यहोवाको कृपाबारे योनाले सिक्छन्
यहोवाले आफ्नो अगमवक्ता योनालाई निर्दिष्ट कार्यभार सुम्पनुभएको छ। यो सा.यु.पू. नवौं शताब्दीको कुरा हो र इस्राएलमा यारोबाम द्वितीय शासन चलिरहेको छ। योना जबूलून शहरको गात-हेपर भन्ने ठाउँका हुन्। (यहोशू १९:१०, १३; २ राजा १४:२५) परमेश्वरले योनालाई तिनको जन्मस्थानभन्दा ८०० किलोमिटर उत्तर पूर्वमा अश्शूरीहरूका राजधानी निनवेमा पठाउन लाग्नुभएको छ। योनाले निनवेवासीहरूलाई परमेश्वरले तिनीहरूमाथि ल्याउन लाग्नुभएको विनाशबारे चेताउनी दिनुपर्छ।
योनाले सोचे होलान्: ‘म त्यो शहर र राष्ट्रमा किन जाऊँ? तिनीहरू परमेश्वरप्रति समर्पित पनि त छैनन्। ती रक्तपिपासु अश्शूरीहरूले इस्राएलीहरूले जस्तै यहोवासित कहिल्यै करार बाँधेनन् नि। बरु त्यो दुष्ट राष्ट्रका मानिसहरूले मेरो चेताउनीलाई खतरा ठानेर इस्राएलमाथि पो विजय हासिल गर्न खोज्लान्! अहँ म जाँदै जान्न! बरु म यापो शहरमा भाग्छु र विपरीत दिशातर्फ महासागरको अर्को भाग तर्शीशमा जान्छु। म त्यस्तै गर्नेछु!’—योना १:१-३.
समुद्रमा जोखिम
चाँडै, योना भूमध्य सागरको तट यापोमा पुग्छन्। भाडा तिरेर निनवे शहरको ३,५०० किलोमिटर पश्चिममा पर्ने र साधारणतया स्पेनसित जोडिएको तर्शीशमा जाने जहाजमा तिनी चढ्छन्। थकित अगमवक्ता जहाजको तल्लो तलामा गएर निदाउँछन्। तर चाँडै यहोवाले समुद्रमा ठूलो बतास चलाउनुहुन्छ र प्रत्येक त्रस्त नाविकले मदतको निम्ति आ-आफ्ना देवताहरूलाई पुकार्न थाल्छन्। जहाज एकदमै जोडले हल्लिन थालेकोले जहाजलाई हलुको पार्न मालसमानहरू सबै फाल्न थाल्छन्। तैपनि जहाज डुब्ने निश्चित भएकोले जहाजको उत्तेजित कप्तान योनाकहाँ आएर यसो भन्छन्: “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वरले हाम्रो विचार राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।” योना उठ्छन् र जहाजको माथिल्लो तलामा जान्छन्।—योना १:४-६.
नाविकहरू यसो भन्छन्: “कसको कारणले गर्दा यो आपद हामीमाथि पर्नआएको होला सो थाह पाउनलाई हामी चिट्ठा हालेर हेरौं।” चिट्ठा योनाको नाउँमा पर्छ। नाविकहरूले यस्ता प्रश्नहरू गर्दा तिनी कति चिन्तित भए होलान्, सोच्नुहोस्: “कृपागरी हामीलाई भन, ‘कसको कारणले गर्दा यो आपद पर्नआएको हो? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो औ तिमी कुन जातिका हौ?” योनाले आफू हिब्रू हुँ र “परमप्रभु स्वर्गका परमेश्वरको” उपासना गर्छु भनी बताउँछन्। अनि “जल र स्थल दुवै बनाउनुहुने[को]” श्रद्धेय भय राख्छु भन्छन्। निनवेमा आज्ञाकारी भएर आफू परमेश्वरको समाचार पुऱ्याउनुको साटो यहोवाबाट भाग्न खोजेकोले आँधी आएको हो भन्छन्।—योना १:७-१०.
