अध्याय ६५
यरूशलेमको गोप्य यात्रा
यो इस्वी संवत् ३२ को शरद् ऋतु हो। यहूदीहरूको झुप्रोबासको चाड नजिकै छ। इस्वी संवत् ३१ को निस्तार-चाडपछि अर्थात् यहूदीहरूले उहाँलाई मार्ने प्रयास गरेको समयदेखि येशूको धेरैजसो गतिविधि गालीलमै सीमित छ। त्यस बेलादेखि सम्भवतः यहूदीहरूका तीन वटा वार्षिक चाडहरूका लागि मात्र उहाँ यरूशलेम जानुभएको छ।
येशूका भाइहरूले उहाँलाई आग्रह गर्छन्: “यहाँबाट निस्केर यहूदिया गइहाल्नुहोस्।” यरूशलेम यहूदियाको प्रमुख सहर मात्र नभएर सारा देशको धार्मिक केन्द्र पनि हो। उहाँका भाइहरू यसप्रकार तर्क गर्छन्: “मानिसहरूले चिनून् भनी इच्छा गर्ने कसैले पनि कुनै काम गुप्तमा गर्दैन।”
आफ्ना जेठा दाजु येशू वास्तवमा मसीह हुनुहुन्छ भनेर याकूब, सिमोन, यूसुफ र यहूदाले विश्वास नगरे तापनि चाडमा जम्मा भएका मानिसहरूलाई येशूले आफ्नो चमत्कारी शक्तिको प्रदर्शन गर्नुभएको तिनीहरू चाहन्छन्। तर खतराको आभास येशूलाई छ। उहाँ भन्नुहुन्छ: “संसारले तिमीहरूलाई घृणा गर्ने कुनै कारण छैन तर मलाई भने घृणा गर्छ, किनकि त्यसका कामहरू दुष्ट छन् भनी म साक्षी दिन्छु।” त्यसकारण येशू आफ्ना भाइहरूलाई भन्नुहुन्छ: “तिमीहरू चाड मनाउन जाओ; तर म भने अहिले चाड मनाउन जान्नँ।”
झुप्रोबासको चाड सात दिनसम्म चल्ने चाड हो। आठौं दिनमा विधिपूर्वक समारोह सम्पन्न गरिन्छ। यस चाडले कृषि वर्षको समाप्तिलाई जनाउँछ अनि ठूलो हर्ष र कृतज्ञताका साथ मनाइन्छ। येशूका भाइहरू अरू यात्रीहरूसित गइसकेको केही दिनपछि येशू पनि आफ्ना चेलाहरूसित सुटुक्क जानुहुन्छ तर आम जनताको नजरदेखि बचेर बस्नुहुन्छ। उहाँहरू धेरै मानिसहरू हिंड्ने यर्दन नदीको बाटो नगएर सामरियाको बाटो भएर जानुहुन्छ।
सामरियाको गाउँमा उहाँ र उहाँका साथमा जानेहरूलाई बस्ने ठाउँ चाहिने हुनाले त्यसको तयारी गर्न उहाँले आफूभन्दा अघि सन्देशवाहकहरू पठाउनुहुन्छ। तर उहाँ यरूशलेमतर्फ जाँदै हुनुहुन्छ भनी थाह पाएपछि त्यहाँका मानिसहरू येशूका निम्ति केही पनि गर्न चाहँदैनन्। रिसाएर याकूब र यूहन्ना सोध्छन्: “प्रभु, तपाईंको इच्छा भए के हामी आकाशबाट आगो बर्सेर तिनीहरू भस्म होऊन् भनी आज्ञा गरौं?” त्यसप्रकारको कुरा गरेकोमा येशूले तिनीहरूलाई हप्काउनुहुन्छ र उहाँहरू अर्कै गाउँतर्फ जानुहुन्छ।
उहाँहरू यसै बाटो हिंडिरहेको बेला एक शास्त्रीले येशूलाई भन्छ: “हे गुरु, तपाईं जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईंको पछि लाग्नेछु।”
त्यसलाई येशू भन्नुहुन्छ: “फ्याउरोहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड, तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” उहाँको चेला हुँदा शास्त्रीले कष्ट अनुभव गर्नेछ भनेर येशू बताउँदै हुनुहुन्छ। साथै यो पनि सङ्केत गर्नुभएको हुन सक्छ कि शास्त्रीको घमन्डको कारण यसप्रकारको जीवनशैली उसले अपनाउन सक्नेछैन।
अर्को मानिसलाई येशू भन्नुहुन्छ: “मेरो पछि लाग।”
त्यस मानिसले जवाफ दिन्छ, “पहिला मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्।”
येशू फेरि जवाफ दिनुहुन्छ: “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून् तर तिमी भने गएर सबैतिर परमेश्वरको राज्यको घोषणा गर।” यथार्थमा त्यस मानिसको बुबा अझै मरिसकेको थिएन, नत्र भए त्यो छोरो येशूको कुरा सुनेर त्यहाँ बसिरहन सम्भव नै थिएन। वास्तवमा त्यो छोरो बुबा मर्ने बेलासम्म पर्खिने समय मागिरहेको छ। परमेश्वरको राज्यलाई आफ्नो जीवनमा प्रथम स्थान दिन त्यो तयार छैन।
यरूशलेम जाने बाटोतर्फ उहाँहरू जाँदै गर्नुहुँदा अर्को एक जना मानिसले येशूलाई भन्छ: “हे प्रभु, म तपाईंको पछि लाग्नेछु तर पहिला मेरो घरपरिवारसित बिदा माग्न दिनुहोस्।”
प्रत्युत्तरमा येशू भन्नुहुन्छ: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।” येशूका चेला हुनेहरूको आँखा राज्य सेवामा केन्द्रित हुनुपर्छ। जसरी एउटा हलो जोत्नेले सीधा हेरेर हलो चलाएन भने धर्को बाङ्गो हुने सम्भावना हुन्छ, त्यसरी नै यो पुरानो युगलाई पछि फर्कंदै हेर्ने मानिस अनन्त जीवनको बाटोबाट ठेस खाएर आफ्नो बाटो बिराउन सक्छ। यूहन्ना ७:२-१०; लूका ९:५१-६२; मत्ती ८:१९-२२.
▪ येशूका भाइहरू को-को हुन् र उहाँका विषयमा तिनीहरूको कस्तो विचार छ?
▪ सामरीहरूले त्यस्तो अशिष्ट व्यवहार किन गर्छन् अनि याकूब र यूहन्ना के गर्न चाहन्छन्?
▪ सडकमा येशूसँग कुन तीन वटा वार्तालाप हुन्छन् र उहाँले निःस्वार्थ सेवाको आवश्यकतालाई कसरी जोड दिनुहुन्छ?