अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
“बाधा विना प्रभुको भक्ति गर्नसक भनेर [हो]।”—१ कोरिन्थी ७:३५.
१. कोरिन्थका मसीहीहरूबारे कस्तो समाचार सुनेर पावल विचलित भए?
प्रेरित पावल कोरिन्थ, ग्रीसका आफ्ना मसीही भाइहरूबारे चिन्तित थिए। अनैतिकताको लागि कुख्यात तथा भौतिकतामा सम्पन्न त्यस शहरमा तिनले लगभग पाँच वर्षअघि मण्डली स्थापना गरेका थिए। अहिले तिनी सा.यु. ५५ तिर एसिया माइनरको एफिससमा छँदा कोरिन्थमा गुटबन्दी तथा घोर अनैतिकतालाई अनुमति दिइरहेको खबर सुने। यसबाहेक, यौनसम्बन्ध, कुमार वा कुमारी नै रहने, विवाह, पतिपत्नी छुट्टिएर बस्ने अनि पुनर्विवाहजस्ता विषयहरूमा कोरिन्थका मसीहीहरूले पावलको डोऱ्याइ मागेर पहिल्यै पत्र लेखिसकेका थिए।
२. कोरिन्थमा व्याप्त अनैतिकताले त्यस शहरका मसीहीहरूलाई कसरी असर गरिरहेको थियो?
२ कोरिन्थमा व्याप्त घोर अनैतिकताले स्थानीय मण्डलीलाई दुइ किसिमले असर गरिरहेको जस्तो देखिन्थ्यो। कोही मसीहीहरूले नैतिकतालाई हलकासित लिएर अनैतिकताप्रति कुनै विरोध जनाइरहेका थिएनन्। (१ कोरिन्थी ५:१; ६:१५-१७) त्यस शहरमा सर्वत्र फैलिएको शारीरिक सुखविलासले गर्दा अरू कतिपय भने विवाहित दम्पतीहरूलाई समेत यौनसम्बन्ध नराख्ने सुझाउ दिने हदसम्म पुगे।—१ कोरिन्थी ७:५.
३. पावलले कोरिन्थीहरूलाई लेखेको प्रथम पत्रमा सर्वप्रथम कुन विषयहरूबारे बताए?
३ पावलले कोरिन्थीहरूलाई लेखेको लामो पत्रमा सर्वप्रथम त्यहाँ अमेलको समस्याबारे उल्लेख गरे। (१ कोरिन्थी, अध्याय १-४) तिनले उनीहरूलाई मानिसहरूको पछि नलाग्न आग्रह गरे किनभने त्यसले गर्दा हानिकारक फाटोहरू मात्रै हुन्छन्। तिनीहरू परमेश्वरका “सहकर्मी[हरूका]” हैसियतमा एकताबद्ध हुनुपर्थ्यो। त्यसपछि तिनले मसीही मण्डलीलाई नैतिक तवरमा स्वच्छ राख्ने सन्दर्भमा खास खास निर्देशनहरू दिए। (अध्याय ५, ६) त्यस उप्रान्त प्रेरित पावलले उनीहरूको पत्रमा उल्लिखित समस्यामा ध्यानकेन्द्रित गरे।
अविवाहित रहने सुझाउ
४. “पुरुषले स्त्रीलाई नछुनुनै असल हो” भनेर पावलले के भन्न खोजेका थिए?
