“दिनहुँ” आफ्नो समर्पणअनुरुप जीवन यापन गर्न
“कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनहूँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।”—लूका ९:२३.
१. आफ्नो मसीही सफलता जाँच्ने एउटा माध्यम के हो?
“के हामी साँच्चै नै समर्पित मानिसहरू हौं?” संयुक्त राज्य अमेरिकाको ३५-औं सभापति जोन एफ. केनेडीअनुसार सरकारी ओहोदामा बस्ने मानिसहरूको सफलता जाँच गर्दा उक्त प्रश्नको उत्तरलाई ध्यानमा राख्न अत्यावश्क छ। तर सो प्रश्नलाई हामी मसीही सेवकहरूको सफलता जाँच गर्दा अझ अर्थपूर्ण रीतिले प्रयोग गर्न सकिन्छ।
२. एउटा शब्दकोषले “समर्पण”को परिभाषा कसरी गरेको छ?
२ तर वास्तवमा समर्पण भनेको के हो? वेब्सटर्स नाइन्थ न्यु कलेजिएट डिक्शनेरी-को परिभाषाअनुसार समर्पणको अर्थ हो: “कुनै ईश्वरीय व्यक्ति विशेष अथवा विधि,” “कुनै खास उद्देश्यका लागि अलग्ग राख्नु अथवा चढाउनु,” तथा “आत्मत्यागी भक्ति।” जोन एफ. केनेडीले चाहिं उक्त शब्द सम्भवत: “आत्म-त्यागी भक्ति” भन्ने अर्थमा प्रयोग गरेका थिए। तर एक जना मसीहीका लागि समर्पणले यो भन्दा अझ धेरै नै ठूलो अर्थ राख्छ।
३. मसीही समर्पण के हो?
३ येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यसो भन्नु भयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) ईश्वरीय सेवाका लागि अलग्गिनुको अर्थ आइतबारको दिन अथवा कुनै उपासना-स्थलमा जाँदा उपासना गर्नु मात्र होइन। यसमा आफ्नो सारा जीवन-शैली विथोलित हुन्छ। मसीही हुनुको अर्थ आफूलाई इन्कार गर्नु अथवा स्वयंलाई नकार्दै येशू मसीहले जुन परमेश्वरको सेवा गर्नु भयो उही परमेश्वर यहोवाको सेवा गर्नु हो। यसको अलावा, ख्रीष्टको अनुयायी हुनाकारण आफूमाथि जस्तो सुकै सतावट आउँदा पनि एक जना मसीहीले धैर्यपूर्वक आफ्नो “क्रूस” उठाउने छ।
सिद्ध उदाहरण
४. येशूको बप्तिस्माले कुन कुरालाई चित्रित गऱ्यो?
४ यहोवालाई जीवन समर्पण गर्दा कुन-कुन कुरा विथोलित छन्, सो येशूले उहाँ पृथ्वीमा हुनु हुँदा प्रदर्शित गर्नु भयो। उहाँले यसप्रकारको भावना व्यक्त गर्नु भयो: “बलिदान र भेटी तपाईंलाई चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो।” अनि उहाँले फेरि यसो भन्नु भयो: “हेर्नुहोस्, हे परमेश्वर, तपाईंकै इच्छा गर्नाली म आएको छु।” (हिब्रू १०:५-७) समर्पित राष्ट्रको सदस्य हुनाले उहाँ जन्मदेखि नै यहोवामा समर्पित हुनुहुन्थ्यो। तापनि, यहोवाको इच्छा गर्ने अर्थात् आफ्नो प्राण छुडौतीको बलिदानको रूपमा अर्पित गर्ने स्वेच्छालाई चित्रित गर्दै उहाँ आफ्नो पार्थिव सेवकाईको सुरुमा बप्तिस्मा लिन अघि बढ्नु भयो। यस्तैगरी मसीहीहरू पनि यहोवा जे चाहनु हुन्छ, सो पूरा गर्न तयार हुनु पर्छ भनी उहाँले एउटा उदाहरण कायम गर्नु भयो।
५. भौतिक सरसामानहरूप्रति येशूले कस्तो अनुकरणीय दृष्टिकोण प्रदर्शित गर्नुभयो?
