ईश्वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा सेवा गर्ने
‘शान्तिको प्रचार गर्ने खुट्टा डाँड़ाहरू हुँदो कति सुन्दर छ।’ —यशैया ५२:७.
१, २. (क) यशैया ५२:७ मा गरिएको भविष्यवाणीअनुसार कुन सुसमाचार प्रचार गर्नु परेको छ? (ख) पुरातन इस्राएलको सन्दर्भमा यशैयाका भविष्यसूचक शब्दहरूले के अर्थ राख्थ्यो?
सुसमाचार घोषणा गर्नु परेको छ! शान्ति अर्थात् साँचो शान्तिको समाचार हो। परमेश्वरको राज्यद्वारा हुने छुटकाराको सन्देश हो। धेरैअघि भविष्यवक्ता यशैयाले यसबारे लेखे र तिनका शब्दहरू आज हामी यशैया ५२:७ मा पाउँछौं। त्यहाँ यस्तो लेखिएको छ: “शुभ समाचार ल्याउनेको खुट्टा डाँड़ाहरू हुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले मुक्तिको प्रचार गर्दछ, जसले सियोनलाई भन्दछ, ‘तेरा परमेश्वर राज्य गर्नुहुन्छ।’ ”
२ यहोवा परमेश्वरले भविष्यवक्ता यशैयालाई पुरातन इस्राएल र वर्तमान समयको लागि त्यो सन्देश लिपिबद्ध गर्न प्रेरित गर्नुभयो। यस भविष्यवाणीको अर्थ के हो? यशैयाले ती शब्दहरू लेखेको समयमा इस्राएलको उत्तरी राज्यलाई अश्शूरहरूले कब्जा गरिसकेको थियो होला। पछि, यहूदाको दक्षिणी राज्यका बासिन्दाहरू बेबिलोनमा निर्वासित हुनेथिए। त्यतिबेला राष्ट्रमा मानसिक क्लेश र अशान्ति छाएको थियो किनभने मानिसहरू यहोवाप्रति अनाज्ञाकारी भए। अतः तिनीहरू र परमेश्वरबीच शान्तिपूर्ण सम्बन्ध थिएन। यहोवाले बताउनुभएझैं तिनीहरूको पापपूर्ण आचरणले गर्दा तिनीहरू र परमेश्वरबीच फाटो आएको थियो। (यशैया ४२:२४; ५९:२-४) तथापि, बेबिलोनका प्रवेशद्वारहरू तोकिएको समयमा एक्कासि खोलिनेछन् भनेर यहोवाले यशैया मार्फत अगमवाणी गर्नुभयो। परमेश्वरका जनहरू आफ्नो भूमिमा फर्कन र त्यहाँ यहोवाको मन्दिर पुनर्निर्माण गर्न मुक्त हुनेथिए। सियोन पुनर्स्थापित गरिनुका साथै यरूशलेममा फेरि साँचो परमेश्वरको उपासना गरिने थियो।—यशैया ४४:२८; ५२:१, २.
३. इस्राएलको पुनर्स्थापनाबारे गरिएको प्रतिज्ञा कसरी शान्तिको भविष्यवाणी पनि थियो?
३ यस उद्धारको प्रतिज्ञा शान्तिको भविष्यवाणी पनि थियो। परमेश्वरले दिनुभएको भूमिमा इस्राएलीहरू पुनर्स्थापित हुनु नै परमेश्वरको कृपा र तिनीहरूको पश्चात्तापको प्रमाण हुनेथियो। यस कुराले तिनीहरू र परमेश्वरबीच शान्तिपूर्ण सम्बन्ध कायम भएको संकेत गर्नेथियो।—यशैया १४:१; ४८:१७, १८.
“तेरा परमेश्वर राज्य गर्नुहुन्छ”!
४. (क) कुन अर्थमा सा.यु.पू. ५३७ मा ‘यहोवा राजा हुनुभएको थियो’ भन्न सकिन्छ? (ख) यहोवाले पछिल्ला वर्षहरूमा आफ्ना जनहरूका फाइदाको लागि कामकुराहरू कसरी मोड्नुभयो?
