“सत्य र शान्ति रुचाऊ”
“सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, . . . ‘तिमीहरू सत्य र शान्ति रुचाऊ।’” —जकरिया ८:१८, १९.
१, २. (क) शान्ति ल्याउने सम्बन्धमा मानवजातिको रेकर्ड कस्तो छ? (ख) यो वर्तमान संसारले किन कहिल्यै साँचो शान्ति देख्नैछैन?
“यो संसारले कहिल्यै शान्ति पाएको छैन। कतै न कतै र अझ भनौं भने, धेरैजसो ठाउँहरूमा प्रायः युद्ध भइरहेको हुन्छ।” मासाचुसेट्स, स.रा.अ. स्थित विश्वविद्यालयका प्राध्यापक मिल्टन मेयरले उपरोक्त टिप्पणी गरे। मानवताको कति दुःखलाग्दो चित्रण! हो, मानिसहरूले शान्ति चाहेका छन्। राजनीतिज्ञहरूले शान्ति कायम राख्न रोमीकालीन पाक्स रोमाना देखि शीतयुद्धताका “आणविक हातहतियारद्वारा शक्ति सन्तुलन” जस्ता अनेकन सिद्धान्तहरू प्रयोग गरिसकेका छन्। यद्यपि, तिनीहरूका सबै प्रयास अन्ततः विफल भए। यशैयाले धेरै शताब्दीअघि भनेझैं ‘मिलापका राजदूतहरू धुरुधुरु रोएका छन्।’ (यशैया ३३:७) किन यस्तो भएको?
२ किनभने घृणा र लोभको अन्त भएपछि मात्र चिरकालीन शान्ति सुरु हुनसक्छ। त्यो सच्चाइमा आधारित हुनुपर्छ। शान्ति झूटमा आधारित हुनसक्दैन। त्यसैकारण पुरातन इस्राएललाई पुनर्स्थापित गरेर शान्ति दिने प्रतिज्ञा गर्नुहुँदा यहोवाले यसो भन्नुभयो: “म त्यसको शान्ति नदीझैं र राष्ट्रहरूको महिमा पानीको बाढीझैं तुल्याउनेछु।” (यशैया ६६:१२, न्युव) यस रीतिरिवाजको देव, शैतान अर्थात् दियाबल “हत्यारा” अनि “झूटको पिता” हो। (यूहन्ना ८:४४; २ कोरिन्थी ४:४) त्यस्तो देवको अधीनमा परेको यो संसारले कसरी कहिल्यै शान्ति पाउला र?
३. आफ्ना जनहरूले समस्याग्रस्त संसारमा जीवन बिताउनु परेको भए तापनि यहोवाले तिनीहरूलाई कस्तो उल्लेखनीय वरदान दिनुभएको छ?
३ यद्यपि, उल्लेखनीय कुरा के छ भने, आफ्ना जनहरू शैतानको युद्धग्रस्त संसारमा हुँदा पनि यहोवाले शान्ति दिनुहुन्छ। (यूहन्ना १७:१६) यर्मियाद्वारा गर्नुभएको प्रतिज्ञालाई उहाँले सा.यु.पू. छैटौं शताब्दीमा पूरा गर्नुभयो र आफ्नो विशेष जातिलाई तिनीहरूको आफ्नै भूमिमा पुनर्स्थापित गर्नुभएर “सत्य र शान्ति” दिनुभयो। (यर्मिया ३३:६) यी आखिरी दिनमा चाहिं उहाँका जनहरू, कहिल्यै नभएको विपत्तिजनक समयमा बाँच्नु परे तापनि उहाँले तिनीहरूलाई आफ्नो “देश” अर्थात् पार्थिव आध्यात्मिक क्षेत्रमा “सत्य र शान्ति” दिनुभएको छ। (यशैया ६६:८; मत्ती २४:७-१३; प्रकाश ६:१-८) जकरिया अध्याय ८ को छलफललाई अझ अगाडि बढाउँदै लैजाँदा यो ईश्वरप्रदत्त शान्ति र सत्यबारे अझ धेरै जान्नुका साथै त्यसमा हामीले पाएको भागलाई जोगाउन के गर्नुपर्छ, त्यसबारे सिक्नेछौं।
“तिमीहरूका हातहरू बलिया होऊन्”
४. जकरियाले इस्राएलीहरूलाई शान्ति पाउन के गर्न भनी प्रोत्साहित गरे?
