फैसला गरिने बेंसीमा न्याय
“अन्यजातिहरू . . . यहोशापातको बेंसीमा आऊन्, किनकि त्यहींनै म चारैतिरका जातिहरूको इन्साफ गर्नलाई बस्नेछु।”—योएल ३:१२.
१. “फैसला गरिने बेंसीमा” योएल मानिसहरूको धुइरो किन देख्छन्?
“फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ”! योएल ३:१४ मा ती भावोत्तेजक शब्दहरू लेखिएका छन्। यहाँ किन मानिसहरूको धुइरो छ? योएल यस्तो जवाफ दिन्छन्: “परमप्रभुको दिन नजीक आएको छ।” यो यहोवालाई उच्च पार्ने भयानक दिन अर्थात् ख्रीष्ट येशूद्वारा चल्ने यहोवा अधीनस्थ राज्यलाई इन्कार गर्ने लाखौंमाथि न्याय गर्ने दिन हो। बल्ल, प्रकाश अध्याय ७ मा उल्लिखित “चार दूतहरू[ले]” कसेर समातेको “पृथ्वीका चारै बतासलाई” छोड्नसक्छन्। फलतः भविष्यवाणी गरिएझैं “यस्तो महा संकष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—प्रकाश ७:१; मत्ती २४:२१.
२. (क) यहोवाले न्याय गर्नुहुने ठाउँलाई “यहोशापातको बेंसी” भन्नु किन उपयुक्त छ? (ख) हमला गरिंदा यहोशापातले कस्तो उचित प्रतिक्रिया देखाए?
२ योएल ३:१२ मा इन्साफ हुने त्यो स्थानलाई “यहोशापातको बेंसी” भनिएको छ। यहूदाको इतिहासको गञ्जागोलपूर्ण समयमा यहोवाले असल राजा यहोशापातको खातिर न्याय गर्नु एकदम मुनासिब थियो। यहोशापात नाउँको अर्थ नै हो, “यहोवा न्यायकर्ता हुनुहुन्छ।” त्यतिबेला भएको घटनालाई विचार गऱ्यौं भने अहिले हाम्रो समयमा हुन लागेको घटनालाई राम्ररी बुझ्नसक्नेछौं। यसको विवरण २ इतिहास अध्याय २० मा पाइन्छ। उक्त अध्यायको पद १ मा हामी यस्तो लेखिएको पढ्छौं, “मोआबी, अम्मोनी र केही मिनुईहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए।” यहोशापातले कस्तो प्रतिक्रिया देखाए? संकटको समयमा यहोवाका विश्वासी जनहरूले सधैं जे गर्छन्, तिनले पनि त्यसै गरे। तिनले जोडदार प्रार्थना गर्दै यहोवाको डोऱ्याइ मागे: “हे परमेश्वर, हाम्रा परमेश्वर, तिनीहरूको न्याय गर्नुहोस्। किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्यदलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।”—२ इतिहास २०:१२.
यहोवा प्रार्थनाको जवाफ दिनुहुन्छ
३. छिमेकी राष्ट्रहरूले हमला गर्दा यहोवाले यहूदालाई के निर्देशन दिनुभयो?
३ “यसरी सारा यहूदा, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामने खड़ा” हुँदा यहोवाले जवाफ दिनुभयो। (२ इतिहास २०:१३) आज, उहाँले “विश्वासी र बुद्धिमान दास[लाई]” प्रयोग गर्नुभएझैं प्रार्थना सुन्नुहुने सर्वोच्च परमेश्वरले लेवी अगमवक्ता यहाजिएल मार्फत त्यहाँ भेला भएका मानिसहरूलाई जवाफ दिनुभयो। (मत्ती २४:४५) हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ ‘नडराऊ, यस ठूलो सैन्य-दलदेखि नआत्तियो। किनभने लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन। . . . यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ। दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराऊ, नता आत्तियौ। भोलि तिनीहरूको सामना गर्न तिमीहरू निस्किजाऊ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुन्छ।”—२ इतिहास २०:१५-१७.
