अध्याय २७
प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
१. परमेश्वरबाट के सहायताको हामीलाई आवश्यकता छ र त्यो हामी कसरी प्राप्त गर्छौं?
संसारको दुष्ट प्रभावबाट बाँच्नकालागि, मसीहीहरूलाई प्रार्थना द्वारा मददको विशेष आवश्यकता पर्दछ। येशूले भन्नुभयो: “स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) हामीहरूलाई परमेश्वरको पवित्र आत्मा, अथवा सक्रिय शक्तिको आवश्यकता छ, साथै उहाँको वचनको अध्ययन र उहाँको सङ्गठनको संगतिको पनि हामीलाई आवश्यकता छ। तर पवित्र आत्मा प्राप्त गर्न, हामीहरूले त्यसकालागि प्रार्थना गर्नु पर्दछ।
२. (क) प्रार्थना के हो? (ख) कति प्रकारका प्रार्थनाहरू छन्? (ग) प्रार्थना किन महत्वपूर्ण छ?
२ प्रार्थना, परमेश्वरसँग गरिने आदरपूर्ण कुराकानी हो। परमेश्वरसँग कुनै कुराहरू माग्दा, प्रार्थना एउटा निवेदनको रूपमा हुन सक्दछ। तर प्रार्थना परमेश्वरको प्रशंसा अथवा उहाँलाई धन्यवाद चढ़ाउने अभिव्यक्ति पनि हुन सक्छ। (१ इतिहास २९:१०-१३) हाम्रो स्वर्गीय पितासँग राम्रो सम्बन्ध राख्नकालागि, उहाँसँग प्रार्थना द्वारा निरन्तर कुरा गर्नु पर्छ। (रोमी १२:१२; एफिसी ६:१८) शैतानले अथवा उसको संसारले हामीहरूमाथि कुनै प्रकारका कष्टहरू वा प्रलोभनहरू ल्याएता पनि, हामीले माग्दा पाउन सक्ने उहाँको सक्रिय शक्तिले उहाँको इच्छा गर्न हामीमा शक्ति प्रदान गर्न सक्छ।—१ कोरिन्थी १०:१३; एफिसी ३:२०.
३. (क) परमेश्वरबाट के शक्ति हामी पाउँन सक्छौं? (ख) परमेश्वरसँग राम्रो सम्बन्ध कसरी कायम राख्न सक्छौं?
३ परमेश्वरलाई मन नपर्ने तपाईंको कुनै बानी वा अभ्यासबाट छुटकारा पाउन तपाईंलाई वास्तवमा सङ्घर्ष गर्न परिरहेको होला। त्यसो हो भने, यहोवाको मददको खोजी गर्नु होस्। उहाँसँग प्रार्थना गर्नु होस्। प्रेरित पावलले त्यसै गरे, र उनले लेखे: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३; भजनसंग्रह ५५:२२; १२१:१, २) अनैतिकताको बाटोबाट मुक्त भएकी एउटी आइमाइले यसो भनी: “त्यस स्थितिबाट तपाईंलाई निकाल्न मदद दिने शक्ति एकजना उहाँमा मात्र छ। यहोवासँग तपाईंले व्यक्तिगत सम्बन्ध कायम गर्न सक्नु पर्छ, र त्यो व्यक्तिगत सम्बन्ध प्रार्थना द्वारा मात्र कायम गर्न सकिन्छ।”
४. एउटा व्यक्तिले धूम्रपान गर्ने बानीबाट छुटकारा पाउँन सक्ने शक्ति कसरी पाए?
