हाम्रो डरलाग्दो समयका लागि मदतकारी शिक्षा
“तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। तर खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।”—२ तिमोथी ३:१, १३.
तपाईंलाई मदत दिइँदैछ वा चोट पुऱ्याइँदैछ? तपाईंका समस्याहरू समाधान हुँदैछन् वा ती झनै जटिल पारिंदैछन्? तर कुन कुराले? शिक्षाहरूले। हो, शिक्षाहरूले तपाईंको जीवनमाथि ठूलो प्रभाव पार्न सक्छ। यसले गर्दा तपाईंको जीवन असल या खराब हुन सक्छ।
२ तीन जना प्राध्यापकहरू मिलेर यसबारे हालसालै अध्ययन गरे र तिनीहरूले आफ्नो निष्कर्ष जर्नल फर द साइन्टिफिक स्टडी अफ रिलिजन नामक पत्रिकामा प्रस्तुत गरे। हो, तिनीहरूले तपाईं वा तपाईंको परिवारलाई व्यक्तिगत तवरमा अध्ययन गरेनन् होला। तरैपनि, जे जति तिनीहरूले पत्ता लगाए त्यसले यो स्पष्ट पार्छ, यस डरलाग्दो समयलाई सामना गर्न सक्ने हाम्रो सफलता वा असफलतासित शिक्षाको सम्बन्ध छ। तिनीहरूले के पत्ता लगाए त्यसबारे हामी आउँदो लेखमा विशेष ध्यान दिनेछौं।
३ तर पहिले, एउटा प्रश्न उठ्छ: हामी कठिन समयमा बाँचिरहेका छौं भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ?’ हुनुहुन्छ भने यी “डरलाग्दा समय” हुन् भनेर देखाउने प्रमाणहरू तपाईंले जरुर देख्नु हुनेछ। (२ तिमोथी ३:१-५) भिन्न भिन्न प्रकारले मानिसहरू प्रभावित छन्। उदाहरणका लागि, राजनैतिक आधिपत्यका लागि आपसमै मारामार गरेर आज कतिपय देशहरू टुक्रिंदै छन् भन्ने कुरा तपाईंलाई थाहा छ। अन्य ठाउँहरूमा धर्म अथवा जातियताको आधारमा हत्या भइरहेछ। घाइते हुनेहरू सिपाहीहरू मात्र होइनन्। अनगिन्ती आइमाईहरू र केटीहरूप्रति गरिएका नृशंस व्यवहार, वा भोजन, न्यानोपना तथा आश्रयबाट वञ्चित भएका वृद्धहरूबारे सोच्नुहोस्। अरू अनगिन्ती मानिसहरूले दुःख पाइरहेका छन् जसले गर्दा शरणार्थीहरू र त्यससित सम्बन्धित पीडाहरूको ताँती लाग्दछ।
४ हाम्रो समयको अर्को चिन्ह, आर्थिक समस्याहरू पनि हुन् जसका परिणामस्वरूप कारखानाहरू बन्द हुन्छन्, बेरोजगारी, लाभांशहरू र पेन्सनहरू पाईंदैन, मुद्राको मूल्य घट्छ, भोजन पनि कम र कहिलेकाहीं मात्र उपलब्ध हुन्छ। के यस्ता समस्याहरूको सूचीमा अन्य बुँदाहरू थप्न सक्नुहुन्छ? सम्भवतः सक्नुहुन्छ। यसमाथि थप, खाद्यान्नको कमी र रोगहरूबाट संसारभरि लाखौं मानिसहरू पीडित छन्। पूर्वी अफ्रिकामा हाड र करङ्ग मात्र भएका पुरुष, स्त्री तथा बच्चाहरूको बीभत्स चित्रहरू तपाईंले देख्नुभएको होला। त्यस्तैगरि लाखौं मानिसहरू एशियाली मुलुकहरूमा पीडित छन्।
