश्वरसँग यसरी प्रार्थना गऱ्यो: “तपाईंले मलाई शीओलमा [चिहानमा, किंग जेम्स भर्सन; नरक, डुवे भर्सन] लुकाउनु हुनेछ, . . . तपाईंले समयको सीमा तोकिदिएर मलाई सम्झनु भएता हुनेथियो!” (अय्यूब १४:१३) अब विचार गर्नुहोस्: शीओलको अर्थ आगो र सास्ती पाइने ठाउँ हुँदो हो ता, के परमेश्वरले उसलाई नसम्झिएसम्म, अय्यूब त्यस्तो ठाउँमा गएर समय बिताउन चाहन्थियो होला र? स्पष्ट छ, अय्यूब अफ्नो सन्ताप अन्त गर्न, मरेर चिहानमा जान चाहन्थियो।
९. (क) शीओलमा हुनेहरूको के दशा हुन्छ? (ख) त्यसकारण, शीओल र हेडीस के हुन्?
९ बाइबलमा जहाँ पनि शीओल शब्दको प्रयोग भएको छ, त्यसको सम्बन्ध जीवन, सक्रियता, र सास्तीसँग कदापि रहेको छैन। बरू, त्यसको सम्बन्ध मृत्यु र निष्क्रियता सँग रहेको छ। उदाहरणकालागि, उपदेशक ९:१० मा उल्लेखित वचनमा ध्यान दिनुहोस्: “तेरो हाथमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, [न्यु.व. मा शीओल; किंग जेम्स भर्सनमा, चिहान; डुवे भर्सनमा, नरक] जहाँ तँ जानै पर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” त्यसकारण, उत्तर स्पष्ट छ। शीओल र हेडीस शब्दहरूले सास्ती पाइने ठाउँ होइनकि मानवजातिकालागि साधारण चिहान हो भनेर जनाउछ। (भजनसंग्रह १३९:८) असल र खराब दुबैनै बाइबल वर्णित नरकमा जान्छन्।
नरकबाट बाहिर आउन
१०, ११.. माछाको पेटमा हुँदा, योनाले तिनी पातालमा अर्थात नरकमा थिए किन भने?
१० के मानिसहरू नरकबाट बाहिर आउन सक्छन्? योनाको उदाहरण सम्झनु होस्। जब परमेश्वरले योनालाई डुब्नबाट बचाउनकालागि तिनलाई निल्न एउटा ठूलो माछाको प्रयोग गर्नु भयो, र माछाको पेटबाट योनाले प्रार्थना गरे: “मैले आफ्नो सङ्कष्टको कारणले गर्दा यहोवालाई [न्यु.व.] पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो। पातालको [नरक, किंग जेम्स भर्सन र डुवे भर्सन अनुसार (२:३)] पेटबाट म कराएँ, र तपाईंले मेरो शब्द सुन्नुभयो।”—योना २:२.
११ “पातालको पेटबाट” भन्दा, योनाले के भन्न खोजेका थिए? माछाको पेट निश्चय पनि एउटा अग्निमय सास्ती खाने ठाउँ थिएन। तर त्यो योनाको चिहान हुन सक्थियो। वास्तवमा, येशू ख्रीष्टले आफ्नो वारेमा यसो भन्नुभएकोछ: “जसरी योना ठूलो माछाको पेट भित्र तीन दिन र तीन रात थियो, उसरीनै मानिसको पुत्र पनि पृथ्वीको पेट भित्र तीन दिन र तीन रात रहनेछ।”—मत्ती १२:४०.
१२. (क) नरकमा हुनेहरू बाहिर निस्किन सक्छन् भन्ने कुराको के प्रमाण छ? (ख) “नरक” भनेको “चिहान” हो भन्ने कुराको अरू के प्रमाणहरू छन्?