४ तथापि कसैले भन्न सक्छ: ‘मैले परमेश्वरलाई कत्ति पटक सहायताकालागि प्रार्थना गरेकोछु, तर गलत काम गर्नबाट अझ पनि आफूलाई रोक्न सकेको छैन।’ खासगरी धूम्रपान गर्नेहरूले यसो भनेका छन्। यस्ता मानिसलाई यो सोध्दा: “कत्ति बेला तपाईं प्रार्थना गर्नु हुन्छ?” उनले उत्तर दिए: “बेलुकी सुत्न जानु भन्दा पहिले, विहान उठे पछि, र तलतल लागेर धूम्रपान गरे पछि, मैले गरेको कामकालागि दुखी छु भनेर म यहोवालाई भन्दछु।” उनको मित्रले भने: “तिमीलाई परमेश्वरको मदद वास्तवमा त्यस बेला चाहिन्छ जुन बेला धूम्रपान गर्न तिमीलाई तलतल लाग्छ, होइन र? त्यत्ति बेला यहोवासँग शक्तिकालागि तिमीले प्रार्थना गर्नु पर्दछ।” त्यस व्यक्तिले त्यसो गरे पछि, धूम्रपान बन्द गर्ने मदद उनले पाए।
५. (क) उपयुक्त रूपले परमेश्वरको सेवा गर्न कुन कुराको आवश्यकता छ? (ख) पापपूर्ण कार्यहरूबाट अलग्ग हुँदा अक्सर दु:ख उठाउँनु पर्छ भनेर कुन कुराले सङ्केत गर्दछ?
५ यसो भन्नुको अर्थ यो होइन कि परमेश्वरको वचनको अध्ययन र उहाँको दृश्य सङ्गठनको संगति र परमेश्वरसँगको प्रार्थनाले असल काम गर्न तपाईंलाई सजिलो हुनेछ। अझै प्रयत्न गर्न आवश्यक हुनेछ। हो, एउटा ठूलो सङ्घर्ष गर्नु पर्नेछ जसले गर्दा निकै क्लेश पनि भोग्नु पर्नेछ। (१ कोरिन्थी ९:२७) खराब बानीहरूले गर्दा खराब काम गर्ने भयङ्कर लालसा उत्पन्न हुनसक्छ। अत: पापपूर्ण क्रियाकलापबाट कुनै व्यक्तिले आफूलाई हटाउँदा सामान्यतया दु:ख उठाउनु पर्दछ। असल काम गर्दा दु:ख उठाउन पनि के तपाईं तैयार हुनुहुन्छ?—१ पत्रुस २:२०, २१.
परमेश्वरले सुन्नुहुने प्रार्थनाहरू
६. (क) धेरैले प्रार्थना गर्न किन कठिन मान्दछन्? (ख) हाम्रो प्रार्थना सुनिनकालागि हामीलाई कुन कुराको आवश्यकता छ?
६ अनेक व्यक्तिहरू प्रार्थना गर्न कठिन मान्दछन्। एउटी तरूणी आइमाइले स्वीकार गर्दै भनीन्: “जसलाई म देख्न सक्तिन त्यस व्यक्तिलाई प्रार्थना गर्न मलाई अप्ठ्यारो लाग्दछ।” परमेश्वरलाई कुनै मानिसले कहिल्यै नदेखेको हुनाले, प्रार्थना गर्न र परमेश्वरबाट त्यसको सुनवाई हुन, हामीमा विश्वास चाहिन्छ। परमेश्वरको अस्तित्व छ र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने विश्वास अवश्य गर्नुपर्छ। (हिब्रू ११:६) यदि हामीमा त्यसप्रकारको विश्वास छ भने, र यदि एउटा निष्कपट हृदयले परमेश्वरसँग सम्पर्क राख्यौं भने, उहाँले हाम्रो मदद गर्नु हुनेछ भन्ने कुरामा निश्चित हुनसक्छौं। (मर्कूस ९:२३) त्यसै कारण, रोमी फौजी अधिकारी कर्नीलियस त्यस बेला परमेश्वरको सङ्गठनको सदस्य नभएता पनि, निर्देशनकालागि उनले निष्ठापूर्वक प्रार्थना गर्दा, परमेश्वरले उनको प्रार्थनाको उत्तर दिनुभयो।—प्रेरित १०:३०-३३.
