येशूको आगमन कि येशूको उपस्थिति?
“तपाईंको आगमन [उपस्थिति, NW] र जगत्को अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३.
१. येशूको सेवकाईमा प्रश्नहरूले कस्तो भूमिका निर्वाह गरे?
येशूले कुशलतापूर्वक चलाउनुभएका प्रश्नहरू सुनेर श्रोताहरू सोचमग्न हुन्थे र विचाराधीन कुरालाई नयाँ दृष्टिले समेत हेर्थे। (मर्कूस १२:३५-३७; लूका ६:९; ९:२०; २०:३, ४) हामी कृतज्ञ हुनसक्छौं किनभने उहाँले प्रश्नहरूको जवाफ पनि दिनुभयो। अनि उहाँले दिनुभएका ती जवाफहरूले सत्यमाथि प्रकाश पार्छ। अन्यथा हामीले ती कुराहरू जान्ने वा बुझ्ने थिएनौं।—मर्कूस ७:१७-२३; ९:११-१३; १०:१०-१२; १२:१८-२७.
२. अहिले कुन प्रश्नमाथि हामीले ध्यान दिनुपर्छ?
२ येशूले सोध्नुभएका अति महत्त्वपूर्ण प्रश्नहरूमध्ये एक, हामी मत्ती २४:३ मा पाउँछौं। आफ्नो पार्थिव जीवनको अन्त हुनुभन्दा केही समयअघि मात्र येशूले यरूशलेमको मन्दिर नष्ट हुनेछ र त्यससँगसँगै यहूदी रीतिरिवाजको अन्त सुरु हुनेछ भनेर चेताउनी दिनुभएको थियो। मत्तीको विवरण अगाडि यसो भन्छ: “उहाँ जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर भने, ‘हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको उपस्थिति [“आगमन,” किङ जेम्स भर्सन] र जगत्को अन्तको चिह्न के हुन्छ?’”—मत्ती २४:३, NW.
३, ४. विभिन्न बाइबलहरूमा पाइने मत्ती २४:३ का मूल शब्दहरूको अनुवादमा के उल्लेखनीय भिन्नता पाइन्छ?
३ ‘तर चेलाहरूले त्यो प्रश्न किन सोधे र येशूको जवाफले मलाई कसरी असर गर्छ?’ भन्ने जस्ता प्रश्नहरू बाइबलका लाखौं पाठकहरूको मनमा उब्जेका छन्। ग्रीष्म ऋतु “आएछ” भनेर संकेत दिने पालुवाहरूबारे बताएर येशूले ती प्रश्नहरूको जवाफ दिनुभयो। (मत्ती २४:३२, ३३) त्यसैकारण, प्रेरितहरूले येशूको “आगमन” नजीकै छ भनेर प्रमाणित गर्ने चिह्न माग्दैथे भनी थुप्रै चर्चहरू सिकाउँछन्। येशूको “आगमन” नै मसीहीहरूलाई स्वर्गमा लगेर पृथ्वीलाई नाश गर्ने समय हुनेछ भन्ने तिनीहरूको विश्वास छ। के तपाईं यो कुरा मान्नुहुन्छ?
४ पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद (अंग्रेजी) लगायत अन्य केही बाइबल अनुवादहरूले “आगमन[को]” साटो “उपस्थिति” शब्द चलाएका छन्। त्यसोभए, कतै चेलाहरूले सोधेको प्रश्न अनि येशूले दिनुभएको जवाफ चर्चले सिकाउने शिक्षाहरूभन्दा फरक त छैन? वास्तवमा चेलाहरूले के सोधेका थिए? अनि येशूले के जवाफ दिनुभयो?
तिनीहरूले के सोध्दैथिए?
५, ६. प्रेरितहरूले मत्ती २४:३ को प्रश्न सोध्दा सोचिरहेका कुराबारे हामी के निष्कर्ष निकाल्नसक्छौं?
