खीष्टले अधर्मलाई घृणा गर्नुहुन्थ्यो–के तपाईं पनि त्यसै गर्नुहुन्छ?
“तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नु भएको छ, यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई, तपाईंका साथीहरूभन्दा बढता गरेर खुशीको तेलले अभिषेक गर्नु भएको छ।”—हिब्रू १:९.
१. धार्मिकतालाई प्रेम गर्नु बाहेक, यहोवा परमेश्वरका साँचो सेवकहरूले अरू के पनि गर्नुपर्छ?
यहोवाका सच्चा सेवकहरू, उहाँलाई सारा हृदय, प्राण, मन र शक्तिले प्रेम गर्छन्। (मर्कूस १२:३०) तिनीहरू आफ्नो निष्ठालाई कायम राख्दै यहोवाको हृदयलाई आनन्दित तुल्याउन चाहन्छन्। (हितोपदेश २७:११) यसो गर्नका लागि तिनीहरूले धार्मिकतालाई प्रेम गर्नाका साथसाथै, अधर्मलाई घृणा पनि गर्नु पर्छ। तिनीहरूका आदर्श, येशू ख्रीष्टले यही गर्नुहुन्थ्यो। उहाँबारे यस प्रकार लेखिएको छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नु भएको छ र अर्धमलाई घृणा गर्नु भएको छ।”—हिब्रू १:९.
२. अधर्ममा कुन कुन कुराहरू समावेश छन्?
२ अधर्म भनेको के हो? यो अधर्म पाप हो। यस विषयमा प्रेरित यूहन्नाले लेखे: “पाप गर्ने हरेकले व्यवस्थाको विरोध पनि गर्दछ, र पाप ता व्यवस्थाको विरोध हो।” (१ यूहन्ना ३:४) व्यवस्थाहीन मानिसलाई “कुनै व्यवस्थाले नियन्त्रणमा राख्न” सकिन्दैन। (वेब्स्टर्स नाय्न्थ कलेज्येट डिक्श्नेरी) अधर्म भन्नाले यसमा हर प्रकारको खराबी, दुष्टता, अनैतिकता, भ्रष्टाचार र बेइमानी समावेश हुन्छ। संसारमा आज व्यवस्थाहीनता व्याप्त छ। यस्तो पहिले कहिले भएको थिएन। हामी निःसन्देह प्रेरित पावलले २ तिमोथी ३:१-५ मा भविष्यवाणी गरेका “डर लाग्दा समयहरूमा” बाँची रहेका छौं। जता हेरौं, त्यतै अधर्म छ। यसैकारण हर प्रकारको अधर्मलाई घृणा गर्नु भनेर हामीले आदेश पाउनु कति उपयुक्त कुरा हो! उदाहरणका लागि, भजनसंग्रह ९७:१० मा हामीलाई यसो भनिएको छ: “हे परमप्रभुलाई प्रेम गर्ने हो, अधर्मलाई घृणा गर।” (भजनसंग्रह ९७:१०) त्यसै गरी, हामी यी शब्दहरू पनि पढदछौं: “बुराईलाई घृणा र भलाइलाई प्रेम गर।”—आमोस ५:१५.
तीन प्रकारका घृणाहरू
३-५. परमेश्वरको वचनमा “घृणा” भन्ने शब्द अरू कुन तीन तरीकामा प्रयोग गरिएको छ?
३ घृणा गर्नुको अर्थ के हो? परमेश्वरको वचनमा “घृणा” शब्दलाई तीन बेग्ला बेग्लै ढङ्गमा प्रयोग गरिएको छ। एक प्रकारको घृणामा द्वेष समावेश हुन्छ र यसले अरूहरूको हानि गर्न खोज्छ। मसीहीहरूले आफूलाई यस प्रकारको घृणाबाट अलग्ग राख्ने प्रयास गर्नुपर्छ। यस्तै प्रकारको घृणाले गर्दा कयिनले आफ्नो धर्मी भाइको हत्या गर्यो। (१ यूहन्ना ३:१२) धर्मगुरुहरूले पनि येशूप्रति यस्तै प्रकारको घृणा राखेका थिए।—मत्ती २६:३, ४.
