आधुनिक क्रिसमसको मूल
संसारभरिका लाखौं मानिसहरूका लागि क्रिसमस, वर्षको असाध्यै रमाइलो समय हो। भव्य भोजन गर्ने, निकैअघिदेखि चल्दै आएको रीतिथिति मान्ने र सम्पूर्ण परिवार एकै ठाउँमा भेला हुने समय हो। क्रिसमस बिदाको समयमा साथीभाइ तथा नातेदारहरू एकअर्कालाई शुभकामना कार्ड तथा उपहारहरू पनि दिने गर्छन्।
तथापि, १५० वर्षअघि क्रिसमस एउटा बेग्लै प्रकारको बिदा थियो। इतिहासका प्राध्यापक स्टिफन निसेनबम क्रिसमसको लागि संघर्ष (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यसो भन्छन्: “क्रिसमस भनेको . . . मात्ने, मानिसहरूले अरू समक्ष देखाउनुपर्ने आचरणसम्बन्धी नीतिनियमहरू केही समयको लागि बिर्सेर मनपरी ‘रमाइलो गर्ने’ समय थियो अर्थात् भनौं भने, डिसेम्बर महिनामा मनाइने मार्दी ग्रासजस्तो।”
क्रिसमसप्रति असाध्यै श्रद्धा राख्नेहरूको यसले दिमाग खलबलाउनसक्छ। परमेश्वरका पुत्रको जन्मोत्सव मनाउने बिदालाई पनि कसैले अशुद्ध बनाउन खोज्ला र? जवाफ थाहा पाउनुभएपछि तपाईं छक्क पर्नुहोला।
त्रुटिपूर्ण आधार
चौथो शताब्दीमा क्रिसमसको सुरुआत भएदेखि यो अनेकौं विवादहरूमा मुछिएको छ। उदाहरणका लागि, येशू जन्मनुभएको खास दिन कुन हो भन्ने प्रश्न उठ्यो। बाइबलमा ख्रीष्ट जन्मनुभएको दिन वा महिना नतोकिएको हुँदा मानिसहरूले आ-आफ्नै अड्कल काटेका छन्। तेस्रो शताब्दीमा इजिप्सीयन धर्मविज्ञानीहरूको एउटा समूहले मे २० तोके भने अरूले मार्च २८, अप्रिल २ वा अप्रिल १९ अड्कले। अठारौं शताब्दीमा पुगुञ्जेलसम्म त वर्षको हरेक महिनामा येशूको जन्ममिति पर्न गयो! यति धेरै मितिहरूबाट आखिरमा डिसेम्बर २५ कसरी छान्न पुगियो त?
येशूको जन्ममिति डिसेम्बर २५ भनेर क्याथोलिक चर्चले तोकेको हुनुपर्छ भन्ने कुरामा धेरैजसो विद्वानहरू सहमत छन्। किन? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “सम्भवतः प्रारम्भिक मसीहीहरू त्यो मिति रोमी चाड मनाइने दिनमा गैरमसीही ‘अजेय सूर्यको जन्मोत्सव’ परोस् भन्ने चाहन्थे।” अढाई शताब्दीसम्म गैरमसीहीहरूबाट कठोर सतावट भोगेका मसीहीहरूले किन यति चाँडो ती सास्ती दिनेहरूसामु शिर झुकाएका होलान्?