५ येशूले मन्दिरबारे भन्नुभएका कुराहरू विचार गर्दा चेलाहरूले सम्भवतः यहूदी परिपाटीलाई ध्यानमा राखेर ‘उहाँको उपस्थिति [वा “आगमन”] र जगत्को अन्तबारे [शाब्दिक अर्थमा, “युग”]’ सोधेको हुनुपर्छ।—१ कोरिन्थी १०:११ र गलाती १:४, किङ जेम्स भर्सन-मा चलाएको “संसार” शब्द तुलना गर्नुहोस्।
६ त्यतिखेर येशूका प्रेरितहरूले उहाँका शिक्षाहरू पूर्णतया बुझेका थिएनन्। केही समयअघि मात्र तिनीहरूले “परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनलागेको छ भन्ने” कल्पना गरेका थिए। (लूका १९:११; मत्ती १६:२१-२३; मर्कूस १०:३५-४०) जैतून डाँडामा भएको छलफलपछि तर पवित्र आत्माले अभिषेक हुनुअघिसम्म तिनीहरूले इस्राएल राज्य तुरुन्तै फिर्ता गर्नुहुने हो वा होइन भनेर येशूलाई सोधिरहेका थिए।—प्रेरित १:६.
७. प्रेरितहरूले येशूलाई उहाँको भावी भूमिकाबारे किन सोध्नेथिए?
७ यद्यपि, येशू तिनीहरूबीच हुनुहुनेछैन भनेर चाहिं तिनीहरूलाई थाह थियो। किनभने उहाँले भर्खरै मात्र यसो भन्नुभएको थियो: “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग रहन्छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिंड़डुल गर।” (यूहन्ना १२:३५; लूका १९:१२-२७) अतः ‘येशू जानुहुने हो भने हामीले कसरी उहाँको आगमन थाह पाउने त?’ भन्ने खुलदुली तिनीहरूलाई परिरहेको हुनसक्छ। येशू, मसीहको रूपमा देखा पर्नुहुँदा प्रायजसोले उहाँलाई चिनेनन्। अनि त्यसको एक वर्षपछिसम्म पनि मानिसहरू मसीहले गर्नुपर्ने सबै काम उहाँले पूरा गर्नुहुने हो वा होइन, त्यो सोचिरहेका थिए। (मत्ती ११:२, ३) अतः प्रेरितहरूले भविष्यबारे जान्न खोज्नुको कारण छ। तर फेरि त्यही प्रश्न उठ्छ, के तिनीहरूले उहाँ चाँडै आउनुहुँदाखेरिको चिह्न माग्दैथिए या अरू नै?
८. प्रेरितहरूले येशूसित कुन भाषामा कुरा गरेको हुनसक्छ?
८ अब एकछिन आफूलाई चरा सम्झेर जैतून डाँडामा भइरहेको त्यो वार्तालाप सुनिरहेको कल्पना गर्नुहोस्। (उपदेशक १०:२० तुलना गर्नुहोस्।) तपाईंले पक्कै पनि येशू र उहाँका प्रेरितहरू हिब्रू भाषा बोलिरहेको सुन्नुहुने थियो। (मर्कूस १४:७०; यूहन्ना ५:२; १९:१७, २०; प्रेरित २१:४०) यद्यपि, उहाँहरूलाई युनानी भाषाको ज्ञान पनि भएको हुनुपर्छ।
मत्तीले युनानी भाषामा लेखेका कुरा
९. मत्तीरचित सुसमाचारका आधुनिक अनुवादहरूको आधार के हो?
९ सा.यु. दोस्रो शताब्दीतिरका पुरानो स्रोतहरूले के देखाउँछन् भने, मत्तीले आफ्नो सुसमाचारको पुस्तक पहिला हिब्रूमा लेखेका थिए। तर तिनले पछि युनानीमा पनि लेखे भनेर प्रमाणले देखाउँछ। युनानी भाषामा लेखिएका थुप्रै हस्तलिपीहरू अझसम्म पनि पाइन्छन् र त्यसले गर्दा तिनको सुसमाचारको पुस्तक वर्तमान भाषाहरूमा अनुवाद गर्ने आधार मिलेको छ। त्यसोभए, जैतून डाँडामा भएको वार्तालापलाई मत्तीले युनानी भाषामा कसरी लेखे त? येशूका चेलाहरूले “आगमन” वा “उपस्थिति[बारे]” सोधेको प्रश्न र उहाँले दिनुभएका जवाफबारे तिनले के लेखे?
१०. (क) “आउनु” अर्थ लाग्ने कुन युनानी शब्द मत्तीले प्रायजसो चलाए र त्यसको अर्थ के के हुनसक्छ? (ख) अर्को कुन युनानी शब्द पनि चाखलाग्दो छ?
