निराशहरूका लागि सान्त्वना
“सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा परेको छ।” (रोमी ८:२२) करीब १,९०० वर्षअघि यी शब्दहरू लेखिंदा, मानव-संकष्ट ठूलो थियो। थुप्रै मानिसहरू निराश थिए। त्यसैकारण त मसीहीहरूलाई यो आग्रह गरिएको थियो: “हरेश खानेलाई दिलाशा देओ।”—१ थिस्सलोनिकी ५:१४.
आज भने मानव दुःख झन बढेको छ। पहिलेभन्दा धेरै मानिसहरू निराश छन्। तर यो देखेर के हामी छक्क पर्नु हुन्छ र? हुनु त नपर्ने हो। किनभने बाइबलले यी दिनहरूलाई “आखिरी दिन” र “डर लाग्दो समय” भन्छ। (२ तिमोथी ३:१-५) आखिरी दिनमा “डरलाग्दा लक्षण[हरू]” देखा पर्नेछन् भनेर येशू ख्रीष्टले भविष्यवाणी गर्नु भएको थियो।—लूका २१:७-११; मत्ती २४:३-१४.
लामो समयसम्म चिन्ता, भय, शोक अथवा यस्तै अन्य नकारात्मक भावनाहरू अनुभव गर्नु पर्दा मानिसहरू अक्सर निराश हुन्छन्। आफ्नो एकजना प्रिय जनको मृत्यु, छुटानाम, जागिर खोसिनु अथवा हतपत निको नहुने कुनै रोग, नैराश्य अथवा शोकाकुल मनस्थितिको कारण हुन सक्छ। मानिसहरू त्यस बेला पनि निराश हुन्छन् जब तिनीहरूले आफूलाई अयोग्य, असफल अथवा सबैजनालाई निराश पार्ने तत्त्व ठान्न थाल्छन्। एउटा कष्टदायक स्थितिले कसैलाई पनि भरङ्ग पार्नु सक्छ। तर कुनै व्यक्ति आशाविहीन हुँदा र आफ्नो अप्ठ्यारो स्थितिबाट उम्कने बाटो देखा नपर्दा ऊ नैराश्यमा डुब्न सक्छ।
प्राचीन समयका मानिसहरूले पनि यसप्रकारका भावनाहरू अनुभव गरे। अय्यूबमाथि रोग र व्यक्तिगत आपत्विपत् आइ पऱ्यो। तिनको विचारमा स्वयम् परमेश्वरले तिनलाई त्याग्नु भएको थियो। यसकारण तिनी जीवनसित नै विरक्त भए। (अय्यूब १०:१; २९:२, ४, ५) याकूब आफ्नो छोराको मृत्युको खबर सुनेर निराश भए। तिनलाई सान्त्वना दिंदा पनि तिनी मानेनन्। तिनले मर्ने इच्छा गरे। (उत्पत्ति ३७:३३-३५) दाऊदले चाहिं आफ्नो घोर अपराधको दोष स्वीकार्दै यसप्रकार विलाप गरे: “दिनभरि म विलाप गर्दै हिंड्छु। म मुर्छित भएको छु।”—भजन ३८:६, ८; २ कोरिन्थी ७:५, ६.
आज थुप्रै मानिसहरू निराश छन् किनभने तिनीहरूले दिनदिनै आफ्नो मानसिक, भावनात्मक र शारीरिक क्षमताबाहिरको धपेडी गरेर आफूलाई फतक्क गलाउँछन्। भन्छन्, मानसिक कष्ट र नकारात्मक विचारहरू र भावनाहरू सबै मिलेर शरीरमाथि असर पार्न सक्छ अर्थात् यसबाट दिमागमा एउटा रासायनिक असन्तुलन उत्पन्न हुनु सक्छ। र यसको परिणाम हुन्छ, निराशा।—हितोपदेश १४:३० तुलना गर्नुहोस्।
तिनीहरूलाई चाहिएको मदत
प्रथम शताब्दीमा फिलिप्पीको एकजना मसीही, इपाफ्रोडाइटस् “बिरामी भएको खबर [तिनका साथीहरूले] सुनेका हुनाले तिनी ज्यादै व्याकुल भएका थिए।” तिनका साथीहरूले तिनलाई पावलका लागि सर-सामानसाथ रोममा पावलकहाँ पठाएका थिए। तर त्यहाँ पुगेपछि तिनी बिरामी परे। यस्तो हुँदा तिनका साथीहरूको नजरमा तिनी आफ्नो जिम्मेवारी पूरा गर्नबाट चुकेको जस्तो देखियो होला भनी तिनलाई लागेको हुनु सक्छ। (फिलिप्पी २:२५-२७; ४:१८) प्रेरित पावलले कसरी सहायता दिए?
