यहोवाको डर मान्नुहोस् र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्
हे परमप्रभु, [यहोवा न्यु. व.] तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।”—प्रकाश १५:४
१, २. (क) १९९१ को दौडानमा यहोवाले स्वर्गका झ्यालहरू कसरी उघारी दिनुभयो? (ख) आफ्नो जीवनको के अनुभवले गर्दा एक जना विश्वासी मिसनरीले “यहोवाको डर मान्नुहोस्” भनी सल्लाह दिन सके? (१९९९ यरबुकका १८७-९ पानाहरू पनि हेर्नु होस्)
यहोवाले ‘स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मको आशिष बर्षाउँनु’ भयो। यी शब्दहरू आजका समयमा यहोवाका साक्षीहरूमाथि बारम्बार प्रयोग हुन सक्तछन्। (मलाकी ३:१०) उदाहरणकालागि, संसारभरि—दक्षिण अमेरिकाको साओ पावलो र बेउनिस एरिस देखि (अगस्त १७-१९, १९९०) पूर्वमा मनिला, ताइपेह र बैङ्कोक र पूर्वीय युरोपका बुडापेस्ट, प्राग, र जाग्रेवमा (अगस्त १६-१८, १९९१) सम्पन्न भएका विशेष सम्मेलनहरूमा स्थानीय र बाहिरबाट आएका साक्षीहरूका बीच प्रदर्शित मसीही सत्सङ्गको उत्साहको केही सीमा नै थिएन। यी आठ ठाउँहरूमा मात्र, . . . उपस्थित थिए र . . . ले बप्तिस्मा लिए।
२ ती ठाउँहरूमा लामो समय देखिन् विश्वासी भएर बसेका साक्षीहरूलाई भेट्न पाउनु, बाहिरबाट आएका प्रतिनिधिहरूका निम्ति कस्तो हर्षको कुरा थियो! उदाहरणकालागि, एक समय थाइलैन्डका एक मात्र राज्य प्रचारक रहेका, फ्य्रांक डेवरले आफ्नो ५८ वर्ष लामो मिसनरी सेवाबारे बैङ्कककमा भने। तिनका गतिविधिहरू प्रशान्त महासागरका द्वीपहरू देखिन् दक्षिण-पूर्व एसिया, र कहिलेकाहीं चीन सम्म पनि हुन्थ्यो। तिनले जहाजको दुर्घटना, जङ्गलमा जङ्गली जनावरहरू, त्यस क्षेत्रमा हुने रोगहरू, र जापानी सैनिक समादेशकहरूको क्रूर शासनका खतराहरूको मुकाबिला गरेका थिए। सम्मेलनमा आउनेहरूलाई के सल्लाह दिनुहुन्छ भनी सोध्दा, तिनको एउटा साधारण जवाफ थियो: “यहोवाको डर मान्नुहोस्!”
३. ईश्वरीय भय हामीले किन प्रर्दशन गर्नु पर्दछ?
३ “यहोवाको डर मान्नुहोस्!” त्यस प्रकारको हितकर डरको विकाश गर्नु हामी सबैका निम्ति अति महत्त्वपूर्ण हो! “परमप्रभुको [यहोवाको न्यु. व.] भयनै ज्ञानको शुरू हो।” (भजनसंग्रह १११:१०) यो भयको अर्थ यहोवा प्रति एउटा असाधारण त्रासको भावना राख्नु होइन। बरु, परमेश्वरको वचनको अध्ययन द्वारा हामीले पाएको अन्तर्दृष्टिको आधारमा, उहाँको घोर बैभव र दैवी गुणहरू प्रतिको यो एउटा प्रगाढ आदर हो। प्रकाश १५:३, ४ मा, मोशाको भजन र थुमाको भजनमा यस प्रकार घोषणा गरिएको छ: “हे परमप्रभु, [यहोवा न्यु. व.] परमेश्वर सर्वशक्तिमान, तपाईंका काम ठूला र आश्चर्यपूर्ण छन्। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, [यहोवा न्यु. व.] तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।” आफ्ना उपासकहरू प्रति वफादारी दर्साउनु हुँदै यहोवाले “सम्झनाको एउटा पुस्तक” राख्नु भएको छ जसमा “उहाँको [यहोवाको न्यु. व.] डर मान्नेहरू र उहाँको नाउँको सोंच गर्नेहरूका नाउँ” लेखिएको छ। तिनीहरूलाई अनन्त जीवनको इनाम दिइनेछ।—मलाकी ३:१६; प्रकाश २०:१२, १५.