४ सा.यु.पू. ५३७ मा यहोवाले माथि उल्लिखित छुटकारा दिनुहुँदा सियोनबारे “तेरा परमेश्वर राज्य गर्नुहुन्छ” भन्ने उपयुक्त घोषणा गर्न सकियो। हो, यहोवा “युगयुगका महाराजा” हुनुहुन्छ। (प्रकाश १५:३) तर उहाँले आफ्ना जनहरूलाई छुटकारा दिनुभएर सार्वभौमिकताको थप प्रदर्शन गर्नुभयो। त्यस समयसम्मका शक्तिशाली मानव सम्राटभन्दा उहाँ नै शक्तिशाली हुनुहुन्छ भनेर उहाँले देखाउनुभयो। (यर्मिया ५१:५६, ५७) यहोवाको आत्मा परिचालन भएको हुनाले उहाँका जनहरूमाथि गरिएका अरू षड्यन्त्रहरू विफल पारिए। (एस्तर ९:२४, २५) मादी र फारसी राजाहरूले उहाँको सार्वभौम इच्छा पूरा गर्न सहयोग गरून् भनी यहोवाले विभिन्न ढंगमा घरिघरि हस्तक्षेप गर्नुभयो। (जकरिया ४:६) त्यस समयका अद्भुत घटनाहरू हाम्रोलागि एज्रा, नहेम्याह, एस्तर, हाग्गै र जकरियाको पुस्तकमा लिपिबद्ध छन्। अनि यसको पुनरावलोकन गर्दा विश्वास कत्ति बलियो हुन्छ!
५. यशैया ५२:१३–५३:१२ मा कुन महत्त्वपूर्ण घटनाहरूलाई संकेत गरिएको छ?
५ तथापि, सा.यु.पू. ५३७ को घटना त सुरुआत मात्र थियो। यशैयाले अध्याय ५२ मा पुनर्स्थापनाको भविष्यवाणी लेखेको तुरुन्तैपछि मसीहको आगमनबारे लेखे। (यशैया ५२:१३–५३:१२) येशू ख्रीष्ट भनी प्रमाणित हुनुभएको मसीह मार्फत यहोवाले सा.यु.पू. ५३७ मा भएको भन्दा महत्त्वपूर्ण छुटकारा र शान्तिको सन्देश प्रदान गर्नु हुनेथियो।
शान्तिको लागि यहोवाको सबैभन्दा महान् सन्देशवाहक
६ शान्तिको लागि यहोवाको महान् सन्देशवाहक को हुनुहुन्छ र उहाँले के कार्य गर्नुभयो?
६ येशू ख्रीष्ट यहोवाको शान्तिको सबैभन्दा महान् सन्देशवाहक हुनुहुन्छ। उहाँ यहोवाको वचन र उहाँको प्रवक्ता हुनुहुन्छ। (यूहन्ना १:१४) यस कुरासित मिल्दोगरि येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभएको केही समयपश्चात् नासरतको सभाघरमा उभिएर यशैया अध्याय ६१ बाट आफूलाई खटाइएको कार्यबारे ठूलो सोरले पढ्नुभयो। त्यस खटाइएको कार्यले यहोवामा स्वीकार्य हुने अवसरका साथै “छुटकारा” र “निको पार्न[मा]” (NW) समावेश भएका कुराहरू प्रचार गर्न उहाँलाई पठाइएको थियो भनेर स्पष्ट पाऱ्यो। यद्यपि, येशूले शान्तिको सन्देश मात्र उद्घोषणा गर्नुभएन। परमेश्वरले उहाँलाई चिरकालीन शान्तिको आधार प्रदान गर्न पनि पठाउनुभएको थियो।—लूका ४:१६-२१.
७. येशू ख्रीष्ट मार्फत सम्भव पारिएको परमेश्वरको शान्तिले के कस्ता परिणामहरू ल्याउँछन्?
