अध्याय २८
“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा”
इस्वी संवत् प्रथम शताब्दीमा येसुका अनुयायीहरूले सुरु गरेको कामलाई यहोवाका साक्षीहरूले निरन्तरता दिइरहेका छन्
१. प्रथम शताब्दीका ख्रिष्टियनहरू र आज यहोवाका साक्षीहरूबीच कस्तो समानता छ?
तिनीहरूले जोसका साथ साक्षी दिए। पवित्र शक्तिबाट पाएको डोऱ्याइ र मदत स्विकार्न तिनीहरू हृदयदेखि उत्प्रेरित भए। जस्तोसुकै सतावटले पनि तिनीहरूको मुख बन्द गर्न सकेन। तिनीहरूले परमेश्वरबाट प्रशस्त आशिष् पाए। यो कुरा प्रथम शताब्दीमा साँचो साबित भएझैँ आज यहोवाका साक्षीहरूको सन्दर्भमा पनि साँचो साबित भएको छ।
२, ३. प्रेषितको पुस्तकको सबैभन्दा उल्लेखनीय विशेषता के हो?
२ जीवन्त घटनाहरूले भरिएको प्रेषितको पुस्तकमा भएका विश्वासलाई बलियो बनाउने विवरणहरू पढेर तपाईँले पक्कै प्रोत्साहन पाउनुभयो। यो एकदमै विशेष विवरण हो किनभने सुरु-सुरुका ख्रिष्टियनहरूको इतिहासबारे लेखिएको यो एक मात्र प्रेरित विवरण हो।
३ प्रेषितको पुस्तकमा ९५ जना मानिसको नाम; ३२ वटा देश, प्रान्त र इलाकाको नाम; ५४ वटा सहरको नाम र ९ वटा टापुको नाम उल्लेख गरिएको छ। यो मानिसहरूको एउटा रोमाञ्चकारी कथा हो—सर्वसाधारण मानिसहरूको कथा, घमन्डी धर्मगुरुहरूको कथा, अहङ्कारी राजनीतिज्ञहरूको कथा र कट्टर विरोधीहरूको कथा। तर सबैभन्दा महत्त्वपूर्ण कुरा त यो प्रथम शताब्दीका हाम्रै भाइबहिनीहरूको वास्तविक कथा हो, जसले चुनौतीहरूको सामना मात्र गरेनन् बरु जोसका साथ साक्षी पनि दिए।
४. पावल, तबिता र प्रथम शताब्दीका अरू थुप्रै वफादार साक्षीहरूसितको हाम्रो सम्बन्ध किन विशेष छ?
४ जोसिला प्रेषित पत्रुस र पावल, प्रिय वैद्य लुका, उदार बर्णाबास, साहसी स्तिफनस, दयालु तबिता, अतिथि-सत्कार गर्न सिपालु लिडिया र अरू थुप्रै वफादार साक्षीको समय र हाम्रो समयबीच झन्डै २,००० वर्षको फरक परिसक्यो। यति लामो समय बितिसके तापनि तिनीहरूसित हाम्रो विशेष सम्बन्ध छ। किन? किनभने तिनीहरूले गरेको काम र हामीले अहिले गरिरहेको काम एउटै छ—चेला बनाउने। (मत्ति २८:१९, २०) यस काममा भाग लिन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर!
५. येसुका चेलाहरूले कहाँबाट सुसमाचार सुनाउन सुरु गरे?
५ येसुले आफ्ना चेलाहरूलाई सुम्पनुभएको जिम्मेवारीलाई सम्झनुहोस्। उहाँले यसो भन्नुभएको थियो: “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) सबैभन्दा पहिला “यरुसलेममा” साक्षी दिन पवित्र शक्तिले चेलाहरूलाई बल दियो। (प्रेषि. १:१–८:३) त्यसपछि पवित्र शक्तिको निर्देशनमा तिनीहरूले ‘सारा यहुदिया र सामरियामा’ साक्षी दिए। (प्रेषि. ८:४–१३:३) अन्तमा तिनीहरूले “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन सुरु गरे।—प्रेषि. १३:४–२८:३१.
