ख्रीष्टको व्यवस्था
“ख्रीष्टको व्यवस्थाको अधीनमा . . . भएँ।”—१ कोरिन्थी ९:२१.
१, २. (क) मानिसजातिका अधिकांश भूलहरू कसरी हटाउन सकिन्थ्यो? (ख) यहूदी मतको इतिहासबाट के पाठ सिक्न मसीहीजगत् असफल भयो?
“जनता तथा सरकारले इतिहासबाट अहिलेसम्म नता केही सिकेका छन् न त्यसको अनुमानित सिद्धान्तहरूअनुरूप काम गरेका छन्।” उन्नाइसौं शताब्दीका जर्मन दार्शनिकले त्यसो भने। हो, वास्तवमा मानव इतिहासलाई “मुर्ख्याइँको परेड,” साह्रै दुःखलाग्दो भूल तथा क्रन्दनहरूको श्रृंखला भनेर व्याख्या गरिएको छ। मानिसजातिले विगतका भूलहरूबाट सिक्न खोजेका भए मात्रै पनि यीमध्ये धेरैजसो स्थितिहरू हटाउन सकिन्थ्यो।
२ विगतका भूलहरूबाट सिक्न नखोज्नुलाई ईश्वरीय व्यवस्थाको यस छलफलमा विशेष ठाउँ दिइएको छ। यहोवा परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थालाई एउटा अत्युत्तम व्यवस्था अर्थात् ख्रीष्टको व्यवस्थाले प्रतिस्थापन गऱ्यो। यद्यपि, यो व्यवस्थाअनुरूप शिक्षा दिएको र जीवन यापन गरेको दाबी गर्ने मसीहीजगत्का नेताहरू फरिसीहरूका महामुर्ख्याइँबाट सिक्न असफल भएका छन्। अतः यहूदी मतले मोशालाई दिइएको व्यवस्थालाई बंग्याएजस्तै मसीहीजगत्ले ख्रीष्टको व्यवस्थालाई बंग्यायो र त्यसको दुरुपयोग गऱ्यो। तर यो कसरी गर्न सकिन्थ्यो? सर्वप्रथम, यो व्यवस्थाबारे अर्थात् यो के हो, यो कसद्वारा निर्देशित छ अनि कसरी र यसलाई कुन कुराले मोशालाई दिइएको व्यवस्थाबाट भिन्नै तुल्याउँछ, छलफल गरौं। त्यसपछि मसीहीजगत्ले यसको दुरुपयोग कसरी गऱ्यो, जाँच्नेछौं। यसरी हामी इतिहासबाट सिक्न सक्नेछौं र लाभ उठाउन सक्नेछौं!
नयाँ करार
३. नयाँ करारको सन्दर्भमा यहोवाले कस्तो प्रतिज्ञा गर्नुभयो?
३ यहोवा परमेश्वरबाहेक अरू कसले सिद्ध व्यवस्थामा सुधार गर्नसक्ला? मोशालाई दिइएको व्यवस्था करार सिद्ध थियो। (भजन १९:७) तैपनि, यहोवाले यसरी प्रतिज्ञा गर्नुभयो: “हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता-पुर्खाहरू . . . सित बाँधेको करार हुनेछैन।” मोशालाई दिइएको व्यवस्थाको केन्द्र अर्थात् दश आज्ञा ढुंगाका पाटीहरूमा लेखिएका थिए। तर नयाँ करारबारे यहोवाले यसो भन्नुभयो: “म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु।”—यर्मिया ३१:३१-३४.
४. (क) नयाँ करारमा कुन इस्राएल समावेश छ? (ख) आत्मिक इस्राएलबाहेक ख्रीष्टको व्यवस्थाअन्तर्गत अरू को पनि छन्?