५ आफ्नो बप्तिस्मा पश्चात् येशूले एउटा यस्तो जीवन पद्धति पछ्याउनु भयो जसको परिणामस्वरुप उहाँले अन्तत: बलिदानकरुपी मृत्यु भोग्नु पऱ्यो। उहाँको रुचि पैसा कमाउन अर्थात् आरामको जीवन बिताउनुमा थिएन। उहाँको सेवकाई नै उहाँको जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग थियो। उहाँले आफ्ना अनुयायीहरूलाई पनि “पहिले . . . . [परमेश्वरको] राज्य र उहाँको धार्मिकता खोजी” गर्न आग्रह गर्नु भयो। (मत्ती ६:३३) उहाँले एक पटक यहाँसम्म भन्नु भयो: “फ्याउराहरूका प्वाल र आकाशका चराचुरुङ्गीहरूको गुँड हुन्छन्, तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ पनि छैन।” (मत्ती ८:२०) उहाँले अनुयायीहरूबाट पैसा निचोर्ने अभिप्रायले शिक्षा दिन सक्नु हुन्थ्यो। सिकर्मी हुनाकारण उहाँले फुर्सत निकालेर कुनै सुन्दर फर्निचर बनाउन सक्नु हुन्थ्यो तथा त्यसलाई बेचेर चाँदीका अझ केही सिक्का कमाउन सम्भव थियो। तर उहाँले आफ्नो सीप भैतिक समृद्धि बढाउनमा प्रयोग गर्नु भएन। के हामी परमेश्वरका समर्पित सेवकहरूले पनि येशूको अनुकरण ग्रदै भैतिक सरसामानहरू प्रति सही दृष्टिकोण अपनाएका छौं?—मतिती ६:२४-३४.
६. परमेश्वरका आत्म-त्यागी समर्पित सेवकहरू हुनका लागि हामी येशूको अनुकरण कसरी गर्नसक्छौं?
६ जीवनमा परमेश्वरको सेवालाई प्रथम स्थान दिंदा येशूले आफ्नो स्वार्थ पूरा गर्न खोज्नु भएन। उहाँले आफ्नो आम सेवकाईको साढे तीन सालभरि आत्म-त्यागी जीवन बिताउनु भयो। एक पटक त उहाँ दिनभरि यति व्यस्त हुनुहुन्थ्यो कि केही खाने फुर्सत समेत पाउनु भएको थिएन। तापनि “गोठालो नभएको भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” मानिसहरूलाई उहाँ शिक्षा दिन तयार हुनुहुन्थ्यो। (मत्ती ९:३६; मर्कूस ६:३१-३४) “यात्राले थाक्नुभएको” बेलामा पनि उहाँ सुखारमा याकूबको इनारबाट पानी लिन आएकी सामरी स्त्रीसित कुरा गर्न अघि बढ्नु भयो। (यूहन्ना ४:६, ७, १३-१५) उहाँले जहिले पनि आफ्नो भन्दा अरूहरूकै हितलाई प्राथमिकता दिनुहुन्थ्यो। (यूहन्ना ११:५-१५) यसमा हामी पनि येशूको अनुकरण गर्न सक्छौं। परमेश्वर तथा अरूहरूको सेवाको खातिर हामीले पनि आफ्नो रुचिका कुराहरूलाई उदार भावसाथ पन्छ्याउनु सक्छौं। (यूहन्ना ६:३८) सकेसम्म कम काम गरेर उम्कनु खोज्नुको सट्टा परमेश्वरलाई वास्तवमा प्रसन्न तुल्याउने चेष्टा गर्न सक्छौं। यसो गऱ्यौं भने हामीले आफ्नो समर्पणअनुरुप जीवन यापन गरिरहेका हुनेछौं।
७. सधैं यहोवालाई श्रेय दिने सम्बन्धमा हामीले येशूको अनुकरण कसरी गर्न सक्छौं?
७ येशूले मानिसहरूलाई मदत दिएर कुनै हालतमा पनि आफूतिर ध्यान आकर्षित गर्न खोज्नु भएन। परमेश्वरको इच्छा पूरा गर्न उहाँ समर्पित हुनुहुन्थ्यो। उहाँले गर्नु हुने सबै कामको श्रेय आफ्नो पिता यहोवाले पाएको उहाँ चाहनुहुन्थ्यो। एक जना शासकले उहाँलाई “हे उत्तम गुरु” भनी सम्बोधन गर्दै “उत्तम” भन्ने शब्दलाई पदको रूपमा प्रयोग गरे। तर येशूले उनलाई सुधार्दै यसो भन्नुभयो: “केवल एक, अर्थात् परमेश्वरबाहेक कोही उत्तम छैन।” (लूका १८:१८, १९; यूहन्ना ५:१९, ३०)) येशू जस्तै के हामी पनि आफ्नो प्रशंसा खोज्नुको सट्टा यहोवालाई नै श्रेय दिन सधैं तम्तयार रहन्छौं?