४ तिनले सुरुमा यसरी लेखे: “अब तिमीहरूले लेखेका कुराहरूका विषयमा चाहिं, पुरुषले स्त्रीलाई नछुनुनै असल हो।” (१ कोरिन्थी ७:१) यहाँ “स्त्रीलाई नछुनु” भन्ने अभिव्यक्तिले यौनतृप्तिको लागि कुनै स्त्रीसित शारीरिक सम्बन्ध नराख्नु भन्ने अर्थ बुझाउँछ। पावलले करनीलाई पहिले नै निन्दा गरिसकेको हुँदा अब तिनले वैवाहिक प्रबन्धभित्र राखिने यौनसम्बन्धलाई उल्लेख गरिरहेका थिए। तसर्थ, अब पावलले अविवाहित रहने सुझाउ दिइरहेका थिए। (१ कोरिन्थी ६:९, १६, १८; तुलना गर्नुहोस् उत्पत्ति २०:६; हितोपदेश ६:२९) अलिक पछि तिनले यसो लेखे: “अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै भएर रहे तिनीहरूका निम्ति बढ़िया हुनेछ।” (१ कोरिन्थी ७:८) पावल अविवाहित, विधुर थिए होलान्।—१ कोरिन्थी ९:५.
५, ६. (क) पावलले साधुको जस्तो जीवन बिताउने सुझाउ दिइरहेका थिएनन् भनेर किन स्पष्ट छ? (ख) पावलले किन अविवाहित रहने सुझाउ दिए?
५ कोरिन्थका मसीहीहरूलाई युनानी दर्शनबारे ज्ञान थियो होला र त्यसमध्ये केही सिद्धान्तहरूले सन्यासी वा आत्मतिरस्कारको धारणालाई जयजयकार गर्थे। मसीहीहरूले यौनसम्बन्ध राख्दै नराख्नु नै “बढ़िया” हुनेछ कि भनी कोरिन्थीहरूले पावललाई सोध्नुको कारण के यही थियो? पावलको जवाफले युनानी दर्शनलाई झल्काएन। (कलस्सी २:८) अविवाहितहरू विशेषगरि पवित्र हुने र तिनीहरूको जीवनपद्धति तथा प्रार्थनाद्वारा तिनीहरूको उद्धार हुनेझैं गरी पावलले क्याथोलिक धर्मविज्ञानीहरूले जस्तो गुम्बा वा विहारमा गई अविवाहित जीवन बिताउने सुझाउ कहिल्यै दिएनन्।
६ “वर्त्तमान संकष्टले गर्दा” पावलले अविवाहित रहने सुझाउ दिए। (१ कोरिन्थी ७:२६) मसीहीहरूले झेल्नु परिरहेको कठिन परिस्थितिलाई तिनले उल्लेख गरिरहेका हुनसक्छन् र त्यसलाई विवाहले झनै चर्को बनाउनसक्थ्यो। (१ कोरिन्थी ७:२८) तिनले अविवाहित मसीहीहरूलाई यस्तो सल्लाह दिए: “तिनीहरू मजस्तै भएर रहे तिनीहरूका निम्ति बढ़िया हुनेछ।” तिनले विधुरहरूलाई यसो भने: “के तिमी विवाहको बन्धनबाट मुक्त छौ? त्यसो भए विवाह गर्नु नखोज।” मसीही विधवाहरूलाई तिनले यसप्रकार लेखे: “मेरो विचारमा, त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छ, औ म सम्झन्छु कि ममा पनि परमेश्वरका आत्मा हुनुहुन्छ।”—१ कोरिन्थी ७:८, २७, ४०.
अविवाहित बस्नु अनिवार्य छैन
७, ८. पावलले कुनै पनि मसीहीलाई अविवाहित रहन कर गरिरहेका थिएनन् भनेर कुन कुराले देखाउँछ?