७. (क) कुन प्रकारको प्रार्थनाले परमेश्वरलाई आनन्दित पार्दछ? (ख) कुन प्रकारको प्रार्थना परमेश्वरले सुन्नु हुनेछैन?
७ कसै कसैलाई चाहिं आफूलाई शब्दहरूमा अभिव्यक्त गर्न अप्ठ्यारो लाग्दछ। तथापि, यसले गर्दा प्रार्थना द्वारा परमेश्वरसँग कुरागर्न तिनीहरूलाई बाधा नहुनु पर्ने हो। हामीहरूलाई कुन कुन कुराको खाँचो छ सो उहाँ जान्नुहुन्छ र हामीहरू के भन्न चाहन्छौं सो कुरा उहाँ बुझ्नु हुन्छ भनेर हामीहरू निश्चित हुन सक्छौं। (मत्ती ६:८) यसवारे सोंच्नु होस्: तपाईं एउटा बालकबाट कुन प्रकारको अभिव्यक्ति मन पराउनु हुनेछ—उसको सादा, निष्कपट धन्यवादलाई अथवा अरू कसैले सिकाएर भनेको विशेष शब्दहरूलाई? त्यसै प्रकारले हाम्रा स्वर्गीय पिता पनि हामीहरूबाट सादा, निष्कपट अभिव्यक्तिहरूको मूल्याङ्कन गर्नु हुन्छ। (याकूब ४:६; लूका १८:९-१४) कुनै विशेष शब्दहरू वा धार्मिक भाषाहरूको आवश्यकता पर्दैन। अरूहरूलाई प्रभावित गर्न असामान्य र आडम्बरपूर्ण भाषामा प्रार्थना गर्नेहरूलाई, अथवा एउटै प्रकारका कुराहरूलाई पाखण्डतापूर्ण ढ़ङ्गले बारम्बार बरबराई रहनेहरूलाई उहाँले सुन्नु हुने छैन।—मत्ती ६:५, ७.
८. (क) गुप्त रूपले गरिएको प्रार्थना परमेश्वरले सुन्नु हुन्छ भनेर कुन कुराले प्रदर्शित गर्दछ? (ख) के बाइबलले कुनै खास किसिमको शारीरिक आसन अपनाएर वा विशेष ठाउँमा प्रार्थना गर्नु पर्छ भनेर सङ्केत गरेकोछ?
८ यहाँसम्म कि तपाईंले गुप्तमा गर्नु भएको प्रार्थना पनि परमेश्वरले सुन्न सक्नु हुनेछ। नहेम्याहले यसै प्रकारले प्रार्थना गर्दा, परमेश्वरले तिनको निष्कपट अनुरोधलाई सुन्नु भयो, र हन्नासँग पनि त्यस्तै भयो। (नहेम्याह २:४-८; १ शमूएल १:११-१३, १९, २०) प्रार्थना गर्दा कुन प्रकारको शारीरिक आसन हुनु पर्ने हो त्यो महत्वपूर्ण छैन। कुनैपनि शारीरिक स्थितिमा, कुनै समय र कुनै ठाउँमा तपाईं प्रार्थना गर्न सक्नु हुन्छ। तथापि, नम्रता व्यक्त गर्ने आसन, अर्थात शिर निहुराएर वा घुँड़ा टेकेर प्रार्थना गर्न उचित हुनेछ भनेर बाइबल प्रदर्शित गर्दछ। (१ राजा ८:५४; नहेम्याह ८:६; दानिएल ६:१०; मर्कूस ११:२५; यूहन्ना ११:४१) र येशूले सङ्केत गर्नु भए अनुसार एकान्तमा, अरूहरूले नदेख्ने गरी व्यक्तिगत प्रार्थना गर्नु बेश हुनेछ।—मत्ती ६:६.