१० मत्तीका पहिलो २३ अध्यायहरूमा “आउनु” अर्थ लाग्ने सामान्य युनानी क्रिया, एर्खोमाइ ८० भन्दा धेरै पटक उल्लेख भएको पाउँछौं। यस क्रियाले प्रायः आउँदैगरेको वा नजिकिंदै गएको बोध गराउँछ। जस्तै, यूहन्ना १:४७ मा “येशूले नथनेललाई आफूकहाँ आउँदै गरेका” देख्नुभयो। प्रसंगअनुसार एर्खोमाइ-को अर्थ “आउनु,” “जानु,” “थाल्नु,” “पुग्नु,” “सुरु गर्नु” हुनसक्छ। (मत्ती २:८, ११; ८:२८; यूहन्ना ४:२५, २७, ४५; २०:४, ८; प्रेरित ८:४०; १३:५१) तथापि, मत्ती २४:३, २७, ३७, ३९ मा मत्तीले सुसमाचारको अरू कुनै पुस्तकमा नपाइने बेग्लै शब्द अर्थात् पारुसिया संज्ञा चलाए। तर यदि परमेश्वर स्वयंले बाइबल लेख्न प्रेरित गर्नुभएको हो भने उहाँले किन मत्तीलाई चाहिं युनानी भाषामा सुसमाचारको पुस्तक लेख्दा उपरोक्त पदहरूमा बेग्लै शब्द चलाउने प्रेरणा दिनुभयो त? अनि त्यस शब्दको अर्थ के हो र हामीले किन चासो लिनुपर्छ?
११. (क) पारुसिया-को अर्थ के हो? (ख) हामीले पारुसिया-लाई जुन ढंगमा बुझेका छौं, त्यसलाई जोसेफसको लेखबाट लिइएका उदाहरणहरूले कसरी पुष्टि दिन्छन्? (पादटिप्पणी हेर्नुहोस्।)
११ तोकेरै भन्ने हो भने, पारुसिया-को अर्थ “उपस्थिति” हो। यसलाई प्रष्ट्याउँदै भाइनको नयाँ नियमका शब्दहरूको व्याख्यात्मक शब्दकोश (अंग्रेजी) यसो भन्छ: “पारुसियाको . . . शाब्दिक अर्थ उपस्थिति हो। पार अर्थात् सँगै अनि उसिया अर्थात् हुनुले (यो शब्द इमी अर्थात् हुनुबाट लिइएको हो) आगमन र आगमनपश्चात् हुने उपस्थिति दुवैलाई संकेत गर्छ। उदाहरणका लागि, एक भद्र महिलाले आफ्नो जायजेथाको चाँजोपाँजो मिलाउन त्यस्तै एक निश्चित स्थानमा आफ्नो पारुसिया आवश्यक छ भनेर पपाइरस पत्रमा उल्लेख गरेकी छिन्।” त्यस्तैगरि पारुसियाले ‘शासकको भ्रमणलाई‘ संकेत गर्छ भनेर अन्य शब्दकोशहरू वर्णन गर्छन्। तसर्थ, पारुसियाको अर्थ केवल आगमन नभई आगमनपश्चात् रहिरहने उपस्थिति हो। चाखलाग्दो कुरा, प्रेरितहरूका समकालीन यहूदी इतिहासकार जोसेफसले पनि पारुसिया शब्दलाई त्यही अर्थमा चलाए।a
१२. पारुसिया-को अर्थ निश्चित गर्न कसरी बाइबल आफैले मदत गर्छ?
