के परमेश्वरले तपाईंको परिवारमा प्राथमिकता पाएको छ?
“तैंले परमप्रभु [यहोवा, न्युव] आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले . . . प्रेम गर्।”—मर्कूस १२: २९, ३०.
१. यहोवालाई प्रेम गर्नु कत्तिको महत्त्वपूर्ण छ?
“सबै आज्ञाहरूमध्ये पहिलो चाहिं कुन हो?” एक जना शास्त्रीले उपरोक्त प्रश्न गर्दा येशूले आफ्नै विचारधारा प्रकट गर्नुको साटो व्यवस्था ६:४, ५ मा उल्लिखित परमेश्वरको वचन उद्धृत गर्नुभयो। उहाँले भन्नुभयो: “पहिलो चाहिं यो हो। हे इस्राएल सुन्, परमप्रभु [यहोवा, न्युव] हाम्रो परमेश्वर, एउटै परमप्रभु हुनुहुन्छ, औ तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर्।”—मर्कूस १२:२८-३०.
२. (क) येशूले कुन विरोधको सामना गर्नुपऱ्यो? (ख) कुन कुराले गर्दा कहिलेकाहीं यहोवालाई प्रसन्न तुल्याउन गाह्रो हुन्छ?
२ येशूले बताउनुभएको प्रथम अर्थात् सबैभन्दा महत्त्वपूर्ण आज्ञा पालन गर्न हामीले सधैं यहोवालाई मन पर्ने कामहरू गर्नुपर्छ। येशूले त्यस्तै गर्नुभयो। यद्यपि, प्रेरित पत्रुसले भने एक पटक येशूले अपनाउनुभएको त्यस्तो मार्गप्रति आपत्ति जनाए र पछि येशूका घनिष्ठ नातेदारहरूले पनि त्यस्तै गरे। (मत्ती १६:२१-२३; मर्कूस ३:२१; यूहन्ना ८:२९) आफूलाई त्यस्तै स्थितिमा पाउनुभयो भने तपाईं के गर्नुहुन्छ? मानौं, तपाईंको परिवारले बाइबल अध्ययन वा यहोवाका साक्षीहरूसित कुनै संगत नगर्नू भन्यो भने के तपाईं परमेश्वरलाई मन पर्ने काम गरेर उहाँलाई प्राथमिकता दिनुहुन्छ? परमेश्वरको सेवा गर्न खोज्दा परिवारले विरोध गर्छ भने के त्यतिबेला परमेश्वरलाई प्राथमिकता दिनुहुन्छ?
पारिवारिक विरोधको पासो
३. (क) येशूका शिक्षाहरू पालन गरेमा परिवारले कस्तो नतिजा पाउन सक्ला? (ख) कसप्रति बढ्ता स्नेह छ भनेर परिवारका सदस्यहरूले कसरी देखाउनसक्छन्?
३ चेलाहरूले पारिवारिक विरोध सामना गर्नुपर्नेछ भनेर येशूलाई थाह थियो। त्यसैकारण उहाँले त्यस्तो विरोधबाट उत्पन्न हुनसक्ने कठिनाइलाई हलका ठान्नुभएन। बरु उहाँले यसो भन्नुभयो, “मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्।” तर यस्तो दुःखदायी परिणामको बावजूद येशूले यसो भन्नुहुँदै प्राथमिकता पाउनुपर्ने कुरा देखाउनुभयो: “बाबु अथवा आमालाई मभन्दा बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन र छोरा वा छोरीलाई बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन।” (मत्ती १०:३४-३७) यहोवाको पुत्र, “परमेश्वरकै तत्त्वको प्रतिबिम्ब” येशू ख्रीष्टका शिक्षाहरू पालन गरेर हामी यहोवा परमेश्वरलाई प्राथमिकता दिन्छौं।—हिब्रू १:३; यूहन्ना १४:९.
४. (क) येशूले उहाँको अनुयायी हुन के गर्नुपर्छ भनेर बताउनुभयो? (ख) मसीहीहरूले कुन अर्थमा आफ्नो परिवारलाई घृणा गर्नुपर्छ?