८. (क) एक जना समर्पित मानिसको हैसियतमा येशूले आफूलाई कसरी संसारबाट अलग्ग राख्नु भयो? (ख) हामीले उहाँको अनुकरण कसरी गर्नसक्छौं?
८ ईश्वरीय सेवाका लागि येशूले आफूलाई वास्तवमा अलग्ग राख्नु भएको थियो। यो कुरा उहाँले पृथ्वीमा आफ्नो समर्पित जीवन-पद्धतिभरि प्रदर्शित गर्नु भयो। उहाँले आफूलाई शुद्ध राख्नु भयो। यसले गर्दा “निष्कलङ्क र निर्दोष” “थुमा” झैं उहाँले छुडौतीको बलिदान चढाउन सक्नु भयो। १ पुत्रुस १:१९; हिब्रू ७:२६) उहाँले मोशाको व्यवस्थाका जम्मै नियमहरू पालन गर्नुभएर सो व्यवस्थालाई पूरा गर्नु भयो। (मत्ती ५:१७; २ कोरिन्थी १:२०) उहाँले अरूलाई जुन नैतिक शिक्षा दिनु हुन्थ्यो, त्यसको पालना उहाँ आफै पनि गर्नु हुन्थ्यो। (मत्ती ५:२७, २८) कसैले पनि उहाँको नियतमाथि शङ्का गर्न सक्तैन थियो। उहाँ वास्तवमा “अधर्मलाई घृणा” गर्नु हुन्थ्यो। (हिब्रू १:९) हामी परमेश्वरका दासहरूले पनि येशूको अनुकरण गर्दै आफ्नो जीवन तथा नियतहरू समेत यहोवाको दृष्टिमा शुद्ध राख्ने गरौं।
चेताउनीपूर्ण उदहारणहरू
९. पावलले कुन चेताउनीरूपी उदाहरणलाई इङ्गित गरे र त्यसलाई हामीले किन ध्यान दिनुपर्छ?
९ येशूको उदाहरणको विपरीत हाम्रो सामु इस्राएलीहरूको चेताउनीपूर्ण उदाहरण छ। तिनीहरूले पनि यहोवाले भन्नु भएका जम्मै कुरा पालन गर्ने घोषणा गरेका थिए। तापनि तिनीहरू उहाँको इच्छा पूरा गर्न असमर्थ भए। (दानियल ९:११) इस्राएलीहरूमाथि घटेका घटनाहरूबाट शिक्षा लिन प्रेरित पावलले मसीहीहरूलाई प्रोत्साहित गरे। कोरिन्थीहरूलाई पठाएको उनको प्रथम पत्रमा इङ्गित केही खास घटनाहरूमाथि अब हामी विचार गरौं। साथै, हाम्रो समयमा परमेश्वरका समर्पित सेवकहरू कुन-कुन खतरादेखि जोगिएर बस्नु पर्छ, सो हामी हेरौं।—१ कोरिन्थी १०:१-६, ११.
१०. (क) इस्राएलीहरूले “खराब कुराको लालसा” कसरी गरे? (ख) खाने कुराबारे दोस्रो पटक गनगन गर्दा इस्राएलीहरू किन बढी जवाबदेही थिए र यो चेताउनीपूर्ण उदाहरणबाट हामी के सिक्न सक्छौं?
