अध्याय सात
परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कुराबाट हामी के सिक्छौं
१, २. (क) यहोवाले अदनमा विद्रोहीहरूलाई तुरुन्तै नाश गर्नुभएको भए हामीलाई के हुनेथियो? (ख) यहोवाले हाम्रोलागि कस्तो मायालु प्रबन्ध गर्नुभएको छ?
“मेरो यस प्रवासको उमेर ता थोरै र दुःखमय भयो,” भनी कुलपिता याकूबले लेखे। (उत्पत्ति ४७:९) त्यसरी नै, अय्यूबले मानिस “अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ” भने। (अय्यूब १४:१) तिनीहरूजस्तै हामीमध्ये थुप्रैले कठिनाइ, अन्याय अनि विपत्तिसमेत भोगेका छौं। यद्यपि, हामीलाई जन्म दिनुमा परमेश्वरले कुनै अन्याय गर्नुभएको छैन। हो, हाम्रो मन अनि शरीर सिद्ध छैन र सुरुमा आदम र हव्वालाई दिइएको प्रमोदवन पनि गुमाइसकेका छौं। तर यहोवाले तिनीहरूलाई विद्रोह गर्नेबित्तिकै नाश गर्नुभएको भए के हुनेथियो? रोगबिमार, दुःख वा मृत्यु केही हुनेथिएन तर अर्कोतिर मानिसजाति पनि नामेट हुनेथियो। हामी जन्मने थिएनौं। परमेश्वरले आदम र हव्वालाई असिद्ध अवस्थामै भए तापनि सन्तान जन्माउन दिनुभयो। अनि ख्रीष्टद्वारा यहोवाले हामीलाई आदमले जे गुमाएको थियो अर्थात् पार्थिव प्रमोदवनमा अनन्त जीवन प्रदान गर्ने प्रबन्ध मिलाउनुभयो।—यूहन्ना १०:१०; रोमी ५:१२.
२ प्रमोदवनरूपी नयाँ संसारमा सधैंभरि बाँच्ने प्रत्याशा राख्न पाउनु कत्ति प्रोत्साहनदायी कुरा हो जहाँ रोगबिमार, दुःख, पीडा, मृत्यु अनि दुष्ट मानिसहरू हुनेछैनन्! (हितोपदेश २:२१, २२; प्रकाश २१:४, ५) तर बाइबल विवरणअनुसार हामी कुन कुरा थाह पाउँछौं भने, हामी र यहोवाको लागि हाम्रो व्यक्तिगत उद्धार महत्त्वपूर्ण भए तापनि योभन्दा अझ महत्त्वपूर्ण कुरा बिथोलित छ।
उहाँको महान् नाउँको लागि
३. पृथ्वी र मानिसजातिको लागि यहोवाको उद्देश्य पूर्तिमा के-के बिथोलित छ?
३ पृथ्वी र मानिसजातिको लागि परमेश्वरको प्रतिज्ञा पूर्तिमा उहाँको नाउँ बिथोलित छ। त्यो नाउँ, यहोवा हो र त्यसको अर्थ “उहाँले गराउनुहुन्छ” हो। त्यसकारण उहाँको नाउँले उहाँलाई सार्वभौम सत्ताधारी, उद्देश्यहरू पूरा गर्नुहुने महान् जन, सत्यको परमेश्वर भनेर चिनाउँछ। सर्वोच्च शासकको हैसियतमा यहोवाको ओहदाले गर्दा सारा ब्रह्माण्डको शान्ति तथा हितको लागि उहाँको नाउँ र त्यसले समेट्ने सबै कुरालाई यथोचित आदर दिनु र उहाँप्रति आज्ञाकारी हुनु महत्त्वपूर्ण छ।
४. पृथ्वीको लागि यहोवाको उद्देश्यमा के कुरा मुछिएको थियो?