५ डरलाग्दा रोगहरूको वृद्धिबारे हामी सबैले सुनेका छौं। जनवरी २५, १९९३ मा द न्यु योर्क टाइम्स ले यसो भन्यो: “छाडा लैङ्गिकता, देखावटी र जथाभावी ढङ्गले गरिने रोकथाम कार्यक्रमले गर्दा ल्याटिन अमेरिकामा संयुक्त राज्यलाई उछिन्ने गरी एड्सको महामारी बढिरहेको छ। . . . आइमाईहरूमा यो संक्रामक रोग बढ्दै गएकोले यो बढोत्तरी भएको हो।” अक्टोबर १९९२ मा, यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट ले भन्यो: “दुई दशकअघि मात्र यु.एस. सर्जन-जर्नेलले जन-स्वास्थ्य सम्बन्धी ठूलो उपलब्धिको बढाइँ गर्दै ‘सरुवा रोगहरूबारे चिन्ता गर्ने अब कुनै आवश्यकता छैन’ भनी घोषणा गरेका थिए।” तर अहिले अवस्था कस्तो छ? “उन्मूलन भइसक्यो भन्ठानेका महामारीहरूले अस्पतालहरू फेरि भरिभराव हुन थालेका छन्। . . . नयाँ प्रतिजीवीहरूको विकासभन्दा चाँड-चाँडो विकास हुने गरी जीवाणुहरूले अझै बढी छट्टू जनन प्रक्रियाहरूको विकास गर्दैछन्। . . . ‘हामीहरू संक्रामक रोगको नयाँ युगमा प्रवेश गर्दैछौं।’”
६ एउटा उदाहरणस्वरूप, जनवरी ११, १९९३ को न्युजवीक ले रिपोर्ट गऱ्यो: “मलेरिया रोग पैदा गर्ने जीवाणुहरूले प्रत्येक वर्ष लगभग २७ करोड मानिसहरूलाई रोगग्रस्त बनाउँछ, झन्डै २० लाख मानिसहरूलाई मार्छ . . . र लगभग १० करोड मानिसहरूलाई सिकिस्त बिरामी पार्छ। . . . साथै यस रोगलाई पहिले निको पार्ने औषधीहरू अब कामै नलाग्ने भएका छन्। . . . कुनै कुनै खास किसिमका जीवाणुहरूमाथि केही समयपछि त कुनै पनि औषधीले काम गर्ने छैन।” सोच्दा मात्र पनि कस्तो डरलाग्दो!
७ यस डरलाग्दो समयमा आफ्ना समस्याहरूका समाधानका लागि थुप्रै मानिसहरूले मदत खोजी रहेका तपाईंले देख्नु भएको होला। तनाव वा कुनै नयाँ रोगको सामना गर्न पुस्तकहरूमा खोजी गर्नेहरूबारे सोच्नुहोस्। कोही कोही चाहिं असफल विवाह, बाल-दुर्व्यवहार, मद्य वा लागू पदार्थको समस्या, घरको समस्या र कामको चाप बीच कसरी सामञ्जस्य ल्याउने भन्ने चिन्ताबाट मुक्त हुने सल्लाहहरू पाउन व्याकुल छन्। हो, तिनीहरूलाई साँच्चै मदतको आवश्यकता छ! के तपाईं आफ्ना व्यक्तिगत समस्याहरूको सामना गरिरहनुभएको अथवा युद्ध, अनिकाल, वा विपत्तिले गर्दा उत्पन्न भएका समस्याहरू भोगी रहनु भएको छ? समाधान गर्नै नसकिने कुनै पिरोल्ने समस्या छ भने पनि तपाईंले यो सोध्नु मनासिब छ, ‘हामी किन एउटा यस्तो डरलाग्दो अवस्थामा पुगेको?’