६, ७. सुसमाचार सुनाउनको लागि प्रथम शताब्दीका ख्रिष्टियनहरूको तुलनामा हामीसँग के-कस्ता सुविधा उपलब्ध छन्?
६ साक्षी दिनको लागि प्रथम शताब्दीका हाम्रा प्रिय भाइबहिनीसँग सिङ्गो बाइबल थिएन। मत्तिको सुसमाचारको पुस्तक इस्वी संवत् ४१ पछि मात्र उपलब्ध भयो। पावलका केही पत्र इस्वी संवत् ६१ मा प्रेषितको पुस्तकभन्दा अघि नै लेखिएका थिए। तर प्रथम शताब्दीका हाम्रा भाइबहिनीसँग हात-हातमा सिङ्गो बाइबल थिएन र चासो दिने व्यक्तिलाई दिन कुनै प्रकाशन पनि थिएन। यहुदी ख्रिष्टियनहरू येसुको चेला बन्नुअघि सभाघरहरूमा हिब्रू धर्मशास्त्रको पढाइ सुन्ने गर्थे। (२ कोरि. ३:१४-१६) त्यसरी सुनेकै भरमा बाइबल पदहरू सम्झेर मानिसहरूलाई बताउनुपर्ने भएकोले तिनीहरूले एकाग्र भएर सुन्नुपर्थ्यो।
७ आज हामीसँग भने हात-हातमा बाइबल छ र बाइबलआधारित प्रकाशनहरूको पनि छेलोखेलो छ। हामी २४० भन्दा धेरै मुलुकमा र थुप्रै भाषामा सुसमाचार सुनाएर चेला बनाउने काम गरिरहेका छौँ।
पवित्र शक्तिबाट बल पाए
८, ९. (क) पवित्र शक्तिले येसुका चेलाहरूलाई के गर्न सक्षम बनायो? (ख) परमेश्वरको पवित्र शक्तिको मदत पाएर विश्वासी दासले कस्तो काम गर्न सकेको छ?
८ चेलाहरूलाई साक्षी दिने जिम्मेवारी सुम्पँदा येसुले यसो भन्नुभएको थियो: “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ।” परमेश्वरको सक्रिय शक्तिको निर्देशन पाएर अन्तमा येसुका चेलाहरू पृथ्वीभरि साक्षी दिन सक्षम हुने थिए। पवित्र शक्तिको मदतले नै पत्रुसले र पावलले बिरामीहरूलाई निको पारे, दुष्ट स्वर्गदूतलाई धपाए र मरेकाहरूलाई समेत ब्युँताए! तर पवित्र शक्तिबाट पाउने बलले त्योभन्दा पनि महत्त्वपूर्ण उद्देश्य पूरा गर्ने थियो। यसले प्रेषितहरूलाई र अरू चेलाहरूलाई सही ज्ञानबारे मानिसहरूलाई बताउन सक्षम बनायो। यही ज्ञानले गर्दा मानिसहरूले अनन्त जीवन पाउन सक्थे।—युह. १७:३.
९ इस्वी संवत् ३३ पेन्तिकोसमा येसुका चेलाहरूलाई “पवित्र शक्तिले . . . जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।” यसरी तिनीहरूले “परमेश्वरको विषयमा अद्भुत कुराहरू”-को साक्षी दिए। (प्रेषि. २:१-४, ११) आज हामी चमत्कारपूर्ण तरिकामा विभिन्न भाषा बोल्न सक्दैनौँ। तर परमेश्वरको पवित्र शक्तिको मदतले गर्दा विश्वासी दासले धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू छापेको छ। जस्तै: हरेक महिना करोडौँ प्रति प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका छापिन्छन्। अनि हाम्रो jw.org वेबसाइटमा १,००० भन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू र भिडियोहरू पनि राखिएका छन्। यस्ता प्रकाशनहरूले हरेक राष्ट्र, कुल, जाति अनि भाषाका मानिसहरूलाई “परमेश्वरको विषयमा अद्भुत कुराहरू”-को साक्षी दिन हामीलाई सक्षम बनाएको छ।—प्रका. ७:९.
