के तपाईं बाहिरी रूप मात्र हेर्नु हुन्छ?
हायिन्ज नाउँको एक जना युवकले घृणाको कारण, आफ्नो सौतेलो बाबुको हत्या गर्ने योजना बनायो, तर खुशीको कुरा, सो गर्ने आँट उसमा आएन। केही वर्ष पछि, उसले आत्महत्या गर्ने फैसला गऱ्यो, तर यसो गर्न पनि उसमा आँट भएन। उसले चोरी र मादक पदार्थको व्यापार गर्न थाल्यो जसले गर्दा उ झ्यालखानामा पनि बस्नु पऱ्यो। यस पछि, उसको विवाह पनि असफल भयो।
आज हायिन्जलाई मादक पदार्थको लत छैन। उसले इमानदारी साथ कमाइ गर्छ। उसको दाम्पत्य जीवन सुखी छ र आफ्नो सौतेलो बाबुसँग पनि राम्रो सम्बन्ध कायम राख्न सकेको छ। यस्तो परिवर्तन कसरी भयो? उसले यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन गर्न शुरू गऱ्यो। बिस्तारै जीवन प्रति उसको विचार-धारा बदलिन थाल्यो।
पुरानो हायिन्जलाई चिन्ने धेरै जनाले अवश्य पनि, उसलाई काम नलाग्ने मानिस ठान्दथिए। तर उ जस्ता धेरै मानिसहरूको निम्ति हामीले धन्यवाद चढ़ाउँनु पर्छ, किनभने परमेश्वरले चाहिं उसलाई सुधारिनु नसकिने मानिस ठान्नु भएन। किन? कारण यो हो: “परमेश्वरले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर यहोवाले [NW] हृदय हेरीकन विचार गर्छन्।”—१ शमुएल १६:७.
परमेश्वर र मानिसमा यो एउटा ठूलो भिन्नता छ। हामीहरू अकसर बाहिरी रूप हेरीकन विचार गर्ने गर्छौं। आफूमा प्रथम पटक पारेको प्रभाव नै सधैंका लागि रहि रहन्छ भनी हामी ठान्दछौं। अथवा, आफ्नो प्रथम प्रतिकृयाहरूको आधारमा हामी मानिसहरूलाई बेग्ला-बेग्लै श्रेणीमा राख्न खोज्छौं। तर मानिसको हृदय पढ़न सक्नु हुने परमेश्वर, न्यायी र निष्पक्ष हुनुहुन्छ। त्यसैकारण ता, “सबै मानिसहरूले उद्धार पाऊन र तिनीहरू सत्यको ज्ञानमा आऊन” भनेर, उहाँले आफ्नो पुत्र, येशू ख्रीष्टलाई पृथ्वीमा पठाउनु भयो। (१ तिमोथी २:४) यस सम्बन्धमा, कृयाशीलतासाथ, सारा मानवजातिलाई परमेश्वरको राज्यको प्रचार गर्दै समर्पित मसीहीहरूले “परमेश्वरका सहकर्मी” हुने सुअवसर प्राप्त गर्न सक्छन्। (१ कोरिन्थी ३:९) तर मसीहीहरूको क्षमता सीमित् छ—तिनीहरूले मानिसहरूको हृदय पढ़न सक्दैनन्। यसकारण तिनीहरू निष्पक्ष हुनु पर्छ र बाहिरी रूप हेरेर पूर्व फैसला गर्नु हुँदैन।
प्राचीन मसीही मण्डलीमा यस कुराको खतरा बारे येशूका भाइ, याकूब सतर्क थिए। तिनले एसो भने: “हे मेरा भाइ हो, महिमामा राज्य गर्नु हुने हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास गरेका हुनाकारण, कहिले पनि फुर्ति नलगाउ। उदाहरणका लागि, तिमीहरू उपासना गर्ने ठाउँमा दुई जना मानिस आउला। एउटा मानिस, सुनको औंठी र राम्रो लुगा पहिरेको र अर्को चाहिं झुत्रो लुगा लगाएको। राम्रो लुगा लगाउने मानिसलाई तिमीले विशेष ध्यान दिन्छौ भने . . . के तिम्रो व्यवहार अनुरूप छ र तिमी झूटा सिद्धान्तहरूको आधारमा न्याय गर्दै छौ भनी के तिमी देख्दैनौं?” यसै गरी, कहिले काहिं के हामी पनि राज्य गृहमा प्रथम चोटी आउने मानिसहरूबारे गलत धारणा राख्छौं?—याकूब २:१-४, दी न्यु इंगलिश बाइबल.