४ यो नयाँ करारमा को को सामेल गराइनेथिए? तिनीहरू पक्कै पनि वास्तविक “इस्राएलको घराना” हुनेथिएनन्, जसले यो करारको मध्यस्थकर्तालाई इन्कार गरे। (हिब्रू ९:१५) बरु, यो नयाँ “इस्राएल” आत्मिक इस्राएलीहरूको राष्ट्र, “परमेश्वरको इस्राएल” हुनेथियो। (गलाती ६:१६; रोमी २:२८, २९) आत्मा-अभिषिक्त मसीहीहरूको यस सानो समूहमा यहोवाको उपासना गर्न चाहने सारा राष्ट्रबाट आएको “ठूलो भीड़” पनि पछि समावेश हुनेथियो। (प्रकाश ७:९, १०; जकरिया ८:२३) यिनीहरू नयाँ करारमा सहभागी नभए तापनि व्यवस्थाले बाँधिएका हुनेथिए। (तुलना गर्नुहोस् लेवी २४:२२; गन्ती १५:१५) तिनीहरू सबै “एकै बगाल र एकै गोठालोका” भएर प्रेरित पावलले लेखेझैं “ख्रीष्टको व्यवस्थाको अधीनमा” हुनेथिए। (यूहन्ना १०:१६; १ कोरिन्थी ९:२१) पावलले यो नयाँ करारलाई “उत्तम करार” भने। किन? किनकि यो हुनलागेका कुराहरूको छायाँमा होइन तर पूरा भएको प्रतिज्ञामा आधारित छ।—हिब्रू ८:६; ९:११-१४.
५. नयाँ करारको उद्देश्य के हो र यो किन सफल हुनेछ?
५ यस करारको उद्देश्य के हो? यसको उद्देश्य सारा मानिसजातिलाई आशिष् दिन राजाहरू र पूजाहारीहरूको राष्ट्र खडा गर्नु हो। (प्रस्थान १९:६; १ पत्रुस २:९; प्रकाश ५:१०) मोशालाई दिइएको व्यवस्था करारले यो राष्ट्रलाई यहोवाले चाहनुभएको रूपमा कहिल्यै खडा गर्नसकेन। किनकि समष्टिगत रूपमा इस्राएलले विद्रोह गऱ्यो र त्यो मौका गुमायो। (रोमी ११:१७-२१ तुलना गर्नुहोस्।) तथापि, नयाँ करार पक्कै सफल हुन्छ किनकि यो एकदमै भिन्नै प्रकारको व्यवस्थासित सम्बन्धित छ। कुन कुन तरिकामा भिन्न?
स्वतन्त्रताको व्यवस्था
६, ७. ख्रीष्टको व्यवस्थाले मोशालाई दिइएको व्यवस्थाले भन्दा धेरै स्वतन्त्रता कसरी प्रदान गर्छ?
६ ख्रीष्टको व्यवस्थालाई बारम्बार स्वतन्त्रतासित मिलान गरिएको छ। (यूहन्ना ८:३१, ३२) यसलाई “स्वतन्त्र मानिसहरूको व्यवस्था” र “स्वतंत्रताको सिद्ध व्यवस्था” भनिएको छ। (याकूब १:२५, NW; २:१२) निस्सन्देह, मानवहरूबीचको सम्पूर्ण स्वतन्त्रता सापेक्षिक हो। तैपनि मोशालाई दिइएको व्यवस्थाले भन्दा यो व्यवस्थाले कता हो कता धेरै स्वतन्त्रता प्रदान गर्छ। कसरी?
७ उदाहरणका लागि, ख्रीष्टको व्यवस्थाको अधीनमा कोही पनि जन्मेको छैन। जाति र जन्मस्थलजस्ता कारक तत्त्वहरू अप्रासंगिक छन्। यो व्यवस्थाप्रति आज्ञाकारिताको जुवा बोक्न साँचो मसीहीहरूले आ-आफ्नो हृदयमा स्वैच्छिक छनौट गर्छन्। यसो गर्दा तिनीहरूले जुवा सजिलो र भारी हलुका पाउँछन्। (मत्ती ११:२८-३०) तपाईंले सम्झनु नै भएको होला, मोशालाई दिइएको व्यवस्था मानिसलाई ऊ पापी हो र आफ्नो पापी अवस्थाबाट छुटकारा पाउन बलिदानको मोल तिर्नु अत्यन्त खाँचो छ भनेर सिकाउन पनि तयार गरिएको थियो। (गलाती ३:१९) तथापि, ख्रीष्टको व्यवस्थाले मसीह आइसक्नुभयो, आफ्नो जीवन छुडौतीको मोलको रूपमा तिरिसक्नुभयो अनि पाप र मृत्युको उत्पीडनबाट स्वतन्त्र हुने मार्ग हाम्रोनिम्ति खोलिसक्नुभयो भनेर सिकाउँछ! (रोमी ५:२०, २१) यसबाट लाभ उठाउन हामीले त्यस बलिदानमा ‘विश्वास गर्नु’ आवश्यक छ।—यूहन्ना ३:१६.