४ यस बाहेक, धर्मशास्त्रमा “घृणा” शब्दको अर्थ कम प्रेम गर्नु पनि हो। उदाहरणका लागि, येशूले भन्नुभयो: “कोही मकहाँ आएर आफ्ना बाबु, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत अप्रिय [घृणा गर्दैन भनेता, न्यु०व०] मान्दैन भनेता त्यो मेरो चेला हुन सक्तैन।” (लूका १४:२६) स्पष्टतया, येशूको भनाइको अर्थ ती व्यक्तिहरूलाई उहाँलाई भन्दा कम प्रेम गर्नु हो। याकूबले ‘लेआलाई घृणा’ गरे भन्नुको अर्थ पनि तिनले लेआलाई राहेललाई भन्दा कम प्रेम गर्द थिए भन्नु हो।—उत्पत्ति २९:३०, ३१.
५ त्यसपछि, “घृणाको” एउटा अर्को अर्थ पनि छ। यसै अर्थमा हाम्रो विशेष चासो छ। घृणाको यो अर्थमा कुनै वस्तु वा व्यक्तिका लागि एउटा अरुचि अथवा मन भित्रैबाट उठेको घृणा प्रकट हुन्छ। यो घृणाको भाव यति गहिरो हुन्छ कि हामी त्यस चीज वा व्यक्तिसित केही सम्पर्क नै राख्न चाहँदैनौं। भजनसंग्रह १३९ मा यसलाई “औधी घृणा” भन्दछ। त्यहाँ दाऊदले यसो भनेका छन्: “हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा नगरूँ? र तपाईंका विरुद्धमा उठ्नेहरूलाई के म तुच्छ न ठानूँ? म तिनीहरूलाई औधी घृणा गर्छु, म तिनीहरूलाई मेरा शत्रुनै ठान्छु।”—भजनसंग्रह १३९:२१, २२.
हामीले अधर्मलाई घृणा किन गर्नु?
६, ७. (क) हामीले अधर्मलाई मुख्यतया किन घृणा गर्नुपर्दछ? (ख) अधर्मलाई घृणा गर्नु पर्ने दोस्रो ठोस कारण के हो?
६ हामीले अधर्मलाई घृणा किन गर्नु? एउटा त हामीमा आत्मसम्मान र सफा अन्तस्करण होस् भनेर हो। यसरी मात्र हामीले हाम्रा धार्मिक, प्रेमपूर्वक स्वर्गमा हुनु हुने पिता, यहोवासित राम्रो सम्बन्ध कायम राख्न सक्नेछौं। यस सम्बन्धमा दाऊदले एउटा राम्रो उदाहरण कायम गरे। यो हामी भजनसंग्रह २६ मा देख्तछौं: “कुकर्मीहरूको समुदायलाई म घृणा गर्दछु, र दुष्टहरूसँग म बस्ने छैन।” (भजनसंग्रह २६:५) हो, हामीमा परमेश्वर र धार्मिकताका लागि प्रेम हुनु पर्दछ। यस प्रकारको प्रेम हामीमा छ भने, परमेश्वरको नजरमा अधार्मिक कुराहरू अथवा यहोवालाई घृणा र अवज्ञा गर्ने मानिसहरूसित हामी क्रोधित् हुनेछौं। अधर्मले गर्दा परमेश्वरको नाम बदनाम हुँदछ। यसैकारण पनि हामीले अधर्मलाई घृणा गर्नु पर्ने हो।
७ अधर्म अति नै खतरनाक र हानिकारक हुन्छ। यसले गर्दा पनि यहोवाका जनहरूले अधर्मलाई घृणा गर्नु र्पदछ। शारीरिक अभिलाषाहरूलाई ध्यानमा राखेर काम गर्नुको अर्थ अधर्म रोप्नु हो। यसको परिणाम के हुनेछ? पावलले चेताउनी दिए: “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ।” (गलाती ६:६, ७) यसकारण, हामीले अधर्मसित कुनै वास्तै राख्नु भएन। हाम्रा आफ्नै कुशलता र मनको शान्तिका लागि पनि हामीले अर्धमलाई घृणा गर्नु पर्दछ।
अर्धमलाई घृणा गर्नेहरू
८. अधर्मलाई घृणा गर्ने सम्बन्धमा प्रमुख उदाहरण कसले कायम गर्नु भएको छ?