८ हो, यी समस्याहरूको प्रभावकारी ढङ्गमा सामना गर्न र आफ्नो जीवनमा अहिले तथा भविष्यमा समेत सन्तोष प्राप्त गर्नअघि हामीले किन यस्तो डरलाग्दो समयको सामना गर्नु परिरहेछ भनी जान्नु जरूरी छ। स्पष्टतः हामी प्रत्येकले बाइबलमाथि विचार गर्नुपर्ने पर्याप्त कारणहरू छन्। हामीले बाइबललाई नै किन औंल्याइरहेका छौं? किनकि यसमा मात्र सही भविष्यवाणी, अर्थात् पूर्वलिखित इतिहास पाइन्छ जसले हाम्रो दुर्दशाका कारणहरू, समयको दौडानमा अहिले हामी कहाँ छौं र हाम्रो भविष्य कस्तो छ भन्ने कुरा देखाउँछ।
इतिहासबाट पाठ
९ फेब्रुअरी १, १९९४ को प्रहरीधरहरा ले मत्ती अध्याय २४ मा भएको येशूको सजीव भविष्यवाणीको उल्लेखनीय पुनरावलोकन प्रस्तुत गऱ्यो। बाइलबलको त्यस अध्याय पल्टाउनुभयो भने, पद ३ मा तपाईंले येशूका प्रेरितहरूले भविष्यमा हुने उहाँको उपस्थिति र जगतको अन्तबारे एउटा चिह्न मागेको थाहा पाउनु हुनेछ। त्यसपछि, पदहरू ५ देखि १४ मा झूटा ख्रीष्टहरू, युद्ध, अनिकाल, मसीहीहरूमाथि सतावट, अधर्म र व्यापक रूपमा परमेश्वरको राज्यको प्रचारबारे येशूले अग्रिमवाणी गर्नुभयो।
१० यहूदी रीतिरिवाज अन्त हुने बेलामा यी सबै कुराहरू भएका थिए भनेर इतिहास साक्षी छ। तपाईं त्यस समयमा बाँच्नु भएको भए के त्यो समय तपाईंको निम्ति कठिन हुने थिएनन्? ती घटनाहरू यरूशलेम र यहूदी रीतिरिवाजमाथि कहिल्यै आइ नपरेको महासङ्कष्टको चरमोत्कर्षतर्फ बढिरहेका थिए। रोमीहरूले सा.यु. ६६ मा यरूशलेममाथि हमला गरेपछि के भएको थियो भन्ने कुरा हामी पद १५ मा पढ्दछौं। ती घटनाहरूको चरमोत्कर्ष येशूले पद २१ मा भन्नु भएको सङ्कष्ट थियो—सा.यु. ७० मा यरूशलेमको नाश अर्थात् त्यस शहरमाथि आइपरेको सबैभन्दा दुःखदायी सङ्कष्ट। तर इतिहास त्यहीं नै बन्द भएन भन्ने कुरा तपाईंलाई थाहै छ न ता येशूले त्यसो हुनेछ भनी भन्नुभएको थियो। यरूशलेममाथि सा.यु. ७० मा आइपरेको सङ्कष्टपछि अरू कुराहरू पनि हुनेछन् भनी येशूले २३ देखि २८ सम्मका पदहरूमा देखाउनु भयो।
११ अतीतमा घटेका त्यस्ता घटनाहरूलाई कसै कसैले ‘भए के त’ भनेर बेवास्ता गर्न खोज्लान्। तर त्यसो गर्नु गलत हुनेछ। त्यस बेला अर्थात् प्रथम शताब्दीमा भएको यस भविष्यवाणीको पूर्ति महत्त्वपूर्ण छ। किन? किनकि यहूदी रीतिरिवाजको अन्त हुने बेला भएका युद्धहरू, अनिकालहरू, भुईंचालोहरू, रूढीहरू र सतावटहरूले १९१४ मा “अन्यजातिहरूको समय” अन्त भएपछि हुने अझ ठूलो पूर्तिलाई प्रतिबिम्बित गरिरहेको थियो। (लूका २१:२४) प्रथम विश्व-युद्धदेखि आधुनिक समयमा यसको पूर्ति हुन थालेको तपाईंहरूमध्ये कसैले आफ्नै आँखाले देख्नु भएको थियो। तर १९१४ पछि जन्मनु भएका तपाईंहरूले पनि त्यस समयदेखि पूर्ति भइरहेको येशूको भविष्यवाणीलाई देख्नु भएको छ। आज २० औं शताब्दीमा घटेका यी घटनाहरूले निस्सन्देह हामी वर्तमान दुष्ट रीतिरिवाजको अन्ततिर बाँचिरहेका छौं भनी प्रमाणित गर्छ।
