अनुकरणकालागि विनम्रताका उदाहरणहरू
“तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ।”—भजनसंग्रह १८:३५.
१. वाच टावर सोसाइटीका भूतपूर्व अध्यक्षमा विनम्रताको कस्तो प्रमाण देख्न सकिन्छ?
छ फीटभन्दा अग्लो, ९० किलोग्रामभन्दा बढी वजन भएको जोसेफ एफ० रदरफोर्डको प्रभावशाली व्यक्तित्त्व थियो। तिनको स्वर पनि निकै प्रभावशाली थियो। आफ्नो यस्तो स्वरलाई तिनले यहोवाको नाउँलाई पहिले कहिल्यै नभएको मात्रामा परिचित गराउन मात्र नभइ मसीहीजगतका धार्मिक नेताहरूका धूर्त्याइँ पर्दाफास गर्न पनि चलाए। तिनले तिनीहरूको धर्मलाई “एउटा पासो अनि धोखा” भनी नामाकरण गरे। तर तिनका वक्तव्यहरू प्रभावकारी भए तापनि, मुख्य कार्यालयको बेथेल परिवारसँग तिनले प्रार्थना गर्दा एउटा सानो बालकले आफ्नो बाबुसँग कुरा गरेझैं लाग्थ्यो। यसरी तिनले आफ्नो सृजनहारसँगको आफ्नो आत्मियता र आफ्नो नम्रताको प्रमाण दिए। हो, तिनी सानो बालकझैं नम्र थिए।—मत्ती १८:३, ४.
२. विशेषगरि कुन क्षेत्रमा संसारका व्यक्तिहरूको तुलनामा यहोवाका जनहरू एकदम भिन्न देखिन्छन्?
२ निस्सन्देह, यहोवा परमेश्वरका सबै साँचो सेवकहरू नम्र छन्। यस परिप्रेक्ष्यमा यहोवाका सेवकहरू वर्तमान संसारका मानिसहरू भन्दा एकदम भिन्न छन्। पहिलेको तुलनामा हेर्ने हो भने आज यस संसारमा घमण्डी व्यक्तिहरूको बिगबिगी भएको छ। उच्च पद र शक्ति हासिल गर्नेहरू, धनी अनि शिक्षितहरू र अधिकांश गरीब अनि न्युनतम आवश्यकताबाट वञ्चित व्यक्तिहरू समेत घमण्डी छन्।
३. घमण्डका फलहरूबारे के भन्न सकिन्छ?
३ घमण्डमा कलह र दुर्गतिको कुनै कमी हुँदैन। वास्तवमा, यस ब्रह्माण्डका सबै विपत्तिको सुरुआत नै एउटा घमण्डी स्वर्गदूतले सृष्टिकर्ता यहोवा परमेश्वरलाई मात्र दिइनु पर्ने उपासनाको लोभ गरेकोले हुन गएको हो। (मत्ती ४:९, १०) यसको अलावा त्यस शैतान अनि दियाबल प्रथम स्त्री हव्वाको स्वाभिमानलाई मनपर्ने कुरा बनाएर तिनीलाई भर्माउन सफल भयो। निषेधित फल खाएमा असल र खराबको ज्ञान थाहा पाउने परमेश्वर हुनेछ भन्ने वचन दिंदै त्यसले त्यस प्रथम स्त्रीलाई भर्मायो। तिनी नम्र भएकी भए, ‘मलाई किन परमेश्वर जस्तो हुनुपरेको छ र’ भनेर भन्ने थिइ होली। (उत्पत्ती ३:४, ५) शारीरिक, मानसिक तथा नैतिक ढङ्गमा मानवजातिको पतित अवस्थालाई विचार गर्दा साँच्चै मानिसहरूले घमण्ड गर्नु कति अक्षम्य कुरा हो! त्यसैकारण त यहोवाले “अभिमान र अहंकार”-लाई घृणा गर्नुहुन्छ भन्नुमा कुनै आश्चर्य छैन। (हितोपदेश ८:१३) परमेश्वरको वचन, बाइबलमा यस संसारका सबै घमण्डीहरूभन्दा अति भिन्न विनम्रताका उदाहरणहरू पाइन्छन्।
यहोवा परमेश्वर नम्र हुनुहुन्छ
४. यहोवा नम्र हुनुहुन्छ भनेर कुन शास्त्रपदहरूले देखाउँछ?