४ जकरिया ८ अध्यायमा हामी छैटौं पटक यहोवाको यस्तो रोमाञ्चकारी वाणी सुन्छौं: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ ‘मन्दिर बनिओस् भनेर सेनाहरूका परमप्रभुको भवनको जग बसालिएको दिनदेखि अगमवक्ताहरूका मुखबाट तिमीहरू जसले यी दिनसम्म यी कुरा सुन्दै आएको छौ, तिमीहरूका हातहरू बलिया होऊन्। यी दिनभन्दा पहिले ता, नता मानिसहरूका निम्ति ज्याला थियो, न पशुकै निम्ति, नता विरोधीहरूले गर्दा आउने-जानेहरूलाई केही सुरक्षा थियो, किनभने मैले सबै मानिसहरूलाई आफ्ना आफ्नै छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ।”—जकरिया ८:९, १०.
५, ६. (क) इस्राएलीहरू निरुत्साहित हुँदा, इस्राएलको परिस्थिति कस्तो भयो? (ख) इस्राएलले उहाँको उपासनालाई प्रथम स्थानमा राखेमा यहोवाले कस्तो परिवर्तन गर्ने प्रतिज्ञा गर्नुभयो?
५ यरूशलेममा मन्दिर निर्माण भइरहेको बेला जकरियाले उपरोक्त कुरा भनेका थिए। यसअघि, बाबेलबाट फर्केर आउने इस्राएलीहरूले निरुत्साहित भई मन्दिर निर्माण कार्य बन्द गरेका थिए। तिनीहरूले आफ्नै आरामतर्फ ध्यान दिएकोले यहोवाको आशिष् र शान्ति पाएनन्। तिनीहरूले आफ्नो भूमि खनजोत गरेर दाखबारी लगाएका थिए। तर तिनीहरूको फलिफाप भएन। (हाग्गै १:३-६) तिनीहरूले कुनै “ज्याला” नलिई काम गरिरहेको जस्तो थियो।
६ तर अब भने मन्दिर पुनर्निर्माण भइसकेको हुँदा जकरियाले यहूदीहरूलाई “बलिया” हुन र यहोवाको उपासनालाई प्रथम स्थानमा राख्न निर्भयी हुन प्रोत्साहित गरे। तिनीहरूले त्यसो गरेमा नतिजा के हुनेथियो? “तर अब म यो प्रजाका बाँकी रहेकाहरूमाथि चाहिं अघिका दिनमा जस्तै गर्नेछैनँ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ। शान्ति[को बीउ उम्रनेछ, न्युव] र फलिफाप हुनेछन्, दाखको बोटले फल दिनेछ, भूमिले उब्जनी बढ़ाउनेछ, र आकाशले शीत झार्नेछ। औ म आफ्नो बाँचेको प्रजालाई यी सबै कुराको अधिकारी तुल्याउनेछु। हे यहूदा र इस्राएलका घराना हो, जसरी तिमीहरू अन्यजातिहरूका बीचमा अभिशाप भएका थियौ, त्यसरीनै म तिमीहरूको उद्धार गर्नेछु, र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराऊ, तर तिमीहरूका हात बलिया होऊन्।” (जकरिया ८:११-१३) इस्राएल आफ्नो दृढ निर्णयअनुरूप चलेमा त्यसको फलिफाप हुनेथियो। पहिले राष्ट्रहरूले श्रापित देशको उदाहरणस्वरूप इस्राएललाई औंल्याउनसक्थे। तर अहिले इस्राएल आशिष्को उदाहरण हुनेथियो। साँच्चै, तिनीहरूसित ‘आफ्नो हात बलिया बनाउने’ कति असल कारण थियो!