१२ यसको अर्थ हो, मत्ती २४:२९ मा भनिएको “महासङ्कष्ट” हाम्रोअगाडि छ। यसमा हामीले अनुमान गर्नै नसक्ने आकाशीय अद्भुत घटनाहरू विथोलित हुनेछन्। त्यसबेला मानिसहरूले एउटा अर्कै चिन्ह देख्नेछन् र त्यस चिन्हले विनाश नजीकै छ भनी साबित गर्नेछ भनेर पद ३० ले देखाउँछ। लूका २१:२५-२८ मा दिइएको समानान्तर विवरणअनुसार त्यसबेला ‘संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।’ त्यसबेला मसीहीहरूले शिर उठाएर माथि हेर्नेछन् किनभने तिनीहरूको छुटकारा नजिकै आएको हुनेछ भनी लूकाको विवरणले अझै भन्छ।
१३ तपाईं भन्नु होला, ‘भइगयो, त्यो त ठीकै छ, म त्यो स्वीकार गर्दछु, तर प्रश्न त हाम्रो डरलाग्दो समयलाई मैले कसरी चिन्ने र त्यसको सामना कसरी गर्ने?’ भन्ने पो थियो। तपाईंले ठीकै भन्नुभयो। हाम्रो प्रथम मुख्य बुँदा हो, मूल समस्याहरूलाई चिन्ने र तिनीहरूबाट कसरी जोगिने? त्यसैसँग जोडिएको दोस्रो बुँदा छ, शास्त्रवचनको अध्ययनले हामीलाई अहिले राम्रो जीवन बिताउन कसरी मदत गर्न सक्छ। यसै सन्दर्भमा कृपया २ तिमोथीको अध्याय ३ खोल्नुहोस् र कठिन समय सामना गर्न प्रेरित पावलका शब्दहरूले कसरी मदत दिनेछन् हेर्नुहोस्।
हाम्रो समयबारे भविष्यवाणी
१४ निष्ठावान मसीही तिमोथीलाई अधिक सफल तथा आनन्दमय जीवन बिताउने उत्तम सल्लाह दिन प्रेरित पावललाई परमेश्वरले प्रेरणा दिनुभयो। पावलले लेखेका केही भागको मुख्य प्रयोग हाम्रो समयमा हुने थियो। तपाईंलाई ती वचनहरू यादै भए तापनि दोस्रो तिमोथी ३:१-५ का भविष्यसूचक शब्दहरूलाई ध्यान दिएर हेर्नुहोस्। पावलले लेखे: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्।”
१५ याद गर्नुहोस्, यहाँ १९ वटा बुँदाहरू सूचीबद्ध छन्। यिनीहरूलाई जाँच गरेर त्यसबाट लाभ उठाउनअघि एकछिन रोकेर पूरै भविष्यवाणीको अर्थ बुझ्नु बेस होला। पद १ लाई हेरौं। पावलले अगमवाणी गरे: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” कुन चाहिं “आखिरी दिन?” थुप्रै आखिरी दिनहरू आए। जस्तै, पुरातन पोम्पेको आखिरी दिन, कुनै राजा वा राजपरिवारको आखिरी दिन। बाइबलमा पनि थुप्रै आखिरी दिनबारे भनिएको छ। उदाहरणको लागि, यहूदी रीतिरिवाजको आखिरी दिन। (प्रेरित २:१६, १७) यद्यपि, पावलले भनेको “आखिरी दिन” ले हाम्रो समयलाई सङ्केत गरिराखेको थियो भनेर ठीकसित बुझ्न येशूले हाम्रो निम्ति आधार खडा गर्नुभयो।
१६ त्यो आधार येशूले गहुँ र सामाको उदाहरणद्वारा दिनु भयो। यिनीहरूलाई एउटा खेतमा छरेर बढ्न छाडियो। गहुँ र सामाले मानिसहरू—साँचो र झूटा मसीहीहरू प्रतिनिधित्व गर्छन् भनी उहाँले भन्नुभयो। यहाँ यस उखानबारे कुरा उठाइएको छ किनभने सारा दुष्ट रीतिरिवाजको अन्त हुनुभन्दा पहिले निकै समय बित्नेछ भनेर यो उदाहरणले भन्छ। तर त्यो समाप्तिको समय आउँदा अर्को एक थोक पूर्णतया फस्टाइरहेको हुनेछ। त्यो के हो? धर्मत्याग अर्थात् साँचो मसीही धर्मको परित्याग, जसले गर्दा दुष्टताको एउटा ठूलो फसल तयार हुनेछ। दुष्ट रीतिरिवाजको आखिरी दिनतिर यो कुरा हुनेछ भनी बाइबलका अरू भविष्यवाणीहरूले पनि पुष्टि दिन्छन्। आज हामी त्यसै समयमा अर्थात् रीतिरिवाजको अन्तिम समयमा बाँचिरहेका छौं।—मत्ती १३:२४-३०, ३६-४३.