७ येशू जन्मनुहुँदा बेतलेहेम नजीकै गोठालाहरूकहाँ स्वर्गदूतहरू देखा परे र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे: “परमधाममा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति।” (लूका २:८, १३, १४) हो, जुन मानिसहरूसित परमेश्वर खुशी हुनुहुन्थ्यो, तिनीहरूबीच शान्ति छाउने थियो किनभने उहाँले आफ्नो पुत्र मार्फत गरिरहनुभएको प्रबन्धप्रति तिनीहरूले विश्वास देखाएका थिए। त्यसको अर्थ के थियो? त्यसको अर्थ, जन्मजात पापी भए तापनि मानवहरूले परमेश्वरसामु स्वच्छ स्तर कायम राख्न अर्थात् उहाँसित सम्बन्ध राख्न अनुमोदन पाउनसक्थे। (रोमी ५:१) तिनीहरूले अरू कुनै पनि तरिकाबाट प्राप्त गर्न नसकिने आन्तरिक शान्ति प्राप्त गर्नसक्छन्। परमेश्वरले तोक्नुभएकै समयमा बिमारी र मृत्युलगायत आदमबाट वंशानुगतप्राप्त पापका सबै प्रभावहरू हटाइनेछन्। मानिसहरू अन्धा, बहिरा वा लंगडा हुनैछैनन्। निराश पार्ने कमजोरी र दुःखद मानसिक विकारहरू सदाका लागि हटाइनेछन्। अनन्तसम्म सिद्ध जीवन बिताउन सम्भव हुनेछ।—यशैया ३३:२४; मत्ती ९:३५; यूहन्ना ३:१६.
८. ईश्वरीय शान्ति कसलाई दिइन्छ?
८ ईश्वरीय शान्ति कसलाई दिइनेछ? येशू ख्रीष्टमा विश्वास गर्ने सबैलाई। ‘परमेश्वरले येशूको रगतद्वारा शान्ति गराउनुभएर येशूद्वारै सबै थोक आफैसँग मिलाप गराउनुभयो’ भनेर प्रेरित पावलले लेखे। तिनले यस मिलापमा “स्वर्गका” कुराहरू अर्थात् स्वर्गमा ख्रीष्टसित उत्तराधिकारी हुनेहरू पनि सम्मिलित छन् भनेर भने। यसमा “पृथ्वीका” कुराहरू अर्थात् पृथ्वीलाई पूर्णतया प्रमोदवनमा परिणत गरिसकेपछि यहाँ सधैंभरि बस्न अवसर पाउने व्यक्तिहरू पनि सम्मिलित हुनेछन्। (कलस्सी १:१९, २०) तिनीहरू सबैले येशूको बलिदानको लाभ उठाउँछन् र तनमनले परमेश्वरको आज्ञा पालन गर्छन्। त्यसर्थ, तिनीहरू सबैले परमेश्वरसित न्यानो मित्रताको आनन्द उठाउनसक्छन्।—याकूब २:२२, २३ तुलना गर्नुहोस्।
९. (क) परमेश्वरसितको शान्तिले अरू कुन सम्बन्धहरूमा प्रभाव पार्छ? (ख) सबैतिर चिरस्थायी शान्ति ल्याउने अभिप्राय राख्नुभएर यहोवाले आफ्नो पुत्रलाई कुन अख्तियार दिनुभयो?
९ परमेश्वरसित यस्तो शान्ति कायम राख्नु कत्ति महत्त्वपूर्ण छ! परमेश्वरसित शान्ति नहुँदो हो त अरू कुनै सम्बन्धद्वारा चिरकालीन वा अर्थपूर्ण शान्ति पाउन सकिंदैन। यहोवासितको सम्बन्ध पृथ्वीमा साँचो शान्तिको लागि आधार हो। (यशैया ५७:१९-२१) येशू ख्रीष्ट शान्तिको राजकुमार हुनु उपयुक्त छ। (यशैया ९:६) मानिसहरूलाई परमेश्वरसित मिलाप गराउने यी नै जनलाई यहोवाले शासन गर्ने अख्तियार दिनुभएको छ। (दानियल ७:१३, १४) मानिसजातिमाथि येशूको उत्कृष्ट शासनको परिणामबारे यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनैछैन।”—यशैया ९:७; भजन ७२:७.
१०. शान्तिबारे परमेश्वरको सन्देश प्रकाश पार्न येशूले कसरी उदाहरण बसाल्नुभयो?