८. ख्रीष्टको व्यवस्थामा के समावेश छन् तर त्यसअनुरूप जीवन यापन गर्नेहरूले सयौं ऐनकानुनहरू कण्ठ गर्नु किन आवश्यक छैन?
८ ‘विश्वास गर्नुमा’ ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्नु विथोलित छ। यसमा ख्रीष्टका सम्पूर्ण आज्ञा पालन गर्नु समावेश छ। के यसको अर्थ सयौं व्यवस्था तथा ऐनहरू कण्ठ गर्नु भनेको हो? होइन। पुरानो करारको मध्यस्थकर्ता मोशाले तिनलाई दिइएको व्यवस्था लेखे तर नयाँ करारको मध्यस्थकर्ता येशूले एउटै पनि व्यवस्था लेख्नुभएन। बरु, उहाँले यो व्यवस्थाअनुरूप जीवन यापन गर्नुभयो। सबैले पछ्याउनसकोस् भनेर उहाँले आफ्नो सिद्ध जीवन मार्फत एउटा नमुना बसाल्नुभयो। (१ पत्रुस २:२१) त्यसैले प्रारम्भिक मसीहीहरूको उपासनालाई “मार्ग” भनिएको होला। (प्रेरित ९:२; १९:९, २३; २२:४; २४:२२) तिनीहरूका लागि ख्रीष्टको जीवन नै ख्रीष्टको व्यवस्थाको उदाहरण थियो। यो व्यवस्था पालन गर्नु येशूको अनुसरण गर्नु थियो। उहाँप्रति तिनीहरूको प्रगाढ प्रेमको अर्थ भविष्यवाणीअनुरूप यो व्यवस्था वास्तवमा तिनीहरूको हृदयमा लेखिनु थियो। (यर्मिया ३१:३३; १ पत्रुस ४:८) अनि प्रेमको कारण आज्ञाकारी भएको व्यक्तिले कहिल्यै दबिएको महसुस गर्दैनन्। र यो ख्रीष्टको व्यवस्थालाई “स्वतन्त्र मानिसहरूको व्यवस्था” कहलाइनुको अर्को कारण हो।
९. ख्रीष्टको व्यवस्थाको अत्यावश्यक तत्त्व के हो र कुन तरिकामा नयाँ आज्ञा यस व्यवस्थामा विथोलित छ?
९ मोशालाई दिइएको व्यवस्थामा प्रेम महत्त्वपूर्ण थियो भने, मसीही व्यवस्थामा यो अत्यावश्यक छ। यसकारण ख्रीष्टको व्यवस्थामा नयाँ आज्ञा समावेश छ। त्यो हो, मसीहीहरूबीच आपसमा आत्मत्यागी प्रेम हुनुपर्छ। तिनीहरूले येशूले जस्तै प्रेम गर्नुपर्छ। उहाँले स्वेच्छापूर्वक आफ्ना मित्रहरूका लागि आफ्नो जीवन बलिदान दिनुभयो। (यूहन्ना १३:३४, ३५; १५:१३) यसर्थ मोशाको व्यवस्थाभन्दा ख्रीष्टको व्यवस्था ईश्वरतन्त्रको उच्चतम अभिव्यक्ति हो भन्न सकिन्छ। यस पत्रिकाले पहिला उल्लेख गरिसकेको थियो: “ईश्वरतन्त्र परमेश्वरको शासन हो; परमेश्वर प्रेम हुनुहुन्छ; तसर्थ ईश्वरतन्त्र प्रेमको शासन हो।”
येशू र फरिसीहरू
१०. येशूको शिक्षा फरिसीहरूको शिक्षाभन्दा कसरी भिन्न थियो?