१७ के तपाईं यसको महत्त्व बुझ्नुहुन्छ? यस रीतिरिवाजको अन्तिम समयमा मसीहीहरूको वरिपरि खराब परिणामहरू हुनेछन् भन्ने सङ्केत २ तिमोथी ३:१-५ को समानान्तर वर्णनले पनि हामीलाई दिन्छ। पावलले भन्न खोजेको त्यसमा उल्लिखित १९ थोकहरूले नै आखिरी दिन आयो भनेर मुख्यतः प्रमाणित गर्नेछ भन्ने होइन। बरु, आखिरी दिनमा हामीले कस्ता कुराहरूको सामना गर्नु पर्नेछ भनी चेताउनी दिइरहेका थिए। पद १ ले “डरलाग्दो समय” बारे भन्छ। त्यो अभिव्यक्ति युनानी भाषाबाट लिइएको हो र यसको शाब्दिक अर्थ हो “तोकिएको भयङ्कर समय।” (किङ्गडम इन्टरलिनियर) आज जे हामीले भोग्नु परिरहेछ त्यसलाई “भयङ्कर” शब्दले उचित वर्णन गर्छ भनी के तपाईं मान्नु हुन्न र? हाम्रो समयको निम्ति यस प्रेरित वाक्यांशले अझै ईश्वरीय अन्तर्दृष्टि प्रदान गर्छ।
१८ यस भविष्यवाणीमा हाम्रो चासोले हाम्रो दिन कतिको डरलाग्दा वा भयङ्कर छन् भनी देखाउने दुःखद उदाहरणहरू चिन्न हामीलाई मदत दिनु पर्ने हो। हाम्रा दुई मुख्य बुँदाहरूलाई सम्झिनु होस्: (१) हाम्रा दिनहरूलाई कठिन पार्ने समस्याहरूलाई चिन्ने र तिनीहरूबाट जोगिने तरिका थाहा पाउने; (२) साँच्चिकै व्यावहारिक र एउटा राम्रो जीवनको आनन्द उठाउन हामीलाई मदत दिन सक्ने शिक्षाहरूलाई अनुसरण गर्ने। त्यसकारण कुनै नकारात्मक कुराहरूमाथि जोड दिनुको सट्टा “डरलाग्दो समयमा” हामी र हाम्रा परिवारलाई मदत दिने खालका शिक्षाहरूमाथि हामी ध्यान दिनेछौं।
प्रशस्त आशिषहरूको आनन्द उठाउनुहोस्
१९ पावलले सूचीको सुरुमै आखिरी दिनमा हुने कुरालाई भविष्यवाणी गर्दा “मानिसहरू स्वार्थी” हुनेछन् भने। (२ तिमोथी ३:२) तिनले भन्न खोजेको कुरा के हो? सारा इतिहासभरि नै पुरुष तथा स्त्रीहरू अहंकारी र आत्मस्वार्थी थिए भनी तपाईंले भन्नु भयो भने त्यो गलत हुनेछैन। यद्यपि, यो अवगुण आज अति सर्वव्याप्त छ भन्ने कुरामा कुनै शङ्का छैन। कसै कसैमा त यो अवगुण अचाक्ली मात्रामा पाइन्छ। राजनैतिक तथा व्यापारिक क्षेत्रमा त यो दैनिक जीवनको अङ्गजस्तै भएको छ। जसरी भए पनि पुरुष तथा स्त्रीहरू शक्ति र यश प्राप्त गर्न चाहन्छन् र अक्सर अर्कालाई हानि पुऱ्याएर ती प्राप्त गरिन्छ। अरूलाई हानि पुऱ्याएकोमा यी स्वार्थीहरूलाई कुनै फिक्री नै हुँदैन। अरूमाथि मुद्दा हाल्न र ठग्न बियालो गर्दैनन्। यसकारण धेरैले आज यसलाई “मपाईं पुस्ता” किन भन्छन् भनेर बुझ्न कुनै गाह्रो पर्दैन। निर्लज्ज तथा स्वार्थी मानिसहरू जताततै छन्।
