अविलम्बी हुनुपर्ने चेतनालाई जोगाउनुहोस्
तनमनले यहोवाको सेवा गरिरहने एक मात्र भरपर्दो अनि ईश्वर-अनुमोदित तरिका के हो? त्यो हो, साँचो अविलम्बी चेतनालाई हाम्रो हृदयमा राख्नु। तनमनले यहोवाको सेवा गर्नुको अर्थ हाम्रो सम्पूर्ण कुराले उहाँको सेवा गर्नु हो र त्यसका लागि हामीले उहाँको हर आज्ञा गम्भीरतापूर्वक पूर्णतया पालन गर्नुपर्छ।
उपरोक्त कुरालाई जोड दिंदै अगमवक्ता मोशाले इस्राएल राष्ट्रलाई यो निर्देशन दिए: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर।” (व्यवस्था ६:५) शताब्दीयौंपछि येशू ख्रीष्टले त्यही आज्ञा दोहऱ्याउँदै यसो भन्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) यो आवश्यकतालाई संकेत गर्दै प्रेरित पावलले एफिसीहरूलाई “हृदयदेखिनै परमेश्वरको इच्छा पूरा गर” भनेर लेखे। कलस्सीहरूलाई चाहिं तिनले यसो भने: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको [यहोवा, न्युव] निम्ति जस्तैगरी मनतनले गर।”—एफिसी ६:६; कलस्सी ३:२३.
तर अविलम्बी हुनुपर्ने चेतना हामीसित छैन वा अविलम्बी हुनुपर्ने चेतना बोधो हुन थाल्यो वा हामी पूर्णतया विलम्बी हुन थाल्यौं भने तनमनले यहोवाको सेवा गर्न गाह्रो हुन्छ। आज हामी पहिलेभन्दा अविलम्बी हुनुपर्ने समयमा बाँचिरहेका छौं।
अविलम्बी हुनुपर्ने निश्चित समयहरू
मसीही पूर्व समयमा अविलम्बी हुनुपर्ने समय निकै पटक आए। नूहको समय र सदोम अनि गमोरा नाश हुनुअघिको समय साँच्चै नै अविलम्बी हुनुपर्ने समय थियो। (२ पत्रुस २:५, ६; यहूदा ७) जलप्रलयअघिको समय पनि निस्सन्देह अविलम्ब गर्नुपर्ने क्रियाकलापहरूले भरिभराउ थियो। नूह र तिनको परिवारलाई जलप्रलय सुरु हुने सही समय थाह नभए तापनि “ईश्वरीय भय[ले]” गर्दा तिनीहरूले आवश्यक कामकुरालाई पन्छाएनन्।—हिब्रू ११:७ न्युव.
त्यस्तैगरि सदोम र गमोरा नाश हुनअघि स्वर्गदूतहरूले ‘लूतलाई आत्तुरी लाउँदै’ यसो भने: “आफ्नो ज्यान जोगाउनलाई भाग।” (उत्पत्ति १९:१५, १७) हो, त्यसबेला अविलम्ब कदम चालेकोले धर्मीहरूको ज्यान जोगियो। शताब्दीयौंपछि बाबेल लगिएका यहूदी कैदीहरूलाई यस्तो सल्लाह दिइयो: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! . . . त्यसको बीचबाट निस्केर आऊ।” (यशैया ५२:११) सा.यु.पु. ५३७ मा लगभग २,००,००० निर्वासित यहूदीहरूले बाबेलबाट निस्केर सो महत्त्वपूर्ण भविष्यसूचक आज्ञा अविलम्ब पालन गरे।
आफू अविलम्बी हुनुपर्ने समयमा बाँचिरहेको छु भन्ने विश्वास हुनेहरूले माथि उल्लिखित परिस्थितिहरूमा अविलम्बी भाव देखाए। फलतः तिनीहरूले तनमनले सेवा चढाउन सके।
मसीही समयमा अविलम्बी हुनुपर्ने आवश्यकता
मसीही युनानी शास्त्रभरि अविलम्बी हुन बताइएको पाइन्छ। “जागा रहो,” “होशियार बस्,” “तयार बस्”—यी सबै येशूले आफ्ना अनुयायीहरूमा सही अविलम्बी चेतना जगाउन चलाउनुभएका अभिव्यक्तिहरू हुन्। (मत्ती २४:४२-४४; मर्कूस १३:३२-३७) यसबाहेक दश कन्येकेटी, दुष्ट दास, तोडा र भेडा बाख्रा अलग पार्नेबारे उहाँले बताउनुभएको उखानहरूले प्रत्याशा र अविलम्बी हुनुपर्ने चेतना जगाउँछ।—मत्ती २५:१, १४, १५, ३२, ३३.