९. (क) हाम्रो प्रार्थनामा कसलाई सम्बोधित गर्नु पर्छ र किन? (ख) परमेश्वरलाई हाम्रो प्रार्थना स्वीकार्य हुनकालागि कसको नाउँ द्वारा प्रार्थना अर्पित गर्नु पर्छ?
९ प्रार्थना हाम्रो उपासनाको एउटा भाग हो। त्यस कारण, हाम्रो प्रार्थनामा हाम्रा सृष्टिकर्ता, यहोवा परमेश्वरलाई मात्र सम्बोधन गर्नु पर्छ, अरू कसैलाई पनि हुँदैन। (मत्ती ४:१०) र हाम्रो पाप हटाउन आफ्नो जीवन दिनु हुने येशू मार्फत परमेश्वरसँग मसीहीहरूले सम्पर्क राख्नु पर्छ भनेर बाइबलले प्रदर्शित गरेको छ। यसको अर्थ हामीहरूले येशूको नाउँमा प्रार्थना गर्नु पर्छ।—यूहन्ना १४:६, १४; १६:२३; एफिसी ५:२०; १ यूहन्ना २:१, २.
१०. (क) कसको प्रार्थनासँग परमेश्वर प्रसन्न हुनु हुँदैन? (ख) हाम्रो प्रार्थना परमेश्वरले सुनी दिने हो भने के आधारभूत आवश्यकतालाई हामीहरूले पूरा गर्नु पर्छ?
१० तथापि, के सबै प्रार्थनाहरूले यहोवालाई खुशी पार्छन्? बाइबल भन्दछ: “व्यवस्था नमान्ने मानिसको प्रार्थना पनि घिनलाग्दा हुन्छन्।” (हितोपदेश २८:९; १५:२९; यशैया १:१५) त्यसकारण, परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको हामीहरू चाहन्छौं भने, हामीहरूले उहाँको इच्छा अनुसार गर्नु अर्थात उहाँका नियमहरूको पालनगर्नु, एउटा आधारभूत आवश्यकता हुनेछ। अन्यथा परमेश्वरले हामीहरूलाई सुन्नु हुने छैन, जसरी एउटा सदाचारी मानिसले रेडियो द्वारा प्रसारित अनैतिक कार्यक्रम सुन्दैन। बाइबल भन्दछ: “औ हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामीले उहाँको आज्ञा पालन गर्छौं र उहाँको दृष्टिमा मनपर्ने कुराहरू गर्छौं।”—१ यूहन्ना ३:२२.
११. जुन कुराकालागि प्रार्थना गर्छौं सोही अनुरूप कार्य गर्नु पर्छ भनेको अर्थ के हो?
११ यसको अर्थ हो जुन कुराकालागि हामी प्रार्थना गर्दछौं त्यसलाई व्यवहारमा पनि ल्याउनु पर्दछ। उदाहरणकालागि, धूम्रपान वा गाँजाको प्रयोग गर्नबाट रोक्नकालागि परमेश्वरसँग मदद चाहिं माग्ने तर बाहिर गएर सोही चीजहरू खरिद गर्ने, यो अनुचित हो। त्यसैगरी अनैतिकताबाट टाढ़ा रहन यहोवासँग मदद माग्ने तर अनैतिकता सम्बन्धी साहित्य पढ़ने र सिनेमा र टेलीविजन कार्यक्रमहरू हेर्ने, यो पनि अनुचित हो। अथवा कसैको कमजोरी जुआ खेल्ने होला, तर घोड़दौड़को मैदान र अन्य त्यस्तै जुआबाजीको ठाउँमा गएर जुआ नखेल्नु परोस् भनेर परमेश्वरसँग मदद माग्नु अनुचित हुनेछ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नु हुने हो भने, हामीले भनेको कुरा अनुसारको काम गरेर प्रदर्शित गर्न सक्नु पर्छ।
१२. (क) हामी आफ्नो प्रार्थनामा कुन कुन कुराहरू समावेश गर्नसक्छौं? (ख) हाम्रो प्रार्थनाले परमेश्वरलाई आनन्दित तुल्याउने हो भने हामीहरूले के सिक्नु पर्दछ?
