जवानहरू—तपाईं कसको शिक्षा पालन गर्नुहुन्छ?
“भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्।”—१ तिमोथी ४:१.
जवानहरूलाई यहाँ सम्बोधन गरिएको प्रश्न यस्तो छ, तपाईं कसको शिक्षा पालन गर्नुहुन्छ? यसले तपाईं जवानहरू समक्ष छान्ने मौका छ भन्ने सङ्केत यसले दिन्छ। तपाईंले ईश्वरीय शिक्षा र प्रेतहरूका शिक्षाबीच छनौट गर्नु परेको छ। यहोवाले आफ्नो वचन अर्थात् बाइबलका साथै यस पृथ्वीमा आफ्ना प्रतिनिधिको रूपमा चलाउनु भएका व्यक्तिहरूद्वारा सिकाउनुहुन्छ। (यशैया ५४:१३; प्रेरित ८:२६-३९; मत्ती २४:४५-४७) तर प्रेतहरूले पनि सिकाउँछन् भन्ने सुन्दा के तपाईंलाई छक्क लाग्यो?
२ प्रेरित पावलले यसो लेखे: “पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्।” (१ तिमोथी ४:१) शैतान र त्यसका प्रेतहरू विशेषतः सक्रिय हुने यी “आखिरी दिनमा” हामी बाँचिरहेकोले ‘तपाईं कसको शिक्षा पालन गर्नुहुन्छ?’ भनी प्रश्न गर्नुको कारण के तपाईं बुझ्नुहुन्छ? (२ तिमोथी ३:१-५; प्रकाश १२:७-१२) शैतान र त्यसका प्रेतहरू असाध्यै धूर्त, साथै तिनीहरूका कार्य प्रणाली फुस्लाउने किसिमको हुनाले यस प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनु अपरिहार्य छ।—२ कोरिन्थी ११:१४, १५.
प्रेतहरू र तिनीहरूका शिक्षाहरू
३ प्रेतहरू एक समय यहोवाका स्वर्गदूतहरू थिए तर सृष्टिकर्त्ताको विरोध गरेर तिनीहरू शैतानका समर्थकहरू बने। (मत्ती १२:२४) मानिसहरूलाई भ्रष्ट पारेर परमेश्वरको सेवाबाट अलग्याउनु तिनीहरूको उद्देश्य हो। यो काम सम्पन्न गर्न प्रेतहरूले मानव शिक्षकहरूलाई चलाएर यहोवाले तिरस्कार गर्नुहुने स्वार्थ, अनैतिक जीवनशैलीलाई प्रवर्धन गर्छन्। (तुलना गर्नुहोस् २ पत्रुस २:१, १२-१५) कुनै समय विश्वासी रहेका स्वर्गदूतहरू कसरी प्रेतहरू बने भनी पुनरावृत्ति गर्नाले तिनीहरूका शिक्षाहरू र ती शिक्षाले प्रवर्धन गर्ने जीवनशैली चिन्न मदत मिल्नेछ।
४ नूहको समयमा केही स्वर्गदूतहरू मानिसहरूका सुन्दर छोरीहरूतर्फ अत्यन्तै आकर्षित भएर स्वर्गमा आफ्नो स्थान छोडी यी आत्मिक प्राणीहरू पृथ्वीमा आए। स्त्रीहरूसित यौनसम्बन्ध राख्दा नपील कहलिने ठिमाहा सन्तानहरू जन्मिए। आत्मिक प्राणीहरूले मानवहरूसित संसर्ग गर्नु अप्राकृतिक कुरा भएकोले यी अनाज्ञाकारी स्वर्गदूतहरूले ती स्त्रीहरूसित गरेको कार्य पछि सदोमका मानिस तथा केटाहरूले गरेको पुरुषगामी कार्य जत्तिकै गलत थियो। (उत्पत्ति ६:१-४; १९:४-११; यहूदा ६, ७) ठिमाहा सन्तानहरूका साथै ती स्वर्गदूतका पत्नीहरू जलप्रलयमा नाश भए तर ती दुष्ट स्वर्गदूतहरूले आफ्नो शारीरिक रूप परिवर्तन गरेर स्वर्गमा फर्के। त्यहाँ तिनीहरू शैतान तथा दियाबलका सङ्गी प्रेतहरू बने।—२ पत्रुस २:४.
