ढाँट्नु किन यति सजिलो?
आफूलाई कुनै व्यक्तिले ढाँटेको कसैलाई पनि मन पर्दैन। तापनि, संसारभरि मानिसहरू एक अर्कालाई विभिन्न कारणहरूका लागि ढाँटने गर्छन्। अमेरिकामा ९१ प्रतिशत मानिसहरूले नियमित रूपमा ढाँट्दछन् भन्ने कुरा जेम्स प्याटर्सन् र पिटर किमको पुस्तक, द डे अमेरिका टोल्ड द त्रुथ-मा दिइएको सर्वेक्षणबाट थाह पाइयो। यी लेखकहरू भन्छन्: “हामी मध्ये धेरै जसोलाई एक हप्ता पनि नढाँटिकन बिताउनु गाह्रो हुन्छ। पाँच जनामा एक जनालाई त एक दिन बिताउनु पनि गाह्रो पर्छ—र हामी यहाँ जानीजानी र पूर्वविचार पुऱ्याएर बोलेका झूटहरू बारे कुरा गर्दैछौं।”
आधुनिक जीवनको प्रायः हरेक क्षेत्रमा ढाँटनु एउटा सामान्य कुरा हुन गएको छ। राजनैतिक नेताहरू जनतालाई र एकअर्कालाई ढाँट्छन्। तिनीहरूले पूर्णरूपले भाग लिएका भ्रष्टाचारका काण्डहरूमा तिनीहरूको केही हात छैन भन्न तिनीहरू कति पटक टेलिभिजनमा देखा परेका छन्। सिसेला बोकले लायिङ्ग—मॉरल चोइस् इन पबलिक एण्ड प्राइभेट लाइफ् भन्ने आफ्नो पुस्तकमा यो विचार व्यक्त गरेकी छिन्: “कानुन र पत्रकारितामा, सरकार र समाज विज्ञानमा, ढाँटने व्यक्तिहरूका साथै नियम बनाउने मानिसहरूले क्षम्य ठानेमा, छल गर्नु स्वीकार योग्य हुन्छ।”
संयुक्त राष्ट्र अमेरिकाको राजनैतिक क्षेत्रमा बोलिने झूटहरूलाई सङ्केत गर्दै, मई/जून १९८९-को कॅमन कॅज म्यागाजिन-ले यो विचार व्यक्त गऱ्यो: “जहाँसम्म सरकारी छल र जनतालाई ठग्ने कुरा आउँछ, वॅटरगेट र भियतनाम काण्डहरू इरान-कन्ट्रा काण्डभन्दा केही कम थिएनन्। यसकारण, रेगनको पालो के कारणले गर्दा एउटा मोड थियो? धेरैले झूट बोले तर त्यसका लागि थोरैले मात्र पछितो गरे।” यस्तै कारणहरूले गर्दा आफ्ना राजनैतिक नेताहरूलाई आम जनताले पत्याउने गर्दैनन्।
अन्तर्राष्ट्रिय सम्बन्धको सिलसिलामा पनि यस प्रकारका नेताहरूलाई एकअर्काको कुरा पत्याउनु गाह्रो हुन्छ। युनानी दार्शनिक प्लेटोले यसो भने: “राष्ट्रको भलाइका लागि . . . राष्ट्रका शासकहरूलाई ढाँट्ने छुट दिन सकिन्छ।” अन्तर्राष्ट्रिय सम्बन्धको सिलसिलामा त्यही कुरा हुन्छ जुन दानियल ११:२७-मा भविष्यवाणी गरिएको थियो अर्थात्: “एउटै टेबलमा बसे तापनि एउटाले अर्कोलाई झूट बोल्छन्।”
व्यापारिक संसारमा, उत्पादन गरिएका चीज-बीजहरू र अन्य सेवाहरू बारे ढाँट्नु एउटा सामान्य चलन हो। ग्राहकहरूले करार पुर्जीहरूमा सही गर्न अघि त्यहाँ उल्लिखित् द्वयार्थक शर्तहरूलाई विशेष ध्यान दिएर पढनु पर्छ। झुट्टा विज्ञापन, लाभदायक वा अहानिकारक भन्दै प्रस्तुत गरिने हानिकारक उत्पादनहरू तथा धोकाबाजी देखि आफ्ना मानिसहरूलाई बचाउनका निम्ति कुनै कुनै देशका सरकारहरूले नियन्त्रण एजेन्सीहरू कायम गरेका छन्। तर यी प्रयासहरूको बावजूद, ढाँट्ने व्यापारीहरूको हातबाट मानिसहरूले दुःख भोगी नै रहेछन्।
केही मानिसहरूलाई ढाँट्नु यति सजिलो लाग्छ कि त्यो तिनीहरूको एउटा बानी हुन जान्छ। अरूहरू चाहिं प्रायः सत्यवादी नै भए तापनि, अप्ठ्यारोमा परेको खण्डमा ढाँटी हाल्छन्। थोरै मात्र जुनसुकै परिस्थितिमा पनि ढाँट्न मान्दैनन्।