१२ उसो भए हाम्रो प्रार्थनामा यहोवालाई कुन कुन व्यक्तिगत कुराहरूकालागि बिन्ती गर्न सक्छौं? कुनै पनि विषय जसले परमेश्वरसँगको हाम्रो सम्बन्धमा प्रभाव पार्न सक्छ। उदाहरणकालागि, हाम्रो शारीरिक स्वास्थ्य र छोरा-छोरीहरूको पालन-पोषण लगाएत सबैनै प्रार्थनाका उपयुक्त विषयहरू हुन्। (२ राजा २०:१-३; न्यायकर्ता १३:८) प्रेरित यूहन्नाले लेखे: “उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ.” (१ यूहन्ना ५:१४) अत: महत्वपूर्ण कुरा के हो भने हाम्रो निवेदन परमेश्वरको इच्छा बमोजिम हुनुपर्छ। यसको अर्थ हामीहरूले पहिले उहाँको इच्छा के हो भनेर जान्नु जरूरी छ। (हितोपदेश ३:५, ६) अनि, प्रार्थना गर्दा आफ्नो व्यक्तिगत स्वार्थवारे चिन्तित हुनुको सट्टा परमेश्वरको इच्छा र उद्देश्यलाई ध्यानमा राखेर प्रार्थना गऱ्यौं भने हाम्रो प्रार्थना यहोवालाई स्वीकार्य हुनेछ। प्रत्यक दिन हामीहरूलाई दिनुहुने सबै असल कुराहरूकालागि यहोवालाई धन्यवाद चढ़ाउनु उचित हुनेछ।—यूहन्ना ६:११, २३; प्रेरित १४:१६, १७.
१३. (क) हाम्रो प्रार्थनामा कुन कुराहरूलाई प्राथमिकता दिनु पर्छ भनेर येशूले कसरी प्रदर्शित गर्नु भयो? (ख) हाम्रा प्रार्थनाहरूमा दोस्रो ठाउँ लिने अन्य विषयहरू के हुन्?
१३ परमेश्वरलाई स्वीकार हुने किसिमको एउटा आदर्श-प्रार्थना येशूले उहाँका अनुयायीहरूलाई पथ-प्रदर्शनकालागि दिनुभयो। (मत्ती ६:९-१३) परमेश्वरको नाउँ, उहाँको राज्य र उहाँको इच्छा पृथ्वीमा पूरा होस् भन्ने कुराहरूले प्रथम स्थान लिन्छन भनेर यो प्रार्थनाले प्रदर्शित गर्दछ। त्यस पछि, हामीहरू आफ्ना व्यक्तिगत आवश्यकताहरू, जस्तो कि हाम्रा प्रति दिनको भोजन, पापकालागि क्षमा, र प्रलोभन र दुष्ट व्यक्ति शैतान अर्थात दियाबलबाट बचाइ राख्नकालागि बिन्ती गर्न सक्छौं।
अरूहरूको सहायताका निम्ति प्रार्थनाहरू
१४. अरूहरूकालागि गरिने प्रार्थनाको महत्व बाइबलले कसरी प्रदर्शित गर्दछ?