४ सर्वोच्च, ब्रह्माण्डका सार्वभौमसत्ताधारी, अनन्तका महाराजा यहोवा परमेश्वर नम्र हुनुहुन्छ। (उत्पत्ती १४:२२) के यो सम्भव छ र? निश्चय नै सम्भव छ! भजनसंग्रह १८:३५-मा लेखबद्ध गरिएअनुसार राजा दाऊदले यसो भने: “तपाईंले आफ्नो मुक्तिको ढाल पनि मलाई दिनुभएको छ। तपाईंको दाहिने बाहुलीले मलाई समातेको छ, र तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ।” स्पष्ट छ, दाऊदले आफ्नो महानताको श्रेय यहोवाको नम्रतालाई दिए। फेरि हामी भजनसंग्रह ११३:६-मा यहोवा “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ” भनेर पढ्छौं। अरू अनुवादहरूले यसै पदलाई “तल हेर्न झुक्नु- हुन्छ,” (न्यु इन्टरनेशनल भर्सन) “तलसम्म हेर्ने कृपा गर्नुहुन्छ” (द न्यु इङ्गलिस बाइबल) भनेर उल्लेख गरेका छन्।
५. यहोवाको विनम्रतालाई कुन घटनाहरूले पुष्टि दिन्छ?
५ अब्राहामसँग उहाँले जुन ढङ्गमा व्यवहार गर्नुभयो त्यसमा साँच्चै नै यहोवा झुक्नुभयो। सदोम र गमोराका दुष्ट मानिसहरूलाई नाश गर्ने सिलसिलामा उहाँको धार्मिकतामाथि अब्राहामलाई प्रश्न उठाउने मौका दिनुभयो।a (उत्पत्ति १८:२३-३२) यहोवाले इस्राएलको राष्ट्रलाई—मूर्तिपूजा र पछि विद्रोहको लागि नाश गर्ने इच्छा प्रकट गर्नुहुँदा मोशाले प्रत्येक पटक एउटा मानिससँग कुरा गरेझैं यहोवासँग तर्क गरे। यहोवाले हर पटक अनुग्रहपूर्वक त्यसको प्रत्युत्तर दिनुभयो। आफ्नो जनहरूको सम्बन्धमा मोशाको बिन्ति पूरा गर्न उहाँले विनम्रता दर्शाउनुभयो। (प्रस्थान ३२:९-१४; गन्ती १४:११-२०) व्यक्ति-व्यक्तिको आधारमा मानिसहरूसँग यहोवाको नम्र व्यवहारको अन्य उदाहरणहरूबारे चर्चा गर्ने हो भने गिदोन र योनासँग उहाँले गर्नुभएको व्यवहारलाई पनि लिन सकिन्छ। यी विवरणहरू न्यायकर्ता ६:३६-४० र योना ४:९-११ मा लेखबद्ध छन्।
६. यहोवाका अन्य कुन गुणहरूले उहाँको विनम्रतालाई अझ प्रकट गर्छ?
६ वास्तवमा, कमसेकम नौ पटक यहोवालाई “रीस गर्नमा ढीलो” भनेर भनिएको छ।b हजारौं वर्षदेखि मानिसहरूसँगको व्यवहारमा यहोवा धीरजी, रीस गर्नमा ढीलो हुनु नै उहाँ नम्र हुनुहुन्छ भन्ने थप प्रमाण हो। घमण्डी मानिसहरू धीरजको विपरीत अधीर र छिटो रीस पोखाउने खालका हुन्छन्। यहोवाको विनम्रतासमक्ष असिद्ध मानिसहरूको घमण्ड कति असंगत कुरो हो! हामीहरूलाई “प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ” भनी भनिएको हुँदा हामी पनि उहाँ जस्तै नम्र हुनुपर्छ।—एफिसी ५:१.
ख्रीष्टको विनम्रताको उदाहरण
७, ८. येशू ख्रीष्टको विनम्रताबारे शास्त्रपदहरूले के भन्छ?
