गिलियड स्कूलले आफ्नो १००औं कक्षा पठाउँछ
दवाचचटावर बाइबल स्कूल अफ गिलियडले आधुनिक समयमा परमेश्वरको राज्यबारे विश्वव्यापी उद्घोषणा गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। सन् १९४३ मा गिलियड स्कूलले मिसनरीहरूलाई प्रशिक्षण दिन थाल्यो। त्यस बेलादेखि यसका स्नातकहरू २०० भन्दा धेरै मुलुकहरूमा सेवारत छन्। मार्च २, १९९६ मा १००औं कक्षाले स्नातक प्राप्त गऱ्यो।
विद्यार्थीहरू न्यु योर्क, प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरमा उपस्थित हुँदा त्यस क्षेत्रमा दुइ मिटरभन्दा बाक्लो हिउँ परेको थियो। अतः दीक्षान्त समारोहको दिनमा पनि हिउँ परिरहनु कुनै अचम्मको कुरा थिएन। तैपनि, सभागृह दर्शकहरूले भरिभराउ थियो। वाल्कील, प्याटर्सन र ब्रूकलिनका जम्माजम्मी २,८७८ श्रोताले पनि उक्त समारोह सुने।
परिचालक निकायको शैक्षिक समितिका सदस्य थिओडर जारसले समारोह अध्यक्षको कार्यभार सँभाले। थुप्रै मुलुकबाट उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गरेपछि तिनले सबैलाई उभेर गीत संख्या ५२ गाउन आमन्त्रित गरे। तिनीहरूले यहोवाको प्रशंसा गाओ पुस्तकबाट “हाम्रो पिताको नाउँ” शीर्षक गीत गाउँदा सभागृह यहोवाको प्रशंसाले गुञ्जायमान भयो। यहोवाको प्रशंसा गर्न शिक्षा प्रयोग गर्नुहोस् भन्नेबारे समारोह अध्यक्षको टिप्पणी र त्यस गीतले हुनैलागेको समारोहलाई अति रोचक बनायो।
पाको मानिसहरूबाट धर्मशास्त्रीय सल्लाह
समारोहको प्रथम भागमा धेरै समयदेखि परमेश्वरको सेवा गरिरहेका सेवकहरूद्वारा स्नातक समूहलाई संक्षिप्त भाषणहरू दिने प्रबन्ध गरिएको थियो। सन् १९४० मा पूर्ण-समय सेवा थालेका ब्रूकलिन बेथेलका सदस्य रिचार्ड अब्रहामसनले कक्षालाई आग्रह गरे: “काँटछाँट गरिरहनुहोस्।” ती विद्यार्थीहरूले गिलियड शिक्षा लिंदा बिताएको पाँच महिनालगायत मसीहीको हैसियतमा बेग्लाबेग्लै समयावधिमा काँटछाँट गरिसकेका छन् भनेर तिनले अवगत गराए। त्यसोभए तिनीहरूले काँटछाँट किन गरिरहनुपर्छ?
