अध्याय ६३
सुधारका निम्ति अझ केही सल्लाहहरू
येशू र उहाँका प्रेषितहरू कफर्नहुममा घरैमा छँदा प्रेषितहरूमध्ये सबैभन्दा ठूलो को हो भन्ने विषयबाहेक एउटा अर्कै कुराको पनि छलफल हुन्छ। सम्भवतः कफर्नहुम फर्किंदा येशू तिनीहरूसित नभएको बेलामा यो घटना घटेको हुन सक्छ। प्रेषित यूहन्ना यसप्रकार बताउँछन्: “एक जना मानिसले तपाईंको नाम लिएर दुष्ट स्वर्गदूतहरूलाई धपाइरहेको हामीले देख्यौं र उसलाई हामीले रोक्न खोज्यौं, किनकि ऊ हामीसँग हिंड्दैन।”
यूहन्नाको विचारमा निको पार्ने विशेषाधिकार प्रेषितहरूको मात्र हो। त्यो अर्को मानिसले शक्तिशाली काम गर्नु गलत थियो किनकि त्यो मानिस प्रेषितहरूमध्येको थिएन।
तथापि येशू सल्लाह दिनुहुन्छ: “उसलाई रोक्न नखोज, किनकि जसले मेरो नाम लिएर शक्तिशाली काम गर्छ, उसले हतपती मेरो बदनाम गर्दैन; किनकि जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ। अनि जसले तिमीहरू ख्रीष्टका चेलाहरू हौ भनी सम्झेर तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ, म तिमीहरूलाई साँचो-साँचो भन्छु, त्यसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”
येशूको पक्षमा हुनका लागि त्यस मानिस शारीरिक रूपमा येशू सँगसँगै हिंड्न जरुरी थिएन। त्यसबेला ख्रीष्टियन मण्डली स्थापित भएको थिएन। त्यसकारण प्रेषितहरूको समूहमा सामेल नहुनुको अर्थ त्यो मानिस बेग्लै मण्डलीको हो भन्न सकिंदैन थियो। येशूको नाममा त्यस मानिसले साँच्चै विश्वास गरेकोले दुष्ट स्वर्गदूतहरूलाई धपाउन ऊ सफल भइरहेको थियो। त्यस मानिसले येशूको विचारमा इनाम पाउने योग्यको काम गरिरहेको थियो। यसो गरेकोले उसले आफ्नो इनाम गुमाउने छैन भनी येशू प्रस्ट पार्नुहुन्छ।
तर प्रेषितहरूको वचन र व्यवहारले गर्दा उसले ठेस खाएको भए के हुने थियो? साह्रै नराम्रो हुने थियो! येशू भन्नुहुन्छ: “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्याउँछ भने त्यस्तालाई त ठूलो जाँतो घाँटीमा झुन्ड्याएर समुद्रमा डुबाइदिनु नै बेस हो।”
हात, खुट्टा वा आँखाजस्तो जत्तिकै प्यारो चीज भए तापनि त्यसले पाप गर्न लगाउँछ भने त्यसलाई उहाँका चेलाहरूले आफ्नो जीवनबाट हटाउनुपर्छ भनी येशू भन्नुहुन्छ। यस्ता कुराहरूलाई समातिराखेर अनन्त विनाशको प्रतीक गेहेन्नामा (यरूशलेमबाहिर फोहोरमैला जलाउने ठाउँ) फालिनुको सट्टा मन परेका ती कुराहरूविना परमेश्वरको राज्यमा प्रवेश गर्नु असल हो।