ढाँट्नुको परिभाषा यस प्रकार दिइएको छ: “१. विशेषतः ठग्ने विचार राखेर बोलिएको वा गरिएको कुनै झूटो वक्तव्य वा कार्य . . . २. झुट्टा प्रभाव पर्ने वा पार्ने उद्देश्यले रचेको कुनै कुरा।” झूट बोल्नुको उद्देश्य, झूट बोल्ने व्यक्तिलाई त्यो कुरा झूट हो भनेर थाहा भए तापनि अरूहरूलाई त्यो कुरा सत्य हो भनेर विश्वास दिलाउनु हो। सत्य जान्ने हक भएकाहरूलाई उसले झूट अथवा अर्ध-सत्य बोलेर ठग्ने कोशिश गर्छ।
ढाँट्ने कारणहरू
मानिसहरू विभिन्न कारणहरूले गर्दा ढाँटछन्। यस प्रतियोगितात्मक संसारमा सफल हुनका लागि आफ्ना योग्यताहरू बारे ढाँटनै पर्छ भन्ने विचारधारा कुनै कुनै मानिसहरूले अपनाएका छन्। अरूहरू चाहिं ढाँटेर आफ्नो दोष अथवा गल्तीहरूलाई ढाक्ने कोशिश गर्छन्। साथै, आफूले नगरेको काम पनि गरें भनेर देखाउनका लागि झुट्टा रिपोर्टहरू दिने गर्छन्। यी बाहेक, अरूहरूको नाउँ बदनाम गर्ने, आफूलाई लाजमर्दो परिस्थितिबाट बचाउने, पहिले बोलेका झूटहरूको सफाई दिने अथवा मानिसहरू बाट पैसा धुत्ने उद्देश्य राखेर ढाँट्नेहरू पनि छन्।
कुनै एक जना व्यक्तिलाई बचाउनका निम्ति ढाँटेको हो भन्दै सामन्यतया झुट्टा कुराको सफाइ दिने गरिन्छ। यसलाई अङ्ग्रेजीमा श्वेत-झूट भन्छन् [कुनै खराब मनसाय न राखिकन कसैलाई बचाउनका निम्ति बोलिएको झूट] र केही मानिसहरूको विचारमा यस प्रकारको झूटले कसैलाई हानि पुऱ्याउँदैन। तर यी श्वेत भनौंदा झूटहरूको कुनै खराब असर हुँदैनन् भनेर के वास्तवमा भन्नु मिल्छ र?
असरहरू बारे विचार गर्नु होस्
यस प्रकारका श्वेत झूटहरू बोल्दा-बोल्दा, ढाँट्ने बानी बस्नु सक्छ र पछि गएर गम्भीर कुराहरू बारे पनि झूट बोल्न सकिन्छ। सिसेला बोकको टिप्पणी यस प्रकार छ: “‘श्वेत’ भनेर वर्गीकरण गरिएका झूटहरूलाई यति सजिलै सित उपेक्षा गर्न सकिन्दैन। सर्वप्रथम, ढाँट्नु अहानिकारक हो भन्ने कुरा नै अति विवादस्पद छ। ढाँट्ने व्यक्तिको नजरमा जुन कुरा अहानिकारक अथवा लाभदायक समेत होला, ठगिएको व्यक्तिको नजरमा सो नहोला।”
झूटहरू बाहिरबाट जति नै सीधा-सादा देखिए तापनि, त्यसले मानिसहरू बीचको राम्रो सम्बन्धलाई बिगार्न सक्छन्। ढाँट्ने व्यक्तिको विश्वासिलोपना सधैंका लागि चूर-चूर हुन सक्छ र उसको कुरालाई कसैले फेरि कहिले पनि पत्यार नगर्ला। ख्याति प्राप्त निबन्धकार, र्याल्फ एमर्सन् वाल्डोले यस प्रकार लेखे: “सत्यको उल्लङ्घन गर्नु ढाँट्ने व्यक्तिले एक प्रकारको आत्म-हत्या गर्नु र मानव समाजको स्वास्थ्यलाई छुरी हान्नु हो।”
ढाँट्ने व्यक्तिलाई अर्को व्यक्तिको विषयमा झूट बोल्नु सजिलो हुन्छ। उसले कुनै प्रमाण प्रस्तुत नगरे तापनि, उसले बोलेको झूटद्वारा शङ्का उत्पन्न हुन्छ र उसको दाबीको जाँच न गरिकन धेरैले उसको कुरामाथि विश्वास गर्छन्। यसप्रकार निर्दोष व्यक्तिको नाम बदनाम हुन्छ र आफ्नो बारेमा सफाइ दिने बोझ तिनीमाथि आइपर्दछ। मानिसहरूले निर्दोष व्यक्तिको कुरालाई भन्दा ढाँट्ने व्यक्तिलाई पत्यार गर्दा परिस्थिति अति नै दिक्क लाग्दो हुन सक्छ। साथै, यसबाट निर्दोष मानिस र ढाँट्ने व्यक्ति बीचको सम्बन्ध बिग्रन्छ।