१२ येशू मरे पछि तीन दिन सम्म आफ्नो चिहानमा हुनुहुन्थियो। तर बाइबल उल्लेख गर्दछ: “उहाँको प्राण नरकमा छाड़िएन . . . यिनै येशूलाई परमेश्वरले बिउँताउनुभयो।” (प्रेरित २:३१, ३२, किंग जेम्स भर्सन अनुसार) परमेश्वरको निर्देशन अनुरूप, त्यसैगरी, योनालाई नरकबाट, अर्थात, उसको चिहानबाट, बिउँताइयो। माछाले सुखा ठाउँमा उसलाई ओकल् दियो। हो, मानिसहरू नरकबाट बाहिर निस्कन सक्छन्! वास्तवमा, नरकबाट (हेडीस) सबै मरेकाहरू निकालिने छन् र त्यो खाली हुनेछ भन्ने हृदयग्राही प्रतिज्ञा गरिएकोछ। यो कुरा प्रकाश २०:१३ पढ़दा देख्नेछौं, जहाँ भनिएकोछ: “अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मत्यु र नरकले [हेडीस] पनि तिनीहरूमा भएको मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्यकको आफ्नो आफ्नो काम अनुसार इन्साफ भयो।”—किंग जेम्स भर्सन.
गेहेन्ना र अग्नि-कुण्ड
१३. बाइबलमा १२ ठाउँमा पाइने त्यो कुन युनानी शब्द हो जसलाई किंग जेम्स भर्सन मा “नरक” भनेर अनुवाद गरिएको छ?
१३ तापनि कसैले यसो भनेर विरोध गर्न सक्दछ: ‘बाइबलले नरकको आगो र अग्नि-कुण्ड वारे बताएकोछ। नरक एउटा सास्ती खाने ठाउँ हो भनेर के यसबाट प्रमाणित हुँदैन र?’ ठीक हो, केही बाइबल अनुवादहरू, खासगरी किंग जेम्स भर्सन जस्ताले “नरकको अग्नि” र “नरक, कहिले ननिभ्ने आगोमा फालिने” कुराको चर्चा गरेको छ। (मत्ती ५:२२; मर्कूस ९:४५) किंग जम्स भर्सनले मसीही युनानी शास्त्रको जम्मा १२ पदहरूमा गेहेन्ना भन्ने शब्दलाई “नरक” भनेर अनुवाद गरेकोछ। जबकि हेडीसलाई “नरक” भनेर अनुवाद गर्दा, त्यसको अर्थ केवल चिहान हो भने, के गेहेन्ना वास्तवमा एउटा अग्निमय सास्ती खाने ठाउँ हो?
१४. गेहेन्ना भनेको के हो, र त्यहाँ के गरिन्थियो?
१४ स्पष्ट छ कि, हिब्रू शब्द शीओल र युनानी शब्द हेडीसको अर्थ चिहाननै हो। त्यसो भए गेहेन्नाको के अर्थ हो? हिब्रू शास्त्रमा गेहेन्ना भनेको “हिन्नोम बेंसी” हो। याद गर्नुहोस्, येरूशलेमको पर्खाल बाहिरको क्षेत्रलाई, जहाँ इस्राएलीहरू आफ्ना छोरा-छोरीहरूलाई आगोमा होम गर्दथिए, हिन्नोम भनिन्थियो। पछि, एउटा असल राजा योशियाहले यो बेंसीलाई यस प्रकारको भयङ्कर चल- नकालागि अयोग्य ठहराइदिए। (२ राजा २३:१०) अनि, यसलाई एउटा फोहोर-मैला फ्याँकिने ठूलो ठाउँ बनाइयो।
१५. (क) येशूको समयमा, गेहेन्ना के कालागि प्रयोग गरिन्थियो? (ख) त्यहाँ के कुरा कहिले फ्याँकिदैन थियो?
१५ येशू पृथ्वीमा हुँदा, गेहेन्ना भनेको यरूशलेमको फोहोर-मैला फालिने ठाउँ हो भनेर सबैलाई थाह थियो। फोहोर-मैलालाई सँधैनै डढ़ाइ राख्नकालागि, गन्धक बराबर थपदै त्यस ठाउँमा निरन्तर आगो बालि राखिन्थियो। स्मीथ्स डिक्सनरी आफ बाइबल भोल्युम् १ ले व्याख्या गर्दछ: “यो शहरको फोहोर-मैला फ्याँकिने ठाउँ भइसकेको थियो, जहाँ अपराधीहरूको मृत शरीर, र पशुहरूको सिनोहरू, हरेक प्रकारका फोहरहरू फालिन्थिए।” तर, कुनैपनि जीवित वस्तुहरू त्यहाँ फालिदैनथिए।
१६. अनन्त विनाशको प्रतीकको रूपमा गेहेन्ना शब्दको प्रयोग हुन्थियो भन्ने कुराको के प्रमाण छ?