भ्रष्टता घुस्यो
प्रथम शताब्दीमा प्रेरित पावलले तिमोथीलाई मसीही मण्डलीभित्र “खराब मानिसहरू र ठगाहाहरू” घुसेर थुप्रैलाई बहकाउनेछन् भनी चेताउनी दिए। (२ तिमोथी ३:१३) प्रेरितहरूको मृत्युपछि त्यस्तो डरलाग्दो धर्मत्याग सुरु भयो। (प्रेरित २०:२९, ३०) चौथो शताब्दीमा कन्सटेन्टाइनको कथित धर्मपरिवर्तनपछि अनगिन्ती गैरमसीहीहरूले मसीहीधर्म अंगाले। परिणाम के भयो? प्रारम्भिक मसीहीधर्म तथा गैरमसीहीधर्म (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “मसीही हौं भनी दाबी गर्ने व्यक्तिहरूको हूलमूलमा साँचो विश्वास राख्नेहरूको सानो समूह विलीन भयो।”
पावलका शब्दहरू एकदमै सत्य साबित भए! गैरमसीही भ्रष्टताले साँचो मसीहीधर्मलाई निलेझैं देखियो। अनि बिदाहरू मनाउने सन्दर्भमा यस्ता अशुद्धताहरू टड्कारै देखिए।
वास्तवमा, मसीहीहरूलाई केवल प्रभुको साँझको भोज मनाउने आज्ञा दिइएको छ। (१ कोरिन्थी ११:२३-२६) रोमी पर्वहरू मूर्तिपूजक प्रचलनहरूमा आधारित भएको हुँदा प्रारम्भिक मसीहीहरूले त्यस्ता उत्सवहरूमा भाग लिएनन्। यसैकारण, तेस्रो शताब्दीका गैरमसीहीहरूले मसीहीहरूको यसरी आलोचना गरे: “तिमीहरू प्रदर्शनहरू हेर्न जाँदैनौ; सार्वजनिक ठाँटबाँटमा चासो राख्दैनौ; सार्वजनिक भोजभतेरहरूमा भाग लिंदैनौ र पवित्र प्रतियोगिताहरूलाई घृणा गर्छौ।” अर्कोतर्फ गैरमसीहीहरू यस्तो घमण्ड गर्थे: “हामी हाँसीखुसी भोजभतेर गरेर अनि गाना गाएर तथा खेलकुदहरूमा भाग लिएर ईश्वरहरूको उपासना गर्छौं।”
चौथो शताब्दीको बीचतिर यस्तो कचकच शान्त भइसकेको थियो। तर कसरी? नकली मसीहीहरू घुस्न थालेपछि धर्मत्यागी विचारहरूको बिगबिगी हुन थाल्यो। फलस्वरूप मसीहीहरू रोमी संसारसित सम्झौता गर्न पुगे। यसबारे टिप्पणी गर्दै हाम्रो मसीहीधर्ममा गैरमसीही प्रचलन (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “मानिसहरूले पहिलेदेखि रमाइलो गरेर मनाउँदै आएका गैरमसीही उत्सवहरूमा मसीहीधर्मको नियन्त्रण जमाएर मसीहीहरूका लागि महत्त्वपूर्ण जस्तो देखाउने यो एउटा सुस्पष्ट मसीही नीति थियो।” यसप्रकार धर्मत्यागका हानिकारक असरहरू देखा पर्न थालिसकेका थिए। नाउँ मात्रका मसीहीहरूले मूर्तिपूजक उत्सवहरू स्वीकार्न इच्छा देखाएको हुँदा तिनीहरू जनसमुदायमा लोकप्रिय हुन थाले। धेरै समय बित्न नपाउँदै मसीहीहरूले पनि गैरमसीहीहरूले जत्तिकै वार्षिक पर्वहरू मनाउन थाले। यी पर्वहरूमध्ये सबैभन्दा प्रमुख चाहिं क्रिसमस हुनु कुनै छक्कलाग्दो कुरा होइन।
अन्तरराष्ट्रिय बिदा
युरोपभरि मसीहीधर्म फैलन थालेपछि झन् झन् बढी मानिसहरूले क्रिसमस मनाउन थाले। क्याथोलिक चर्चले येशूको जन्मदिनको सम्मानमा हर्षोल्लासको उत्सव मनाउनु ठीकै हो भन्ने धारणा राख्यो। यसैअनुरूप सा.यु. ५६७ मा काउन्सिल अफ टुरले “क्रिसमसदेखि एपिफानीसम्मको १२ दिनलाई पवित्र तथा खुशीको समय भनी घोषणा गऱ्यो।”— स्कूल तथा घरको लागि क्याथोलिक विश्वकोश (अंग्रेजी)।