१२ अतः पारुसिया-को अर्थ “उपस्थिति” हो भन्ने कुरा पुरातन साहित्यबाट प्रष्टै देखिन्छ। यद्यपि, परमेश्वरको वचनमा उपरोक्त शब्द कसरी चलाइएको छ, मसीहीहरू विशेषगरि त्यसमा चासो लिन्छन्। भनौं भने, यी दुवै स्रोतले एउटै अर्थ अर्थात् उपस्थिति भन्ने बुझाउन सो शब्द प्रयोग गरेका छन्। पावलका पत्रहरूमा हामी यसको उदाहरण पाउँछौं। जस्तै, तिनले फिलिप्पीहरूलाई यसरी लेखे: “जसरी तिमीहरूले सधैं आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर अब अरू बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ आफ्नो मुक्तिको काम पूरा गर्दै जाओ।” ‘[तिनीहरूसित] फेरि उपस्थित [पारुसिया] हुँदा’ हर्ष मनाउन सकोस् भनेर पावलले तिनीहरूसित धैर्य धारण गर्नेबारे पनि कुरा गरे। (फिलिप्पी १:२५, २६; २:१२) अन्य अनुवादहरूमा उपरोक्त अंश यसरी लेखिएको छ, “म फेरि तिमीहरूबीच हुँदा” (वेमाउथ; न्यु इन्टरनेशनल भर्सन); “म फेरि तिमीहरूसित हुँदा” (जेरूशलेम बाइबल; न्यु इंगलिस बाइबल); र “तिमीहरूले मलाई फेरि एकपल्ट आफ्नो माझ पाउँदा।” (ट्वेन्टिइथ सेन्चुरी न्यु टेस्टामेन्ट) अनि २ कोरिन्थी १०:१०, ११ मा पावलले “आफ्नो उपस्थिति[लाई]” “अनुपस्थितिसित” दाँजे। स्पष्ट छ, यी उदाहरणहरूमा पावल आफ्नो भेटघाट वा आगमनबारे कुरा गरिरहेका थिएनन्; तिनले पारुसिया शब्द आफ्नो उपस्थिति बोध गराउन चलाए।b (१ कोरिन्थी १६:१७ तुलना गर्नुहोस्।) त्यसोभए येशूको पारुसिया-बारे गरिएका उल्लेखहरूको सम्बन्धमा के भन्न सकिन्छ? त्यसले “आगमन[लाई]” संकेत गर्छ वा चलिरहने उपस्थितिलाई?
१३, १४. (क) पारुसिया कुनै एक समयसम्म चलिरहन्छ भन्ने निष्कर्षमा हामी किन पुग्नसक्छौं? (ख) येशूको पारुसिया-को समयावधिबारे कुन कुरा निश्चित रूपले भन्न सकिन्छ?
१३ पावलका समकालीन आत्मा-अभिषिक्त मसीहीहरू येशूको पारुसिया-बारे जान्न उत्सुक थिए। तर पावलले तिनीहरूलाई ‘सन्तुलन नगुमाउन’ चेताउनी दिए। प्रथमतः “पापको मानिस” देखा पर्नैपर्थ्यो। मसीहीजगत्को पादरीवर्ग त्यो मानिस साबित भएको छ। “त्यस अधर्मीको आगमन (उपस्थिति, NW) शैतानको कामबमोजिम, सबै शक्ति, झूटा चिह्नहरू र आश्चर्यकामहरूसँग” हुन्छ भनेर पावलले लेखे। (२ थिस्सलोनिकी २:२, ३, ९) अतः स्पष्ट छ, “पापको मानिस[को]” पारुसिया वा उपस्थिति क्षणिक आगमन मात्र थिएन; त्यो कुनै एक समयसम्म रहिरहने थियो र त्यस दौडान झूटा चिह्नहरू प्रकट हुनेथिए। तर यो महत्त्वपूर्ण हुनुको कारण?
१४ उपरोक्त पदअघिको पदलाई विचार गर्नुहोस्: “तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँको आगमन-को (उपस्थिति, NW) प्रकाशले विनाश पार्नुहुनेछ।” “पापको मानिस[को]” उपस्थिति कुनै एक अवधिसम्म रहेजस्तै येशूको उपस्थिति पनि केही समयसम्म रहनेथियो र त्यसको चरमोत्कर्षमा त्यस अधर्मी “सर्वनाशको सन्तान[को]” विनाश हुनेथियो।—२ थिस्सलोनिकी २:८.
हिब्रू-भाषाका विशेषताहरू
१५, १६. (क) मत्तीरचित सुसमाचारका थुप्रै हिब्रू अनुवादहरूमा कुन विशेष शब्द चलाइएको पाइन्छ? (ख) धर्मशास्त्रमा बोह शब्द कसरी चलाइएको छ?