१६ शहरको फोहोर-मैला फाल्ने ठाउँ वारे जानकारी भएको हुनाले, येशूले दुष्ट धार्मिक नेताहरूलाई भन्नुभएका यी कुराहरू यरूशलेमका निवासीहरूले सजिलैसँग बुझ्न सके: “ए सर्पहरू, साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको [गेहेन्नाको, न्यु.व. अनुसार] दण्डदेखि कसरी उम्कनेछौ?” (मत्ती २३:३३) ती धार्मिक नेताहरू सास्ती खानेछन् भन्ने येशूको भनाइको अर्थ थिएन। किनभने, इस्राएलीहरूले त्यस बेंसीमा आफ्ना छोरा-छोरीहरूलाई डढ़ाउँदा, यस्ता कुरा मेरो मनमा कहिल्यै उब्जेको थिएन भनेर परमेश्वरले भन्नुभएको थियो! यसकारण, येशूले, पूर्ण र अनन्त विनाशको उपयुक्त प्रतीकको रूपमा गेहेन्ना शब्दको प्रयोग गर्नुभएको थियो। ती दुष्ट धार्मिक नेताहरू पुनरुत्थानका योग्य थिएनन् भन्ने अर्थ उहाँ जनाउँनु हुँदैथियो। गेहेन्नामा जानेहरू, त्यही फोहोर-मैला जस्तै, सदाकालागि नाश हुनेछन् भनेर येशूलाई सुन्नेहरूले बुझे।
१७. “अग्नि-कुण्ड” भनेको के हो, र त्यस कुराको के प्रमाण छ?
१७ बाइबलको प्रकाशको पुस्तकमा उल्लेखित “अग्नि-कुण्ड” के हो ता? यसको अर्थ पनि गेहेन्नाकै समान छ। यसको अर्थ चेतनावस्थाको सास्ती नभएर, अनन्त मृत्यु वा विनाश हो। हेर्नुहोस्, बाइबल आफैले प्रकाश २०:१४ मा यसवारे के भन्दछ: “औ मृत्यु र हेडीस [नरक, किंग जेम्स भर्सन र डुवे भर्सन अनुसार] अग्नि-कुण्डमा फालिए। यो चाहिं, अर्थात अग्नि-कुण्ड, दोस्रो मृत्यु हो।” हो, अग्नि-कुण्डको अर्थ “दोस्रो” मृत्यु हो, यस्तो मृत्यु जसबाट पुनरुत्थान हुनसक्दैन। यो “कुण्ड” एउटा प्रतीक हो भन्ने कुरा स्पष्ट छ किनकि मृत्यु र नरक (हेडीस) त्यसमा फालिनेछ। मृत्यु र नरक अक्षरश: आगोमा डढ़ाइन सकिदैन। तर तिनीहरू सदाकालागि हटाइन अर्थात नष्ट गरिन सकिनेछ र गरिने पनि छ।
१८. “अग्नि-कुण्डमा” दियाबलले सदाकालागि सास्ती खानेछ भनेको अर्थ के हो?
१८ तर अझ कसैले भन्न सक्छ ‘दियाबललाई अग्नि-कुण्डमा सदाकालकालागि सास्ती दिइनेछ भनेर बाइबल भन्दछ।’ (प्रकाश २०:१०) त्यसको के अर्थ हो? येशू पृथ्वीमा हुनुहुँदा, बेला-बेलामा झ्यालखानका हाकिमलाई “सास्ती दिनेवाला” भनिन्थियो। येशूले कुनै एक व्यक्तिवारे आफ्नो एउटा उदाहरणमा भन्नुभयो: “तब त्यसका मालिकले रिसाएर त्यसलाई त्यसको सबै ऋण नतिरुञ्जेल सास्ती दिनेवालाको हाथमा जिम्मा लगाइदिए।” (मत्ती १८:३४, किंग जेम्स भर्सन) “अग्नि-कुण्डमा” फालिनेहरू “दोस्रो मृत्यु” मा जानेछन् जहाँबाट तिनीहरूको पुनरुत्थान नहुनेहुनाले तिनीहरू मृत्युमा सदाकालागि झ्यालखानमा परे सरहनै हुनेछन्।। मृतक रहेर अनन्तकालकालागि तिनीहरू झ्यालखानका हाकिमको जिम्मामा रहे सरह हुनेछन्। हामीले देखि सक्यौं, दुष्टहरू अक्षरश: सास्ती खाने छैनन् किनकि, मानिस मरे पछि उसको अस्तित्वनै रहदैन। उसलाई केही कुराको चेतना छैन।
धनी मानिस र लाजरस
१९. धनी मानिस र लाजरस वारे येशूले भन्नुभएका कुराहरू उदाहरण मात्र हुन् भनेर हामीहरूले कसरी बुझ्दछौं?