१०. सन् १९८९ देखि बाइबल अनुवादसम्बन्धी कस्तो काम भइरहेको छ?
१० सन् १९८९ देखि विश्वासी दासले पवित्र बाइबल—नयाँ संसार अनुवाद धेरै भाषामा उपलब्ध गराउन जोड दिएको छ। यो बाइबल अहिलेसम्म २०० भन्दा धेरै भाषामा अनुवाद भइसकेको छ र लाखौँ प्रति छापिइसकेको छ अनि अझै अरू पनि छापिने क्रममा छ। परमेश्वर र उहाँको शक्तिको मदतले मात्र यो काम सफल हुन सकेको हो।
११. हाम्रा प्रकाशनहरूको अनुवादसम्बन्धी काम कसरी भइरहेको छ?
११ संसारका १५० भन्दा धेरै देशमा हजारौँ ख्रिष्टियन स्वयंसेवकले अनुवादको काम गरिरहेका छन्। यो देख्दा हामीले अचम्म मान्नु पर्दैन। किनभने यहोवा परमेश्वरबारे, उहाँको मसीही राजाबारे र स्वर्गमा स्थापना भएको उहाँको राज्यबारे “राम्ररी साक्षी” दिन पवित्र शक्तिले डोऱ्याएको अरू कुनै सङ्गठन यस पृथ्वीमा छैन।—प्रेषि. २८:२३.
१२. पावल र अरू ख्रिष्टियनहरूले साक्षी दिने काम कसरी गर्न सके?
१२ पावलले पिसिदियाको एन्टिओकमा यहुदीहरू र अन्यजातिहरूलाई साक्षी दिँदा “ज-जससित अनन्त जीवन पाउन लायकको उचित मनसाय थियो, तिनीहरू सबैले प्रभुमा विश्वास गरे।” (प्रेषि. १३:४८) लुकाले प्रेषितको पुस्तकको अन्तमा पावलबारे यस्तो लेखे: “[तिनी] परमेश्वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ प्रभु येसु ख्रिष्टको विषयमा विनारोकटोक सिकाउँथे।” (प्रेषि. २८:३१) यतिबेला पावल कहाँ साक्षी दिँदै थिए? रोममा, जुन त्यतिबेलाको विश्वशक्तिको राजधानी थियो। भाषणहरू दिएर होस् वा अरू कुनै तरिकामा, येसुका सुरु-सुरुका अनुयायीहरूले पवित्र शक्तिको मदत र डोऱ्याइ पाएर साक्षी दिने काम गरे।
सतावटको बाबजुद लागिरहे
१३. सतावट आउँदा हामीले किन प्रार्थना गर्नुपर्छ?
१३ येसुका सुरु-सुरुका चेलाहरूमाथि सतावट आउँदा तिनीहरूले साहसको लागि यहोवालाई प्रार्थना गरे। नतिजा कस्तो भयो? तिनीहरू पवित्र शक्तिले भरिए र परमेश्वरको वचन निर्भयी भएर बोल्न बल पाए। (प्रेषि. ४:१८-३१) सतावटको बाबजुद साक्षीकार्यमा लागिरहन हामी पनि बुद्धि र बलको लागि यहोवालाई प्रार्थना गर्छौँ। (याकु. १:२-८) यहोवाको आशिष् र उहाँको पवित्र शक्तिको मदत पाइरहेको हुनाले नै हामी साक्षीकार्यमा निरन्तर लागिरहन्छौँ। जस्तोसुकै सतावट आओस् वा विरोध, साक्षी दिने कामलाई कुनै कुराले रोक्न सक्दैन। सतावटको बेला सुसमाचार घोषणा गरिरहन हामीले पवित्र शक्ति, बुद्धि र साहसको लागि अवश्य पनि प्रार्थना गर्नै पर्छ।—लुका ११:१३.
