प्रमोदवनको खोजमा
पास्कल स्टीजीको वृत्तान्तमा आधारित
दक्षिण फ्रान्सको बेजीय शहरका सडकहरू सुनसान थिए, चारैतिर सन्नाटा छाएको थियो। भर्खरै भित्ताहरू रंगाइएको धार्मिक पुस्तक भण्डार देखेपछि मेरो साथी र मैले ठूलठूला अक्षरहरूमा जर्मन दार्शनिक निशेका यी शब्दहरू मनपरी कोऱ्यौं: ‘देवताहरू छैनन्। सुपरम्यान अमर रहून्!’ तथापि, त्यसो गर्न म कुन कुराले उत्प्रेरित भएँ?
म सन् १९५१ मा फ्रान्समा क्याथोलिक धर्म मान्ने इटालेली परिवारमा जन्में। बालकै छँदा हामी दक्षिण इटालीमा बिदा मनाउन जान्थ्यौं। त्यहाँका हरेक गाउँमा कुमारी मेरीका मूर्तिहरू स्थापना गरिएका थिए। राम्ररी सिंगारेर त्यस्ता ठूलठूला मूर्तिहरूलाई डाँडाकाँडा हुँदो घुमाउँदा थुप्रै जनसमुदायले पछ्याउने शोभायात्रामा मामाघरका बाजेसँगसँगै म पनि जान्थें तर बिनाविश्वास। मैले आफ्नो प्राथमिक शिक्षा जेसुएटहरूद्वारा सञ्चालित धार्मिक स्कूलबाट प्राप्त गरें। तथापि, परमेश्वरमा विश्वास गर्नुपर्ने कुनै पनि कुरा सुनेजस्तो मलाई लागेन।
मोन्पेल्याको विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरिरहेको बेलादेखि मात्र मैले जीवनको उद्देश्यबारे सोच्न थालें। मेरो बुबा युद्धमा घाइते हुनुभएकोले डाक्टरहरू हरबखत उहाँसँगै हुनुपर्थ्यो। युद्धमा घाइते भएका मानिसहरूलाई निको पार्न समय र श्रम बर्बाद पार्नुको सट्टा युद्ध नै अन्त गर्नु राम्रो होइन र? तथापि, भियतनामको युद्ध झन् झन् चर्कंदै थियो। मेरो विचारमा फोक्सो क्यान्सरको तर्क संगत उपचार विधि भनेकै यसको प्रमुख कारणलाई जरैदेखि उखेल्नु अर्थात् सूर्ती खत्तम गर्नु हो। अनि विकासोन्मुख देशहरूमा कुपोषण र सम्पन्न राष्ट्रहरूमा घिचुवापनका कारण लागेका रोगहरूबारे चाहिं के भन्न सकिन्छ नि? यिनीहरूको रोकथाम गर्नुभन्दा मुख्य कारण नै नष्ट गर्नु के उचित होइन र? पृथ्वीमा किन यति धेरै दुःखकष्ट? यस आत्मघाती समाजमा भएका थुप्रै नराम्रा कुराहरूका लागि म सरकारलाई जिम्मेवार ठहराउँथें।
एक जना देशद्रोहीले लेखेको पुस्तक मलाई असाध्यै मनपर्थ्यो र त्यस पुस्तकका वाक्यहरू म भित्ताहरूमा जस्ताको तस्तै सार्थें। बिस्तारै बिस्तारै म पनि नास्तिक वा नैतिक नियम नभएको, परमेश्वर अथवा मालिक मन नपराउने देशद्रोही भएँ। मेरो विचारमा परमेश्वर र धर्म भनेको धनी अनि शक्तिशाली मानिसहरूले हामीमाथि अधिकार जमाउन र शोषण गर्न आविष्कार गरेको कुरा थियो। तिनीहरूले, ‘हाम्रालागि पृथ्वीमा परिश्रम गर र स्वर्गीय प्रमोदवनमा तिमीहरूले ठूलो इनाम पाउनेछौ’ भनेजस्तो लाग्थ्यो। तर अब देवताहरूको समय सिद्धियो। यो कुरा मानिसहरूलाई भन्नुपरेको थियो। तिनीहरूलाई बताउने एउटा तरिका सडकका भित्ताहरूमा त्यस्ता कुराहरू कोर्नु थियो।