तिनले इपाफ्रोडाइटसलाई घर पठाइ दिए। साथमा फिलिप्पीका मण्डलीलाई यसो भनेर एउटा पत्र पनि पठाए: “[इपाफ्रोडाइटसलाई] ज्यादै आनन्दसाथ प्रभुमा ग्रहण गर, र यस्ताहरूलाई आदरणीय जान।” (फिलिप्पी २:२८-३०) पावलले तिनको विषयमा यति प्रशंसनीय कुरा गर्दा र फिल्लिपीका साथीहरूबाट पनि आत्मीयता र स्नेहपूर्ण स्वागत पाउँदा, इपाफ्रोडाइटसको मनमा निश्चय नै सञ्चो लाग्यो होला र तिनको नैराश्य पनि धेरै मात्रामा कम भएको हुन सक्छ।
“हरेस खानेलाई दिलाशा देओ” भन्ने बाइबलको सल्लाह निस्सन्देह सबैभन्दा उत्तम हो। निराशाले पीडित एउटी आइमाईले यसो भनिन्: “व्यक्तिगतरूपमा तपाईंको चिन्ता अरूहरूले गर्छन् भनी आफूलाई थाह हुनु आवश्यक हुन्छ। ‘हो, म तपाईंको दुःख बुझ्दछु। सबै कुरा ठीक भइहाल्छ’ भनी दिने मानिस चाहिन्छ।”
आफ्नो व्यथा सहानुभूतिको भावसाथ सुनिदिने व्यक्ति खोज्ने काम अक्सर जो निराश छन्, तिनले नै गर्नुपर्छ। त्यो व्यक्तिमा राम्ररी सुनिदिने क्षमताका साथै धेरै मात्रामा धैर्य पनि हुनुपर्छ। तिनले निराश व्यक्तिलाई भाषण दिनु हुँदैन। साथै, ‘मनमा यस्तो विचार पनि राख्नु हुन्छ र?’ अथवा ‘त्यो त एउटा गलत प्रवृत्ति हो’ भन्दै निराश व्यक्तिलाई दोषी ठहराउने प्रकारको कुरा गर्नु भएन। निराश व्यक्तिका भावनाहरू अति नै नाजुक अवस्थामा हुन्छन्। अतः त्यसप्रकारका कुरा सुनेर तिनी आफ्नो दृष्टिमा अझ खस्न सक्छन्।
निराश व्यक्तिले आफूलाई हरकुरामा अयोग्य ठान्न सक्छ। (योना ४:३) तापनि उसले बिर्सनु भएन कि मुख्यतः हामीलाई परमेश्वरले कुन दृष्टिले हेर्नु हुन्छ, त्यो पो महत्त्वपूर्ण हो। मानिसहरूले त येशू ख्रीष्टलाई पनि “कुनै मोलको” ठानेनन्। तर यसले गर्दा परमेश्वरको नजरमा उहाँको मोल कम भएन। (यशैया ५३:३) यसकारण, निश्चिन्त हुनुहोस्। परमेश्वरले जसरी उहाँको प्रिय पुत्रलाई प्रेम गर्नुहुन्छ, त्यसरी नै तपाईंलाई पनि प्रेम गर्नुहुन्छ।—यूहन्ना ३:१६.