दोस्रो कोरिन्थी १३:११ मा (NW) प्रेरित पावलले प्रयोग गरेको अभिव्यक्तिले “असाध्यै ध्यान पुऱ्याएर पालन गर्नुपर्ने यहोवाका नियमहरूसमेत पूरा गर्न मदत पुऱ्याउने प्रगतिशील प्रक्रिया तथा परमेश्वरले गर्नुहुने सुधारलाई निरन्तर स्वीकार्नु र उचित काँटछाँटलाई संकेत गर्छ” भनेर वक्ताले बताए। स्नातकहरूले विदेशमा आफ्नो कार्यभार सँभाल्दा आफ्नो विश्वासमा आइपर्ने नयाँ चुनौतीहरू सामना गर्नेछन्। तिनीहरूले नयाँ भाषा सिक्नुपर्छ, विभिन्न संस्कृति तथा जीवनशैलीसित मितेरी लाउनुपर्छ र बेग्लाबेग्लै क्षेत्रअनुकूल आफूलाई ढाल्नुपर्छ। तिनीहरूले मिसनरी घर र आ-आफ्नो नयाँ मण्डलीमा पनि विभिन्न व्यक्तित्वहरूसित हेलमेल गर्नुपर्नेछ। यी परिस्थितिहरूमा काँटछाँट गर्ने इच्छा राखेर होशियारीसाथ बाइबल सिद्धान्तहरू प्रयोग गरेमा प्रेरित पावलले लेखेझैं तिनीहरू पनि “आनन्दित” हुनसक्छन्।
समारोहमा भाग लिने परिचालक निकायका पाँच सदस्यमध्ये एक जोन बार हुन्। तिनले १ कोरिन्थी ४:९ बाट आफ्नो भाषणको विषय लिए। तिनले स्वर्गदूत र मानिसहरूका लागि मसीहीहरू तमाशा हुन् भनेर श्रोतागणलाई स्मरण गराए। तिनले भने, “यस कुरालाई बुझ्दा मसीही जीवनपद्धतिको महत्त्व बढ्छ। विशेषतः आफूले के भन्छ र के गर्छ त्यो बुझेर उसले मानव दर्शकलाई मात्र होइन तर स्वर्गदूतहरूलाई पनि प्रभाव पार्दा यो महत्त्व झन् ठूलो हुन्छ। गिलियड १००औं कक्षाका प्रिय भाइबहिनीहरूले पृथ्वीको कुना कुनामा जाँदा यो कुरा सम्झनु एकदमै बेस हुनेछ भनेर म विश्वास गर्छु।”
भाइ बारले ती ४८ विद्यार्थीहरूलाई भेडाखाले व्यक्तिहरूलाई सच्चाइ सिक्न मदत दिंदा “परमेश्वरका दूतहरूका सामने पश्चात्ताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ” भन्ने कुरा मनमा राख्न आग्रह गरे। (लूका १५:१०) तिनले १ कोरिन्थी ११:१० उल्लेख गर्दै ईश्वरतान्त्रिक प्रबन्धहरूप्रति व्यक्तिविशेषको मनोवृत्तिले देखिने भाइबहिनीहरूलाई मात्र होइन तर देख्न नसकिने स्वर्गदूतहरूलाई समेत असर गर्छ भनेर स्पष्ट पारे। यस महान् दृश्यलाई मनमा राख्नु कति लाभदायी हुन्छ!
यहोवाले ‘आफ्ना मानिसहरूलाई घेर्नुहुन्छ’ भनेर देखाउन गिलियड स्कूलका भूतपूर्व स्नातक तथा परिचालक निकायका सदस्य गेरेट लोशले भजन १२५:१, २; जकरिया २:४, ५ र भजन ७१:२१ जस्ता शास्त्रपदहरू छलफल गरे। परमेश्वरले तिनीहरूलाई चौतर्फी सुरक्षा दिनुहुन्छ। के परमेश्वरले यस्तो सुरक्षा महासंकष्टको दौडान मात्र दिनुहुनेछ? वक्ताले जवाफ दिए, “होइन, किनभने यहोवा आफ्ना मानिसहरूको लागि सुरक्षा अर्थात् ‘आगोको पर्खाल’ भइसक्नुभएको छ। सन् १९१९ को युद्धपछि शेष आत्मिक इस्राएलले विश्वभरि सारा जातिलाई साक्षीको रूपमा परमेश्वरको राज्यको सुसमाचार उत्सुकतासाथ प्रचार गरिरहेको भेटियो। तिनीहरू प्रतीकात्मक स्वर्गीय यरूशलेमका प्रतिनिधिहरू थिए। यहोवाले अन्तको समयमा यी प्रतिनिधिहरूलाई सामूहिक तवरमा ईश्वरीय सुरक्षाको ग्यारेन्टी दिनुभएको छ। त्यसोभए कसले तिनीहरूलाई प्रभावशाली ढंगमा रोक्नसक्छ? कसैले सक्दैन।” तिनीहरू र तिनीहरूसित घनिष्ठ भएर ईश्वरीय इच्छा गर्ने सबैका लागि कति सान्त्वनादायी कुरा!