७ निस्सन्देह, पावलले उक्त सल्लाह दिंदा तिनलाई यहोवाको पवित्र आत्माले डोऱ्याइरहेको थियो। अविवाहित रहने र विवाहसम्बन्धी तिनको सम्पूर्ण सल्लाहले सन्तुलन तथा नियन्त्रण देखाउँछ। तिनले यसलाई विश्वासीलोपन वा अविश्वासीलोपनको विषय बनाएनन्। बरु, यो स्वेच्छाको कुरा हो र अविवाहित भएर चोखो रहनसक्नेहरूको पक्षमा उक्त सल्लाह दिइएको हो।
८ “पुरुषले स्त्रीलाई नछुनु नै असल हो” भनेर लेख्ने बित्तिकै पावलले यसो भने: “तर ज्यादै व्यभिचार भएकोले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको आफ्नै पति होस्।” (१ कोरिन्थी ७:१, २) अविवाहितहरू तथा विधवाहरूलाई “मजस्तै भएर” रहनू भन्ने सल्लाह दिइ नसक्दै तिनले यसो भनिहाले: “तर ती आफूलाई वशमा राख्न सक्तैनन् भनेता तिनीहरूले विवाह गरून्, किनभने कामाग्निले जल्नुभन्दा विवाह गर्नु असल हो।” (१ कोरिन्थी ७:८, ९) तिनले विधुरहरूलाई पुनः यस्तो सल्लाह दिए: “विवाह गर्नु नखोज। तर तिमीले विवाह गऱ्यौ भने पनि पाप गरेका हुँदैनौ।” (१ कोरिन्थी ७:२७, २८) यस सन्तुलित सल्लाहले छनौट गर्ने स्वतन्त्रतालाई झल्काउँछ।
९. येशू र पावलको भनाइअनुसार विवाह गर्नु तथा अविवाहित रहनु दुवै कसरी परमेश्वरका वरदानहरू हुन्?
९ विवाह गर्नु तथा अविवाहित रहनु दुवै नै परमेश्वरका वरदानहरू हुन् भनी पावलले देखाए। “सबै मानिस मजस्तै होऊन् भन्ने म इच्छा गर्छु। तापनि हरेक मानिसमा परमेश्वरबाट आफ्नो आफ्नो वरदान छ, एउटालाई यस किसिमको, अर्कोलाई त्यस किसिमको।” (१ कोरिन्थी ७:७) निस्सन्देह, येशूले भन्नुभएको कुरालाई तिनले बिर्सेका थिएनन्। उहाँले विवाह, परमेश्वरको प्रबन्ध हो भनेर बुझाइसक्नुभएपछि परमेश्वरको राज्यसम्बन्धी विभिन्न क्रियाकलापहरूमा व्यस्त रहने स्वेच्छाले अविवाहित रहनु एउटा विशेष वरदान हो भन्नुभयो: “सबै मानिसले यो वचन ग्रहण गर्नसक्तैनन्, केवल तिनीहरूले मात्र जसलाई दिइएको छ। विभिन्न कारणले मानिसहरू विवाह गर्दैनन्, कोही जन्मदेखि असमर्थ हुन्छन्—कतिजनालाई मानिसहरूले त्यस्तो बनाए—कति चाहिं स्वर्गराज्यको निम्ति अविवाहित रहन्छन्। ग्रहण गर्नसक्नेले त्यो ग्रहण गरोस्।”—मत्ती १९:४-६, ११, १२.
अविवाहित रहने वरदानलाई ग्रहण गर्ने
१०. कुनै व्यक्तिले अविवाहित रहने वरदान कसरी “ग्रहण” गर्नसक्छन्?
१० येशू र पावल दुवैले अविवाहित रहनु “वरदान” हो भने तापनि यो कसै कसैसित मात्र हुने अद्भुत वरदान हो भनेनन्। येशूले भन्नुभएअनुसार यो वरदान ‘सबै मानिसले ग्रहण गर्नसक्दैनन्।’ अनि येशू र पावलले जस्तै सक्नेहरूलाई ‘त्यो ग्रहण गर्न’ तिनले आग्रह गरे। हो, पावलले यसप्रकार लेखे: “कामाग्निले जल्नुभन्दा विवाह गर्नु असल हो” तर तिनले ‘आफूलाई वशमा राख्न नसक्नेहरूबारे’ भन्दैथिए। (१ कोरिन्थी ७:९) त्यसअघिका लेखोटहरूमा पावलले मसीहीहरूलाई कामवासनाबाट अलग बस्न सकिन्छ भनेर देखाए। (गलाती ५:१६, २२-२४) आत्माको भरमा हिंड्नुको अर्थ यहोवाको आत्माअनुरूप हाम्रो हरेक कदम चलाउनु हो। के जवान मसीहीहरूले यसो गर्नसक्छन्? यहोवाको वचनलाई होशियारीपूर्वक पालन गरेमा गर्नसक्छन्। भजनरचयिताले यसो लेखे: “जवान मानिसले [अथवा स्वास्नीमानिसले] आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला? तपाईंको वचनमा ध्यान दिएरनै हो।”—भजन ११९:९.
