अध्याय दुई
बाइबल—परमेश्वरले दिनुभएको किताब
१, २. बाइबल किन परमेश्वरले दिनुभएको विशेष उपहार हो?
कुनै साथीले उपहार दिँदा तपाईँलाई कस्तो लाग्छ? के उपहार दिएछ भनेर हेर्न तपाईँलाई खुलदुली लाग्छ अनि साथीले सम्झेकोमा खुसी पनि लाग्छ नि, होइन र? अनि तपाईँ साथीलाई धन्यवाद पनि दिनुहुन्छ।
२ बाइबल परमेश्वरले दिनुभएको उपहार हो। यसमा हामी अन्त कतै नपाइने जानकारी पाउँछौँ। जस्तै: परमेश्वरले स्वर्ग, पृथ्वी अनि पहिलो पुरुष र स्त्री कसरी बनाउनुभयो भनेर बाइबलमा बताइएको छ। हामीलाई समस्या सुल्झाउन मदत गर्ने सिद्धान्तहरू पनि बाइबलमा पाइन्छ। पृथ्वीलाई अझ सुन्दर बनाउने आफ्नो उद्देश्य परमेश्वरले कसरी पूरा गर्नुहुनेछ भनेर पनि बाइबलमा बताइएको छ। बाइबल साँच्चै विशेष उपहार हो!
३. बाइबल पढ्दै जाँदा तपाईँले के थाह पाउनुहुनेछ?
३ बाइबल पढ्दै जाँदा तपाईँले परमेश्वरसित मित्रता गाँसेको उहाँ चाहनुहुन्छ भनेर थाह पाउनुहुनेछ। अनि तपाईँ उहाँलाई जति धेरै चिन्दै जानुहुन्छ, उहाँसितको तपाईँको मित्रता त्यति नै गहिरो हुँदै जानेछ।
४. तपाईँलाई बाइबलबारे कुन कुरा रोचक लाग्यो?
४ बाइबल ३ हजार २ सयभन्दा धेरै भाषामा पाइन्छ अनि अहिलेसम्म अरबौँ बाइबल छापिसकिएको छ। अहिले संसारको ९० प्रतिशतभन्दा धेरै मानिसले आफ्नै भाषामा बाइबल पढ्न सक्छन्। अनि हरेक हप्ता १० लाखभन्दा धेरै मानिसले बाइबल पाइरहेका हुन्छन्! साँच्चै, बाइबलजस्तो किताब अरू कुनै छैन।
५. बाइबल “परमेश्वरको प्रेरणाद्वारा लेखिएको” किताब हो भनेर हामी किन भन्न सक्छौँ?
५ बाइबल “परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथि ३:१६ पढ्नुहोस्) यसको अर्थ के हो? बाइबल मानिसहरूले लेखेको भए तापनि यसलाई किन परमेश्वरले दिनुभएको किताब भन्न सकिन्छ? बाइबल भन्छ: “पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।” (२ पत्रुस १:२१) उदाहरणको लागि, व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगायो भने त्यो चिठी कसको हुन्छ? चिठी सेक्रेटरीको नभई व्यापारीकै हुन्छ नि, होइन र? त्यसैगरि बाइबल मानिसहरूले लेखेको भए तापनि यसमा भएका कुराहरू भने परमेश्वरकै हुन्। परमेश्वरले मानिसहरू चलाएर उहाँका विचारहरू लेख्न लगाउनुभयो। त्यसैले बाइबल वास्तवमै “परमेश्वरको वचन” हो।—१ थिस्सलोनिकी २:१३; नोट २ हेर्नुहोस्।
बाइबलमा लेखिएको कुरा सही छ
६, ७. बाइबलको कुरा आपसमा मेल खान्छ भनेर किन भन्न सक्छौँ?