१९ उसो भए, येशूले दिनुभएको उदाहरणहरू मध्यको यो उदाहरणको के अभिप्राय हो: “त्यो माग्ने मऱ्यो, र स्वर्गदूतहरूले त्यसलाई बोकेर अब्राहामको काखमा राखे, औ त्यो धनी मानिस पनि मऱ्यो र गाड़ियो। नरकलोकमा [हेडीस] कष्टमा उसले नजर उठाएर हेऱ्यो, र टाढ़ामा अब्राहामलाई र उसको काखमा लाजरसलाई देख्यो”? (लूका १६:१९-३१, किंग जेम्स भर्सन) हामीहरूले बुझे अनुसार, हेडीसले सास्ती खाने कुनै ठाउँलाई होइन मानवजातिको चिहानलाई जनाउँने हुनाले, येशू यहाँ एउटा उदाहरण अथवा एउटा कथा भन्दै हुनुहुन्थियो भन्ने कुरा स्पष्ट छ। यो एउटा अक्षरश: वृतान्त नभएर उदाहरण मात्रै हो भन्ने कुराको अझ प्रमाणकालागि यस माथि ध्यान दिनुहोस्: के नरक र स्वर्गको बीचको दूरी शाब्दिक रूपमा यति नजिक छ कि यस प्रकारको वार्तालाप सम्भव हुन सक्थियो? अझ, यदि धनी मानिस वास्तवमा अग्नि-कुण्डमा जलीरहेको थियो भने, लाजरसलाई उसको औंलाको टुप्पामा पानीको एक थोपा मात्र चोपेर त्यस धनी मानिसको जिब्रोलाई शीतल पारिदिन अब्राहामले कसरी पठाउन सक्थिए र? उसो भए, येशूले यस उदाहरण द्वारा के भन्न खोज्नु हुँदै थियो?
२०. देहाएका उदाहरणहरूको अर्थ के हुन् (क) धनी मानिस? (ख) लाजरस? (ग) प्रत्यकको मृत्यु? (घ) धनी मानिसले पाएको सास्ती?
२० यस उदाहरणमा, धनी मानिसले, स्वयंलाई महत्वपूर्ण ठान्दै, येशूलाई अस्वीकार गर्ने, र पछि उहाँलाई मार्ने धार्मिक नेताहरूलाई प्रतिनिधित्व गर्दछ। लाजरसले, ती साधारण मानिसहरूलाई चित्रित गर्दछ जसले परमेश्वरका पुत्र येशूलाई स्वीकार गरे। धनी मानिस र लाजरस दुवैको मृत्युले तिनीहरूको स्थितिमा भएको परिवर्तनलाई प्रतिनिधित्व गर्दछ। यो परिवर्तन त्यसबेला भयो जब उपेक्षित लाजरस वर्गका मानिसहरूलाई येशूले आध्यात्मिक भोजन खुवाउनु भए पछि, तिनीहरूले महान अब्राहाम, यहोवा परमेश्वरको अनुग्रह पाए। त्यसै समयमा, झुट्टा धार्मिक नेताहरू परमेश्वरको अनुग्रहबाट वञ्चित भएर “मरेका” सरह भए। परमेश्वरको दृष्टिबाट फ्याँकिएका हुनाले, ख्रीष्टका चेलाहरूले तिनीहरूका खराब कामको पर्दाफास गर्दा, तिनीहरूले धेरैनै सास्ती खाएको अनुभव गरे। (प्रेरित ७:५१-५७) त्यसकारण, केही मरेका मानिसहरू वास्तविक अग्निमय नरकमा सास्ती खान्छन् भन्ने कुरा यो उदाहरणले सिकाउँदैन।
दियाबल-उत्प्रेरित शिक्षाहरू
२१. (क) दियाबलले के झूटा कुराहरू फैलाएको छ? (ख) पापमोचन अर्थात सास्ती खाने ठाउँको शिक्षा झुट्टा हो भनेर हामीहरू कसरी विश्वस्त हुनसक्छौं?
