“बालकहरूका मुखबाट”
प्रधान पूजाहारी एलीका छोराहरूको दुष्टताको बावजूद शमूएल सानो केटो छँदै सही सिद्धान्तहरूको पक्षमा दृढतापूर्वक खडा भए। (१ शमूएल २:२२; ३:१) एलीशाको समयमा सिरियामा कैदी बनाइएकी एउटी सानी इस्राएली केटीले मालिकनीलाई साहसीपूर्वक साक्षी दिइन्। (२ राजा ५:२-४) बाह्र वर्षको हुनुहुँदा येशूले इस्राएलका गुरुहरूसित निडरतापूर्वक कुरा गर्नुभयो र दर्शकहरूलाई छक्कै पार्ने प्रश्नहरू सोध्नुका साथै उत्तरहरू दिनुभयो। (लूका २:४६-४८) सम्पूर्ण इतिहासभरि यहोवाका जवान उपासकहरूले उहाँको विश्वासीपूर्वक सेवा गरेका छन्।
के जवानहरूले आज पनि त्यस्तै विश्वासी मनसाय देखाउँछन्? अवश्य देखाउँछन्। वाच टावर सोसाइटीका शाखा कार्यालयहरूका रिपोर्टअनुसार विश्वासमा भएका थुप्रै जवानहरूले यहोवाको सेवामा आफूलाई ‘राजीखुशी अर्पण’ गरिरहेका छन्। (भजनसंग्रह ११०:३) तिनीहरूका प्रयासहरूको असल परिणामहरूले जवान तथा वृद्ध सबै मसीहीहरूलाई “भलाइ गर्नामा हरेस” नखान प्रोत्साहन दिन्छ।—गलाती ६:९.
एउटा राम्रो उदाहरण जापानी केटी आयुमीको हो। छ वर्षकी हुँदा उनी प्रकाशक भइन् र आफ्नो कक्षाका सबैलाई साक्षी दिने लक्ष्य बनाइन्। उनले कक्षा कोठाको पुस्तकालयमा थुप्रै प्रकाशनहरू राख्ने अनुमति पाइन्। अनि आफ्ना साथीहरूले सोध्न सक्ने सम्भाव्य सबैजसो प्रश्नहरूको जवाफ पनि तयार पारिन्। प्रायजसो सबै सहपाठी तथा शिक्षकहरू समेत प्रकाशनहरूबारे परिचित भए। निम्न माध्यामिक विद्यालयमा छ वर्षसम्मको अध्ययन कालमा उनले १३ वटा बाइबल अध्ययनको प्रबन्ध गरिन्। चौथो कक्षामा हुँदा उनले बप्तिस्मा लिइन् र उनले अध्ययन गरेकी एउटी साथीले छ कक्षामा हुँदा बप्तिस्मा लिइन्। यसबाहेक, यस बाइबल विद्यार्थीकी आमा र दुई दिदीहरूले पनि अध्ययन गरेर बप्तिस्मा लिए।
राम्रो आचरणले साक्षी दिन्छ
प्रेरित पत्रुसले भने, “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ।” जवान मसीहीहरूले उपरोक्त सल्लाहलाई गम्भीरतापूर्वक स्वीकार्छन्। (१ पत्रुस २:१२) फलस्वरूप तिनीहरूको राम्रो आचरणले असल साक्षी दिन्छ। अफ्रिकी देश, क्यामरूनमा एक जना मानिस यहोवाका साक्षीहरूको सभामा दोस्रो पटक आएका थिए र तिनी छ वर्षीय सानी केटीको छेऊमा बस्न पुगे। वक्ताले बाइबलबाट एउटा पद्यांश हेर्ने आग्रह गर्दा यस सानी केटीले आफ्नो बाइबलमा उक्त पद छिट्टै भेट्टाइहालेको र ध्यान दिएर वक्तासँगै पढेको त्यस मानिसले याद गरे। उनको मनोवृत्ति देखेर असाध्यै प्रभावित हुँदै सभाको अन्तमा वक्ताकहाँ गएर त्यस व्यक्तिले यसो भने: “यस सानी केटीले गर्दा मलाई पनि तपाईंसित बाइबल अध्ययन गर्न मन लागेको छ।”