१० त्यसो हो भने येशू र उहाँको समयका यहूदी धार्मिक नेताहरूबीच विरोधाभास हुनु कुनै अचम्मलाग्दो कुरा होइन। शास्त्री र फरिसीहरूको मनमा “स्वतंत्रताको सिद्ध व्यवस्था” छिर्दै छिरेन। तिनीहरूले मानिसहरूलाई मानव-निर्मित विधिविधायनहरूको अधीनमा राख्न खोजे। तिनीहरूको शिक्षा अत्याचारी, भर्त्सनायोग्य, नकारात्मक भयो। यसको ठीक विपरीत येशूको शिक्षा प्रचुर मात्रामा उत्थानदायी र सकारात्मक थियो! उहाँ व्यवहारिक हुनुहुन्थ्यो र उहाँले मानिसहरूको वास्तविक आवश्यकता तथा चासोहरूबारे बताउनुहुन्थ्यो। दैनिक जीवनका दृष्टान्तहरू प्रयोग गर्दै र परमेश्वरको वचनको अख्तियार प्रस्तुत गर्दै उहाँले साँचो चासोसहित सरल तरिकामा सिकाउनुहुन्थ्यो। यसरी “भीड़ उहाँका शिक्षाले छक्क परे।” (मत्ती ७:२८) हो, येशूको शिक्षा तिनीहरूको हृदयसम्म पुग्यो!
११. मोशालाई दिइएको व्यवस्था व्यवहारिक र करुणामयी ढंगमा प्रयोग गर्नुपर्थ्यो भनेर येशूले कसरी प्रदर्शन गर्नुभयो?
११ मोशालाई दिइएको व्यवस्थामा विधिविधायनहरू थप्नुको साटो व्यवहारिक तथा करुणामयी हुँदै यहूदीहरूले उक्त व्यवस्था कसरी प्रयोग गरिरहेको हुनुपर्थ्यो त्यो येशूले देखाउनुभयो। उदाहरणका लागि, रगत बग्ने व्यथाले पीडित स्त्रीले उहाँलाई भेटेको घटना सम्झनुहोस्। मोशालाई दिइएको व्यवस्थाअनुरूप त्यस स्त्रीले छुने जुनसुकै व्यक्ति अशुद्ध हुनेथियो। त्यसैकारण तिनी मानिसहरूको हूलमा कदापि आउनु हुँदैन थियो! (लेवी १५:२५-२७) तर निको हुने व्याकुलताको कारण तिनी हूलमा पसिन् र येशूको लुगा छोइन्। तिनको रक्तश्राव तत्कालै ठप्प बन्द भयो। के उहाँले तिनलाई व्यवस्था उल्लंघन गरेकोमा हप्काउनुभयो? भएन; बरु, उहाँले तिनको व्याकुल अवस्था बुझ्नुभयो र व्यवस्थाको महान् सिद्धान्त, प्रेम प्रदर्शन गर्नुभयो। सहानुभूतिशील हुँदै उहाँले तिनलाई यसो भन्नुभयो: “ए छोरी तिम्रो विश्वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्।”—मर्कूस ५:२५-३४.
के ख्रीष्टको व्यवस्थाले मनमानी गर्न दिन्छ?
१२. (क) ख्रीष्टले मनमानी गर्न दिनुहुन्छ भन्ने अनुमान हामीले किन लगाउनु हुन्न? (ख) धेरै व्यवस्थाहरू बनाउनाले त्यसबाट उम्कने उपायहरू पनि धेरै बन्छन् भनी कुन कुराले देखाउँछ?