४. शत्रुहरूको चुनौती सामना गर्ने बेलामा आफ्ना जनहरू कुन ढंगमा सक्रिय होऊन् भनेर यहोवाले चाहनुभयो?
४ यहोवाले राजा यहोशापात र उहाँका जनहरू केही नगरी चमत्कारपूर्ण ढंगमा छुटकाराको आशा गरेर बसेको चाहनुहुन्नथ्यो। शत्रुको चुनौती सामना गर्न तिनीहरू अग्रसर हुनुपर्थ्यो। राजालगायत ‘यहूदामा भएका सबैले तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरू’ सबैले बलियो विश्वास देखाए र आक्रमणकारी सैन्यदलको सामना गर्न बिहान सबेरै उठेर तैनाथ भए। यसरी अग्रसर भएको जमातलाई बाटोमा राजाले ईश्वरतान्त्रिक निर्देशन तथा प्रोत्साहन दिंदै यसरी आग्रह गरे: “परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, र तिमीहरूको फलिफाप हुनेछ।” (२ इतिहास २०:२०) यहोवामा विश्वास! अगमवक्ताहरूमा विश्वास! यसैमा तिनीहरूको सफलता निर्भर थियो। त्यसरी नै आज यहोवाको सेवामा सक्रियतापूर्वक अघि बढिरहँदा हाम्रो विश्वास विजयी होला कि नहोला भन्ने कुरामा कहिल्यै शंका नगरौं!
५. यहोवाको प्रशंसा गर्दा आज यहोवाका साक्षीहरू कसरी सक्रिय भएर रहेका छन्?
५ यहोशापातको समयका यहूदावासीहरूले जस्तै हामीले ‘परमप्रभुलाई धन्यवाद दिनुपर्छ किनभने उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।’ हामी कसरी उहाँलाई धन्यवाद चढाउँछौं? जोसका साथ राज्यको सुसमाचार प्रचार गरेर! ती यहूदावासीहरूले “प्रशंसाको चर्को आवाज” निकालेझैं हामी आफ्नो विश्वास कामद्वारा देखाउँछौं। (२ इतिहास २०:२१, २२) हो, यहोवा आफ्ना शत्रुहरू विरुद्ध जाइलाग्न तयार हुनुहुँदा हामी पनि त्यस्तै दृढ विश्वास देखाऔं! जतिसुकै धैर्यधारण गरे तापनि छुटकारा आउला जस्तो नदेखिएला। तैपनि, पृथ्वीका कतिपय समस्याग्रस्त इलाकाहरूमा उहाँका जनहरू धीरजी भएजस्तै हामी पनि धीरजी हुन कटिबद्ध होऔं, हाम्रो विश्वासलाई सेलाउन नदेऔं। सतावट, हिंसा, अनिकाल र नाजुक आर्थिक अवस्थाहरूको बावजूद परमेश्वरका विश्वासी सेवकहरूले उल्लेखनीय वृद्धिको अनुभव गरिरहेका छन्। यसबारे यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९८ मा रिपोर्ट गरिएको छ।
यहोवा आफ्ना जनहरूलाई जोगाउनुहुन्छ
६. बलियो विश्वासले आज वफादार रहन कसरी मदत गर्छ?
६ यहूदा राष्ट्र वरपरका अभक्त राष्ट्रहरूले परमेश्वरका जनहरूलाई अत्त्याउन खोजे। तर यहोवाका जनहरूले उहाँको प्रशंसा गाएर उदाहरणीय विश्वास देखाए। आज हाम्रो समयमा पनि हामी त्यस्तै विश्वास देखाउनसक्छौं। यहोवाको प्रशंसा हुने कार्यहरूमा लागेर हामी आफ्नो आध्यात्मिक हातहतियार बलियो बनाउँछौं र शैतानका धूर्त करतुतहरूलाई घुस्ने मौका दिदैनौं। (एफिसी ६:११) बलियो विश्वास छ भने यस मरणशील संसारको चिनारी अर्थात् पतित मनोरञ्जन, भौतिकवाद र भावशून्यताको पासोमा बहकिनेछैनौं। “ठीक ठीक समयमा” प्रबन्ध गरिएको आध्यात्मिक भोजनबाट निरन्तर तन्दुरुस्त भएर “विश्वासी र बुद्धिमान दास” सँगसँगै वफादारीपूर्वक सेवा गर्न यस्तो अटल विश्वासले हामीलाई मदत गर्नेछ।—मत्ती २४:४५.