दक्षिण अफ्रिकाको एउटा स्कूलमा २५ जना विद्यार्थी यहोवाका साक्षीका छोराछोरीहरू हुन्। तिनीहरूको राम्रो आचरणले गर्दा यहोवाका साक्षीहरूले असल नाउँ कमाएका छन्। साक्षीहरूले आफ्ना छोराछोरीहरूलाई यस्तो राम्रो प्रशिक्षण कसरी दिन सक्छन् भनी एक शिक्षिकाले साक्षी आमालाई आफ्नो मनको कुरा पोखिन्। कारण, उनको आफ्नो चर्च जवानहरूलाई मदत दिन असक्षम साबित भएको थियो। स्कूलमा मदत दिन एक नयाँ शिक्षिका आइन् र साक्षी केटाकेटीहरूको राम्रो आचरण उनले तुरुन्तै याद गरिहालिन्। आफू पनि यहोवाको एक साक्षी हुन के गर्नुपर्छ भनी उनले एक जना साक्षी केटोलाई सोधिन्। बाइबल अध्ययनको आवश्यकता तिनले बुझाइदिए र चासो कायम राख्न तिनको आमाबाबुले उनीसित कुरा गर्ने प्रबन्ध मिलाइदिए।
कोस्टारिकामा आफ्ना दुई सहपाठीहरूले त्रिएक, प्राण र नरककुण्डसम्बन्धी प्रश्नहरूको जवाफ दिन बाइबल प्रयोग गरेको देखेर रिगोबर्टोले त्यसमा सत्यता भएको महसुस गरे। शास्त्र प्रयोग गर्ने तिनीहरूको क्षमताले गर्दा मात्र नभई तिनीहरूको उत्तम आचरण मसीहीजगतका चर्चहरूमा देखेको भन्दा असाध्यै भिन्न भएकोले उनीमाथि सकारात्मक प्रभाव पऱ्यो। पारिवारिक विरोधको बावजूद रिगोबर्टोले आफ्नो बाइबल अध्ययनमा राम्रो प्रगति गर्दैछन्।
स्पेनमा यहोवाका दुई साक्षीहरूमध्ये एक नौ वर्षका थिए। तिनीहरूले ओनोफ्रे नाउँ भएको मानिसलाई भेटे। वयस्क साक्षीले प्रायजसो कुराकानी गरे तर यो जवान साक्षीले भने त्यस वयस्क साक्षीले ठूलो स्वरले पढेका शास्त्रपदहरूलाई मनमनै पढे अनि आफूले सम्झेका केही बाइबल पदहरू उद्धृत गरे। ओनोफ्रे प्रभावित भए। यस सानो केटोले यति राम्रोसँग शास्त्रपदहरू चलाउन जहाँबाट सिकेका थिए, त्यहीं नै उनले पनि बाइबल अध्ययन गर्न चाहेको निर्णय गरे। यसर्थ, अघिल्लो हप्ता आइतबारको दिन बिहानै उनी राज्य भवनमा गए। साक्षीहरू दिउँसो मात्र सभामा आउने हुँदा मध्यदिनसम्म उनले बाहिरै कुरिरहनुपऱ्यो। त्यस समयदेखि उनले राम्रो प्रगति गरे र हालै पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिए।
प्रभावशाली जवान साक्षीहरू
हो, कोमल-हृदय भएका मानिसहरूसम्म पुग्न यहोवाले जवानहरूका साथै वयस्कहरू प्रयोग गर्नुहुन्छ। यो कुरा हङ्गेरीको अनुभवबाट अझ प्रष्टै देखिन्छ। त्यहाँ, एक दश वर्षीया बिरामीलाई भेट्न आउँदा आगन्तुकहरूले खानाको साथसाथै पाठ्यसामग्री ल्याउने गरेको अस्पतालकी एउटी नर्सले याद गरिन्। यस जवान केटीलाई मनपर्ने कस्ता पाठ्यसामग्रीहरू ल्याएका होलान् भनी नर्स छक्क पर्थिन् र