सान्त्वनाका लागि यहोवामाथि भरोसा राख्नुहोस्
“धीरज र शान्तिका [“सान्त्वनाका,” NW] परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन दिऊन्।”—रोमी १५:५.
१. दिन प्रतिदिन सान्त्वनाको खाँचो किन बढ्दैछ?
दिन प्रतिदिन सान्त्वनाको खाँचो झन् झन् बढ्दैछ। आजभन्दा १,९०० वर्षअघि एक बाइबल लेखकले भनेझैं “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” (रोमी ८:२२) अनि हाम्रो समयमा यो “सुस्केरा” र “पीड़ा” पहिलेभन्दा चर्को भएको छ। प्रथम विश्वयुद्धदेखि यता मानिसजातिले युद्ध, अपराध र दैवी प्रकोपहरूको रूपमा एक-एक गर्दै अनेक विपत्तिहरू भोग्नु परेको छ। अनि कतिपय यस्ता दैवी प्रकोपहरू मानिसहरूले पार्थिव सम्पदा जथाभावी प्रयोग गरेकोले नै भएका हुन्।—प्रकाश ११:१८.
२. (क) मानिसजातिको वर्तमान विपत्तिहरूका लागि सबैभन्दा दोषी को छ? (ख) कुन तथ्यले हामीलाई सान्त्वना पाउने आधार दिन्छ?
२ हाम्रो समयमा किन यति विघ्न दुःख? सन् १९१४ मा ईश्वरीय राज्यको जन्मपश्चात् स्वर्गबाट शैतानको निकालाबासको वर्णन गर्दै बाइबल यसरी जवाफ दिन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) यो भविष्यवाणी पूरा भयो भन्ने सुस्पष्ट प्रमाण पाइसकेकोले आज हामी शैतानको दुष्ट शासनको अन्तनेर पुग्नै लागिसकेका छौं भन्नसक्छौं। शैतानले हाम्रा प्रथम मातापितालाई विद्रोह गर्न उस्काउनुअघि पार्थिव जीवन जुन शान्तिमय वातावरणबीच थियो अब पुनः त्यस्तै स्थितिमा फर्कनेछ। यो थाह पाउनु कति सान्त्वनादायी छ!
३. मानिसहरूलाई कुन बेला सान्त्वना चाहिंदैन थियो?
३ आरम्भमा मानिसजातिका सृष्टिकर्ताले प्रथम मानव दम्पतीलाई घरस्वरूप सुन्दर बगैंचा दिनुभएको थियो। यो बगैंचा, अदन भनिने क्षेत्रमा थियो, जसको अर्थ हो “सुख” वा “आनन्द।” (उत्पत्ति २:८, NW, पादटिप्पणी) यसबाहेक, आदम र हव्वाको सिद्ध स्वास्थ्य थियो र तिनीहरू कहिल्यै मर्नुपर्ने थिएन। बागवानी, कला, निर्माण अनि संगीतजस्ता क्षेत्रमा तिनीहरूले कत्ति धेरै क्षमता हासिल गर्न सक्थे होलान्, कल्पना गर्नुहोस्। अनि पृथ्वी भर्दै त्यसलाई प्रमोदवन बनाउँदै जाने आफ्नो जिम्मेवारी पूरा गर्दा तिनीहरूले सम्पूर्ण सृष्टिबारे कत्ति धेरै कुराहरू सिक्थे होलान्, त्यो पनि कल्पना गर्नुहोस्। (उत्पत्ति १:२८) निस्सन्देह, आदम र हव्वाको जीवन सुस्केरा र पीडाले होइन तर आनन्द र सुखले भरिनेथियो। स्पष्ट छ, तिनीहरूलाई कहिल्यै सान्त्वनाको खाँचो पर्ने थिएन।
४, ५. (क) आदम र हव्वा किन आज्ञाकारिताको परीक्षामा असफल भए? (ख) मानिसजातिलाई कसरी सान्त्वनाको खाँचो पर्न गयो?
