अध्याय ९८
येशूको मृत्युको समय जसै नजिक आउँछ, चेलाहरू आपसमा वाद-विवाद गर्छन्
येशू र उहाँका चेलाहरू यर्दन नदीको नजिक हुनुहुन्छ। यहाँबाट उहाँहरू पार तरेर पेरियाको जिल्ला हुँदै यहूदियामा जानुहुनेछ। अरू धेरै जना पनि उहाँहरू सँगसँगै इस्वी संवत् ३३ को निस्तार-चाडका लागि यात्रा गरिरहेका छन्। यस चाडका निम्ति करिब एक हप्ता मात्र बाँकी छ।
येशू चेलाहरूका अघि-अघि हिंड्नुहुन्छ र तिनीहरू उहाँको निडर सङ्कल्प देखेर चकित हुन्छन्। याद गर्नुहोस्, केही हप्ताअघि मात्र लाजरस मरेको बेलामा येशू पेरियाबाट यहूदिया जान लाग्दा थोमाले अरू चेलाहरूलाई यसो भन्दै प्रोत्साहित पारेका थिए: “लौ, हामी पनि जाऔं अनि उहाँसितै मरौं।” साथै येशूले लाजरसलाई पुनर्जीवित पार्नुभएपछि यहूदी न्यायपरिषद्ले येशूको हत्या गर्ने योजना बनाएको थियो। यसैकारण अब फेरि यहूदियामा प्रवेश गर्दा चेलाहरू भयभीत हुनु कुनै आश्चर्यको कुरा होइन।
अगाडि आइपर्ने कुराहरूको सामना गर्न तयार पार्नका लागि येशूले ती १२ जनालाई अलग्गै लगेर भन्नुहुन्छ: “हेर, हामी यरूशलेमतर्फ उक्लँदैछौं, अब मानिसको छोरा मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन् र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्, अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई थुक्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन् तर तीन दिनपछि ऊ ब्यूँतनेछ।”
आफ्नो मृत्यु र पुनर्जीवनबारे येशूले आफ्ना चेलाहरूलाई बितेका महिनाहरूमा भन्नुभएको यो तेस्रो पटक हो। तिनीहरूले उहाँका कुरा सुने तापनि त्यसको मर्म बुझ्न सक्दैनन्। किनभने सायद इस्राएलको राज्य पृथ्वीमा पुनर्स्थापित हुनेछ भनी तिनीहरू विश्वास गर्छन् र एउटा पार्थिव राज्यमा ख्रीष्टसँग महिमा र प्रतिष्ठाको आनन्द उठाउने आशा गरिरहेका छन्।
निस्तार-चाडका लागि जाने यात्रीहरूमध्ये सलोमी पनि छिन्, जो प्रेषित याकूब र यूहन्नाकी आमा हुन्। यी दुई प्रेषितको जङ्गी स्वभावकै कारण येशूले तिनीहरूलाई “गर्जनका छोराहरू” भन्नुभएको होला। केही समयअघिदेखि यी दुईले ख्रीष्टको राज्यमा प्रमुख स्थान प्राप्त गर्ने उच्च अभिलाषा राखेका छन् र यो कुरा तिनीहरूले आफ्नी आमालाई पनि भनेका छन्। अहिले तिनीहरूकी आमा तिनीहरूका लागि बोलिदिन येशूकहाँ आउँछिन्, उहाँलाई दण्डवत् गर्छिन् र एउटा अनुरोध गर्छिन्।
येशू सोध्नुहुन्छ: “तिमी के चाहन्छौ?”
तिनी जवाफ दिन्छिन्: “मलाई वचन दिनुहोस्, तपाईंको राज्यमा मेरा यी दुई छोराहरू एक जना तपाईंको दाहिने हाततिर र अर्को देब्रे हाततिर बस्न पाऊन्।”
यो अनुरोध कसले गर्न लगाएका हुन् भनी थाह पाएर येशूले याकूब र यूहन्नालाई सम्बोधन गर्दै भन्नुहुन्छ: “तिमीहरू के माग्दैछौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिउन लागेको कचौरा के तिमीहरू पिउन सक्छौ?”
तिनीहरू जवाफ दिन्छन्: “सक्छौं।” येशूले चाँडै भीषण सतावट र अन्तमा मृत्युसमेत भोग्नुहुनेछ भनी तिनीहरूलाई भर्खरै भन्नुभएको भए तापनि उहाँले पिउन लाग्नुभएको “कचौरा”-को अर्थ त्यही कष्टमय अनुभव हो भनी तिनीहरूले बुझेका छैनन् जस्तो छ।
तथापि येशू तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरूले मेरो कचौरा निश्चय पिउनेछौ तर मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि यो तयार पार्नुभएको हो, ऊ नै त्यहाँ बस्नेछ।”
केही समयपछि याकूब र यूहन्नाले अनुरोध गरेको कुरा अरू दस जना प्रेषितले पनि थाह पाउँछन् र तिनीहरू रिसाउँछन्। सायद सबैभन्दा ठूलो को हो भन्ने विषयमा प्रेषितहरूबीच केही समयअघि भएको विवादमा याकूब र यूहन्नाले विशेष भाग लिएको हुन सक्छ। त्यस सम्बन्धमा येशूले दिनुभएको सल्लाह तिनीहरूले प्रयोगमा ल्याएका छैनन् भन्ने कुरा तिनीहरूको यो अनुरोधबाट बोध हुन्छ। कति दुःखको कुरा, ठूलो हुने तिनीहरूको इच्छा कम भएको छैन।
अतः हाल उठेको यो विवाद र त्यसबाट उत्पन्न मनमुटाव अन्त गर्न येशूले १२ जनालाई एक साथ बोलाउनुहुन्छ। प्रेमपूर्वक तिनीहरूलाई सम्झाउँदै उहाँ भन्नुहुन्छ: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्। तिमीहरूबीच भने यस्तो नहोस् तर तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।”
तिनीहरूले येशूको उदाहरण अनुकरण गर्नुपर्छ भनी उहाँ यसरी बताउनुहुन्छ: “मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।” येशूले अरूहरूका निम्ति सेवा मात्र गर्नुभएको थिएन तर मानवजातिका निम्ति मर्नसमेत तयार हुनुहुने थियो! चेलाहरूमा पनि ख्रीष्टको जस्तै मनोवृत्ति हुनुपर्छ। तिनीहरूमा सेवा पाउने भन्दा सेवा गर्ने इच्छा हुनुपर्छ र ठूलो ओहदामा बस्ने भन्दा सानो हुने इच्छा हुनपर्छ। मत्ती २०:१७-२८; मर्कूस ३:१७; ९:३३-३७; १०:३२-४५; लूका १८:३१-३४; यूहन्ना ११:१६.
▪ चेलाहरू अहिले किन भयभीत छन्?
▪ अगाडि हुन लागेका कुराहरूको निम्ति येशूले चेलाहरूलाई कसरी तयार पार्नुहुन्छ?
▪ येशूसित के अनुरोध गरिन्छ र त्यसबाट अरू प्रेषितहरूमाथि कस्तो असर पर्छ?
▪ प्रेषितहरूबीच उठेको समस्याको समाधान येशूले कसरी गर्नुहुन्छ?