४ आदम र हव्वालाई सृष्टि गर्नुभएपछि यहोवाले तिनीहरूलाई एउटा काम गर्न अह्राउनुभयो। उहाँको उद्देश्य, प्रमोदवनलाई पृथ्वीभरि विस्तार गर्नु मात्र थिएन तर तिनीहरूको सन्तानले पृथ्वी आबाद गर्नुपर्ने थियो। (उत्पत्ति १:२८) के तिनीहरूको पापले गर्दा यो उद्देश्य विफल हुनेथियो? यहोवाले पृथ्वी र मानिसजातिको लागि आफ्नो उद्देश्य पूरा गर्न सक्नुभएन भने सर्वशक्तिमान् परमेश्वरकै नाउँमा कस्तो कलंक लाग्नेथियो!
५. (क) प्रथम मानवले असल र खराबको ज्ञान दिने रूखको फल खाएको खण्डमा तिनीहरू कहिले मर्नेथिए? (ख) पृथ्वीको लागि आफ्नो उद्देश्यलाई ध्यानमा राख्दै यहोवाले उत्पत्ति २:१७ मा दिइएको आफ्नो वचन कसरी पूरा गर्नुभयो?
५ आदम र हव्वा अनाज्ञाकारी भएर असल र खराबको ज्ञान दिने रूखको फल जुन दिन खान्छन्, ‘त्यसै दिन’ मर्नेछन् भनेर यहोवाले चेतावनी दिनुभएको थियो। (उत्पत्ति २:१७) आफूले दिनुभएको वचनअनुरूपै तिनीहरूले पाप गरेको दिनमै यहोवाले तिनीहरूलाई दोषी ठहऱ्याउनुभएर मृत्युदण्ड सुनाउनुभयो। परमेश्वरको दृष्टिकोणमा आदम र हव्वा त्यही दिन मरे। तथापि, पृथ्वीको लागि उद्देश्य पूरा गर्न यहोवाले तिनीहरू मर्नुअघि सन्तान जन्माउन दिनुभयो। तैपनि, परमेश्वरको लागि एक दिन हाम्रो एक हजार वर्ष हुनाले ९३० वर्षको उमेरमा आदमको मृत्यु हुँदा “एक दिनझैं” भयो। (२ पत्रुस ३:८; उत्पत्ति ५:३-५) तसर्थ, सजाय कहिले दिइनेछ भन्ने सन्दर्भमा यहोवाको सत्यता प्रमाणित भयो र तिनीहरूको मृत्यु हुँदैमा पृथ्वीको लागि उहाँको उद्देश्य परिवर्तन भएन। तर दुष्टहरूलगायत असिद्ध मानिसहरूलाई केही समयको लागि बाँच्न दिइएको छ।
६, ७. (क) प्रस्थान ९:१५, १६ अनुसार यहोवाले किन दुष्टहरूलाई केही समय रहिरहन दिनुहुन्छ? (ख) फिरऊनको समयमा यहोवाको शक्ति कसरी देखाइयो अनि उहाँको नाउँ कसरी चिनाइयो? (ग) वर्तमान दुष्ट रीतिरिवाज नाश हुँदा के हुनेछ?
६ मोशाको समयमा यहोवाले मिश्रको शासकलाई भन्नुभएको कुराबाट परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कारण अझ बुझ्न सक्छौं। फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट जान नदिंदा यहोवाले तिनलाई तुरुन्तै नाश गर्नुभएन। अद्भुत ढंगमा यहोवाको शक्ति प्रदर्शन गर्दै मिश्रमाथि दस विपत्ति ल्याइयो। सातौं विपत्तिको चेतावनी दिनुहुँदा यहोवाले फिरऊन र तिनका जनहरूलाई यस पृथ्वीबाट सजिलै नामेट गर्न सक्नुहुन्थ्यो भनेर बताउनुभयो। यहोवाले भन्नुभयो, “तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्।”—प्रस्थान ९:१५, १६.