७. आफूमाथि आइपरेका विभिन्न हमलाहरूप्रति यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया जनाएका छन्?
७ बाइबल आधारित हाम्रो विश्वासले मत्ती २४:४८-५१ मा उल्लिखित “दुष्ट नोकरले” देखाएजस्तो मनोभाव देखाउने व्यक्तिहरूले उस्काउने घृणा विरुद्ध दृढ रहन बल प्रदान गर्नेछ। विभिन्न मुलुकहरूमा धर्मत्यागीहरू झूट तथा अफवाहहरू फैलाउन सक्रिय हुनुका साथै राष्ट्र राष्ट्रका केही अधिकारीहरूसितसमेत तिनीहरूले मिलोमतो गरेकोले उक्त भविष्यवाणी अहिले अद्भुत ढंगमा पूरा भइरहेको छ। उपयुक्त अवस्थामा यहोवाका साक्षीहरू फिलिप्पी १:७ मा वर्णन गरिएझैं कानुनी तवरमा “सुसमाचारको रक्षा र समर्थन” गर्न अग्रसर भएका छन्। उदाहरणका लागि, ग्रीसको एउटा मुद्दामा मानव अधिकारसम्बन्धी युरोपेली संघका नौ जना न्यायाधीशहरू एकमत भएर सेप्टेम्बर २६, १९९६ का दिन स्ट्रासबर्गमा यस्तो पुष्टि दिए, “यहोवाका साक्षीहरू ‘प्रचलित धर्मअन्तर्गत’ पर्छन्” र तिनीहरूले विचार, अन्तस्करण, विश्वासको स्वतन्त्रता र आफ्नो विश्वासबारे अरूलाई बताउने अधिकार पाउनैपर्छ। तर धर्मत्यागीहरूको सन्दर्भमा परमेश्वरको न्याय यस्तो छ: “यो सत्य उखानअनुसारै तिनीहरूलाई यो भएको छ, ‘कुकुर आफ्नै बान्तामा फर्की आउँछ, र नुहाइदिएको भुनी हिलैमा लड़बड़ी खेल्छ।’ ”—२ पत्रुस २:२२.
८. यहोशापातको समयमा यहोवाले आफ्ना जनहरूका शत्रुहरूको न्याय कसरी गर्नुभयो?
८ यहोशापातको समयमा यहोवाले आफ्ना जनहरूलाई हानि पुऱ्याउन खोज्नेहरूको न्याय गर्नुभयो। यसबारे यसो लेखिएको पाउँछौं: “परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेईरको पहाड़ी-देशका मानिसहरूलाई अल्मलाइदिनुभयो, र तिनीहरूलाई परास्त गर्नुभयो। यस्तो भयो, कि अम्मोनी र मोआबीहरू सेईरका पहाड़ी-देशका मानिसहरूको विरुद्धमा तिनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब तिनीहरूले सेईरका मानिसहरूलाई नाश गरिसके तब तिनीहरू आपसमानै एक अर्कालाई अन्धाधुन्ध आक्रमण गर्नलागे।” (२ इतिहास २०:२२, २३) यहूदावासीहरूले त्यो ठाउँलाई बराकाको बेंसी नामाकरण गरे। बराकाको अर्थ हो, “आशिष्।” वर्तमान् समयमा पनि यहोवाले शत्रुहरूमाथि न्याय गर्नुहुँदा उहाँका जनहरूका लागि आशिष् साबित हुनेछ।
९, १०. यहोवाले गर्नुहुने प्रतिकूल न्याय भोग्न योग्य छन् भनेर कसले प्रकट गरेका छन्?