ढाँट्ने व्यक्तिले ढाँट्ने बानी सजिलैसित बसाल्न सक्छ। एउटा झूट पछि अक्सर अर्को झूट बोलिन्छ। अमेरिकाका सुरु-सुरुका एक जना राजनीतिज्ञले यो विचार व्यक्त गरे: “ढाँट्नु जस्तो यति नीच, यति दयनीय र यति घृणास्पद दुर्गुण अरू कुनै छैन; र जसले एक पटक आफूलाई झूट बोल्नु दिन्छ, उसलाई दोस्रो पटक र तेस्रो पटक झूट बोल्नु धेरै नै सजिलो हुन्छ र अन्ततोगत्वा यसो गर्ने उसको बानी हुन जान्छ।” नैतिक पतनतर्फ लैजाने यो बाटो हो।
ढाँट्नु सजिलो हुने कारण
एउटा विद्रोही स्वर्गदूतले प्रथम स्त्रीलाई ढाँटेको समयदेखिन् झूटको सुरुआत भयो। त्यस दूतले स्त्रीलाई भन्यो कि तिनले आफ्नो सृष्टिकर्ताको अवज्ञा गरे तापनि तिनी मर्ने छैनन्। त्यो झूटको परिणामस्वरूप, मानव-जातिमाथि वर्णन गरेर साध्ये नहुने हानि अर्थात् असिद्धता, रोग र मृत्यु आइपऱ्यो।—उत्पत्ति ३:१-४; रोमी ५:१२.
अनाज्ञाकारी आदम र हव्वाको समयदेखि यता, झूटको यो पिताले संसारमा एउटा यस्तो वातावरण सृजना गरेको छ जसमा झूट बोल्नलाई बढावा दिइन्छ। (यूहन्ना ८:४४) यो एउटा पतित संसार हो जहाँ सत्य सापेक्षिक मात्र हुन्छ। सितम्बर १९८६-को द स्याटरडे इवनिङ्ग पोस्ट अनुसार, ढाँट्ने समस्याले “व्यापार, सरकार, शिक्षा, सङ्गी नागरिकहरू र छिमेकीहरू बीचको दैनिक व्यवहारलाई असर गर्दछ . . . कुनै पनि कुरा सम्पूर्णतया सत्य छैनन् भन्ने सबैभन्दा ठूलो झूट अथवा सापेक्षताको सिद्धान्तलाई हामीले स्वीकारी सकेका छौं।”
ढाँट्ने बानी लागेका व्यक्तिहरूको दृष्टिकोण यही हो जसले ठगाइमा पर्ने मानिसहरूका लागि केही सम्मानुभूति राख्तैनन्। तिनीहरूलाई ढाँट्नु सजिलो लाग्छ। यो तिनीहरूको जीवनशैली हो। तर ढाँट्ने बानी नभएका व्यक्तिहरू पनि आफ्नो पर्दाफास होला वा सजाय भोग्नु पर्ला भन्ने डर इत्यादिको कारण, तुरुन्त ढाँटी हाल्न सक्छन्। असिद्ध शरीरको यो एउटा कमजोरी हो। यो झुकावलाई हटाएर त्यसको ठाउँमा सत्य बोल्ने सङ्कल्प हामी कसरी गर्न सक्छौं?
सत्यवादी किन हुनु?
हाम्रा महान सृष्टिकर्ताले हामी सबैका लागि तोक्नु भएको स्तर सत्यता हो। “परमेश्वरलाई झूट बोल्नु असम्भव छ” भनेर उहाँको लिखित वचन, बाइबलले हिब्रू ६:१८-मा भन्छ। पृथ्वीमा परमेश्वरको व्यक्तिगत प्रतिनिधि अर्थात् उहाँको पुत्र, येशू ख्रीष्टले पनि त्यही स्तरलाई कायम राख्नु भयो। उहाँलाई मार्न खोज्ने यहूदी धर्म-गुरुहरूलाई येशूले यसो भन्नु भयो: “अहिले तिमीहरू मलाई मार्न खोज्दछौ, अर्थात् म एउटा मान्छेलाई जसले परमेश्वरबाट सुनेको सत्य कुरा तिमीहरूलाई भन्दै आएको छ। . . . यदि म उहाँलाई चिन्दिन भन्छु भनेता म तिमीहरू जस्तै झूटा हुनेछु।” (यूहन्ना ८:४०, ५५) उहाँले “नता कुनै पाप गर्नु भयो, न उहाँको मुखमा छलको कुरा पाइयो।” यसरी, हाम्रा लागि उहाँ एउटा आदर्श हुनु भएको छ।—१ पत्रुस २:२१, २२.