७ यहोवाले इस्राएलीहरूलाई छुटकारा प्रदान गर्नुहुँदा उहाँको नाउँ साँच्चै चारैतिर फैलियो। (यहोशू २:१, ९-११) आज, लगभग ३,५०० वर्षपछि पनि उहाँले त्यतिबेला गर्नुभएको कुरा बिर्सेका छैनौं। यहोवाको व्यक्तिगत नाउँ घोषणा हुनु मात्र होइन तर त्यस नाउँ धारण गर्नेबारे सत्य कुरा पनि प्रकट भयो। यसले यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्नुहुने र आफ्ना सेवकहरूको लागि कदम चाल्नुहुने परमेश्वर हुनुहुन्छ भनेर प्रमाणित भयो। (यहोशू २३:१४) उहाँको अपार शक्तिले गर्दा उहाँको उद्देश्यमा कुनै पनि कुराले अवरोध खडा गर्न सक्दैन भनेर देखायो। (यशैया १४:२४, २७) उहाँले शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाज नाश गर्नुभएर आफ्ना विश्वासी सेवकहरूको लागि चाँडै कदम चाल्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। त्यस्तो अत्यधिक शक्ति प्रदर्शन र त्यसले यहोवाको नाउँमा ल्याउने महिमा कहिल्यै बिर्सन सकिंदैन। त्यसबाट प्राप्त हुने लाभहरू अनन्तकालीन हुनेछन्।—इजकिएल ३८:२३; प्रकाश १९:१, २.
‘अहा! परमेश्वरको बुद्धिको गहराइ!’
८. पावलले हामीलाई कुन बुँदाहरू विचार गर्न आग्रह गर्छन्?
८ रोमीहरूलाई लेखेको पत्रमा पावलले यो प्रश्न उठाए: “के परमेश्वरमा अधर्म छ ता?” तिनले जोसका साथ यस्तो जवाफ दिए: “त्यसो नहोस्!” त्यसपछि तिनले परमेश्वरको दयालाई जोड दिंदै फिरऊनलाई लामो समय जीवित रहनदिनुबारे यहोवाले भन्नुभएको कुरा बताउँछन्। पावलले हामी मानिसहरू कुमालेको माटोजस्तै हौं भनेर देखाउँछन्। त्यसपछि तिनी यसो भन्छन्: “यदि परमेश्वरले आफ्नो क्रोध देखाउन र आफ्नो शक्ति जमाउन इच्छा गरेर विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँडाहरूलाई साह्रै धीरजसँग सहनुभयो, र आफ्नो महिमाका सम्पत्ति आफूले अघिबाटै महिमाको निम्ति तयार गर्नुभएको कृपा पात्रहरूमाथि देखाऊँ भनेर, जसलाई, अर्थात् हामीलाई उहाँले न केवल यहूदीहरूबाट, तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो भने, के?”—रोमी ९:१४-२४.
९. (क) “विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँडाहरू” को हुन्? (ख) यहोवाले विरोधीहरूको बावजुद किन ठूलो धीरज देखाउनुभएको छ अनि उहाँलाई प्रेम गर्नेहरूको लागि कस्तो राम्रो परिणाम हुनेछ?
९ अदनमा विद्रोह भएदेखि यहोवा र उहाँका नियमहरूको विद्रोह गर्ने सबै “विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँडाहरू” भएका छन्। त्यसबेलादेखि यहोवाले धीरज देखाइरहनुभएको छ। दुष्टहरूले उहाँको तौरतरिकाको आलोचना गरेर उहाँका दासहरूलाई सताएका छन् अनि तिनीहरू उहाँको पुत्रलाई मार्नसमेत पछि परेनन्। परमेश्वरप्रति विद्रोही हुँदाको परिणाम अनि स्वाधीन मानव शासनको दुःखद नतिजा हेर्न यहोवाले आफूलाई निकै संयममा राख्नुभएर सबै सृष्टिलाई प्रशस्त समय दिनुभएको छ। साथै, येशूको मृत्युले आज्ञाकारी मानिसजातिलाई छुटकारा तथा “शैतानका कामहरू नष्ट पार्न” मौका दिएको छ।—१ यूहन्ना ३:८; हिब्रू २:१४, १५.