११. ‘आत्माको भरमा हिंड्नुको’ अर्थ के हो?
११ यसमा थुप्रै टिभी कार्यक्रम, चलचित्र, पत्रिकाका लेख, पुस्तक तथा गीतका बोलहरूले सर्वत्र फैलाउने छाडा विचारधाराहरूबाट सतर्क रहनु पनि समावेश छ। त्यस्ता विचारधाराहरू शरीरउन्मुख हुन्छन्। पुरुष होस् वा स्त्री, अविवाहित रहन चाहने अविवाहित जवान मसीही ‘शरीरअनुसार होइन तर आत्माअनुसार चल्नुपर्छ।’ “किनभने शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा [मन लगाउँछन्], तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।” (रोमी ८:४, ५) आत्माका कुराहरू धर्मी, चोखो, प्रिय तथा सद्गुणी हुन्छन्। जवान तथा वृद्ध मसीहीहरूले “तिनै कुराको विचार” गर्नु बेस हुन्छ।—फिलिप्पी ४:८, ९.
१२. अविवाहित रहने वरदानमा मुख्यतः के समावेश छ?
१२ अविवाहित रहने वरदानलाई स्वीकार्नु वा नस्वीकार्नुमा हृदयलाई त्यसै लक्ष्यमा केन्द्रित गर्नु र त्यो प्राप्त गर्न यहोवालाई प्रार्थना गर्नुमा निकै निर्भर हुन्छ। (फिलिप्पी ४:६, ७) पावलले यसप्रकार लेखे: “जसले हृदयमा दृढ़ गर्दछ, औ उसलाई दरकार पनि छैन, र आफ्नो इच्छाबमोजिम राख्नसक्ने ताकत छ, र आफ्नी छोरीलाई कन्यै राख्न हृदयमा निश्चय गरेको छ भने त्यसले असलै गर्दछ। यसरी जसले आफ्नी कन्याको विवाह गरिदिन्छ उसले असलै गर्दछ, र विवाह नगरिदिनेले ता झन् असल गर्दछ।”—१ कोरिन्थी ७:३७, ३८.
उद्देश्यसहितको अविवाहित अवस्था
१३, १४. (क) पावलले विवाहित तथा अविवाहित मसीहीहरूबीच कस्तो तुलना गरे? (ख) कुन अर्थमा मात्रै विवाहितले भन्दा अविवाहित मसीहीले “असल” गर्नसक्छन्?
१३ अविवाहित रहँदैमा सम्माननीय हुने होइन। त्यसोभए त्यसलाई कुन अर्थमा “असल” भन्न सकिन्छ? वास्तवमा यो प्रत्येक व्यक्तिले अविवाहित अवस्थाबाट प्राप्त हुने स्वतन्त्रतालाई कसरी प्रयोग गर्छन्, त्यसमा निर्भर हुन्छ। पावलले यसो लेखे: “तर तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएकोले म पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारको कुराको फिक्री गर्दछ। [“अनि तिनी विभक्त हुन्छन्,” NW] . . . विवाह नभएकीले म शरीर र आत्मा दुवैमा पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछ, तर विवाह भएकीले चाहिं कसरी आफ्ना पतिलाई खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ। औ म यो तिमीहरूलाई पासो थाप्नालाई ता होइन, तर शिष्टाचारको निम्ति र बाधा विना प्रभुको भक्ति गर्नसक भनेर तिमीहरूको आफ्नै लाभको निम्ति भन्दछु।”—१ कोरिन्थी ७:३२-३५.