ईश्वरीय भय विजयी हुन्छ
४. पुरातनमा भएको कुन चाहिं उद्धारको घटनाले हामीलाई यहोवाको डर मान्न प्रोत्साहित पार्नु पर्दछ?
४ फिरऊनको मिश्रबाट इस्राएलीहरू बाहिर निस्किंदा, मोशाले स्पष्ट रूपमा देखाए कि तिनी यहोवाको मात्र डर राख्तछन्। चाँड़ैनै इस्राएलीहरू एकातिर लाल समुद्र र अर्कोतिर मिश्रको शक्तिशाली फौजी शक्तिका बीचमा फँसे। तिनीहरूले के गर्न सक्थिए? “मोशाले मानिसहरूलाई भने: ‘तिमीहरू नडराओ, परमप्रभुले [यहोवाले न्यु. व.] आज तिमीहरूलाई दिनुहुने उद्धारलाई स्थिर भएर हेर, किनकि यी मिश्रीहरू जुनलाई तिमीहरूले आज देखेका छौ, तिनीहरूलाई तिमीहरू फेरि कहिल्यै देख्नेछैनौ। परमप्रभुनै [यहोवानै न्यु. व.] तिमीहरूका निम्ति लड़नुहुनेछ, तिमीहरू स्थिर बस।’” चमत्कारपूर्ण ढ़ङ्गद्वारा यहोवाले पानीलाई दुई भाग गरिदिनु भयो। समुद्रको बीचबाट ओबानो जमीनमा हिंडेर इस्राएलीहरूले पार गरे। अनि समुद्रको पानी दुवै तिरबाट जोरसँग बज्रँदै बग्न लाग्यो। फिरऊनको फौज नामेट भयो। यहोवाले ईश्वरीय भय राख्ने त्यस राष्ट्रलाई बचाउनु भयो, तर परमेश्वरलाई अनादर गर्ने मिश्रलाई सजाय दिनु भयो। त्यसै प्रकारले आज, ईश्वरीय भय राख्ने आफ्ना साक्षीहरूलाई शैतानको संसारबाट मुक्त गराउनु भएर उहाँले आफ्नो वफादारी प्रदर्शित गर्नु हुनेछ।—प्रस्थान १४:१३, १४; रोमी १५:४.
५, ६. हामीले मानिस भन्दा यहोवाको डर मान्नु पर्दछ भन्ने कुरा यहोशूको समयको के घटनाले देखाउँछ?
५ मिश्रबाट प्रस्थान गरे पछि, मोशाले १२ जना जासूसहरूलाई प्रतिज्ञा गरिएको देशमा पठाए। त्यहाँका राक्षस जस्ता मानिसहरूलाई देखेर १० जना साह्रैनै डराए र त्यस देशमा प्रवेश गर्नबाट इस्राएलीहरूलाई निरुत्साहित पार्न खोजे। तर बाँकी दुई जना, यहोशू र कालेबले चाहिं यो रिपोर्ट दिए: “हामी भेद लिन गएका देश अत्यन्तै असल देश छ। यदि परमप्रभु [यहोवा न्यु. व.] हामीसित प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनु हुनेछ, र त्यो दुध र मह बहने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको [यहोवाको न्यु. व.] विरुद्धमा खड़ा नहोओ। त्यस देशका मानिसहरू सित नडराओ, किनकि तिनीहरू ता हाम्रा शिकार हुन्। तिनीहरूको सुरक्षा तिनीहरूबाट हटिसकेको छ। परमप्रभु [यहोवा न्यु. व.] हामी तर्फ हुनुहुन्छ, तिनीहरूसित न डराओ।”—गन्ती १४:७-९.