१४, १५. (क) “स्तिफनसको घटनापछि आइपरेको सङ्कष्ट”-को परिणाम कस्तो भयो? (ख) साइबेरियाका धेरै जनाले कसरी बाइबल सत्य सिक्ने मौका पाए?
१४ शत्रुहरूले मार्नुअघि स्तिफनसले साहसी भएर साक्षी दिए। (प्रेषि. ६:५; ७:५४-६०) त्यतिबेला “अत्यन्तै खेदो” हुन थालेपछि प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए। फिलिप सामरिया गएर त्यहाँ “ख्रिष्टको विषयमा प्रचार गर्न थाले” अनि त्यहाँ धेरै जनाले सुसमाचार स्विकारे। (प्रेषि. ८:१-८, १४, १५, २५) विवरणमा अझै यस्तो लेखिएको छ: “स्तिफनसको घटनापछि आइपरेको सङ्कष्टले गर्दा तितरबितर भएकाहरू फोनिसिया, साइप्रस र एन्टिओकसम्मै पुगे तर तिनीहरूले यहुदीहरूलाई मात्र सुसमाचार सुनाए। तर तिनीहरूमध्ये कोही-कोही, जो साइप्रस र साइरेनीका थिए, तिनीहरू एन्टिओक आए र तिनीहरूले ग्रीकभाषीहरूलाई प्रभु येसुको सुसमाचार सुनाउन थाले।” (प्रेषि. ११:१९, २०) सतावटको कारणले नै त्यतिबेला राज्य सन्देश जताततै फैलियो।
१५ हाम्रो समयमा पनि भूतपूर्व सोभियत सङ्घमा त्यस्तै भयो। विशेषगरि सन् १९५० को दशकमा हजारौँ साक्षीलाई साइबेरियामा निर्वासित गरियो र त्यहाँको विभिन्न बस्तीहरूमा तितरबितर पारियो। तर साक्षीहरू जहाँ-जहाँ पुगे, त्यहाँ सुसमाचार सुनाए, जसले गर्दा त्यस विशाल देशमा साक्षीकार्य फैलिँदै गयो। सरकारले त्यहाँ नपठाएको भए सायद साक्षीहरूले ती ठाउँमा कहिल्यै साक्षी दिन पाउने थिएनन् किनभने १०,००० किलोमिटरजति लामो यात्रा गर्न तिनीहरूसित पैसा नै थिएन। एक जना भाइले यसो भने: “सरकारले गर्दा नै साइबेरियामा भएका हजारौँ नम्र मानिसले बाइबल सत्य सिक्ने मौका पाए।”
यहोवाबाट प्रशस्त आशिष् पाए
१६, १७. साक्षी दिने काममा यहोवाको आशिष् छ भनेर प्रेषितको पुस्तकले हामीलाई कस्तो प्रमाण दिन्छ?
१६ सुरु-सुरुका ख्रिष्टियनहरूले यहोवाको आशिष् पाए भन्ने कुरामा कुनै शङ्का छैन। पावल र अरू साक्षीले रोपे र पानी हाले “तर परमेश्वरले त्यसलाई हुर्काइरहनुभयो।” (१ कोरि. ३:५, ६) साक्षीकार्यमा यहोवाको आशिष् भएकोले नै त्यस्तो वृद्धि सम्भव भयो भनेर प्रेषितको पुस्तकबाट प्रस्ट हुन्छ। उदाहरणको लागि, “परमेश्वरको वचन फैलँदै गयो र यरुसलेममा चेलाहरूको सङ्ख्या झन्-झन् बढ्दै गयो अनि पुजारीहरूको ठूलो जमातले पनि विश्वास गर्न थाल्यो।” (प्रेषि. ६:७) साक्षीकार्य फैलँदै जाँदा “सारा यहुदिया, गालिल र सामरियाको मण्डलीमा शान्ति छायो र मण्डली सुदृढ हुँदै गयो। यहोवा परमेश्वरको डर अनि पवित्र शक्तिबाट पाएको प्रोत्साहनअनुसार हिँड्दा मण्डलीको वृद्धि हुँदै गयो।”—प्रेषि. ९:३१.
