अध्याय ९४
प्रार्थना र नम्रताको आवश्यकता
केही समयअघि यहूदियामा छँदा येशूले प्रार्थनामा लागिरहने कुराको महत्त्वबारे एउटा दृष्टान्त बताउनुभएको थियो। अब यरूशलेम अन्तिम पटक जाँदा प्रार्थना गर्न छाड्नु हुँदैन भन्ने विषयलाई उहाँ फेरि जोड दिनुहुन्छ। उहाँले आफ्ना चेलाहरूलाई यो अर्को दृष्टान्त भन्दा येशू सम्भवतः अझै सामरिया अथवा गालीलमै हुनुहुन्छ होला।
“एउटा सहरमा एक जना न्यायाधीश थियो, जसलाई परमेश्वरको कुनै डर थिएन र ऊ मानिसको आदर पनि गर्दैनथ्यो। त्यही सहरमा एक जना विधवा पनि थिई र ऊ त्यस न्यायाधीशकहाँ घरीघरी गएर यसो भन्थी: ‘मलाई मुद्दा हाल्ने व्यक्तिबाट बचाएर मेरो न्याय गरिदिनुहोस्।’ निकै समयसम्म त उसले वास्तै गरेन तर पछि उसले मनमनै यसो भन्यो: ‘हुन त, म परमेश्वरको कुनै डर राख्दिनँ र मानिसको आदर पनि गर्दिनँ, तैपनि यस विधवाले मलाई घरीघरी दुःख दिइरहेकीले म त्यसको न्याय गरिदिनेछु, नत्रता मकहाँ धाएको धायै गरेर त्यसले मलाई बसीखान दिनेछैन।’ “
यसपछि येशू आफ्नो कथाको अर्थ खोल्दै भन्नुहुन्छ: “बेइमान भईकन पनि त्यो न्यायाधीशले के भन्यो, सुन्यौ? त्यसोभए, के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र? उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गरिदिनुहुनेछ।”
यहोवा परमेश्वर कुनै-कुनै कुरामा त्यो बेइमान न्यायाधीशजस्तो हुनुहुन्छ भनेर येशूले भन्न खोज्नुभएको होइन। बरु एक जना बेइमान न्यायाधीशले त घरीघरी गरेको बिन्ती सुन्छ भने आफ्ना जनहरूले प्रार्थना गर्न नछाडेमा न्यायी र असल परमेश्वरले प्रार्थनाको जवाफ अवश्य दिनुहुनेछ। अतः येशू अगाडि भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, उहाँले तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ।”
नम्र र गरिबले धेरैजसो न्याय पाउँदैनन् तर शक्तिशाली र धनीलाई अक्सर दया देखाइन्छ। तथापि दुष्टहरूलाई न्यायोचित दण्ड दिने मात्र होइन तर उहाँका दासहरूलाई अनन्त जीवन दिएर तिनीहरूसित न्यायोचित व्यवहार गर्ने निश्चित प्रबन्ध परमेश्वरले मिलाउनुहुनेछ। तर परमेश्वरले चाँडै नै न्याय गर्नुहुनेछ भन्ने विषयमाथि कति जनाले दह्रो विश्वास राखेका छन् र?
प्रार्थनाको शक्तिसित विश्वासको सम्बन्धलाई विशेष रूपमा सङ्केत गर्दै येशू सोध्नुहुन्छ: “मानिसको छोरा आउँदा के उसले साँच्चै यस्तो विश्वास हुने मानिस पृथ्वीमा पाउनेछ?” यस प्रश्नको उत्तर नदिइएको भए तापनि ख्रीष्ट आफ्नो राज्य शक्तिसित आउँदा यसप्रकारको विश्वास साधारणतया पाइनेछैन भन्ने कुरालाई सङ्केत गरेको हुन सक्छ।
येशूको कुरा सुन्नेहरूमध्ये कोही आफ्ना विश्वासबारे निर्धक्क छन्। तिनीहरूले आफूलाई धर्मी ठान्दै आफैमाथि भरोसा गर्छन् तर अरूहरूलाई चाहिं कुनै मोलको गन्दैनन्। येशूका कोही-कोही चेलाहरू पनि यस्तै हुन सक्छन्। यसकारण त्यसप्रकारका मानिसहरूलाई सम्बोधन गर्दै येशू निम्न लिखित दृष्टान्त बताउनुहुन्छ:
“दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा उक्ले, एक जना फरिसी र अर्कोचाहिं कर उठाउने मानिस। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसहरूजस्तो लुटाहा, बेइमान अनि चरित्रहीन छैन र यो कर उठाउने मानिसजस्तो पनि छैन। म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’ “
अरूहरूलाई प्रभावित पार्न, आफ्नो धर्म-कर्मको आम प्रदर्शन गर्ने कुरामा फरिसीहरू नामी छन्। तिनीहरू आफैले तोकेका उपवास बस्ने दिनहरू सोमबार र बिहीबार हुन् र खेतमा उब्जनी भएका साना जडीबुटीको दशांशसमेत अचूक रूपले दिन्छन्। केही महिनाअघि झुप्रोबासको चाडको समयमा तिनीहरूले यसो भनेर आम जनताप्रति अवहेलना व्यक्त गरेका थिए: “मोशाको व्यवस्था नजान्ने यो भीड श्रापित हो।”
आफ्नो दृष्टान्त जारी राख्दै येशू एउटा यस्तै “श्रापित” व्यक्तिबारे भन्नुहुन्छ: “तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजरसमेत स्वर्गतिर उचाल्ने आँट गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस्।’ “ कर उठाउनेले नम्रतासाथ आफ्नो पाप स्वीकारेकोले येशू भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, त्यो मानिसभन्दा यो मानिस परमेश्वरको नजरमा अझ असल ठहरियो र आफ्नो घर गयो। किनकि जसले आफूलाई उचाल्छ, ऊ खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।”
यसप्रकार नम्र हुनुपर्ने आवश्यकतामाथि येशू फेरि जोड दिनुहुन्छ। पद र ओहदालाई महत्त्व दिने र आत्मश्रेष्ठ फरिसीहरूको धेरै नै प्रभाव भएको समाजमा हुर्केकोले यसको असर येशूका केही चेलाहरूमाथि पनि पर्नु कुनै आश्चर्यको कुरा होइन। तापनि येशूले नम्रताबारे कति असल शिक्षा सिकाउनुहुन्छ! लूका १८:१-१४; यूहन्ना ७:४९.
▪ बेइमान न्यायाधीशले विधवाको बिन्ती किन सुनिदिन्छ र येशूले बताउनुभएको दृष्टान्तबाट के शिक्षा सिक्न सक्छौं?
▪ आफू आउँदा येशूले कस्तो विश्वास खोज्नुहुनेछ?
▪ फरिसी र कर उठाउनेको दृष्टान्त येशूले कसको लागि भन्नुभएको हो?
▪ फरिसीहरूको कस्तो मनोवृत्तिबाट अलग रहनुपर्छ?