येशू चेतावनी पनि दिनुहुन्छ: “होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर, किनकि म तिमीहरूलाई भन्छु तिनीहरूको रखवाली गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरो बुबाको मुहार सधैं हेरिरहेका हुन्छन्।” अनि यी “सानाहरूको” महत्त्व प्रदर्शित गर्न उहाँ एक जना मानिसको दृष्टान्त बताउनुहुन्छ जसका सय वटा भेडाहरू छन् तर तीमध्येबाट एउटाले बाटो बिराउँछ। त्यो मानिसले उनान्सयलाई छोडेर बाटो बिराउने त्यो भेडालाई खोज्नेछ र त्यसलाई भेट्टाएपछि उनान्सयका लागि भन्दा बढी त्यो एउटाको लागि रमाउनेछ। कुरा टुङ्ग्याउँदै येशू भन्नुहुन्छ: “त्यसैगरि, स्वर्गमा बस्नुहुने मेरो बुबा यी सानाहरूमध्ये कसैले पनि बाटो बिराएको चाहनुहुन्न।”
सम्भवतः आफ्ना प्रेषितहरूबीच भएको वाद-विवादलाई सम्झँदै येशू आग्रह गर्नुहुन्छ: “आफूलाई नुनिलो बनाओ र आपसमा शान्ति कायम राख।” बेस्वादका खाने कुराहरूलाई नुनले स्वादिलो बनाइदिन्छ। त्यसप्रकार प्रतीकात्मक नुनले पनि आफूले बोलेका कुरा अरूहरूलाई स्वीकार्य हुन सजिलो पार्छ। यस्तो नुन भएमा शान्ति कायम राख्न मदत मिल्नेछ।
तर मानव त्रुटिको कारण कहिलेकाहीं गम्भीर कलहहरू उठ्नेछन्। त्यसप्रकारका परिस्थितिहरूको सामना गर्ने तरिका पनि येशू बताउनुहुन्छ: “यदि तिम्रो भाइले पाप गऱ्यो भने जाऊ र तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्यो भने तिमीले तिम्रो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।” तर उसले सुनेन भने येशू भन्नुहुन्छ, “आफूसित अरू एक वा दुई जना लिएर जाऊ, ताकि दुई वा तीन जना साक्षीको मुखबाट एक-एक कुरा पक्का होस्।”
केही लागेन भने मात्र येशू भन्नुहुन्छ, “मण्डलीलाई” अर्थात् मण्डलीका जिम्मेवार एल्डरहरूलाई भन, जसले एउटा न्यायसङ्गत फैसला दिन सक्छन्। तर गल्ती गर्नेले तिनीहरूको कुरासमेत सुनेन भने येशू भन्नुहुन्छ, “ऊ तिम्रो लागि अन्यजाति वा कर उठाउने मानिससरह होस्।”
यसप्रकारको एउटा निर्णय लिंदा एल्डरहरूले यहोवाको वचनमा पाइने निर्देशनहरूको राम्रोसँग अनुसरण गर्नु आवश्यक छ। यसरी तिनीहरूले कुनै व्यक्तिलाई दोषी र सजायको योग्य भेट्टाउँदा निसाफको फैसला “स्वर्गमा बाँधिसकेका हुनेछन्।” तिनीहरूले कुनै व्यक्तिलाई निर्दोष पाएमा अर्थात् ‘पृथ्वीमा फुकाएमा’ सो फैसला “स्वर्गमा फुकाइसकेका हुनेछन्।” यसप्रकारका न्यायिक कारबाहीहरूको फैसला गर्दा येशू भन्नुहुन्छ, “जहाँ मेरो नाममा दुई वा तीन जना भेला हुन्छन्, त्यहाँ म तिनीहरूको माझमा हुन्छु।” मत्ती १८:६-२०; मर्कूस ९:३८-५०; लूका ९:४९, ५०.
▪ येशूका समयमा उहाँ सँगसँगै हिंड्न किन आवश्यक थिएन?
▪ एक जना सानो व्यक्तिलाई ठेस पुऱ्याउनु कत्तिको गम्भीर कुरा हो र यस्ता सानाहरूको महत्त्वबारे येशूले कस्तो दृष्टान्त पेस गर्नुहुन्छ?
▪ आफूलाई नुनिलो बनाओ भनी येशूले चेलाहरूलाई किन प्रोत्साहन दिनुपरेको हुन सक्छ?
▪ ‘बाँध्नु’ र ‘फुकाउनुको’ अर्थ के हो?