४ एउटा अर्कै अवसरमा येशू आफ्ना साँचो चेलाहरूमा हुनुपर्ने गुनबारे छलफल गर्दैहुनुहुन्थ्यो। त्यतिबेला उहाँले यसो भन्नुभयो: “कोही मकहाँ आएर आफ्ना बाबु, आमा, स्वास्नी, बाल-बच्चा, दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत अप्रिय मान्दैन भनेता त्यो मेरो चेला हुनसक्तैन।” (लूका १४:२६) येशूले पक्कै पनि चेलाहरूले परिवारलाई साँच्चै नै घृणा गर्नुपर्ने हो भन्नुभएको हुनसक्दैन। किनभने उहाँले शत्रुहरूलाई समेत प्रेम गर्ने आज्ञा दिनुभएको थियो। (मत्ती ५:४४) बरु येशूले भन्न खोज्नुभएको के हो भने, उहाँका चेलाहरूले परमेश्वरलाई भन्दा परिवारलाई कम माया गर्नुपर्छ। (मत्ती ६:२४ तुलना गर्नुहोस्।) यही अर्थलाई प्रष्ट्याउँदै बाइबलले यो पनि भन्छ, याकूबले लेआलाई “घृणा” तर राहेललाई प्रेम गर्थे अर्थात् तिनले लेआलाई भन्दा तिनकी बहिनी राहेललाई बढी माया गर्थे। (उत्पत्ति २९:३०-३२) येशूको भनाइअनुसार हामीले आफ्नो “प्राण” वा जीवनलाई समेत घृणा गर्नुपर्छ अर्थात् यहोवालाई भन्दा आफ्नो जीवनलाई कम माया गर्नुपर्छ!
५. शैतानले कसरी धूर्ततापूर्वक पारिवारिक प्रबन्धको नाजायज फाइदा उठाउँछ?
५ यहोवा सृष्टिकर्ता तथा जीवनदाता हुनुभएकोले आफ्ना सेवकहरूको पूर्ण भक्ति पाउने योग्यको हुनुहुन्छ। (प्रकाश ४:११) प्रेरित पावलले यसरी लेखे, “म आफ्ना घुँड़ा पिताको सामने टेक्तछु, जसबाट स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।” (एफिसी ३:१४, १५) यहोवाले अति अद्भुत रीतिले पारिवारिक प्रबन्ध सृष्टि गर्नुभएकोले पारिवारिक सदस्यहरूबीच स्वाभाविक स्नेह हुन्छ। (१ राजा ३:२५, २६; १ थिस्सलोनिकी २:७) तथापि, आफ्नो प्रियजनलाई खुशी बनाउन चाहने यस्तो स्वाभाविक स्नेहको नाजायज फाइदा उठाउन धूर्त शैतान अर्थात् दियाबल पछि पर्दैन। आगोमा घ्यू थपेझैं त्यसले पारिवारिक विरोधलाई चर्काउँछ। फलतः त्यस्तो विरोधको सामु दृढ भएर बाइबल सत्यलाई अँगाल्नु धेरैलाई चुनौती भएको छ।—प्रकाश १२:९, १२.
चुनौतीको सामना गर्ने
६, ७. (क) पारिवारिक सदस्यहरूलाई कसरी बाइबल अध्ययन तथा मसीही संगतिको महत्त्व बुझ्न मदत गर्न सकिन्छ? (ख) आफ्नो परिवारका सदस्यहरूलाई साँच्चै प्रेम गर्छौं भनेर कसरी देखाउनसक्छौं?