१५ माथि उल्लेख भएअनुसार मत्तीले प्रथमतः हिब्रू भाषामा आफ्नो सुसमाचारको पुस्तक लेखे भन्ने प्रमाण पाइन्छ। त्यसोभए, तिनले मत्ती २४:३, २७, ३७, ३९ मा कुन हिब्रू शब्द चलाए त? आधुनिक हिब्रू भाषामा अनुवादित मत्तीरचित सुसमाचारका विभिन्न संस्करणहरू हेर्ने हो भने प्रेरितहरूको प्रश्न अनि येशूको जवाफ दुवैमा बोह क्रियाको रूप प्रयोग गरेको पाइन्छ। बोह क्रिया प्रयोग गरेमा उपरोक्त पदहरू यस्तो हुनसक्छ: “तपाईंको [बोह] र जगत्को अन्तको चिह्न के हुन्छ?” अनि “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको [बोह] हुनेछ।” तर बोह-को अर्थ के हो?
१६ हिब्रू क्रिया बोह-बाट विभिन्न भाव बोध हुने भए तापनि वस्तुतः त्यसको अर्थ “आउनु” हो। यसबारे पुरानो नियमको धर्मविज्ञानसम्बन्धी शब्दकोश-ले (अंग्रेजी) यसो भन्छ: “हिब्रू धर्मशास्त्रको २,५३२ ठाउँमा पाइने शब्द बोह, हिब्रू धर्मशास्त्रमा अरूभन्दा बारम्बार प्रयोग गरिने अनि गति बुझाउने मुख्य क्रिया हो। (उत्पत्ति ७:१, १३; प्रस्थान १२:२५; २८:३५; २ शमूएल १९:३०; २ राजा १०:२१; भजन ६५:२; यशैया १:२३; इजकिएल ११:१६; दानियल ९:१३; आमोस ८:११) येशू अनि उहाँका प्रेरितहरूले त्यस्ता विभिन्न अर्थ लाग्ने शब्द चलाएका भए, त्यसको अर्थ शायद विवादास्पद हुनेथियो। तर के उहाँहरूले त्यसो गर्नुभयो त?
१७. (क) आधुनिक हिब्रू अनुवादहरूले येशू र उहाँका प्रेरितहरूले बोलेका शब्दहरूलाई नै संकेत गर्छन् भनेर किन ठोकुवा गर्न मिल्दैन? (ख) येशू र उहाँका प्रेरितहरूले चलाएको सम्भाव्य शब्दहरूबारे अरू कुन स्रोतमा पनि संकेत पाइन्छ अनि त्यो स्रोत हाम्रोनिम्ति चाखलाग्दो हुनुको अर्को कारण के हो? (पादटिप्पणी हेर्नुहोस्।)
१७ स्मरण रहोस्, आधुनिक हिब्रू संस्करणहरू अनुवादहरू हुन्। अतः मत्तीले हिब्रूमा जे लेखे, हुबहु प्रस्तुत नभएको हुनसक्छ। अझ भनौं भने, येशूले बोह प्रयोग नगरी पारुसिया-को अर्थसित मिल्ने अन्य शब्द नै प्रयोग गर्नुभएको हुनसक्छ। सन् १९९५ मा प्रकाशित प्राध्यापक जर्ज हवार्डको पुस्तक मत्तीरचित हिब्रू सुसमाचार-बाट (अंग्रेजी) यो कुरा प्रष्टिन्छ। यो पुस्तक, १४औं शताब्दीका यहूदी चिकित्सक शेम-टोब बेन इसाहक इब्न साप्रुतले मसीही धर्म विरुद्ध गरेको समालोचनामा केन्द्रित छ। उपरोक्त समालोचनामा मत्तीरचित हिब्रू सुसमाचारको अंश प्रस्तुत गरिएको छ। अनि के प्रमाण भेट्टिएको छ भने, यो मत्तीरचित अंश शेम-टोबको समयका ल्याटिन वा युनानी भाषाबाट अनुवादित अंश नभई त्योभन्दा पनि पुरानो, मूलतः हिब्रू भाषामा रचिएको अंश हो।c तसर्थ, जैतून डाँडामा के भनिएको थियो, त्यसको नजीक पुग्न उपरोक्त अंशले हामीलाई मदत गर्नसक्छ।
१८. शेम-टोबले कुन चाखलाग्दो हिब्रू शब्द चलाएका छन् र त्यसको अर्थ के हो?