परिणामस्वरूप मैले आफ्नो पढाइलाई दोस्रो स्थानमा राखें। त्यसैबेला म आतंकवादीहरूको हैकम भएको मोन्पेल्याकै अर्को राज्यमा अवस्थित विश्वविद्यालयमा भूगोल र पर्यावरणको अध्ययन गर्न भर्ना भएँ। मैले जति जति त्यस विषयमा अध्ययन गर्दै गएँ, हाम्रो सुन्दर ग्रह प्रदूषित हुँदै गएको देखेर साह्रै विरक्त लाग्न थाल्यो।
हरेक वर्ष गर्मी विदा पाउँदा युरोपमा हजारौं किलोमिटर यात्रा गर्थें। यात्राको दौडान कुरा गरेका सयौं चालकहरू मार्फत र आफैले पनि मानव समाजलाई दुष्टता अनि विनाशले ग्रस्त तुल्याएको देखें। एकपल्ट प्रमोदवनबारे अनुसन्धान गर्ने क्रममा सुन्दर टापु क्रेटको हराभरा ठाउँमा पुगेको थिएँ तर त्यसबेला त्यो ठाउँ तेलै तेलले ढाकिएको पाएँ। मलाई त्यो देखेर साह्रै दिक्क लाग्यो। के पृथ्वीको कुनै पनि ठाउँमा प्रमोदवन बाँकी रहेन?
आफ्नै जग्गा-जमीनमा
फ्रान्सका पर्यावरणविद्हरू समाजका दुःखकष्टहरू समाधान गर्न खेतीपातीमा लाग्नुपर्छ भन्ने दाबी गर्दै थिए। म परिश्रम गर्न चाहन्थें। त्यसैकारण मैले दक्षिण फ्रान्सको केभेनेस डाँडाहरूका बेंसीमा रहेको सानो गाउँको पुरानो ढुंगाले बनेको घर किनें। ढोकामा अमेरिकी हिप्पीहरूको नारा “प्रमोदवन अहिले” भनेर लेखें। त्यस ठाउँमा घुम्न आएकी जर्मन युवती मसित बस्न थालिन्। हामी सरकारको प्रतिनिधि मेयरको अगाडि विवाहबन्धनमा बाँधिने त कुरै आएन। अनि चर्चमा? यसबारेमा त सोच्दा पनि सोचेनौं!
हामी अक्सर खाली खुट्टा हिंड्थ्यौं। मैले लामो कपाल र फोहरी देखिने गरी दाह्री पालेको थिएँ। फलफूल तथा तरकारी खेतीप्रति म आकर्षित भएको थिएँ। ग्रीष्मऋतुमा नीलो आकाशमा कीराहरू गीत गाउँथे। त्यहाँका स-साना बिरुवाहरूमा फुलेका फूलहरू निकै सुगन्धित अनि भू-मध्यसागरीय फलहरू अंगुर र नेभारा असाध्यै रसिला थिए! हामी प्रमोदवनमा बसोबास गरिरहेझैं लाग्थ्यो।
परमेश्वरमाथि विश्वास पलाउँछ
विश्वविद्यालयमा मैले कोषीयविज्ञान, भ्रूणविज्ञान तथा शारीरिक संरचनाजस्ता विषयहरूमा अध्ययन गरें र तिनीहरू जटिल किसिमले बनेको र आपसमा सम्बन्धित भएको देखेर असाध्यै प्रभावित भएँ। त्यसबेला म हरेक दिन सृष्टिको अध्ययन र निरीक्षण गर्थें जसको सौन्दर्य र शक्तिले मलाई आश्चर्यचकित बनाइदिएको थियो। दिन दिनै सृष्टिका कुराहरू मेरो सामने प्रकट हुनथाले। एक दिन पहाडमा लामो यात्रा गरिरहेको बेला मैले आफ्नो जीवनबारे गहिरिएर विचार गर्दा सृष्टिकर्ता हुनैपर्छ भन्ने निष्कर्षमा पुगें। मैले परमेश्वरलाई विश्वास गर्ने निधो गरें। पहिला पहिला म खोक्रोपन वा समस्या नै समस्याले भरिएको एकाकीपन महसुस गर्थें। मैले परमेश्वरमाथि विश्वास गरेको दिनदेखि आफैलाई यसरी गाली गर्थें, ‘ए पास्कल, तँ आइन्दा कहिल्यै एक्लो हुनेछैनस्।’ यो एउटा अनौठो भावना थियो।
त्यसको केही समयपछि हाम्री छोरी अमांडीन जन्मिन्। तिनी मेरी आँखाकी नानी थिई। त्यसपछि मैले परमेश्वरमाथि विश्वास गरेर आफूलाई थाह भएका केही नैतिक सिद्धान्तहरूसमेत पालन गर्न थालें। चोर्न र झूट बोल्न छाडें। यसो गर्दा वरपरका मानिसहरूसित मिलेर रहनसकें। हो, मैले चाहेजस्तो प्रमोदवन त्यसबेला पाएको थिइनँ किनभने हाम्रा आफ्नै समस्याहरू थिए। त्यहाँका स्थानीय मद्य उत्पादकहरूले प्रयोग गरेका कीटनाशक तथा अन्य किसिमका औषधीहरूले मेरा बालीनालीहरूलाई पनि हानी पुऱ्यायो। यस संसारमा दुष्टता बढ्नुको कारण के हो भन्ने मेरो मनमा उठेको प्रश्न अझै अनुत्तरित नै थियो। त्योभन्दा पनि बढी पारिवारिक जीवनबारे मैले जतिसुकै धेरै कुरा पढे तापनि, मेरी प्रेयसीसित भएका चर्का बहसहरूको समाधान गर्न केही मदत पाइनँ। हाम्रा साथीहरू थोरै थिए र तिनीहरू पनि हामी दुई बीच झगडा गर्न उक्साउनेहरू थिए; कसै कसैले त मप्रति अवफादार हुन मेरी प्रेयसीलाई भड्काउने प्रयाससमेत गरे। त्यसैले एउटा उत्तम प्रमोदवन हुनैपर्छ।
मेरा प्रार्थनाहरूका जवाफ
मलाई डोऱ्याउन आग्रह गर्दै मैले परमेश्वरलाई धेरैपल्ट प्रार्थना गरें। एक दिन आइतबार बिहान एउटी मित्रैलो आइमाई आफ्नो लोपेस नाउँ गरेको सानो छोरासित हाम्रो घरमा आइन्। तिनी यहोवाकी साक्षी थिइन्। तिनले भनेका कुराहरू राम्ररी सुनें र तिनको पुनःभेट गर्ने प्रस्तावलाई पनि स्वीकारें। दुई जना लोग्ने मानिसहरू मलाई भेट्न आए। हाम्रो वार्तालापमा भएका दुइटा कुरा मैले सम्झेकोछु। एउटा प्रमोदवन, अर्को परमेश्वरको राज्य। ती कुराहरू मैले सम्झिराखें अनि केही महिनापछि मैले आफ्नो अन्तस्करण शुद्ध राख्न र वास्तविक सुख प्राप्त गर्न परमेश्वरको स्तरअनुरूप जीवन बिताउनुपर्ने रहेछ भन्ने बुझें।
परमेश्वरको वचनअनुरूप हाम्रो जीवन बिताउन सुरुमा त मेरी प्रेयसी विवाह गर्न राजी नै थिइन्। पछि तिनी परमेश्वर र उहाँका नियमहरूको गिल्ला गर्ने खराब मानिसहरूको संगतमा परिन्। वसन्तऋतुको एक साँझ घर फर्कंदा म नराम्रोसित झस्कें। घर सुनसान थियो। मेरी प्रेयसी मलाई छाडेर गइसकेकी थिइन्। त्यति मात्र कहाँ हो र, तीन वर्षकी छोरीलाई पनि लगिसकेकी थिइन्। मैले एकदिन होइन दुईदिन होइन धेरै दिन तिनीहरूलाई पर्खें तर केही काम लागेन। यसका लागि परमेश्वरलाई दोषी ठहराउनुको सट्टा मैले मदतको लागि उहाँलाई पुकारें।