४ तर अवश्य, आदम र हव्वाले आफ्नो दयालु स्वर्गीय पिताप्रति गहिरो प्रेम अनि मूल्यांकनको खेती गर्नुपर्थ्यो। त्यस्तो प्रेमले हर परिस्थितिमा परमेश्वरप्रति आज्ञाकारी हुन तिनीहरूलाई उत्प्रेरित गर्नेथियो। (यूहन्ना १४:३१ तुलना गर्नुहोस्।) तर दुःखको कुरो, हाम्रा प्रथम मूल मातापिताले वैध सार्वभौमसत्ता, यहोवाको आज्ञा पालन गर्न सकेनन्। त्यसको विपरीत तिनीहरूले आफूलाई पतित स्वर्गदूत, शैतान अर्थात् दियाबलको दुष्ट अधीनमा पर्न दिए। र वास्तवमा शैतान नै हव्वालाई पाप गर्न अनि निषेधित फल खान फसाउने व्यक्ति थियो। अनि परमेश्वरले यसरी सुस्पष्ट चेताउनी दिनुभएको रूखको फल खाएर आदमले पनि पाप गरे: “जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।”—उत्पत्ति २:१७.
५ यसप्रकार त्यस पापी दम्पती मर्न थाले। परमेश्वरले आदमलाई मृत्युदण्ड सुनाउनुहुँदा यो पनि भन्नुभयो: “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैंले खानेछस्। त्यसले तेरो निम्ति काँढ़ा र सिंउड़ीहरू उमार्नेछ, र तैंले खेतको साग-पात खानेछस्।” (उत्पत्ति ३:१७, १८) यसरी आदम र हव्वाले खनजोत नगरिएको पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्ने प्रत्याशा गुमाए। अदनबाट निकालिएपछि श्रापित भूमिबाट अन्न उमार्न तिनीहरूले पसिना काढ्नुपऱ्यो। तिनीहरूका सन्तानले पुर्ख्यौली सम्पत्तिस्वरूप यस पापी, मरणशील अवस्था पाएको हुनाले सान्त्वनाको ठूलो खाँचो पऱ्यो।—रोमी ५:१२.
सान्त्वनादायी प्रतिज्ञा पूरा भयो
६. (क) मानिसजाति पापमा फसेपछि परमेश्वरले कुन सान्त्वनादायी प्रतिज्ञा गर्नुभयो? (ख) सान्त्वनाबारे लेमेकले कुन भविष्यवाणी गरे?
६ मानव विद्रोह सल्काउने व्यक्तिलाई न्यायदण्ड सुनाउनुहुँदा यहोवा “शान्तिका [“सान्त्वनाका,” NW] परमेश्वर” साबित हुनुभयो। (रोमी १५:५) आदमको विद्रोहका विपत्तिजनक असरहरूबाट तिनका सन्तानहरूलाई अन्ततः छुटाउने “वंश[को]” प्रतिज्ञा गर्नुभएर उहाँले आफूलाई सान्त्वनाको परमेश्वर साबित गर्नुभयो। (उत्पत्ति ३:१५) समयमा परमेश्वरले यस छुटकाराको पूर्वाभास दिनुभयो। उदाहरणका लागि, उहाँले आदमको छोरा सेतभन्दा धेरैपछि जन्मेको पिंढी लेमेकलाई तिनको छोराले के गर्नेछ, त्यसबारे भविष्यवाणी गर्न उत्प्रेरित गर्नुभयो: “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रमबाट यसले हामीलाई शान्ति [“सान्त्वना,” NW] दिनेछ।” (उत्पत्ति ५:२९) त्यस प्रतिज्ञाअनुरूप त्यस बालकको नाउँ नूह राखियो जसको अर्थ हुन्छ “आराम” वा “दिलाशा।”
७, ८. (क) कुन परिस्थितिले गर्दा यहोवा आफूले मानिस सृष्टि गर्नुभएकोमा पछुताउनुभयो; तथापि, उहाँले के गर्ने उद्देश्य रच्नुभयो? (ख) नूह कसरी आफ्नो नाउँको अर्थअनुरूप बाँचे?