१० प्रथमतः पावलले हामीलाई “खराब कुरको लालसा” नगर्ने चेताउनी दिए। (१ कोरिन्थी १०:६) यहाँ तपाईंलाई सम्भवतः त्यस बेलाको सम्झना होला जब इस्राएलीहरूले मन्न मात्र खानु परेकोमा गनगन गरेका थिए। अतः यहोवाले तिनीहरूकहाँ बटेर चराहरू पठाउनु भएको थियो। करीब एक वर्षअघि, अर्थात् इस्राएलीहरूले यहोवामा आफ्नो समर्पण घोषणा गर्नुभन्दा केही समय पहिला पनि यस्तै घटना सिनको उजाडस्थानमा घटेको थियो। (प्रस्थान १६:१-३, १२, १३) तर त्यतिखेरको परिस्थिति निकै भिन्न थियो। यहोवाले प्रथम पटक बटेर चराहरू पठाउनु हुँदा उहाँले इस्राएलीहरूको गनगनको वास्ता गर्नु भएन। तर यसपटक चाहिं स्थिति बेग्लै थियो। “मासु तिनीहरूको दाँतैमा हुँदा र त्यसलाई चपाउनै नपाई परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्क्यो र परमप्रभुले ती मानिसहरूलाई भयंकर विपत्तिले मार्नुभयो।” (गन्ती ११:४-६, ३१-३४) तर किन? किनकि तिनीहरू अब एउटा समर्पित राष्ट्रका सदस्यहरू थिए। तिनीहरू आफ्ना कार्यहरूका लागि जवाबदेह थिए। यहोवाका प्रबन्धरूको मूल्याङ्कन गर्नुको सट्टा तिनीहरू यहोवाको विरुद्धमा गनगन गर्न थाले। जबकि यहोवाले भन्नु हुने सबै कुरा पालन गर्ने प्रतिज्ञा तिनीहरूले गरेका थिए! आज पनि यहोवाद्वारा उपलब्ध आहारबारे गनगन गर्नु त्यस्तै हो। यहोवाले “विश्वासी र बुद्धिमान दासद्वारा” उपलब्ध गराउनु भएका आत्मिक प्रबन्धहरूप्रति केही जनहरू मूल्याङ्कन व्यक्त गर्दैनन्। (मत्ती २४:४५-४७) तर स्मरण रहोस्, समर्पित हुनुको अर्थ यहोवाले हाम्रालागि गरी दिनु भएका सबै कुरा कृतज्ञताको भाव साथ सम्झिराख्नु तथा उहाँले दिनु हुने आत्मिक आहार स्वीकार्नु हो।
११. (क) इस्राएलीहरूले मूर्तिपूजाद्वारा यहोवाको उपासनालाई कसरी कलंकित पारे? (ख) हामी पनि एक प्रकारको मूर्तिपूजाबाट कसरी प्रभावित हुनसक्छौं?
११ यसपछि पावलले यो चेताउनी दिए: “औ तिनीहरूमध्ये कोही कोही भएझैं तिमीहरू मूर्तिपूजक नहोओ।” (१ कोरिन्थी १०:७) स्पष्टतः यहाँ इस्राएलीहरूले यहोवासित सीनै पर्वतमा वाचा बाँध्नासाथै गरेको बाछा-पूजालाई प्रेरित पावलले सङ्केत गर्दै थिए। तपाईं भन्नु होला: ‘म यहोवाको समर्पित सेवक हूँ। म मूर्तिपूजामा कहिल्यै फँस्ने छैन।’ तथापि, इस्राएलीहरूको विचारमा पनि तिनीहरूले यहोवाको उपासना गर्न छाडेका थिएनन्; तिनीहरूले परमेश्वरसमक्ष घृणास्पद बाछा-पूजा जस्तो कुरा अपनाएका मात्र थिए। अब यसप्रकारको उपासनामा के विथोलित थियो? बाछाको सामु बलिदान चढाएपछि मानिसहरू “खान-पीन गर्न” बस्थे अनि “लीला गर्नलाई” उठ्थे। (प्रस्थान ३२:४-६) यस्तैगरी आज पनि कसैकसैले यहोवाको उपासना गर्ने दाबी गर्लान्। तर तिनीहरूको जीवन यहोवाको उपासनामा होइन, सांसारिक कुराहरूको आनन्द उठाउनमै केन्द्रित हुन सक्छ। यी कुराहरूबाट बचेखुचेको समयमा चाहिं तिनीहरूले यहोवाको सेवा जसोतसो गर्ने कोशिश गर्लान्। हो, यसो गर्नु सुनको बाछाको सामु निंहुरनु चतिको खराब नहोला। तर यसो गर्नु सैद्धान्तिक तवरमा धेरै फरक पनि छैन। आफ्नै अभिलाषाहरूलाई आफ्नो ईश्वर बनाउँदै हामी यहोवामा गरिएको समर्पणलाई कहिल्यै पूरा गर्न सक्ने छैनौं।—फिलिप्पी ३:१९.
