अध्याय ६१
दुष्ट स्वर्गदूत बास गरेको केटा निको हुन्छ
येशू, पत्रुस, याकूब र यूहन्ना सम्भवतः हर्मोन पर्वतमा भएको बेला बाँकी चेलाहरू समस्यामा पर्छन्। त्यहाँ फर्केर आउँदा केही गडबडी छ भनी येशू तुरुन्तै बुझिहाल्नुहुन्छ। उहाँका चेलाहरूका वरिपरि भीड जम्मा भएको छ र शास्त्रीहरू तिनीहरूसित वाद-विवाद गरिरहेका छन्। येशूलाई देख्नेबित्तिकै मानिसहरू छक्क पर्छन् र उहाँलाई स्वागत गर्न दौडँदै जान्छन्। उहाँले तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरू तिनीहरूसित के वाद-विवाद गरिरहेका छौ?”
भीडबाट अघि सर्दै एक जना मानिस येशूका अगाडि घुँडा टेकेर व्याख्या गर्छ: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईंकहाँ ल्याएको थिएँ, किनकि दुष्ट स्वर्गदूत बास गरेकोले ऊ गुँगो भएको छ। अनि जहाँसुकै होस्, त्यसले छोपेपछि ऊ भुइँमा पछारिन्छ, फींज काढ्छ, दाह्रा किट्छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईंका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्।”
त्यस केटालाई चेलाहरूले निको पार्न नसकेको कुरालाई शास्त्रीहरूले निहुँ बनाउँछन्। सायद चेलाहरूले गरेको प्रयासको गिल्लासमेत गर्छन्। त्यस्तो कठिन अवस्थामा येशू आइपुग्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “ए विश्वास नभएको पुस्ता, म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ?”
येशूले यी शब्दहरूद्वारा त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्नुभएको जस्तो छ। तर उहाँले विशेषगरि ती शास्त्रीहरूलाई सम्बोधन गर्नुहुँदैछ जसले आफ्ना चेलाहरूलाई अप्ठ्यारोमा पारिरहेका छन्। त्यसपछि येशू भन्नुहुन्छ: “उसलाई मकहाँ ल्याओ।” तर जसै त्यो केटालाई उहाँकहाँ ल्याइन्छ, त्यसमा बास गरेको दुष्ट स्वर्गदूतले त्यसलाई भुइँमा पछारिदिन्छ र त्यो केटालाई बेसरी अँठ्याउँछ। त्यो भुइँमा लडीबुडी गर्दै फींज काढ्न थाल्छ।
येशू सोध्नुहुन्छ: “उसलाई यस्तो हुन थालेको कति भयो?”
बुबाले भन्छ: “बच्चैदेखि। बेलाबेलामा त्यसले उसलाई कहिले आगोमा त कहिले पानीमा खसालेर मार्न खोज्छ।” अझ बिन्ती गर्दै उसले भन्छ: “यदि तपाईं केही गर्न सक्नुहुन्छ भने हामीमाथि टिठाउनुहोस् र हामीलाई मदत गर्नुहोस्।”
सायद वर्षौंदेखि बुबाले मदत खोजिरहेको छ। अब येशूका चेलाहरूले पनि केही गर्न नसकेको कारण ऊ धेरै नै निराश छ। त्यस मानिसको निरुत्साहले भरिएको बिन्ती सुनेर येशू त्यसलाई ढाडस दिंदै भन्नुहुन्छ: “ ‘यदि तपाईं केही गर्न सक्नुहुन्छ भने’ भनी तिमी किन भन्छौ? विश्वास छ भने सबै कुरा हुन सक्छ।”
तब झट्टै केटाको बुबाले कराएर भन्छ: “मसित विश्वास छ!” तर ऊ बिन्ती गर्छ: “तर मेरो विश्वासलाई अझै बलियो बनाइदिनुहोस्!”
भीड उहाँहरूतिर दौडँदै आएको देखेर येशूले त्यस दुष्ट स्वर्गदूतलाई हप्काउनुहुन्छ: “ए गुँगो र बहिरो दूत, म तँलाई उसबाट निस्केर आउन र फेरि कहिल्यै उसमा बास नगर्न आदेश दिन्छु।” त्यो दुष्ट स्वर्गदूत निस्केर जाँदा पनि त्यस केटालाई अँठ्याउनुसम्म अँठ्याउँछ र त्यो कराउन थाल्छ। अनि त्यो केटा मूर्च्छा पर्छ, यहाँसम्म कि धेरैले “केटो त मऱ्यो!” भन्ठान्छन्। तर येशूले त्यस केटालाई हात समाएर उठाउनुहुन्छ र ऊ उठ्छ।
पहिला त चेलाहरू प्रचार गर्न जाँदा तिनीहरूले दुष्ट स्वर्गदूतहरूलाई निकालेका थिए। त्यसकारण अब तिनीहरू घरभित्र पसेपछि येशूलाई सुटुक्क सोध्छन्: “हामीले किन त्यसलाई धपाउन सकेनौं?”
यो तिनीहरूको विश्वासको कमीले गर्दा हो भनी सङ्केत गर्दै येशू जवाफ दिनुहुन्छ: “यस किसिमको चाहिं प्रार्थना विना निस्कँदैन।” खास किसिमको यो शक्तिशाली दुष्ट स्वर्गदूतलाई निकाल्न विशेष तयारीको आवश्यकता पर्थ्यो भन्ने कुरा स्पष्ट छ। दृढ विश्वासका साथै परमेश्वरसित शक्तिका लागि प्रार्थना गर्नु आवश्यक थियो।
अनि येशू अझै भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।” विश्वास कत्ति शक्तिशाली हुन सक्छ!
यहोवाको सेवामा प्रगति गर्न रोक्ने बाधा र कठिनाइहरू, पार गर्न अथवा हटाउनै नसकिने डाँडाजस्तो देखिन सक्छन्। तथापि हामीले आफ्नो मनमा विश्वास जगायौं र त्यसलाई बढाउन प्रयास गऱ्यौं भने त्यो विश्वास परिपक्वतातर्फ बढ्नेछ र डाँडारूपी बाधा-विघ्नहरूलाई पार गर्न हामी सक्षम हुनेछौं। मर्कूस ९:१४-२९; मत्ती १७:१९, २०; लूका ९:३७-४३.
▪ हर्मोन पर्वतबाट फर्किएपछि येशूले कुन परिस्थितिको सामना गर्नुहुन्छ?
▪ दुष्ट स्वर्गदूत बास गरेको केटाको बुबालाई येशू के प्रोत्साहन दिनुहुन्छ?
▪ दुष्ट स्वर्गदूतलाई चेलाहरूले किन निकाल्न सकेनन्?
▪ विश्वास कत्तिको शक्तिशाली हुन सक्छ भनी येशूले कसरी प्रदर्शित गर्नुहुन्छ?