५ यस्तो ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दा प्रेतहरू कस्ता प्राणीहरू हुन् भनी के तपाईं बुझ्न सक्नुहुन्छ? प्रेतहरू लैङ्गिक कामुकताले भरिपूर्ण यस संसारका यौन विकृतिका अदृश्य सञ्चालकहरू हुन्। मानव रूप धारण गर्न प्रतिबन्धित भए तापनि तिनीहरू आफूले पृथ्वीमा भ्रष्ट पार्न सक्ने व्यक्तिहरूको यौन विकृतिमा आनन्द उठाउँछन्। (एफिसी ६:११, १२) यहोवाका व्यवस्थाहरूलाई अनावश्यक किसिमले कडा जस्तो बनाएर प्रेतहरूले शुद्धता र नैतिकतासम्बन्धी ती व्यवस्थाहरू बङ्ग्याउन खोज्छन्। ती दुष्ट स्वर्गदूतहरूले लैङ्गिक अनैतिकतालाई सामान्य तथा आनन्दमय जीवनशैली भनी प्रवर्धन गर्छन्।
प्रेतहरूका शिक्षालाई प्रवर्धन गर्नु
६ चालै नपाउने ढङ्गमा प्रेतहरूले आफ्ना शिक्षाहरू प्रवर्धन गर्छन् भनी छक्क पर्नुपर्ने कुनै कारण छैन किनभने तिनीहरूका नेता, शैतान तथा दियाबलले हव्वालाई झुक्याउन प्रयोग गरेको चाल पनि यही नै थियो। मदतगार हुन चाहे जस्तो गरी त्यसले हव्वासित कुरा गरेको सम्झनुहोस्। शैतानले यसरी सोध्यो, “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्नुभएको छ?” त्यसपछि, त्यस निषेधित रूखको फल खाएमा हव्वा लाभान्वित हुनेछिन् भनेर त्यसले धूर्ततापूर्वक परमेश्वरको शिक्षाको उपेक्षा गऱ्यो। दियाबलले प्रतिज्ञा गऱ्यो, “जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:१-५) यसप्रकार परमेश्वरप्रति अनाज्ञाकारी हुन हव्वा लोभिए, हो तिनी बहकिए।—२ कोरिन्थी ११:३; १ तिमोथी २:१३, १४.
७ वर्तमान समयमा पनि धेरै जना बहकिएका छन्। प्रेतहरूले लैङ्गिक अनैतिकतालाई धूर्ततापूर्वक प्रवर्धन गरेका छन् जसले गर्दा कुनै समय लैङ्गिक अनैतिकतालाई तिरस्कार गर्ने व्यक्तिहरूले पनि अहिले स्वीकार्न थालेका छन्। उदाहरणको लागि, अविवाहित व्यक्तिहरूले यौनसम्बन्ध राख्ने विषयमा प्रत्युत्तर दिंदै संयुक्त राज्यका सुपरिचित सल्लाहकार स्तम्भ लेखिकाले यस्तो लेखिन्: “यस विषयमा आफ्नो अडान परिवर्तन गर्नेछु भनी मैले कहिल्यै सोचेकी थिइँन तर अहिले भने विवाह गर्न गम्भीरतापूर्वक सोचिरहेका जोडीहरूले आफ्नो सामञ्जस्यता परीक्षण गर्न केही सप्ताहन्त सङ्गै बिताउनुपर्छ भन्ने विश्वास गर्छु।” त्यसपछि तिनले अझै यसो भनिन्: “आफूले त्यस्तो लेखें भनेर म कल्पना समेत गर्न सक्दिनँ!” तिनले व्यभिचार गर्ने सुझाव दिइरहेकी थिई भनेर तिनी आफैले विश्वास गर्न सकिनन् तर वास्तवमा तिनले त्यही गर्न उस्काइ रहेकी थिई! स्पष्ट छ, परमेश्वरले तिरस्कार गर्नुहुने चलनहरू उल्लङ्घन गराउने प्रेतहरूका शिक्षाहरूबाट प्रभावित हुन नदिन हामी होशियार हुनैपर्छ।—रोमी १:२६, २७; एफिसी ५:५, १०-१२.