८ अधर्मलाई घृणा गर्ने सम्बन्धमा आफूले सृष्टि गर्नु भएका सोच्न सक्ने प्राणीहरूका लागि स्वयं परमेश्वर नै प्रमुख उदाहरण हुनु हुन्छ। अधर्मप्रति उहाँको घृणा अति नै मनासिब छ। उहाँको वचन भन्दछ: “छवटा कुरालाई परमप्रभु घृणा गर्नुहुन्छ, सातवटा कुरादेखि उहाँ घिनाउनुहन्छ। अहँकारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, धेरै असत्य बोल्ने झूटा गवाही, र दाज्यू-भाइहरूका बीचमा झगडा उठाउने मानिस।” त्यहाँ यो पनि लेखिएको छ: “परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहङ्कार, खराब चाल, भडकाउने कुराहरू, यी सबैलाई म घृणा गर्छु।” (हितोपदेश ६:१६-१९; ८:१३) हामीलाई यसो पनि भनिएको छ: “किनभने म परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु, अन्यायको लूट मलाई घीन लाग्छ।”—यशैया ६१:८.
९, १०. येशूले अधर्मप्रति घृणा कसरी व्यक्त गर्नुभयो?
९ अधर्मलाई घृणा गर्ने सम्बन्धमा येशू ख्रीष्टले उहाँका पिताको अनुसरण गर्नुभयो। त्यसैले उहाँको विषयमा यस प्रकार लेखिएको छ: “तपाईंले धर्मलाई प्रेम गर्नु भएको छ र अधर्मलाई घृणा गर्नु भएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई, तपाईंका साथीहरूभन्दा बढता खुसीको तेलले अभिषेक गर्नु भएको छ।” (हिब्रू १:९) येशूले यस प्रकारको घृणाबारे हाम्रालागि एउटा असल उदाहरण छाडेर जानु भएको छ। जानाजानी अधर्म गर्नेहरू अर्थात् झूटा धर्मगुरुहरूको येशूले पर्दाफास गर्नुभयो। तिनीहरूलाई उहाँले बारम्बार कपटी घोषित् गर्नुभयो। यस प्रकार उहाँले अधर्मप्रति आफ्नो घृणा व्यक्त गर्नुभयो। (मत्ती २३) एउटा अर्को अवसरमा येशूले तिनीहरूलाई यसो भन्नुभएको थियो: “तिमीहरू ता आफ्ना पिता शैतान तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।” (यूहन्ना ८:४४) येशूले अधर्मप्रति घृणा व्यक्त गर्नु हुँदा शारीरिक बल समेत प्रयोग गर्नु भयो। दुई पटक उहाँले मन्दिरबाट लोभी धार्मिक कपटीहरूलाई धपाइ दिनु भयो।—मत्ती २१:१२, १३; यूहन्ना २:१३-१७.
१० येशूले आफूलाई पाप र अधर्मबाट पूर्णतया अलग्ग राख्नु हुन्थ्यो। यसरी पनि उहाँले अधर्मप्रति आफ्नो घृणा प्रकट गर्नुभयो। नभन्दै, उहाँले आफ्ना विरोधीहरूलाई यो प्रश्न सोध्न सक्नु हुन्थ्यो: “तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउनसक्छ?” (यूहन्ना ८:४६) येशू “पवित्र, निष्कपट, निष्कलङ्क, पापीहरूबाट अलग” हुनुहुन्थ्यो। (हिब्रू ७:२६) यही कुरालाई पुष्टि दिंदै पत्रुसले पनि यस प्रकार लेखे: “[उहाँले] नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो।”—१ पत्रुस २:२२.
११. असिद्ध मानिसहरूले पनि अधर्मलाई घृणा गरेका कुन कुन उदाहरणहरू हामी शास्त्रमा पाउँछौं?
११ तथापि, येशू एक जना सिद्ध मानिस हुनुहुन्थ्यो। अधर्मलाई साँच्चै नै घृणा गर्ने असिद्ध मानिसहरू बारे पनि शास्त्रमा उदाहरणहरू पाइन्छन् र? अवश्य पाइन्छ! उदाहरणका लागि, मोशा र उहाँका सङ्गी लेवीहरूले मूर्तिपूजाप्रति गहिरो घृणा प्रकट गरे। तिनीहरूले यहोवाका आदेश पालन गर्दै, ३००० मूर्तिपूजकहरूलाई मारी दिए। (प्रस्थान ३२:२७, २८) पीनहासले पनि दुई जना व्यभिचारीहरूलाई भालाले मारी दिएर अधर्मका लागि ठूलो घृणा व्यक्त गरे।—गन्ती २५:७, ८.