येशूले उदाहरण छाड़नुभएको छ
मानिसहरू सुधारिन नसकिने पापीहरू होइनन् किनभने आवश्यक मदद र सही प्रेरणा पाएमा, तिनीहरू परिवर्तन गर्न तयार हुन्छन् भन्ने धारणा येशूको थियो। त्यसैकारण ता उहाँले “सबैको छुटकाराको मोलको निम्ति आफूलाई सुम्पिदिनुभयो।” (१ तिमोथी २:६) आफ्नो प्रचार अभियानमा, उहाँले असल हृदय हुने कसैलाई पनि अछूत् र ध्यान दिन अयोग्यको ठान्नु भएन। मानिसहरू प्रति उहाँको विचारमा स्वयंलाई धर्मी तुल्याउने अहङ्कार पटक्कै थिएन।—लूका ५:१२, १३.
उहाँ फरिसीहरू भन्दा बेग्लै हुनुहुन्थियो जसको विषयमा यस प्रकार लेखिएको छ: “तब फरिसीहरूका शास्त्रीहरूले उहाँ पापीहरू र महसूल उठाउनेहरूसँग खाइरहनुभएको देखेर उहाँका चेलाहरूलाई भने: ‘तिनी महसूल उठाउने र पापीहरू सँग खानपान गर्दारहेछन्।’ यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो: ‘निरोगीहरूलाई वैद्यको प्रयोजन हुँदैन, तर रोगीहरूलाई, म धार्मिकहरूलाई ता होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।’”—मर्कूस २:१६, १७.
तर येशूले ती पापीहरू र महसूल उठाउनेहरूले गरेका गलत र बेइमान कामहरूको समर्थन गर्नु भएन। मानिसहरू कुनै बेला अन्जानमा र कुनै बेला आफ्नो वशमा नभएको परिस्थितिहरूले गर्दा खराब जीवन शैलीमा फँसन सक्छन् भनेर उहाँलाई थाह थियो। यसैकारण उहाँ दया देखाउनु हुन्थियो र “तिनीहरूमाथि टिठाउनुहुन्थियो किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए।” (मर्कूस ६:३४) प्रेमपूर्वक, उहाँले तिनीहरूका खराब कामहरू र सम्भवतः असल हृदयहरू बीच भिन्नता देख्नु हुन्थियो।
आफ्नो चेलाहरू सँग व्यवहार गर्नु हुँदा पनि, येशूले बाहिरी रूप मात्र हेर्नु हुँदैन थियो। उहाँका चेलाहरू पनि अकसर गलती गर्ने पापीहरू थिए, तर येशूले तिनीहरूबाट पनि सिद्धताको माँग गर्नु भएन र तिनीहरूका प्रत्यक सानो भूलका लागि सजाय दिनु हुँदैन थियो। तिनीहरूले हृदयमा चाहिं राम्रै गर्ने इच्छा गर्छन् भनी उहाँ जान्नु हुन्थियो। तिनीहरूलाई मदद र प्रोत्साहनको खाँचो थियो; र यी दुवै कुरा दिनुमा येशू कहिले पनि कन्जुसी गर्नु हुँदैन थियो। यसमा कुनै शङ्कै छैन, मानिसहरूलाई परमेश्वरले जुन दृष्टिले हेर्नु हुन्थियो येशूले पनि ठीक त्यही दृष्टिले हेर्ने गर्नु हुन्थियो। उहाँको महान उदाहरणको के हामी अनुकरण गर्न खोज्छौं?