१८ शेम-टोबको मत्तीरचित सुसमाचारले मत्ती २४:३, २७, ३९ मा बोह क्रिया प्रयोग गरेको छैन। बरु, त्यससित सम्बन्धित संज्ञा बिआ चलाएको छ। हिब्रू धर्मशास्त्रको इजकिएल ८:५ मा मात्र यो संज्ञा पाइन्छ र त्यसको “प्रवेश-ढोका” भन्ने अर्थ लाग्छ। कुनै चीज वा व्यक्ति आउँदै गरेको भाव व्यक्त गर्नुको साटो उपरोक्त पदमा प्रयोग गरिएको बिआ संज्ञाले घरको प्रवेश-ढोकालाई संकेत गर्छ। घरको प्रवेश-ढोका वा सँघारमा पुग्नु घरभित्र हुनु बराबर हो। यसबाहेक, मृत सागरमा पाइएका गैरबाइबलीय धार्मिक हस्तलिपीका मुट्ठाहरूमा पौरोहित्य ओहदाको आगमन वा प्रारम्भबारे उल्लेख गर्नुपर्दा प्रायः बिआ संज्ञा चलाएको पाइन्छ। (१ इतिहास २४:३-१९; लूका १:५, ८, २३ हेर्नुहोस्।) अनि सन् १९८६ मा पुरातन सिरियाक (वा अरामी) भाषा पेसिट्टा-को हिब्रू अनुवादले मत्ती २४:३, २७, ३७, ३९ मा बिआ संज्ञा प्रयोग गरेको छ। अतः यसबाट के प्रमाणित हुन्छ भने, पुरातन समयमा बिआ संज्ञाको अर्थ बाइबलमा प्रयोग गरिएको क्रिया बोह-भन्दा केही हदसम्म भिन्नै थियो। तर यसमा चासो लिनुपर्ने के कारण छ?
१९. यदि येशू र उहाँका प्रेरितहरूले चलाएको शब्द बिआ थियो भने, निष्कर्षमा हामी के भन्नसक्छौं?
१९ प्रेरितहरूले प्रश्न गर्दा अनि येशूले जवाफ दिनुहुँदा यो बिआ भन्ने संज्ञा प्रयोग भएको हुनसक्छ। यदि प्रेरितहरूले येशूको भावी आगमन-लाई मात्र मनमा राखेर सोधेका थिए भने पनि तिनीहरूले सोचेभन्दा धेरै कुरा समेट्न येशूले बिआ संज्ञा चलाउनुभएको हुनसक्छ। येशूले आफ्नो नवओहदा थाल्न गर्नुहुने आगमनलाई संकेत गरिरहेको हुनसक्थ्यो; उहाँको आगमन उहाँको नयाँ भूमिकाको सुरुआत हुनसक्थ्यो। त्यस अवस्थामा मत्तीले अन्ततः चलाएको पारुसिया शब्दसित यो मेल खानेथियो। निस्सन्देह, बिआ संज्ञालाई त्यसरी प्रयोग गर्दा यहोवाका साक्षीहरूले धेरैअघिदेखि सिकाउँदै आएको शिक्षालाई त्यसले समर्थन गर्नेथियो। किनभने येशूले दिनुभएको मिश्रित “चिह्न[ले]” उहाँ उपस्थित हुनुहुन्छ भनेर यहोवाका साक्षीहरू सिकाउँछन्।
उहाँको उपस्थितिको चरमोत्कर्षलाई पर्खने
२०, २१. येशूले नूहको दिनबारे गर्नुभएको टिप्पणीबाट हामी के सिक्नसक्छौं?
२० येशूको उपस्थितिबारे हामीले गरेको यस अध्ययनले हाम्रो जीवन र प्रत्याशाहरूमा प्रत्यक्ष प्रभाव पार्नुपर्ने हो। येशूले आफ्ना अनुयायीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। उहाँको उपस्थिति थाह पाउन सकोस् भनेर उहाँले चिह्न दिनुभयो। यद्यपि, अधिकांश मानिसहरूले कुनै ध्यान दिने थिएनन्: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३७-३९.