८ शैतान “यस संसारको शासक” हो भनी हामीले कहिल्यै बिर्सनु हुँदैन। वास्तवमा, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी प्रेरित यूहन्नाले भने। (यूहन्ना १२:३१; १ यूहन्ना ५:१९) हो, सम्पूर्ण मानवजातिलाई सङ्केत गर्न येशूले कहिलेकाहीं “संसार” शब्द प्रयोग गर्नुभयो। (मत्ती २६:१३; यूहन्ना ३:१६; १२:४६) तर प्रायजसो साँचो मसीही मण्डली बाहेक सम्पूर्ण सङ्गठित मानव समाजलाई सङ्केत गर्न उहाँले “संसार” शब्द प्रयोग गर्नुभयो। जस्तै, उहाँका अनुयायीहरू “यस संसारको भाग” (अधर्मी मानव समाज) हुनुहुँदैन भनी येशूले भन्नुभयो। अनि यस संसारको भाग नभएकोले तिनीहरूलाई घृणा गर्नेछन् पनि भन्नुभयो। (यूहन्ना १५:१९; १७:१४-१६) शैतानद्वारा शासित संसारको मित्र हुनदेखि जोगिनुपर्छ भनी बाइबलले थप चेताउनी दिएको छ।—याकूब ४:४.
९ प्रेरित यूहन्नाले आग्रह गरे: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर।” तिनले अझ यसो भने: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन।” (१ यूहन्ना २:१५, १६) यसलाई एकछिन् सोच्नुहोस्। उदाहरणको लागि, अवैध यौनसम्बन्धजस्ता गलत इच्छाहरू उत्प्रेरित गर्ने आज संसारमा कस्ता कुराहरू छन्? (१ थिस्सलोनिकी ४:३-५) संसारको धेरैजसो सङ्गीतहरू नि? क्यालिफोर्नियाका परीक्षणकालका प्रहरी निरीक्षकले यसो भने: “सङ्गीतले मुख्यतः आमाबाबुको कुरा सुन्नु पर्दैन र आफूले चाहेजस्तो जीवन बिताउन सकिन्छ भनेर सिकाउँछ।” त्यस्तो सङ्गीतले प्रदान गर्ने शिक्षाको स्रोत के तपाईं चिन्नुहुन्छ?
१० वास्तवमा शैतानले हव्वालाई भनिरहेको कुरा सम्झनुहोस्: ‘तिमीले केही गुमाइरहेकी छौ। आफूले चाहेजस्तो जीवन बिताऊ। असल र खराब आफैले निर्णय गर। तिमीले परमेश्वरको कुरा सुन्नु पर्दैन।’ (उत्पत्ति ३:१-५) आज संसारको धेरैजसो सङ्गीतमा पाइने समाचार के यस्तै प्रकारको होइन र? तर प्रेतहरूले सिकाउने माध्यम सङ्गीत मात्र होइन। तिनीहरूले व्यापारिक टेलिभिजन कार्यक्रमहरू, सिनेमा र भिडियोहरू पनि प्रयोग गर्छन्। कसरी? भनौं भने, संसारका सञ्चार माध्यमहरूले परमेश्वरका नैतिक शिक्षाहरू दमनकारी जस्तो देखिने मनोरञ्जनहरू प्रस्तुत गर्छन्। व्यभिचारलाई जोड दिएर त्यसलाई वाञ्छनीय जस्तो गरी प्रस्तुत गर्दै त्यसलाई प्रवर्धन गर्छन्।