उत्तरी युरोपको कटनी पर्वका अनेकन् पक्षहरू क्रिसमसमा गाभिन पुगे। मानिसहरू घिचुवा तथा मतवाला हुन थालेपछि भक्तिभन्दा मोजमस्ती सर्वमान्य हुन थाल्यो। यस्ता छाडा आचरणको विरोध गर्नुको साटो चर्चले त्यसलाई स्वीकारे। (रोमी १३:१३ तुलना गर्नुहोस्; १ पत्रुस ४:३) इंग्ल्याण्डमा मिसनरी कार्यको लागि खटाइएका मेलिटसलाई सा.यु. ६०१ मा पोप ग्रेगरी प्रथमले “त्यस्ता पुरातन गैरमसीही उत्सवहरू बन्द नगरी बरु ती गैरमसीही परम्पराहरूलाई मसीही मनोभावका साथ मनाउन चर्चको रीतिथितिअनुसार काँटछाँट गर्नू” भन्ने आदेश दिए। यो इजिप्सीयन सरकारको पूरातत्त्व विभागका भूतपूर्व महानिरीक्षक आर्थर वाइगोलको प्रतिवेदन हो।
सुधारवादी विचारधाराका मानिसहरूले मध्ययुगतिर यी अचाक्ली क्रियाकलाप विरुद्ध आवाज उठाउनुपर्ने खाँचो महसुस गरे। तिनीहरूले “क्रिसमसमा मोजमज्जाको दुरुपयोग” विरुद्ध थुप्रै आज्ञप्तिहरू पठाए। डा. पेने रेस्टाड अमेरिकामा क्रिसमस—एउटा इतिहास (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यसो भन्छिन्: “असिद्ध मानिसजातिलाई आफ्नो उत्तेजना पोख्ने अनि भाँडभैलो मच्चाउने एउटा समय चाहिन्छ तर यति हो, यो मसीही रेखदेखमा हुनुपर्छ भनी कोही कोही पादरीले भन्न थाले।” यसले क्रिसमससम्बन्धी धारणालाई झनै गन्जागोल पाऱ्यो। यस्तो स्पष्टीकरणले खास फरक पारेन किनभने गैरमसीही प्रचलनहरू क्रिसमससित यत्ति बिघ्न छ्यासमिस भइसकेका थिए कि अधिकांश मानिसहरू यी पर्वहरू छोड्न तयारै थिएनन्। यसबारे लेखक ट्रिस्टम कफनले यसो भने: “साधारणतया मानिसहरूले नीतिवादीहरूको विवादलाई त्यति ध्यान नदिएर आफूले पहिलेदेखि जे गर्दै आएका थिए, त्यो मात्र गर्दैथिए।”
युरोपेलीहरू पश्चिमी गोलार्धमा बसोबास गर्न थाल्दा क्रिसमस एउटा सुपरिचित पर्व भइसकेको थियो। तैपनि, उत्तर अमेरिकाका उपनिवेशहरूमा क्रिसमस लोकप्रिय हुन सकेन। प्युरीटान सुधारवादीहरूले यस्तो उत्सवलाई गैरमसीही ठान्थे अनि १६५९ र १६८१ बीच म्यासाचुसेट्समा यस पर्व मान्न निषेध गरे।
यो प्रतिबन्ध हटाएपछि उपनिवेशभरि र विशेषगरि दक्षिणी न्यु इंग्ल्याण्डमा क्रिसमस प्रचलित हुन थाल्यो। तथापि, यस पर्वको इतिहासलाई विचार गर्दा कोही कोही मानिसहरू परमेश्वरका पुत्रको आदर गर्नुभन्दा रमाइलो गर्न बढी उत्सुक भएको देखिनु कुनै अचम्मको कुरा होइन। विशेषगरि क्रिसमसको एउटा असाध्यै अभद्र पक्ष चाहिं अचाक्ली रक्सी पिउनु थियो। हुल्याहा केटाहरू धनी छिमेकीहरूको घरमा घुस्थे र धम्की दिएर खाना र रक्सी माग्थे। त्यसरी माग्दा दिएनन् भने घरधनीलाई सराप्थे र कहिलेकाहीं त घरै तोडफोडसमेत गरिदिन्थे।
सन् १८२० को दशकमा अवस्था यति बिघ्न गएगुज्रिसकेको थियो कि “क्रिसमसको कोलाहल”-ले “गम्भीर सामाजिक खतरा”-को रूप लिन पुग्यो भनी प्राध्यापक निसेनबम भन्छन्। न्यु योर्क र फिलाडेल्फियाजस्ता शहरका धनाढ्य जमिनदारहरूले आफ्नो धनमालको सुरक्षा गर्न पहरादारहरू राख्न थाले। भनिन्छ, १८२७/२८ को क्रिसमसमा हिंस्रक हूलदंगालाई शान्त पार्न न्यु योर्क शहरमा पहिलो चोटि पेशेवर प्रहरीटोलीको व्यवस्था गर्नुपऱ्यो!