१० परमेश्वरको शान्तिको सन्देश सबै मानवजातिलाई चाहिएको छ। यसबारे प्रचार गर्न येशूले जोसिलो उदाहरण बसाल्नुभयो। उहाँले यरूशलेमको मन्दिर वरपर, पहाडी इलाकामा, सडकमा, सामरी स्त्रीसित इनारमा र मानिसहरूको घर-घरमा प्रचार गर्नुभयो। येशूले मानिसहरू भएका ठाउँमा मौका छोपेर शान्ति र परमेश्वरको राज्यबारे प्रचार गर्नुहुन्थ्यो।—मत्ती ४:१८, १९; ५:१, २; ९:९; २६:५५; मर्कूस ६:३४; लूका १९:१-१०; यूहन्ना ४:५-२६.
ख्रीष्टको पदचिह्नमा हिंड्न सिकाइएका
११. येशूले कुन कार्यको लागि आफ्ना चेलाहरूलाई प्रशिक्षण दिनुभयो?
११ येशूले आफ्ना चेलाहरूलाई परमेश्वरको शान्तिको सन्देश प्रचार गर्न सिकाउनुभयो। येशू, यहोवाको “विश्वासयोग्य र साँचो साक्षी” हुनुभएझैं उहाँका चेलाहरूले पनि साक्षी दिनुपर्ने आफ्नो जिम्मेवारीलाई बुझेका थिए। (प्रकाश ३:१४; यशैया ४३:१०-१२) तिनीहरू ख्रीष्टलाई आफ्नो नेता ठान्थे।
१२. पावलले प्रचार क्रियाकलापको महत्त्वलाई कसरी देखाए?
१२ प्रेरित पावलले यसो भन्दै प्रचार क्रियाकलापको महत्त्वबारे तर्क गरे: “धर्मशास्त्र भन्छ, ‘उहाँमाथि विश्वास गर्ने कोही शर्ममा पर्नेछैन।’ ” यसको अर्थ, येशूलाई मुक्तिको लागि यहोवाको प्रधान अभिकर्ताको रूपमा विश्वास गर्ने निराश हुनेछैन। कुनै व्यक्ति आफ्नो जातीय पृष्ठभूमिले गर्दा अयोग्य हुँदैन किनभने पावलले अझ भने: “यहूदी र ग्रीकमा केही भेद छैन। किनकि उहाँ सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैको धनराशि हुनुहुन्छ।” (रोमी १०:११-१३) तर मानिसहरूले त्यस अवसरबारे कसरी सिक्नेथिए?
१३. मानिसहरूलाई सुसमाचार सुनाउने हो भने कुन कुराको आवश्यकता पर्थ्यो र त्यस आवश्यकताप्रति प्रथम शताब्दीका मसीहीहरूले कस्तो प्रतिक्रिया व्यक्त गरे?
१३ यहोवाको प्रत्येक सेवकलाई सुसमाचार प्रचार गर्नुपर्ने आवश्यकताबारे सोच्न लाउन पावलले प्रश्न गरे। ती प्रेरितले यसरी सोधे: “जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेबिना तिनीहरूले कसरी सुन्नसक्लान्? औ नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्?” (रोमी १०:१४, १५) प्रारम्भिक मसीही धर्मको अभिलेखले पुरुष तथा स्त्री, जवान तथा वृद्ध सबैले ख्रीष्ट र उहाँका प्रेरितहरूले बसालेका उदाहरण अनुसरण गरे भनेर स्पष्ट प्रमाण दिन्छ। तिनीहरू सुसमाचारका जोसिला उद्घोषकहरू भए। तिनीहरूले येशूको अनुकरण गर्दै मानिसहरूलाई जहाँ भेट्न सकिन्छ, त्यहीं प्रचार गरे। सबैले सुसमाचार सुन्न पाऊन् भन्ने इच्छा राख्दै तिनीहरूले सार्वजनिक स्थानहरू र घर-घरमा प्रचार गरे।—प्रेरित १७:१७; २०:२०.
१४. सुसमाचार घोषणा गर्नेहरूका “खुट्टा” “राम्रा” थिए भनेर कसरी प्रमाणित भयो?