७ हामीले अनुकरण गर्नुपर्ने विनम्रताको दोस्रो ज्वलन्त उदाहरण, १ पत्रुस २:२१-मा यसरी उल्लिखित छ: “किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” मानवको रूप लिएर आउनुभन्दा धेरै नै अघि उहाँबारे जकरिया ९:९-मा यसरी भविष्यवाणी गरिएको थियो: “हे सियोनकी छोरी, खूब रमाऊ! हे यरूशलेमकी छोरी, जयजयकार गर! हेर, तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ। उहाँ पराक्रमी र विजयी हुनुहुन्छ। उहाँ दीन हुनुहुन्छ र गधामाथि, अर्थात् गधैनीको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।” येशू ख्रीष्ट घमण्डी हुनुभएको भए, ढोगेजस्तो मात्र गरेमा सारा संसारै दिन्छु भनी दियाबलले राखेको प्रस्तावलाई उहाँले स्वीकार्नु हुन्थ्यो होला। (मत्ती ४:९, १०) आफ्नो शिक्षाको सबै श्रेय यहोवालाई दिनुभएर पनि उहाँले आफ्नो विनम्रता देखाउनुभयो। उहाँले यसो भन्नुभयो: “जब तिमीहरूले मान्छेको पुत्रलाई उचालेका हुनेछौं, तब म उहीं हुँ, औ म आफै केही गर्दिनँ, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु भनेर तिमीहरूले थाह पाउनेछौ।”—यूहन्ना ८:२८.
८ पूर्ण औचित्यकासाथ उहाँले आफ्ना स्रोताहरूलाई यसो भन्न सक्नुभयो: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” (मत्ती ११:२९) मानवको रूपमा आफ्ना प्रेरितहरूसँग अन्तिम रात बिताउनु हुँदा उहाँले तिनीहरूको पाउ धोइदिनु भएर नम्रताको कति राम्रो उदाहरण बसाल्नुभयो! (यूहन्ना १३:३-१५) अतः येशू ख्रीष्टलाई नमूनाको रूपमा उद्धृत गर्दै फिलिप्पी २:३-८ मा प्रेरित पावल पूर्ण औचित्यकासाथ मसीहीहरूलाई “नम्रता” धारण गर्न सल्लाह दिन्छन्: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” आफ्नो जीवनको सबैभन्दा ठूलो संकटको सामना गर्नुपर्दा पनि उहाँले नम्रतापूर्वक आफ्नो पितालाई यसरी प्रार्थना गर्नुभयो: “मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छाबमोजिम होस्।” (मत्ती २६:३९) येशू ख्रीष्टको अनुयायी भएर उहाँको पदचिह्नलाई राम्ररी पछ्याउन निश्चय नै हामी नम्र हुनै पर्छ।
प्रेरित पावल, विनम्रताको एउटा असल उदाहरण
९-१२. कुन कुन ढङ्गमा प्रेरित पावलले विनम्रताको असल उदाहरण बसाले?
९ प्रेरित पावलले लेखे: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरिन्थी ११:१) हाम्रो लागि नम्रताको अर्को अनुकरणीय उदाहरण बन्न के प्रेरित पावलले नम्र प्रवृत्तिको भएर येशू ख्रीष्टको अनुकरण गरे? निश्चय नै गरे। प्रथमतः, तिनले नम्रतापूर्वक आफू येशू ख्रीष्टको दास हो भनी स्वीकारे। (फिलिप्पी १:१) ‘आफूमाथि परिआएका परीक्षामा, र प्रशस्त आँसु र बिलकुल मनको नम्रतासँग प्रभुको सेवा गरेको’ कुरा तिनले एफिसीका प्राचीनहरूलाई बताए। (प्रेरित २०:१७-१९) तिनी नम्र नभएको भए रोमी ७:१८, १९-का यी शब्दहरू कहिल्यै लेख्ने थिएनन् होला: “किनकि मलाई थाह छ, कि ममा, अर्थात् मेरो शरीरमा कही असल कुराले बास गर्दैन . . . किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु।”
१० पावलको विनम्रतालाई संकेत गर्ने अर्को कुरा कोरिन्थीका मसीहीहरूलाई लेखेका वचनहरू पनि हुन्। यी वचनहरू हामी १ कोरिन्थी २:३-मा यसरी लेखबद्ध गरेको पाउँछौं: “म कमजोरी भएर डराउँदै र ज्यादै कम्पमा तिमीहरूसँग रहें।” आफू मसीही बन्नुअघि पहिल्याएको मार्गलाई नम्रतापूर्वक उल्लेख गर्दै तिनले लेखे: “म अघाड़ि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिएँ, . . . ख्रीष्ट येशू संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभएको हो। तिनीहरूमध्ये मचाहिं मुख्य हुँ।”—१ तिमोथी १:१३, १५.