१२ त्यसोभए, ख्रीष्टको व्यवस्था “स्वतन्त्र” भएकोले यसले मनमानी गर्न दिन्छ तर फरिसीहरूले आफ्नो मौखिक परम्पराहरूद्वारा कम्तीमा पनि मानिसहरूको आचरणलाई त कडा नियममा राखे भन्ने निष्कर्षमा के हामी पुग्नुपर्ने हो? होइन। आज जति धेरै व्यवस्थाहरू छन्, तीबाट उम्कन मानिसहरू त्योभन्दा धेरै उपायहरू भेट्टाउँछन् भनेर त कानुन प्रणालीबाटै देखिन्छ।a येशूको समयमा फरिसीहरूले बनाएका अनगिन्ती नियमहरूले उम्कने उपाय खोज्नेहरूलाई प्रेमरहित भावशून्य कार्यहरू गर्न र आफ्नो भित्री भ्रष्टाचारलाई लुकाउन आत्मधर्मी मुखौटा लगाउन प्रोत्साहित गऱ्यो।—मत्ती २३:२३, २४.
१३. व्यवस्थाका कुनै पनि लिखितसंग्रहहरूभन्दा ख्रीष्टको व्यवस्थाको परिणाम उच्चस्तरीय आचरण किन भयो?
१३ यसको विपरीत ख्रीष्टको व्यवस्थाले यस्तो मनोवृत्तिलाई पोस्दैन। वास्तवमा औपचारिक कानुनीसंग्रहलाई पछ्याउनुभन्दा ख्रीष्टले अरूप्रति देखाउनुभएको आत्मत्यागी प्रेम अनुकरण गर्दै यहोवाको प्रेममा आधारित व्यवस्था पालन गर्दा आचरणको उच्चस्तर कायम गरेको साबित हुन्छ। प्रेमले उम्कने उपायहरू खोज्दैन। व्यवस्थासंग्रहले पूर्णतया बन्देज नलगाउने खराब कार्यहरू गर्नदेखि यसले हामीलाई रोक्छ। (मत्ती ५:२७, २८ हेर्नुहोस्।) यसरी ख्रीष्टको व्यवस्थाले हामीलाई अरूको निम्ति काम गर्न अर्थात् उदार हुन, आतिथेय हुन र प्रेम प्रकट गर्न यस्तो तरिकामा अग्रसर गराउँछ, जुन अन्य कुनै पनि औपचारिक व्यवस्थाले गराउनसक्दैन।—प्रेरित २०:३५; २ कोरिन्थी ९:७; हिब्रू १३:१६.
१४. ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने प्रथम शताब्दीका मसीहीहरूमाथि यसले कस्तो असर पाऱ्यो?
१४ यसका सदस्यहरूले ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गरेको हुँदा प्रारम्भिक मसीही मण्डलीले तत्कालीन सभाघरहरूमा व्याप्त कठोर न्यायिक तथा कपटी मनोवृत्तिबाट सापेक्षिक तवरमा स्वतन्त्र, न्यानो र मायालु वातावरणको आनन्द उठायो। यी भर्खरै मौलाइरहेका मण्डलीहरूले तिनीहरू “स्वतन्त्र मानिसहरूको व्यवस्था” अनुरूप आ-आफ्नो जीवन यापन गरिरहेको साँच्चै महसुस गरेको हुनुपर्छ!
१५. मसीही मण्डलीलाई भ्रष्ट पार्न शैतानले चालेका केही प्रारम्भिक प्रयासहरू के थिए?
१५ तथापि, इस्राएल राष्ट्रलाई भ्रष्ट पारेझैं मसीही मण्डलीलाई पनि भित्रैबाट भ्रष्ट पार्न शैतान ज्यादै उत्सुक थियो। प्रेरित पावलले ‘बराल्ने कुरा बोल्ने’ र परमेश्वरको बगाललाई सताउने ब्वाँसाजस्ता मानिसहरूदेखि सतर्क रहनू भन्ने चेताउनी दिए। (प्रेरित २०:२९, ३०) ख्रीष्टमा पूरा भएको मोशालाई दिइएको व्यवस्थाको दासत्वको ठाउँमा ख्रीष्टको व्यवस्थाको सापेक्षिक अधीनता प्रतिस्थापन गर्न चाहने यहूदी मत मान्नेहरूसित तिनले संघर्ष गर्नुपऱ्यो। (मत्ती ५:१७; प्रेरित १५:१; रोमी १०:४) अन्तिम प्रेरितको मृत्यु भएपछि यस्तो धर्मत्याग रोक्ने कोही पनि भएन। अतः भ्रष्टाचार व्यापक भयो।—२ थिस्सलोनिकी २:६, ७.