७ यी सब होउञ्जेल उता केही स्वर्गदूतहरू शैतानका अनुयायी बन्दैथिए। यी स्वर्गदूतहरूले मानव शरीर धारण गरी आदमका आकर्षक जनाना सन्तानहरूलाई पत्नी बनाए। यस्तो अस्वाभाविक सम्बन्धले गर्दा मानव समाज झनै भ्रष्ट भयो र नपील वा “दैत्यहरू[को]” विधर्मी जातिको जन्म भयो। तिनीहरूले यस पृथ्वीलाई हिंसाले भरे। (उत्पत्ति ६:१, २, ४, ११; यहूदा ६) फलतः “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको . . . परमप्रभुले देख्नुभयो। औ पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अपसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो।”—उत्पत्ति ६:५, ६.
८ यहोवाले त्यस दुष्ट संसारलाई विश्वव्यापी जलप्रलयद्वारा नाश गर्ने अठोट गर्नुभयो तर त्यसो गर्नुअघि जीवधारीहरूलाई बचाउन नूहलाई जहाज बनाउन लगाउनुभयो। यसप्रकार मानवजाति अनि जीवजन्तुहरू बचाइए। जलप्रलयपछि जहाज बाहिर स्वच्छ पृथ्वीमा खुट्टा टेक्न पाउँदा नूह अनि तिनको परिवारले कत्ति ढुक्क महसुस गरे होलान्! भूमिलाई दिइएको श्राप फर्काइएको देख्दा अनि खेतीपाती पहिलेभन्दा धेरै सजिलो भएको पाउँदा तिनीहरूले कत्ति सान्त्वना पाए होलान्! लेमेकको भविष्यवाणी साँच्चै पूरा भयो र नूह आफ्नो नाउँको अर्थअनुरूप बाँचे। (उत्पत्ति ८:२१) परमेश्वरको विश्वासी सेवकको हैसियतमा नूह, मानिसजातिलाई केही हदसम्म “सान्त्वना” पुऱ्याउने माध्यम साबित भयो। तथापि, जलप्रलयसँगसँगै शैतान अनि त्यसका पैशाचिक स्वर्गदूतहरूको दुष्ट प्रभाव अन्त भएन अनि पाप, रोग र मृत्युको बोझले लादिएको मानवजातिले फेरि फेरि सुस्केरा हाल्नुपऱ्यो।
नूहभन्दा महान् व्यक्ति
९. येशू ख्रीष्ट कसरी पश्चात्तापी मानिसहरूको निम्ति मदतगार अनि सान्त्वनादाता साबित हुनुभएको छ?