मानसिक कष्टमा परेकाहरूलाई येशूले दया देखाउनु हुन्थ्यो। तिनीहरूमा आत्मसम्मानको भाव जगाउने कोशिश गर्नु हुन्थ्यो। (मत्ती ९:३६; ११:२८-३०; १४:१४) सानो र कुनै विशेष महत्त्व नै नभएका भँगेराहरूको पनि परमेश्वरले मोल गर्नुहुन्छ भनेर येशूले बताउनु भयो। उहाँको भनाइअनुसार “तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनु हुन्न।” यसकारण परमेश्वरको इच्छा गर्न कोशिश गर्ने मानिसहरूको त उहाँ झन कति मोल गर्नु हुन्छ होला! यस्ताहरूको विषयमा येशूले यसो भन्नुभयो: “तिमीहरूको कपालको केश समेत गनिएका छन्।”—लूका १२:६, ७.
हुन् त हो, नैराश्यमा डुबेको र आफ्नै कमजोरी र भूलहरूले गर्दा विरक्त भएको व्यक्तिलाई परमेश्वरले तिनको यति साह्रो मोल गर्नुहुन्छ भन्ने कुरा पत्याउनु गाह्रो पर्न सक्छ। तिनले पक्कै पनि आफू परमेश्वरको प्रेम र हेरचाहको योग्य छैन भनी सोच्न सक्छन्। “हाम्रो हृदयले हामीलाई दोष लाउँछ” भनेर परमेश्वरको वचनले पनि स्वीकार्छ। तर के यो नै सबैभन्दा निर्णायक कुरा हो र? होइन। पापी मानिसहरूले नकारात्मक ढंगमा सोच्दै आफूलाई दोषी समेत ठहराउन सक्छन् भन्ने कुरा परमेश्वरलाई थाहा छ। अतः उहाँको वचनले हामीलाई यो सान्त्वना दिन्छ: “परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुरा जान्नु हुन्छ।”—१ यूहन्ना ३:१९, २०.
हो, स्वर्गमा हुनुहुने हाम्रो पिताले हाम्रा पाप र गल्तीहरू मात्र हेर्नु हुन्न। हामीलाई केही हदसम्म चेपुवामा पार्ने परिस्थितिहरू, हाम्रो जीवन पद्धति, नियत र लक्ष्य, परमेश्वर सबै जान्नु हुन्छ। उहाँ जान्नु हुन्छ कि हामीले वंशानुगत पाप, रोग र मृत्यु पाएको हुनाकारण हाम्रा क्षमताहरू अति नै सीमित छन्। तापनि, हामी आफैसित दुःखी र दिक्क हुनु नै हामी पाप गर्न चाहँदैनौं र हाम्रोलागि अझ पनि आशा छ भन्ने कुराको प्रमाण हो। बाइबल भन्छ हामी आफ्नो इच्छाको विपरीत “व्यर्थताको अधीन[मा]” हुन पुग्यौं। हाम्रो यो दयनीय दुर्दशासित परमेश्वरको सहानुभूति छ। उहाँले अनुकम्पापूर्वक हाम्रा कमजोरीहरूलाई ध्यानमा राख्नु हुन्छ।—रोमी ५:१२; ८:२०.
“यहोवा दयासागर र अनुग्रही हुनुहुन्छ” भनेर हामी ढुक्क हुन सक्छौं। “पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ। किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटो नै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:८, १२, १४) साँच्चै नै, यहोवा “सबै सान्त्वनाका परमेश्वर [हुनुहुन्छ] . . . उहाँले हाम्रो सबै संकष्टमा सान्त्वना दिनु” हुन्छ।—२ कोरिन्थी १:३, ४.