क्रिसमसको नयाँ रूप
मानिसजातिले १९ औं शताब्दीमा अनेकन् परिवर्तनहरू देखे। बाटोघाटो तथा रेल मार्गको सुविधा हुन थालेपछि मानिस, मालताल तथा समाचारको ओसारपसार चाँडो हुन थाल्यो। औद्योगिक क्रान्तिको परिणामस्वरूप लाखौंले जागिर पाए र कारखानाहरूले पनि मालतालहरू द्रुत गतिमा उत्पादन गर्न थाले। औद्योगिकरणले गर्दा नयाँ तथा जटिल समस्याहरू पनि देखिन थाले र यसको असर हुँदा हुँदा क्रिसमस उत्सवमा पनि देखियो।
मानिसहरूले पारिवारिक बन्धन बलियो पार्न पहिलेदेखि नै पर्वहरू मनाउने गर्थे र क्रिसमसको कथा पनि यस्तै हो। क्रिसमसका समर्थकहरूले जंगली, मनमस्ती पाराका क्रिसमसका पुराना प्रचलनहरूलाई छाँटकाँट गरेर पारिवारिक पर्व बनाए।
निस्सन्देह, १९ औं शताब्दीको अन्ततिर क्रिसमसलाई आधुनिक अमेरिकी जीवनशैलीका विसंगतिहरूको उपचारजस्तो ठान्न थालिसकिएको थियो। डा. रेस्टाड यसो भन्छिन्, “घरपरिवारमा धर्म र धार्मिक भावना सृजना गर्न अनि सारा संसारका विसंगति तथा असफलताहरू सुधार्ने साधनको रूपमा क्रिसमस सबैभन्दा उपयुक्त पर्व साबित भयो।” उनी अझ यसो भन्छिन्: “उपहारहरू दिने, दानकर्म गर्ने र एकअर्कालाई शुभकामना दिने, सुरु-सुरुमा त बैठककोठामा मात्र सीमित थियो तर पछि गएर आइतबारे स्कूलको हलमा सदाबहार बोट सिंगार्ने इत्यादि सबै गतिविधिहरूले गर्दा सानो परिवारका सदस्यहरू एकअर्कासित र साथै चर्च, समाजसित एकतामा बाँधिए।”
त्यस्तैगरि, आजकाल धेरैजसो मानिसहरू एकअर्काप्रति प्रेमको पुष्टि दिन तथा पारिवारिक एकता कायम गर्न क्रिसमस मनाउँछन्। तर कतिपय मानिसहरूले यस पर्वको आध्यात्मिक पक्षलाई ध्यान नदिएका होइनन्। लाखौं मानिसहरू येशूको जन्मको सम्मानमा क्रिसमस मनाउँछन्। तिनीहरू चर्चमा उपस्थित होलान्, येशूको जन्मका तस्बिरहरू घरमा टांग्लान् वा येशूलाई धन्यवाद चढाउँदै प्रार्थनाहरू गर्लान्। तर परमेश्वरले यसप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? के यी कुराहरू उहाँ स्वीकार्नुहुन्छ? बाइबलको कस्तो राय छ, विचार गर्नुहोस्।
“सत्य र शान्ति रुचाऊ”
पृथ्वीमा हुनुहुँदा येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “परमेश्वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्ना ४:२४) येशूले यी शब्दहरूअनुरूप जीवन बिताउनुभयो। सधैं सत्य बोल्नुभयो। आफ्ना पिता “सत्य परमेश्वर” यहोवाको हुबहु अनुकरण गर्नुभयो।—भजन ३१:५; यूहन्ना १४:९.