९ अन्ततः मानव इतिहास सुरु भएको झन्डै ४,००० वर्षपछि प्रतिज्ञाकृत सन्तान आइपुग्यो। मानिसजातिप्रतिको गहिरो प्रेमले प्रेरित हुनुभई यहोवा परमेश्वरले आफ्नो एक मात्र पुत्रलाई पापी मानवजातिका लागि छुटकाराको मोलस्वरूप मर्न यस पृथ्वीमा पठाउनुभयो। (यूहन्ना ३:१६) येशू ख्रीष्टले उहाँको बलिदानरूपी मृत्युमाथि विश्वास गर्ने पश्चात्तापी पापीहरूलाई सुखको गहिरो श्वास फेर्ने मौका दिनुहुन्छ। यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको पुत्रको बप्तिस्मा प्राप्त चेला बन्ने जति सबैले चिरकालीन स्फूर्ति र सान्त्वना पाउँछन्। (मत्ती ११:२८-३०; १६:२४) असिद्ध भए तापनि तिनीहरू ठूलो आनन्द मानेर सफा अन्तस्करणसहित परमेश्वरको सेवा गर्छन्। येशूमाथि विश्वास गरिरहेको खण्ड- मा अनन्त जीवन इनाम पाइन्छ भनेर थाह पाउनु तिनीहरूका लागि कत्ति सान्त्वनादायी छ! (यूहन्ना ३:३६; हिब्रू ५:९) कमजोरीको कारण गम्भीर पाप गरेको खण्डमा पनि तिनीहरूसित पुनरुत्थान भइसक्नुभएको येशू ख्रीष्ट मदतगार वा सान्त्वनादाताको रूपमा हुनुहुन्छ। (१ यूहन्ना २:१, २) त्यस्तो पाप स्वीकारे र पापको अभ्यासी नहुन धर्मशास्त्रीय कदमहरू चाले भने ‘तिनीहरूका सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ’ भन्ने कुरा जानेर तिनीहरूले सुखको श्वास फेर्न सक्छन्।—१ यूहन्ना १:९; ३:६; हितोपदेश २८:१३.
१०. पृथ्वीमा हुनुहुँदा येशूले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्नसक्छौं?
१० पृथ्वीमा हुनुहुँदा येशूले भूत निकाल्नुभएर, नानाभाँतीका रोगहरू निको पार्नुभएर, मरिसकेका प्रिय जनहरूलाई बिउँताउनुभएर पनि मानिसहरूलाई स्फूर्ति दिनुभयो। हो, त्यस्ता चमत्कारहरूको असर सधैंभरि रहेन। किनकि त्यस्ता आशिष् पाउने व्यक्तिहरू पछि बूढो भएर मरे। यद्यपि, येशूले ती चमत्कारहरूद्वारा भविष्यमा आफूले सारा मानवजातिलाई दिने चिरस्थायी आशिष्हरूतर्फ संकेत गर्नुभयो। अहिले पराक्रमी स्वर्गीय राजा भइसक्नुभएको हुनाले अब चाँडै उहाँले भूतहरूलाई निकाल्ने मात्र होइन तिनीहरूको अगुवा शैतानसँगसँगै तिनीहरूलाई पनि अगाध खाँद अर्थात् निष्क्रिय अवस्थामा फालिदिनुहुनेछ। अनि त्यसपछि सुरु हुनेछ, ख्रीष्टको हजार वर्षीय महिमित शासन।—लूका ८:३०, ३१; प्रकाश २०:१, २, ६.
११. येशूले किन आफूलाई “विश्राम-दिनको प्रभु” भन्नुभयो?
११ येशूले आफू “विश्राम-दिनको प्रभु” हुँ भन्नुभयो र त्यही दिन धेरैजसो निवारण गर्नुभयो। (मत्ती १२:८-१३; लूका १३:१४-१७; यूहन्ना ५:१५, १६; ९:१४) किन? किनभने, विश्राम दिन परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थाको अंश हुनाका साथै “आउने उत्तम कुराहरूको . . . छाया” थियो। (हिब्रू १०:१) हप्ताभरि छ दिन गरिएको कामले बितेको ६,००० वर्षदेखि हामी शैतानको दमनकारी शासनको दासत्वमा परेका छौं भन्ने कुरा सम्झना गराउँछ भने हप्ताको अन्तमा मनाइने विश्राम दिनले चाहिं महान् नूह, येशू ख्रीष्टको हजार वर्षीय शासनको दौडान मानवजातिले अनुभव गर्ने सान्त्वनादायी आरामको झझल्को दिन्छ।—२ पत्रुस ३:८ तुलना गर्नुहोस्।
१२. हामी कुन सान्त्वनादायी अनुभवहरूको प्रत्याशा गर्नसक्छौं?