के तपाईं “ठीक, ठीक इन्साफ” गर्नु हुन्छ?
एक पटक आत्म-धर्मी गनगनेहरूको एउटा समूहलाई येशूले सामना गर्नु पऱ्यो किनभने उहाँले विश्रामको दिनमा एक जनालाई निको पार्नु भयो भनेर तिनीहरू चिढिएका थिए। तिनीहरूलाई येशूले यो उपदेश दिनु भयो: “मुख हेरेर इन्साफ नगर, तर ठीक ठीक इन्साफ गर।” एक जना मानिसलाई “पुरै निको” परिदिएर चमत्कार गर्न सक्नु हुने येशूलाई देखेर रमाउनुको सट्टा, येशूलाई विश्रामको दिन उल्लङ्घन गर्ने मानिसको रूपमा हेर्दै, तिनीहरूले उहाँ सित “रीस” किन गरे? किनभने तिनीहरूले बाहिरी रूप हेरेर इन्साफ गरेर आफ्ना भित्री खराब विचारहरू प्रकट गरे। तिनीहरूले गरेको इन्साफ दुवै आत्म-धर्मी र अधर्मी थियो।—यूहन्ना ७:२३, २४.
हामीले पनि शायद त्यस्तै गलती कसरी गर्न सक्छौं? पश्चाताप गर्ने मानिस मण्डलीमा फर्केर आउँदा अथवा कुनै अति नै सांसारिक मानिसले सच्चाई सिकेर आत्मिक निकोहुआईबाट लाभ उठाउँदा, आनन्दित हुन नचाहेर। कुनै बेला मानिसहरूको असामाजिक पहिरन अथवा कपाल कोर्ने ढ़ङ्ग देखेर तिनीहरू कहिले पनि यहोवाका साक्षी हुन सक्दैन भन्ने गलत धारणा हामी अपनाउन सक्दछौं। तर, बितेका समयमा हिप्पी भएर हिड़ेका र अरू अनाचारिक जीवन-शैली हुने मानिसहरू पनि अन्तत्वगत्वा, यहोवाका साक्षीहरू भएका छन्। यस प्रकारका मानिसहरूले आफ्ना जीवनमा परिवर्तन ल्याइरहेको बेलामा, हामी तिनीहरूको “मुख हेरेर न्याय गर्दै”, तिनीहरूका असल हृदय प्रति अन्धो नहोउँ।
बरू, येशूको उदाहरण अनुसार तिनीहरूका लागि प्रार्थना गर्नु र तिनीहरूलाई मसीही परिपक्वतामा पुग्न व्यवहारिक मदद दिनु धेरै नै असल हुनेछ! तिनीहरूमा आनन्द हुने कारण देख्नु गाह्रै होला। तर यहोवाले तिनीहरूलाई ख्रीष्ट द्वारा आफू तिर ल्याउनु हुँदैछ भने, हाम्रो साँघुरो दृष्टिकोणको आधारमा तिनीहरूलाई तिरस्कार गर्ने हामी को हौं? (यूहन्ना ६:४४) मानिसहरूको हृदय र तिनीहरूको परिस्थिति नबुझिकन, हामी आत्म-धर्मी हुँदै न्याय गर्यौं भने, हामीले आफैले आफैलाई दोषी तुल्याउन सक्छौं।—मत्ती ७:१-५ सँग तुलना गर्नु होस्.