१४ अविवाहित रहेर आफ्ना स्वार्थी लक्ष्यहरू पूरा गर्न खोज्ने मसीहीले विवाहित मसीहीहरूले भन्दा “असल” गरिरहेका हुँदैनन्। तिनी परमेश्वरको “राज्यको निम्ति” होइन तर आफ्नै व्यक्तिगत कारणहरूका लागि अविवाहित बसेका हुन्। (मत्ती १९:१२) अविवाहित पुरुष वा स्त्रीले “प्रभुलाई कसरी खुशी राखूँ” र “बाधा विना प्रभुको भक्ति” गर्न सकूँ भनेर “प्रभुकै विषयमा फिक्री” गर्नुपर्छ। यसको अर्थ, यहोवा र ख्रीष्ट येशूको सेवामा एकाग्र ध्यान दिनु हो। यसो गरेर मात्र अविवाहित मसीही पुरुष तथा स्त्रीहरूले विवाहित मसीहीहरूले भन्दा “असल” गरेका हुनेछन्।
बाधाबिनाको क्रियाकलाप
१५. पहिलो कोरिन्थी अध्याय ७ मा पावलको तर्कको सार के हो?
१५ उक्त अध्यायमा पावलको सम्पूर्ण तर्क नै यही हो: विवाह जायज हुनुका साथै कसै कसैका लागि विवाह गर्नु नै बेस भए तापनि कम बाधाबिना यहोवाको सेवा गर्न चाहने मसीही पुरुष तथा स्त्रीको लागि अविवाहित रहनु निस्सन्देह लाभकारी छ। विवाहित व्यक्ति “विभक्त” हुन्छन् तर अविवाहित मसीही “प्रभुकै कुरामा” ध्यानकेन्द्रित गर्न स्वतन्त्र हुन्छन्।
१६, १७. अविवाहित मसीहीले “प्रभुकै कुरा[मा]” कसरी बढी ध्यानकेन्द्रित गर्नसक्छन्?
१६ विवाहितहरूले भन्दा अविवाहितहरूले कुनै रोकटोकबिना ध्यान दिनसक्ने प्रभुका केही कार्यहरू के के हुन्? अर्कै सन्दर्भमा येशूले “परमेश्वरका” कुराहरूबारे बताउनुभयो अर्थात् मसीहीले सिजरलाई दिन नसक्ने कुराहरू। (मत्ती २२:२१) यी कुराहरूमा मूलतः मसीही जीवन, उपासना र सेवकाई समावेश छन्।—मत्ती ४:१०; रोमी १४:८; २ कोरिन्थी २:१७; ३:५, ६; ४:१.
१७ अविवाहितहरूले साधारणतया यहोवाको सेवामा बढी समय बिताउनसक्छन् र त्यसले तिनीहरूको आध्यात्मिकता तथा सेवकाईलाई बढाउन लाभ पुऱ्याउनसक्छ। तिनीहरूले व्यक्तिगत अध्ययन तथा मननमा बढी समय बिताउनसक्छन्। विवाहितहरूलाई भन्दा अविवाहितहरूलाई आफ्ना तालिकामा बाइबल पढाइ समावेश गर्न अझ सजिलो हुन्छ। तिनीहरूले सभा तथा क्षेत्र सेवकाईको लागि राम्ररी तयारी गर्न सक्लान्। यो सबै तिनीहरूको “आफ्नै लाभको” निम्ति हो।—१ कोरिन्थी ७:३५.
१८. “बाधा विना” यहोवाको सेवा गर्न चाहन्छन् भनेर धेरै अविवाहित भाइहरूले कसरी देखाउनसक्छन्?