१७ सिरियाको एन्टिओकमा यहुदी र ग्रीकभाषी मानिसहरूले साहसी साक्षीहरूबाट सुसमाचार सुने। प्रेषितको विवरण भन्छ: “साथै यहोवा परमेश्वर तिनीहरूको साथमा हुनुहुन्थ्यो र थुप्रै मानिसले प्रभुमा विश्वास गर्न थाले र उहाँको चेला बने।” (प्रेषि. ११:२१) त्यस सहरमा भएको थप प्रगतिबारे यस्तो लेखिएको छ: “यहोवा परमेश्वरको वचन बढ्दै र फैलँदै गयो।” (प्रेषि. १२:२४) पावल र अरूले अन्यजातिका मानिसहरूलाई जोडतोडले साक्षी दिन थालेपछि “यहोवा परमेश्वरको वचन शक्तिशाली ढङ्गमा बढ्दै अनि प्रबल हुँदै गयो।”—प्रेषि. १९:२०.
१८, १९. (क) ‘यहोवा हाम्रो साथमा हुनुहुन्छ’ भनेर हामी किन भन्न सक्छौँ? (ख) यहोवा आफ्ना जनहरूलाई सँभाल्नुहुन्छ भनेर बुझाउने एउटा अनुभव बताउनुहोस्।
१८ अहिले हाम्रो समयमा पनि ‘यहोवा हाम्रो साथमा हुनुहुन्छ’ भन्ने कुरामा कुनै शङ्का छैन। त्यसैले त धेरैभन्दा धेरै मानिसले सत्य सिकिरहेका छन् र बप्तिस्मा गरेर आफ्नो जीवन यहोवामा समर्पण गरिरहेका छन्। यसबाहेक कडा विरोध आउँदा वा भीषण सतावट भोग्नुपर्दा समेत परमेश्वरको मदत र आशिष् पाएर मात्र हामी ती सहन सक्छौँ र साक्षीकार्यमा लागिरहन सक्छौँ। पावल र सुरु-सुरुका अरू ख्रिष्टियनहरूले पनि यस्तै अनुभव गरेका थिए। (प्रेषि. १४:१९-२१) यहोवा परमेश्वर हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। हामी परीक्षामा परेको बेला उहाँ हामीलाई आफ्नो “बाहुलीले” थाम्नुहुनेछ। (व्यव. ३३:२७) आफ्नो महान् नामको खातिर पनि उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन भन्ने कुरा नबिर्सौँ।—१ समु. १२:२२; भज. ९४:१४.
१९ भाइ हारल्ड आप्टको अनुभव विचार गरौँ। तिनले निरन्तर साक्षी दिएकोले नाजीहरूले तिनलाई दोस्रो विश्वयुद्धको बेला साक्सेनहाउसेन यातना शिविरमा पठाए। सन् १९४२ को मे महिनामा जर्मनीको गुप्तचर प्रहरीले (गेस्टापो) तिनको घरमा गएर तिनकी श्रीमती एल्जालाई गिरफ्तार गऱ्यो र सानी छोरीलाई खोसेर लग्यो। तिनलाई विभिन्न शिविरहरूमा राखियो। बहिनी एल्जाले यसो भनिन्: “जर्मनीको यातना शिविरहरूमा छँदा मैले अविस्मरणीय पाठ सिकेँ। त्यो हो, अत्यन्तै कठिन परीक्षाहरू आउँदा यहोवाले आफ्नो पवित्र शक्तिमार्फत हामीलाई धेरै बल दिनुहुन्छ। म गिरफ्तार हुनुअघि एउटी बहिनीको चिठी पाएकी थिएँ। त्यस चिठीमा कठिन परीक्षाको सामना गर्नुपर्दा यहोवाको पवित्र शक्तिले तपाईँलाई शान्त रहन मदत गर्नेछ भनेर लेखिएको थियो। मलाई यो कुरा अलि बढाइचढाइ गरेर लेखिएको हो कि जस्तो लागेको थियो। तर म आफै परीक्षामा पर्दा तिनको कुरा सही रहेछ भनेर बुझेँ। यहोवाको पवित्र शक्तिले साँच्चै मदत गर्छ। तपाईँले यस्तो अनुभव गर्नुभएको छैन भने यो कुरा कल्पना गर्न तपाईँलाई गाह्रो होला। तर मैले साँच्चै अनुभव गरेँ।”
राम्ररी साक्षी दिइरहनुहोस्!