शैक्षिक विभागका वरिष्ठ सदस्य उलिस्सेस ग्लासले तिनीहरूलाई ‘यहोवाको विश्वव्यापी संगठनमा पाएको आफ्नो कार्यभारलाई कुँद्न’ प्रोत्साहन दिए। कार्यभार भनेको विशेष गरेर व्यक्तिको योग्यता वा आचरण सुहाउँदो परिस्थिति वा क्रियाकलाप हो। तिनले घोषणा गरे, “तपाईं, सम्भाव्य मिसनरीहरूले यहोवाका साक्षीहरूको विश्वव्यापी संगठनमा कार्यभार भेट्टाउनुभएको छ। तर अहिले महत्त्वपूर्ण कुरा के हो भने, मिसनरीको हैसियतमा यो तपाईंको जीवनको सुरुआत मात्र हो।” तिनीहरूले आफ्ना योग्यताहरू राम्ररी प्रयोग गर्न र यहोवा तथा उहाँको संगठनले आफूलाई दिइरहेको विशेष कार्यभारहरूका लागि अनुकूल हुन ध्यान दिनुपर्नेछ।
समारोहको यस भागको अन्तिम भाषण गिलियड विभागका सदस्य वालेस लिभरन्सले दिए। तिनी बोलिभियामा १७ वर्षसम्म सेवारत थिए। “के तपाईंहरू परमेश्वरलाई जाँच्नुहुनेछ?” भनेर तिनले विद्यार्थी समूहलाई सोधे। तिनीहरूले कसरी जाँच्नुपर्छ? इस्राएल राष्ट्रले गलत ढंगमा परमेश्वरलाई जाँचे। (व्यवस्था ६:१६) “स्पष्टतया, गुनासो वा गनगन गरेर वा शायद परमेश्वरको तौरतरिकामा विश्वास नगरेर उहाँलाई जाँच्नु भूल हो” भनेर वक्ताले बताए। तिनले आग्रह गरे, “तपाईंहरूले नयाँ कार्यभार सँभाल्नुहुँदा त्यस्तो झुकाउको विरोध गर्नुहोस्।” त्यसोभए परमेश्वरलाई जाँच्ने सही तरिका कुन हो त? “त्यो हो, उहाँको वचनमा विश्वास गर्नु, उहाँले भन्नुभएजस्तै गर्नु र नतिजा उहाँको हातमा छाड्नु,” भाइ लिभरन्सले व्याख्या गरे। मलाकी ३:१० मा यहोवा आफ्ना मानिसहरूलाई यसरी आमन्त्रित गर्नुहुन्छ: “मलाई जाँचेर हेर।” तिनीहरूले विश्वासपूर्वक मन्दिरको भण्डारमा दशांश ल्याएमा उहाँले तिनीहरूलाई आशिष् दिनुहुने प्रतिज्ञा गर्नुभएको थियो। वक्ताले सोधे, “तपाईंहरूले पनि आफ्नो मिसनरीको कार्यभारप्रति त्यस्तै दृष्टिकोण राखे कसो होला। यसमा तपाईंहरू सफल हुनुभएको यहोवा चाहनुहुन्छ। तसर्थ, उहाँलाई जाँच्नुहोस्। आफ्नो कार्यभारलाई नछाड्नुहोस्। उहाँले चाहनुभएजस्तो काँटछाँट गर्नुहोस्। धैर्य धारण गर्नुहोस्। उहाँले आशिष् दिनुहुन्छ कि हुन्न जाँचेर हेर्नुहोस्।” यहोवाको सेवा गरिरहेकाहरू सबैका लागि कति उत्तम सल्लाह!