७. (क) सन् १९९५ सेवा वर्षसम्ममा यहोवाका जनहरूले कस्ता रोमाञ्चकारी परिवर्तनहरू अनुभव गरेका छन्? (ख) वार्षिक प्रतिवेदन हेर्दा तपाईंलाई कुन देशहरूको प्रकाशक, अग्रगामी, औसत घण्टाको रेकर्ड उल्लेखनीय लाग्यो?
७ हाम्रो समयबारे के भन्न सकिन्छ? सन् १९१९ अघि यहोवाका जनहरूमा एक प्रकारले जोशको कमी थियो। प्रथम विश्वयुद्धको दौडान तिनीहरू पूर्णतया तटस्थ बसेनन् र आफ्नो राजा येशू ख्रीष्टभन्दा मानिसको पछि लाग्ने तिनीहरूको झुकाउ थियो। फलस्वरूप, संगठनभित्र र बाहिरका विरोधले गर्दा केही व्यक्तिहरू निरुत्साहित भए। तर पछि सन् १९१९ मा यहोवाको मदतद्वारा तिनीहरूले आफ्नो हात बलिया बनाए। (जकरिया ४:६) यहोवाले तिनीहरूलाई शान्ति दिनुभयो र तिनीहरूको फलिफाप भयो। सन् १९९५ सम्म गत ७५ वर्षका रेकर्डलाई हेर्ने हो भने यो कुरा स्पष्ट देखिन्छ। यहोवाका साक्षीहरूले सामूहिक रूपमा राष्ट्रवाद, जातीयवाद, पूर्वाग्रहलगायत घृणाका सबै स्रोतहरूलाई इन्कार गर्छन्। (१ यूहन्ना ३:१४-१८) तिनीहरू साँचो जोशका साथ यहोवालाई उहाँको आत्मिक मन्दिरमा सेवा गर्छन्। (हिब्रू १३:१५; प्रकाश ७:१५) स्वर्गमा हुनुहुने आफ्नो पिताबारे कुरा गर्न तिनीहरूले गत वर्ष मात्र सय करोड घण्टाभन्दा धेरै समय बिताए! हरेक महिना तिनीहरूले औसतन ४८,६५,०६० बाइबल अध्ययनहरू सञ्चालन गरे। झन्डै ६,६३,५२१ ले त अग्रगामी सेवा गरे। साँचो उत्साह लिएर उपासना गर्ने व्यक्तिहरूको उदाहरण दिनुपर्दा कहिलेकाहीं मसीहीजगतका सेवकहरू यहोवाका साक्षीहरूलाई औंल्याउँछन्।
८. प्रत्येक मसीहीले कसरी “शान्तिको बीउ[बाट]” लाभ उठाउनसक्छ?
८ आफ्ना जनहरूको जोशले गर्दा यहोवाले तिनी- हरूलाई “शान्ति[को बीउ, न्युव]” दिनुहुन्छ। त्यो बीउ उमार्ने प्रत्येक व्यक्तिले आफ्नो हृदय तथा जीवनमा शान्ति अंकुराएको देख्नेछ। यहोवा तथा संगी मसीहीहरूसित शान्ति कायम गर्ने प्रत्येक विश्वासी मसीहीले यहोवाका नाउँ वाहकहरूको सत्य तथा शान्ति पाउँछ। (१ पत्रुस ३:११; तुलना गर्नुहोस् याकूब ३:१८) कति अद्भुत कुरा, होइन त?
“नडराऊ”
९. यहोवाले आफ्ना जनहरूसित कस्तो व्यवहार परिवर्तन गर्ने प्रतिज्ञा गर्नुभयो?
९ अब हामी यहोवाको सातौं वाणी पढ्नेछौं। त्यो के हो? “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूको खराबी गर्न म सोच्दथिएँ, परमप्रभु भन्नुहुन्छ, औ मैले पछितो गरिनँ, त्यसरीनै यी दिनमा यरूशलेमलाई र यहूदाका घरानालाई भलाइ गर्न मैले विचार गरेको छु। तिमीहरू नडराऊ।’”—जकरिया ८:१४, १५.