नाविकहरूले प्रश्न गर्छन्: “अब हामीले के गरेदेखि समुद्र हामीप्रति शान्त होला?” समुद्रमा झन् जोडले तुफान उर्लन थालेपछि योना भन्छन्: “मलाई उचालेर समुद्रमा फालिदेऊ, र समुद्र तिमीहरूप्रति शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा यो प्रचण्ड आँधी तिमीहरूमाथि चलेको हो भन्ने मलाई थाह छ।” यहोवाको सेवकलाई समुद्रमा फाल्दा तिनको मृत्यु निश्चित भएकोले जहाजलाई सुक्खा भूमितिर लैजाने कोसिस गरे। असफल प्रयासपछि यी नाविकहरूले यसरी पुकार्छन्: “बिन्ती छ, हे परमप्रभु, बिन्ती छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामीमाथि निर्दोष हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।”—योना १:११-१४.
समुद्रमा!
तब नाविकहरूले योनालाई समुद्रमा फाल्छन्। योना तुफानी समुद्रमा डुब्न थालेपछि समुद्र शान्त हुनथाल्छ। यो देखेर “ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र भाकल गरे।”—योना १:१५, १६.
निस्सन्देह, पानीमा डुबेपछि योनाले प्रार्थना गरिरहेका छन्। अनि तिनले आफू नरम नली हुँदै एउटा ठूलो खाल्टोमा चिप्लेको जस्तो महसुस गर्छन्। आश्चर्यको कुरा, तिनले अझै पनि सास फेर्न सकिरहेकाछन्! आफ्नो टाउकोमा बेहेरिएको समुद्रका झ्याउहरू निकालेपछि योनाले आफूलाई साँच्चै अद्वितीय ठाउँमा भेटाउँछन्। किनभने “परमप्रभुले एउटा विराट माछा खटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे।”—योना १:१७.
योनाको व्यग्र प्रार्थना
त्यस विराट माछाको पेटमा योनाले प्रार्थना गर्ने समय पाउँछन्। तिनका केही शब्दहरू कुनै कुनै भजनसित मिल्छ। योनाले निराशा र पश्चात्ताप दुवै व्यक्त गरेको प्रार्थना पछि लिपिबद्ध गरे। उदाहरणका लागि, तिनलाई माछाको पेट नै तिनको शिओल अर्थात् चिहान होला जस्तो लाग्यो। अतः तिनले प्रार्थना गरे: “मैले आफ्नो संकष्टको कारणले गर्दा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। पातालको पेटबाट म कराएँ, र तपाईंले मेरो शब्द सुन्नुभयो।” (योना २:१, २) वार्षिक चाडको निम्ति इस्राएलीहरू यरूशलेममा जाँदा सम्भवतः आरोहीहरूले गाएको स्तुतिगानमध्ये दुइटाले त्यस्तै विचार व्यक्त गर्छ।—भजन १२०:१; १३०:१, २.
समुद्रमा खसेको कुरालाई प्रकाश पार्दै योना प्रार्थना गर्छन्: “तपाईंले [यहोवा] मलाई गहीरोभित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र छालहरू मेरा चारैतिर थिए। तपाईंका भयंकर छालहरूले मलाई डुबाए।”—योना २:३; तुलना गर्नुहोस् भजन ४२:७; ६९:२.
आफ्नो अनाज्ञाकारिताको कारण ईश्वरीय अनुग्रह नै गुमाउन पर्ला र परमेश्वरको मन्दिर फेरि कहिल्यै देख्न नपाइएला भनेर योना भयभीत छन्। तिनी प्रार्थना गर्छन्: “तब मैले भनें, ‘मता तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’” (योना २:४; तुलना गर्नुहोस् भजन ३१:२२) योनाको अवस्था एकदमै खराब देखिन्छ, तिनी भन्छन्: “पानीले मलाई मेरो प्राणसम्मै घेऱ्यो [तिनको जीवनलाई जोखिममा पार्दै], गहीरो सागर मेरो चारैतिर थियो, मेरो टाउकोभरि समुद्रका झ्याउहरू बेहेरिएका थिए।” (योना २:५; तुलना गर्नुहोस् भजन ६९:१) योनाको दुर्दशाबारे अनुमान लाउनुहोस् किनभने तिनी अझै भन्छन्: “मता डाँड़ाहरूका फेदीसम्मै [माछाभित्र] तल पुगे, पृथ्वीले त्यसका बारहरूद्वारा [चिहानमा जस्तै] मलाई सदाको निम्ति थुनिदियो, तैपनि, हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई [तेस्रो दिनमा] उठाएर पातालबाट ल्याउनुभयो।”—योना २:६; तुलना गर्नुहोस् भजन ३०:३.