११ यु. एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट पत्रिकाले यसो भन्यो: “सन् १९९१ मा तीन वटा [स.रा.] नेटवर्कले प्राइम टाइममा १०,००० भन्दा बढी यौन घटनाहरू प्रदर्शन गऱ्यो; वैवाहिक दम्पतीहरूबीच गरिने हरेक यौन दृश्यको तुलनामा विवाहबाहिर यौनसम्बन्ध राखेको १४ वटा दृश्य नेटवर्कले देखायो।” प्राइम टाइममा एक वर्षभित्र अवैध यौनसम्बन्धको ९,००० भन्दा बढी दृश्य देखाएर टेलिभिजनले के सिकाउँदैछ भन्न सक्नुहुन्छ? “प्राइम टाइम टेलिभिजनमा यौनसम्बन्ध: १९७९ को तुलनामा १९८९” नामक रिपोर्टका सह-लेखक बारी एस. सपोल्सकीले यस्तो जवाफ दिए: “छाडा तथा खुल्लमखुल्ला लैङ्गिक संसर्गका दृश्यहरू टेलिभिजनमा वर्षौंसम्म एक जना वयस्कले हेऱ्यो भने, वर्षौंदेखि हेरेका ती हजारौं दृश्यहरूले यौनसम्बन्ध राख्नु रमाइलो र परिणाममुक्त हुन्छ भनेर सिकाउँछ।” यसमा कसैको दुइ मत नहोला: नियम भनेको कुनै छैन, व्यभिचार गर्नु स्वीकारयोग्य छ र परमेश्वरले तिरस्कार गर्नु हुने ढङ्गमा जीवन बिताउँदा केही खराब परिणामहरू हुँदैन भनी संसारको मनोरञ्जनले जवान व्यक्तिहरूलाई सिकाउँछ।—१ कोरिन्थी ६:१८; एफिसी ५:३-५.
१२ संसारको सङ्गीत, सिनेमा, भिडियो र टेलिभिजन जवानहरूलाई आकर्षित गर्न बनाइएको हुन्छ। ती कुराहरूले प्रेतहरूका भ्रष्ट शिक्षाहरू फैलाउँछन्! तर के यो छक्क पर्नु पर्ने कुरा हो? यसो विचार गर्नुहोस्। यदि झूटो धर्म र राजनीति शैतानको संसारको भाग हुन् भन्ने कुरामा कुनै सन्देह छैन भने संसारले प्रवर्धन गर्ने मनोरञ्जन प्रेतहरूको प्रभावबाट मुक्त होला भनेर विश्वास गर्नु के सुहाउँछ र? “आफू वरपरको संसारले तपाईंलाई निस्सासिन दिन देखि” तपाईं जवान मानिसहरू विशेषगरि सतर्क हुनुपर्छ।—रोमी १२:२, जे. बी फिलिप्सद्वारा लिखित द न्यु टेस्टामेन्ट इन मडर्न इङ्गलिश।
आत्मपरीक्षण गर्नुहोस्
१३ तपाईंले कसका शिक्षाहरू पालन गरिरहनुभएको छ, त्यो तपाईंको बोलीबाट मात्र होइन तर तपाईंका कार्यहरूबाट पनि झल्किन्छ। (रोमी ६:१६) त्यसकारण आफैलाई सोध्नुहोस्, ‘संसारका अफवाह च्यानेलहरू मार्फत् सिकिने कुराहरूद्वारा के मेरो मनोवृत्ति र जीवनशैली अनुचित किसिमले प्रभावित भएको छ? प्रेतहरूका शिक्षाहरूले के मेरो जीवनमा प्रवेश गरिरहेको हुन सक्छ?’ यस्ता प्रश्नहरूको जवाफ दिनका लागि तपाईंले बाइबल अध्ययन गर्ने, मसीही सभाहरूमा उपस्थित हुने तथा परमेश्वरको राज्यबारे अरूलाई बताउन बिताउनु हुने समय र मिहेनतलाई टिभि हेर्ने, सङ्गीत सुन्ने, आफूलाई मन पर्ने खेल खेल्ने अथवा त्यस्तै प्रकारका अन्य क्रियाकलापहरूमा बिताउनु हुने समयसित तुलना गर्नुभए कसो होला? त्यस्तो ठूलो कुरा—भनौं भने तपाईंको जीवन नै खतरामा परेकोले इमान्दारिताका साथ आत्मपरीक्षण गर्नुहोस्।—२ कोरिन्थी १३:५.