१०. यहोवाका साक्षीहरू डराएका छैनन् भनेर कुन रेकर्डले देखाउँछ?
१० प्रथम विश्वयुद्धतिर यहोवाका जनहरू आध्यात्मिक तवरमा छरपष्ट भए तापनि तिनीहरू सही काम गर्न चाहन्थे। तसर्थ, यहोवाले तिनीहरूलाई केही अनुशासन दिनुभएपछि तिनीहरूप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्नुभयो। (मलाकी ३:२-४) उहाँले त्यतिबेला जे-जति गर्नुभयो, त्यसको लागि आज हामी कृतज्ञ छौं। हो, हामी “सबै जातिमध्ये . . . घृणित” भएका छौं। (मत्ती २४:९) आफ्नो विश्वासको खातिर धेरै जना थुनिए र केही मारिए पनि। बारम्बार हामी भावशून्यता र वैमनस्यको सामना गर्छौं। तर हामी डराउँदैनौं। प्रत्यक्ष, अप्रत्यक्ष, कुनै पनि विरोधभन्दा यहोवा बलियो हुनुहुन्छ भनेर हामीलाई थाह छ। (यशैया ४०:१५; एफिसी ६:१०-१३) हामी यी शब्दहरू पालन गर्न छोड्नेछैनौं: “परमप्रभुको बाटो हेर, दह्रो हो, र तेरो हृदयले साहस गरोस्।”—भजन २७:१४.
आपसमा “साँचो बोल्ने गर”
११, १२. यहोवाले आफ्ना जनहरूलाई दिनुहुने आशिष्हरूबाट पूर्णतया लाभ उठाउन चाहन्छौं भने प्रत्येकले कुन कुरा मनमा राख्नुपर्छ?
११ यहोवाका आशिष्हरूबाट पूर्ण लाभ उठाउन हामीले केही कुरा सम्झनुपर्छ। जकरिया यसो भन्छन्: “‘तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्, हरेकले आफ्नो छिमेकीसित (आपसमा, न्युव) साँचो बोल्ने गर। आफ्नो शहरका मूल-ढोकाहरूमा सत्य र शान्तिको व्यवहार (न्याय, न्युव) गर। औ तिमीहरू आफ्नो छिमेकीको विरुद्धमा खराब कल्पना नगर, र झूटा शपथ नरुचाऊ, किनकि यी सबै कुरालाई म घीन गर्दछु’ परमप्रभु भन्नुहुन्छ।”—जकरिया ८:१६, १७.
१२ यहोवा हामीलाई सत्य बोल्न आग्रह गर्नहुन्छ। (एफिसी ४:१५, २५) अरूको हानि हुने योजना बनाउने, आफ्नो स्वार्थ पूरा गर्न सत्यलाई ढाकछोप गर्ने वा झूटा शपथ खानेहरूको प्रार्थना उहाँ सुन्नुहुन्न। (हितोपदेश २८:९) उहाँ धर्मत्यागलाई घृणा गर्नुहुन्छ। त्यसैकारण हामीले बाइबलीय सत्यलाई नत्यागोस् भनेर उहाँ चाहनुहुन्छ। (भजन २५:५; २ यूहन्ना ९-११) यसबाहेक, न्यायिक मामिला सँभाल्ने प्राचीनहरूले इस्राएली शहरको मूल ढोकाका बूढाप्रधानहरूले जस्तै आफ्नो व्यक्तिगत विचारमा नभई बाइबलीय सत्यमा आधारित सल्लाह दिनु वा निर्णय गर्नुपर्छ। (यूहन्ना १७:१७) प्राचीनहरूले “शान्तिको [न्याय, न्युव]” गर्न खोजेको यहोवा चाहनुहुन्छ। मसीही गोठोलोको हैसियतमा तिनीहरूले विरोधी पक्षहरूबीच मिलाप गराओस् र पश्चात्तापी पापीहरूलाई पुनः परमेश्वरसित शान्ति कायम गर्न मदत गरोस् भनेर उहाँ चाहनुहुन्छ। (याकूब ५:१४, १५; यहूदा २३) यीबाहेक, जानाजानी खराब काम गरिरहने व्यक्तिहरूलाई निर्भयसाथ मण्डलीबाट बहिष्कार गरेर मण्डलीको शान्तिलाई जोगाओस् भन्ने इच्छा पनि उहाँ गर्नुहुन्छ।—१ कोरिन्थी ६:९, १०.