१४ निस्सन्देह, सबै मानिसले मसीही प्रचारकहरूसित राम्रो व्यवहार गर्दैनन्। तैपनि, पावलले यशैया ५२:७ बाट उद्धृत गरेका कुरा साँचो साबित भयो। ‘नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्?’ भनेर सोधेपछि तिनले अझै यसो भने: “जस्तो लेखिएको छ, ‘असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’ ” हामीमध्ये धेरैजसोले आफ्नो खुट्टा राम्रो वा सुन्दर ठान्दैनौं। त्यसोभए, यस पदको अर्थ के हो? त्यस पदमा उल्लिखित खुट्टाको मदतद्वारा कुनै व्यक्ति अरूलाई प्रचार गर्न गतिशील हुन्छन्। यस्ता खुट्टाहरूले व्यक्तिलाई प्रतिनिधित्व गर्छन्। प्रेरितहरू र येशू ख्रीष्टका प्रथम शताब्दीका चेलाहरूबाट सुसमाचार सुन्ने थुप्रैका लागि यी प्रारम्भिक मसीहीहरू वास्तवमा आकर्षणका केन्द्र थिए भनेर हामी निश्चित हुनसक्छौं। (प्रेरित १६:१३-१५) त्योभन्दा पनि अझ तिनीहरू परमेश्वरको दृष्टिमा मूल्यवान् थिए।
१५, १६. (क) प्रारम्भिक मसीहीहरूले आफू शान्तिका साँचो सन्देशवाहकहरू हुन् भनेर कसरी देखाए? (ख) प्रथम शताब्दीका मसीहीहरूले झैं सेवकाई गर्न हामीलाई कुन कुराले मदत दिनसक्छ?
१५ येशूका अनुयायीहरूसित शान्तिको सन्देश थियो र तिनीहरूले यसलाई शान्तिमय ढंगमा बताए। येशूले आफ्ना चेलाहरूलाई यी निर्देशनहरू दिनुभयो: “जुन घरमा पसौला पहिले भन, ‘यस घरलाई शान्ति होस्।’ यदि त्यहाँ शान्तिको सन्तान रहेछ भने तिमीहरूको शान्ति त्यसमा रहनेछ, तर रहेनछ भने त्यो तिमीहरूकहाँ फर्किआउनेछ।” (लूका १०:५, ६) शालोम वा “शान्ति,” यहूदीहरूले परम्परागत अभिवादन गर्दा चलाउने शब्द हो। तथापि, येशूका निर्देशनहरूमा यसबाहेक अरू थुप्रै कुराहरू समाविष्ट छन्। ‘ख्रीष्टका राजदूतहरूको’ हैसियतमा अभिषिक्त चेलाहरूले मानिसहरूलाई “परमेश्वरसँग मिलाप राख” भनेर आग्रह गरे। (२ कोरिन्थी ५:२०) येशूका निर्देशनहरूअनुरूप तिनीहरूले परमेश्वरको राज्य र त्यसले व्यक्तिविशेषमा कस्तो अर्थ राख्नसक्छ भन्नेबारे मानिसहरूलाई बताए। ती कुरा सुन्नेहरूले आशिष् पाए र नसुन्नेहरूले आशिष् गुमाए।
१६ यहोवाका साक्षीहरू आज त्यस्तै प्रकारले सेवकाई गर्छन्। तिनीहरूले मानिसहरूलाई सुनाउने सुसमाचार तिनीहरूको होइन। त्यो तिनीहरूलाई पठाउनुहुनेको हो। तिनीहरूको कार्य यसबारे बताउनु हो। मानिसहरूले यसलाई स्वीकारेमा तिनीहरू अद्भुत आशिष्हरू पाउने योग्यका हुन्छन्। तिनीहरूले अस्वीकार गरेमा यहोवा परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टसितको शान्तिलाई अस्वीकार गरिरहेका हुनेछन्।—लूका १०:१६.
गोलमाल संसारमा शान्तिप्रिय
१७. गाली गर्ने मानिसहरूसित समेत हामीले कस्तो आचरण देखाउनुपर्छ र किन?