१२. पिओरको बालसित इस्राएलीहरूको अनुभवबाट हामीले आत्मत्यागबारे के सिक्छौं?
१२ पावलले यसपछि इङ्गित गरेको चेताउनीरूपी उदाहरणमा एक प्रकारको मनोरञ्जन पनि विथोलित थियो। “हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले व्यभिचार गरेथे, र एकै दिनमा तेइस हजार मरेथे।” (१ कोरिन्थी १०:८) इस्राएलीहरूलाई मोआबकी छोरीहरूले अनैतिक आनन्दमा भाग लिन फुस्लाए। यसले गर्दा ती इस्राएलीहरू शित्तिमा पिओरको बाल पुजा गर्न थाले। (गन्ती २५:१-३, ९) यहोवाको इच्छा गर्न आफू अर्पित हुनुको अर्थ नैतिक शुद्धतासम्बन्धी उहाँका सिद्धान्तहरूलाई स्वीकार्नु पनि हो। (मत्ती ५:२७-३०) घट्दो स्तरहरूका यी समयहरूमा हामीले हर प्रकारको अनैतिक आचरणबाट आफूलाई अलग राख्ने निरन्तर कोशिश गर्नु पर्छ। असल तथा खराब के हो, यो निर्णय गर्ने यहोवाकै अधिकारालाई हामीले मान्यता दिनु पर्छ।—१ कोरिन्थी ६:९-११.
१३. यहोवालाई जीवन समर्पण गर्नमा के के विथोलित छन् सो बुझ्ने मदत हामीलाई पीनहासको उदाहरणले कसरी दिन्छ?
१३ शित्तिमा धेरै जना व्यभिचारको जालमा फँस्दा यहोवाप्रति आफ्नो राष्ट्रिय समर्पण पूरा गर्नेहरू पनि केही थिए। यिनीहरू मध्ये पीनहास एउटा खास उदाहरण थिए। एक जना इस्राएली मुखियाले आफ्नो पालभित्र एउटी मिद्यानी आइमाई लगेको देख्नासाथै पीनहासले भाला उठाएर ती दुवैलाई तुरुन्तै रोपेर मारी दिए। अनि यहोवाले मोशालाई यसो भन्नु भयो: “पीनहासले इस्राएलीहरूको बीचमा म जस्तै राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्म पारिनँ। (गन्ती २५:११) हो, यहोबाहेक भक्तिको अरु कुनै पनि पात्रलाई सहन नसक्नु—यही हो समर्पणको अर्थ। यहोवासित गरिएको समर्पणले हाम्रो हृदयमा जुन ठाउँ लिनु पर्छ, त्यस ठाउँमा हामीले अरू कुनै पनि कुरालाई आउन दिनु हुँदैन। यहोवाप्रति यस्तै प्रकारको जोशले हामीलाई मण्डली सफा राख्ने प्रेरणा दिन्छ। घोर अनैतिकता देख्ता हामी चुपलागेर बस्नुको सट्टा, प्राचीनहरूलाई अवगत गराइ हाल्नु पर्छ। यस्तो कुरालाई कदापि पनि हल्का ठान्नु हुँदैन।
१४. (क) इस्राएलीहरूले यहोवाको कसरी परीक्षा गरे? (ख) यहोवासमक्ष आफूलाई पूरा तनमनसाथ समर्पण गरेका छौं भने हामी किन ‘थाक्ने’ छैनौं?
१४ पावलले यो एउटा अर्को चेताउनीपूर्ण उदाहरण पनि दिए: “हामी प्रभुको परीक्षा नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले गरेथे, र सर्पहरूबाट नष्ट भएथे।” (१ कोरिन्थी १०:९) पावलले यहाँ त्यो समयलाई सङ्केत गर्दै थिए जब इस्राएलीहरू “यात्राको कारण . . . . साह्रै अधीर बने” अनि मोशाकहाँ गएर परमेश्वरको विरुद्धमा गनगन गरे। (गन्ती २१:४) यस्तो गल्ती के तपाईंबाट पनि भएको छ? यहोवालाई आफ्नो जीवन अर्पण गर्ने बेलामा के तपाईंलाई आरमागेडोन अत्यन्त नजीक लागेको थियो? तर अब भने के तपाईंलाई यहोवाले अलिक ज्यादै धीरज धारण गर्नु भएको जस्तो लाग्छ? तर स्मरण रहोस्, हामीले यहोवालाई आफ्नो जीवन केही समयका लागि अथवा आरमागेडोनसम्म मात्र अर्पित गरेका होइनौं। हाम्रो समर्पण सधैंका लागि हो। अत: “भलाइ गर्न्मा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.