२० त्यसकारण “स्वार्थी मानिसहरू” सित व्यवहार गर्दा हामीले भोग्नु परेका तीता अनुभवहरूलाई स्मरण गराइरहनु खाँचो छैन। तर यो साँचो हो, यस समस्यालाई स्पष्टसित औंल्याएर वास्तवमा बाइबलले हामीलाई मदत गरिरहेछ किनभने यसप्रकारको जालबाट हामी कसरी बाँच्न सक्नेछौं भनेर यसले हामीलाई सिकाउँछ। यसले यसो भन्छ: “विरोध अथवा फोस्रो घमण्डले केही नगर, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूका कुरामा पनि ध्यान देऊ।” “आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ। बरु आफ्नो समझमा नम्र होऊ।” यो अति सुन्दर सल्लाह टुडेज् इङ्गलिश भर्सन अनुसार फिलिप्पी २:३, ४ र रोमी १२:३ मा पाइन्छ।
२१ कसैले विरोध गर्न सक्छ, ‘सुन्दा त राम्रो छ तर व्यावहारिक छैन।’ त्यसो होइन, यो जरुर व्यावहारिक छ। यी सल्लाहहरू लाभकारी छन् र साधारण मानिसहरूमा आज यो सफल पनि भएको छ। सन् १९९० मा अक्सफर्ड विश्वविद्यालयका प्रकाशकले द सोशियल डाइमेन्सन्स् अफ सेक्टेरियनिज्म भन्ने पुस्तक छापे। त्यस पुस्तकको अध्याय ८ को शीर्षक थियो “क्याथोलिक देशमा यहोवाका साक्षीहरू,” र यसमा बेल्जियममा गरिएको एउटा अनुसन्धानबारे वर्णन गरिएको थियो। त्यसले यसो भन्छ: “‘सत्य’ प्रतिको आकर्षण बाहेक एक जना साक्षी बन्नुको सकारात्मक आकर्षणहरूमा एकभन्दा बढी कारणहरू छन् भनी तिनीहरू बारम्बार भन्छन्। . . . न्यानोपन, मैत्रीभाव, प्रेम र एकताजस्ता गुणहरूलाई धेरैजसो वर्णन गर्छन्, तर इमान्दारी र ‘बाइबलका सिद्धान्तहरूलाई आफ्नो व्यक्तिगत व्यवहारमा प्रयोग गर्नेजस्ता’ गुणहरूलाई पनि यी साक्षीहरू कदर गर्छन्।”
२२ माथि वर्णन गरिएका कुराहरूलाई विस्तृत क्षेत्रको चित्र लिने (वाइड-एङ्गल लेन्स) लेन्स भएको क्यामराबाट लिएको चित्रसँग दाँज्न सक्छौं। अथवा यसको सट्टा, तपाईंले जूम वा टेलिफोटो लेन्स प्रयोग गरेको जस्तै गरी जीवनका धेरै नै वास्तविक अनुभवहरूलाई नजिकबाट हेर्न सक्नु हुने थियो। त्यसमा ती पुरुषहरू सम्मिलित हुनेथिए जो पहिले हठी, धाक जमाउने वा निर्लज्ज स्वार्थी थिए तर अहिले नम्र अनि आफ्नी पत्नी, छोरा-छोरी र अरूप्रति बढी कोमल प्रेम तथा दया देखाउने पति र पिताहरू भएका छन्। यसमा त्यस्ता आइमाईहरू पनि सामेल छन् जो पहिले हैकम चलाउन खोज्ने वा कठोर थिए तर अब भने साँचो मसीही धर्मबारे सिक्न अरूलाई मदत दिन्छन्। हो, यसप्रकारका लाखौं उदाहरणहरू छन्। अब, तपाईं कुरा नलुकाई भन्नुहोस्: आफूलाई सबैभन्दा पहिला र बढी प्रेम गर्ने पुरुष तथा स्त्रीहरूको सङ्गतमा बस्नुभन्दा के तपाईं यस्ता मानिसहरूको सङ्गतमा बस्न रूचाउनु हुन्न र? हाम्रो डरलाग्दो समयको सामना गर्न के त्यसले गर्दा सजिलो हुनेछैन र? अतः बाइबलको यसप्रकारका शिक्षाहरूलाई अनुसरण गर्नाले के तपाईं आनन्दित हुनुहुने छैन र?