गीतपछि भाषणको कार्यक्रम बदलिएर क्रमशः आनन्ददायी अन्तरवार्ताहरू सुरु भए।
क्षेत्र सेवकाईबाट प्राप्त व्यवहारिक अनुभवहरू
पाठशालामा अध्ययनरत विद्यार्थीहरूले क्षेत्र सेवकाईमा प्राप्त गरेका अनुभवहरू सुनाउन गिलियड विभागका नयाँ सदस्य मार्क नुमारले आमन्त्रित गरे। ती अनुभवहरूले सेवकाईमा अग्रसर हुनु कत्तिको महत्त्वपूर्ण छ भनेर प्रकाश पारे। साथै ती अनुभवहरूद्वारा श्रोतागणले प्रयोग गर्नसक्ने व्यवहारिक तौरतरिकाहरू प्रदान गरियो।
आफ्नो पढाइको दौडान यस गिलियड कक्षाका विद्यार्थीहरूले विशेषतः प्याटर्सन एजुकेशनल सेन्टरमा विशेष प्रशिक्षणको लागि आएका ४२ मुलुकका शाखा समितिका सदस्यहरूसित भेटघाट गरेर फाइदा उठाए। तिनीहरूमध्ये थुप्रैले वर्षौंअघि गिलियडबाट स्नातक प्राप्त गरेका थिए। त्यस समारोहमा तेस्रो, पाचौं, एकाउन्नौं र बयानब्बेऔं गिलियड कक्षालगायत गिलियड इक्स्टेन्शन स्कूल इन जर्मनीबाट आएका प्रतिनिधिहरूसित अन्तरवार्ता लिइयो। तिनीहरूका टिप्पणीहरू साँच्चै लाभदायी थिए!
मिसनरीहरूले आफू खटिएको क्षेत्रहरूमा यहोवाका मुठीभर प्रशंसकहरू बढेर लाखौं भएको देख्दा कस्तो अनुभव गरे, त्यो तिनीहरूले बताए। एन्डिज पर्वत र अमेजोन नदीको मुहान वरपरका गाउँहरूमा छरिएका घरहरूमा आफूले सुसमाचार सुनाउन भाग लिएको कुरा तिनीहरूले बताए। तिनीहरूले निरक्षर व्यक्तिहरूलाई पनि साक्षी दिएका थिए। आफूले नयाँ भाषाहरू सिक्दा गर्नुपरेको संघर्ष र स्नातकहरूले चिनियाँजस्तो भाषामा साक्षी तथा भाषण दिन चाँडो भन्दा चाँडो सक्षम हुनको लागि कस्तो व्यवहारिक प्रत्याशा राख्नसक्छन्, सो तिनीहरूले बताए। तिनीहरूले स्पेनी र चिनियाँ भाषामा नमुना प्रस्तुतिहरू प्रदर्शन गरे। भाषा मात्र सिक्ने होइन तर मानिसहरूको विचार पनि बुझेमा मिसनरीहरू सबैभन्दा प्रभावशाली हुन्छन् भनेर तिनीहरूले जोड दिए। तिनीहरूले गरिब मुलुकहरूका कठिन जीवन परिस्थितिबारे बताउँदै यसो भने: “शोषणले गर्दा यस्तो परिस्थिति भएको हो भनेर मिसनरीहरूले बुझ्नुपर्छ। येशूले झैं महसुस गर्ने मिसनरीले अत्युत्तम कार्य गर्छन्। किनभने येशूले गोठालाबिनाको भेडाजस्ता मानिसहरूमाथि दया देखाउनुभयो।”
गीतपछि समारोहलाई अघि बढाउँदै परिचालक निकायका सदस्य ए. डी. श्रोडरले भाषण दिए। सन् १९४३ मा गिलियड स्कूल स्थापना भएदेखि मुख्य शिक्षकहरूमध्ये एक हुने सुअवसर तिनले पाएका छन्। समारोह समापनसित सुहाउँदो विषय “यहोवालाई सार्वभौम प्रभुको हैसियतमा प्रशंसा गर्ने” बारे तिनले छलफल गरे। भाइ श्रोडरले २४औं भजनबारे हृदयस्पर्शी छलफल गर्दै यहोवालाई सार्वभौम प्रभुको रूपमा प्रशंसा गर्नु कति महान् सुअवसर हो भनी बताउँदा उपस्थित सबै प्रभावित भए।
स्नातक उपाधि वितरण र समापन गीतपछि परिचालक निकायका कार्ल क्लेनले हार्दिक प्रार्थनाद्वारा समारोह विसर्जन गरे। कति व्यवहारिक र आध्यात्मिक स्फूर्ति दिने समारोह थियो त्यो!