६ तथापि, ती इस्राएलीहरू मानिसको डरको शिकार भए। फलःस्वरूप, तिनीहरू प्रतिज्ञा गरिएको देशमा कहिले पुग्नै सकेनन्। तर यहोशू र कालेब र इस्राएलीहरूका एउटा नया पुस्ताले त्यो उत्तम देशमा प्रवेश गरे र त्यहाँका दाखबारी र जैतूनका निकुञ्जहरूलाई विकाश गर्ने सौभाग्य पाए। त्यहाँ जम्मा भएका इस्राएलका मानिसहरूलाई आफ्नो बिदाइ भाषणमा यहोशूले यो सल्लाह दिए: “परमप्रभुको [यहोवाको न्यु. व.] भय मान, र निष्कपट र सत्यतासाथ उहाँको सेवा गर।” र यहोशूले अझ थपे: “तर म र मेरो घरानाले परमप्रभुकै [यहोवाकै न्यु. व.] सेवा गर्नेछौं।” (यहोशू २४:१४, १५) परमेश्वरको धार्मिक नया संसारमा प्रवेश गर्ने तयारी गरिरहेका परिवारका अगुवाहरू र अरू सबैले, यहोवाको डर राख्न ती शब्दहरूबाट कति उत्साह पाउँन सक्तछन्!
७. परमेश्वरको डरको महत्त्वमाथि दाऊदले कसरी जोड़ दिए?
७ परमेश्वरको नाउँमा गोल्यतलाई चुनौति दिंदा, गोठाला बालक दाऊदले पनि यहोवाको डर उदाहरणीय ढ़ङ्गमा प्रदर्शित गरे। (१ शमूएल १७:४५, ४७) आफ्नो मृत्यु-शैयामा हुँदा, दाऊदले घोषणा गर्न सके: “परमप्रभुको [यहोवाको न्यु. व.] आत्मा मद्वारा बोल्नु भएको छ, र उहाँको वचन मेरो मुखमा छ। इस्राएलका परमेश्वर बोल्नु भयो, इस्राएलका चटानले मेरो विषयमा भन्नुभयो, ‘जसले न्यायसित मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ, त्यो सूर्योदय हुँदा बिहानको ज्योतिजस्तै छ, त्यसको बिहान बादलरहित हुन्छ।’” (२ शमूएल २३:२-४) यस संसारका शासकहरूमा यस प्रकारको ईश्वरीय भय छँदैछैन र त्यसको परिणाम कस्तो दुःखदायी भएको छ! यहोवाको डर राखेर पृथ्वीमाथि “दाऊदका पुत्र,” येशूले शासन गर्नु हुँदा, कस्तो फरक हुनेछ!—मत्ती २१:९.
यहोवाको डर राखेर काम गर्दा
८. यहोशापातको समयमा यहूदाको फलिफाप किन भयो र त्यसबाट आज के बुझ्न सकिन्छ?
८ दाऊद मरेको करीब एक सय वर्ष पछि, यहूदामा यहोशापात राजा भए। यी राजाले पनि यहोवाको डर राखेर सेवा गरे। यिनले यहूदामा धर्मराज्यको व्यवस्था पुनःस्थापन गरे, देशभरि न्यायाधीशहरू खटाए र तिनीहरूलाई यसो भनी निर्देशन दिए: “तिमीहरूले न्यायको फैसला सुनाउँदा मानिसहरूलाई होइन तर तिमीहरूसित हुनुहुने परमप्रभुलाई [यहोवालाई न्यु. व.] खुशी तुल्याउन तिमीहरू त्यहाँ न्यायकर्त्ता नियुक्त भएका छौ। यसकारण परमप्रभुको [यहोवाको न्यु. व.] भय तिमीहरूमा रहोस्। तिमीहरू जे गर्छौ त्यसमा सतर्क होऊ, किनभने परमप्रभु [यहोवा न्यु. व.] परमेश्वर अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्न . . . तिमीहरूले सधैं परमेश्वरको भय राखेर विश्वाससित मन-तनले काम गर्नुपर्छ।” (२ इतिहास १९:६-९) यसप्रकार, यहोवाको डर राख्दा यहूदाको फलिफाप भयो जसरी आज पनि अनुकम्पापूर्ण अध्यक्षहरूको सेवाबाट परमेश्वरका जनहरूले लाभ उठाउँछन्।
९, १०. यहोवाको डर मान्दै, यहोशापातले कसरी विजय प्राप्त गरे?