यहोवा हर प्रकारको छलकपटलाई घृणा गर्नुहुन्छ भन्ने कुरा उहाँले बाइबल मार्फत स्पष्ट पार्नुभएको छ। (भजन ५:६) यी सबै कुरा विचार गर्दा, क्रिसमससित सम्बन्धित थुप्रै पक्षहरूमा झूटको आभास पाउनु नमिल्दो कुरा होइन र? उदाहरणका लागि, सान्ता क्लजको परी-कथालाई लिनुहोस्। के तपाईंले थुप्रै मुलुकमा विश्वास गरिएअनुसार सान्ता ढोकाबाट नछिरेर चिम्नीबाट घरभित्र किन आउँछन् भनेर आफ्नो बच्चालाई चित्त बुझ्ने जवाफ दिन सक्नुभएको छ? अनि एकै साँझमा सान्ता कसरी लाखौं घर चाहार्नसक्छन्? उड्ने जरायो नि? सान्ताको यथार्थ बच्चाले थाह पाएपछि के आमाबाबुप्रति उसको भरोसा कम हुँदैन र?
क्याथोलिक विश्वकोश (अंग्रेजी) खुलस्त यसो भन्छ: “गैरमसीही प्रचलनहरूले . . . क्रिसमसमा अमेट छाप पारे।” त्यसोभए, क्याथोलिक चर्च तथा मसीहीजगत्का अरू चर्चहरूले गैरमसीही प्रचलनमा आधारित पर्वलाई किन बढावा दिइरहेका त? के त्यो गैरमसीही शिक्षाहरूको समर्थन गरेको होइन र?
पृथ्वीमा छँदा येशूले मानिसहरूलाई आफ्नो उपासना गर्न प्रोत्साहन गर्नुभएन। उहाँले यसो भन्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू औ उहाँको मात्र सेवा गर्नू।” (मत्ती ४:१०) त्यसरी नै, येशू स्वर्गमा महिमित हुनुभएपछि स्वर्गदूतले प्रेरित यूहन्नालाई “परमेश्वरलाई दण्डवत् गर” भन्नुबाट के स्पष्ट हुन्छ भने उपासनाको सन्दर्भमा कुनै हेरफेर भएको छैन। (प्रकाश १९:१०) अब अर्को प्रश्न उठ्छ, क्रिसमसको बेला पितातर्फ नभई आफूमै उपासना केन्द्रित भएको येशूलाई मन पर्ला त?
स्पष्टतः आधुनिक क्रिसमससम्बन्धी तथ्यहरू गुनगान गर्न लायक छैनन्। यो पतित विगतमा लसपस भएको पर्व सिवाय अरू केही होइन। त्यसकारण, सफा अन्तस्करण राख्दै लाखौं मसीहीहरूले क्रिसमस नमनाउने निर्णय गरेका छन्। उदाहरणका लागि, रायन नाउँका किशोर क्रिसमसबारे यसो भन्छन्: “सम्पूर्ण परिवार एकसाथ भेला भएर वर्षको दुइ चार दिन खुशी मनाउँदा मानिसहरू खूब दंग पर्छन्। तर त्यसमा खासै के छ र? मेरा आमाबाबुले मलाई वर्षभरिजसो उपहारहरू दिनुहुन्छ!” बाह्र वर्षीय केटी यसो भन्छिन्: “मलाई कुनै कुराबाट वञ्चित भएँजस्तो लाग्दैन। उपहार किन्नैपर्ने एउटा विशेष दिनमा मात्र होइन तर वर्षभरि नै म उपहारहरू पाउँछु।”
अगमवक्ता जकरियाले सँगी इस्राएलीहरूलाई “सत्य र शान्ति रुचाऊ” भने। (जकरिया ८:१९) जकरिया र अन्य पुरातन विश्वासी व्यक्तिहरूले जस्तै ‘सत्य रुचाउँछौं’ भने “जीवित सच्चा परमेश्वर” यहोवाको अनादर हुने झूटा धार्मिक उत्सवहरूबाट के हामी अलग्गै बस्नुपर्दैन र?—१ थिस्सलोनिकी १:९.
[पृष्ठ ७-मा भएका चित्र]
“मलाई कुनै कुराबाट वञ्चित भएँजस्तो लाग्दैन। वर्षभरि नै म उपहारहरू पाउँछु”