यी नया व्यक्तिहरूको कड़ाइ साथ न्याय गर्नुको सट्टा, हामीले तिनीहरूलाई मदद र प्रोत्साहन दिनु र आफ्नो उदाहरण द्वारा तिनीहरूलाई सुधारने कोशिश गर्नु उचित हुनेछ। तथापि, दया देखाउँनुको अर्थ, संसारमा प्रसिद्ध भएर मण्डलीमा आउने नया व्यक्तिहरूको चापलुसी गर्नु होइन। त्यसो गर्नु एक प्रकारले पक्षपात हुनेछ। साथै, त्यो हाम्रै अपरिपक्वताको एउटा चिन्ह हुनेछ। र हाम्रो चापलुसीले के त्यो नया व्यक्तिलाई नम्रता सिक्ने मदद गर्ला र? हाम्रो यस प्रकारको व्यवहारले बरू उसलाई असजिलो पार्न सक्छ, होइन र?—लेवी. १९:१५.
परमेश्वरले भन्दा बढ़ी आशा न गर्नु होस्
मानिसहरू प्रति यहोवाको दृष्टिकोण भन्दा हाम्रो दृष्टिकोण धेरैनै सीमित छ किनभने उहाँ मानिसहरूको हृदय पढ़न सक्नु हुन्छ। (१ इतिहास २८:९) यो कुरा ध्यानमा राख्यौं भने, हामी, मानिसहरूलाई आफ्नो मनो-कल्पित धार्मिकताको साँचोमा ढाल्ने र तिनीहरूलाई हाम्रो विचारमा जे ठीक छ, सोही गराउन लाउने आधुनिक आत्म-धर्मी फरिसीहरू हुनेछैनौं। हामीहरूले पनि मानिसहरू प्रति परमेश्वरकै दृष्टिकोण अपनायौं भने, मानिसहरूबाट परमेश्वरले भन्दा बढ़ी माँग गर्ने छैनौं। हामीहरू “लेखिएका कुराभन्दा बढ़ता” गर्ने छैनौं। (१ कोरिन्थी ४:६) यो कुरा विशेषगरी मसीही प्राचीनहरूले ध्यानमा राख्नु पर्छ।—१ पत्रुस ५:२, ३.
उदाहरणका लागि, पहिरनको कुरा लिनुहोस्। बाइबलमा—अथवा परमेश्वरको व्यवस्था अनुसार—मसीहीहरूको पहिरन सफा, सुग्घर हुनु पर्छ र त्यसबाट एउटा “पहरेजि र आत्मसंयमी” मनस्थितिको अभाव देखिनु हुँदैन। (१ तिमोथी २:९; ३:२) तर केही वर्ष अघि, एउटा मण्डलीका प्राचीनहरूले आफ्नो मण्डलीको प्रत्यक वक्ताले, त्यस इलाकामा मधुरो रङ्गहरूको चलन भएतापनि, सेतो कमीज लगाउनै पर्छ भन्ने नियम बनाए र यसप्रकार “लेखिएका कुराहरू भन्दा बढ़ता” गरे। बाहिरबाट भाषण दिन आएका पाहुना वक्ताहरूलाई पनि त्यहाँ राज्य गृहमा खाँचो पर्दा प्रयोग गर्न राखिएको, सेतो कमीज लगाउन बाध्य पारे। हो, हाम्रा व्यक्तिगत रूचिहरू अरूहरू माथि नलादने हो भने, हामी धेरै नै होशियार हुनु पर्छ! र यसमा पावलको यो उपदेश कति उचित छ: “तिमीहरूको विवेकशीलता [NW] सबै मानिसहरूलाई थाह होस्!”—फिलिप्पी ४:५.