६ परमेश्वर र परिवारबीच कसलाई प्रसन्न तुल्याउने भनेर फैसला गर्न बाध्य हुनुभयो भने तपाईं के गर्नुहुन्छ? परिवारमा फूट उत्पन्न हुन्छ भने परमेश्वरले उहाँको वचन अध्ययन गरेको वा त्यसका सिद्धान्तहरू पालन गरेको चाहनुहुन्न भनेर के तपाईं तर्क गर्नुहुन्छ? तर सोच्नुहोस्। तपाईंले हार मानेर बाइबल अध्ययन वा यहोवाका साक्षीहरूसित संगतै गर्न छाड्नुभयो भने बाइबलको सही ज्ञान प्राप्त गर्नु जीवन-मरणको कुरा हो भनेर के तपाईंका प्रियजनहरूले कहिल्यै बुझ्लान् र?—यूहन्ना १७:३; २ थिस्सलोनिकी १:६-८.
७ यस परिस्थितिलाई राम्ररी बुझ्न हामी यो उदाहरण लिनसक्छौं: मानौं, परिवारको कुनै एक सदस्यलाई मदिरा पिउन असाध्यै तलतल लाग्छ। अब उसको पिउने खराब बानीलाई बेवास्ता वा ढाकछोप गऱ्यो भने के उसलाई साँच्चै नै फाइदा हुन्छ त? घरको शान्ति खलल नपार्न उसलाई आफ्नो इच्छाअनुसार चल्न दिंदा वा उसको समस्या सुल्झाउने कुनै कदम नचाल्दा के कुनै फाइदा हुन्छ र? अवश्य हुँदैन। सम्भवतः तपाईं पनि कुन कुरामा सहमत हुनुहुन्छ भने, ऊ रिसाए पनि धम्की दिए पनि उसको पिउने बानी छुटाउनु नै उत्तम हुनेछ। (हितोपदेश २९:२५) एवं रीतिले यदि तपाईं साँच्चै नै आफ्नो परिवारलाई प्रेम गर्नुहुन्छ भने तिनीहरूले रोक्ने प्रयास गर्दा बाइबल अध्ययन गर्न छाड्नु हुनेछैन। (प्रेरित ५:२९) तपाईं अटल बस्नुभयो भने मात्र तिनीहरूले ख्रीष्टका शिक्षाअनुरूप जीवन बिताउनु आफ्नै भलाइ रहेछ भनेर बुझ्न सक्नेछन्।
८. येशूले विश्वासी भएर परमेश्वरको इच्छा पूरा गर्नुभएकोमा हामी कसरी लाभान्वित छौं?
८ परमेश्वरलाई प्राथमिकता दिनु कहिलेकाहीं असाध्यै गाह्रो हुनसक्छ। तर स्मरण रहोस्, शैतानले गर्दा येशूलाई समेत परमेश्वरको इच्छाअनुसार चल्न गाह्रो भएको थियो। तैपनि येशूले कहिल्यै हार मान्नुभएन; उहाँले हाम्रो निम्ति शूलीको पीडासमेत सहनुभयो। “हाम्रा उद्धारकर्त्ता येशू ख्रीष्ट [हुनुहुन्छ],” बाइबलले बताउँछ। उहाँ “हाम्रा निम्ति मर्नुभयो।” (तितस ३:६; १ थिस्सलोनिकी ५:१०) येशूले अटल भएर विरोधको सामना गर्नुभएकोमा के हामी कृतज्ञ छैनौं र? उहाँले बगाउनुभएको रगतमाथिको विश्वासले गर्दा आज हामीले धार्मिकताले बास गर्ने शान्तिमय संसारमा अनन्त जीवन प्राप्त गर्ने प्रत्याशा पाएका छौं। उहाँले बलिदानरूपी मृत्युलाई नसहनुभएको भए यो कदापि सम्भव हुने थिएन।—यूहन्ना ३:१६, ३६; प्रकाश २१:३, ४.
सम्भाव्य प्रशस्त इनाम
९. (क) मसीहीहरूले कसरी अरूलाई बचाउन सक्छन्? (ख) तिमोथीको पारिवारिक स्थिति कस्तो थियो?