मसीहीजगत्ले ख्रीष्टको व्यवस्थालाई प्रदूषित पार्छ
१६, १७. (क) मसीहीजगत्मा कस्तो प्रकारको भ्रष्टाचारले ठाउँ ओगट्यो? (ख) यौनसम्बन्धी बंग्याइएका दृष्टिकोणलाई क्याथोलिक चर्चका व्यवस्थाहरूले कसरी बढावा दियो?
१६ यहूदी मतमा जस्तै मसीहीजगत्मा पनि विभिन्न प्रकारका भ्रष्टाचार देखा पऱ्यो। ऊ पनि झूठा शिक्षा तथा नैतिक पतनहरूको पासोमा फसी। अनि आफ्नो बगाललाई बाहिरी असरहरूबाट जोगाउने उसको प्रयत्न बाँकी रहेको शुद्ध उपासनालाई पनि अक्सर खतम पार्ने कारक तत्त्व पो हुन गयो। कठिन र गैरशास्त्रीय व्यवस्थाहरू प्रचुर मात्रामा बढ्दै गए।
१७ चर्चको व्यवस्था निर्माण गर्ने अग्रपंक्तिमा पर्ने ठूलो समूह क्याथोलिक चर्च भएको छ। यी व्यवस्थाहरू विशेषगरि यौनसित सम्बन्धित हेरफेर गरिएका विषयहरू थिए। यौन तथा क्याथोलिकवाद (अंग्रेजी) पुस्तकअनुसार चर्चले हरेक प्रकारको विलासितामा रमेको शंका गरिएको युनानी दर्शनशास्त्र स्टोइकवाद ग्रहण गऱ्यो। सामान्य वैवाहिक सम्बन्धलगायत सबै खालका यौन आनन्द पापपूर्ण कार्य हो भन्ने शिक्षा चर्चले सिकाउन थाल्यो। (हितोपदेश ५:१८, १९ सित विपरीत छ।) यौन बच्चा जन्माउनको लागि मात्र हो अरू केही गर्न होइन भन्ने दाबी गरिन्थ्यो। यसर्थ, चर्चको व्यवस्थाले कुनै पनि प्रकारको गर्भ निरोधक प्रयोग गर्नु अत्यन्त गम्भीर पाप हो भनी त्यसको घोर भर्त्सना गर्छ र कहिलेकाहीं वर्षौंसम्म प्रायश्चित गर्नुपर्ने आवश्यकतालाई औल्याउँछ। यसबाहेक पूजाहारीहरू विवाह गर्न प्रतिबन्धित छन्। र यस आदेशले अधिक अवैध यौनसम्बन्धलगायत बाल दुर्व्यवहारलाई समेत निम्त्यायो।—१ तिमोथी ४:१-३.
१८. चर्चका व्यवस्थाहरू धमाधम बढ्दा परिणाम के भयो?
१८ चर्चको व्यवस्था धमाधम थपिएपछि ती व्यवस्थाहरूलाई पुस्तकको रूप दिइयो। यी पुस्तकहरूले बाइबललाई अस्पष्ट पार्न र त्यसको ठाउँ लिन खोज्यो। (मत्ती १५:३, ९ तुलना गर्नुहोस्।) यहूदी मतले जस्तै क्याथोलिकहरूले सांसारिक लेखलाई पत्याएनन् र त्यसलाई निकै खतराको रूपमा लिए। कुनै पनि विषयप्रति बुद्धिमानीसाथ सचेत हुनुपर्छ भनी बाइबलले दिएको चेताउनीलाई केही समय बित्दा नबित्दै बेवास्ता गरियो। (उपदेशक १२:१२; कलस्सी २:८) सा.यु. चौथौं शताब्दीतिर चर्चका लेखक जेरोमले यस्तो घोषणा गरे: “हे प्रभु, फेरि मैले सांसारिक पुस्तक राखें वा पढें भने तपाईंलाई तिरस्कार गरेसरह हुन्छ।” समय बित्दै जाँदा चर्चले सांसारिक विषयका पुस्तकहरूलाई समेत आधिकारिक रूपमा छाँटकाँट गर्न थाल्यो। यसैकारण १७औं शताब्दीका खगोलशास्त्री ग्यालिलियोलाई पृथ्वीले सूर्य वरिपरि परिक्रमा गर्छ भनेर लेखेकोमा दोषारोपण गरियो। बाइबलले ग्रह-नक्षत्रलगायत प्रत्येक कुरामा अन्तिम निर्णय दिनुपर्ने चर्चको दबाबले अन्ततः बाइबलप्रतिको विश्वासलाई कमजोर तुल्याउनेथियो।
१९. विहारहरूले कठोर अख्तियारवादलाई कसरी बढावा दियो?