२३ अहिले हामीले २ तिमोथी ३:२-५ मा लिपिबद्ध पावलको सूचीमा भएको प्रथम बुँदालाई मात्र ध्यान दियौं। अरू बुँदाहरूबारे नि? के तिनीहरूलाई ध्यान दिएर जाँच गर्नाले हाम्रो समयका प्रमुख समस्याहरूलाई चिन्न र तिनीहरूबाट जोगिनका साथै कस्तो मार्ग अपनाए तपाईं तथा तपाईंका प्रिय जनहरूले अधिक आनन्द प्राप्त गर्न सकिन्छ भनेर मदत गर्नेछैन र? यस पछिको लेखले यी प्रश्नहरूको जवाफ पाउन र प्रशस्त आशिषहरूको आनन्द उठाउन मदत गर्नेछ। (w94 4/15)
सम्झनु पर्ने बुँदाहरू
▫ हामी डरलाग्दो समयमा बाँचिरहेका छौं भन्ने केही प्रमाणहरू के के हुन्?
▫ हामी अन्तिम दिनमा बाँचिरहेका छौं भनी हामी किन निश्चित हुन सक्छौं?
▫ दोस्रो तिमोथी ३:१-५ को अध्ययनबाट हामी कुन दुई मुख्य बुँदा छुट्याउन सक्छौं?
▫ धेरै मानिसहरू स्वार्थी हुने यस्तो समयमा बाइबलका शिक्षाहरूले यहोवाका जनहरूलाई कसरी मदत पुऱ्याएको छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. हामीले कस्ता शिक्षाहरू पालन गर्दैछौं त्यसमा हामीले किन चासो लिनुपर्छ?
३, ४. हामी डरलाग्दा समयमा बाँचिरहेका छौं भन्ने केही प्रमाणहरू के के हुन्?
५, ६. रोगहरू पनि हाम्रा डरलाग्दो समयको एउटा उल्लेखनीय पक्ष हो भनी हामी किन भन्न सक्छौं?
७. कठिन समयहरूप्रति आज धेरैले कस्तो प्रतिक्रिया देखाइरहेका छन्?
८. अर्न्तदृष्टि र डोऱ्याईको निम्ति हामीले किन बाइबलमा हेर्नुपर्छ?
९, १०. मत्ती अध्याय २४ मा गरिएको येशूको भविष्यवाणी प्रथम शताब्दीमा कसरी पूर्ति भयो?
११. मत्ती अध्याय २४ अनुसार प्रथम शताब्दीमा भएको पूर्ति हाम्रो समयसित कसरी सम्बन्धित छ?
१२. येशूअनुसार हामी अझै के हेर्ने आशा गर्न सक्छौं?
१३. कुन दुई मुख्य बुँदाहरू विचारणीय छन्?
१४. दोस्रो तिमोथी ३:१-५ लाई ध्यान दिनाले हामीलाई लाभ हुनेछ भनी विश्वास गर्नुमा कस्ता कारणहरू छन्?
१५. अहिले हाम्रो लागि २ तिमोथी ३:१ किन विशेष चासोको विषय हुनुपर्छ?
१६. गहुँ र सामाको उदाहरणले हाम्रो समयमा हुने कस्तो अवस्थाबारे भविष्यवाणी गऱ्यो?
१७. यस रीतिरिवाजको अन्तबारे २ तिमोथी ३:१-५ ले कस्तो समानान्तर जानकारी प्रदान गर्छ?
१८. पावलका भविष्यसूचक शब्दहरू अध्ययन गर्दा हामीले कुन कुरामा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ?
१९. मानिसहरू स्वार्थी हुन्छन् भन्ने विषयमा तपाईंले कस्ता प्रमाणहरू भेट्टाउनुभएको छ?
२०. आफूलाई मात्र प्रेम गर्ने भन्ने व्यापक मनोवृत्ति बाइबलको सल्लाहभन्दा कसरी भिन्न छ?
२१, २२. (क) त्यस्ता सल्लाहहरू आज पनि मदतकारी हुन सक्छन् भन्ने कस्ता थुप्रै प्रमाणहरू पाउन सक्छौं? (ख) साधारण मानिसहरूमाथि परमेश्वरको सल्लाहले कस्तो असर पारेको छ?
२३. दास्रो तिमोथी ३:२-५ मा थप ध्यान दिनु किन बेस हुनेछ?