१७ मानिसहरूको प्रतिक्रिया जस्तोसुकै भए तापनि यहोवाका साक्षीहरूले आफू ईश्वरीय शान्तिका सन्देशवाहकहरू हौं भनेर मनमा राख्नु महत्त्वपूर्ण छ। संसारका मानिसहरूले चर्को बहसहरू गर्लान् र अरूको चित्त दुख्ने टिप्पणीहरू गर्दै वा आफूलाई रीस उठाउनेहरूलाई ठूलो सोरले गाली गर्दै रीस पोखाउलान्। हामीमध्ये कोही कोहीले बितेका समयमा त्यसै गऱ्यौं होला। तथापि, हामीले नयाँ व्यक्तित्व धारण गरेका छौं अनि यस संसारको भाग भएका छैनौं भने, तिनीहरूका तौरतरिकाहरू सिक्दैनौं। (एफिसी ४:२३, २४, ३१; याकूब १:१९, २०) अरूले जस्तोसुकै गरे तापनि हामी यो सल्लाह अपनाउनेछौं: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”—रोमी १२:१८.
१८. सरकारी अधिकारी हामीसित रुष्ट हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र किन?
१८ कहिलेकाहीं हाम्रो सेवकाईले गर्दा हामी सरकारी अधिकारीहरूकहाँ पुग्नुपर्ला। तिनीहरूले आफ्नो अख्तियार प्रयोग गर्दै किन हामी कुनै कुराहरू गर्छौं वा केही विशेष क्रियाकलापमा किन भाग लिंदैनौं भन्नेबारे वृत्तान्त कुरा ‘हामीबाट चाहेलान्।’ हामी किन झूटो धर्मको पर्दाफास गर्छौं र वर्तमान रीतिरिवाजको अन्तबारे सन्देश सुनाउँछौं भनेर तिनीहरू बुझ्न चाहलान्। ख्रीष्टले बसाल्नुभएको उदाहरणलाई विचार गऱ्यौं भने, हामीलाई नम्रता र गहिरो आदर प्रकट गर्न उत्प्रेरित गर्नेछ। (१ पत्रुस २:२३; ३:१५) यस्ता अधिकारीहरू प्रायजसो पादरी वा सम्भवतः तिनीहरूका अख्तियारवालाहरूको दबाबमा परेका हुन्छन्। नम्र जवाफले तिनीहरूलाई हाम्रो क्रियाकलाप कुनै समुदाय वा तिनीहरूको शान्तिको लागि खतरापूर्ण छैन भनेर बुझ्न मदत दिनसक्छ। यस्तो जवाफले कुनै व्यक्तिको मनमा आदर, सहयोग र शान्तिको भाव पलाउँछ।—तीतस ३:१, २.
१९. कस्ता कस्ता क्रियाकलापहरूमा यहोवाका साक्षीहरू समावेश हुँदैनन्?
१९ संसारको झै-झगडामा भाग नलिने मानिसहरू भनी यहोवाका साक्षीहरू विश्वभरि परिचित छन्। तिनीहरू संसारका जातीय, धार्मिक वा राजनैतिक संघर्षहरूमा मुछिंदैनन्। (यूहन्ना १७:१४) परमेश्वरको वचनले हामीलाई “उच्च अख्तियारवालाहरूका अधीनमा” रहनू भनेर निर्देशन दिएको हुनाले सरकारका नीतिहरू विरुद्ध उस्काइएका जनआन्दोलनहरूका क्रियाकलापहरूमा समेत भाग लिंदैनौं। (रोमी १३:१) सत्ता पल्टाउने लक्ष्य राखेको कुनै पनि आन्दोलनमा यहोवाका साक्षीहरू सहभागी भएका छैनन्। यहोवाले आफ्ना मसीही सेवकहरूका लागि बसाल्नुभएका स्तरहरूले गर्दा तिनीहरूले कुनै पनि प्रकारको रक्तपात वा हिंसामा भाग लिनु, सोच्नै नसकिने कुरा हो! साँचो मसीहीहरू शान्तिबारे कुरा मात्र गर्दैनन् तर आफूले प्रचार गरेअनुरूप जीवन पनि बिताउँछन्।
२०. शान्तिको सन्दर्भमा महान् बेबिलोनले कस्तो छवि बसालेको छ?