२१ नूहको समयमा त्यस पुस्ताका अधिकांश मानिसहरू आफ्नो दैनिक कामकुराहरूमा मात्र व्यस्त रहे। “उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ,” येशूले अगमवाणी गर्नुभयो। नूहको समयका मानिसहरूले केही हुँदैन भन्ठानेका थिए होलान्। तर त्यतिबेला केही भयो वा भएन, तपाईंलाई थाह छ। नूहको दिन पनि कुनै एक समयसम्म रह्यो र चरमोत्कर्षमा पुग्यो र “जलप्रलय आएर सबलाई स्वात्तै” लग्यो। अनि त्यस्तै विवरण लूका पेश गर्छन्, जहाँ येशूले “नूहको दिन[लाई]” “मानिसको पुत्रको [दिनसित]” तुलना गर्नुभयो। येशूले यस्तो सल्लाह दिनुभयो: “त्यस्तै रीतिले मानिसको पुत्रको प्रकट हुने दिन पनि हुनेछ।”—लूका १७:२६-३०.
२२. मत्ती अध्याय २४ मा उल्लिखित येशूको भविष्यवाणीमा हामीले किन विशेष चासो राख्नुपर्छ?
२२ यी सबै कुराले हाम्रोनिम्ति विशेष महत्त्व राख्छ किनभने येशूले अगमवाणी गर्नुभएका ती सबै कुराहरू अर्थात् युद्ध, भैंचालो, रूढी, अनिकाल, आफ्नो चेलाहरूका सतावट अहिले हामी बाँचिरहेको समयमा पूरा भइरहेका देखिरहेका छौं। (मत्ती २४:७-९; लूका २१:१०-१२) प्रथम विश्वयुद्ध नामकरण गरिएको त्यो द्वन्द जसले इतिहासको मोड परिवर्तन गऱ्यो, त्यहाँदेखि यता हामी त्यस्ता परिस्थितिहरूको प्रमाण देख्छौं। यद्यपि, अधिकांश मानिसहरू यसलाई इतिहासको सामान्य घटना ठान्छन्। तथापि, सचेत व्यक्तिले नेभाराको पालुवा देखेर ग्रीष्म ऋतु नजीक छ भनेर थाह पाएजस्तै साँचो मसीहीहरू यी महत्त्वपूर्ण घटनाहरूको अर्थ बुझ्छन्। येशूले यस्तो सल्लाह दिनुभयो: “त्यसैगरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजीकै छ भनी जान।”—लूका २१:३१.
२३. मत्ती अध्याय २४ मा उल्लिखित येशूका शब्दहरूले कसका निम्ति विशेष अर्थ राख्छ र किन?
२३ येशूले जैतून डाँडामा दिनुभएका प्रायजसो सबै जवाफहरू उहाँका अनुयायीहरूका निम्ति थिए। किनभने अन्त आउनुअघि पृथ्वीको चारैकुनामा सुसमाचार प्रचार गर्ने जीवनदायी काममा भाग लिने व्यक्तिहरू तिनीहरू नै हुनेथिए। अनि “उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको” देख्ने व्यक्तिहरू तिनीहरू नै हुनेथिए। महासंकष्ट आउनुअघि ‘भाग्नेहरू’ पनि तिनीहरू नै हुनेथिए। अनि निम्न शब्दहरूबाट विशेषगरि प्रभावित हुने व्यक्तिहरू पनि तिनीहरू नै हुनेथिए: “ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।” (मत्ती २४:९; १४-२२) तर यी गहकिला शब्दहरूको अर्थ के हो र त्यसले हामीलाई थप आनन्द, आश्वासन तथा जोश प्राप्त गर्ने आधार दिन्छ भनेर किन भन्न सकिन्छ? मत्ती २४:२२ बारे गरिएको यसपछिको अध्ययनले त्यसका जवाफहरू दिनेछ।
[फुटनोटहरू]
a जोसेफसका लेखबाट लिइएका उदाहरणहरू: “परमेश्वर उपस्थित [पारुसिया] हुनुहुन्छ भनेर देखाउन” सीनै पर्वतमा बिजुली र गर्जन भयो। परमेश्वरको बासस्थानमा भएको चमत्कारपूर्ण प्रकटीकरणले “परमेश्वरको उपस्थिति [पारुसिया] जनायो।” एलीशाको सेवकलाई चारैतिर गुड्ने रथहरू देखाउनुभएर परमेश्वरले “आफ्नो सेवकलाई आफ्नो शक्ति अनि उपस्थिति [पारुसिया] प्रकट गर्नुभयो।” अनि रोमी अफिसर पेट्रोनियसले यहूदीहरूलाई शान्त पार्न खोज्दा ‘परमेश्वरले आकाशबाट पानी वर्षाउनुभएर पेट्रोनियसलाई आफ्नो उपस्थिति [पारुसिया] देखाउनुभयो’ भन्ने दाबा जोसेफसको थियो। जोसेफसले पारुसिया-लाई भेटघाट वा क्षणिक आगमनको अर्थ लाग्नेगरि चलाएनन्। पारुसिया-को अर्थ चलिरहेको उपस्थिति हो, चाहे त्यो अदृश्य नै किन नहोस्। (प्रस्थान २०:१८-२१; २५:२२; लेवी १६:२; २ राजा ६:१५-१७)—यहूदीहरूको इतिहास (अंग्रेजी) भाग ३, अध्याय ५, अनुच्छेद २ [८०]; अध्याय ८, अनुच्छेद ५ [२०२]; भाग ९, अध्याय ४, अनुच्छेद ३ [५५]; भाग १८, अध्याय ८, अनुच्छेद ६ [२८४].