९ आफ्नो प्रिय नातेदारहरूलगायत अन्य मानिसहरूलाई समेत बचाउन तपाईंले केही गर्न सक्नुहुन्छ भनेर के तपाईंले महसुस गर्नुभएको थियो? यसै कुरालाई लिएर प्रेरित पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “[आफूलाई सिकाइएका] कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) तिमोथी धार्मिक तवरमा विभाजित परिवारमा हुर्केका थिए। तिनको पिता गैरमसीही ग्रीक थिए। (प्रेरित १६:१; २ तिमोथी १:५; ३:१४) तिमोथीको पिता मसीही बने वा बनेनन् त्यो त हामीलाई थाह छैन। तर तिमोथी तथा आफ्नी पत्नी युनिसको विश्वासी चालचलनले गर्दा तिनी मसीही बन्नसक्ने सम्भावना झन् बलियो भएको हुनुपर्छ।
१०. विश्वासमा नभएका आफ्ना जोडीहरूका लागि मसीहीहरूले के गर्नसक्छन्?
१० अटल भई बाइबल सच्चाइलाई समर्थन गर्ने पति तथा पत्नीहरूले आफ्ना गैरमसीही जोडीहरूलाई विश्वासी बन्न मदत गर्नसक्छन् र तिनीहरूको जीवन बचाउनसक्छन् भनेर शास्त्रले प्रकट गर्छ। प्रेरित पावलले यो लेखे: “कुनै ख्रीष्टियानको विश्वास नगर्ने पत्नी छ, र त्यो उसित बस्न चाहन्छे भने उसले त्यसलाई नछोड़ोस्। औ जस स्त्रीको विश्वास नगर्ने पति छ, र त्यो उसित बस्न चाहन्छ भने, त्यसले आफ्नो पतिलाई नछोड़ोस्। तिमीले तिम्रो पतिलाई कतिसम्म बचाउने हो, ए स्त्री, तिमी यो कसरी जान्दछौ? अथवा तिमीले तिम्रो पत्नीलाई कतिसम्म बचाउने हो, ए पुरुष, तिमी यो कसरी जान्दछौ?” (१ कोरिन्थी ७:१२, १३, १६) पत्नीहरूले कसरी आफ्ना पतिहरूलाई बचाउनसक्छन् त, त्यसबारे प्रेरित पत्रुसले यो आग्रह गर्दै वर्णन गरे: “त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, . . . तिनीहरू विश्वास गर्ने होऊन्।”—१ पत्रुस ३:१, २.
११, १२. (क) हजारौं मसीहीहरूले कस्तो इनाम पाएका छन् र त्यो प्राप्त गर्न तिनीहरूले के गरे? (ख) परिवारको सदस्यले विश्वासीपूर्वक धैर्य धारण गर्दा प्राप्त भएको इनामबारे एउटा अनुभव सुनाउनुहोस्।
११ महिनौं, वर्षौंसम्म आफ्ना साक्षी नातेदारहरूको मसीही क्रियाकलापको विरोध गर्ने हजारौं मानिसहरू हालसालै यहोवाका साक्षीहरू भएका छन्। निस्सन्देह, यो अटल बस्ने मसीहीहरूका लागि इनाम अनि पहिले विरोध गर्नेहरूका लागि आशिष् हो! एक जना ७४ वर्षीया मसीही प्राचीन भावुक हुँदै यसो भन्छन्: “म आफ्नी पत्नी तथा छोराछोरीलाई सधैंजसो धन्यवाद दिन्छु। किनकि मैले विरोध गर्दा पनि तिनीहरूले सच्चाइ छाडेनन्।” पत्नीले बाइबलबारे बताउन खोज्दा तीन वर्षसम्म ढिट भई एक शब्द नसुनेको कुरा पनि तिनले उल्लेख गरे। “तर मेरी पत्नी उपयुक्त समय हेर्थिन् अनि मेरो खुट्टा मालिस गर्दै मलाई साक्षी दिन थाल्थिन्। मेरो विरोधको बावजूद तिनी अटल भई बसेकोमा म असाध्यै कृतज्ञ छु!”