बाहिरी रूप भन्दा अझ गहिरेर हेर्दा असल नतिजा हुन्छ
मानिसहरूको हृदय पढ़न सक्दैनौं भन्ने कुरा याद राख्यौं भने, मसीही मण्डलीका भित्र र बाहिरका मानिसहरू सँग हामीले अझ राम्रो सम्बन्ध राख्ने मदद पाउने छौं। अरूहरूबारे हामीहरूले सकारात्मक कुराहरू सोच्नेछौं र हामीहरू पनि केही समय अघि “मूर्ख, अट्टेरी, ठगिएका, किसिम-किसिमका अभिलाषा र सुख-विलासमा फँसेका” थियौं भनेर, अरूहरूको नियतमाथि शङ्का गर्ने छैनौं। (तितस ३:३) यो कुरा स्वीकार्यौं भने, बाहिर बाट हेर्दा अयोग्य देखिने मानिसहरूलाई पनि हामीहरू प्रचार गर्न तयार हुनेछौं। अखिर सच्चाइ स्वीकार्ने र अस्वीकार्ने फैसला तिनीहरूको हो। प्रत्यकलाई सच्चाइ सुनाउने जिम्मेवारी हाम्रो हो।
हायिन्ज जस्ता धेरै यहोवाका साक्षीहरू आज खुशी मनाउँछन् किनभने बाहिरी रूप मात्र नहेर्ने भाइ-बहिनीहरूले तिनीहरूलाई मसीही मण्डली भित्र स्वागत् गरे र यी भाइ बहिनीहरूले ती नया मानिसहरू बारे तिनीहरूको प्रथम रूपको आधारमा निर्णय गरेनन्।
उदाहरणका लागि, दक्षिण जर्मनीको एउटा राज्य-गृहमा, आइतबारको बिहान फ्रैंक नाउँको मानिस देखा पर्यो। राज्य-गृहमा हुनेहरूले के देखे? दाढ़ी पालेको, नकोरिएको कपाल, कुम सम्म लतरिएको, फोहोर कपड़ा लाएको र त्यस ठाउँका भट्टीहरूमा अकसर देखिने र धेरै नै धूम्रपान गर्ने एक जना जवान् मानिस—जसले आफ्नी प्रेयसी र दुई जना जम्ल्याहा बच्चाहरूको वास्ता गर्न छाड़ेको थियो। तापनि सभामा उसको हार्दिक स्वागत गरियो। यसले गर्दा उ साह्रै प्रभावित भएर, आउँदो हप्ताह पनि फर्केर आयो। यस पटक सभामा भेलाभएकाहरूले के देखे? सफा सुग्घर कपड़ामा कोरीबाटी गरेको एउटा युवक। तेस्रो हप्ताह, धुम्रपान गर्न छाड़ि सकेको एउटा युवक आफ्नी प्रेयसी र दुई जना बच्चाहरू लिएर आएको देखे। चौथो आइतबार, भरखरै विवाह गरेर आएको एउटा जवान मानिस र उसकी पत्नी देखे। पाँचवा आइतबार, सभामा भेलाभएकाहरूले झूटो धर्मबाट पूर्णतया अलग भइसकेको जवान मानिस देखे। आज, प्राय चार वर्ष पछि, तिनीहरू, यहोवाको एक जना साक्षीको वर्णन अनुसार, “यति राम्रो प्रभाव पार्ने परिवार देखिन्छन् कि यिनीहरू धेरै वर्ष देखिन् हाम्रा भाइ बहिनीहरू थिए जस्तो लाग्छ।”
कुनै एउटा किताबको गुणास्तरको फैसला त्यसको खोलबाट गर्न सकिन्दैन र घरको मोल पनि त्यस्को बाहिरी बनौटबाट गर्न सकिन्दैन। त्यसैगरी, कुनै एउटा व्यक्तिको साँचो स्वभाव पनि उसको बाहिरी रूपमा सधैं प्रतिबिम्बित् हुँदैन। मानिसहरूलाई परमेश्वरले झैं हेर्न खोज्न चाहने मसीहीहरूले प्रथम पटक देखिएका रूपको आधारमा फैसला गर्ने छैनन्। परमेश्वरले “हृदयको त्यो गुप्त मानिसलाई” ध्यान दिनु हुन्छ र यसका लागि हामी कृतज्ञ हुन सक्छौं।—१ पत्रुस ३:३, ४. (w89 11/1)