१०. यहोवाले विगत १,९०० वर्षसम्म दुष्टहरूलाई सहनुको कारण के हो?
१० येशूको पुनरुत्थान भएदेखि यता १,९०० वर्षको दौडान यहोवाले “क्रोधका भाँडाहरूलाई” सहनुभएर तिनीहरूको विनाश गर्नुभएको छैन। किन? एउटा कारण त, उहाँले स्वर्गमा स्थापित राज्यमा येशू ख्रीष्टसित सहकर्मी हुने मानिसहरूलाई तयार पार्दै हुनुहुन्छ। तिनीहरू १,४४,००० छन् र तिनीहरू प्रेरित पावलले भनेका “कृपापात्रहरू” हुन्। पहिला, यो स्वर्गीय समूहमा सामेल हुन यहूदीहरूमध्येबाट छानियो। पछि, परमेश्वरले अन्यजातिहरूबाट छान्नुभयो। यहोवाले तिनीहरूमध्ये कसैलाई पनि उहाँको सेवा गर्न जबरजस्ती गर्नुभएको छैन। तर कृतज्ञ भई उहाँको मायालु प्रबन्ध स्वीकार्नेहरूलाई उहाँले स्वर्गको राज्यमा आफ्नो पुत्रसित सहशासक हुने सुअवसर दिनुभयो। त्यो स्वर्गीय समूहको लागि तयारी अहिले पूरा भइसक्यो।—लूका २२:२९; प्रकाश १४:१-४.
११. (क) यहोवाको धीरजबाट अहिले कुन समूहले लाभ उठाइरहेको छ? (ख) मरेकाहरूले कसरी लाभ उठाउनेछन्?
११ तर पृथ्वीका बासिन्दाहरू नि? यहोवाको धीरजले गर्दा सबै राष्ट्रहरूबाट “ठूलो भीड” जम्मा गर्न सम्भव भएको छ। तिनीहरूको संख्या अहिले लाखौं पुगेको छ। यहोवाले, पार्थिव आशा भएको यो समूह यस रीतिरिवाजको अन्तबाट बच्नेछ र तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रत्याशा पाउनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश ७:९, १०; भजन ३७:२९; यूहन्ना १०:१६) मरिसकेका लाखौं मानिसहरूको परमेश्वरको आफ्नै तोकिएको समयमा पुनरुत्थान हुनेछ अनि तिनीहरूले स्वर्गको राज्यका पार्थिव प्रजा हुने मौका पाउनेछन्। परमेश्वरको वचनले प्रेरित २४:१५ मा यसो भन्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—यूहन्ना ५:२८, २९.
१२. (क) यहोवाले दुष्टतालाई रहने अनुमति दिनुभएको कुराबाट हामीले के सिक्यौं? (ख) यहोवाले यस मामिला सम्हाल्नुभएको तरिका तपाईंलाई कस्तो लाग्यो?
१२ के यसमा कुनै अन्याय भएको छ? छैन। किनभने दुष्टहरू अथवा “क्रोधका भाँडाहरूलाई” विनाश नगर्नुभएर परमेश्वरले आफ्नो उद्देश्यअनुरूप अरूलाई अनुकम्पा देखाइरहनुभएको छ। यसले उहाँ कत्तिको कृपालु र दयालु हुनुहुन्छ भनेर देखाउँछ। साथै, यहोवाले आफ्नो उद्देश्य कसरी प्रकट गर्नुहुन्छ भनी हेर्ने मौका पाएपछि उहाँबारे पनि धेरै कुरा सिक्न सक्छौं। हामी उहाँको व्यक्तित्वबारे प्रकट गरिएका विभिन्न पक्षहरू जस्तै: उहाँको न्याय, दया, धीरज र विविध बुद्धिबारे जानेर आश्चर्यचकित हुन्छौं। सार्वभौम सत्ताधारी अर्थात् शासन गर्ने उहाँको अधिकारसम्बन्धी विवादलाई यहोवाले एकदमै बुद्धिमानीपूर्ण ढंगमा सम्हाल्नुभएको कुराबाट उहाँको शासनप्रणाली सर्वोत्तम हो भनेर सदा सर्वदाको लागि प्रमाणित हुनेछ। प्रेरित पावलसँगसँगै हामी यसो भन्छौं: “अहा! परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ!”—रोमी ११:३३.