११ आफ्नो प्रयत्नहरूमा पाएका सबै सफलताहरूको श्रेय यहोवालाई दिनुमा पनि तिनको नम्रता झल्कन्छ। आफ्नो सेवकाईबारे तिनले यसो भनेर लेखे: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्वरले चाहिं बढ़ाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, बढाउने परमेश्वरनै हुनुहुन्छ।” (१ कोरिन्थी ३:६, ७) आफूले एउटा राम्रो साक्षी दिन सकोस् भनेर तिनले आफ्ना भाइहरूलाई तिनको निम्ति प्रार्थना गर्न बिन्ति समेत गरे। एफिसी ६:१८-२० मा हामी यसबारे यस्तो विवरण पाउँछौं: “खुरन्धार अन्तरबिन्ती गर। . . . औ मेरो पक्षमा पनि, कि . . . मैले मेरो मुख खोल्दा मलाई उच्चारण गर्न दिइओस्, . . . जसरी मैले बोल्नुपर्ने हो, त्यसमा म साहससँग बोल्नसकूँ।”
१२ अरू प्रेरितहरूसँग पावलले जुन ढङ्गमा मिलेर काम गरे त्यसमा पनि तिनले विनम्रता दर्साए: “याकूब, केफास र यूहन्ना [ले] . . . मलाई र बर्णाबासलाई सङ्गतिको दाहिने हात दिएर हामी चाहिं अन्यजातिकहाँ जाने र उनीहरू चाहिं खतनाका मानिसहरूकहाँ जाने भने।” (गलाती २:९) यरूशलेमका प्राचीनहरूसँग मिलेर काम गर्ने इच्छुकतालाई अझ स्पष्टसँग देखाउन एकपटक तिनी स्वयं र अन्य चार जवान मानिसहरूले भाकल पूरा गरेपछि तिनीहरूलाई लिएर पावल मन्दिरमा गए र ती चार जवानहरूको खर्च समेत टारिदिए।—प्रेरित २१:२३-२६.
१३. कुन कुराले पावलको विनम्रतालाई त्यति विशिष्ट बनायो?
१३ यहोवा परमेश्वरले पावललाई जति प्रभावकारी ढङ्गमा चलाउनुभयो त्यसलाई विचार गऱ्यौं भने पावलको नम्रता झनै विशिष्ट देखिन्छ। उदाहरणको लागि “परमेश्वरले पावलको हातबाट विशेष आश्चर्यकामहरू गर्नुभयो” भनेर हामी पढ्छौं। (प्रेरित १९:११, १२) यसको अतिरिक्त तिनलाई अलौकिक दर्शन र प्रकाशहरू दिइयो। (२ कोरिन्थी १२:१-७) यस प्रसङ्गमा मसीही युनानी शास्त्रका २७ वटा पुस्तकहरूमध्ये १४ वटा पुस्तकहरू (यथार्थमा पत्रहरू) लेख्न तिनी प्रेरित भएको कुरालाई पनि हामीले भुल्नु हुँदैन। यीमध्ये कुनै पनि कुराले वास्तवमा भन्ने हो भने तिनलाई घमण्डी बनाएन। तिनी नम्र भएर बसे।
आधुनिक-दिनका उदाहरणहरू
१४-१६. (क) वाच टावर सोसाइटीका पहिलो अध्यक्ष कसरी विनम्रताको असल उदाहरण थिए? (ख) कसको उदाहरणसँग तिनको उदाहरण एकदम भिन्न छ?
१४ हिब्रू १३:७-मा प्रेरित पावलको यस्तो सल्लाह पाउँछौं: “तिमीहरूलाई परमेश्वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्वासको देखा-सिकी गर।” यस सिद्धान्तअनुसार हामी आधुनिक-दिनको उदाहरणस्वरूप वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीको पहिलो अध्यक्ष, चार्ल्स टेज रसललाई लिनसक्छौं। हामीले तिनको विश्वासको अनुकरण गर्नुपर्छ। के तिनी नम्र थिए? निस्सन्देह, थिए! धेरैलाई थाह भएकै कुरा हो, लगभग ३,००० पृष्ठ भएका छ खण्डे स्टडीज इन द स्क्रीप्चर्स भन्ने पुस्तकमा, एकपटक पनि तिनले आफ्नो नाउँ उल्लेख गरेनन्। यसै सिद्धान्तलाई पछ्याउँदै आज वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका प्रकाशनहरूले लेखकको नाउँ प्रकाशमा ल्याएर तिनीहरूमाथि ध्यान केन्द्रित गराउँदैनन्।