अधर्मप्रति घृणा व्यक्त गर्ने
१२. (क) अधर्मप्रति हामीले घृणा कसरी प्रकट गर्न सक्तछौं? (ख) खराब सोचविचारहरू बाट अलग्ग रहने केही व्यावहारिक उपायहरू के हुन्?
१२ आज हाम्रो पालामा अधर्मप्रति हामीले कसरी घृणा प्रकट गर्न सक्तछौं? आफ्नो सोचविचार, बोलीवचन र कामकुरालाई नियन्त्रणमा राखेर। कुनै विशेष काम नगरेको बेलामा हामीले लाभदायक कुराहरूबारे सोच्ने बानी बसाल्नु पर्दछ। राती जागा बसेको बखतमा सायद गुनासोहरू अथवा यौनिक आकाङ्क्षाहरू बारे सोच्ने हाम्रो बानी होला। यस प्रकारका कुराहरूलाई मनमा ठाउँ नै नदिनु होस्। बरु, लाभदायक कुराहरूबारे सोच्ने बानी बसाल्नु होस्। उदाहरणका लागि, शास्त्रपद्यहरू, खुसी हुने नौवटा कारणहरू र आत्माका नौवटा फलहरू मुखस्त गर्ने कोशिश गर्नुहोस्। (मत्ती ५:३-१२; गलाती ५:२२, २३) के तपाईंलाई १२ जना प्रेरितहरूको नाउँ थाह छ? दश आज्ञाहरू नि? प्रकाशितवाक्यमा कुन सातवटा मण्डलीहरूलाई सम्बोधन गरिएको छ? राज्य सम्बन्धी गीतहरू मुखस्त पार्दा पनि हामीले सच्चा, आदरणीय, चोखा, असल, मनपर्दा, सद्गुणयुक्त र प्रशंसनीय विषयहरूमाथि मन लगाउने मद्दत पाउँदछौं।—फिलिप्पी ४:८.
१३. अधर्मलाई घृणा गर्छौं भने हामीले कुन प्रकारको बोलीबचनलाई पनि घृणा गर्ने र्छौं?
१३ यी कुराहरू बाहेक हर प्रकारको अशुद्ध बोली वचनबाट आफूलाई अलग्ग राखेर पनि हामीले अधर्मप्रति घृणा प्रकट गर्दछौं। धेरै सांसारिक मानिसहरू फोहोर गफ सुनाउन र सुन्नमा ठूलो आनन्द लिन्छन्। तर मसीहीहरूमा चाहिं त्यस प्रकारका कुराहरू सुन्ने झुकाव समेत हुनु भएन। बरु, त्यस प्रकारका निम्न स्तरका कुराकानीहरू बाट हामी टाढटाढै बस्नु पर्दछ। त्यसमा पटक्कै भाग लिनु हुँदैन। त्यस्ता कुराकानीहरू चली रहेको ठाउँबाट हामी उठेर जान सक्तैनौं भने पनि आफ्नो भावभङ्गिद्वारा हामीले त्यस प्रकारका कुराहरू प्रति आफ्नो घृणा प्रकट गर्न सक्तछौं। हामीले यो असल उपदेश प्रयोगमा ल्याउनु पर्दछ: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरा हुन्छ भने मात्र, कि त्यसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।” (एफिसी ४:२९) हामीले अशुद्ध बोली बोलेर अथवा सुनेर आफूलाई अपवित्र तुल्याउनु हुँदैन।
१४. अधर्मलाई घृणा गर्नाले व्यावसायिक र जागिर सम्बन्धी मामिलाहरूमा हाम्रो बचाउ कसरी हुन सक्तछ?