१४ तपाईंले खानुहुने भौतिक आहारले तपाईंको शारीरिक स्वास्थ्यलाई असर गर्छ भनी तपाईंलाई राम्ररी थाहा छ। त्यस्तैगरि, तपाईंले आफ्नो मन अनि हृदयलाई खुवाउनु हुने आहारले तपाईंको आध्यात्मिक स्वास्थ्यलाई असर गर्छ। (१ पत्रुस २:१, २) तपाईंका वास्तविक चासोको सम्बन्धमा आफूलाई त छक्क्याउनु होला तर हाम्रो न्यायकर्त्ता, येशू ख्रीष्टलाई भने छक्क्याउन सक्नुहुन्न। (यूहन्ना ५:३०) अतः आफैलाई सोध्नुहोस्, ‘यदि येशू यस पृथ्वीमा हुनुभएको भए मैले सुनिरहेको सङ्गीत सुन्न अथवा मैले हेरिरहेको टिभि कार्यक्रम हेर्न उहाँ कोठाभित्र पस्नुभयो भने के मैले अप्ठ्यारो महसुस गर्ने थिएँ?’ तर विचारणीय तथ्य के भने येशूले हामीलाई हेरिरहनुभएको छ र हाम्रा कार्यहरू जान्नुहुन्छ।—प्रकाश ३:१५.
प्रेतहरूका शिक्षाको प्रतिरोध गर्नुहोस्
१५ आफ्ना शिक्षाहरू पालन गराउन प्रेतहरूले जवानहरूमाथि भयङ्कर दबाब दिन्छन्। तुरुन्तै तृप्ति प्राप्त हुने अर्थात् मोजमज्जा र आनन्दको जीवन प्रेतहरूले प्रस्तुत गरिरहेको जस्तो देखिन्छ। परमेश्वरलाई प्रसन्न पार्न प्राचीन समयका मोशाले फिरऊनको घरानाका प्रतिष्ठित सदस्यको हैसियतमा “केही समयसम्म पापको सुख” भोग्न इन्कार गरे। (हिब्रू ११:२४-२७) प्रेतहरूले प्रस्तुत गर्ने कुरा इन्कार गर्नु सजिलो छैन। त्यसकारण सही कार्य गर्न तपाईंले कडा सङ्घर्ष गर्नैपर्छ। यो कुरा सत्य हो किनभने हामीले वंशाणुगत पाप पाएका छौं र हाम्रो हृदय खराबी गर्न लालायित हुन्छ। (उत्पत्ति ८:२१; रोमी ५:१२) पापी झुकावहरूको कारण प्रेरित पावल पनि आफूसित कठोर हुनुपऱ्यो र शारीरिक इच्छाहरूले आफूलाई दबाउने मौका तिनले दिएनन्।—१ कोरिन्थी ९:२७; रोमी ७:२१-२३.