येशूले अविलम्बी हुनुपर्छ भनेर बताउनु मात्र भएन। उहाँ आफैले अविलम्ब काम गरेर आफ्ना शब्दहरूको वास्तविकता पनि देखाउनुभयो। एक पटक भीडले उहाँलाई रोक्न खोज्दा उहाँले यसो भन्नुभयो: “मैले अवश्य परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४२, ४३) साथै ‘फसल प्रशस्त तर खेतालाहरू भने थोरै’ भएकोले येशूले चेलाहरूलाई फसलका प्रभुलाई उहाँको फसलमा खेतालाहरू पठाइदिऊन् भनी बिन्ती गर्न प्रोत्साहित गर्नुभयो। (मत्ती ९:३७, ३८) निस्सन्देह, परमेश्वरलाई प्रार्थनापूर्वक गरिएको त्यस्तो बिन्तीले अविलम्बी हुनुपर्ने आत्मा देखाउँछ।
त्यसरी अविलम्बी हुन के आवश्यक थियो?
कसै कसैले तर्कपूर्ण प्रश्न गर्ला, यदि अगमवाणी गरिएको “महा संकष्ट” शताब्दीयौंपछि मात्र आउने थियो भने त्यतिबेला अविलम्बी हुन के आवश्यक पऱ्यो?—मत्ती २४:२१.
तर यहाँ हामी कुन कुरामा निश्चित हुनसक्छौं भने, येशूले आफ्ना अनुयायीहरूलाई प्रचार तथा शैक्षिक कार्यमा व्यस्त राख्न चाल चल्नुभएको होइन। अहँ, उहाँले त्यस्तो चाल चल्नुभएको हुनैसक्दैन। वास्तवमा चेलाहरूप्रतिको प्रेम अनि यहोवाले समयप्रति राख्नुहुने दृष्टिकोण थाह भएकोले नै उहाँले अविलम्बी हुन सल्लाह दिनुभएको थियो। हो, परमेश्वरको उद्देश्यअनुरूप यहोवाको इच्छा पूरा गर्न अविलम्बी आत्मा चाहिन्छ भनेर येशू ख्रीष्टलाई थाह थियो। यसबाहेक, आफ्नो पुनरागमन नभएसम्म चेलाहरूले अविलम्बी भाव कायम राखेमा आध्यात्मिक तवरमा लाभान्वित हुनेछन् भनेर पनि येशूलाई थाह थियो।
येशू ख्रीष्टले एउटा सीमित समयभित्र विश्वव्यापी साक्षी कार्य पूरा हुनुपर्छ भनेर स्पष्टसित देखाइसक्नुभएको थियो। (मत्ती २४:१४; मर्कूस १३:१०) प्रचार कार्य अगाडि बढ्दै जाँदा मात्र त्यसका प्रगतिशील चरणहरू प्रकट हुँदै गए। तर ती हरेक चरण पार गर्न अविलम्बी हुनु आवश्यक थियो। यस प्रचार कार्यको प्रगतिलाई संकेत गर्दै येशूले यसो भन्नुभयो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) र त्यहाँदेखि वर्तमान समयसम्म यो वचनअनुरूप क्रमिक रूपले प्रचार कार्यका विभिन्न चरणहरू प्रकट हुँदै आएका छन्। यी क्रमिक प्रकटीकरणले गर्दा समयको दौडान परमेश्वरका सेवकहरूले केही अप्रत्याशित स्थितिहरूको सामना गर्नु पऱ्यो भने बेला बेलामा तिनीहरूले आफ्नो सोचाइमा काँटछाँट पनि गर्नुपऱ्यो।
मसीही अविलम्बी चेतनाले यहोवाको उद्देश्य पूरा गरेको छ। त्यसले ख्रीष्टका चेलाहरूलाई यहोवाको अचूक तालिकाअनुरूप आफ्ना काम क्रमिक रूपले पूरा गर्न मदत गऱ्यो। र अहिले झन्डै २,००० वर्षपछि हामीले चाहिं त्यो ईश्वरीय तालिकालाई अझ राम्ररी बुझ्न सकेका छौं।