९ तथापि, यहूदाका शत्रुहरू थिए। परमेश्वरको राष्ट्रलाई नामेट गर्ने दृढ़ फैसला तिनीहरूले गरे। अम्मोन, मोआब, र सेईरको पहाड़ी-देशका संयुक्त फौजहरू मिलेर यहूदाको क्षेत्रमा हुल बाँधेर आए र यरूशलेमलाई धम्की दिए। त्यो एउटा शक्तिशाली फौज थियो। “सारा यहूदा, तिनीहरूका अधीनमा रहेका मानिसहरू, तिनीहरूकी पत्नीहरू र तिनीहरूका बालकहरू समेत त्यहाँ परमप्रभुका [यहोवाका न्यु. व.] सामने खड़ा भएको बेलामा” यहोशापातले यहोवासँग प्रार्थना गरे। अनि, त्यस प्रार्थनाको प्रत्युत्तरमा, यहोवाको आत्मा लेवी यहजीएलमाथि उत्रियो, र तिनले भने: “परमप्रभु [यहोवा न्यु. व.] तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराऊ, यस ठूलो सैन्य-दलदेखि नआत्तियो। किनभने लड़ाइँ परमप्रभुको [यहोवाको न्यु. व.] हातमा छ। तिमीहरूको हातमा होइन। भोलि तिनीहरूसँग युद्ध गर्न निस्क . . . यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ। दृढ़ भएर पर्खिबस। परमप्रभुले [यहोवाले न्यु. व.] तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराऊ, नता आत्तियौ। भोलि तिनीहरूको सामना गर्न तिमीहरू निस्किजाऊ। किनभने परमप्रभु [यहोवा न्यु. व.] तिमीहरू तर्फ हुनुहुन्छ। हे यहूदा र यरूशलेम, उहाँ तिमीहरू तर्फ हुनुहुन्छ।’”—२ इतिहास २०:५-१७.
१० भोलिपल्ट, यहूदाका मानिसहरू सबेरै उठे। जसै तिनीहरू आज्ञाकरी हुँदै शत्रुसँग मुकाबिला गर्न गए, यहोशापात खड़ा भएर भने: “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन, परमप्रभु [यहोवा न्यु. व.] तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, र तिमीहरूको फलिफाप हुनेछ।” सैन्य-दलका अघि अघि यहोवाको स्तुतिगान गर्नेहरू मिलेर गाउन थाले: “परमप्रभुलाई [यहोवालाई न्यु. व.] धन्यवाद देऊ, किनभने उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।” यहोवाले यो प्रेम दर्साउनु हुँदै, शत्रुहरूलाई यति साह्रो अलमलाइ दिनु भयो कि तिनीहरू आपस्तमा नै काटमार गरेर नष्ट भए। जसै यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको प्रहरीधरहरामा आए, त्यहाँ शत्रुहरूका लाशहरू मात्र थिए।—२ इतिहास २०:२०-२४.
११. डरको सम्बन्धमा, अन्य जातिका मानिसहरू यहोवाका जनहरू भन्दा कसरी भिन्न छन्?
११ छिमेकी राष्ट्रहरूले यो चमत्कारपूर्ण उद्धारबारे सुने पछि, तिनीहरूमा “परमेश्वरको भय” फैलियो। तर अर्को तर्फ, यहोवाको भय मान्दै आज्ञाकारी हुने राष्ट्रमा चाहिं अब “चारैतिर सुरक्षा” भयो। (२ इतिहास २०:२९, ३०) यसै प्रकार, आर-मागेदोनमा जब यहोवाले इन्साफ गर्नु हुनेछ, उहाँका न्यायकर्त्ता छोरा, येशू ख्रीष्ट, र “परमेश्वरको” त्रास राष्ट्रहरूमा फैलिनेछ र दैवी क्रोधको त्यो ठूलो दिनको मुकाबिला गर्न तिनीहरू असमर्थ हुनेछन्।—प्रकाश ६:१५-१७.