१६ “खराबी गर्न भीडसँग लाग्न” तपाईं लोभिनु भए तापनि गलत कार्यतर्फ डोऱ्याउने आफ्ना साथीहरूको दबाबको प्रतिरोध गर्न परमेश्वरले तपाईंलाई मदत दिन सक्नुहुन्छ। (प्रस्थान २३:२; १ कोरिन्थी १०:१३) तर तपाईंले परमेश्वरको निर्देशनहरू सुन्नुपर्छ र उहाँका उक्तिहरूलाई आफ्नो हृदयमा साँचेर राख्नुपर्छ। (भजनसंग्रह ११९:९, ११) जवानहरूले आफूलाई अरूबाट अलग्याउँदा यौन इच्छाहरू जाग्न सक्छन् र परमेश्वरको व्यवस्था भङ्ग गर्न उत्प्रेरित हुन सक्छ भनी तपाईंले बुझ्नुपर्छ। एक जना किशोरीले मानी लिए, “म आफ्नो प्रेमीसित एक्लै हुँदा मेरो शरीरले एक थोक गर्न चाहन्छ र दिमागले अर्कै गर्ने आदेश दिन्छ।” त्यसकारण आफ्ना सीमाहरू चिन्नुहोस् र तपाईंको हृदय छली छ भनी मानी लिनुहोस्। (यर्मिया १७:९) आफूलाई नअलग्याउनुहोस्। (हितोपदेश १८:१) मायाप्रीतिका अभिव्यक्तिहरूको सीमा तोक्नुहोस्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवालाई प्रेम गर्ने र उहाँका व्यवस्थाहरूप्रति गहिरो आदर राख्ने व्यक्तिहरूसित मात्र नजिकको सङ्गति राख्नुहोस्।—भजनसंग्रह ११९:६३; हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३.
१७ तपाईंलाई आध्यात्मिक तवरमा बलियो बनाउन तयार गरिएका मसीही प्रकाशनहरू ध्यान दिएर अध्ययन गर्नु मदतकारी हुनेछ। उदाहरणको लागि, अङ्ग्रेजीमा क्वेश्चन्स् यङ्ग पिपल आस्क—आन्सर्स द्यात वर्क, प्रहरीधरहरा र अवेक का लेखहरू साथै पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा “असल काम गर्नकालागि सङ्घर्ष” शीर्षक भएको अध्याय छ। प्रदान गरिएका शास्त्रीय सल्लाहहरूलाई तपाईंको मन अनि हृदयमा गहिरोसित गड्न दिनुहोस् र यसले तपाईंलाई बलियो बनाउनेछ। तपाईंले कहिल्यै बिर्सन नहुने तथ्य के हो भने, प्रेतहरूद्वारा शासित यस संसारमा असल कार्य गर्नु सजिलो छैन। त्यसैले कडा सङ्घर्ष गर्नुहोस्। (लूका १३:२४) तपाईंको आध्यात्मिक बललाई बढाउनु- होस्। खराबी गर्न भीडको पछि लाग्ने ती कमजोर, डरछेरूवाहरूको अनुसरण नगर्नुहोस्।
ईश्वरीय शिक्षाबाट लाभ
१८ यो पनि याद गर्नुहोस्, यहोवाका शिक्षाहरू पालन गरेर तपाईंले कहिल्यै पनि कुनै फाइदाजनक कुरा गुमाउनु हुनेछैन। उहाँले तपाईंलाई साँच्चै नै प्रेम गर्नुहुन्छ। त्यसैले तपाईंको “फायदाको निम्ति” उहाँले सिकाउनुहुन्छ। (यशैया ४८:१७) अतः यहोवाको शिक्षा पालन गर्नुहोस् र भताभुङ्ग अन्तस्करण बिग्रेको, आत्म-सम्मान गुमेको, अनैच्छिक गर्भाधारण, लैङ्गिक संसर्गद्वारा सर्ने रोगहरूको शिकार हुन वा त्यस्तै प्रकारका विपत्तिहरूबाट जोगिनुहोस्। परीक्षा आइपर्दा मानिसहरू परमेश्वरप्रति वफादार रहने छैनन् भन्ने शैतानको चुनौतीलाई उहाँका सेवकहरूले प्रत्युत्तर दिंदा यहोवा आनन्दित हुनुहुन्छ। (अय्यूब १:६-१२) उहाँप्रति विश्वासी भएर यहोवाको हृदय आनन्दित बनाउनुभयो भने यस संसारमाथि प्रतिकूल न्याय ल्याउनुहुँदा तपाईं बाँच्नुहुनेछ तर उहाँका व्यवस्थाको बेवास्ता गर्नेहरू नाश हुनेछन्।—हितोपदेश २७:११; १ कोरिन्थी ६:९, १०; १ यूहन्ना २:१७.