माछाको पेटमा भए तापनि योना यस्तो सोच्दैनन्: “मेरो नैराश्यको कारण म प्रार्थना गर्नसक्दिनँ।” बरु तिनी यसरी प्रार्थना गर्छन्: “[मर्नै लाग्दा] जब मेरो प्राण गलिसकेको थियो, तब मैले [अतुलनीय शक्ति र कृपा भएको विश्वास गर्दै] परमप्रभुलाई सम्झें र मेरो प्रार्थना तपाईंकहाँ आयो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।” (योना २:७) स्वर्गीय मन्दिरबाट परमेश्वरले योनाको प्रार्थना सुन्नुभयो र तिनलाई बचाउनुभयो।
अन्तमा योना यसरी प्रार्थना गर्छन्: “[झूटा देवताहरूका निर्जीव मूर्तिहरूमाथि विश्वास गरेर] जस जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले गर्नुपर्ने साँचो भक्तिलाई त्याग्दछन् [र यो गुन प्रदर्शित गर्नेलाई त्याग्दछन्]। तर मता धन्यवादका स्तुतिसहित तपाईंमा [यहोवा परमेश्वर] बलिदान चढ़ाउनेछु, मैले [यति बेला र अन्य अवसरहरूमा] जे कुराको भाकल गरेको छु, सो पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।” (योना २:८, ९; तुलना गर्नुहोस् भजन ३१:६; ५०:१४) परमेश्वरले मात्र मृत्युबाट उद्धार गर्न सक्नुहुन्छ भन्ने थाह भएकोले पश्चात्तापी अगमवक्ताले (तिनीअघिका राजा दाऊद र सुलेमानजस्तै) मुक्तिको श्रेय यहोवालाई नै दिन्छन्।—भजन ३:८; हितोपदेश २१:३१.
योनाले आज्ञा पालन गर्छन्
धेरै सोचविचार र तीव्र प्रार्थना गरेपछि योना आफू जुन नलीबाट भित्र पसेका थिए त्यही नलीबाट बाहिर घचेटिएको महसुस गर्छन्। अन्ततः तिनी सुक्खा भूमिमा ओकलिन्छन्। (योना २:१०) छुटकारा पाएकोमा कृतज्ञ हुँदै योना परमेश्वरको यो वचन पालन गर्छन्: “उठ, र त्यस ठूलो शहर निनवेमा जा, र म जे कुरा तँलाई बताउँछु, सो त्यहाँ प्रचार गर्।” (योना ३:१, २) योना अश्शूरको राजधानीमा जान्छन्। कुन दिन हो पत्ता लगाएपछि आफूले माछाको पेटभित्र तीन दिन बिताएको थाह पाउँछन्। युफ्रेटिस नदीको पश्चिमी मोडबाट नदी तरेर उत्तरी मेसोपोटामियाको पूर्वी भाग हुँदै टिगरिस नदीमा तिनी पुग्छन् र आखिरमा त्यस महान् शहर पुग्छन्।—योना ३:३.
योना, एउटा ठूलो शहर निनवेमा प्रवेश गर्छन्। तिनी शहरमा दिनभरि हिंड्छन् र यसप्रकार घोषणा गर्छन्: “अबको चालीस दिनमा निनवे नाश हुनेछ!” के योनाले अश्शूरी भाषा बोल्ने ज्ञान अद्भुत ढंगमा पाए त? हामीलाई थाह छैन। तर तिनले हिब्रू नै बोलेर कसैले अनुवाद गरेको भए तापनि त्यस उद्घोषणाले नतिजा ल्यायो। निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे। तिनीहरूले उपवास बस्ने प्रचार गरे र ठूला साना सबै भाङरा लगाउँछन्। यो खबर निनवेका राजाकहाँ पुगेपछि तिनी सिंहासनबाट उठेर आफ्नो राज-पोशाक फुकाल्छन् भाङरा लगाएर खरानीमा बस्छन्।—योना ३:४-६.
योना कति छक्क पर्छन्! अश्शूरी राजाले अग्रदूतहरू पठाउँदै यस्तो झ्याली पिट्छन्: “राजाको र भारदारको उर्दी अनुसार कुनै मानिस वा पशु, गाईगोरु वा भेड़ा-बाख्रा, कसैले केही खानेकुरा नचाखून नता तिनीहरूले केही खाऊन् वा पिऊन्। तर सबैले भाङ्रा लगाऊन्, र तिनीहरूले जोरसँग परमेश्वरमा पुकारा गरून्। आफ्ना आफ्ना कुमार्गबाट तिनीहरू फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्याग गरून्। कसले जान्ने? सायद परमेश्वर पछताउनुहोला, र आफ्नो भयानक रीस रोक्नुहोला, र हामी नष्ट हुनेछैनौं।”—योना ३:७-९.