६ बाइबल लेख्न १ हजार ६ सय वर्षभन्दा धेरै समय लाग्यो। बाइबल लेख्ने मानिसहरू फरकफरक समयका थिए। तिनीहरूमध्ये कोही धेरै पढेलेखेका थिए भने कोही त्यति पढेलेखेका थिएनन्। जस्तै, बाइबलका एक जना लेखक डाक्टर थिए। अरू कोहीचाहिँ किसान, मछुवा, गोठालो, भविष्यवक्ता, न्यायाधीश र राजा थिए। बाइबल बेग्लाबेग्लै मानिसहरूले लेखेको भए तापनि यसमा भएको कुरा आपसमा बाझिएको छैन। बाइबलमा एक ठाउँमा एउटा कुरा अनि अर्को ठाउँमा अर्कै कुरा लेखिएको पाइँदैन।a
७ बाइबलको सुरुका अध्यायहरूमा मानिसजातिले अहिले भोगिरहेको यति धेरै समस्या कहाँबाट सुरु भयो भनी बताइएको छ। अनि अन्तिम अध्यायहरूमा चाहिँ परमेश्वरले कसरी ती समस्याहरू सुल्झाएर पूरै पृथ्वीलाई प्रमोदवन बनाउनुहुनेछ भनी बताइएको छ। बाइबलमा हजारौँ वर्ष पुरानो इतिहास पाइन्छ र बाइबलले परमेश्वरको उद्देश्य सधैँ पूरा हुन्छ भनेर देखाउँछ।—नोट ३ हेर्नुहोस्।
८. विज्ञानसम्बन्धी बाइबलमा बताइएका कुराहरू सही छन् भनेर देखाउने केही उदाहरण बताउनुहोस्।
८ बाइबल विज्ञानको वा स्कुलको पाठ्यपुस्तक होइन। तैपनि बाइबलमा विज्ञानसित सम्बन्धित विषयमा जे-जति कुराहरू पाइन्छन्, ती सबै सही छन्। परमेश्वरले दिनुभएको किताबबाट हामी यस्तै आशा गर्छौँ नि, होइन र? उदाहरणको लागि, बाइबलको लेवी नाम गरेको किताबमा परमेश्वरले इस्राएलीहरूलाई रोग फैलिन नदिन के-के गर्नुपर्छ भनेर निर्देशनहरू दिनुभएको छ। यो कुरा जीवाणुहरूले कसरी रोग सार्छन् भनेर वैज्ञानिकहरूले पत्ता लगाउनुभन्दा धेरैअघि लेखिएको थियो। पृथ्वी कुनै आडविना झुन्डिएको छ भनेर पनि बाइबलले धेरै वर्षअघि नै सही कुरा बताएको थियो। (अय्युब २६:७) अनि पृथ्वी चेप्टो छ भनेर धेरै मानिसहरूले भनिरहेको बेला बाइबलमा चाहिँ पृथ्वी गोलो छ भनिएको थियो।—यसैया ४०:२२.
९. बाइबल लेखकहरूको इमानदारीलाई विचार गर्दा हामी कुन कुरा बुझ्न सक्छौँ?
९ बाइबलमा पाइने ऐतिहासिक कुराहरू पनि सही छन्। प्रायजसो इतिहासका किताबहरू लेखकहरूले इमानदार भएर लेखेका छैनन्। उदाहरणको लागि, कतिपय लेखकहरूले आफ्नो देशले युद्ध हार्दा इतिहासको किताबमा त्यसबारे केही लेखेका छैनन्। तर बाइबलका लेखकहरूले भने आफ्नै जाति हारेका युद्धहरूबारे समेत इमानदार भई लेखेका छन्। तिनीहरूले आफूले के-कस्ता गल्तीहरू गरे, त्यसबारे पनि लेखेका छन्। उदाहरणको लागि, बाइबलको गन्ती नाम गरेको किताबमा मोसा भन्ने भविष्यवक्ताले आफूले गरेको गम्भीर त्रुटिबारे लेखेका छन्। अनि परमेश्वरले तिनलाई कसरी सुधार्नुभयो, त्यसबारे पनि लेखेका छन्। (गन्ती २०:२-१२) बाइबलका लेखकहरूको यस्तो इमानदारीलाई विचार गर्दा बाइबल वास्तवमा परमेश्वरले नै दिनुभएको किताब हो भनेर प्रस्ट हुन्छ। यसकारण हामी बाइबलमाथि पूरा भरोसा राख्न सक्छौँ।
बाइबलमा थुप्रै राम्रा सल्लाह पाइन्छ
१०. बाइबलमा पाइने सल्लाह किन अहिले पनि उत्तिकै काम लाग्छ?
१० बाइबल “परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन . . . उपयोगी छ।” (२ तिमोथि ३:१६) हो, बाइबलमा पाइने सल्लाह अहिले पनि उत्तिकै काम लाग्छ। हामीलाई यहोवा परमेश्वरले बनाउनुभएको हुनाले उहाँलाई हाम्रो मनभित्र लुकेका विचार अनि भावनाहरू राम्ररी थाह छ। भनौँ भने, हामी आफूलाई जत्ति चिन्छौँ, त्योभन्दा कैयौँ गुणा धेरै उहाँ हामीलाई चिन्नुहुन्छ। उहाँ हामी सुखी अनि आनन्दित भएको हेर्न चाहनुहुन्छ। के गर्दा हाम्रो भलो हुन्छ र के गर्दा हुँदैन, त्यो पनि उहाँलाई राम्ररी थाह छ।
११, १२. (क) येसुले मत्ति अध्याय पाँचदेखि सातमा कस्ता सल्लाहहरू दिनुभएको छ? (ख) बाइबल पढेर हामी अरू के कुरा सिक्न सक्छौँ?