हाम्रा सृष्टिकर्ता जसको नाउँ यहोवा हो, उहाँ झुट्टा कुरा बोलेको पटक्कै मन पराउँनु हुँदैन। हितोपदेश ६:१६-१९-ले स्पष्ट रूपमा यसो भन्छ: “छवटा कुरालाई परमप्रभु घृणा गर्नुहुन्छ, सातवटा कुरादेखि उहाँ घिनाउनुहुन्छ—अहंकारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, असत्य बोल्ने झूटा गवाही, र दाज्यू-भाइहरूका बीचमा झगडा उठाउने मानिस।”
उहाँको अनुमोदन पाउनका लागि उहाँले स्थापित गर्नु भएका स्तरहरू बमोजिम हामीले जीवन बिताएको उहाँ चाहनु हुन्छ। उहाँको प्रेरित वचनमा हामीलाई यो आज्ञा दिइएको छ: “एउटाले अर्कोलाई नढाँट, किनभने पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत तिमीहरूले त्यागेका छौ।” (कलस्सी ३:९) ढाँटने बानी छाडन नचाहने व्यक्तिहरू उहाँको सामुन्ने ग्रहणयोग्य हुँदैनन्; तिनीहरूले उहाँबाट जीवनको वरदान पाउने छैनन्। भनौं भने, भजनसंग्रह ५:६-मा स्पष्टगरी बताइएको छ कि परमेश्वरले “झूट बोल्नेहरूलाई . . . नष्ट गर्नुहुन्छ।” प्रकाश २१:८-मा अझ यसो पनि भनिएको छ कि “झूट बोल्नेहरूको भाग” “दोस्रो मृत्यु” अर्थात् अनन्त विनाश हुने छ। अतः यसले हामीलाई झूट बोल्ने विषयमा परमेश्वरको दृष्टिकोण स्वीकार्ने ठोस कारण दिंदछ।
तर कुनै बेला, सत्य कुरा भन्नाले एउटा अप्ठ्यारो परिस्थिति अथवा आपसमा नराम्रो भाव उत्पन्न हुन्छ भने हामी के गर्न सक्छौं? झूट बोल्नु कुनै हालतमा पनि यसको उपाय हुन सक्तैन तर केही नभन्नु चाहिं यस्तो बेलामा कहिलेकाहीं मद्दतकारी हुन सक्छ। तपाईंमाथि अरूहरूले राखेको विश्वासलाई खतम पार्न अथवा ईश्वरलाई अप्रसन्न तुल्याउन, तपाईं किन ढाँट्नु हुन्छ?
डर र मानव कमजोरीको कारण, कुनै व्यक्ति झूटमा शरण लिने परीक्षामा पर्ला। यसो गर्नु सबैभन्दा सजिलो उपाय अथवा गलत प्रकारको दया देखाउनु हो। यस्तो परीक्षाको शिकार प्रेरित पत्रुस हुन गए जब तिनले तीन पटक येशू ख्रीष्टलाई अस्वीकार गरे। यसरी झूट बोलेका लागि पछि तिनी हृदयबाट नै दुःखी भए। (लूका २२:५४-६२) साँचो मनले पश्चात्ताप गरेको हुनाकारण, परमेश्वरले तिनलाई क्षमा गर्नु भयो किनभने पछि गएर तिनले सेवा गर्ने थुप्रै विशेषाधिकारहरू पाएका हामी देख्तछौं। पश्चात्तापका साथसाथै झूट नबोल्ने दृढ सङ्कल्प गऱ्यौं भने, परमेश्वरले घृणा गर्नु हुने कुरा हामीले गरेका लागि हामीले क्षमा पाउन सक्छौं।
तर झूट बोलेपछि मात्र क्षमा माग्नुको सट्टा, सत्य बोल्ने गरेर आफ्नो सृष्टिकर्तासित एउटा राम्रो सम्बन्ध कायम राख्नु होस् र अरूहरूको सामु पनि विश्वासिलो हुनु होस्। भजनसंग्रह १५:१, २-मा के भनिएको छ, सो सम्झनु होस्: “हे परमप्रभु, तपाईंको वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँडामा को रहन पाउनेछ? त्यो, जो सोझो मनले हिंड्छ, र धर्म-काम गर्छ, र हृदयले सत्य बोल्छ।” (w92 12/15)