इस्राएलले पाएको विशेष अनुग्रह सा.यु. ३६ मा अन्त हुनुअगावै सारा यरूशलेम, यहूदिया, सामरियाका साथै छरप्रस्ट भएका यहूदीहरूलाई राम्ररी प्रचार गर्न मसीही अविलम्बी चेतनाले चेलाहरूलाई मदत गऱ्यो। (दानियल ९:२७; प्रेरित २:४६, ४७) त्यस्तैगरि, चाँडै नै यहूदी रीतिरिवाज अन्त हुँदैछ भनेर सबै यहूदीहरूलाई स्पष्ट चेताउनी दिन मसीही अविलम्बी चेतनाले प्रारम्भिक मण्डलीलाई सहयोग गऱ्यो। (लूका १९:४३, ४४; कलस्सी १:५, ६, २३) अनि सा.यु. ७० मा अप्रत्याशित रूपले यहूदी रीतिरिवाजको अन्त भएपछि पनि अविलम्बको भावले ख्रीष्टका प्रथम शताब्दीका साक्षीहरूलाई मदत गऱ्यो। फलतः धर्मत्यागको मृत्युदायी आध्यात्मिक अन्धकार छाउनुअगावै तिनीहरूले थुप्रै मानिसहरूलाई स्वर्गीय आशाबारे घोषणा गर्नसके। (२ थिस्सलोनिकी २:३; २ तिमोथी ४:२) त्यसपछि, शताब्दीयौंसम्म छाएको अन्धकार युगका दौडान, येशू ख्रीष्टले अगमवाणी गर्नुभएझैं केही गहुँखाले मसीहीहरूले राज्य आशालाई जीवित राखे। (मत्ती १३:२८-३०) अन्ततः आफूले तोक्नुभएको समय आएपछि यहोवाले सशक्त आधुनिक मण्डली खडा गर्नुभयो र यस अन्तिम पुस्ताका मानिसहरूलाई आफ्नो अत्यावश्यक न्यायको समाचार सुनाउन त्यसलाई उत्प्रेरित गर्नुभयो।—मत्ती २४:३४.
पुरातन समयको दानियलजस्तै परमेश्वरका आधुनिक साक्षीहरू यहोवालाई “उहाँले के गर्नुहुन्छ” भनेर सोध्ने हिम्मत गर्दैनन्। (दानियल ४:३५) आफ्नो तालिकाअनुसार के काम कसरी पूरा गर्नुपर्छ, त्यो यहोवालाई थाह छ भनेर तिनीहरू निर्धक्क छन्। अतः यहोवाले कसरी आफ्नो कामकुरा मिलाउनुहुन्छ, तिनीहरू प्रश्न गर्दैनन्। बरु परमेश्वरले यो महत्त्वपूर्ण घडीमा उहाँसँगै काम गर्ने मौका दिनुभएकोमा तिनीहरू खुशी छन्।—१ कोरिन्थी ३:९.
अविलम्बी हुन थप प्रोत्साहन
हामी अविलम्बी हुनुपर्ने अर्को कारण के हो भने, महासंकष्ट कुन दिन, कुन घडी सुरु हुन्छ त्यो हामी औंल्याउन सक्दैनौं। वास्तवमा, त्यो निर्णायक घडी सुरु हुने पूर्वनिर्धारित दिन र घडीबारे पृथ्वीमा बस्ने कसैलाई थाह छैन भनेर येशू ख्रीष्ट पूर्णतया निश्चित हुनुहुन्थ्यो। (मत्ती २४:३६) एक पटक येशूले आफ्ना उत्सुक प्रेरितहरूलाई यसो भन्नुभयो: “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्नखोज्नु तिमीहरूको काम होइन।” (प्रेरित १:७) हो, नतिजा के हुन्छ, त्यो स्पष्ट छ तर सविवरण जान्न खोज्नु हाम्रो काम होइन।
अविलम्बी हुने सम्बन्धमा प्रेरित पावलसित सही मनोवृत्ति थियो। सम्भवतः थिस्सलोनिकीहरूलाई ख्रीष्टको उपस्थितिबारे लेख्दा उनले येशूका शब्दहरू मनमा राखेको हुनसक्छ: “हे भाइ हो, बेला र समयहरूका विषयमा कसैले तिमीहरूलाई लेख्नुपर्ने दरकार छैन।” (१ थिस्सलोनिकी ५:१) वास्तवमा येशूले निम्न कुरा भन्नुभएको १७ वर्षपश्चात् उनले थिस्सलोनिकीहरूलाई सो पत्र लेखेका थिए: “तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) त्यतिबेला थप केही प्रकट नभएको हुँदा अरू केही लेख्न सकिंदैन थियो। तापनि मसीहीहरू अविलम्बी भएर प्रचार गरिरहेको बेला यहोवाको दिन निश्चय नै “रातमा चोर आएझैं आउनेछ” भनेर तिनीहरू निश्चिन्त हुनसक्थे।—१ थिस्सलोनीकी ५:२.