१२ परिवारको विरोध गर्ने अर्को एक जना पति यो लेख्छन्: ‘मेरी पत्नीसित सच्चाइ भएकोले म उनको सबैभन्दा ठूलो शत्रु थिएँ। म धम्काउँथे, दिनहुँ झगडा गर्थें, तर झगडा गर्न निहुँ खोज्ने सधैं म नै हुन्थें। तर अहँ केही लागेन। मेरी पत्नीले बाइबल पढ्न छोड्दै छोडिनन्। मेरी पत्नी, बच्चा र सच्चाइसँग मैले १२ वर्ष झगडा गरेर बिताएँ। मेरी पत्नी र बच्चाको लागि म त शैतान नै थिएँ।’ तर अन्ततः यो मानिसले आफ्नो जीवन केलाउन थाल्यो। ‘म कतिको नीच रहेछु, त्यो मैले देखें,’ तिनी बताउँछन्। ‘त्यसपछि मैले बाइबल पढ्न थालें। धन्न, बाइबलका निर्देशनहरूले गर्दा आज म बप्तिस्माप्राप्त साक्षी भएको छु।’ अब तिनकी पत्नीले कति ठूलो इनाम पाइन् होलिन्, तपाईं आफै कल्पना गर्नुहोस्। हो, १२ वर्षसम्म विश्वासीपूर्वक पतिको विरोध सहेर तिनले ‘आफ्नी पतिलाई बच्न मदत गर्न सकिन्!’
येशूबाट शिक्षा लिने
१३. (क) येशूको जीवनीबाट पतिपत्नीले सिक्नसक्ने मुख्य पाठ के हो? (ख) परमेश्वरको इच्छाअनुरूप चल्न गाह्रो मान्ने मानिसहरूले कसरी येशूको उदाहरणबाट लाभ उठाउनसक्छन्?
१३ पतिपत्नीले येशूको जीवनीबाट सिक्नुपर्ने मुख्य शिक्षा, परमेश्वरप्रतिको आज्ञाकारिता हो। “म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु,” येशूले भन्नुभयो। “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूहन्ना ५:३०; ८:२९) परमेश्वरको कुनै कुनै इच्छा नमीठो लागे तापनि उहाँले आज्ञाकारी भएर त्यसलाई स्वीकार्नुभयो। उहाँले प्रार्थना गर्दै यसो भन्नुभयो, “तपाईंको इच्छा छ भए कचौरा मबाट हटाइदिनुहोस्।” यति भन्नेबित्तिकै उहाँले फेरि यो कुरा थप्नुभयो: “तापनि मेरो इच्छा होइन्, तर तपाईंकै इच्छाबमोजिम होस्।” (लूका २२:४२) येशूले परमेश्वरलाई उहाँको इच्छा परिवर्तन गर्न आग्रह गर्नुभएन। बरु परमेश्वरले जे जस्तो इच्छा गर्नुभएको थियो त्यसलाई आज्ञाकारीपूर्वक स्वीकार्नुभएर परमेश्वरप्रति साँचो प्रेम देखाउनुभयो। (१ यूहन्ना ५:३) चाहे हामी अविवाहित हौं वा विवाहित, हाम्रो जीवन सफल पार्न येशूले जस्तै सधैं परमेश्वरको इच्छालाई प्राथमिकता दिनु अत्यावश्यक छ। आउनुहोस्, यसका कारणहरूमाथि विचार गरौं।
१४. केही मसीहीहरूले कसरी अनुपयुक्त तर्क गर्छन्?