११ बाइबलको मत्ति नाम गरेको किताबको अध्याय पाँचदेखि सात पढ्यौँ भने हामी आनन्दित हुन के गर्नुपर्छ, अरूसित मिलेर बस्न के गर्नुपर्छ, परमेश्वरलाई कसरी प्रार्थना गर्ने र धनसम्पत्तिको किन लोभ गर्नुहुन्न भन्ने विषयमा असाध्यै राम्रो सल्लाह पाउँछौँ। त्यो सल्लाह येसुले दुई हजार वर्षअघि दिनुभएको थियो। तर त्यो सल्लाह आज पनि उत्तिकै व्यावहारिक अनि उपयोगी छ।
१२ परिवारलाई सुखी बनाउन, मेहनती हुन र अरूसित शान्तिमा रहन हामीले के गर्नुपर्छ, त्यससित सम्बन्धित सिद्धान्तहरू पनि यहोवा परमेश्वरले बाइबलमार्फत हामीलाई सिकाउनुभएको छ। त्यसैले हामी जुनसुकै मुलुकको भए पनि, धनी-गरिब जेसुकै भए पनि अनि हाम्रा समस्या जस्तोसुकै भए पनि बाइबलको सिद्धान्तअनुसार चल्दा सधैँ हाम्रो भलो हुन्छ।—यसैया ४८:१७ पढ्नुहोस्; नोट ४ हेर्नुहोस्।
बाइबलका भविष्यवाणीहरूमा शङ्का गर्नु पर्दैन
१३. बेबिलोन सहरबारे यसैयाले के बताए?
१३ बाइबलमा भएका थुप्रै भविष्यवाणी अहिले पूरा भइसके। उदाहरणको लागि, यहोवा परमेश्वरले यसैया नाम गरेको भविष्यवक्तालाई प्राचीन सहर बेबिलोन कसरी विनाश हुनेछ भनेर भविष्यवाणी गर्न लगाउनुभएको थियो। (यसैया १३:१९) त्यस सहरलाई कसरी कब्जा गरिनेछ भनेर यसैयाले एक-एक कुरा खुलाएका थिए। बेबिलोन सहरमा ठूलाठूला ढोका थिए र सहरलाई ठूलो नदीले घेरेको हुँदा त्यो सुरक्षित देखिन्थ्यो। तर यसैयाले त्यो ठूलो नदीसमेत सुक्नेछ र ढोकाहरू खुल्लै छोडिनेछन् भनेर भविष्यवाणी गरे। शत्रुहरूले हतियार नै नउठाई त्यस सहरलाई कब्जा गर्ने थिए। बेबिलोनलाई कब्जा गर्ने मानिसको नाम कोरेस हुनेछ भनेर समेत यसैयाले भविष्यवाणी गरे।—यसैया ४४:२७–४५:२ पढ्नुहोस्; नोट ५ हेर्नुहोस्।
१४, १५. यसैयाको भविष्यवाणी कसरी पूरा भयो?
१४ भविष्यवाणी गरिएको ठ्याक्कै २०० वर्षपछि सिपाहीहरूको दलले बेबिलोनमाथि हमला गऱ्यो। त्यो दलको नाइके को थिए? भविष्यवाणी गरिएझैँ फारस देशका राजा कोरेस थिए। तर के कोरेसले हतियारै नउठाई बेबिलोन सहरलाई कब्जा गरे त?
१५ त्यो रात बेबिलोनीहरू भोज गरिरहेका थिए। सहरलाई ठूलो पर्खाल र नदीले घेरेकोले तिनीहरूले आफूलाई शत्रुहरूले आक्रमण गर्न सम्भवै छैन भन्ठान्थे। उता सहरबाहिर कोरेस र तिनका सिपाहीहरूले नहर खनेर गहिरो नदीको पानीलाई घटाउन खोजे। नदीको पानी घटेपछि फारसी सिपाहीहरू नदी तरेर पर्खालको छेउसम्मै पुगे। तर सिपाहीहरू बेबिलोनको त्यो अग्लो पर्खाल पार गरेर कसरी सहरभित्र छिर्न सक्थे? भविष्यवाणी गरिएझैँ सहरका ढोकाहरू खुल्लै थिए। त्यसैले सिपाहीहरूले बेबिलोनलाई कब्जा गर्न युद्ध लड्नै परेन।
१६. (क) यसैयाले बेबिलोनबारे अरू के भविष्यवाणी गरे? (ख) यसैयाको भविष्यवाणी पूरा भयो भनेर हामी कसरी भन्न सक्छौँ?