यी कुरालाई ध्यानमा राख्ने हो भने प्रथम शताब्दीका मसीहीहरूले यहोवाको दिन शताब्दीयौंपछि मात्र आउनेछ भनेर सोचेको हुनुपर्छ भन्नु सुहाउँदो देखिंदैन। हो, टाढाको देशमा जाने राजा र समुद्रपार विदेश जाने मान्छेबारे येशूले बताउनुभएका उखानहरू तिनीहरूलाई थाह थियो। उखानअनुसार “अन्ततः” राजा फर्कनेछन् र परदेश गएको मान्छे पनि “धेरै दिनपछि” आउनेछन् भनेर तिनीहरूलाई थाह थियो। तर त्यो “अन्ततः” कहिले आउनेछ? अनि “धेरै दिनपछि” भनेको दश, बीस, पचास वा कति वर्ष लामो हो भनेर तिनीहरू निस्सन्देह अलमल्ल परेको हुनुपर्छ। (लूका १९:१२, १५ न्युव; मत्ती २५:१४, १९) जे होस्, तिनीहरूको कानमा येशूका यी शब्दहरू भने गुञ्जिरहनेथिए: “तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”—लूका १२:४०.
अविलम्बी हुनुको सकारात्मक पक्ष
हो, परमेश्वरद्वारा उत्प्रेरित अविलम्बी चेतनाले प्रथम शताब्दीका मसीहीहरूमाथि अद्भुत रीतिले प्रोत्साहनजनक असर पारेको थियो। जसले गर्दा प्रचार गर्ने र शिक्षा दिने सर्वमहत्त्वपूर्ण काममा व्यस्त हुने मदत तिनीहरूले पाए। आज पनि थुप्रै तरिकामा त्यसले हामीलाई प्रोत्साहन दिइरहन्छ। त्यसले हामीलाई आत्मसन्तुष्ट हुन वा “भलाई गर्नामा हरेस” खानदेखि जोगाउँछ। (गलाती ६:९) संसारसित बढी हेलमेल हुनदेखि जोगाउँछ र छली तरिकाले हानि पुऱ्याउने यस संसारको भौतिकवाददेखि टाढा राख्छ। त्यसले हाम्रो मनलाई ‘साँच्चैको जीवनमा’ केन्द्रित राख्छ। (१ तिमोथी ६:१९) प्रभु येशूले उहाँका चेलाहरू “ब्वाँसाका बीचमा भेड़ाझैं” हुनेछन् भनेर भन्नुभएको थियो। साथै यो संसारसित लड्न हामी कटिबद्ध हुनुको अलावा अटल दृष्टिकोण राख्नु आवश्यक छ भनेर येशूलाई थाह थियो। हो, हाम्रो मसीही अविलम्बी चेतनाले गर्दा हामी सुरक्षित भएका छौं।—मत्ती १०:१६.
आफ्ना सेवकहरूले अविलम्बी चेतनालाई जीवित राखोस् भनेर असीमित बुद्धि हुने यहोवा परमेश्वरले सधैं पर्याप्त जानकारी दिनुभएको छ। हामी यस भ्रष्ट रीतिरिवाजको “आखिरी दिनमा” छौं भनेर उहाँले दयापूर्वक हामीलाई आश्वासन दिनुभएको छ। (२ तिमोथी ३:१) महासंकष्टको चरमोत्कर्ष आरमागेडोनमा हाम्रो यो पुस्ता बितेर नगएसम्म ज्योतिको रूपमा चम्किरहन हामीलाई लगातार स्मरण गराइएको छ।—फिलिप्पी २:१५; प्रकाश ७:१४; १६:१४, १६.
हो, ईश्वरीय अविलम्बी चेतना, यहोवालाई तनमनले चढाइने सेवाको अभिन्न भाग हो। परमेश्वरका सेवकहरू ‘शिथिल भई थाकेर जाओस्’ भनेर दियाबलले गर्ने प्रयासलाई नकाम तुल्याउन त्यसले मदत गर्छ। (हिब्रू १२:३) उहाँप्रतिको तनमनको भक्तिले गर्दा यहोवाका सेवकहरूले अनन्तसम्म उहाँको आज्ञा मान्नेछन्। तर अहिले आरमागेडोन आउनुभन्दा अघि चाहिं त्यही गहिरो अनि साँचो अविलम्बी चेतना, तनमनले दिइने भक्तिको अत्यावश्यक भाग हो।
जसै हामी प्रेरित यूहन्नाका यी शब्दहरू गुञ्जाउँदै जान्छौं, हाम्रो परमेश्वर यहोवाले हामीलाई अविलम्बी चेतना सुरक्षित राख्न मदत गरून्: “आमिन, आउनुहोस् हे प्रभु येशू।”—प्रकाश २२:२०.