त्यो बाइबल रहेछ भनेर थाहा पाइन्। नर्सले उनीसित कुरा गरिन् र पछि भने: “प्रथम भेटदेखि नै उनले मलाई साँच्चै सिकाइरहेकी थिइन्।” यस जवान केटीले अस्पताल छोड्दा सम्मेलनमा आउनको लागि नर्सलाई निमन्त्रणा दिइन्। तर उनले स्वीकारिनन्। यद्यपि पछि “शुद्ध भाषा” जिल्ला सम्मेलनमा उपस्थित हुन तिनी राजी भइन्। त्यसको तुरून्तैपश्चात् उनीसित बाइबल अध्ययन थालियो र एक वर्षपछि उनले बप्तिस्मा लिइन्। यस सानी केटीले अस्पतालमा छँदा बाइबल साहित्यहरू पढ्न समय निकालेकोले यो सबै हुन गयो।
एल साल्भाडोरकी आना रूत ११औं कक्षामा अध्ययनरत थिइन्। अरूले चाहेमा बाइबल साहित्यहरू पढोस् भनेर त्यसलाई टेबलमाथि छाडेर जाने उनको बानी थियो। साहित्यहरू त्यहाँबाट हराउने र केही समयपछि पुनः भेट्टिने गर्दा आफ्नो सहपाठी, एभलिन्ले साहित्यहरू पढ्ने गरेको आना रूतले पत्ता लगाए। केही समयपछि एभलिन्ले अध्ययन गर्न स्वीकारे र मण्डलीका सभाहरूमा उपस्थित हुन थालिन्। अन्ततः उनले बप्तिस्मा लिए र अहिले नियमित सहायक अग्रगामीको हैसियतमा सेवा गर्दै छिन्। आना रूत नियमित अग्रगामी हुन्।
पानामामा एउटी बहिनीले एक स्त्रीसित अध्ययन थालिन्। उनको पतिले असाध्यै विरोध गरेकोले अध्ययन झन्डै झन्डै बन्द हुन गयो। तर बिस्तारै बिस्तारै उनको पतिको विरोध कम भयो। उनको जेठाजु पनि एक जना साक्षी थिए। एक पटक यस स्त्रीको पतिलाई उनको दाइले घरमा चोरीसूचक यन्त्र जडान गरिदिन आग्रह गरे। यस चोरीसूचक यन्त्र जडान गरिरहेको बेलामा उनको भदै अँध्यारो अनुहार लिएर घर फर्किरहेकी थिइन्। के भयो भनी उनले सोधे। तिनी र तिनकी दिदी बाइबल अध्ययन गर्न गएको तर त्यो मानिस नभेटेकोले त्यो दिन यहोवाको लागि केही पनि गर्न नसकेको कुरा तिनले बताए। यो सुनेर तिनको काकाले भने: “उसोभए मलाई नै प्रचार गर न त! तब तिमीले यहोवाको निम्ति केही गर्नेछौ।” खुशी भएर उनकी भदै बाइबल लिन दगुरिन् र अध्ययन आरम्भ भयो।
तिनकी आमाले (यस मानिसको भाउजु) सबै कुरा सुनिरहेकी थिइन्। यो सबै ठट्टा मात्र होला भनी उनले सोचेकी थिई तर प्रत्येक पटक यो मानिस घरमा जाँदा बाइबल अध्ययन गर्न आफ्नी भदैलाई बोलाउँथे। साँचै गम्भीर भएर आफ्नो देवरले अध्ययन गरिरहेको र केही कठिन प्रश्नहरू सोधेको देखेपछि आफ्नी छोरीको उपस्थितिमा आमाले नै अध्ययन सञ्चालन गर्ने निर्णय गरे। उनले हप्ताको दुई पटक अध्ययन गर्न थाले र तीव्र प्रगति गरे। अन्ततः, प्रगति गर्दै समर्पण गर्ने स्थितिसम्म पुगे र आफ्नो पत्नीसँगै एउटै सम्मेलनमा उनले बप्तिस्मा लिए। उनको सानी भदैको असल मनोवृत्तिलाई धन्यवाद छ!