१९ यहोवाले गरिदिनुभएका कार्यहरूप्रति मूल्याङ्कन गर्ने व्यक्तिहरूसित तपाईंले नजिकको सम्बन्ध गाँस्नुभयो भने तिनीहरूको अनुभवबाट तपाईंले सिक्न सक्नुहुन्छ। पहिले व्यभिचारमा लागेकी र लागू पदार्थको दुर्व्यसनी भइसकेकी एउटी स्त्रीले यसो भनिन्: “यहोवाको कुरा नसुनेको भए म मरिसक्थें। मैले विवाह गर्नै लागेको व्यक्ति एड्स लागेर मरिसक्यो। मेरा पहिलेका सबै सांसारिक घनिष्ठ मित्रहरू एड्स लागेर मरिसके भने कति मर्नै लागेका छन्। म तिनीहरूलाई प्रायः सडकहरूमा देख्छु र यहोवाका व्यवस्थाहरूको लागि म यहोवालाई दिनहुँ धन्यवाद दिन्छु जसले उहाँका मानिसहरूलाई डोऱ्याउँछ। ती व्यवस्थाहरू पालन गरेको खण्डमा मात्र हामी पवित्र हुन सक्छौं। मेरो जीवनमा यत्तिको आनन्दित, सन्तुष्ट र सुरक्षित कहिल्यै हुन सकेकी थिइन।” हो, यहोवाका शिक्षाहरू पालन गर्दा सदैव हाम्रै भलाइ हुन्छ!
सही छनौट गर्नुहोस्
२० तपाईं जवानहरूलाई हामी आग्रह गर्छौं: यहोवाको सेवा गर्नुभएर सही छनौट गर्नुहोस्। अनि त्यस निर्णयमा अडिग हुन दृढ हुनुहोस्। (यहोशू २४:१५) वस्तुतः तपाईंले दुईमध्ये एउटा मात्र छनौट गर्न सक्नुहुन्छ। आफूखुशी गर्ने सजिलो, फराकिलो र चौडा बाटोबारे येशूले भन्नुभयो। त्यो बाटोले अन्तमा विनाश सिवाय अरू कतै पुऱ्याउँदैन। अर्को बाटो साँघुरो छ। अनैतिक, प्रेतहरूद्वारा शासित संसारमा यस बाटोमा यात्रा गर्नु गाह्रो छ। तर त्यस बाटोमा हिंड्नेहरू अन्ततः परमेश्वरको अद्भुत नयाँ संसारमा पुग्नेछन्। (मत्ती ७:१३, १४) तपाईंले कुन बाटो छान्नुहुनेछ? तपाईंले कसका शिक्षाहरू पालन गर्नुहुनेछ?
२१ त्यो छनौट गर्ने जिम्मा यहोवाले तपाईंकै हातमा छोडिदिनु भएको छ। उहाँको सेवा गराउन उहाँले तपाईंलाई जबरदस्ती गर्नुहुन्न। परमेश्वरको अगमवक्ता मोशाले आग्रह गर्दै यसो भने: “तिमीहरूका अगि जीवन र मृत्यु . . . राखेको छु। . . . जीवननै रोज।” “[यहोवा] तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै” त्यो छनौट गर्न सकिन्छ। (व्यवस्था २९:२; ३०:१९, २०) तपाईंले बुद्धिमानीपूर्वक ईश्वरीय शिक्षा छान्न र परमेश्वरको महिमित नयाँ संसारमा अनन्त जीवनको आनन्द उठाउन सकोस्! (w94 5/15)
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
▫ प्रेतहरू को हुन् र तिनीहरूले के सिकाउँछन्?
▫ आज प्रेतहरूले आफ्ना शिक्षाहरू कसरी प्रवर्धन गर्छन्?
▫ प्रेतहरूका शिक्षाहरूको प्रतिरोध गर्न कसरी सम्भव छ?
▫ प्रेतहरूका शिक्षाहरू प्रतिरोध गर्दा हुने फाइदाहरू के के हुन्?