१९ चर्चको नियम बनाउने कार्य विहारहरू अर्थात् आफूलाई नकार्दै जीवन यापन गर्न यस संसारबाट अलग्गिएका भिक्षुहरू बस्ने ठाउँमा फस्टायो। धेरैजस्तो क्याथोलिक विहारहरूले “सन्त बेनेडिक्टको नियम” पालन गर्छन्। एब्बोतमा (अरामी भाषामा “बुबा” सम्बोधन गर्न प्रयोग गरिने शब्द) सम्पूर्ण अख्तियार निहित हुन्छ। (मत्ती २३:९ तुलना गर्नुहोस्।) एक जना भिक्षुलाई उसको आमाबाबुले कुनै उपहार दिएका छन् भने उक्त उपहार त्यस भिक्षुलाई दिने हो वा अरू कसैलाई दिने हो, निर्णय एब्बोतले नै गर्छ। अभद्रताको भर्त्सना गर्नुको साटो गफ गर्नु र ठट्टा गर्नुलाई निषेध गर्दै एउटा नियम यसो भन्छ: “कुनै पनि शिष्यले यस्ता कुराहरू गर्नेछैन।”
२०. प्रोटेस्टेन्टहरू पनि गैरशास्त्रीय अख्तियारवाद पोस्न चाँडै खप्पीस भए भनी कुन कुराले देखाउँछ?
२० क्याथोलिकवादीहरूको अचाक्ली गैरशास्त्रीय कुराहरूमा सुधार गर्न खोजेका प्रोटेस्टेन्टवादीहरू पनि ख्रीष्टको व्यवस्थामा आधारित नभएका अख्तियारपूर्ण नियमहरू बनाउन चाँडै उत्तिकै खप्पीस भए। उदाहरणका लागि, प्रमुख सुधारक जोन क्याल्भिन “जीर्णोद्धार गरिएको चर्चका विधायक” कहलाइए। जेनेभाको चर्चमाथि “प्राचीनहरू[ले]” समर्थन गरेका अनगिन्ती हठी नियमहरूसहित तिनले नियन्त्रण जमाएका थिए। ती प्राचीनहरूको “काम प्रत्येकको जीवनको रेखदेख गर्नु हो,” क्याल्भिनले भने। (२ कोरिन्थी १:२४ सित विपरीत छ।) चर्चले धर्मशालाहरू नियन्त्रण गर्थे र कस्ता विषयहरूमा वार्तालाप गर्न पाइन्छ, निर्देशन दिन्थे। असभ्य गीत गाउनु वा नाच नाच्नुजस्ता पापी कार्यहरूको सजाय निकै कठोर हुन्थ्यो।b
मसीहीजगत्का भूलहरूबाट सिक्ने
२१. मसीहीजगत्को ‘लेखिएका कुराहरूभन्दा बढ्ता गर्ने’ मनोवृत्तिको समस्त असर कस्तो भएको छ?