“खुशी र आनन्द”
१३. (क) जकरियाले उपवाससम्बन्धी कस्तो परिवर्तनको भविष्यवाणी गरे? (ख) इस्राएलमा कुन उपवास बसिन्थ्यो?
१३ अब हामी आठौं गम्भीर वाणी सुन्छौं: “सेना- हरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘चौथो महीना, पाँचौं महीना, सातौं महीना र दशौं महीनामा हुने उपवास यहूदाका घरानाको निम्ति रमाहट, खुशी र आनन्दका चाड़हरू हुनेछन्। यसैकारण तिमीहरू सत्य र शान्ति रुचाऊ।’” (जकरिया ८:१९) मोशाको व्यवस्थाअनुसार इस्राएलीहरू प्रायश्चितको दिनमा उपवास बसेर पापको शोक गर्थे। (लेवी १६:२९-३१) जकरियाले उल्लेख गरेका चार उपवास यरूशलेममाथिको विजय र नाशको शोक गर्न मनाउने गरिएको हुनसक्छ। (२ राजा २५:१-४, ८, ९, २२-२६) तथापि, अहिले मन्दिर निर्माण भएर यरूशलेममा मानिसहरू पुनः बसोबास गर्न थालिसकेका थिए। अतः तिनीहरूको शोक अब रमाहटमा र उपवास चाहिं चाडमा परिवर्तन हुनसक्थे।
१४, १५. (क) स्मरणार्थ उत्सव कसरी ठूलो रमाहटको कारण भयो र त्यसले हामीलाई कुन कुरा स्मरण गराउनुपर्ने हो? (ख) वार्षिक प्रतिवेदनअनुसार कुन कुन मुलुकहरूमा स्मरणार्थ उत्सवको उपस्थिति संख्या उल्लेखनीय थिए?
१४ आज हामी जकरियाले उल्लेख गरेका वा व्यवस्थाले सुझाव गरेका उपवास बस्दैनौं। येशूले हाम्रा पापको निम्ति आफ्नो जीवन बलिदान दिइसक्नुभएको हुँदा अहिले हामी महान् प्रायश्चितको दिनका आशिष्हरूको आनन्द उठाइरहेका छौं। हाम्रा पापहरू प्रतीकात्मक रूपमा मात्र होइन तर पूर्णतया क्षमा भएका छन्। (हिब्रू ९:६-१४) स्वर्गमा हुनुहुने प्रधानपूजाहारी, येशू ख्रीष्टको आज्ञाअनुसार हामी उहाँको मृत्युको स्मरणार्थलाई मात्र मसीही चाडको रूपमा गम्भीरपूर्वक मनाउँछौं। (लूका २२:१९, २०) वर्षेनी सबै जना यो उत्सवमा भेला हुँदा के हामी “खुशी र आनन्द” अनुभव गर्दैनौं र?