१२ ख्रीष्टको राज्यका पार्थिव प्रजाहरूले अन्ततः आफूलाई शैतानको दुष्ट प्रभावहरूबाट पूर्णतया मुक्त पाउँदा सुखको कति लामो श्वास फेर्ने हुन्! आफ्नो शारीरिक, भावनात्मक अनि मानसिक रोगहरू निको भएको अनुभव गर्दा तिनीहरूले अझै सान्त्वना पाउनेछन्। (यशैया ६५:१७) अनि आफ्ना मृत प्रिय जनहरूलाई स्वागत गर्न थाल्दा तिनीहरूको हृदय हर्षले कति उफ्रेलान् कल्पना गर्नुहोस्! यसप्रकार परमेश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश २१:४) येशूले दिनुभएको छुटकाराको बलिदानका लाभहरू एकपछि अर्को पाउँदै जाँदा परमेश्वरको राज्यका आज्ञाकारी प्रजाहरू सिद्धतातर्फ बढ्नेछन् र आदमको पापका खराब असरहरूदेखि पूर्णतया मुक्त हुनेछन्। (प्रकाश २२:१-५) त्यसपछि शैतानलाई “केही समयको निम्ति” फुकाइनेछ। (प्रकाश २०:३, ७) विश्वासी भई यहोवाको उचित सार्वभौमिकतालाई समर्थन गर्नेजति सबैले अनन्त जीवनको आशिष् पाउनेछन्। “विनाशको बन्धनबाट छुटकारा” पाउँदा तिनीहरूले कति अवर्णनीय आनन्द महसुस गर्ने वा सुखको श्वास फेर्ने हुन् कल्पना गर्नुहोस्! यसप्रकार आज्ञाकारी मानिसजातिले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता[को]” आनन्द उठाउनेछन्।—रोमी ८:२१.
१३. सबै साँचो मसीहीहरूलाई किन परमेश्वरले दिनुहुने सान्त्वना चाहिन्छ?
१३ तर त्यो समय नआउञ्जेल शैतानको दुष्ट रीतिरिवाजमा जीवन बिताउनेजति सबैले भोग्ने पीडा र सुस्केरा हामीले पनि भोगि नै रहनेछौं। बढ्दो शारीरिक बिमारी तथा भावनात्मक विकारले विश्वासी मसीहीहरूलगायत हरेक प्रकारका मानिसहरूलाई असर गर्छ। (फिलिप्पी २:२५-२७; १ थिस्सलोनिकी ५:१४) यसबाहेक मसीही भएको हुनाले प्रायः हाम्रो संकष्ट त्यतिमै सीमित रहँदैन। किनभने ‘मानिसको भन्दा परमेश्वरको आज्ञा मानेको हुँदा’ शैतानले हामीमाथि अन्यायपूर्ण उपहास र सतावट ल्याउँछ। (प्रेरित ५:२९) अतः शैतानको संसार अन्त नहोउञ्जेल परमेश्वरको इच्छा पालन गरिरहन हामीलाई उहाँले दिनुहुने सान्त्वना, मदत र बल चाहिन्छ।
सान्त्वना कहाँ पाउने
१४. (क) मृत्यु हुनु अगिल्लो रात येशूले के प्रतिज्ञा गर्नुभयो? (ख) परमेश्वरको पवित्र आत्माको सान्त्वनाबाट पूर्णतया लाभ उठाउन के गर्नु आवश्यक छ?