निनवेवासीहरूले राजाको आज्ञा पालन गर्छन्। परमेश्वरले तिनीहरू कुमार्गबाट फर्केको देख्नुभएपछि अफसोस मान्दै तिनीहरूमाथि विपत्ति ल्याउने आफ्नो इच्छा बदल्नुहुन्छ। (योना ३:१०) तिनीहरूको पश्चात्ताप, नम्रता र विश्वासले गर्दा यहोवाले तिनीहरूमाथि विपत्ति नल्याउने निर्णय गर्नुहुन्छ।
चिढिएका अगमवक्ता
चालीस दिन बितिसक्दा पनि निनवेमा केही हुँदैन। (योना ३:४) निनवेवासीहरू नाश हुनेछैनन् भन्ने थाह पाएर योना साह्रै अप्रसन्न र रीसले चूर हुन्छन् अनि यसरी प्रार्थना गर्छन्: “हे परमप्रभु, म आफ्नो देशमा छँदै के मैले यही कुरा भनेको थिइनँ? यसैकारणले ता तर्शीशतिर भागेर जान मैले आत्तुरी गरेको थिएँ, किनकि तपाईं अनुग्रह गर्नुहुने परमेश्वर, दया गर्नमा भरपूर, रीस गर्नमा धीरजी, करुणामा प्रशस्त हुनुहुन्छ, र दुःख दिंदा खुशी हुनुहुन्न भन्ने मलाई थाह थियो। यसकारण अब हे परमेश्वर, बिन्ती छ, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।” परमेश्वरले यस्तो जवाफ दिनुहुन्छ: “के रिसाउनु असल कुरो हो?”—योना ४:१-४.
त्यसो भनेर योना रिसाउँदै त्यस शहरबाट ठमठम बाहिर निस्कन्छन्। त्यो शहरलाई के हुँदो रहेछ भनी हेर्न पूर्वतिर जान्छन् र एउटा छाप्रो बनाएर त्यसको छहारीमा बस्छन्। यहोवाले अनुकम्पापूर्ण ढंगले ‘योनाको शिरमा छाया होस् र तिनको दुःख हरण होस् भनेर कुभिण्डोको रूखलाई बढाउनुहुन्छ।’ त्यो कुभिण्डोको रूख देखेर योना दंग पर्छन्! तर भोलिपल्ट झिसमिसे उज्यालो भएपछि त्यस बोटलाई खाइदिन कीरालाई खटाउनुहुन्छ र त्यो ओइल्याउन थाल्छ। तुरुन्तै त्यो खङ्ग्रङै सुक्यो। परमेश्वरले पूर्वतिरबाट बतास पनि चलाउनुभयो। अब टनटलापुर घाम योनाको टाउकोमा पर्छ र बेहोशै होला जस्तो हुन्छ। तिनले मर्न पाऊँ भनेर बिन्ती गरिरहन्छन्। हो, योनाले बारम्बार भन्छन्: “मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।”—योना ४:५-८.
यहोवा अब बोल्नुहुन्छ। उहाँले योनालाई प्रश्न गर्नुहुन्छ: “के कुभिण्डोको कारण रिसाउनु असल कुरो हो र?” योनाले जवाफ दिन्छन्: “ज्यू, असल कुरो हो। अँ, मरूञ्जेलसम्मै म रिसाउन पनि ठीकै हो।” अब मुख्यतः यहोवाले अगमवक्तालाई भन्नुहुन्छ: ‘तैले केही परिश्रमै नगरेको, आफूले नउमारेको, जो एकै रातमा हुनआयो, र एकै रातमा नष्ट पनि भयो, त्यस्तो कुभिण्डोलाई तँ दया गर्छस्।’ परमेश्वरले अझ तर्क गर्नुभयो: ‘त के यति ठूलो शहर निनवे, जसमा १,२०,००० भन्दा बढ़ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्नसक्तैनन्, जसमा यतिका वस्तुहरू पनि छन्, के मैले त्यसमाथि दया नगर्नु?’ (योना ४:९-११) त्यसको सही जवाफ स्पष्ट छ।
योना पश्चात्ताप गर्छन् र आफ्नै नाउँ भएको बाइबल पुस्तक लेख्छन्। नाविकहरू यहोवासित डराएको, उहाँको निम्ति बलिदान चढाएको र भाकल गरेको योनाले कसरी थाह पाए? ईश्वरीय प्रेरणा वा मन्दिरमा ती नाविक वा यात्रुहरूमध्ये कुनैद्वारा थाह पाए होलान्।—योना १:१६; २:४.