१४ अधर्मलाई घृणा गर्नुको अर्थ हर प्रकारका पापपूर्ण गतिविधिहरूको पनि विरोध गर्नु हो। अधर्मलाई घृणा गर्दछौं भने हामी अधर्मसित कुनै रीतिले पनि सम्झौता गर्ने छैनौं। सच्चा मसीहीहरूले बारम्बार पाप गरी रहँदैनन्। (१ यूहन्ना ५:१८) उदाहरणका लागि, हामी सबैले नै बेइमान गतिविधिहरूको घृणा गर्नुपर्दछ। आज, काम गर्ने ठाउँमा आफ्ना हाकिमहरूका लागि बेइमान कामकुरा गरी दिने दबाव यहोवाका धेरै साक्षीहरूमाथि परेको छ। तापनि, यी साक्षीहरूले यसो गर्न इन्कार गरेका छन्। बाइबलद्वारा प्रशिक्षित आफ्नो अन्तस्करणको खिलाफमा कुनै कुरा गर्नुको सट्टा यी मसीहीहरू बरु आफ्नो जागिर गुमाउन परे पनि तयार छन्। साथै, हामी सडकहरूमा ट्र्याफिक-नियमहरूको पालन गर्ने र कर अथवा भन्सार तिर्ने गरेर पनि अधर्मप्रति घृणा व्यक्त गर्न सक्तछौं।—प्रेरित २३:१; हिब्रू १३:१८.
यौनिक अशुद्धताप्रति घृणा
१५. मानिसहरूमा यौनिक सम्भोग गर्ने जोरदार प्राकृतिक इच्छा राखिदिनु भएर परमेश्वरले आफ्नो के उद्देश्य पूरा गर्नुभयो?
१५ हामी मसीहीहरू भएका हुनाले हर प्रकारको यौनिक अशुद्धतालाई विशेष घृणा गर्नुपर्दछ। सृष्टिदखि नै परमेश्वरले मानिसमा संभोग गर्ने जोरदार इच्छा राखिदिनु भयो। यसद्वारा दुईवटा असल उद्देश्य पूरा भएको छ। एउटा त मानव परिवार कायम हुन सक्यो। अर्को चाहिं आनन्दका लागि एउटा अति नै प्रेमपूर्ण प्रबन्ध स्थापित भयो। गरिब, अशिक्षित वा अन्य असुविधाहरूको सामना गर्नु परेका मानिसहरूले पनि वैवाहिक सम्बन्धबाट ठूलो आनन्द उठाउन सक्छन्। तथापि, यहोवाले तोक्नु भएको परिधिभित्र मात्र यो सम्बन्धबाट आनन्द उठाउनु पर्दछ। ईश्वरले तोक्नु भएका यी परिधिहरूको अवहेलना गर्नु हुँदैन।—उत्पत्ती २:२४; हिब्रू १३:४.
१६. अशुद्ध यौनिक मनोरञ्जन र कार्यकलापहरू प्रति हामीले कस्तो विचार राख्नुपर्दछ?
१६ हामी अधर्मलाई घृणा गर्छौं भने हर प्रकारका अशुद्ध यौनिक कार्यहरू र अनैतिक मनोरञ्जनबाट टाढै बस्ने प्रयास गर्ने छौं। नैतिक दृष्टिकोणबाट खराब पुस्तकहरू, पत्रिकाहरू र अखबारहरूलाई हामी आफूबाट अलग्गै राख्ने छौं। अधर्मलाई घृणा गर्छौं भने, चाहे टेलिभिजनमा होस् वा सिनेमा हलभित्र अथवा नाटक देखाउने मञ्चमा होस्, हामी कुनै पनि अश्लील चलचित्रहरू वा प्रस्तुतीकरणहरू हेर्ने छैनौं। कुनै कार्यक्रम अनैतिक लागेको खण्डमा हामीले टेलिभिजन बन्द गर्नुपर्दछ। अथवा कुनै हलभित्र छौं भने त्यहाँबाट गइहाल्ने आँट हामीमा हुनुपर्दछ। त्यसै प्रकार, अधर्मलाई घृणागर्दा, हामी यौनिक इच्छा जगाउने किसिमका गीतहरू अथवा सङ्गीतको तालबारे पनि सतर्क हुनुपर्दछ। हामी अनैतिक कुराहरूको ज्ञानको खोजी गर्ने छैनौं। बरु, हामी ‘खराबीमा बालकहरू तर समझमा चाहिं [उमेर पुगेको] मानिस हुनेछौं।’—१ कोरिन्थी १४:२०.
१७. कलस्सी ३:५ मा दिइएको सल्लाहबाट हामीले नैतिक शुद्धता कायम राख्ने के मद्दत पाउन सक्तछौं?