१४ येशूले आफ्नो उदाहरण द्वारा अरूहरूकालागि गरिने प्रार्थनाको महत्वलाई प्रदर्शित गर्नुभयो। (लूका २२:३२; २३:३४; यूहन्ना १७:२०) प्रेरित पावलले पनि यस प्रकारको प्रार्थनाको महत्व बुझेका थिए र अक्सर आफ्नालागि प्रार्थना गर्नु भनेर अरूहरूलाई भन्थिए। (१ थिस्सलोनिकी ५:२५; २ थिस्सलोनिकी ३:१; रोमी १५:३०) जेलमा हुँदा उनले लेखे: “तिमीहरूकै प्रार्थनाबाट म पनि तिमी कहाँनै आउन पाउँला भन्ने आशा गर्दछु।” (फिलेमोन २२; एफिसी ६:१८-२०) र त्यसपछि पावल जेलबाट चाड़ैनै मुक्त भएका हुनाले उनकोलागि गरिएको प्रार्थनाबाट लाभ भएको कुरा जनाउँछ।
१५. हामीले प्रेम गर्ने व्यक्तिहरूकालागि कुन प्रकारको बिन्तीगर्न सक्छौं?
१५ पावलले पनि अरूहरूकालागि सहायतापूर्ण प्रार्थना गरे। उनले लेखे “तिमीहरू सबैको निम्ति हामी सँधै प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई भएका बोलावटको योग्य तिमीहरूलाई गनून।” (२ थिस्सलोनिकी १:११) र एउटा अर्को मण्डलीलाई उनले व्याख्या गरे: “अब हामी परमेश्वरमा प्रार्थना गर्दछौं कि तिमीहरूले केही खराबी नगर . . . तर तिमीहरूले जे आदरणीय छ त्यही गरेका होओ।” (२ कोरिन्थी १३:७) निश्चयनै पावलको उदाहरणको अनुसरण गर्दै हामीहरूले प्रेम गर्ने व्यक्तिहरूकालागि विशेष बिन्ती गर्नु राम्रो हुनेछ। यथार्थमा, “धार्मिक मानिसको निवेदनले धेर ठूलो काम हुनसक्तछ।”—याकूब ५:१३-१६.
१६. (क) चाहिएको सहायता पाउँनकालागि कति बेला हामीहरूले प्रार्थनागर्नु पर्छ? (ख) प्रार्थना किन यत्तिको ठूलो विशेषाधिकार हो?
१६ बाइबल अध्ययन संचालन गर्दा एउटा सेवकले अक्सर यो सोध्छन्: “तपाईंको यो साप्ताहिक बाइबल अध्ययनको बेला बाहेक अन्य अरू कुनै समयमा के तपाईं प्रार्थना गर्नु हुन्छ?” हामीलाई चाहिने मदद पाउनकालागि, हामीले अक्सर प्रार्थना द्वारा परमेश्वरसँग कुरा गर्नु पर्छ। (१ थिस्सलोनिकी ५:१७; लूका १८:१-८) एउटा प्रिय र विश्वासी मित्रसँग कुरा गरे जस्तै गरी उहाँसँग नम्रतापूर्वक कुरागर्नु होस्। साँच्चैनै, सारा ब्रह्माण्डका महिमावान शासक, प्रार्थना सुन्नुहुनेलाई प्रार्थना द्वारा सम्बोधन गर्ने योग्यको हुनु र तपाईंलाई उहाँले सुन्नु हुनेछ भनेर थाह पाउँनु कस्तो अद्भुत विशेषाधिकार हो!—भजनसंग्रह ६५:२.
[पृष्ठ २२७-मा भएको चित्र]
धूम्रपान गर्ने प्रलोभन आइलाग्दा के गर्ने—सहायताकालागि प्रार्थना गर्ने अथवा हार मान्ने?
[पृष्ठ २२९-मा भएको चित्र]
के तपाईं एकातिर सहायताकालागि प्रार्थना गर्नु हुन्छ, र अर्कोतिर गलत काम तर्फ लैजाने गतिविधिमा ग्रस्त हुनुहुन्छ?
[पृष्ठ २३०-मा भएको चित्र]
के तपाईं एकान्तमा प्रार्थना गर्नु हुन्छ वा अरूहरूसँग भएको बेलामा मात्र?