२० साँचो मसीहीहरू विपरीत धार्मिक संगठनहरूको प्रतिनिधित्व गर्ने मसीहीजगत् चाहिं शान्तिका सन्देशवाहकहरू भनी प्रमाणित भएका छैनन्। महान् बेबिलोनका धर्महरू अर्थात् मसीहीजगत्का चर्चहरू र गैरमसीही धर्महरू सबैले राष्ट्रहरूबीचका युद्धहरूलाई चुपचाप स्वीकारेका छन्, समर्थन गरेका छन् र भनौं भने नेतृत्व लिएका छन्। तिनीहरूले यहोवाका विश्वासी सेवकहरूलाई सताउनुका साथै तिनीहरूको हत्यासमेत गरेका छन्। तसर्थ, महान् बेबिलोनबारे प्रकाश १८:२४ ले यसरी बताउँछ: “त्यसैमा अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।”
२१. यहोवाका जनहरू र झूटो धर्म मान्नेहरूका आचरणहरूमा भिन्नता देख्दा इमानदार हृदय भएका थुप्रै व्यक्तिहरूले कस्तो प्रतिक्रिया देखाउँछन्?
२१ साँचो धर्म मसीहीजगत् र महान् बेबिलोनका बाँकी धर्महरूभन्दा भिन्नै सकारात्मक र एकताबद्ध शक्ति हो। येशू ख्रीष्टले आफ्ना साँचो अनुयायीहरूलाई यसो भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) त्यस्तो प्रकारको प्रेमले आज मानवजातिलाई विभाजित पारिरहेको राष्ट्रिय, सामाजिक, आर्थिक र जातीय सीमाहरूलाई हटाउँछ। यस कुरालाई बुझेर विश्वभरि लाखौं मानिसहरूले यहोवाका अभिषिक्त सेवकहरूलाई यसो भनिरहेका छन्: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।”—जकरिया ८:२३.
२२. अझै गर्न बाँकी भएको साक्षी कार्यप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?
२२ पूर्ति भएका कुराहरू देखेर यहोवाको जनको हैसियतमा हामी रमाउँछौं। तर गर्नुपर्ने काम सिद्धिएको छैन। किसानले जमीनमा बीउ छरेर खेती लगाएपछि त्यसै छाड्दैन। उसले लगातार स्याहार-सुसार गर्छ, विशेषगरि कटनीको समयमा। कटनीको समयमा स्याहार-सुसार र अधिक प्रयासको खाँचो पर्छ। पहिलेभन्दा अहिले साँचो परमेश्वरका उपासकहरूसित ठूलो फसल छ। यो रमाउने समय हो। (यशैया ९:३) हो, हामीले विरोध र उपेक्षाको सामना गर्नुपर्छ। हामीले व्यक्तिगत तवरमा गम्भीर बिमारी, कठिन पारिवारिक परिस्थितिहरू वा आर्थिक कठिनाइहरूको सामना गर्ने प्रयत्न गरिरहेका हौंला। तर यहोवाप्रतिको प्रेमले हामीलाई दृढ रहन उत्प्रेरित गर्छ। परमेश्वरले हामीलाई सुम्पनुभएको सन्देश मानिसहरूले सुन्नैपर्ने कुरा हो। यो शान्तिको सन्देश हो। हो, यो कुरा येशू स्वयंले प्रचार गर्नुभएको सन्देश अर्थात् परमेश्वरको राज्यको सुसमाचार हो।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यशैया ५२:७ पुरातन इस्राएलमाथि कसरी पूर्ति भयो?
◻ येशूले आफूलाई कसरी शान्तिको सबैभन्दा महान् सन्देशवाहक प्रमाणित गर्नुभयो?
◻ मसीहीहरूले प्रचार गर्ने कार्यसित यशैया ५२:७ लाई प्रेरित पावलले कसरी मिलान गरे?
◻ हाम्रो समयमा शान्तिका सन्देशवाहकहरू हुनुमा कुन कुरा समावेश छ?
[पृष्ठ १३-मा भएको चित्र]
येशूजस्तै यहोवाका साक्षीहरू पनि ईश्वरीय शान्तिका सन्देशवाहकहरू हुन्
[पृष्ठ १५-मा भएको चित्र]
मानिसहरूले राज्य सन्देशप्रति जस्तोसुकै प्रतिक्रिया देखाए तापनि यहोवाका साक्षीहरू शान्ति कायम राख्छन्