१५ एकपटक वाच टावर-मा रसलले आफ्ना विरोधीहरूले चलाउने “रसलवाद” र “रसेलवादी” भन्ने जस्ता शब्दहरू आफूलाई थाह नभएको कुरा लेखे र स्पष्टसँग तिनले त्यसलाई इन्कार पनि गरे। तिनले लेखे: “हाम्रो काम . . . वषौंदेखि टुक्रिएर र छरिएर रहेका सत्यका अंशहरूलाई जम्मा गर्दै प्रभुको जनहरूसमक्ष—नयाँ वा आफ्नै जस्तो बनाएर होइन तर प्रभुको जस्तो गरी प्रस्तुत गर्नु हो। . . . जुन काममा प्रभुले हाम्रा नम्र दक्षताहरूलाई प्रयोग गर्न चाहनुभएको छ त्यो काम थालनी नभएर पुनःनिर्माण, समायोजन र सामंजस्य गर्ने काम हो।” पहिलो कोरिन्थी ३:५-७ मा प्रेरित पावलको भावनालाई साँच्चै नै तिनले प्रकट गरे।
१६ तिनको मनोवृत्ति चार्ल्स डार्विनकोभन्दा ठीक विपरीत थियो। सन् १८५९-मा प्रकाशित द ओरिजिन अफ स्पिसिज पुस्तकको पहिलो संस्करणमा डार्विनले आफूभन्दा अघिकाहरूले विकासवाद सम्बन्धी भनेका कुरालाई पूर्णतः बेवास्ता गर्दै बारम्बार “मेरो” सिद्धान्त भनेर उल्लेख गरे। यस प्रसङ्गलाई लिएर त्यसै शताब्दीका उल्लेखनीय लेखक, शामूएल बटलरले डार्विनको कटु आलोचना गरे। तिनले डार्विनको सिद्धान्त कुनै पनि हालतमा मौलिक नभएको र त्यसअघि निकै व्यक्तिहरूले विकासवादको सिद्धान्तमाथि प्रगति गरिसकेको तथ्यलाई औंल्याए।
१७. भाइ रदरफोर्डको विनम्रताका अन्य उदाहरणहरू के के हुन्?
१७ आधुनिक समयमा यहोवा परमेश्वरले प्रभावशाली ढङ्गमा चलाउनु भएको अर्को विश्वासी सेवक जोसेफ एफ० रदरफोर्ड पनि हुन्, जसको उल्लेख यस लेखको प्रारम्भमा गरिएको थियो। बाइबलका सत्य कुराहरू र विशेषगरि यहोवाको नाउँको तिनी निडर अधिवक्ता थिए। जज रदरफोर्डको नाउँबाट प्रख्यात भए तापनि तिनी हृदयमा भने नम्र थिए। उदाहरणको लागि, सन् १९२५-मा मसीहीहरूले कुन कुराको प्रत्याशा गर्न सक्छन् भन्नेबारे तिनले एकपटक केही आधिकारिक बयान दिए। पछि आफ्नो प्रत्याशाअनुरूप घटनाहरू नघट्दा तिनले ब्रुकलिन बेथेल परिवारसमक्ष आफूले गलत अनुमान लगाएको कुरा नम्रतापूर्वक स्वीकारे। आफ्नो अविवेचित वचनद्वारा सङ्गी मसीहीको चित्त दुखाएकोमा मत्ती ५:२३, २४ अनुरूप जनसमक्ष र व्यक्तिगत रूपमा तिनले क्षमा मागेको निकै पटक देखे भनेर तिनीसँग निकै घनिष्ठ भएको एक जना अभिषिक्त मसीहीले पनि पुष्टि दिए। आफ्नो अधीनमा भएका मानिसहरू सामू एउटा अख्तियारपूर्ण ओहदामा बसेको व्यक्तिले क्षमा माग्न नम्रताको खाँचो पर्छ। चाहे मण्डली, परिभ्रमण कार्य वा सोसाइटीको शाखा कार्यालय नै किन नहोस्, सबै निरीक्षकहरूका निम्ति भाइ रदरफोर्डले एउटा राम्रो उदाहरण बसाले।
१८. नम्रता प्रकट गर्ने कस्तो अभिव्यक्ति सोसाइटीका तेस्रो अध्यक्षले गरे?