जवानहरूको साहसले असल साक्षी दिन्छ
बाइबल यसो भन्छ: “दह्रो हो, र तेरो हृदयले साहस गरोस्, तैंले परमप्रभुको बाटो हेर्।” (भजनसंग्रह २७:१४) यी शब्दहरू जवान साथै वयस्क, यहोवाका सम्पूर्ण सेवकहरूलाई लागू हुन्छ र गत वर्ष सबैले त्यो अनुसरण पनि गरे। अस्ट्रेलियामा पाँच वर्षीया नयाँ स्कूलमा भर्ती हुँदा उनकी आमा यहोवाको साक्षीहरूका विश्वासबारे बताउन शिक्षककहाँ गइन्। शिक्षकले भनिन्: “तपाईं के विश्वास गर्नुहुन्छ भनी मैले थाहा पाइसकें। तपाईंकी छोरीले मलाई सबै कुरा बताइसकिन्।” आफू एक्लै गएर आफ्ना धार्मिक विश्वासहरू बताउन यो सानी केटी डराइनन्।
रोमेनियामा पाँच वर्षीय आन्द्रियाले पनि त्यस्तै साहस देखाइन्। साक्षी बन्न उनकी आमाले पूर्वीय रूढीवादी धर्म त्यागेपछि छिमेकीहरूले उनको कुरा सुन्न इन्कार गरे। एक दिन मण्डली पुस्तक अध्ययनमा सेवा निरीक्षकले आफ्ना छिमेकीहरूलाई प्रचार गर्नु पर्ने आवश्यकतालाई जोड दिएको उनले सुनिन्। यसलाई उनले गम्भीरतापूर्वक सोचे र घर फर्केपछि आमालाई भनिन्: “तपाईं काममा जानुभएपछि म पनि तपाईंले जस्तै आफ्नो पुस्तिका झोला तयार पार्नेछु र छिमेकीहरूसित सत्यबारे कुरा गर्न सकूँ भनेर मदतको लागि यहोवासित प्रार्थना गर्नेछु।”
भोलिपल्ट प्रतिज्ञा गरेझैं आन्द्रियाले गरिन्। सारा साहस बटुलेर उनले छिमेकीको घण्टी बजाए। छिमेकीले ढोका खोलेपछि यस सानी केटीले भनिन्: “मेरी आमा साक्षी भएदेखि तपाईं उहाँलाई मन पराउनु हुन्न भनी मलाई थाहा छ। उहाँले धेरै पटक तपाईंसित कुरा गर्न खोज्नुभयो तर तपाईंले सुन्नै चाहनु भएन। यसले गर्दा उहाँ दुःखी हुनुहुन्छ। तर नबिर्सनुहोस्, हामी तपाईंलाई माया गर्छौं।” त्यसपछि आन्द्रियाले राम्रो साक्षी दिन थालिन्। एकै दिनमा उनले छ वटा पुस्तक, छ वटा पत्रिका, चार वटा साना पुस्तिका र चार वटा पर्चा वितरण गरिन्। त्यस समयदेखि उनी नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिन्छिन्।
रूवाण्डामा भएको कलहले गर्दा हाम्रा भाइहरूले ठूलो साहस देखाउनु परेको छ। मार्ने उद्देश्यले साक्षीहरूको एक परिवारलाई एक पटक सिपाहीहरूले एउटा कोठामा थुने। मारिनुभन्दा पहिले परिवारले प्रार्थना गर्ने अनुमति मागे। अनुमति दिइयो र छ वर्षीय छोरी, डेबोराबाहेक सबैले मनमनै प्रार्थना गरे। प्राप्त विवरणअनुसार डेबोराले भने ठूलो सोरमा यसरी प्रार्थना गरिन्: “यहोवा, यो हप्ता क्षेत्र सेवकाईमा मेरो बुबा र मैले पाँच वटा पत्रिका वितरण गऱ्यौं। ती मानिसहरूलाई सत्य सिकाउन र जीवन प्राप्त गर्न मदत दिन हामी तिनीहरूकहाँ कसरी जान सक्छौं? अब म एक जना प्रकाशक कसरी हुने? तपाईंको सेवा गर्न म बप्तिस्मा लिन चाहन्थें।” यो सुनेर सिपाहीले भने: “यस सानी केटीको खातिर हामी तपाईंहरूलाई मार्न सक्दैनौं।” डेबोराले जवाफ दिइन्: “धन्यवाद।” परिवार जोगियो।
आफ्नो पार्थिव जीवनको अन्ततिर विजयवन्त भएर यरूशलेममा प्रवेश गर्नुहुँदा उल्लसित ठूलो भीडले उहाँलाई अभिवादन गरेको थियो। रेकर्डअनुसार केटाकेटीहरू “मन्दिरमा होसन्ना दाऊदका पुत्रलाई भन्दै” चिच्याइरहेका थिए। मुख्य पूजाहारी र शास्त्रीहरूले यसको विरोध गर्दा येशूले जवाफ दिनुभयो: “के तिमीहरूले पढ़ेका छैनौ? दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।”—मत्ती २१:१५, १६.
येशूका शब्दहरू आज पनि सत्य साबित भएको हेर्न पाउनु के उत्साहवर्धक कुरा होइन र? “दूधे-बालक र काखको बालकहरूका मुखबाट” र यसमा हामी यो पनि थपौं—किशोरकिशोरीहरू र जवान स्त्री तथा पुरुषहरूद्वारा यहोवाले आफ्नो स्तुति गराउनुभएको छ। निस्सन्देह, यहोवाको प्रशंसा गर्ने सम्बन्धमा कोही पनि सानो उमेरको हुँदैन।—योएल २:२८, २९.