नम्रहरू धन्यका हुन्
“परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” —१ पत्रुस ५:५.
१, २. डाँडाको उपदेशमा येशूले नम्रतालाई कसरी आनन्दसँग जोड्नुभयो?
आनन्द र नम्रताबीच के कुनै सम्बन्ध छ? आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष, येशू ख्रीष्टले आफ्नो प्रसिद्ध डाँडाको उपदेशमा नौवटा आनन्द वा सुखको वर्णन गर्नुभयो। (मत्ती ५:१-१२) के येशूले आनन्द भन्ने कुरालाई नम्रतासँग जोड्नुभयो? हो, उहाँले त्यसै गर्नुभयो, किनभने उहाँले उल्लेख गर्नुभएको धेरैजसो आनन्दमा नम्रता मुछिएको छ। उदाहरणको लागि आफ्नो आध्यात्मिक आवश्यकताप्रति चेतनशील हुन एक जना व्यक्ति नम्र हुनु आवश्यक छ। नम्रहरू मात्र धार्मिकताका लागि भोकाउँछन् अनि तिर्खाउँछन्। घमण्डीहरू मृदुल स्वभावको र दयालु हुँदैनन् न त तिनीहरू शान्तिदायक हुन्छन्।
२ नम्रहरू आनन्दित हुन्छन् किनभने नम्र हुनु न्यायसंगत र इमानदार कुरा हो। यसको अलावा, नम्रहरू आनन्दित हुन्छन् किनभने नम्र हुनु बुद्धिमानी कुरा हो; त्यसले परमेश्वर र आफ्ना सङ्गी मसीहीहरूसँगको सम्ब- न्धलाई बलियो बनाउँछ। यसबाहेक, नम्र मानिसहरू आनन्दित हुन्छन् किनभने नम्र हुनु भनेको प्रेमको भाव व्यक्त गर्नु हो।
३. इमानदारीले हामीलाई कसरी नम्र हुन बाध्य बनाउँछ?
३ इमानदार हुन किन नम्र हुनुपर्छ? एउटा कारण त हामी सबैले असिद्धता पाएकाछौं र बेला-बेलामा गल्तीहरू गर्छौं। प्रेरित पावलले आफ्नै विषयलाई लिएर यसो भने: “किनकि मलाई थाह छ, कि ममा, अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन।” (रोमी ७:१८) हो, हामी सबैले पाप गरेका छौं र परमेश्वरको महिमारहित हुन्छौं। (रोमी ३:२३) इमानदारी छ भने त्यसले हामीलाई घमण्डी हुनदेखि रोक्नेछ। भूल स्वीकार्न नम्रताको आवश्यकता पर्छ भने इमानदारीले हामीलाई भूल स्वीकार्न मदत गर्नेछ। हामीले जे गर्न कोशिश गर्छौं त्यसैमा चुक्ने हुँदा, हामी नम्र हुनु पर्ने एउटा राम्रो कारण छ।
४. हामी नम्र हुने सम्बन्धमा १ कोरिन्थी ४:७-ले कस्तो जोडदार कारण बताउँछ?
४ इमानदारीले हामीलाई नम्र किन बनाउनुपर्छ भन्ने सम्बन्धमा प्रेरित पावल अर्को कारण दिन्छन्। तिनी भन्छन्: “तिमीलाई कसले छुट्ट्याउँछ र? तिमीले नपाएको के छ र? तर तिमीले पाएका छौ भने, त्यो नपाए जस्तैगरी किन घमण्डले फूल्दछौ?” (१ कोरिन्थी ४:७) निस्सन्देह, आफै गौरव लिनु, आफ्नो सर-सम्पत्ति, योग्यता वा उपलब्धिमाथि घमण्ड गर्नु इमानदारी हुने छैन। हामी “सबै कुरामा इमान्दारीसाथ” चल्न सकोस् भनेर परमेश्वरसमक्ष राम्रो अन्तस्करण राख्न इमानदारीले योगदान दिन्छ।—हिब्रू १३:१८.
५. कुनै एउटा गल्ती गर्दा इमानदारीले हामीलाई कसरी मदत गर्नेछ?
५ गल्ती गर्दा इमानदारीले हामीलाई नम्र हुन मदत गर्छ। आफ्नो सफाइ दिने कोशिश गर्नु वा अरूमाथि दोषारोपण गर्नुको सट्टा नम्रताले आफ्नो भूल स्वीकार्न तयार बनाउँछ। त्यसैकारण आदमले हव्वालाई दोष लगाए तापनि, दाऊदले भने बेतशेबालाई यसो भन्दै दोष लगाएनन् ‘कौसीमा छ्याङ्ग देख्नेगरि ननुहाएकी भए म परीक्षामा पर्ने नै थिइँन नि।’ (उत्पत्ति ३:१२; २ शमूएल ११:२-४) साँच्चै भन्ने हो भने, एकतर्फ इमानदारीले हामीलाई नम्र हुन मदत गर्छ भने अर्कोतर्फ नम्रताले हामीलाई इमानदार हुन मदत गर्छ।
यहोवामाथिको विश्वासले हामीलाई नम्र हुन मदत गर्छ
६, ७. परमेश्वरमाथिको भरोसाले हामीलाई कसरी नम्र हुन मदत गर्छ?
६ यहोवामाथिको विश्वासले पनि हामीलाई नम्र हुन मदत गर्छ। विश्व ब्रह्माण्डको सार्वभौम सत्ताधारी, सृष्टिकर्ताको महानतालाई मूल्याङ्कन गऱ्यौं भने हामीले आफैलाई महान सम्झनदेखि रोक्नेछौं। यस प्रसङ्गमा अगमवक्ता यशैयाले भनेका ती शब्दहरू कति मेल खान्छ! यशैया ४०:१५, २२-मा हामी यसो लेखिएको पाउँछौं: “हेर, उहाँको लेखामा सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र छन्, र तराजूमा टाँसेको धूलोजस्तै गनिएका छन्। . . . उहाँ तिनै हुनुहुन्छ जो पृथ्वीभन्दा उच्चमा विराजमान हुनुहुन्छ, र पृथ्वीका बासिन्दाहरू चाहिं फटेंग्राजस्तै छन्।”
७ हामीमाथि अन्याय भए जस्तो महसुस गरेका छौं भने पनि यहोवामाथिको विश्वासले हामीलाई मदत गर्नेछ। ठुस्केर एकतर्फ बस्नुको सट्टा भजनसंग्रह ३७:१-३, ८, ९-मा भजनरचयिताले भनेझैं हामी नम्रतापूर्वक यहोवाको मुख ताक्नेछौं। प्रेरित पावलले पनि त्यस्तै कुरा भन्छन्: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्नुहुन्छ, ‘म बदला फेर्नेछु।’”—रोमी १२:१९.
विनम्रता—बुद्धिको मार्ग
८. विनम्रताले किन यहोवासँग बलियो सम्बन्ध बनाउँछ?
८ नम्रता बुद्धिको मार्ग हुनुमा थुप्रै कारणहरू छन्। एउटा त माथि देखाएझैं यसले हाम्रो सृष्टिकर्तासँग बलियो सम्बन्ध बनाउँछ। हितोपदेश १६:५-मा परमेश्वरको वचनले स्पष्ट भन्छ: “अहंकारी मानिस, सबका सब, परमप्रभुको दृष्टिमा घृणित छन्।” हितोपदेश १६:१८-मा पनि हामी यसो भनेको पाउँछौं: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” ढिलो-चाँडोको कुरा मात्र हो, घमण्डी मानिसहरूले एक न एक दिन दुःख भोग्छन्। वास्तवमा हुनु पर्ने पनि त्यस्तै नै हो, किनभने १ पत्रुस ५:५-मा हामी यसो भनिएको पाउँछौं: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर। किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” फरिसी र महसुल उठाउनेले चढाइरहेको प्रार्थनाबारे येशूले दिनुभएको दृष्टान्तमा पनि हामी त्यही कुरा पाउँछौं। ती दुईमध्ये धर्मी साबित भएका त्यही महसुल उठाउने नम्र व्यक्ति थिए।—लूका १८:९-१४.
९. संकष्टको समयमा विनम्रताले कस्तो मदत दिन्छ?
९ विनम्रता बुद्धिको मार्ग हो किनभने विनम्रताले हामीलाई याकूब ४:७-को सल्लाह स्वीकार्न सजिलो बनाउँछ: “परमेश्वरको अधीनमा बस।” हामी नम्र छौं भने, यहोवाले संकष्ट भोग्ने अनुमति दिनुहुँदा विरोध गर्नेछैनौं। विनम्रताले हाम्रा परिस्थितिहरूप्रति सन्तुष्ट हुन र त्यसलाई सहन मदत गर्छ। एक जना घमण्डी व्यक्ति असन्तुष्ट हुन्छ। ऊ सदैव बढी कुराको चाह गर्छ र कठिन परिस्थितिहरू आइपर्दा विद्रोह गर्छ। अर्कोतर्फ, नम्र व्यक्तिहरू अय्यूबलेझैं कठिनाइ र परीक्षाहरू सहन्छन्। सबै धन सम्पत्ति गुमाउनु परेको अय्यूब अति नै कष्टप्रद रोगले समेत पिल्सिएका थिए र तिनकी पत्नीले समेत यसो भन्दै अभिमानको मार्गमा चल्ने सल्लाह दिइन्: “परमेश्वरलाई सरापेर मरे असल हुन्छ।” यो सुनेर अय्यूबले कस्तो जवाफ दिए त? यसबारे बाइबलले यस्तो विवरण दिन्छ: “तर अय्यूबले जवाफ दिए: ‘तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्छौ। परमेश्वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नू र?’ यी सबै कुरामा अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:९, १०) अय्यूब नम्र भएको हुनाकारण तिनले विद्रोह गरेनन् बरु यहोवाले तिनीमाथि जे जे हुनदिनुभयो त्यसलाई तिनले बुद्धिमानीपूर्वक सहे। अन्ततः तिनले प्रशस्त आशिषहरू पाए।—अय्यूब ४२:१०-१६; याकूब ५:११.
विनम्रताले अरूहरूसँग बलियो सम्बन्ध बनाउँछ
१०. हाम्रा सङ्गी विश्वासीहरूसितको सम्बन्धलाई विनम्रताले कसरी बलियो बनाउँछ?
१० विनम्रता बुद्धिको मार्ग हो किनभने यसले हाम्रो सङ्गी मसीहीहरूसँग बलियो सम्बन्ध बनाउँछ। प्रेरित पावल यसप्रकार ठीकै सल्लाह दिन्छन्: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ।” (फिलिप्पी २:३, ४) अरूहरूसँग प्रतिस्पर्धा गर्ने वा अरूहरूलाई उछिन्ने जस्ता कुराहरूदेखि विनम्रताले हामीलाई बुद्धिमानीपूर्वक टाढा राख्नेछ। त्यस्तो मनोवृत्तिले हामी र हाम्रा सङ्गी मसीहीहरूका लागि समस्याहरू खडा गर्छ।
११. किन विनम्रताले हामीलाई गल्ती गर्नदेखि रोक्नेछ?
११ प्रायजसो सबै परिस्थितिहरूमा विनम्रताले हामीलाई गल्ती गर्नदेखि रोक्नेछ। कसरी? किनभने विनम्रताले हामीलाई अनावश्यक रूपमा विश्वस्त हुन दिनेछैन। बरु हामी १ कोरिन्थी १०:१२-मा पावलले दिएका यस सल्लाहको मूल्याङ्कन गर्नेछौं: “म खड़ा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्, नत्रता त्यो लड़छ।” घमण्डी व्यक्तिमा बढ्तै आत्मविश्वास भएको हुनाले बाहिरी प्रभावहरू र आफ्नै कमजोरीहरूको कारण गल्तीहरू गरिरहने सम्भावना हुन्छ।
१२. विनम्रताले कुन चाहिं शास्त्रीय आवश्यकता पूरा गर्न हामीलाई उस्काउनेछ?
१२ अधीनतामा बस्न चाहिने आवश्यकता पूरा गर्न विनम्रताले हामीलाई मदत गर्नेछ। एफिसी ५:२१-मा हामीलाई यो सल्लाह दिइएको छ: “ख्रीष्टको भयमा एउटा अर्कोको अधीनमा बस।” वास्तवमा भन्ने हो भने, के हामी सबै नै अधीनमा बस्नु आवश्यक छैन र? छोराछोरीहरू आफ्नो बाबुआमाको, पत्नीहरू पतिको र पतिहरू ख्रीष्टको अधीनमा बस्नु आवश्यक छ। (१ कोरिन्थी ११:३; एफिसी ५:२२; ६:१) त्यसपछि हरेक मसीही मण्डलीमा, सहायक सेवकहरू लगायत सबैले प्राचीनहरूप्रति अधीनता देखाउनुपर्छ। सबै प्राचीनहरू विश्वासी दास वर्ग, विशेषगरि दास वर्गको प्रतिनिधित्व गर्ने परिभ्रमण निरीक्षकको अधीनमा बस्नुपर्ने कुरा पनि के साँचो होइन र? त्यसपछि फेरि त्यही परिभ्रमण निरीक्षकहरू जिल्ला निरीक्षकको अधीनमा र जिल्ला निरीक्षकहरू आफू सेवारत देशको शाखा संचालक समितिको अधीनमा बस्नुपर्ने हुन्छ। शाखा संचालक समितिका सदस्यहरूहरू चाहिं कसको अधीनमा बस्ने नि? तिनीहरू पनि “एउटा अर्कोको अधीनमा” अनि परिचालक निकायको अधीनमा बस्नुपर्छ। त्यसपछि “विश्वासी र बुद्धिमानी दास”-लाई प्रतिनिधित्व गर्ने परिचालक निकायले गद्दीनसिन राजा येशूसमक्ष लेखा दिनुपर्ने हुन्छ। (मत्ती २४:४५-४७) प्राचीनहरूको सबै निकायहरूमाझैं, परिचालक निकायका सदस्यहरूले पनि एक अर्कोको विचारलाई मान्यता दिनुपर्छ। उदाहरणका लागि कसैले आफूसँग एउटा उत्तम युक्ति भएको महसुस गर्ला। तर पर्याप्त सदस्यहरू उसको युक्तिसँग सहमत नभएसम्म उसले आफ्नो युक्तिलाई पन्छाएर एकातर्फ राख्नु पर्ने हुन्छ। साँच्चै भन्ने हो भने, हामी सबै जना कसै न कसैको अधीनमा भएको हुँदा हामी सबैलाई विनम्रताको आवश्यकता पर्छ।
१३, १४. (क) विशेषगरि कस्तो परिस्थितिमा विनम्रताले हामीलाई मदत गर्नेछ? (ख) सल्लाह स्वीकार्ने सम्बन्धमा पत्रुसले कस्तो उदाहरण छाडे?
१३ विशेषतः विनम्रताले हामीलाई सल्लाह र अनुशासन स्वीकार्न सरल बनाइदिने हुँदा विनम्रता बुद्धिको मार्ग देखिएको हो। समय-समयमा हामी सबैलाई अनुशासनको खाँचो पर्छ। तर यस्तो बेला हामीले हितोपदेश १९:२०-को यस सल्लाहलाई पालन गऱ्यौं भने असलै गर्नेर्छौं: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर, यसरी बुद्धिमान भएर तिमी मर्नेछौ।” पूर्ण औचित्यका साथ माथि भनिएझैं विनम्रताले ताडना वा अनुशासन पाउँदा हुने कटुतालाई कम गर्छ। यसको अलावा, अनुशासनलाई नम्रतापूर्वक स्वीकार्ने बुद्धिमताबारे हिब्रू १२:४-११ मा प्रेरित पावल हामीलाई सल्लाह दिन्छन्। यसरी मात्र हामी आफ्नो भावी पथलाई बुद्धिमानीपूर्वक डोऱ्याउने र बदलामा अनन्त जीवनको इनाम पाउने आशा गर्नसक्छौं। साँच्चै नै त्यो कस्तो आनन्ददायी नतिजा हुनेछ!
१४ यस प्रसङ्गमा हामी प्रेरित पत्रुसको उदाहरणलाई औंल्याउन सक्छौं। तिनले प्रेरित पावलको कडा सल्लाह सुन्नु पऱ्यो, जुन कुरा हामी गलाती २:१४-को यस विवरणबाट थाह पाउँछौं: “तर सुसमाचारको सत्यबमोजिम तिनीहरू नचलेका जब मैले देखें, तब मैले तिनीहरू सबैको सामु केफासलाई [पत्रुस] भनें, ‘तपाईं यहूदी भईकन पनि यहूदीहरूको रीतिबमोजिम नचली अन्यजातिहरूका रीतिअनुसार चल्नुहुन्छ भने अन्यजातिहरूलाई तपाईंले कसरी यहूदीहरूको रीतिबमोजिम चल्नालाई कर लाउनुहुन्छ?’” के यो सुनेर प्रेरित पत्रुसलाई नमिठो लाग्यो? लागेकै भए तापनि त्यसले दीर्घकालीन रूप लिएन भनेर पछि तिनले २ पत्रुस ३:१५, १६-मा “हाम्रा प्रिय भाइ पावल” भनी गरेको सम्बोधनबाट देख्नसक्छौं।
१५. हामी नम्र हुनु र आनन्दित हुनुबीच कस्तो सम्बन्ध छ?
१५ आत्म-तृप्ति वा सन्तुष्ट हुने कुरा पनि यहाँ आउँछ। जीवनमा आफूले पाएको भाग, सुअवसरहरू र आशिषहरूसँग हामी सन्तुष्ट नभएसम्म हामी आनन्दित हुनै सक्दैनौं। नम्र मसीहीले यस्तो मनोवृत्ति लिन्छ: “परमेश्वरको इच्छै यही रहेछ भने मलाई स्वीकार्य छ।” वास्तवमा प्रेरित पावलले १ कोरिन्थी १०:१३-मा भन्न खोजेको पनि यही नै हो। त्यहाँ यसो भनिएको छ: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” अतः हामी फेरि पनि देख्छौं कि विनम्रता बुद्धिको मार्ग हो, किनभने जीवनमा हाम्रो हिस्सा जस्तोसुकै होस् यसले हामीलाई आनन्दित रहन मदत गर्छ।
प्रेमले नम्र हुन मदत गर्नेछ
१६, १७. (क) नम्र हुन हामीलाई मदत गर्ने सबैभन्दा ठूलो गुणलाई कुन चाहिं शास्त्रीय उदाहरणले प्रष्ट पार्छ? (ख) शास्त्र बाहिरको कुन चाहिं उदाहरणले पनि यस कुरालाई चित्रण गर्छ?
१६ अरू कुनै कुराले भन्दा निस्वार्थ प्रेम, अगापे-ले हामीलाई नम्र हुन मदत गर्नेछ। येशूले कसरी शूलीको कष्टलाई नम्रतापूर्वक सहन सक्नुभयो जसबारे पावल फिलिप्पीहरूलाई वर्णन गर्छन्? (फिलिप्पी २:५-८) परमेश्वरसँग बराबरी हुनेतर्फ किन उहाँले कहिल्यै सोच्नुभएन? यसको कारण उहाँ आफैले यसरी दिनुभयो: “म पितालाई प्रेम गर्दछु।” (यूहन्ना १४:३१) यसैकारण उहाँले सधैं स्वर्गमा हुनुहुने आफ्नो पिता, यहोवालाई महिमा र आदर दिनुभयो। त्यसकारण अर्को अवसरमा उहाँले स्वर्गमा हुनुहुने आफ्नो पिता मात्र असल हुनुहुन्छ भनेर जोड दिनुभयो।—लूका १८:१८, १९.
१७ अमेरिकाको एक जना पूर्ववर्ती कवि जोन ग्रिनलिफ ह्विट्टिएरको जीवनमा घटेको एउटा घटनाले यस बुँदालाई चित्रण गर्दछ। यस कवि केटाकेटी छँदादेखि तिनको एउटी प्रेमिका थियो। एक पटक अंग्रेजी शब्द बी (bee) को हिज्जे भन्दा यस कविकी प्रेमिकाले ठीक भनीछ तर तिनले भने गल्ती भनेछ। यो देखेर तिनको प्रेमिकालाई अति नै नराम्रो लाग्यो। किन? कविज्यूको भनाइअनुसार, तिनले यसो भनी: “मलाई माफ गर, मैले त्यस शब्दको ठीक हिज्जे भनें। मलाई तिमीभन्दा ठूलो हुन मन लाग्दैन . . . किनभने म तिमीलाई प्रेम गर्छु।” हो, हामी कसैलाई प्रेम गर्छौं भने, हामी त्यो व्यक्ति आफूभन्दा तल होइन तर माथि भएको चाहनेछौं, किनभने प्रेम नम्र हुन्छ।
१८. विनम्रताले हामीलाई कुन शास्त्रीय सल्लाह पालन गर्न मदत गर्नेछ?
१८ सबै मसीहीहरू र विशेषगरि भाइहरूका निम्ति यो एउटा राम्रो पाठ हो। आफ्नो सट्टा अर्को भाइले सेवा गर्ने विशेष सुअवसर पाएकोमा के हामी हर्ष प्रकट गर्छौं वा हाम्रो मन डाह वा ईर्ष्याले चस्स घोच्छ? हामी साँच्चै नै आफ्नो भाइलाई प्रेम गर्छौं भने, तिनले पाएको विशेष कार्यभार वा मान्यता वा सेवा गर्ने सुअवसरप्रति हामी हर्ष व्यक्त गर्नेछौं। हो, विनम्रताले यस सल्लाहलाई स्वीकार्न सरल बनाउनेछ: “मानमा एउटाले अर्काको बढ़ता कदर गर।” (रोमी १२:१०) यसैको अर्को अनुवादले यसो भन्छ: “एक अर्कालाई आफूलाई भन्दा बढी आदर गर।” (न्यु इन्टरनेसनल भर्सन) फेरि अर्को एक ठाँउमा प्रेरित पावल हामीलाई यस्तो सल्लाह दिन्छन्: “प्रेमबाट एक अर्कोको दास बन।” (गलाती ५:१३) हो, हामीसँग प्रेम छ भने, हामी आफ्ना भाइहरूको इच्छा अनि हितलाई अघि सार्दै तिनीहरूको सेवा गर्न, तिनीहरूको दास बन्न तयार हुनेछौं र यसको लागि विनम्रता आवश्यक पर्छ। अरूहरूलाई धक्कु लगाउँदै उनीहरूको मनमा डाह अनि ईर्ष्याको भावना जगाउनदेखि पनि विनम्रताले हामीलाई रोक्नेछ। प्रेमले “डाह गर्दैन . . . र घमण्डले फूल्दैन” भनेर पावलले लेखे। प्रेमले किन त्यसो गर्दैन? किनभने धक्कु लगाउनु र घमण्डले फुल्नु पछाडि स्वार्थी, आत्मप्रशंसाको मनोवृत्ति लुकेको हुन्छ जबकि प्रेमको मूल सार नै निस्वार्थपना हो।—१ कोरिन्थी १३:४.
१९. विनम्रता अनि प्रेम र घमण्ड अनि स्वार्थ अविछिन्न छन् भनेर बाइबलको कुन उदाहरणले चित्रण गर्छ?