दीक्षान्त समारोहपछि १००औं कक्षाका ४८ सदस्यहरूले १७ मुलुकहरूमा आफ्नो मिसनरी कार्यभार सँभाल्न यात्रा सुरु गरे। तर तिनीहरूको सेवकाई भर्खरै सुरु भएको थिएन। तिनीहरूले पूर्ण-समय मसीही सेवकाईको ठोस प्रमाण दिइसकेका थिए। गिलियडमा नाउँ दर्ता गर्दा तिनीहरूको सरदर उमेर ३३ थियो र पूर्ण-समय सेवकाईमा १२ वर्षभन्दा धेरै समय बिताइसकेका थिए। तिनीहरूमध्ये केही वाच टावर सोसाइटीको विश्वव्यापी बेथेल परिवारका सदस्य थिए। केहीले परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेका थिए। अधिकांशले आफ्नै देशभित्र विदेशी भाषी समूहहरूका साथै अफ्रिका, युरोप, दक्षिण अमेरिका, समुद्री द्वीपहरूमा केही प्रकारको विदेशी सेवा गरिसकेका थिए। तर अब तिनीहरू अरू थुप्रै मिसनरीहरूको जमातमा सामेल हुँदैछन् जो यसो भन्न सकेकोमा आनन्दित छन्, ‘जहाँ आवश्यकता छ हामी त्यहीं सेवा गर्नेछौं।’ तिनीहरूको हार्दिक इच्छा नै यहोवाको महिमा गर्न आफ्नो जीवन प्रयोग गर्नु हो।
[पृष्ठ २७-मा भएको पेटी]
कक्षाको तथ्यांक:
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ८
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १७
विद्यार्थीहरूको संख्या: ४८
औसत आयु: ३३.७५
सच्चाइमा बिताएको औसत वर्ष: १७.३१
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२.०६
[पृष्ठ २६-मा भएको चित्र]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १००औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।
(१) शिर्ली, एम.; ग्रुन्स्ट्रोम, एम.; जेनार्डीनी, डी.; जिमो, जे.; शाड, डब्ल्यु.; फायेर, पी.; बुचान, सी.; रबिन्सन, डी. (२) पाइन, सी.; क्राउस, बी.; ऱ्यासिकोट, टी.; हान्सेन, ए.; बीट्स, टी.; बर्ग, जे.; गार्सिया, एन.; फ्लेमिङ, के. (३) विनरी, एल.; विनरी, एल.; हार्प्स, सी.; जिमो, सी.; बर्ग, टी.; मान, सी.; बेर्योस, भी.; फिफर, सी. (४) ऱ्यान्डल, एल.; जेनार्डीनी, एस.; क्राउस, एच.; फ्लेमिङ, आर.; डाबाडी, एस.; शिर्ली, टी.; स्टिभेन्सन, जी.; बुचान, बी.; (५) रबिन्सन, टी.; गार्सिया, जे.; हार्प्स, पी.; ऱ्यासिकोट, डी.; डाबाडी, एफ.; फायेर, एम.; स्टिभेन्सन, जी.; शाड, डी. (६) बीट्स, एल.; फिफर, ए.; बेर्योस, एम.; पाइन, जे.; मान, एल.; ऱ्यान्डल, पी.; ग्रुन्स्ट्रोम, जे.; हान्सेन, जी.