२१ दियाबलले हव्वालाई भन्यो: “तिमीहरू कदापि मर्दैनौ।” (उत्पत्ति ३:४; प्रकाश १२:९) तर त्यो मरी; उसको कुनैपनि अङ्ग जीवित रहेन। मरणोपरान्त प्राण जीवित रहन्छ भन्ने कुरा दियाबलले सुरूआत गरेको एउटा झूटा कुरा हो। दुष्टहरूको प्राण नरक वा पापमोचन स्थानमा सास्ती पाउँछ भन्ने अर्को झूटो विश्वास दियाबलले फैलाएको छ। मरेकाहरू अचेतन अवस्थामा छन् भनेर बाइबलले स्पष्टसँग देखाएको हुनाले, ती शिक्षाहरू सत्य हुनसक्दैनन्। यथार्थमा, “पापमोचनका निम्ति सास्ती खाने स्थान” भन्ने शब्द अथवा मरी सके पछि पापमोचन हुने कल्पना सम्म पनि बाइबलमा पाइँदैन।
२२. (क) यस अध्यायबाट हामीहरूले के सिक्यौं? (ख) तपाईं माथि यस ज्ञानले के प्रभाव पारेको छ?
२२ नरक (शीओल, वा हेडीस) मरेकाहरूकालागि आशामा विश्राम गर्ने स्थल हो भनेर हामीले बुझ्यौं। पुनरुत्थानका निम्ति पर्खिन, असल र खराब सबै मानिसहरू त्यहाँ जान्छन्। गेहेन्ना भनेको सास्ती खाने ठाउँ होइन भनेर पनि हामीले बुझ्यौं। यो शब्द, बाइबलमा अनन्त विनाशको प्रतीकको रूपमा प्रयोग गरिएको छ। त्यसैगरी, “अग्नि-कुण्ड” साँच्चैको आगो भएको ठाउँ होइन। यसले “दोस्रो मृत्यु” लाई जनाउँछ जहाँबाट पुनरुत्थान हुनै सक्दैन। नरक भनिएको सास्ती दिने ठाउँ हुन सक्दैन किनभने यस प्रकारको विचार परमेश्वरको मन अथवा मस्तिष्कमा कहिले आएको थिएन। यसका अतिरिक्त, पृथ्वीमा केही वर्षकालागि गरिएको भूलकालागि एउटा व्यक्तिलाई अनन्तकाल सम्म सास्ती दिनु न्यायको विपरीत हुनेछ। मरेकाहरूका बिषयमा सत्य कुरा जान्नु कति राम्रो! यसले वास्तवमा कसैलाई पनि भय र अन्धविश्वासबाट छुटकारा दिलाउन सक्छ।—यूहन्ना ८:३२.
[पृष्ठ ८३-मा भएको पेटी]
हिब्रू शब्द “शीओल” र युनानी शब्द “हेडीसको” एउटै अर्थ हो
अमेरिकन स्टेंडर्ड भर्सन
१० किनभने तपाईंले मेरो प्राणलाई
शीओलमा छोड़नु हुनेछैन।
तपाईंले आफ्नो पवित्र
जनलाई कुहुन दिनुहुनेछैन।
३१ अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका हुन्, उहाँ न हेडीसमा छोड़िनुभयो, नता उहाँको शरीरनै कुह्यो।
[पृष्ठ ८४, ८५-मा भएको चित्र]
माछाले निले पछि योनाले यसो किन भने: ‘पातालको पेटबाट म कराएँ’?
[पृष्ठ ८६-मा भएको चित्र]
गेहेन्ना यरूशलेम बाहिर एउटा बेंसी थियो। अनन्त मृत्युको प्रतीकको रूपमा यसको प्रयोग गरिएको थियो