अध्याय ३३
यशैयाको भविष्यवाणीको पूर्ति
फरिसीहरू र हेरोदका दलका अनुयायीहरूले उहाँलाई मार्ने षड्यन्त्र रचिरहेका छन् भनी थाह पाएपछि येशू आफ्ना अनुयायीहरूसित गालील समुद्रतर्फ जानुहुन्छ। त्यहाँ सारा प्यालेस्टाइन र त्यसको सिमाना बाहिरबाट आएका मानिसहरूको ठूलो भीड उहाँकहाँ जम्मा हुन्छ। उहाँले धेरैलाई निको पार्नुहुन्छ जसले गर्दा सिकिस्त बिरामीहरू उहाँलाई छुन अगाडि सर्छन्।
भीड भएकोले एउटा डुङ्गा सधैं तयार राख्न येशू आफ्ना चेलाहरूलाई भन्नुहुन्छ। किनाराबाट टाढा सर्नुभएपछि भीडले उहाँलाई धक्का दिन सक्नेछैन। डुङ्गाबाटै उहाँले तिनीहरूलाई शिक्षा दिन सक्नुहुनेछ अथवा किनार-किनार भएर यात्रा गर्दै अरू ठाउँका मानिसहरूलाई पनि मदत गर्न सक्नुहुनेछ।
येशूको गतिविधिले “यशैया भविष्यवक्ताद्वारा भनिएको यो वचन पूरा” गर्छ भनी चेला मत्तीले लेखेका छन्। अनि येशूले पूरा गर्नुभएको त्यो भविष्यवाणीलाई मत्ती यसप्रकार उद्धरण गर्छन्:
“हेर, मेरो सेवक, जसलाई मैले रोजें, मेरो प्रिय, जसलाई मैले स्वीकारें। म तिनलाई मेरो पवित्र शक्ति दिनेछु अनि न्याय के हो, तिनले जाति-जातिका मानिसहरूलाई सिकाउनेछन्। तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्, न कसैले मूल बाटोमा तिनको स्वर सुन्नेछ। न तिनले फुटेको नर्कट भाँच्नेछन्, न त धिपधिप बलिरहेको सलेदो निभाउनेछन्, जबसम्म तिनले न्याय पूर्णतया स्थापित गर्दैनन्। जाति-जातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्।”
येशू वास्तवमा परमेश्वरले मन पराउनुहुने प्यारो सेवक हुनुहुन्छ। अनि झूटो धर्मका परम्पराहरूले धमिलो पार्न लागेको साँचो न्याय के हो, त्यो येशूले स्पष्ट पारिदिनुहुन्छ। फरिसीहरूले परमेश्वरको नियमको गलत प्रयोग गरेकाले बिरामी परेको मानिसलाई समेत तिनीहरू विश्राम-दिनमा मदत गर्न आउँदैनन्! परमेश्वरको न्यायलाई स्पष्ट पार्दै येशूले मानिसहरूलाई अनुचित परम्पराहरूको बोझबाट छुटकारा दिलाउनुहुन्छ। त्यसैकारण धर्म-गुरुहरू उहाँलाई मार्ने प्रयत्न गर्छन्।
“तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्, न कसैले मूल बाटोमा तिनको स्वर सुन्नेछ” भन्नुको अर्थ के हो? मानिसहरूलाई निको पार्दा “उहाँको विषयमा कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।” गल्लीहरूमा हल्ला मच्चाएर उहाँको प्रचार गरिएको उहाँ चाहनु हुन्न, न त जोसमा आएर बङ्गाएको खबर एउटाले अर्कोलाई सुनाएको नै चाहनुहुन्छ।
साथै प्रतीकात्मक रूपमा फुटेका, झुकेका र कुल्चीमिल्चीमा परेका निगालोजस्ता मानिसहरूकहाँ येशूले आफ्नो ढाडसपूर्ण सन्देश पुऱ्याउनुहुन्छ। तिनीहरू धिपधिप बलिरहेको सलेदोजस्ता छन्। तिनीहरूका जीवनको फिलिङ्गो भुतभुताउन लागिसकेको छ। येशूले त्यो फुटेको निगालोलाई मिच्नु हुन्न, न त धिपधिप बलिरहेको सलेदोलाई नै निभाउनुहुन्छ। तर कोमलता र प्रेमसित उहाँले नम्रहरूलाई निपुणतापूर्वक थाम्नुहुन्छ। साँच्चै, राष्ट्रहरूले भरोसा गर्न सक्ने येशू नै हुनुहुन्छ! मत्ती १२:१५-२१; मर्कूस ३:७-१२; यशैया ४२:१-४.
▪ झगडा नगरी वा ठूलो स्वरले नकराई येशू न्यायलाई कसरी स्पष्ट पार्नुहुन्छ?
▪ फुटेको निगालो र धिपधिप बलिरहेको सलेदोजस्ता को हुन् र येशूले त्यस्ताहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ?