के तपाईं यस संसारको आत्माको प्रतिरोध गर्दै हुनुहुन्छ?
“हामीले संसारको आत्मा होइन, तर परमेश्वरबाटका आत्मा पाएका छौं।”—१ कोरिन्थी २:१२.
सन् १९८४, डिसेम्बर महिनाको चिसो रातमा भारतको भोपाल शहरभित्र बीभत्स घटना घट्यो। त्यस रात युनियन कार्बाइडको रासायनिक कारखानामा ग्याँस सञ्चय गर्ने ट्याङ्कको भल्भ बिग्रियो। एक्कासी टनका टन मिथाइल आइसोसाइनेट हावामा फैलन थाल्यो। बतासले हुर्ऱ्याउँदै त्यस विषालु ग्याँस घर अनि घरभित्र सुतिरहेका परिवारमाथि मडाँरिन थाल्यो। ग्याँसको असरले हजारौं मरे अनि अरू थुप्रै अपाङ्ग र अङ्गभङ्ग भए। तात्कालिन समयसम्मको औद्योगिक दुर्घटनाहरूमध्ये त्यो सबैभन्दा डरलाग्दो दुर्घटना थियो।
२ भोपालको दुर्घटना सुनेर मानिसहरू शोकित भए। तर यस ग्याँसले मर्नेहरूको सङ्ख्या अर्को घातक “ग्याँस” को कारण आध्यात्मिक रूपमा मर्नेहरूको भन्दा निकै कम छ। सारा संसारका मानिसहरूले हरेक दिन यस ग्याँसमा श्वास लिइरहेका छन्। यो ग्याँसलाई बाइबलले “संसारको आत्मा” भन्ने संज्ञा दिएको छ। प्रेरित पावलले भनेका घातक वायुमण्डल यही नै हो, जसबारे तिनले यी शब्दहरू भनेका थिए: “परमेश्वरबाट हामीलाई सित्तैंमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन, तर परमेश्वरबाटका आत्मा पाएका छौं।”—१ कोरिन्थी २:१२.
३ वास्तवमा “संसारको आत्मा” के हो? न्यु थायर्स ग्रीक इङ्गलिस लेक्सिकन अफ द न्यु टेस्टामेन्ट अनुसार “आत्मा” को अर्थ (युनानीमा न्युमा) “कुनै व्यक्तिलाई रुमल्ने अनि नियन्त्रण गर्ने मनोवृत्ति वा प्रभाव हो।” कुनै पनि व्यक्तिको असल वा खराब आत्मा अथवा मनोवृत्ति हुनसक्छ। (भजनसंग्रह ५१:१०; २ तिमोथी ४:२२) मानिसहरूको समूहको पनि आत्मा वा प्रबल मनोवृत्ति हुनसक्छ। आफ्नो मित्र फिलेमोनलाई लेख्दा प्रेरित पावलले यसो भने: “हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूका आत्मासँग रहोस्।” (फिलेमोन २५) त्यस्तै तर अझ ठूलो क्षेत्रमा विस्तृत प्रबल मनोवृत्ति यो संसारको छ र पावलले उल्लेख गरेका “संसारको आत्मा” यही हो। भिन्सेन्टको वर्ड स्टडिज इन द न्यु टेस्टामेन्ट अनुसार “त्यस वाक्यांशको अर्थ ढिट संसारलाई प्रेरित गर्ने दुष्ट्याइँको सिद्धान्त” हो। यस संसारको सोचाइमा व्याप्त अनि मानिसहरूको रङ्गढङ्गमा बलियो प्रभाव पार्ने त्यो पापी झुकाव हो।
४ यो आत्मा विषालु छ। किन? किनभने यो आत्मा “संसारको मालिक” शैतानबाट आउँछ। यो कुरा साँचो हो किनभने शैतान “[हावाको] शक्ति . . . अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” को मालिक हो। (यूहन्ना १२:३१; एफिसी २:२) यो “हावा” वा “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” देखि उम्कन कठिन छ। मानवसमाजको चारैतिर यो व्याप्त छ। यस्तो हावामा श्वास लियौं भने हामीले यसका प्रवृत्ति अनि लक्ष्यहरू अपनाउन थाल्छौं। संसारको आत्माले ‘शरीरअनुसार बाँच्न’ अर्थात् हाम्रो पापी असिद्धताअनुसार चल्न प्रोत्साहित गर्छ। यो मृत्युदायी छ ‘किनकि यदि शरीरअनुसार जिउँछौं भने, हामीहरू अवश्य मर्छौं।’—रोमी ८:१३.
यस संसारको आत्मादेखि टाढा बस्ने
५ भोपालको त्यस दुर्घटनाको दौडान यहोवाका एक जना साक्षी खतरासूचक ध्वनि अनि विषालु ग्याँसको तितो गन्धको कारण निद्राबाट ब्युँझे। तिनले तुरुन्तै आफ्नो परिवारलाई उठाएर बाहिर सडकमा लगे। हावाको दिशा पत्ता लगाउन एक छिन रोकेपछि त्रासित भीडलाई चिर्दै तिनले आफ्नो परिवारलाई शहर बाहिरको डाँडामाथि लगे। त्यहाँ तिनीहरूले नजिकको तालबाट बहेको ताजा अनि स्वच्छ हावामा श्वास लिन सके।
६ के यस संसारको विषालु “हावा” बाट बच्न हामी जान सक्ने त्यस्तो कुनै अग्लो स्थान छ? बाइबलले त्यसको सकारात्मक जवाफ दिन्छ। हाम्रो समयलाई दृष्टिगत गर्दै अगमवक्ता यशैयाले यसरी लेखे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाटनै निस्कनेछन्।” (यशैया २:२, ३) शुद्ध उपासनाको अग्लो स्थान अर्थात् उच्च पारिएको “परमप्रभुको पर्वत” यस ग्रहको एकमात्र ठाउँ हो, जहाँ यस संसारको निसासिलो, विषालु आत्मा हुँदैन। यस ठाउँमा मात्र यहोवाको आत्मा आफ्ना जनहरूबीच खुला रूपले बहन्छ।
७ बितेका समयमा यस संसारको आत्मामा श्वास लिने थुप्रै व्यक्तिहरूले भोपालको त्यस साक्षीले जस्तै राहत पाएका छन्। यस संसारको हावा वा आत्मामा श्वास लिने “अनाज्ञाकारिताका सन्तान” बारे भनिसकेपछि प्रेरित पावल यसो भन्छन्: “जुनमध्ये हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौं, र अरू बाँकी जस्तै हामी पनि स्वभावैले क्रोधको सन्तान भएका थियौं, तर परमेश्वरले, कृपानिधान भएर, उहाँको महा प्रेमले गर्दा हामीलाई प्रेम गर्नुभयो। हाम्रो अपराधद्वारा हामी मरेका थियौं, तापनि हामीलाई ख्रीष्टको साथसाथै सजीव पार्नुभयो।” (एफिसी २:३-५) यस रीतिरिवाजको विषालु हावामा मात्र श्वास लिनेहरू आध्यात्मिक दृष्टिमा मरेतुल्य छन्। तथापि, यहोवाप्रति हामी कृतज्ञ हुनसक्छौं किनभने आज लाखौं मानिसहरू अग्लो स्थानतर्फ भागेर त्यस्तो घातक स्थितिबाट बचेका छन्।
“संसारको आत्मा” का प्रकटीकरणहरू
८ शैतानको मृत्युदायी हावा अझै पनि हाम्रो वरपर मडाँरिदैंछ। त्यसैकारण हामी सधैं होशियार हुनुपर्छ र संसारतिर तर्केर आध्यात्मिक रूपमा निस्सासिनु हुँदैन। यसको लागि निरन्तर सतर्कता अपनाउनु पर्छ। (लूका २१:३६; १ कोरिन्थी १६:१३) उदाहरणको लागि, यस तथ्यलाई विचार गर्नुहोस्। सबै मसीहीहरू यहोवाले दिनुभएको नैतिक स्तरहरूसित परिचित छन् अनि करणी, व्यभिचार र समलिङ्गी जस्ता विकृत कर्तुतहरूलाई तिनीहरू स्वीकार्य ठान्दैनन्। यद्यपि वर्षेनी ४०,००० मानिसहरू यहोवाको सङ्गठनबाट बहिष्कृत हुन्छन्। किन? प्रायः माथि उल्लिखित विकृत कर्तुतहरूले गर्दा। तर यस्तो कसरी हुनसक्छ?
९ किनकि हामी सबै असिद्ध छौं। हाम्रो शरीर कमजोर छ अनि हाम्रो हृदयमा आइरहने खराब झुकावहरूका विरुद्धमा हामी निरन्तर लडिरहनु पर्छ। (उपदेशक ७:२०; यर्मिया १७:९) तथापि, त्यस्ता खराब झुकावहरू संसारको आत्माद्वारा प्रोत्साहित भएका हुन्छन्। संसारका धेरै मानिसहरू अनैतिकतामा कुनै खराबी देख्दैनन् र स्वेच्छाचारी मानसिक झुकाव त शैतानको रीतिरिवाजको भागै भइसकेको छ। त्यस्ता झुकावहरूबीच आफूलाई खुला छाड्यौं भने संसारले जस्तै सोच्न थाल्ने निकै सम्भावना हुन्छ। अनि चाँडै नै त्यस्ता विकृत विचारहरूले खराब इच्छाहरू जगाउन सक्छन् र अन्तमा हामी गम्भीर पापमा फँस्न सक्छौं। (याकूब १:१४, १५) तब भने हामी यहोवाको शुद्ध उपासनाको पर्वतबाट ओरालो लागेर शैतानको संसारको दूषित समतल भूमिमा आइपुगेका हुनेछौं। स्वेच्छापूर्वक त्यस ठाउँमा रहने कसैले पनि अनन्त जीवन पाउँदैन।—एफिसी ५:३-५, ७.
१० हाम्रो वरपर संसारको आत्मा प्रष्ट देखिन्छ। उदाहरणको लागि, थुप्रै मानिसहरू आफ्नो जीवनलाई हलका अनि व्यङ्गात्मक मनोवृत्तिले हेर्छन्। भ्रष्ट वा अयोग्य नेताहरू र अनैतिक अनि स्वार्थी धार्मिक नेताहरूबाट धोका खाएको हुनाले तिनीहरू गम्भीर कुराहरूमा समेत मनपरी बोल्छन्। मसीहीहरू त्यस्तो झुकावको प्रतिरोध गर्छन्। हामीसँग स्वस्थकर हाँस्य मिजास होला तर हामी मण्डलीमा अनादरको व्यङ्गात्मक आत्मा फैलाउनदेखि टाढा बस्छौं। एक जना मसीहीको बोलीले यहोवाप्रति डर अनि हृदयको शुद्धता झल्काउँछ। (याकूब ३:१०, ११; हितोपदेश ६:१४ तुलना गर्नुहोस्।) जवान होस् वा वृद्ध ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई हाम्रो वचन सधैं नूनले स्वादिलो पारेको जस्तै हुनुपर्छ।’—कलस्सी ४:६.
११ यो संसारको आत्मा झल्काउने अर्को सामान्य झुकाव घृणा हो। वर्गीय, जातिय, राष्ट्रिय अनि व्यक्तिगत भिन्नताहरूमा आधारित घृणा र बैरीको कारण यो संसार विभाजित छ। तर परमेश्वरको आत्मा सक्रिय भएको स्थानमा सबै कुरा कति असल छन्! प्रेरित पावलले लेखे: “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्नुहुन्छ, ‘म बदला फेर्नेछु,’ ‘तर तिम्रो शत्रु भोकाउँछ भने, त्यसलाई खुवाऊ, तिर्खाउँछ भने, पियाऊ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउनेछौ। खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।’”—रोमी १२:१७-२१.
१२ यो संसारको आत्माले भौतिकवादलाई पनि उक्साउँछ। व्यापारिक संसारद्वारा प्रोत्साहित भएर थुप्रै मानिसहरू आधुनिक सर-सामान, आधुनिक फेसन अनि आधुनिक गाडीहरूको मोहमा चुर्लुम्म डुबेका छन्। तिनीहरू “आँखाको अभिलाषा” का दास भएका छन्। (१ यूहन्ना २:१६) अधिकांश मानिसहरू आफ्नो सफलतालाई आफ्नो घर वा आफ्नो बैंक खाताको आधारमा तौल्छन्। तर यहोवाको शुद्ध उपासनाको उच्च पर्वतमा स्वच्छ आध्यात्मिक श्वास लिने मसीहीहरू यस्ता झुकावको प्रतिरोध गर्छन्। भौतिक धन प्राप्त गर्न दृढ सङ्कल्पित हुनेहरू बरबाद हुनसक्छन् भनेर तिनीहरूलाई थाहा छ। (१ तिमोथी ६:९, १०) येशूले आफ्ना चेलाहरूलाई यसरी सम्झाउनुभयो: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।”—लूका १२:१५.
१३ यो संसारको अस्वस्थकर “हावा” को अरू प्रकटीकरणहरू पनि छन्। तीमध्ये एउटा विद्रोही आत्मा हो। (२ तिमोथी ३:१-३) यसको अलावा अधिकांश मानिसहरूले अख्तियारवालाहरूलाई सहयोग गर्न छाडेको के तपाईंले याद गर्नुभएको छ? अरूले निगरानी नगरेसम्म काम नगर्ने व्यापक प्रवृत्ति, के तपाईंले आफ्नो पेशामा देख्नुभएको छ? कानुन उलङ्घन गर्ने कति जना मानिसहरू तपाईंलाई थाहा छ? शायद कसैले कर छले होलान् वा आफ्नो काम गर्ने ठाउँबाट चोरी गरे होलान्। यदि तपाईं स्कूलमा जानुहुन्छ भने शैक्षिक सफलता प्राप्त गर्नेहरूप्रति तुच्छ नजरले हेर्ने आफ्ना सहपाठीहरूको कारण के तपाईं यथाशक्य राम्रो गर्नदेखि कहिल्यै निरुत्साहित हुनु भएको छ? यी सबै यस संसारको आत्माका प्रकटीकरणहरू हुन् जसको प्रतिरोध मसीहीहरूले गर्नैपर्छ।
यस संसारको आत्मालाई कसरी प्रतिरोध गर्ने?
१४ तर यस संसारमा बसेर हामी त्यसको आत्माको प्रतिरोध कसरी गर्न सक्छौं? शारीरिक तवरमा हामी जहाँसुकै होऔं, आध्यात्मिक तवरमा हामी यस संसारको भाग होइनौं भन्ने कुरालाई हामीले सम्झनु पर्छ। (यूहन्ना १७:१५, १६) यस संसारका लक्ष्यहरू हाम्रा लक्ष्यहरू होइनन्। हाम्रो दृष्टिकोण भिन्न छ। हामी “मानिसको ज्ञानले सिकाएका . . . होइन, तर आत्माले सिकाउनुभएका कुराहरू” बोल्ने अनि सोच्ने आध्यात्मिक व्यक्तिहरू हौं।—१ कोरिन्थी २:१३.
१५ कुनै व्यक्तिले आफूलाई विषालु ग्यासँले दूषित भएको क्षेत्रमा पायो भने के गर्न सक्छ? उसले या त शुद्ध हावाको स्रोतसित जोडिएको ग्याँस मास्क लगाउनु पर्छ या त्यस क्षेत्रबाट हट्नु पर्छ। शैतानको हावाबाट बच्ने तरिकामा यी उपायहरू समावेश छन्। यथासम्भव संसारको आत्मालाई हाम्रो सोचाइमाथि असर पार्न दिने कुनै पनि कुरादेखि हामी शारीरिक रूपमा हट्ने कोशिश गर्छौं। तसर्थ, हामी खराब सङ्गतिदेखि टाढा बस्छौं अनि हिंसा, अनैतिकता, प्रेतवाद, विद्रोह वा शरीरका अरू कामको प्रवर्द्धन गर्ने कुनै पनि मनोरञ्जनमा लाग्दैनौं। (गलाती ५:१९-२१) तथापि, संसारमै बस्ने भएकोले हामी यी कुराबाट प्रभावित हुनदेखि आफूलाई पूर्णतया अलग राख्न सक्दैनौं। अतः आध्यात्मिक शुद्ध हावाको स्रोतसँग जोडिएको ग्याँस मास्क लगायौं भने हामीले बुद्धिमानी गर्नेछौं। नियमित सभामा उपस्थित भएर, व्यक्तिगत अध्ययन गरेर, मसीही क्रियाकलाप अनि सङ्गति र प्रार्थनाद्वारा हामी आफ्नो आध्यात्मिक फोक्सोलाई भर्छौं। यसप्रकार हाम्रो आध्यात्मिक फोक्सोमा कतैबाट शैतानको हावा छिरेको छ भने पनि त्यसलाई बाहिर निकाल्न परमेश्वरको आत्माले हामीलाई मदत गर्नेछ।—भजनसंग्रह १७:१-३; हितोपदेश ९:९; १३:२०; १९:२०; २२:१७.
१६ परमेश्वरको आत्माले एक जना मसीहीलाई यस संसारका मानिसहरूबाट अलग्गै चिनाउँछ। (रोमी १२:१, २) पावलले भने: “आत्माको फलचाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्, यस्ताका विरुद्धमा कुनै व्यवस्था छैन।” (गलाती ५:२२, २३) परमेश्वरको आत्माले एक जना मसीहीलाई गहिरो समझ पनि दिन्छ। पावलले भने: “परमेश्वरका कुराहरू परमेश्वरका आत्माले बाहेक अरू कसैले जान्दैन।” (१ कोरिन्थी २:११) सामान्यतः “परमेश्वरका कुराहरू” मा छुटकाराको बलिदान, येशू ख्रीष्ट अधीनस्थ परमेश्वरको राज्य, अनन्त जीवनको आशा अनि यस दुष्ट संसारको निकटतम नाश जस्ता कुराहरूसँग सम्बन्धित सत्य कुराहरू समावेश छन्। परमेश्वरको आत्माको मदतद्वारा मसीहीहरू त्यस्ता कुराहरूलाई सत्य मान्छन् अनि स्वीकार गर्छन् र त्यसले जीवनप्रति तिनीहरूको दृष्टिकोण संसारका मानिसहरूका भन्दा भिन्न बनाउँछ। भविष्यमा अनन्तसम्म उहाँको सेवा गर्ने प्रत्याशासाथ अहिले यहोवाको सेवामा आफूले पाएको आनन्दमा तिनीहरू सन्तुष्ट छन्।
१७ यस संसारको आत्माको प्रतिरोध गर्नुहुने अत्युत्तम नमूना येशू हुनुहुन्थ्यो। येशूले बप्तिस्मा लिनु भएको लगत्तै शैतानले तीन वटा प्रलोभनहरू देखाएर यहोवाको सेवादेखि तर्काउन खोज्यो। (मत्ती ४:१-११) तेस्रो प्रलोभनमा, शैतानलाई केवल उपासना गरेझैं मात्र गर्नु भएको भए येशूले सारा संसारको शासनाधिकार पाउन सक्नुहुन्थ्यो। येशूले आफूसित यसरी तर्क गर्न सक्नुहुन्थ्यो: ‘म अहिले उपासना गरे जस्तो मात्र गर्छु अनि सारा संसारको शासनाधिकार पाएपछि पश्चात्ताप गरेर परमेश्वरतर्फ फर्कन्छु। मैले नासरी सिकर्मी भएरभन्दा बरु संसारको शासक भएर मानवजातिको बढी हित गर्नसक्छु।’ तर येशूले त्यसरी तर्क गर्नु भएन। यहोवाले सारा संसारको शासनाधिकार नदिनु भएसम्म उहाँ पर्खन तयार हुनुहुन्थ्यो। (भजनसंग्रह २:८) परीक्षाको समयमा अनि अरू मौकामा पनि उहाँले शैतानको हावाको विषालु प्रभावको प्रतिरोध गर्नुभयो। यसप्रकार उहाँले आध्यात्मिक रूपमा दूषित यस संसारलाई जित्नुभयो।—यूहन्ना १६:३३.
१८ हामीले येशूको पदचिह्नलाई राम्ररी पछ्याउनु पर्छ भनेर प्रेरित पत्रुसले भने। (१ पत्रुस २:२१) हुन पनि उहाँभन्दा उत्तम नमूना अरू को नै हुनसक्छ? यी अन्तिम दिनहरूमा संसारको आत्माद्वारा प्रभावित भएर मानिसहरू झन् झन् भ्रष्टतामा धँस्दैछन्। यस्तो संसारको माझमा यहोवाको उपासनाको उच्च स्थान शुद्ध अनि सफा हुनु साह्रै अद्भुत कुरा हो! (मीका ४:१, २) यस संसारको सर्वव्यापक आत्माको प्रतिरोध गर्दै अनि सबैको अगाडि यहोवाको आदर तथा प्रशंसा गर्दै लाखौं मानिसहरू परमेश्वरको शुद्ध उपासना हुने स्थानतर्फ ओइरिंदैछन्! निस्सन्देह, यस कुरामा परमेश्वरको आत्माको शक्ति देख्न सकिन्छ। (१ पत्रुस २:११, १२) अतः यहोवाद्वारा अभिषिक्त राजाले यस दुष्ट संसारलाई हटाउनु भएर शैतान अर्थात् दियाबल अनि त्यसका दूतहरूलाई अगाध खाँदमा बन्द नगर्नु भएसम्म त्यस उच्च स्थानमा बसिराख्न हामी सबै कटिबद्ध होऔं। (प्रकाश १९:१९–२०:३) तत्पश्चात् संसारको आत्मा फेरि कहिल्यै अस्तित्त्वमा हुनेछैन। निस्सन्देह त्यो आशिषित समय हुनेछ! (w94 4/1)
के तपाईं बताउन सक्नुहुन्छ?
▫ “संसारको आत्मा” के हो?
▫ व्यक्ति-विशेषमाथि यो संसारको आत्माको कस्तो प्रभाव परेको छ?
▫ संसारको आत्माका केही प्रकटीकरणहरू के के हुन् अनि हामी त्यसदेखि कसरी बच्न सक्छौं?
▫ हामीसित परमेश्वरको आत्मा छ भनेर कसरी देखाउन सक्छौं?
▫ संसारको आत्माको प्रतिरोध गर्नेहरूले कस्ता आशिषहरू पाउँछन्?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. भारतको भोपालमा विषालु ग्याँससित सम्बन्धित कस्तो दुर्घटना घट्यो तर त्योभन्दा घातक कुन “ग्याँस” मा संसारका मानिसहरूले श्वास लिंदैछन्?
३. “संसारको आत्मा” के हो?
४. संसारको आत्माको स्रोत के हो अनि मानिसहरूमाथि यसले कस्तो प्रभाव पार्छ?
५. भोपालमा दुर्घटना हुँदा एक जना साक्षीले बुद्धिमानीपूर्वक कस्तो काम गरे?
६. संसारको आत्मादेखि बच्न हामी कहाँ जान सक्छौं?
७. थुप्रै मानिसहरू संसारको आत्माबाट कसरी बचेका छन्?
८, ९. (क) संसारको आत्माको विरुद्धमा हामी सधैं सजग हुनुपर्छ भनेर कुन कुराले देखाउँछ? (ख) शैतानको आत्माले हामीलाई कसरी भ्रष्ट पार्न सक्छ?
१०. शैतानको हावाको एउटा प्रकटीकरण के हो अनि मसीहीहरू किन त्यसदेखि टाढा बस्नुपर्छ?
११. (क) संसारको आत्माको दोस्रो पक्ष के हो? (ख) यसलाई प्रतिबिम्बत गर्नेहरूभन्दा मसीहीहरू किन भिन्न छन्?
१२. मसीहीहरू किन भौतिकवाददेखि टाढा बस्छन्?
१३. यस संसारको आत्माका अरू थप प्रकटीकरणहरू के के हुन्?
१४. कुन तरिकाहरूमा मसीहीहरू गैर-मसीहीहरूभन्दा भिन्न छन्?
१५. हामी कसरी संसारको आत्माको प्रतिरोध गर्नसक्छौं?
१६. हामीसित परमेश्वरको आत्मा छ भनेर कसरी प्रमाणित गर्नसक्छौं?
१७. संसारको आत्माको प्रतिरोध गर्नुहुने अत्युत्तम नमूना को हुनुहुन्छ अनि कसरी?
१८. संसारको आत्माको प्रतिरोध गऱ्यौं भने त्यसले कसरी परमेश्वरको प्रशंसा गर्छ?
[पृष्ठ १६-मा भएको चित्र]
संसारको आत्मा शैतानबाट आउँछ
[पृष्ठ १७-मा भएको चित्र]
संसारको आत्मादेखि बच्न यहोवाको उपासनाको उच्च स्थानमा जानुहोस्