१७ हामीलाई यो सबैभन्दा उचित सल्लाह दिइएको छ: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई आत्मसंयमद्वारा वशमा पार, [अर्थात्] व्यभिचार, अशुद्धता, उद्वेग, खराब इच्छा र लोभ।” (कलस्सी ३:५) नैतिक शुद्धता कायम राख्ने दृढ संकल्प गर्नका लागि हामीले निःसन्देह जोरदार उपायहरू अपाउनु पर्दछ। कलस्सी ३:५ मा “वशमा पार” भनेर अनुवाद गरिएको युनानी शब्दबारे, दी एक्सपोजिटर्स बाइबल कमेन्टरी भन्छ: “हामीले खराब कार्यहरू र प्रवृत्तिहरूलाई वशमा राख्ने कुरामात्र यसबाट बोध हुँदैन। बरु, ती कुराहरूलाई हामीले जरैदेखि हटाउनु भनेको हो। यसको अर्थ पुरानो जीवन शैलीलाई खतम पारिदिनु हो। ‘सम्पूर्ण रूपमा मारी दिनु’ भन्ने वाक्यांशबाट त्यसको पूर्ण अर्थ खुल्दछ। . . . क्रियाको अर्थ र कालको महत्त्व, दुवैबाट एउटा जबरजस्त तर दुःखदायी व्यक्तिगत फैसलाको बोध हुँदछ।” हामीले अश्लील फोटोहरू अथवा चलचित्रहरूलाई कुनै खतरनाक, सरुवा र प्राणघातक रोग सरह ठान्नुपर्छ। किनभने नैतिक र आध्यात्मिक तवरमा ती साँच्चै नै त्यस्ता हुन् पनि। यस्तैगरी, हाम्रा एउटा हात, खुट्टा अथवा आँखा समेतले बाधा दिन्छ भने त्यसलाई काटेर फाल्नु भनेर ख्रीष्टले पनि भन्नु भएको थियो।—मर्कूस् ९:४३-४८.
झूटो धर्म र धर्मत्यागलाई घृणा गर्नु
१८. धर्महरूसित सम्बन्धित अधार्मिकताका लागि हामीले आफ्नो घृणा कसरी व्यक्त गर्नसक्तछौं?
१८ येशूले कपटपूर्ण धर्मावलम्बीहरूको पर्दाफास गर्नुभयो। यस प्रकार उहाँले अधर्मप्रति आफ्नो घृणा प्रकट गर्नुभयो। त्यसैगरी, आज यहोवाका साक्षीहरूले पनि हरप्रकारको कपटपूर्ण धार्मिक अधर्मप्रति घृणा प्रकट गर्दछन्। कसरी? तिनीहरूले बाइबलसित सम्बन्धित पढने सामग्रीहरू वितरण गर्छन्। यी सामग्रीहरूले महान बेबिलोनको पर्दाफास गर्दछ र त्यो एउटा धार्मिक बेश्या हो भन्ने कुरालाई उदाङ्ग पारिदिन्छ। हामीले पनि धार्मिक कपटलाई साँच्चै नै घृणा गर्छौं भने, महान बेबिलोन अर्थात् झूटो धर्मको विश्व-साम्राज्यको खुल्लमखुल्ला पर्दाफास गरी दिने छौं। त्यससित आत्मिक दासत्वमा परेका असल हृदय हुने मानिसहरूका लागि हामीले सो कार्य गर्ने छौं। महान बेबिलोनलाई हामी जति घृणा गर्दछौं, राज्य सेवकाईको हर क्षेत्रमा भाग लिन हामी उति नै जोशिला हुनेछौं।—मत्ती १५:१-३, ७-९; तितस २:१३, १४; प्रकाश १३:१-५.
१९. धर्मत्यागीहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्दछ र किन?