९ हाम्रो मनमा प्रश्न उठ्ला, अहिले वर्तमान् समयमा कस-कसले यहोवाको प्रतिकूल न्याय भोग्नेछन्? यसको जवाफको लागि योएलको भविष्यवाणीलाई फेरि विचार गर्नुपर्छ। योएल ३:३ मा उहाँका जनहरूको शत्रुहरूबारे बताइएको छ जसले “वेश्यागमनको दाम चाहिं केटा दिने गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे।” हो, तिनीहरू परमेश्वरका सेवकहरूलाई खुट्टाको धूलो सम्झन्छन्, तिनीहरूका बच्चाहरूलाई पैसा तिरेर ल्याएको वेश्या वा एक भाँडो रक्सीभन्दा पनि कमसल ठान्छन्। तिनीहरूले यस कुकर्मको जवाफ दिनैपर्छ।
१० आध्यात्मिक वेश्यावृत्ति गर्नेहरू पनि त्यस्तै न्यायको योग्य छन्। (प्रकाश १७:३-६) त्यसमा पनि राजनैतिक शक्तिहरूलाई उस्काएर यहोवाका साक्षीहरूलाई सताउन लगाउने र तिनीहरूका क्रियाकलापमा अवरोध खडा गर्न उस्काउनेहरू विशेषगरि निन्दनीय छन्। हालै पूर्वी युरोपमा केही उपद्रवी धार्मिक नेताहरूले त्यसै गरिरहेका छन्। यहोवाले यस्ताहरू विरुद्ध कारवाही गर्ने निर्णय प्रकट गर्नुभएको छ।—योएल ३:४-८.
“लड़ाइको निम्ति तयार होऊ”!
११. यहोवा आफ्ना शत्रुहरूलाई युद्ध गर्ने चुनौती कसरी दिनुहुन्छ?
११ त्यसपछि, यहोवा आफ्ना जनहरूलाई यस्तो चुनौती घोषणा गर्न लगाउनुहुन्छ: “लड़ाइँको निम्ति तयार होऊ, शूरवीर मानिसहरूलाई सुनाऊ। सबै योद्धाहरू नजीक आऊन्।” (योएल ३:९) यो एउटा अनौठो युद्ध अर्थात् धार्मिक युद्ध हो। झूटा प्रचारप्रसारको प्रत्युत्तर दिनुपर्दा अनि झूटविरुद्ध सत्यले लड्नुपर्दा यहोवाका वफादार साक्षीहरू आध्यात्मिक हातहतियारमा भर पर्छन्। (२ कोरिन्थी १०:४; एफिसी ६:१७) चाँडै परमेश्वरले “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ[लाई]” उच्च पार्नुहुनेछ। यसले परमेश्वरको सार्वभौमिकताको विरोध गर्ने सबैलाई पृथ्वीबाट हटाउनेछ। पृथ्वीमा रहेका उहाँका जनहरूले यस युद्धमा भाग लिनेछैनन्। किनकि शाब्दिक तथा प्रतीकात्मक दुवै अर्थमा ‘तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाएका’ छन्। (यशैया २:४) त्यसको विपरीत यहोवा ती विद्रोही राष्ट्रहरूलाई यस्तो चुनौती दिनुहुन्छ: “तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका हँसियाहरू भाला बनाऊ।” (योएल ३:१०) उहाँ तिनीहरूलाई सम्पूर्ण अस्त्रशस्त्र चलाऊ भन्नुहुन्छ। तर तिनीहरू जित्नसक्दैनन् किनभने युद्ध र विजय यहोवाकै पक्षमा छ!
१२, १३. (क) शीत युद्धको अन्त भए तापनि थुप्रै राष्ट्रहरू अझै पनि युद्धको निम्ति तयार छन् भनेर कसरी देखिएका छन्? (ख) ती राष्ट्रहरू के को लागि तयार छैनन्?