हाम्रो भक्ति देखाउने मौका
१३. हामीले व्यक्तिगत तवरमा दुःखकष्ट भोग्दा कस्तो मौका पाउँछौं अनि सही प्रतिक्रिया देखाउन हामीलाई कुन कुराले मदत गर्नेछ?
१३ परमेश्वरका थुप्रै सेवकहरूले व्यक्तिगत तवरमा दुःखकष्ट भोगिरहेका छन्। तिनीहरूले दुःख भोगिरहनुको कारण, परमेश्वरले दुष्टता हटाइसक्नुभएको छैन र भविष्यवाणी गरिएझैं मानिसजाति पुनर्स्थापित भएका छैनन्। के यसले गर्दा हामी खिन्न हुनुपर्छ? अथवा हामी त्यस्ता परिस्थितिहरू दियाबललाई झूटो साबित गर्ने मौकाको रूपमा हेर्छौं? हामीले यहाँ दिइएको आग्रह पालन गऱ्यौं भने बल प्राप्त गर्न सक्छौं: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) यहोवालाई आलोचना गर्ने शैतानले मानिसहरूले भौतिक क्षति वा शारीरिक कष्ट भोग्नुपरेको खण्डमा परमेश्वरलाई दोष लाउनेछन् र उहाँलाई सराप्नसमेत पछि पर्नेछैनन् भन्यो। (अय्यूब १:९-११; २:४, ५) कठिनाइको बेला पनि हामी यहोवाप्रति वफादार भयौं भने उहाँको हृदयलाई आनन्दित तुल्याउँछौं र हाम्रो सन्दर्भमा शैतानको आरोप झूटो हो भनी प्रमाणित गर्छौं।
१४. परीक्षाहरू आइपर्दा यहोवामा भर पऱ्यौं भने कस्ता लाभहरू उठाउन सक्छौं?
१४ परीक्षाहरू आइपर्दा यहोवामा भरोसा राख्यौं भने हामीले मूल्यवान् गुणहरू विकास गर्न सक्नेछौं। उदाहरणका लागि, ख्रीष्टले भोग्नुभएको दुःखले गर्दा उहाँले “आज्ञा पालन गर्न सिक्नुभयो” र यस्तो ढंगमा उहाँले पहिले कहिल्यै सिक्नुभएको थिएन। हामीले पनि परीक्षाको बेला धीरज, सहनशीलता अनि यहोवाको धार्मिक तरिकाप्रति कृतज्ञता जस्ता गुण विकास गर्न सक्छौं।—हिब्रू ५:८, ९; १२:११; याकूब १:२-४.
१५. हामी धीरजी भई कठिनाइहरू सहँदा अरूले कसरी लाभ उठाउन सक्छन्?
१५ हामीले के गर्छौं, त्यो अरूले याद गर्छन्। धार्मिकताप्रतिको प्रेमको खातिर हामीले जे जति कठिनाइ भोग्छौं, त्यो देखेर कोही कोहीले आज साँचो मसीहीहरू को हुन् भनेर चिन्न सकेका छन्। हामीसित उपासनामा एकतामा बाँधिएर तिनीहरू पनि अनन्त जीवनको आशिष् पाउने योग्यका हुन सक्छन्। (मत्ती २५:३४-३६, ४०, ४६) मानिसहरूले यस्तो मौका पाऊन् भन्ने यहोवा अनि उहाँको पुत्रको चाहना छ।
१६. व्यक्तिगत कठिनाइप्रति हाम्रो दृष्टिकोण र एकताबीच कस्तो सम्बन्ध छ?