१४ माथि उल्लेख गरिएझैं परमेश्वरलाई प्राथमिकता दिने विश्वासीहरूले विश्वासमा नभएका आफ्ना जोडीहरूलाई छुटकारा प्राप्त गर्ने योग्यको हुन प्रायः मदत गर्नसक्छन्। यद्यपि, पतिपत्नी दुवै विश्वासी हुँदैमा तिनीहरूको वैवाहिक जीवन त्रुटिरहित हुँदैन। किनभने पापी झुकाउले गर्दा पतिपत्नीले एकअर्काप्रति सधैं मायालु विचाराधारा राख्न सक्दैनन्। (रोमी ७:१९, २०; १ कोरिन्थी ७:२८) केही मसीहीहरू पारपाचुके गर्ने शास्त्रीय आधार नहुँदा नहुँदै पनि परपुरुष वा परस्त्रीसित सम्बन्ध गाँस्ने हदसम्म पुग्छन्। (मत्ती १९:९; हिब्रू १३:४) परमेश्वरको इच्छाअनुरूप पतिपत्नी सँगै जीवन बिताउनु असाध्यै गाह्रो भएकोले यसो गर्नु नै असल छ भनी तिनीहरू तर्क गर्छन्। (मलाकी २:१६; मत्ती १९:५, ६) परमेश्वरको होइन तर मानिसको धारणा राख्दा उत्पन्न हुनसक्ने अर्को स्थिति निस्सन्देह, यो पनि हो।
१५. परमेश्वरलाई प्राथमिकता दिनु किन सुरक्षा हो?
१५ परमेश्वरलाई प्राथमिकता दिनु साँच्चै नै सुरक्षा हो! त्यसो गर्ने विवाहित दम्पतीहरू एकअर्कालाई त्याग्दैनन् र परमेश्वरको वचनको सल्लाह प्रयोगमा ल्याउँदै आफ्ना समस्याहरू सुल्झाउँछन्। फलतः परमेश्वरको इच्छालाई बेवास्ता गर्दा उत्पन्न हुने नानाभाँति चोटहरूदेखि तिनीहरू बच्छन्। (भजन १९:७-११) एउटा जवान दम्पतीको अनुभवबाट यो कुरा प्रष्ट हुन्छ। यो दम्पती पारपाचुके गर्ने हदसम्म पुगिसकेका थिए। तर तिनीहरूले बाइबलको सल्लाह पालन गर्ने निर्णय गरे। वर्षौंपछि आफ्नो सुखी वैवाहिक जीवनबारे बताउँदै तिनले यसो भनिन्: “त्यतिबेला पारपाचुके गरेकी भए अहिले म आफ्नो पतिदेखि अलग्गै हुन्थें भनेर सम्झँदा भक्कानो फुटेर आउँछ। म यहोवा परमेश्वरलाई उहाँको सल्लाह तथा निर्देशनका लागि धन्यवाद चढाउँछु। साँच्चै नै उहाँको सल्लाह र निर्देशनले गर्दा आज हामी दुवै सुखी छौं।”
पतिपत्नी हो—ख्रीष्टको अनुकरण गर्नुहोस्!
१६. येशूले पतिपत्नी दुवैका लागि कस्तो उदाहरण बसाल्नुभयो?
१६ परमेश्वरलाई सधैं प्राथमिकता दिनुहुने येशूले पतिपत्नी दुवैका लागि साह्रै असल उदाहरण बसाल्नुभयो। अतः त्यसतर्फ ध्यान दिएमा तिनीहरूको भलाइ हुनेछ। येशूले मसीही मण्डलीका सदस्यहरूमाथि कोमलतापूर्वक आफ्नो शिरत्व चलाउनुभयो। पतिहरूलाई त्यसको अनुकरण गर्न आग्रह गरिएको छ। (एफिसी ५:२३) अनि परमेश्वरको अधीनमा रहेर येशूले बसाल्नुभएको त्रुटिरहित उदाहरणबाट मसीही पत्नीहरूले सिक्नसक्छन्।—१ कोरिन्थी ११:३.
१७, १८. येशूले कुन कुन ढंगमा पतिहरूका लागि असल उदाहरण बसाल्नुभयो?