१५. (क) इस्राएलीहरूले कसको विरुद्धमा गनगन गरे? (ख) यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि हामी ईश्वरशासित अख्तियारलाई मान्यता दिन कसरी उत्प्रेरित हुनेछौं?
१५ अन्तत: यहोवाका नियुक्त सेवकहरूको विरुद्धमा “गनगन” गर्ने सम्बन्धमा पावलले चेताउनी दिए। (१ कोरिन्थी १०:१०) कनानको देशमा चियो गर्न पठाइएका १२ जना गुप्तचरहरूमध्ये १० जनाले खराब समाचार ल्याउँदा इस्राएलीहरूले मोशा र हारुनको विरुद्धमा जोरसोरका साथ गनगन गर्न थाले। तिनीहरूले मोशाको ठाउँमा अर्को अगुवा नियुक्त गरेर मिस्र फर्कनेसम्म कुरा गरे। (गन्ती १४:१-४) के आज हामीले पनि यहोवाको पवित्र आत्माद्वारा दिइने अगुवाइ स्वीकार्ने गर्छौं? आज येशूले “ठीक ठीक समयमा खान दिन” कसलाई प्रयोग गर्नु हुँदैछ, सो विश्वासी र बुद्धिमान दासद्वारा उपलब्ध प्रशस्त आत्मिक आहारबाट छर्लङ्गै बुझ्न सकिन्छ। (मत्ती २४:४५) यहोवाप्रति तनमनले समर्पित हुनुको अर्थ उहाँद्वारा नियुक्त सेवकहरूका लागि श्रद्धा देखाउनु पनि हो। हामी कहिल्यै पनि ती आधुविक गनगनेहरू जस्ता न होउँ जसले मानौं आफूलाई फेरि संसारतर्फ लैजाने एउटा नयाँ अगुवा रोजेका छन्।
के म यथाशक्य गरिरहेछु?
१६. परमेश्वरका समर्पित सेवकहरूले आफूलाई कस्ता प्रश्नहरू सोध्न सक्छन्?
१६ यहोवासित गरिएको समर्पणमा कुनै सर्त हुँदैन। यो कुरा सम्झिराखेको भए इस्राएलीहरू त्यस्ता गम्भीर गल्तीहरूको शिकार बन्ने थिएनन्। तर ती अविश्वासी इस्राएलीहरूको ठीक विपरीत येशू ख्रीष्टले चाहिं अन्तसम्मै आफ्नो समर्पणअनुरुप जीवन यापन गर्नु भयो। र हामी ख्रीष्टका अनुयायीहरूले पनि उहाँको यथाशक्य भक्तिको अनुसरण गर्छौं। हामी पनि “मानिसको अभिलाषामा होइन तर परमेश्वरको इच्छा” अनुसार जीवन बिताउन चाहन्छौं। (१ पत्रुस ४:२; २ कोरिन्थी ५:१५-सित तुलना गर्नुहोस्।) साथै “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा” परमेश्वरले आज गर्नु भएको छ। (१ तिमोथी २:४) सो इच्छालाई ध्यानमा राख्दै हामीले “राज्यको सुसमाचार” अन्त आउनअघि प्रचार गर्नु परेको छ। (मत्ती २४:१४) तर यो कार्य गर्न हामी कतिको प्रयास गर्छौं? ‘के हामी यथाशक्य गरिरहेका छौं?’ भनी आफैले आफैलाई सोध्न सक्छौं। (२ तिमोथी २:१५) हुन त सबैको परिस्थिति एउटै हुँदैन। यसैले गर्दा “आफूसित नभएअनुसार होइन तर आफूकहाँ भएअनुसार”-को सेवासित यहोवा प्रसन्न हुनुहुन्छ। (२ कोरिन्थी ८:१२; लूका २१:१-४) अरूको समर्पण कतिको गहिरो तथा इमान्दारीपूर्ण छ, यसको जाँच कसैले पनि गर्नु मिल्दैन। किनकि यहोवाप्रति आफ्नो भक्ति कतिको गहिरो छ, त्यसको जाँच हामी आफैले गर्नुपर्छ। (गलाती ६:४) हामी यहोवालाई प्रेम गर्छौ भने ‘म यहोवालाई कसरी प्रसन्न तुल्याउन सक्छु?’ भन्दै स्वयंले स्वयंलाई प्रश्न गर्नु पर्छ।