b अंग्रेजी तथा युनानी नयाँ नियमको समालोचनात्मक शब्दकोश तथा शब्दानुक्रमणिका-मा (अंग्रेजी) इ. डब्ल्यू. बुलिन्जर के औल्याउँछन् भने, पारुसिया-को अर्थ ‘उपस्थित हुनु वा हुनलाग्नु भएकोले त्यसले उपस्थिति, आगमनलाई संकेत गर्छ; र त्यसले त्यस्तो आगमनलाई देखाउँछ, जसपश्चात् स्थायी रूपले रहिरहने भन्ने बोध हुन्छ।’
c यसको एउटा प्रमाण हो, त्यस अंशमा १९ पटक पूर्ण वा संक्षिप्त रूपमा प्रयोग गरिएको “नाउँ” हिब्रू अभिव्यक्ति। यस विषयमा प्राध्यापक हवार्ड लेख्छन्: “यहूदी समालोचकद्वारा उद्धृत मसीही धर्मसम्बन्धी कागजपत्रमा ईश्वरीय नाउँको उल्था पाइनु उल्लेखनीय कुरा हो। युनानी वा ल्याटिनमा लेखिएको मसीही धर्मसम्बन्धी कागजपत्रबाट हिब्रूमा अनुवाद भएको भए, अकथ्य ईश्वरीय नाउँको प्रतीक अर्थात् YHWH को साटो अडोनाइ [प्रभु] भन्ने शब्द प्रयोग भएको अपेक्षा गरिनेथियो होला। . . . कुनै हालतमा पनि तिनी आफैले त्यो अकथ्य नाउँ थपे भन्नु मिल्दैन। किनभने प्राप्त प्रमाणअनुसार शेम-टोबले ईश्वरीय नाउँ भएको मत्तीरचित सुसमाचार प्राप्त गरेको र तिनले त्यसलाई हटाएर दोषी हुनुभन्दा जस्ताको तस्तै लेखेको ठोस संकेत पाइन्छ।” पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद—सन्दर्भिकासहित-ले (अंग्रेजी) शेम-टोबको मत्तीरचित सुसमाचारलाई (J2) लाई मसीही युनानी धर्मशास्त्रमा ईश्वरीय नाउँ प्रयोग गर्ने आधार मान्छ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ विभिन्न बाइबलहरूमा गरिएको मत्ती २४:३ को अनुवादहरूबीचको भिन्नतालाई जाँच्नु किन महत्त्वपूर्ण कुरा हो?
◻ पारुसिया-को अर्थ के हो र यो हाम्रो चासोको कुरा किन हो?
◻ युनानी र हिब्रू भाषामा लेखिएको मत्ती २४:३ पदबीच के समानान्तर हुनसक्छ?
◻ मत्ती अध्याय २४ लाई बुझ्न समयसित सम्बन्धित कुन बुँदा हामीले बुझ्नुपर्छ?
[पृष्ठ १०-मा भएको चित्र]
जैतून डाँडा, जहाँबाट यरूशलेमको दृश्य देखिन्छ