१२ राष्ट्रहरूले १९९० दशकको सुरुसुरुतिरै शीतयुद्ध अन्त भएको घोषणा गरे। यसलाई विचार गर्दा के संयुक्त राष्ट्र संघले शान्ति र सुरक्षा ल्याउने आफ्नो प्रमुख लक्ष्य पूरा गर्न सकेको छ? पटक्कै छैन! इराक, गणतन्त्र कंगो, बुरून्डी, पहिलेको युगोस्लाभिया, रूवाण्डा, लाइबेरिया र सोमालियामा भइरहेका घटनाहरूले के देखाउँछन्? यर्मिया ६:१४ अनुसार तिनीहरूले “शान्तिनै नहुँदा पनि ‘शान्ति, शान्ति’ ” भनिरहेका छन्।
१३ कुनै कुनै ठाउँमा खुलेआम युद्ध गर्न बन्द भइसकेको भए तापनि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू अत्याधुनिक अस्त्रहरू बनाउन अझै होडबाजी गरिरहेका छन्। कुनै कुनै राष्ट्रले आणविक हातहतियारको ठूलठूलो भण्डार बनाइरहेका छन्। अन्य कतिपय चाहिं एकै खेपमा विनाश गर्न सकिने रासायनिक तथा जैविक हतियारहरू विकास गरिरहेका छन्। ती राष्ट्रहरू आरमागेडोन भनिने प्रतीकात्मक स्थलमा जम्मा हुँदा उहाँ यी शब्दहरूमा चुनौती दिनुहुन्छ: “कमजोरीहरूले भनून्, ‘म बलियो छु।’ हे चारैतिरका जातिहरू हो, चाँड़ो आऊ, र तिमीहरू त्यहाँ एकसाथ भेला होओ।” योएल बीचैमा यसो भन्छन्: “हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई त्यहाँ ल्याउनुहोस्।”—योएल ३:१०, ११.
यहोवा आफ्ना जतिको सुरक्षा गर्नुहुन्छ
१४. यहोवाका शूरवीरहरू को हुन्?
१४ यहोवाका यी शूरवीरहरू को हुन्? बाइबलमा साँचो परमेश्वरलाई लगभग २८० चोटि “सेनाहरूका परमप्रभु भनिएको छ। (२ राजा ३:१४) यी सेनाहरू यहोवाको आज्ञा शिरोपर गर्न तम्तयार रहने स्वर्गदूतहरू हुन्। अरामीहरूले एलीशालाई पक्रने प्रयास गर्दा तिनीहरू किन असफल हुनेथिए देखोस् भनेर यहोवाले एलीशाको परिचारकका आँखा खोलिदिनुभयो र उसले “एलीशाको वरिपरिको डाँड़ामा अग्निमय घोड़ा र रथहरू भरिएको देख्यो।” (२ राजा ६:१७) आफ्नो पितासित “बाह्र पल्टनभन्दा बढ़ी स्वर्गदूतहरू” माग्न सक्नुहुन्थ्यो भनी येशूले बताउनुभयो। (मत्ती २६:५३) आरमागेडोनमा न्याय गर्न घोडसवार हुनुहुने येशूबारे प्रकाशको पुस्तक यसरी वर्णन गर्छ: “स्वर्गमा भएका फौजहरू मसिना, सेता र चोखो सुती लुगा लगाएर, सेता घोड़ामा चढ़ेर, उहाँका पछिपछि लाग्दथिए। औ जाति जातिहरूलाई मार्न उहाँको मुखबाट धारिलो तरवार निस्कँदोरहेछ, र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। औ सर्वशक्तिमान परमेश्वरको क्रोधको मद्यको कोल उहाँले कुल्चनुहुँदोरहेछ।” (प्रकाश १९: १४, १५) त्यस प्रतीकात्मक मद्यको कोललाई “परमेश्वरको क्रोधको ठूलो कोल” भनी ज्वलन्त शब्दहरूमा वर्णन गरिएको छ।—प्रकाश १४:१७-२०.