तर दयावन्त परमेश्वरको नजिक हुँदै उहाँमाथि आफ्नो ‘भारी राख्ने’ निम्तो स्वीकार्दा नै निराश व्यक्तिहरूले आफूलाई चाहिएको सबैभन्दा ठूलो मदत पाउन सक्छन्। उहाँले साँच्चै नै “चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन” सक्नु हुन्छ। (भजन ५५:२२; यशैया ५७:१५) यसैकारण प्रार्थनालाई महत्त्व दिंदै परमेश्वरको वचन भन्छ: “तिमीहरूका सारा फिक्री उहाँमाथि राख किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) हो, प्रार्थना र अन्तरबिन्तीद्वारा मानिसहरूले परमेश्वरको नजीक हुन र “सारा समझलाई माथ” गर्ने “परमेश्वरको शान्ति[बाट]” आनन्द उठाउन सक्छन्।—फिलिप्पी ४:६, ७; भजन १६:८, ९.
आफ्नो जीवनशैलीमा व्यावहारिक किसिमको छाँटकाँट गर्नाले पनि निराश मनस्थितिमाथि विजयी हुन सकिन्छ। शारीरिक व्यायाम गर्नु, स्वस्थकर भोजन खानु, सफा हावा र यथेष्ट मात्रामा आराम लिनु, बढी मात्रामा टेलिभिजन नहेर्नु, यी सबै पनि महत्त्वपूर्ण कुराहरू हुन्। एउटी आइमाईले निराश व्यक्तिहरूलाई जोडसित हिंड्न लाएर तिनीहरूलाई मदत गर्न सकेकी छन्। एउटी निराश स्त्रीले “तर म चाहिं हिंड्न चाहन्न” भन्ने गर्दा पनि, मदत दिने ती आइमाईले कोमलता र दृढतासाथ यसो भनिन्: “तपाईं हिंड्नै पर्छ।” यी आइमाईको रिर्पोट यसप्रकार छ: “हामी ६ किलोमिटर हिंड्यौं। घरमा फर्कंदा त तिनी थाकेकी थिइन्। तर तिनलाई धेरै नै सञ्चो लागेको थियो। जोडसित हिंडनु साँच्चै नै लाभदायक हुन्छ। तपाईंलाई यो पत्याउन गाह्रो लाग्छ भने स्वयम् हिंडेर हेर्नुहोस्।”
तथापि, हर उपाय अर्थात् उपचारहरू गरी सकेपछि पनि निराशालाई सम्पूर्ण रूपमा हटाउनु कहिलेकाहीं असम्भव हुन्छ। एउटी वृद्धा आइमाई भन्छिन्: “मैले सबै कुरा गरी हेरें। तापनि नैराश्य यथावत छ।” यस्तै गरी आज अन्धा, बहिरा अथवा लंगडाहरूलाई पनि निको पार्नु अक्सर असम्भव हुन्छ। तापनि, निराश व्यक्तिहरूले नियमित तवरमा परमेश्वरको वचन पढेर सान्त्वना र आशा प्राप्त गर्न सक्छन् किनकि हर प्रकारको मानव व्यथाहरूबाट सदाका लागि मुक्त हुने आशा परमेश्वरकै वचनले दिन्छ।—रोमी १२:१२; १५:४.
जब कोही पनि निराश हुने छैनन्
आखिरी दिनहरूको दौडानमा पृथ्वीमा हुने भीषण घटनाहरूको वर्णन गर्नु हुँदा येशूले यसो भन्नुभयो: “तर जब यी कुराहरू हुनेछन्, तब शिर उठाएर माथि हेर किनभने तिमीहरूको छुटकारा नजिकै आएको हुनेछ।” (लूका २१:२८) यहाँ परमेश्वरको धार्मिक नयाँ संसारमा पाउने छुटकाराको विषयमा येशूले कुरा गर्नु हुँदै थियो जब “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा विनाशको बन्धनबाट छुटकारा” पाइनेछ।—रोमी ८:२१.
अतीतका बोझिला कुराहरूबाट मुक्त भएर दिनचर्याको सामना गर्न प्रत्येक दिन स्वच्छ र ताजा मनकासाथ ब्यूँझन पाउनु मानवजातिका लागि एउटा कति महान् आशिष् हुनेछ! निराशाको बादलले कसैलाई छेक्ने छैन। “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा, फेरि केही हुने छैन।” मानिसजातिका लागि गरिएको यो पक्का प्रतिज्ञा हो।—प्रकाश २१:३, ४.
अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्।