१६ बेबिलोनमा फेरि कहिल्यै मानिसहरू बसोबास गर्नेछैनन् भनेर पनि यसैयाले भविष्यवाणी गरे। तिनले यसो भने: “त्यहाँ कहिल्यै कुनै मानिस बस्नेछैन। पुस्तौँपुस्तासम्म त्यहाँ कसैले बसोबास गर्नेछैन।” (यसैया १३:२०) के त्यो कुरा पूरा भयो? इराकको राजधानी बग्दादको लगभग ८० किलोमिटर दक्षिणतिर प्राचीन बेबिलोन सहरको भग्नावशेष छ। अहिले पनि त्यहाँ कोही मानिस बस्दैन। यहोवा परमेश्वरले बेबिलोनलाई ‘विनाशको खरेटोले बढार्नुभयो।’—यसैया १४:२२, २३.b
१७. परमेश्वरका सबै प्रतिज्ञा पूरा हुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौँ?
१७ बाइबलका थुप्रै भविष्यवाणी पूरा भइसकेकोले हाम्रो भविष्यबारे त्यसमा लेखिएका कुराहरू पनि पूरा हुनेछन् भनेर हामी ढुक्क हुन सक्छौँ। यहोवा परमेश्वरले पूरै पृथ्वीलाई प्रमोदवन बनाउने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी पक्का हुन सक्छौँ। (गन्ती २३:१९ पढ्नुहोस्) हो, हामीसित ‘अनन्त जीवनको आशा छ, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।’—तितस १:२.c
बाइबलले तपाईँको जीवनलाई बदल्न सक्छ
१८. पावलले “परमेश्वरको वचन”-बारे के भने?
१८ हामीले अरू कुनै किताब बाइबलको बराबरीमा आउन सक्दैन भनेर बुझ्यौँ। यसमा भएका कुराहरू आपसमा बाझिएको छैन अनि विज्ञान र इतिहाससम्बन्धी यसमा लेखिएका कुराहरू सधैँ सही साबित भएका छन्। बाइबलले हामीलाई राम्रा सल्लाहहरू पनि दिन्छ। अनि यसमा भएका थुप्रै भविष्यवाणी जस्ताको तस्तै पूरा भइसके। तर यति कुराले गर्दा मात्र बाइबल अरू किताबभन्दा फरक भएको त होइन। पावल नाम गरेको बाइबलका एक जना लेखकले यस्तो लेखे: “परमेश्वरको वचन जीवित र प्रबल” छ। यसको अर्थ के हो?—हिब्रू ४:१२ पढ्नुहोस्।
१९, २०. (क) आफूलाई अझ राम्ररी चिन्न बाइबलले कसरी मदत गर्छ? (ख) परमेश्वरले दिनुभएको उपहारको मोल गर्नुहुन्छ भनेर तपाईँ कसरी देखाउन सक्नुहुन्छ?
१९ बाइबलले तपाईँको जीवनलाई बदल्न सक्छ। बाइबल पढेर तपाईँले आफूलाई अझ राम्ररी चिन्न सक्नुहुन्छ। किनभने यसले तपाईँको मनभित्र लुकेका विचार र भावनालाई केलाउन मदत गर्छ। जस्तै, हामीलाई ‘मैले परमेश्वरको भक्ति गरिरहेको छु’ भन्ने लाग्न सक्छ। तर त्यो कुरा साबित गरेर देखाउन हामीले आफ्नो जीवनमा बाइबलका कुराहरू लागू गर्नुपर्छ।
२० बाइबल साँच्चै परमेश्वरले दिनुभएको उपहार हो। त्यसैले तपाईँले बाइबल पढेको, अध्ययन गरेको अनि यसलाई बहुमूल्य सम्झेको उहाँ चाहनुहुन्छ। उहाँले दिनुभएको यो उपहारलाई तपाईँ मोल गर्नुहुन्छ भन्ने कुरा बाइबल अध्ययन गरेर देखाउनुहोस्। त्यसो गर्नुभयो भने परमेश्वरले कुन उद्देश्यले मानिसजाति बनाउनुभयो, तपाईँले बुझ्नुहुनेछ। अर्को अध्यायमा हामी यसबारे अझ धेरै सिक्नेछौँ।
a बाइबलको कुरा आपसमा मेल खाँदैन भनी केही मानिसहरू तर्क गर्छन् तर यो कुरा साँचो होइन। यहोवाका साक्षीहरूद्वारा प्रकाशित अक्टोबर १, २०१२ को प्रहरीधरहरा, पृष्ठ ७ हेर्नुहोस्।
b बाइबल भविष्यवाणीबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सबैका लागि उपयोगी किताब-को पृष्ठ २७-२९ हेर्नुहोस्।