१८ सेवकाई सेवकहरूको हैसियतमा सेवा गरिरहेका थुप्रै अविवाहित भाइहरू यहोवालाई “म हाजिर छु! मलाई पठाउनुहोस्” भन्न सक्षम हुन्छन्। (यशैया ६:८) आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न स्वतन्त्र अविवाहित सेवकाई सेवक तथा प्राचीनहरूको लागि मात्रै छुट्याइएको मिनिस्टेरियल ट्रेनिङ स्कूलका लागि तिनीहरूले आवेदन भर्नसक्छन्। आफ्नो मण्डली छाडेर जान नसक्ने भाइहरूले समेत सेवकाई सेवक वा प्राचीनहरूको हैसियतमा आफ्ना भाइहरूको सेवा गर्नसक्छन्।—फिलिप्पी २:२०-२३.
१९. थुप्रै अविवाहित बहिनीहरूले कस्तो आशिष् पाएका छन् र तिनीहरू मण्डलीको लागि आशिष् साबित हुनसक्ने एउटा तरिका कुन हो?
१९ सरसल्लाह लिन र मनको कुरा पोख्न अविवाहित बहिनीहरूको पति नभएको हुँदा ‘सारा भारी यहोवामा राख्न’ तिनीहरू बढी प्रवृत्त हुन्छन्। (भजन ५५:२२; १ कोरिन्थी ११:३) यो विशेषगरि यहोवाप्रति प्रेमको खातिर अविवाहित रहन चाहने बहिनीहरूको लागि महत्त्वपूर्ण छ। समयमा तिनीहरूले विवाह गरे भने पनि “प्रभुमा मात्र” गर्नेछन् अर्थात् यहोवाप्रति समर्पित व्यक्तिसित मात्र। (१ कोरिन्थी ७:३९) आफ्नो मण्डलीमा अविवाहित बहिनीहरू भएकोमा प्राचीनहरू कृतज्ञ छन्। यी अविवाहित बहिनीहरूले बिरामी तथा वृद्धहरूसित प्रायजसो भेटघाट गरेर मदत गर्छन्। यसले सम्बन्धित पक्ष सबैलाई खुशी तुल्याउँछ।—प्रेरित २०:३५.
२०. “बाधा विना प्रभुको भक्ति” गरिरहेका छन् भनी धेरै मसीहीहरूले कसरी देखाइरहेका छन्?
२० धेरै जवान मसीहीहरूले “बाधा विना प्रभुको भक्ति गर्न” आफ्नो जीवनमा छाँटकाँट गरेका छन्। (१ कोरिन्थी ७:३५) तिनीहरू पूर्ण-समय अग्रगामी सेवक, मिसनरीको हैसियतमा वा वाच टावर सोसाइटीका कुनै शाखा कार्यालयहरूमा सेवारत छन्। अनि तिनीहरू कस्तो आनन्दित मानिसहरूको समूह हो! तिनीहरूको उपस्थिति कत्ति स्फूर्तिदायी हुन्छ! भनौं भने, यहोवा र येशूको आँखामा तिनीहरू “शीतजस्तै” छन्।—भजन ११०:३.
सधैं कुमार वा कुमारी रहने त्यस्तो कुनै वाचा होइन
२१. (क) पावलले कुमार वा कुमारी नै रहिरहने वाचा ग्रहण गर्न प्रोत्साहन दिएनन् भनेर कसरी स्पष्ट हुन्छ? (ख) “बैंस पुगिसकेको छ” भन्दा तिनले के भन्न खोजेका थिए?