१७ बाइबलले यस्तो आज्ञा दिन्छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२५) येशूले आफ्ना अनुयायीहरूको मण्डलीप्रति प्रेम देखाउनुभएको एउटा महत्त्वपूर्ण तरिका तिनीहरूको घनिष्ठ मित्र हुनुभएर हो। येशूले भन्नुभयो, “मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले तिमीहरूलाई सबै थाह दिएको छु।” (यूहन्ना १५:१५) येशूले आफ्ना चेलाहरूसित कुराकानी गरेर बिताउनुभएको समय, तिनीहरूसित गर्नुभएका अनगिन्ती छलफलहरू अनि तिनीहरूमाथि राख्नुभएको भरोसालाई सम्झनुहोस्! के त्यो पतिहरूका लागि अत्युत्तम उदाहरण होइन र?
१८ येशू आफ्ना चेलाहरूप्रति साँचो चासो लिनुहुन्थ्यो र तिनीहरू उहाँको निम्ति साँच्चै नै प्रिय थिए। (यूहन्ना १३:१) तिनीहरूले आफ्ना शिक्षाहरू नबुझ्दा उहाँले पछि एकान्त ठाउँमा धैर्यपूर्वक सबै कुरा खुलस्त पार्नुहुन्थ्यो। (मत्ती १३:३६-४३) पतिहरू हो, के तपाईं आफ्नी पत्नीको आध्यात्मिक हितलाई महत्त्व दिनुहुन्छ? तपाईं दुवै जनाको मन अनि हृदयमा बाइबल सच्चाइ स्पष्ट छ वा छैन, त्यो जाँच्न के तपाईं उनीसित समय बिताउनुहुन्छ हुन्छ? के तपाईं पत्नीसँगसँगै सेवकाईमा गएर मानिसहरूको घर-घरमा जाने अनि बाइबल अध्ययनहरू सञ्चालन गर्ने गर्नुहुन्छ?
१९. आफ्ना प्रेरितहरूले बारम्बार कमजोरीहरू देखाउँदा येशूले गर्नुभएको व्यवहारले पनि कसरी पतिहरूको निम्ति एउटा उदाहरण पेश गर्छ?
१९ विशेषगरि आफ्ना प्रेरितहरूको असिद्धतासित सामना गर्नुपर्दा येशूले पतिहरूका लागि अत्युत्तम उदाहरण बसाल्नुभयो। आफ्ना प्रेरितहरूसित अन्तिम पटक भोजन गर्नुहुँदा उहाँले तिनीहरूबीच फेरि वैमनस्यको आत्मा उत्पन्न भएको देख्नुभयो। के उहाँले तिनीहरूको कडा आलोचना गर्नुभयो? अहँ, गर्नुभएन। बरु उहाँले तिनीहरू सबैको पाउ धुनुभयो। (मर्कूस ९:३३-३७; १०:३५-४५; यूहन्ना १३:२-१७) के तपाईं आफ्नी पत्नीसित धैर्यपूर्वक त्यस्तै व्यवहार गर्नुहुन्छ? बारम्बार एउटै गल्ती गर्दा के तपाईं धैर्यपूर्वक मदत गर्ने कोसिस गर्नुहुन्छ? के तपाईं आफैले उदाहरण बसालेर तिनको हृदयसम्म पुग्ने यत्न गर्नुहुन्छ? त्यस्तो मायालु अनुकम्पा पाउँदा प्रेरितहरूले अन्ततः आफ्नो कमजोरी हटाउन सकेजस्तै शायद पत्नीहरूले पनि हटाउन सक्लान्।
२०. मसीही पत्नीहरूले कुन कुरा कहिल्यै बिर्सनु हुँदैन र तिनीहरूको निम्ति कसले उदाहरण बसाल्नुभएको छ?
२० पत्नीहरूले पनि येशूको जीवनीलाई मनन गर्नुपर्छ। “ख्रीष्टका शिर परमेश्वर हुनुहुन्छ” भनेर उहाँले कहिल्यै बिर्सनुभएन। उहाँ सधैं आफ्नो स्वर्गीय पिताको अधीनमा बस्नुभयो। त्यस्तैगरि पत्नीहरूले “स्त्रीको शिर पुरुष हो” भनेर कहिल्यै भुल्नु हुँदैन। हो, पति तिनीहरूका शिर हुन्। (१ कोरिन्थी ११:३; एफिसी ५:२३) प्रेरित पत्रुसले मसीही पत्नीहरूलाई पुरातन समयका “पवित्र स्त्रीहरू” र तिनीहरूमध्ये अझ विशेषगरि साराको उदाहरणमाथि मनन गर्न आग्रह गरे। “साराले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञा मान्दथिइन्।”—१ पत्रुस ३:५, ६.