१८ वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका तेस्रो अध्यक्ष नेथन एच० नोर यहोवाका जनहरूबीच आफू प्रमुख भए तापनि आफ्नो ओहदाको कारण तिनले आफूलाई महिमित भएको महसुस गरेनन्। तिनी राम्रो व्यवस्थापन गर्ने र जनसमक्ष वक्तव्य दिने कुरामा निपुण थिए। तथापि, अरूहरूको कामप्रति तिनले ठूलो आदर देखाउँथे। त्यसैकारण, एक पटक लेखन शाखाका एक जना सदस्यलाई उसकै अफिसमा भेट्न जाँदा तिनले यसो भने: “यस शाखामा सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा गाह्रो काम हुन्छ। त्यसैकारण त म यो काम ज्यादै कम गर्छु।” हो, ‘नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान’ भन्ने फिलिप्पी २:३-को सल्लाहलाई तिनले नम्रतापूर्वक पालन गरिरहेका थिए। सोसाइटीका अध्यक्ष भएर काम गर्नु महत्त्वपूर्ण भए तापनि अरू कामहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् भन्ने कुरालाई तिनले मूल्याङ्कन गरे। यस्तो महसुस गर्न र त्यसलाई स्पष्ट शब्दहरूमा व्यक्त गर्न तिनी विनम्र हुनुपर्थ्यो। हामी सबै र विशेषगरि निरीक्षण गर्ने प्रतिष्ठित ओहदामा बस्नेहरूका लागि तिनी अर्को असल अनुकरणीय उदाहरण हुन्।
१९, २०. (क) सोसाइटीका चौथो अध्यक्षले विनम्रताको कस्तो उदाहरण बसाले? (ख) विनम्रताको अभ्यास गर्ने सम्बन्धमा आउँदो लेखले कस्तो मदत दिनेछ?
१९ सोसाइटीका चौथो अध्यक्ष, फ्रेड डब्ल्यु० फ्रान्ज पनि विनम्रताका असल उदाहरण थिए। लगभग ३२ वर्ष उपाध्यक्षको रूपमा तिनले पत्रिकाहरू र सम्मेलनका धेरैजसो कार्यक्रमहरू लेख्ने काम गरे। तथापि, यो काममा तिनले सधैं आफूलाई पृष्ठभूमिमा राखे र कहिल्यै श्रेय लिने कोशिश गरेनन्। यस सम्बन्धमा एउटा तुलनायोग्य प्राचीन उदाहरण उद्धृत गर्न सकिन्छ। योआबले रब्बामा अम्मोनीहरूलाई पराजित गर्दा त्यस विजयको श्रेय दाऊदले पाउन् भनी तिनले पक्का गरे।—२ शमूएल १२:२६-२८.
२० साँच्चै नै अतीत र वर्तमानका थुप्रै असल उदाहरणहरू छन्। यिनीहरूले हामीलाई नम्र हुन जोडदार कारणहरू दिन्छ। तथापि, हामी नम्र हुनु पर्ने अझ थुप्रै कारणहरू छन्। आउँदो लेखमा यी कारणहरूका साथै नम्र हुने सहायकहरूको छलफल गरिनेछ। (w93 12/1)
[फुटनोटहरू]
a “निहुरिनु” भन्ने शब्दलाई प्रायः “श्रेष्ठताको भावना लिनु” भन्ने अर्थमा चलाइन्छ। तर यसको मुख्य अर्थ—र न्यु वर्ल्ड ट्रान्सलेसन-मा यसको अर्थ—“रूखो नहुनु,” “प्रतिष्ठाहरूलाई बेवास्ता गर्नु” हुन्छ।—वेब्सटर्स नाइन्थ न्यु कलिजियट डिक्सनरी हेर्नुहोस्।
b प्रस्थान ३४:६; गन्ती १४:१८; नहेम्याह ९:१७; भजनसंग्रह ८६:१५; १०३:८; १४५:८; योएल २:१३; योना ४:२; नहुम १:३.
के तपाईंलाई याद छ?
▫ घमण्डका कस्ता फलहरू देखिएका छन्?
▫ विनम्रताको सबैभन्दा असल उदाहरण कसले बसाल्नुभएको छ?
▫ विनम्रताको दोस्रो ठूलो उदाहरणको को हुनुहुन्छ भन्नेबारे कुन कुराले देखाउँछ?
▫ प्रेरित पावलले विनम्रताको कस्तो असल उदाहरण बसाले?
▫ विनम्रतासम्बन्धी आधुनिक-दिनका कस्ता श्रेष्ठ उदाहरणहरू हामीसँग छन्?
[पृष्ठ ७-मा भएको चित्र]
येशूले विनम्रताको राम्रो प्रदर्शन गर्नुभयो
[पृष्ठ ८-मा भएको चित्र]
पावलले विनम्रताको एउटा असल उदाहरण बसाले
[पृष्ठ ९-मा भएको चित्र]
आफूले लेखेका कुराहरूको श्रेय भाइ रसलले लिएनन्