१५. राष्ट्रहरूसित यहोवाले लड्नुहुने युद्धबारे योएल कसरी व्याख्या गर्छन्?
१५ त्यसो भए, यहोवाका शूरवीरहरूलाई बोलाउने योएलको बिन्तीको उहाँ कस्तो जवाफ दिनुहुन्छ? यो सजीव विवरणमा यस्तो जवाफ पाउँछौं: “अन्यजातिहरू सुरिऊन् र यहोशापातको बेंसीमा आऊन्, किनकि त्यहींनै म चारैतिरका जातिहरूको इन्साफ गर्नलाई बस्नेछु। हँसिया लगाऊ, किनभने खेत पाकिसकेको छ। आऊ, दाख कुल्च, किनभने दाखको कोल भरिएको छ। दाख–कुण्ड तिनीहरूको दुष्टताले ज्यादै भरिएर पोखिंदैछ। फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ, किनभने फैसला गरिने बेंसीमा परमप्रभुको दिन नजीक आएको छ। सूर्य र चन्द्र अँध्यारो हुनेछ र ताराहरूले आफ्नो चमक दिनेछैन। परमप्रभु सियोनबाट गर्जनुहुनेछ, यरूशलेमबाट उहाँले आफ्नो सोर सुनाउनुहुनेछ। आकाश र पृथ्वी थरथर काम्नेछ।”—योएल ३:१२-१६.
१६. यहोवाले न्याय गर्नुहुनेहरूमा अरू को समावेश हुनेछन्?
१६ यहोशापातको अर्थ हो, “यहोवा न्यायकर्ता” हुनुहुन्छ। अतः यहोवा परमेश्वरले न्याय गर्नुभएर आफ्नो सार्वभौमसत्तालाई पूर्णतया उच्च पार्नुहुनेछ। त्यस भविष्यवाणीले प्रतिकूल न्याय पाउनेहरूलाई ‘फैसला गरिने बेंसीमा भेला भएका धुइरोको धुइरो’ भनेर वर्णन गरेको छ। झूटा धर्मका बाँकी समर्थकहरू पनि यही भीडमा हुनेछन्। साथै भजनको दोस्रो अध्यायमा वर्णन गरिएका ‘राष्ट्रहरू, जाति जातिहरू, पृथ्वीका राजा तथा शासकहरू’ पनि हुनेछन् जसले ‘परमप्रभुको भय राख्दै उहाँको सेवा गर्नुको’ साटो भ्रष्ट व्यवस्थालाई निको मान्छन्। तिनीहरू “पुत्रलाई चुम्बन” गर्न इन्कार गर्छन्। (भजन २:१, २, ११, १२) तिनीहरू येशू, यहोवाको सँगी राजा हुनुहुन्छ भनेर स्वीकार्दैनन्। यसबाहेक, विनाशको लागि छुट्याइएको यस भीडमा महिमित राजाले “बाख्रा” ठहराउनुहुने सबै मानिसहरू पनि समावेश हुनेछन्। (मत्ती २५:३३, ४१) स्वर्गीय यरूशलेमबाट गर्जने यहोवाको आफ्नै समय आइपुग्दा राजाहरूका अभिषिक्त राजा अर्थात् उहाँले नियुक्त गर्नुभएको राजा न्याय गर्न घोडसवार हुनुहुनेछ। स्वर्ग र पृथ्वी साँच्चै थरथर काँप्नेछ! तथापि, यहोवा “आफ्ना जनहरूका लागि शरणस्थान र इस्राएलका पुत्रहरूको लागि गढी” हुनुहुनेछ भनी हामीलाई आश्वासन दिइएको छ।—योएल ३:१६.
१७, १८. महासंकष्टबाट आएकाहरू हुन् भनी अलग्गै छुट्याइनेहरू को हुन् र तिनीहरूले उठाउने आनन्दहरू कस्ता छन्?