१२. पहिलेका समयमा यहोवाको डर मान्दा, कस्ता कस्ता असल परिणामहरू भए?
१२ यहोवाको हितकर भयबाट महान इनामहरू पाउन सकिन्छ। नूहले “[ईश्वरीय भय मान्दै, न्यु. व.] आफ्ना परिवारलाई बचाउन जहाज तयार पारे।” (हिब्रू ११:७) र प्रथम शताब्दीका मसीहीहरूबारे यस्तो लेखिएको छ कि, केही समयसम्म सतावट सहिसके पछि, मण्डलीमा “उन्नति भएकोले चैन भयो, र प्रभुको [यहोवाको न्यु. व.] भय र पवित्र आत्माको सान्त्वना पाएर चेलाहरूको संख्याको वृद्धि हुँदै गयो”—जस्तोकि आज पूर्वीय युरोपमा भइरहेछ।—प्रेरित ९:३१.
असललाई प्रेम गर, दुष्टतालाई घृणा गर
१३. यहोवाको आशिष हामीले के गरेर मात्र अनुभव गर्न सक्तछौं?
१३ यहोवा सम्पूर्णतया असल हुनुहुन्छ। यसकारण, “परमेश्वरको [यहोवाको न्यु. व.] भय मान्नु दुष्टतालाई घृणा गर्नु हो।” (हितोपदेश ८:१३) येशूबारे लेखिएको छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नु भएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई खुशीको तेलले अभिषेक गर्नु भएको छ।” (हिब्रू १:९) येशूको जस्तै हामीहरूले पनि यहोवाको आशिष पाउने हो भने, दुष्टता, अनैतिकता, हिंसा, शैतानको अहङ्कारी संसारको लोभलाई घृणा गर्नु पर्दछ। (हितोपदेश ६:१६-१९ सङ्ग तुलना गर्नुहोस्) यहोवाले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसैलाई हामीले पनि प्रेम गर्नु पर्दछ र जुन कुरालाई उहाँले घृणा गर्नु हुन्छ त्यसलाई हामीले पनि घृणा गर्नु पर्दछ। यहोवालाई अप्रसन्न पार्ने कुनै पनि कुरा गर्न देखिन् हामी डराउनु पर्दछ। “परमप्रभुको [यहोवाको न्यु. व.] भयले मानिसहरूलाई खराब कामबाट फर्काउँछ।”—हितोपदेश १६:६.
१४. येशूले हाम्रो निम्ति एउटा आदर्श कसरी प्रदान गर्नु हुन्छ?
१४ येशूको पद-चिन्हमा हामी हिंड़ौं भनेर उहाँले एउटा आदर्श हाम्रो निम्ति छाड्नु भएको छ। “जसले गाली खाएर आफूले फेरि गाली गर्नु भएन। दुःख भोगेर धम्काउनु भएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनु भयो।” (१ पत्रुस २:२१-२३) यहोवाको डर राख्यौं भने हामीहरूले पनि शैतानी संसारबाट हामीमाथि आइ पर्ने बदनामीहरू, खिसीहरू, सतावटहरू सहन सक्तछौं।
१५. शरीरलाई मार्न सक्नेहरूसँग भन्दा यहोवासँग हामी किन डराउनु पर्दछ?
१५ मत्ती १०:२८ मा, येशूले हामीहरूलाई नसीहत दिनुहुन्छ: “शरीर मार्ने तर आत्मालाई [प्राण, न्यु.व.] चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर आत्मा [प्राण, न्यु.व.] र शरीर दुवैलाई नरकमा [गेहेन्ना न्यु. व.] नाश गर्नेसँग बरु डराओ।” यहोवाको डर राख्ने कुनै मानिस शत्रुद्वारा मारिएता पनि, मत्युको पीड़ा क्षणिक हुनेछ। (होशे १३:१४) पुनरुत्थान भए पछि, त्यो व्यक्तिले भन्न सक्नेछ: “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”—१ कोरिन्थी १५:५५.
१६. येशूले यहोवा प्रति भय कसरी प्रकट गर्नु भयो र उहाँलाई महिमित कसरी पार्नु भयो?