२०. नजरबन्दमा राखिएको बेला पावलले के गरे? यसबाट हाम्रा केही भाइबहिनीले कसरी प्रोत्साहन पाउन सक्छन्?
२० पावल निर्धक्क भई “परमेश्वरको राज्यको विषयमा प्रचार गर्थे” भनेर प्रेषितको पुस्तक टुङ्ग्याइएको छ। (प्रेषि. २८:३१) पावललाई नजरबन्दमा राखिएकोले तिनी रोममा घरघरको साक्षीकार्यमा जान सक्दैनथे। तैपनि आफूलाई भेट्न आउनेजति सबैलाई तिनले साक्षी दिइरहे। अहिले पनि हाम्रा केही प्रिय भाइबहिनी घरमै कोचिनुपरेको छ; कोही-कोही त ओछ्यानबाट उठ्नै सक्दैनन्। कुनै-कुनै देशमा ढल्कँदो उमेर, रोग वा अशक्तताको कारण भाइबहिनीहरू वृद्धाश्रम वा अस्पतालमा बस्छन्। तैपनि परमेश्वरप्रतिको प्रेम र साक्षी दिने तिनीहरूको इच्छा पहिलाको तुलनामा अलिकति पनि घटेको छैन। हामी तिनीहरूका लागि प्रार्थना गर्छौँ। यहोवाबारे र उहाँको अद्भुत उद्देश्यबारे सिक्न चाहने मानिसहरूलाई तिनीहरूले भेट्न सकून् भनेर स्वर्गमा बस्नुहुने हाम्रा बुबा यहोवालाई हामी बिन्ती गर्न सक्छौँ।
२१. साक्षी दिने काममा हामीले अहिले किन ढिलासुस्ती गर्नु हुँदैन?
२१ हामीमध्ये धेरै जना घरघरको साक्षीकार्यमा र चेला बनाउने कामका अन्य पक्षमा भाग लिन सक्छौँ। त्यसैले हामी प्रत्येकले राज्य प्रचारकको रूपमा “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन सकेजति सबै गरौँ। ख्रिष्टको उपस्थितिको “चिन्ह” प्रस्टै देखिसकेकोले यस काममा ढिलासुस्ती गर्नु हुँदैन। (मत्ति २४:३-१४) अहिले समय खेर फाल्ने बेला होइन। हामी “प्रभुको काममा सधैँ व्यस्त” भइरहनुपर्छ।—१ कोरि. १५:५८.
२२. यहोवाको दिन पर्खँदै गर्दा हामीले के गर्ने दृढ सङ्कल्प गर्नुपर्छ?
२२ “यहोवाको महान् र भयानक दिन” पर्खँदै गर्दा साहसी र वफादार भई साक्षी दिइरहने दृढ सङ्कल्प गरौँ। (योए. २:३१) बिरियाका मानिसहरू “असाध्यै उत्सुक भएर परमेश्वरको वचन ग्रहण” गर्थे। अहिले हामी पनि त्यस्ता थुप्रै मानिस भेट्छौँ। (प्रेषि. १७:१०, ११) त्यसैले एक अर्थमा यसो भनिएको नसुनेसम्म साक्षीकार्यमा लागिरहौँ: “स्याबास, असल र विश्वासी दास!” (मत्ति २५:२३) यदि हामी चेला बनाउने काममा आफूले पाएको जिम्मेवारी जोसका साथ पूरा गर्छौँ र यहोवाप्रति सधैँ वफादार रहन्छौँ भने उहाँको राज्यबारे “राम्ररी साक्षी” दिने सम्मान पाएको कुरा सम्झेर सधैँभरि आनन्दित हुन सक्नेछौँ।