१५ गत वर्ष स्मरणार्थ उत्सव मनाउन १,३१,४७,२०१ भेला भएका थिए। यो सन् १९९४ को स्मरणार्थ उपस्थितिभन्दा ८,५८,२८४ बढी थियो। कति ठूलो भीड! भीडका भीड मानिसहरू स्मरणार्थ उत्सव मनाउन राज्य भवनमा भेला हुँदा यहोवाका साक्षीहरूका ७८,६२० मण्डलीहरू कति खुशी भए होलान्, कल्पना गर्नुहोस्। यहोवाको महान् “शान्तिका राजकुमार” भएर शासन गर्नुहुने “बाटो, सत्य र जीवन[को]” मृत्युको स्मरण गर्न पाउँदा उपस्थित सबैले निस्सन्देह, “सत्य र शान्ति” रुचाउन उत्प्रेरित भए। (यशैया ९:६; यूहन्ना १४:६) गोलमाल र युद्धले पिल्सिएका मुलुकहरूमा यो उत्सव मनाउने मानिसहरूको लागि त त्यसले झन् विशेष अर्थ राखेको थियो। सन् १९९५ को दौडान हाम्रा केही भाइहरूले वर्णनै गर्न नसकिने डरलाग्दा घटनाहरू देखे। तैपनि ‘सारा समझलाई माथ गर्ने परमेश्वरको शान्तिले तिनीहरूको हृदय र तिनीहरूका विचारलाई येशूद्वारा रक्षा गऱ्यो।’—फिलिप्पी ४:७.
‘परमेश्वरको निगाह प्राप्त गर्नलाई जाऔं’
१६, १७. राष्ट्रहरूका मानिसहरूले कसरी ‘यहोवाको निगाह’ पाउन सक्छन्?
१६ स्मरणार्थ उत्सवमा उपस्थित हुने यी लाखौं मानिसहरू कहाँबाट आए? यहोवाको नवौं वाणीले यसरी जवाफ दिन्छ: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘यस्तो समय आउन लागेको छ जब धेरै शहरका बासिन्दाहरू आउनेछन्, औ एउटा शहरका बासिन्दाहरू अर्को शहरमा यसो भन्दै जानेछन्, “परमप्रभुको निगाह प्राप्त गर्नलाई र सेनाहरूका परमप्रभुलाई खोज्नलाई चाँडै जाऔं। म पनि जानेछु।” साँच्चै, धेरै सामर्थी जातिका मानिसहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्।’”—जकरिया ८:२०-२२.
१७ स्मरणार्थ उत्सवमा उपस्थित मानिसहरू “सेनाहरूको परमप्रभुको खोजी गर्न” चाहन्थे। यीमध्ये अधिकांश व्यक्तिहरू उहाँका समर्पित, बप्तिस्माप्राप्त सेवकहरू थिए। यद्यपि, स्मरणार्थ उत्सवमा उपस्थित अरू लाखौं मानिसहरू भने त्यो स्थितिसम्म पुगिसकेका थिएनन्। केही मुलुकहरूमा राज्य प्रकाशकहरूभन्दा चार-पाँच गुणा धेरै मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित थिए। यी थुप्रै जिज्ञासुहरूलाई प्रगति गर्न मदत चाहिन्छ। अतः येशू हाम्रो पापको निम्ति मर्नुभयो र अहिले परमेश्वरको राज्यमा शासन गर्दै हुनुहुन्छ भन्ने ज्ञानको लागि खुशीयाली मनाउन तिनीहरूलाई सिकाऔं। (१ कोरिन्थी ५:७, ८; प्रकाश ११:१५) अनि यहोवा परमेश्वरप्रति जीवन समर्पण गरेर उहाँद्वारा नियुक्त राजाको अधीनमा बस्न तिनीहरूलाई प्रोत्साहित गरौं। त्यसो गरेमा तिनीहरूले “परमप्रभुको निगाह” पाउनेछन्।—भजन ११६:१८, १९; फिलिप्पी २:१२, १३.
“सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिस”
१८, १९. (क) जकरिया ८:२३ को पूर्तिअनुसार आज “यहूदी” को हो? (ख) आज “यहूदीको लुगा” समात्ने “दश जना मानिस” को हो?
१८ जकरिया आठौं अध्यायमा अन्तिम पटक हामी यस्तो लेखिएको पाउँछौं: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ।” यहोवाको यो अन्तिम वाणीले के भन्छ? “ती दिनमा सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।’” (जकरिया ८:२३) जकरियाको समयमा जन्मजात यहूदीहरू परमेश्वरले चुन्नुभएको राष्ट्र थियो। तथापि, प्रथम शताब्दीमा इस्राएलले यहोवाको मसीहलाई इन्कार गरे। तसर्थ, हाम्रा परमेश्वरले आफ्नो विशेष जनको रूपमा “यहूदी”—नयाँ इस्राएल अर्थात् आत्मिक यहूदीहरूले बनेको “परमेश्वरका इस्राएल[लाई]” चुन्नुभयो। (गलाती ६:१६; यूहन्ना १:११; रोमी २:२८, २९) येशूसित उहाँको स्वर्गीय राज्यमा शासन गर्न जातिजातिबाट छानिएका यी मानिसहरूको कूल संख्या १,४४,००० हुनुपर्ने थियो।—प्रकाश १४:१, ४.