२१ के यी सबै नियम तथा व्यवस्थाहरूले मसीहीजगत्लाई भ्रष्टाचारबाट जोगाए? कदापि जोगाएनन्! आज मसीहीजगत् सयौं पन्थमा टुक्रिएका छन्। ती पन्थहरू पनि अत्यन्त कठोरदेखि लिएर असाध्यै खराबीलाई सहनेहरूसमेत छन्। तिनीहरू सबैले एक वा अर्को तरिकामा ‘लेखिएका कुराहरूभन्दा बढ्ता गर्दै’ मानव सोचाइलाई बगाल नियन्त्रण गर्न र ईश्वरीय व्यवस्थामा हस्तक्षेप गर्न अनुमति दिए।—१ कोरिन्थी ४:६.
२२. मसीहीजगत्को पलायनको अर्थ ख्रीष्टको व्यवस्थाको अन्त किन होइन?
२२ तथापि, ख्रीष्टको व्यवस्थाको इतिहास बित्यासपूर्ण छैन। यहोवा परमेश्वरले फिस्टे मानवहरूलाई ईश्वरीय व्यवस्था मेट्ने अनुमति कहिल्यै दिनुहुनेछैन। साँचो मसीहीहरूबीच मसीही व्यवस्था असाध्यै प्रभावशाली छ। र तिनीहरूले त्यसअनुरूप जीवन यापन गर्ने विशेषाधिकार पाएका छन्। तर यहूदी मत र मसीहीजगत्ले ईश्वरीय व्यवस्थालाई जे गरे, त्यो जाँचेपछि हामीले यसरी सोध्नु उपयुक्त छ: ‘परमेश्वरको वचनलाई मानव तर्कले प्रदूषित गर्ने पासो तथा ईश्वरीय व्यवस्थाको आत्मालाई कमजोर पार्ने नियमहरूलाई त्याग्दै ख्रीष्टको व्यवस्थाअनुरूप कसरी जीवन यापन गर्ने? ख्रीष्टको व्यवस्थाले आज हाम्रो मनमा कस्तो सन्तुलित दृष्टिकोण रोपिनुपर्छ?’ अब अर्को लेखले यी प्रश्नहरूको जवाफ दिनेछ।
[फुटनोटहरू]
a आज यहूदी मतको अवस्था जस्तो छ, त्यसको जिम्मेवार मुख्यतः फरिसीहरू नै हुन्। त्यसकारण यहूदी मत मान्नेहरूले विश्राम दिनका थप निषेधाज्ञाहरूबाट अझै पनि उम्कने उपायहरू खोज्नुमा अचम्म मान्नुपर्ने कारण छैन। उदाहरणका लागि, विश्राम दिनमा अर्थोडक्स यहूदी अस्पताल पुगेका आगन्तुकले त्यहाँको लिफ्ट प्रत्येक तल्लामा स्वतः रोकिएको भेट्टाउलान्। यसो हुनुको कारण यात्रुहरूले लिफ्टको बटन थिच्ने पापपूर्ण “कार्य” गर्न नपरोस् भनेर नै हो। केही अर्थोडक्स चिकित्सकहरूले औषधीको पूर्जी लेख्दा केही दिनमै रङ उड्ने मसी प्रयोग गर्छन्। किन? किनकि मिश्नाहले लेख्नुलाई “कार्य[को]” रूपमा लिन्छ तर त्यसले “लेख्नु” भनेको अनन्त चिह्न छोड्नु हो भनी व्याख्या गर्छ।
b क्याल्भिनका धर्मविज्ञानसम्बन्धी केही दृष्टिकोणहरूबारे विवाद खडा गरेकोले सर्भेटसलाई धार्मिक मत विरोधीको रूपमा काठमा बाँधी जलाएर मारियो।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ ख्रीष्टको व्यवस्थाको अत्यावश्यक तत्त्व के हो?
◻ येशूले शिक्षा दिनुहुने तरिका फरिसीहरूको भन्दा कसरी भिन्न थियो?
◻ मसीहीजगत्लाई भ्रष्ट तुल्याउन शैतानले कठोर नियम बनाउने झुकाउको प्रयोग कसरी गऱ्यो?
◻ ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्नुका केही सकारात्मक असरहरू के हुन्?
[पृष्ठ १६-मा भएको चित्र]
मोशालाई दिइएको व्यवस्था येशूले व्यवहारिक तथा करुणामयी ढंगमा प्रयोग गर्नुभयो