२१ पावलको सल्लाहमा मुख्य बुँदा हो, मसीहीहरू अविवाहित रहन सक्नु “असल” हो। (१ कोरिन्थी ७:१, ८, २६, ३७) तथापि, तिनले कुमार वा कुमारी रहिरहने वाचा लिन कुनै हालतमा आग्रह गरेका छैनन्। त्यसको विपरीत तिनले यसप्रकार लेखे: “विवाह नभएकी छोरीतर्फ शिष्टाचारको व्यवहार गरेको छैन भन्ने कुनै मानिसले सम्झन्छ, र त्यसको बैंस पनि पुगिसकेको छ, र विवाह गर्न खाँचो छ भने त्यसलाई उसले त्यसै गर्न देओस्, अर्थात् तिनीहरूलाई विवाह गर्नदेओस्। त्यसलाई पाप लाग्दैन।” (१ कोरिन्थी ७:३६) “बैंस पनि पुगिसकेको छ” भनेर अनुवाद गरिएको युनानी शब्दको (हाइपरकामोस) अक्षरसः अर्थ “उच्चतम बिन्दु पुगेपछि” हो र यौनतृप्तिको तीव्र इच्छा हटिसकेपछि हो। अतः निकै वर्ष अविवाहित बसेर पछि विवाह गर्ने खाँचो महसुस गर्नेहरू सँगी विश्वासीसित विवाह गर्न पूर्णतया स्वतन्त्र छन्।—२ कोरिन्थी ६:१४.
२२. कुनै मसीहीले एकदमै कम उमेरमा विवाह नगर्नु हरेक दृष्टिकोणबाट लाभदायी हो भनेर किन भन्न सकिन्छ?
२२ एक जवान मसीहीले कुनै बाधाबिना यहोवाको सेवा गर्न बिताएको समय एउटा बुद्धिमत्तापूर्ण लगानी हो। त्यतिञ्जेल तिनले व्यवहारिक बुद्धि, अनुभव तथा अन्तरदृष्टि हासिल गर्न मदत पाउँछन्। (हितोपदेश १:३, ४) परमेश्वरको राज्यको खातिर केही समय अविवाहित रहेर पछि तिनले विवाह गर्ने निर्णय गर्लान्। यसो गर्दा विवाहित जीवन तथा सम्भवतः आमा वा बुबाको भूमिका निर्वाह गर्न तिनी बढी सक्षम हुन्छन्।
२३. विवाहबारे सोचिरहेका कसै कसैको मनमा कुन कुरा हुनसक्छ तर आउँदा लेखहरूमा कुन प्रश्नको छलफल गरिनेछ?
२३ केही वर्षसम्म अविवाहित रहेर यहोवाको पूर्ण-समय सेवा गरेका कोही मसीहीहरूले पूर्ण-समय सेवाको कुनै न कुनै पक्षमा लागिरहन सक्ने कुरालाई ध्यानमा राख्दै आफ्नो भावी पति वा पत्नीलाई होशियारीपूर्वक छान्छन्। यो निश्चय पनि असाध्यै सराहनीय कुरा हो। कसै कसैले आफ्नो सेवकाईलाई कुनै पनि ढंगमा रोक्न नपरोस् भन्ने विचार राखेर विवाह गर्छन्। तर विवाहित मसीहीले आफू अविवाहित छँदा जत्तिकै यहोवाको सेवामा ध्यानकेन्द्रित गर्न स्वतन्त्र हुनेछन् भन्ठान्नु मिल्छ र? यो प्रश्न यसपछिका लेखहरूमा छलफल गरिनेछ।
पुनरावृत्ति गर्दा
◻ प्रेरित पावलले कोरिन्थको मण्डलीलाई पत्र लेख्ने खाँचो किन महसुस गरे?
◻ पावलले साधुको जस्तो जीवन बिताउन सुझाउ दिइरहेका थिएनन् भनी हामी कसरी थाह पाउँछौं?
◻ कुनै व्यक्तिले अविवाहित रहने वरदानलाई कसरी ‘ग्रहण गर्नसक्छन्?’
◻ अविवाहित बहिनीहरूले आफ्नो अविवाहित अवस्थाबाट कसरी लाभ उठाउनसक्छन्?
◻ “बाधा विना” यहोवाको सेवा गर्न अविवाहित भाइहरूले आफ्नो स्वतन्त्रता कुन कुन ढंगमा सदुपयोग गर्नसक्छन्?