१४ मृत्यु हुनु अगिल्लो रात येशूले आफ्ना विश्वासी प्रेरितहरूलाई आफू चाँडै तिनीहरूलाई छाडेर पिताकहाँ जानुहुनेछ भनेर प्रष्ट्याउनु भयो। यो सुनेर तिनीहरू निकै विचलित र खिन्न भए। (यूहन्ना १३:३३, ३६; १४:२७-३१) तिनीहरूलाई अझै सान्त्वनाको खाँचो परिरहनेछ भन्ने कुरा बुझेर येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“सान्त्वनादाता,” NW] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्ना १४:१६) येशूले यहाँ पवित्र आत्माको कुरा गर्दै हुनुहुन्थ्यो। उहाँको पुनरुत्थान भएको ५० दिनपछि त्यही पवित्र आत्मा चेलाहरूमाथि खनाइयो।a अरू कुरालाई छाडेर परमेश्वरको पवित्र आत्माले तिनीहरूलाई परीक्षाहरूको दौडान सान्त्वना अनि परमेश्वरको इच्छा गरिरहने बल पनि दियो। (प्रेरित ४:३१) तथापि, त्यस्तो मदतलाई स्वतः प्राप्त हुने कुरा सम्झनु हुँदैन। त्यसको पूर्णतया फाइदा उठाउन प्रत्येक मसीहीले परमेश्वरले आफ्नो पवित्र आत्माद्वारा दिनुहुने सान्त्वनादायी मदतका लागि प्रार्थना गरिरहनुपर्छ।—लूका ११:१३.
१५. यहोवाले हामीलाई सान्त्वना प्रदान गर्नुहुने केही तरिकाहरू के हुन्?
१५ परमेश्वरले हामीलाई सान्त्वना दिनुहुने अर्को माध्यम उहाँको वचन, बाइबल हो। पावलले लेखे: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा [“सान्त्वनाद्वारा,” NW] हामीलाई आशा होस्।” (रोमी १५:४) बाइबल अनि बाइबलआधारित प्रकाशनहरूमा लेखिएका कुराहरू नियमित रूपले अध्ययन अनि मनन गर्नु कत्तिको आवश्यक छ, यसले देखाउँछ। अनि परमेश्वरको वचनका सान्त्वनादायी विचारहरू बाँडिने मसीही सभाहरूमा नियमित तवरले उपस्थित हुनु पनि त्यत्तिकै आवश्यक छ। किनभने त्यस्ता जमघटहरूको एउटा मुख्य उद्देश्य नै एकअर्कालाई प्रोत्साहन दिनु हो।—हिब्रू १०:२५.
१६. परमेश्वरका सान्त्वनादायी प्रबन्धहरूले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्ने हो?
१६ परमेश्वरका सान्त्वनादायी प्रबन्धहरूको उपभोग गर्दा के-कस्ता फाइदाहरू हुन्छन्, त्यो हामी पावलले रोमीहरूलाई लेखेका पत्रमा देख्छौं। पावलले लेखे, “धीरज र शान्तिका [“सान्त्वनाका,” NW] परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूअनुसार आपसमा एउटै मन दिऊन्, एकै मनका भएर एउटै मुखले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरूले गर।” (रोमी १५:५, ६) हो, परमेश्वरको सान्त्वनादायी प्रबन्धहरूको पूरापूर फाइदा उठायौं भने हामी हाम्रो साहसी नेता, येशू ख्रीष्टजस्तै हुनेछौं। अनि त्यसले हामीलाई साक्षी दिंदा, सभाहरूमा छँदा, सँगी विश्वासीहरूसँग व्यक्तिगत कुराकानी अनि प्रार्थना गर्दा हाम्रो मुखलाई परमेश्वरको महिमा गर्न व्यस्त राख्न उत्प्रेरित गर्नेछ।
कठोर परीक्षा आइपर्दा
१७. यहोवाले कसरी आफ्नो पुत्रलाई सान्त्वना दिनुभयो र यसको नतिजा के भयो?
१७ यातनापूर्ण मृत्युअघि येशू “शोकित” अनि “अति खिन्न” हुनुभएको थियो। (मत्ती २६:३७, ३८) त्यसैकारण आफ्ना चेलाहरूदेखि अलि पर जानुभएर पितासँग मदत माग्नुभयो। “उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइभयो।” (हिब्रू ५:७) “स्वर्गबाट एउटा दूत उहाँलाई सामर्थ्य दिनलाई [येशूकहाँ] देखा परे” भनेर बाइबलले रिपोर्ट दिन्छ। (लूका २२:४३) जुन साहस र पुरुषार्थपूर्वक येशूले आफ्ना विरोधीहरूको सामना गर्नुभयो त्यसले परमेश्वरले आफ्नो पुत्रलाई अति प्रभावकारी ढंगमा सान्त्वना दिनुभयो भन्ने कुराको प्रमाण दिन्छ।—यूहन्ना १८:३-८, ३३-३८.