१७ प्रकाश ७:९-१७ ले ख्रीष्टको छुडौतीको रगतमा विश्वास गरेर महासंकष्टबाट आएका एउटा “ठूलो भीडलाई” अलग्गै छुट्याएको छ। यिनीहरूले यहोवाको दिनमा सुरक्षा पाउनेछन् जबकि योएलको भविष्यवाणीमा वर्णन गरिएको जमातले प्रतिकूल न्याय भोग्नेछ। त्यसबाट बच्नेहरूलाई योएल यसो भन्छन्: “तब पवित्र पर्वत सियोनमा बास गर्ने, परमप्रभु तिमीहरूका परमेश्वर मनै हुँ भनी तिमीहरूले जान्नेछौ।” त्यो पवित्र पर्वत, यहोवाको स्वर्गीय बासस्थान हो।—योएल ३:१७क.
१८ उक्त भविष्यवाणीले परमेश्वरको स्वर्गीय राज्य “पवित्र हुनेछ, र त्यसबाट भएर कुनै विदेशी फेरि कहिल्यै जानेछैन” भनेर पनि बताउँछ। (योएल ३:१७ख) त्यस स्वर्गीय राज्यअन्तर्गत स्वर्ग तथा पृथ्वीमा सबै शुद्ध उपासनामा एकताबद्ध हुने हुँदा कोही पनि विदेशी हुनेछैन।
१९. आज परमेश्वरका जनहरूले उठाएका प्रमोदवनरूपी आनन्दबारे योएलले कसरी वर्णन गरेका छन्?
१९ आज पनि पृथ्वीमा रहेका यहोवाका जनहरूबीच प्रशस्त शान्ति छ। एकताबद्ध भएर तिनीहरूले २३० भन्दा बढी मुलुकहरूमा ३०० भन्दा बढी बेग्लाबेग्लै भाषामा उहाँको न्यायको सन्देश घोषणा गरिरहेका छन्। तिनीहरूको प्रगतिबारे योएल यस्तो सुन्दर वर्णन गर्छन्: “त्यस दिन पहाड़हरूबाट मीठो दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बहनलाग्नेछ। यहूदाका सबै खोला–नालाहरूमा पानी बग्न थाल्नेछ।” (योएल ३:१८) हो, यहोवाले पृथ्वीमा आफ्ना प्रशंसकहरूमाथि आनन्दमय आशिष्, संवृद्धि तथा बहुमूल्य सत्यको ज्ञान अझ प्रचुर मात्रामा खन्याइरहनुहुनेछ। फैसला गरिने बेंसीमा यहोवाको सार्वभौमिकता पूर्णतया महिमित हुनेछ र उहाँले छुटकारा दिनुभएका मानिसहरूबीच बास गर्नुहुँदा आनन्दको कुनै सीमा रहनेछैन।—प्रकाश २१:३, ४.
के तपाईंलाई सम्झना छ?
◻ यहोशापातको समयमा यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुभयो?
◻ “फैसला गरिने बेंसीमा” यहोवा कसलाई विनाशको योग्य ठान्नुहुन्छ?
◻ यहोवाका शूरवीरहरू को हुन् र अन्तिम द्वन्द्वमा तिनीहरूको के भूमिका हुनेछ?
◻ विश्वासी उपासकहरूले कस्ता आनन्दहरू उठाउनेछन्?
[पृष्ठ २१-मा भएको चित्र]
यहूदा राष्ट्रलाई यसो भनियो: ‘नआत्तियौ, किनकि लडाइ यहोवाको हातमा छ; तिमीहरूको हातमा होइन’
[पृष्ठ २३-मा भएको चित्र]
यहोवा आफ्ना शत्रुहरूलाई ‘हलोका फालीहरू पिटेर तरवार बनाओ’ भनेर चुनौती दिनुहुन्छ
[पृष्ठ २४-मा भएको चित्र]
महासंकष्टबाट एउटा ठूलो भीड निस्केर आउनेछ भनेर बाइबल बताउँछ