१९ अधर्मलाई घृणा गर्ने बाध्यता धर्मत्यागीहरूका जम्मै गतिविधिहरूमा पनि लागू हुन्छ। धर्मत्यागीहरू प्रति हाम्रो प्रवृत्ति दाऊदको जस्तै हुनुपर्दछ। तिनले यस विषयमा आफ्नो विचार यसरी व्यक्त गरे: “हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा न गरूँ? र तपाईंका विरुद्धमा उठ्नेहरूलाई के म तुच्छ न ठानूँ? म तिनीहरूलाई औधि घृणा गर्छु, म तिनीहरूलाई मेरा शत्रुनै ठान्छु।” (भजनसंग्रह १३९:२१, २२) आधुनिक समयका धर्मत्यागीहरूले “अधर्मका मानिस” अर्थात् मसीही जगतका पादरीहरूको पक्ष लिएका छन्। (२ थिस्सलोनिकी २:३) तर हामी यहोवाका वफादार साक्षीहरूले तिनीहरूसित केही सम्बन्धै राख्तैनौं। हामीहरू असिद्ध भएका हुनाकारण, आफ्ना भाइहरू प्रति एउटा आलोचनात्मक दृष्टिकोण राख्ने विचार हृदयमा सजिलैसित आउन सक्तछ। “विश्वासी र बुद्धिमान दासका” सदस्यहरू पनि व्यक्तिगत रूपमा असिद्ध मानिसहरू नै हुन्। (मत्ती २४:४५-४७) तर सामूहिक रूपमा तिनीहरू विश्वासी र बुद्धिमान छन्। धर्मत्यागीहरूले चाहिं सानुतिनु गल्तीहरूलाई बढाइचढाइकन हेर्दै अथवा अगुवाइ लिने भाइहरू पनि चुके भन्ने हल्ला फैलाएर आफ्नै स्वार्थ पूरा गर्न खोज्छन्। यी धर्मत्यागीहरूको प्रचारलाई विष सरह ठानेर त्यसबाट आफूलाई अलग्ग राखेर नै हाम्रो बचाउ हुन सक्छ।—रोमी १६:१७, १८.
२०, २१. अधर्मलाई घृणा गर्ने कारणहरू सारांशमा बताउनु होस्।
२० संसार अधर्मले व्याप्त छ। अधर्म पापको एउटा अर्को रूप हो। हामीले धार्मिकतालाई प्रेम गरेर मात्र पुग्दैन; हामीले अधर्मलाई घृणा पनि गर्नुपर्छ। मसीही मण्डलीबाट बहिष्कार भएका केही व्यक्तिहरूको विचारमा तिनीहरूले पनि धार्मिकतालाई प्रेम गर्द थिए। तर तिनीहरूले अधर्मलाई यथेष्ट मात्रामा घृणा गरेका थिएनन्। साथै हामीले अधर्मलाई किन घृणा गर्नु पर्दछ, त्यो पनि देख्यौं। हामीले त्यसलाई घृणा नगरुञ्जेलसम्म हामीमा एउटा सफा अन्तस्करण अथवा आत्मसम्मान हुनै सक्तैन। यसको अलावा, अधर्मको अर्थ यहोवा परमेश्वरसित विश्वासघात गर्नु हो। र अधर्मको कारण हामीले एउटा अतिनै नमीठो परिणाम अर्थात् मानसिक क्लेश, पतन र मृत्यु भोग्ने छौं।
२१ अधर्मलाई घृणा गर्दछौं भन्ने कुरा हामीले कसरी प्रकट गर्न सक्तछौं, त्यो पनि देख्यौं। अर्थात्, कुनै प्रकारको बेइमानी, यौनिक अनैतिकता अथवा धर्मत्यागसित हामीले केही मतलबै राख्नु हुँदैन। हामी यहोवाको नामलाई उच्च पार्न र उहाँको हृदयलाई आनन्दित तुल्याउन चाहन्छौं। तसर्थ, हामी पनि धार्मिकतालाई प्रेम गर्दै परमेश्वरको सेवामा व्यस्त रहने मात्र होइन तर हाम्रा अगुवा र निर्देशक येशूले गर्नु भए झैं हामीले पनि अर्धमलाई घृणा गर्नु अनिवार्य छ। (w92 7/15)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ शास्त्रमा “घृणा” शब्द कुन कुन ढङ्गमा प्रयोग गरिएको छ?
◻ अधर्मलाई घृणा गर्ने केही ठोस कारणहरू के हुन्?
◻ अधर्मलाई घृणा गर्नेहरू मध्येका असल उदाहरणहरू को हुन्?
◻ अधर्मप्रति हामीले घृणा कसरी व्यक्त गर्न सक्तछौं?
[पृष्ठ २१-मा भएको चित्र]
अधर्मलाई घृणा गर्नु भएको हुनाकारण येशूले मन्दिरलाई सफा पार्नु भयो
[पृष्ठ २२-मा भएको चित्र]
हामी अधर्मलाई घृणा गर्दछौं भने अनैतिक यौनिक मनोरञ्जनबाट आफूलाई अलग्ग राख्नेछौं