[अध्ययनका लागि प्रश्नहरू]
१. (क) जवानहरू समक्ष छनौट गर्ने कस्तो मौका छ? (ख) यहोवाले कसरी सिकाउनुहुन्छ?
२. विशेषतः अहिलेको समयमा प्रेतहरूको शिक्षाबाट सतर्क हुनु किन महत्त्वपूर्ण छ?
३. प्रेतहरू को हुन्, तिनीहरूको उद्देश्य के हो र ती कसरी पूर्ति गर्न खोज्छन्?
४. (क) नूहको समयमा अनाज्ञाकारी स्वर्गदूतहरू पृथ्वीमा किन आए? (ख) दुष्ट स्वर्गदूतहरू र तिनीहरूका सन्तानलाई जलप्रलयमा के भयो?
५. प्रेतहरू कस्ता प्रकारका प्राणीहरू हुन् र तिनीहरूले परमेश्वरको व्यवस्थालाई कसरी बङ्ग्याउन खोज्छन्?
६. चालै नपाउने ढङ्गमा प्रेतहरूले आफ्ना शिक्षाहरू प्रवर्धन गर्छन् भनेर हामी छक्क पर्नु पर्ने किन कुनै कारण छैन?
७. चालै नपाउने ढङ्गमा प्रेतहरूले आफ्ना शिक्षाहरू प्रवर्धन गर्दा कस्तो असर भएको छ र यसले हामीलाई कस्तो चेताउनी दिन्छ?
८. (क) बाइबलमा “संसार” शब्द कसरी प्रयोग गरिएको छ? (ख) संसारमाथि कसले शासन गर्छ र येशूका अनुयायीहरूले संसारलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
९, १०. (क) कस्ता सांसारिक कुराहरूले अनुचित लैङ्गिक इच्छाहरू उत्प्रेरित गर्छ? (ख) संसारको मनोरञ्जनले सिकाउने कुराहरूको पछाडि को छ भनी चिन्न कसरी सम्भव छ?
११. नैतिकताको विषयमा कुरा गर्ने हो भने टेलिभिजनले के सिकाउँछ?
१२. विशेषगरि मसीही जवानहरूको निम्ति संसारले प्रदान गर्ने मनोरञ्जन किन खतरापूर्ण छ?
१३. हामीले कस्तो आत्मपरीक्षण गर्नुपर्छ?
१४. हाम्रो आध्यात्मिक स्वास्थ्यलाई कुन कुराले असर गर्छ र हामीले कुन विचारणीय तथ्यलाई आफ्नो मनमा राख्नुपर्छ?
१५. प्रेतहरूका शिक्षाहरूको प्रतिरोध गर्न किन कडा सङ्घर्ष गर्नुपर्छ।
१६. अनैतिक चालचलनमा संलग्न हुने दबाबलाई जवानहरूले कसरी प्रतिरोध गर्न सक्छन्?
१७. प्रेतहरूका शिक्षाहरूको प्रतिरोध गर्न मसीही जवानहरूले कहाँबाट मदत पाउन सक्छन्?
१८. ईश्वरीय शिक्षा पालन गर्नाले हुने केही फाइदाहरू के के हुन्?
१९. यहोवाका शिक्षाहरूको मूल्याङ्कन गर्ने व्यक्तिहरूसित सङ्गति गर्नुको महत्त्व के हो?
२०, २१. (क) जवानहरूले कुन दुई वटाबीच छनौट गर्न सक्छन्? (ख) ईश्वरीय शिक्षा पालन गर्दा कस्तो दीर्घकालीन फाइदा हुन्छ?
[पृष्ठ ९-मा भएको चित्र]
जलप्रलयअघि, अनाज्ञाकारी स्वर्गदूतहरू र तिनीहरूका सन्तानले हिंसा र नैतिक अश्लीलतालाई बढावा दिए
[पृष्ठ ११-मा भएको चित्र]
तपाईंलाई मनपर्ने सङ्गीत येशूले सुन्नुभयो भने के तपाईं अप्ठ्यारो महसुस गर्नुहुनेछ?