१६ यहोवाको धार्मिकतालाई प्रेम गर्ने र दुष्टतालाई घृणा गर्नेहरूका निम्ति येशू आफैले एउटा अनुपम उदाहरण प्रस्तुत गर्नुहुन्छ। यूहन्ना १६:३३ मा पाइने, उहाँले आफ्ना चेलाहरूलाई भन्नु भएका यी अन्तिम शब्दहरूमा यहोवा प्रति उहाँले राख्नु भएको भय झल्किन्छ: “ममा तिमीहरूलाई शान्ति होस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढाड़स गर, मैले संसारलाई जितेको छु।” यूहन्ना अझ भन्छन्: “यी कुरा भनेर येशूले माथि स्वर्गतिर हेरी भन्नुभयो: ‘हे पिता, बेला आइपुगेको छ, पुत्रको महिमा गर्नुहोस्, र पुत्रले तपाईंको महिमा गरोस् . . . ती मानिसहरूलाई, जसलाई संसारबाट तपाईंले मलाई दिनुभयो तपाईंको नाउँ मैले प्रकट गरिदिएँ’”—यूहन्ना १७:१-६.
यहोवाको डर मान्नुहोस् र उहाँको प्रशंसा गर्नुहोस्
१७. येशूको उदाहरणलाई हामी कुन कुन ढङ्गमा अनुकरण गर्न सक्तछौं?
१७ के हामीहरू आज येशूका साहसपूर्ण उदाहरणलाई अनुकरण गर्न सक्तछौं? यहोवाको डर मान्दै हामीहरूले निश्चय नै गर्न सक्तछौं! येशूले हामीहरूलाई यहोवाको उत्कृष्ट नाउँ र गुणहरूबारे अवगत गराउनु भएको छ। यहोवालाई हाम्रो सार्वभौम प्रभु सम्झेर उहाँको डर मान्ने गर्यौं भने, हामीले उहाँलाई मसीही जगतका नाउँरहित र रहस्यमय त्रिएक अथवा अन्य देवताहरू भन्दा अति नै उच्च स्थान दिदँछौं। मरणशील मानिसको डरको जालमा फस्नबाट इन्कार गर्दै, येशूले एउटा स्वस्थकर डरका साथ यहोवाको सेवा गर्नुभयो। “आफ्नो शरीरका दिनमा जसले बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरविन्ती गर्नुभयो, र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइ भयो।” येशूले झैं, हामीले पनि आफूले भोग्नु परेका कष्टहरूबाट आज्ञाकारी हुन सिकौं—र सधैं अनन्त जीवनलाई आफ्नो लक्ष्य बनाएर यहोवाको भय मान्ने गरौं।—हिब्रू ५:७-९.
१८. ईश्वरीय भयका साथ हामीहरूले परमेश्वरलाई पवित्र सेवा कसरी चढ़ाउन सक्तछौं?
१८ हिब्रू मसीहीहरूलाई लेखेको पत्रमा, पावलले अभिषिक्त मसीहीहरूलाई आग्रह गर्दछन्: “हल्लिन नसक्ने राज्य पाएर हामीलाई अनुग्रह होस्, जसबाट परमेश्वरलाई मन पर्ने सेवा भक्ति र डरले चढ़ाउन सकौं।” आज, “ठूलो भीड़ले” त्यस पवित्र सेवामा भाग लिइरहेका छन्। र त्यसमा कुन कुन कुरा समावेश छ? आफ्ना पुत्र, येशू ख्रीष्टका बलिदान दिनमा यहोवाको अनुग्रहबारे छलफल गरे पछि, पावल भन्छन्: “उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १२:२८; १३:१२, १५) यहोवाको अनुग्रहको मूल्याङ्कन गर्दै, उहाँको पवित्र सेवामा सकेसम्म सारा समय लगाउने इच्छा हामीमा हुनु पर्छ। शेष अभिषिक्त जनहरूका वफादार सङ्गीहरूको हैसियतमा, ठूलो भीड़काहरूले आज त्यो सेवा गर्नमा ठूलो हिस्सा लिइरहेका छन्। जसै यिनीहरू “दिन-रात उहाँको सेवा गर्दै,” लाक्षणिक रूपमा परमेश्वरको सिंहासनका सामुन्ने उभिन्छन्, आफ्नो मुक्तिको श्रेय यिनीहरूले परमेश्वर र ख्रीष्टलाई दिन्छन्।—प्रकाश ७:९, १०, १५.