“योना अगमवक्ताको चिह्न”
शास्त्री र फरिसीहरूले येशू ख्रीष्टसित चिह्न माग्दा उहाँले यसो भन्नुभयो: “दुष्ट र व्यभिचारी पुस्ताले चिह्न खोज्दछ। औ त्यसलाई योना अगमवक्ताको चिह्नबाहेक अरू चिह्न दिइनेछैन।” येशूले अझ भन्नुभयो: “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थियो, उसरीनै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन र तीन रात रहनेछ।” (मत्ती १२:३८-४०) यहूदी दिनहरू सूर्यास्तपछि सुरु हुन्थ्यो। सा.यु. ३३ नीसान १४ शुक्रबार दिउँसो ख्रीष्ट मर्नुभयो। उहाँको शरीरलाई त्यस दिनको सूर्यास्तअघि चिहानमा गाडियो। त्यस दिनको साँझ नीसान १५ सुरु भएर सातौं दिन वा हप्ताको अन्तिम दिन शनिबार सूर्यास्तसम्म चल्यो। त्यसपछि नीसान १६ सुरु भएर सूर्यास्तसम्म रह्यो जसलाई हामी आइतबार भन्छौं। फलस्वरूप येशूले नीसान १४ को पछिल्लो भाग, नीसान १५ को पूरा दिन र नीसान १६ को रात चिहानमा बिताउनुभयो। आइतबार बिहान एक स्त्री चिहानमा आउँदा उहाँको पुनरुत्थान भइसकेको थियो।—मत्ती २७:५७-६१; २८:१-७.
येशू चिहानमा तीन दिनसम्म हुनुहुन्थ्यो। अतः उहाँका शत्रुहरूले “योना अगमवक्ताको चिह्न” पाए तर ख्रीष्टले भन्नुभयो: “निनवेका मानिसहरू न्यायमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चाताप गरेथे, तर हेर, योनाभन्दा श्रेष्ठ यहाँ छ।” (मत्ती १२:४१) कति साँचो! यहूदीहरूका माझमा योनाभन्दा महान् अगमवक्ता येशू ख्रीष्ट हुनुहुन्थ्यो। निनवेवासीहरूलाई योना नै पर्याप्त प्रमाण थियो तर येशूले त्यस अगमवक्ताले भन्दा निकै अख्तियार र प्रमाणसहित प्रचार गर्नुभयो। यद्यपि, ती यहूदीहरूले प्रायः विश्वास गरेनन्।—यूहन्ना ४:४८.
राष्ट्रको हैसियतमा यहूदीहरूले योनाभन्दा महान् अगमवक्तालाई नम्रतापूर्वक स्वीकारेनन् र उहाँमाथि विश्वास राखेनन्। तर तिनीहरूका पुर्खाहरूले नि? तिनीहरूमा पनि विश्वास र नम्रताको कमी थियो। भनौं भने, यहोवाले विश्वास र नम्रता कम भएका हठी इस्राएलीहरू र पश्चात्तापी निनवेवासीहरूबीच भिन्नता देखाउन योनालाई पठाउनुभएको थियो।—तुलना गर्नुहोस् व्यवस्था ९:६, १३.
योना आफै नि? तिनले परमेश्वरको कृपा कति महान् छ भनेर सिके। पश्चात्तापी निनवेवासीहरूलाई दया देखाउँदा योनाले गनगन गरेको थियो। र त्यतिबेला यहोवाले देखाउनुभएको प्रतिक्रियाले हामीलाई पनि हाम्रो समयका मानिसहरूप्रति स्वर्गमा हुनुहुने पिताले कृपा देखाउनुहुँदा गनगन गर्नदेखि रोक्नुपर्छ। निस्सन्देह, हरेक वर्ष हजारौं व्यक्तिहरू यहोवातर्फ विश्वास र नम्र हृदयका साथ फर्केकोमा हामी आनन्दित होऔं।