१६ यस्ता कठिन परिस्थितिहरूलाई यहोवाप्रति हाम्रो भक्ति देखाउने र उहाँको इच्छा पूरा गर्ने मौकाको रूपमा हेर्नु झन् कत्ति असल हो! यसो गर्दा हामी साँच्चै परमेश्वर र ख्रीष्टप्रति एकतामा बाँधिन उत्सुक छौं भनेर प्रमाणित गरिरहेका हुन्छौं। येशूले सबै साँचो मसीहीहरूको खातिर यहोवालाई यसरी प्रार्थना गर्नुभयो: “तिनीहरू [उहाँका निकटतम चेलाहरू] सबै एक होऊन्, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा तिनीहरू पनि हामीमा होऊन्, र तपाईंलेनै मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।”—यूहन्ना १७:२०, २१.
१७. हामी यहोवाप्रति वफादार रह्यौं भने कुन कुरामा निर्धक्क हुन सक्छौं?
१७ हामी यहोवाप्रति वफादार छौं भने उहाँले हामीलाई उदारचित्त भई इनाम दिनुहुनेछ। उहाँको वचन यसो भन्छ: “ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरिन्थी १५:५८) यसो पनि भनिएको छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” (हिब्रू ६:१०) याकूब ५:११ मा यसो भनिएको छ: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” अय्यूबले कस्तो परिणाम भोगे? “परमप्रभुले अय्यूबको जीवनको आखिरी समयमा सुरुको समयभन्दा बढी आशिष् दिनुभयो।” (अय्यूब ४२:१०-१६) हो, यहोवाले निष्कपट भई “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) अनि हामी कति ठूलो इनामको प्रतिक्षा गर्न सक्छौं—पार्थिव प्रमोदवनमा अनन्त जीवन!
१८. विगतका हाम्रा दुःखद अनुभवहरू के हुनेछन्?
१८ विगतमा हजारौं वर्षसम्म मानव परिवारले भोगिरहेको सबै क्षतिलाई परमेश्वरको राज्यले हटाउनेछ। अहिले हामीले भोगिरहेको दुःखकष्टको तुलनामा त्यतिबेलाको आनन्द कता हो कता बढी हुनेछ। विगतका दुःखद अनुभवहरूले हामीलाई पिरोल्नेछैन। नयाँ संसारमा मानिसहरूको दिनचर्या उत्थानदायी सोचाइ र गतिविधिले भरिनेछ। यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “हेर, म नयाँ आकाश [मानिसजातिमाथि शासन गर्ने नयाँ स्वर्गीय राज्य] र नयाँ पृथ्वी [धार्मिक मानव समाज] सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।” हो, यहोवाको नयाँ संसारमा धर्मीहरूले यसो भन्न सक्नेछन्: “सारा पृथ्वीले विश्राम पाएको छ, र शान्त छ। तिनीहरू गाउनलागेका छन्।”—यशैया १४:७; ६५:१७, १८.
पुनरावृत्ति छलफल
• दुष्टतालाई रहिरहने अनुमति दिनुभएर यहोवाले आफ्नो नाउँप्रति कसरी ठूलो आदर देखाउनुभएको छ?
• परमेश्वरले “क्रोधका भाँडाहरूलाई” सहनुभएर कसरी हामीलाई पनि दया देखाउन सक्नुभएको छ?
• व्यक्तिगत दुःखकष्टको अवस्थामा हामीले कुन कुरा बुझ्ने प्रयास गर्नुपर्छ?
[पृष्ठ ६७-मा भएको चित्र]
यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा सुरुको समयभन्दा बढी आशिष् दिनुभयो”