अनन्तसम्म यहोवाको महिमा गर्नुहोस्
१९, २०. “यहोवाको दिनमा” कुन दुई प्रकारका भयहरू स्पष्ट हुनेछन्?
१९ यहोवाको औचित्य स्थापित हुने महिमायुक्त दिन चाँड़-चाँड़ो नजीक आइरहेछ! “‘हेर! भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ,’ सेनाहरूका परमप्रभु [यहोवा न्यु. व.] भन्नुहुन्छ।” त्यो विचल्लीको समय “परमप्रभुको [यहोवाको न्यु. व.] महा र डरलाग्दो दिन” हो। (मलाकी ४:१, ५) यसले दुष्टका हृदयहरूमा “त्रास” पैदा गर्नेछ र तिनीहरू “कुनै रीतिले उम्कनेछैनन्।”—यर्मिया ८:१५; १ थिस्सलोनिकी ५:३.
२० तथापि, यहोवाका जनहरू एउटा अर्कै प्रकारको भयबाट प्रेरित छन्। “अनन्त सुसमाचार” साथमा भएका दूतले तिनीहरूलाई एउटा ठूलो सोरले बोलाइ रहेका छन्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ, किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” (प्रकाश १४:६, ७) आर-मागेदोनको चर्को तापले शैतानको संसारलाई भस्म पार्दा, हामी श्रद्धाको भावसाथ त्यो इन्साफ हेर्ने छौं। यहोवा प्रति राखिने स्वस्थकर भय हाम्रो हृदयमा कहिले नमेटिने गरी कुँदिनेछ। “प्रभुको [यहोवाको न्यु. व.] नाउँ पुकारेर बाँच्नेहरू” बीच हुने अनुग्रह हामीले त्यस बेला पाउन सकौं।—योएल २:३१, ३२; रोमी १०:१३.
२१. यहोवाको डरले कुन आशिषहरू तर्फ हामीलाई डोऱ्याउने छ?
२१ अद्भुत आशिषहरू आउनेछन् र “जीवनका दिनहरू” अनन्तकालसम्म लम्मिनेछन्! (हितोपदेश ९:११; भजनसंग्रह ३७:९-११, २९) त्यसकारण, हाम्रो आशा राज्य अधिकार गर्ने होस् वा राज्यको पार्थिव क्षेत्रमा सेवा गर्ने होस्, हामी अहिले देखिनै ईश्वरीय डर र श्रद्धाका साथ परमेश्वरको पवित्र सेवा गरिरहौं। उहाँको पवित्र नाउँलाई महिमित पारिरहौं। र यसको आशिषपूर्ण परिणाम के हुनेछ? यहोवाको डर सधैं हृदयमा राख्नु भन्ने बुद्धिमत्तापूर्ण सल्लाहलाई हामीले ध्यान दिएको हुनाकारण हामी सदाका निम्ति कृतज्ञ रहनेछौं! (w92 1/1)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ “यहोवाको डर” भनेको अर्थ के हो?
▫ परमेश्वरको डर राख्नाले, पुरातनमा उहाँका मानिसहरूका लागि कसरी लाभदायक हुन गयो?
▫ येशूले हाम्रा निम्ति ईश्वरीय भयको के आदर्श छाड़नु भयो?
▫ यहोवाको भय मान्दै, हामीले कसरी समग्रता कायम राख्न सक्तछौं?
[पृष्ठ १६-मा भएको चित्र]
प्रकाशको पुस्तकमा, येशूका भाइहरू यहोवाको प्रशंसाको एउटा गीत, “मोशाको गीत” गाइरहेका छन्
[पृष्ठ १८-मा भएको चित्र]
यहोवाको डर मान्नाले यहोशापातको सेना विजयी हुन्छ
[पृष्ठ २०-मा भएको चित्र]
यहोवाको डर मान्नेहरूले अनन्तकालसम्म रहने इनाम पाउनेछन्