१८. (क) कुन मोडमा पुग्दा प्रेरित पावलको जीवन विशेषगरि परीक्षा समान भयो? (ख) परिश्रमी, अनुकम्पापूर्ण प्राचीनहरूलाई हामी कसरी सान्त्वना दिनसक्छौं?
१८ प्रेरित पावलले पनि निकै चोटि कठोर परीक्षाको सामना गर्नुपऱ्यो। उदाहरणका लागि, एफिससको सेवकाई दौडान तिनले “यहूदीहरूको षड़यन्त्रले गर्दा . . . परीक्षा . . . र प्रशस्त आँसु” सहनुपऱ्यो। (प्रेरित २०:१७-२०) अन्ततः डायना देवीका समर्थकहरूले तिनको प्रचारकार्य विरुद्ध मानिसहरूलाई उठाएपछि पावलले एफिसस छोडे। (प्रेरित १९:२३-२९; २०:१) उत्तरतर्फ पर्ने त्रोआस शहरतर्फ लाग्दा तिनको मनमा अर्को कुरा पनि खेलिरहेको थियो। एफिससमा खलबली मच्चिनुभन्दा केही समयअघि तिनले विचलित पार्ने खालको रिपोर्ट पाएका थिए। कोरिन्थीको कलिलो मण्डली विभाजित भएको थियो र मण्डलीले करनीलाई समेत अनुमति दिइरहेको थियो। अतः परिस्थिति सुध्रने आशा राख्दै पावलले कडा हप्काइका साथ एफिससबाट पत्र लेखे। यसो गर्नु त्यति सजिलो थिएन। “धेरै सङ्कष्ट र हृदयको वेदनाले, र धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें” भनी पावलले पछि आफ्नो वेदना प्रकट गरे। (२ कोरिन्थी २:४) पावललाई लागेझैं अनुकम्पापूर्ण प्राचीनहरूलाई पनि अरूको सुधार गर्न सल्लाह दिनु वा हप्काउनु सजिलो लाग्दैन र त्यसो हुनुको एउटा कारण तिनीहरू आफै पनि आफ्ना कमजोरीहरूसित अनभिज्ञ नहुनु हो। (गलाती ६:१) त्यसकारण हाम्रो नेतृत्व लिनेहरूको मायालु अनि बाइबलआधारित सल्लाह स्वेच्छापूर्वक स्वीकारेर तिनीहरूलाई सान्त्वना देऔं।—हिब्रू १३:१७.
१९. पावल किन त्रोआसबाट म्यासिडोनिया गए र तिनी अन्ततः कसरी ढुक्क हुन सके?
१९ एफिससमा छँदा पावलले कोरिन्थीका भाइहरूलाई पत्र लेख्नुका साथै तिनीहरूलाई मदत गर्न तीतसलाई पठाए र तिनीहरूले पत्र पढेर कस्तो प्रतिक्रिया देखाउँछन्, त्यसको रिपोर्ट ल्याउन अह्राए। पावलले तीतसलाई यात्रा सक्नुअगावै त्रोआसमा भेट्ने आशा गरेका थिए। त्रोआस छँदा पावलले चेला बनाउने सुअवसरहरू पाए। तर तीतस नआइपुगेकोले ती सुअवसरहरूले तिनको चिन्ता कम गर्न सकेन। (२ कोरिन्थी २:१२, १३) अतः तीतसलाई भेट्ने आशा गर्दै तिनी म्यासिडोनियातर्फ लागे। तर त्यहाँ मानिसहरूले तिनको सेवकाईको कडा विरोध गर्दा तिनी झनै चिन्तित भए। तिनी भन्छन्, “हामी म्यासिडोनियामा आउँदा पनि हाम्रो शरीरलाई केही चैन थिएन, तर हरतर्फबाट हामीलाई सङ्कष्ट परेको थियो, बाहिर लड़न्त, र भित्र डरैडर थिए। त्यसो भए तापनि, नम्रहरूलाई [“दुःखीहरूलाई,” NW] सान्त्वना दिनुहुने, अर्थात् परमेश्वरले हामीलाई तीतसको आगमनले सान्त्वना दिनुभयो।” (२ कोरिन्थी ७:५, ६) अन्ततः कोरिन्थीहरूले पत्रप्रति देखाएको सकारात्मक प्रतिक्रिया सुनाउन तीतस आइपुग्दा पावल ढुक्क भए!