२१. अब्राहाम र साराको विवाह किन सफल भयो तर लूत र तिनकी पत्नीको विवाह चाहिं किन असफल भयो?
२१ स्पष्टतः परदेशमा पालमा जीवन बिताउन साराले आरामदायी घर र समृद्धशाली शहरी जीवन त्यागे। किन? के पालमा जीवन बिताउनु मन परेर हो? शायद, होइन। त्यसोभए के तिनको पतिले भनेको भएर हो? निस्सन्देह, तिनले पालमा जीवन बिताउनुको कारण यही नै थियो। किनभने तिनी आफ्नो पति अब्राहामको धार्मिक गुनहरूले गर्दा प्रेम तथा आदर गर्थिन्। (उत्पत्ति १८:१२) तर आफ्नो पतिसित त्यसरी जानुको सबैभन्दा मुख्य कारण चाहिं यहोवाप्रतिको प्रेम अनि परमेश्वरको निर्देशनअनुरूप चल्ने हार्दिक इच्छा थियो। (उत्पत्ति १२:१) परमेश्वरको आज्ञा पालन गर्न तिनलाई आनन्द लाग्थ्यो। तर अर्कोतर्फ लूतकी पत्नी परमेश्वरको इच्छाअनुसार चल्न हिचकिचाइन्। आफ्नो घर सदोममा छाडेर आएको सम्पत्तिको लोभ लागेर तिनले पछाडि फर्केर हेरिन्। (उत्पत्ति १९:१५, २५, २६; लूका १७:३२) परमेश्वरको आज्ञा नमान्दा तिनीहरूको वैवाहिक जीवन कति दुःखलाग्दोगरि अन्त भयो!
२२. (क) परिवारका सदस्यहरूले बुद्धिमानीपूर्वक कस्तो आत्मपरीक्षण गर्नेछन्? (ख) अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?
२२ अतः पतिपत्नी दुवैले आफैलाई यस्तो प्रश्न गर्नु अत्यावश्यक छ, ‘के हाम्रो परिवारले परमेश्वरलाई प्राथमिकता दिएको छ? के मैले परमेश्वरले दिनुभएको पारिवारिक भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको छु? के म आफ्नो जोडीलाई माया गर्ने साँचो यत्न गर्छु? के म तिनलाई यहोवासित राम्रो सम्बन्ध गाँस्न वा कायम राख्न मदत गर्छु?’ अधिकांश परिवारहरूमा केटाकेटीहरू पनि हुन्छन्। अर्को लेखमा आमाबाबुले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आमाबाबु तथा छोराछोरीहरूले परमेश्वरलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामाथि छलफल गर्नेछौं।
के तपाईंलाई सम्झना छ?
◻ येशूका शिक्षाहरू पालन गर्दा अधिकांश परिवारहरूले कस्तो नतिजा पाउनसक्छन्?
◻ अटल भई बस्ने हजारौं मसीहीहरूले कस्तो इनाम पाएका छन्?
◻ कुन कुराले विवाहित दम्पतीलाई अनैतिकता तथा पारपाचुकेदेखि बच्न मदत गर्छ?
◻ पतिहरूले येशूको उदाहरणबाट के सिक्नसक्छन्?
◻ सुखी वैवाहिक जीवन बनाउन पत्नीहरूले कसरी योगदान पुऱ्याउनसक्छन्?
[पृष्ठ १०-मा भएको चित्र]
आफ्नो विवाह सफल बनाउन साराले कस्तो योगदान पुऱ्याइन्?