१७. भक्ति र मूल्यांकनबीच के सम्बन्ध छ? उदाहरण दिनुहोस्।
१७ यहोवाप्रति हाम्रो मूल्याङ्कनका साथसाथै उहाँप्रतिको हाम्रो भक्ति पनि बढ्दै जान्छ। जापानको एक जना १४ वर्षीय कोले यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि पानीमा बप्तिस्मा लिएर त्यसको जनाउ दिए। पछिबाट उनी उच्चशिक्षा प्राप्त गरेर विज्ञानवेत्ता बन्न चाहे। उनले पूर्ण समय सेवाबारे कहिल्यै विचारै गरेका थिएनन्। तर एक जना समर्पित सेवकको हैसियतमा उनी यहोवा तथा उहाँको सङ्गठन छाड्न पनि चाहँदैन थिए। आफ्नो सांसारिक लक्ष्य हासिल गर्न उनी विश्वविद्यालय धाउन थाले। त्यहाँ उनले विश्वविद्यालयका स्नातकहरू आफ्नो कम्पनी अथवा अध्ययनलाई जीवन समर्पण गर्न बाध्य भएका देखे। उनको मनमा यस्ता प्रश्नहरू खेल्न थाले: ‘म यहाँ के गरिरहेछु? के म वास्तवमा ती स्नातकहरूको जस्तै जीवनशैली अपनाउन सक्छु र? के मैले आफ्नो जीवन सांसारिक कामलाई अर्पण गर्न सक्छु र? के मैले आफ्नो जीवन यहोवालाई समर्पण गरी सकेको होइन र?’ पुनःजागृत जोशका साथ उनी नियमित अग्रगामी भए। उनले आवश्यकता जहाँ पर्ला, त्यहीं जाने उनले हृदयमा अठोट गरे। मिनिस्टेरियल ट्रेनिङ्ग स्कूलमा प्रशिक्षण पाए पछि उनलाई मिसनरी भएर सेवा गर्न विदेश पठाइयो।
१८. (क) यहोवाप्रति हाम्रो समर्पणमा के कति कुरा विथोलित छन्? (ख) यहोवासित गरिएको समर्पणद्वारा हामीले के पुरस्कार पाउन सक्छौं?
१८ समर्पणमा आफ्नो सारा जीवन विथोलित हुन्छ। हामीले आफूलाई त्याग्नु पर्छ तथा “दिनहूँ” येशूको असल उदाहरण अनुकरण गर्नु पर्छ। (लूका ९:२३) एक पटक यहोवाको सेवामा आफूलाई अर्पित गरी सकेपछि हामी फेरि पछाडि हट्दैनौं। यहोवाले आफ्ना सेवकहरूका लागि तोक्नु भएका सिद्धान्तअनुरूप हामी आफ्नो जीवन बिताउँछौं। व्यक्तिगत छनौट गर्न सक्ने क्षेत्रहरूमा पनि समर्पित जीवन बिताउने यथाशक्य कोशिश गरी रह्यौं भने हामी सफल मसीहीहरू हुनेछौं। हाम्रो एकाग्र भक्तिको एक मात्र योग्य व्यक्ति यहोवाबाट हामीले अनुमोदनको मुस्कान पाउने छौं।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ येशू ख्रीष्टले आफ्नो जीवन समर्पण गर्नुहुँदा कुन कुन कुरा विथोलित थियो?
◻ हामीले यहोवाको विरुद्धमा गनगन किन गर्नु हुँदैन?
◻ हामीले मूर्तिपूजालाई सुटुक्क हाम्रो जीवनमा घुस्नदेखि कसरी रोक्न सक्छौं?
◻ कुन कुरालाई सम्झिराख्यौं भने हामी परमेश्वरको इच्छा गर्दा ‘हरेस’ खाने छैनौं?
[पृष्ठ १७-मा भएको चित्र]
समर्पित मसीहीहरू “भलाइ गर्नामा हरेस” खाँदैनन्