१९ प्रेम अनि विनम्रता र त्यस्तैगरि घमण्ड अनि स्वार्थ कसरी एकआपसमा अविछिन्न छन् भन्ने कुराको ज्वलन्त उदाहरण राजा शाऊल र तिनको पुत्र जोनाथनसँग दाऊदको सम्बन्धबाट देखिन्छ। युद्धमा दाऊदले पाएको सफलताको कारण, इस्राएलका स्त्रीहरूले यसो भन्दै गाए: “शाऊलले हजारौं हजारलाई ध्वंस गरे, तर दाऊदले त लक्खौं लाखलाई ध्वंस गरे।” (१ शमूएल १८:७) तर नम्र हुनुको सट्टा डाहले भरिएर शाऊलले त्यसबेलादेखि दाऊदको हत्या गर्ने घृणालाई मनमा पोस्न थाले। तिनकै पुत्र जोनाथनको भन्दा कति भिन्न मनोभाव! जोनाथनले भने दाऊदलाई आफ्नै प्राणलाईझैं प्रेम गरे भनेर हामी पढ्छौं। (१ शमूएल १८:१) त्यसो भए समय बित्दै जाँदा दाऊदमाथि यहोवाको आशिष र आफ्नो सट्टा दाऊद नै शाऊलको ठाउँमा राजा बन्ने कुरा स्पष्ट हुँदै जाँदा जोनाथनले कस्तो प्रतिक्रिया देखाए त? के जोनाथन डाह र ईर्ष्याले जले? अहँ, तिनले कदापि, त्यसो गरेनन्! दाऊदप्रति अपार प्रेम भएकै कारण तिनले यसो भन्न सके, जुन कुरा हामी १ शमूएल २३:१७-मा पाउँछौं: “नडराउनुहोस्, मेरा बाबुको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र म चाहिं तपाईंका मनि दोस्रो दर्जामा हुनेछु। औ मेरा बाबुलाई यो कुरा थाह छ।” आफ्नो पिताको ठाउँमा इस्राएलको राजा हुने सम्बन्धमा परमेश्वरको जे इच्छा हो भनी जोनाथनलाई लागेको थियो त्यसलाई स्वीकार्न दाऊदप्रतिको प्रेमले तिनलाई नम्र बनायो।
२०. प्रेम र विनम्रताबीच निकटतम सम्बन्ध छ भनेर येशूले कसरी देखाउनुभयो?
२० प्रेम र नम्रताबीचको सम्बन्धलाई जोड दिने अर्को उदाहरण, येशू ख्रीष्टको मृत्युअघि अन्तिम रातमा येशू र उहाँका प्रेरितहरूबीच भएको घटना पनि हो। येशूले “आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो” भनेर हामी यूहन्ना १३:१-मा पढ्छौं। त्यसपछि येशूले एक जना नम्र सेवकलेझैं आफ्ना प्रेरितहरूको पाउ धुनुभयो। नम्रताको कति बलियो उदाहरण!—यूहन्ना १३:१-११.
२१ नम्र हुने साँच्चै धेरै कारणहरू छन्। नम्र हुनु न्यायसंगत र इमानदार कुरा हो। यो विश्वासको मार्ग हो। यसले यहोवा परमेश्वरसँग र हाम्रा सङ्गी विश्वासीहरूसँग बलियो सम्बन्ध बनाउँछ। यो बुद्धिको मार्ग हो। सबैभन्दा ठूलो कुरा, नम्रता प्रेमको मार्ग हो र यसले साँचो आनन्द ल्याउँछ। (w93 12/1)
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
▫ कुन ढङ्गमा इमानदारी न्रम हुने मदत हो?
▫ परमेश्वरमाथिको विश्वासले किन नम्र हुन मदत गर्नसक्छ?
▫ नम्र हुनु बुद्धिको मार्ग हो भनेर कुन कुराले देखाउँछ?
▫ हामी नम्र हुनुमा विशेषगरि प्रेम किन मदत- कारी छ?
२१. सारंशमा, हामी किन नम्र हुनु पर्ने हो?
[पृष्ठ १३-मा भएको चित्र]
अय्यूबले नम्रतापूर्वक आफूलाई यहोवाको हातमा सुम्पे। तिनले ‘परमेश्वरलाई सरापेनन्।’
[पृष्ठ १५-मा भएको चित्र]
पावलले जनसमक्ष पत्रुसलाई सल्लाह दिंदा तिनले नम्रतापूर्वक स्वीकारे