१९ यी १,४४,००० मध्ये अधिकांश सदस्यहरू अन्तसम्मै विश्वासी भएर मरे। र तिनीहरूले आफ्नो स्वर्गीय इनाम पनि पाइसकेका छन्। (१ कोरिन्थी १५:५१, ५२; प्रकाश ६:९-११) अहिले पृथ्वीमा केही मुठीभर सदस्यहरू बाँकी छन्। अनि “हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठूलो भीड़” नै त्यो “यहूदी[को]” पछि पछि लाग्ने “दश जना मानिस” साबित भएकोमा तिनीहरू खुशी मनाउँछन्।—प्रकाश ७:९; यशैया २:२, ३; ६०:४-१०, २२.
२०, २१. यो संसारको अन्त नजीक आउँदा हामी कसरी यहोवासित शान्तिपूर्वक बस्न सक्छौं?
२० यो संसारको अन्त अब अत्यन्तै नजीक आइपुगेको छ। यस्तो बेला मसीहीजगत चाहिं यर्मियाकालीन यरूशलेमजस्तै भएको छ: “हामीले ता शान्ति पाइन्छ कि भनेर प्रतीक्षा गऱ्यौं, तर केही असल भएन। निको हुने समय हेऱ्यौं, तर त्रास पो आइलाग्यो!” (यर्मिया १४:१९) राष्ट्रहरू झूटा धर्ममाथि जाइलागेर त्यसलाई खतम पार्दा त्यो त्रास चरमसीमामा पुग्नेछ। अनि त्यसको तुरुन्तैपछि परमेश्वरको अन्तिम युद्ध, आरमागेडोनमा स्वयं ती राष्ट्रहरू नाश हुनेछन्। (मत्ती २४:२९, ३०; प्रकाश १६:१४, १६; १७:१६-१८; १९:११-२१) साँच्चै त्यतिबेला कति गोलमाल हुने होला!
२१ तर ती सबै होउञ्जेल सत्यलाई प्रेम गर्ने र “शान्तिको बीउ” रोप्नेहरूलाई यहोवाले जोगाउनुहुनेछ। (जकरिया ८:१२, न्युव; सपन्याह २:३) त्यसकारण आउनुहोस्, हामी सबै जना उहाँका जनहरूको देशमा सुरक्षित बसौं, जोशिलो भएर खुलेआम उहाँको प्रशंसा गरौं अनि यथाशक्य धेरै मानिसहरूलाई “परमेश्वरको निगाह प्राप्त गर्न” मदत गरौं। त्यसो गऱ्यौं भने हामीसित सधैं यहोवाको शान्ति रहनेछ। हो, “परमप्रभुले आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ। परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ।”—भजन २९:११.
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ जकरियाको समयमा र अहिले परमेश्वरका जनहरूले कसरी ‘आफ्नो हात बलिया बनाए’?
◻ सतावट, वैमनस्य र भावशून्यताप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं?
◻ ‘एकअर्कासित सत्य बोल्न’ हामीले के गर्नुपर्छ?
◻ “परमेश्वरको निगाह” कसरी पाउन सकिन्छ?
◻ जकरिया ८:२३ को पूर्तिमा रमाहट गर्ने ठूलो कारण के छ?
[पृष्ठ १८-मा भएको चित्र]
गत वर्ष यहोवाका साक्षीहरूले अरू मानिसहरूसित परमेश्वरको राज्यबारे कुरा गर्न १,१५,०३,५३,४४४ घण्टा बिताए