२०. (क) पावलको घटनाबाट देखेअनुसार यहोवाले अर्को कुन महत्त्वपूर्ण तरिकाबाट सान्त्वना दिनुहुन्छ? (ख) अर्को लेखमा कुन विषयमाथि ध्यान दिइनेछ?
२० पावलको अनुभव आज परमेश्वरका सेवकहरूका लागि सान्त्वनादायी छ, जसमध्ये कतिपयले “दुःखी” वा “निराश” तुल्याउने परीक्षाहरूको सामना गर्नुपर्छ। (फिलिप्स) हो, ‘सान्त्वनाका परमेश्वर’ हाम्रा व्यक्तिगत आवश्यकताहरू बुझ्नुहुन्छ र पावलले कोरिन्थीहरूको पश्चात्तापी मनोवृत्तिबारे तीतसको रिपोर्ट सुन्दा सान्त्वना पाएझैं हामीलाई पनि एकअर्कालाई सान्त्वना दिन चलाउन सक्नुहुन्छ। (२ कोरिन्थी ७:११-१३) अर्को लेखमा पावलले कोरिन्थीहरूप्रति देखाएको न्यानो प्रतिक्रिया र त्यसले आज हामीलाई कसरी परमेश्वरको सान्त्वना प्रभावकारी ढंगमा बाँड्न मदत गर्नसक्छ, त्यसबारे छलफल गर्नेछौं।
[फुटनोट]
a परमेश्वरको आत्माको मुख्य कामहरूमध्ये एक, प्रथम शताब्दीका मसीहीहरूलाई परमेश्वरको आध्यात्मिक पुत्र अनि येशूका भाइहरूको रूपमा अभिषिक्त गर्नु थियो। (२ कोरिन्थी १:२१, २२) तर यो सुअवसर ख्रीष्टको १,४४,००० चेलाहरूका लागि मात्र थियो। (प्रकाश १४:१, ३) आज अधिकांश मसीहीहरूलाई दयापूर्वक प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन पाउने आशा दिइएको छ। यद्यपि, अभिषिक्त नभए तापनि तिनीहरूले पनि परमेश्वरको पवित्र आत्माको मदत तथा सान्त्वना पाउँछन्।
के तपाईं जवाफ दिन सक्नुहुन्छ?
◻ मानिसजातिलाई कसरी सान्त्वनाको खाँचो पर्न गयो?
◻ येशू कसरी नूहभन्दा महान् साबित हुनुभएको छ?
◻ येशूले आफूलाई किन “विश्राम-दिनको प्रभु” भनेर सम्बोधन गर्नुभयो?
◻ आज परमेश्वरले कसरी सान्त्वना दिनुहुन्छ?
[पृष्ठ १०-मा भएको चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
तीतसले कोरिन्थीहरूको रिपोर्ट सुनाउँदा पावलले ठूलो सान्त्वना अनुभव गरे
म्यासिडोनिया
फिलिप्पी
ग्रीस
कोरिन्थ
एसिया
त्रोआस
एफिसस