त्यसको केही समयपछि नेभाराको रूखमुनि बसेर बाइबल पढ्न थालें। साँच्चै म त यसका शब्द शब्दमा लट्ठिएँ। मैले मनोविश्लेषकदेखि लिएर मनोवैज्ञानिकहरूका थुप्रै पुस्तक पढें तर यस्तो बुद्धिका कुराहरू त कहिल्यै पनि पढेको थिइनँ। यो पुस्तक पक्कै पनि ईश्वरीय प्रेरणाद्वारा लेखिएको हुनुपर्छ। येशूका शिक्षा अनि मानव व्यवहारबारे उहाँको सुझबुझ देखेर म अवाक् भएँ। मलाई भजनको पुस्तकले सान्त्वना दियो र हितोपदेशका बुद्धिले भरिएका व्यवहारिक कुराहरू देखेर म छक्क परें। मानिसलाई परमेश्वरको नजिक लैजान सृष्टिको अध्ययन नै पर्याप्त छ तर त्यो त “उहाँको शक्तिको एक छेउ मात्र हुन्” भन्ने कुरा चाँडै बुझें।—अय्यूब २६:१४.
साक्षीहरूले मकहाँ अनन्त जीवनतर्फ डोऱ्याउने सत्य (अंग्रेजी) र तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) भन्ने पुस्तकहरू पनि छाडेका थिए।a ती पुस्तकहरू पढ्दा म झस्किएँ। सत्य पुस्तकले प्रदूषण, युद्ध, बढ्दो हिंसा र आणविक संहारको डर मानिसहरूमा किन व्याप्त छ भन्ने कुरा बुझ्न मदत गऱ्यो। अनि जसरी रातो आकाशले भोलीको दिन राम्रो हुने संकेत गर्छ ती कुराहरूले पनि परमेश्वरको राज्य धेरै नजिक छ भन्ने प्रमाणित गरेको थियो। अनि पारिवारिक जीवन पुस्तक पढेपछि चाहिं यो पुस्तक आफ्नो प्रेयसीलाई पनि देखाएर बाइबलका सल्लाहहरू पालन गऱ्यौं भने हामी सुखी हुनसक्छौं भनी बताउन मन लाग्यो। तर यो असम्भव थियो।
आध्यात्मिक उन्नति गर्दै
मैले यसबारे अझ धेरै कुरा जान्न चाहेकोले एक जना साक्षी, रबरलाई मकहाँ आउन अनुरोध गरें। मैले तिनलाई बप्तिस्मा लिन चाहन्छु भनेपछि तिनी झन् छक्क परे र त्यसपछि बाइबल अध्ययन सुरु गरियो। मैले सिकिरहेका कुराहरू तुरुन्तै अरूलाई पनि बताउन थालें र राज्यभवनबाट लिएका प्रकाशनहरू अरूलाई दिन थालें।
आफ्नो जीविकोपार्जन गर्न डकर्मीको काम सिक्न थालें। परमेश्वरको वचनले मानिसलाई लाभ पुऱ्याउनसक्छ भनेर सजग भएकोले मैले हरेक सुअवसरको फाइदा उठाएर आफ्ना साथी र शिक्षकहरूलाई अनौपचारिक प्रचार गर्न थालें। एक साँझ सर्जलाई मैले मटानमा भेटें। तिनीसित केही पत्रिकाहरू थिए। मैले तिनलाई भनें, “तिमीलाई पढ्न मन पर्छ जस्तो छ नि।” “हो, तर यी पत्रिकाहरू पढ्दा पढ्दा वाक्क लागिसक्यो।” “के तिमी उपयोगी कुराहरू पढ्न चाहन्छौ?” मैले तिनलाई सोधें। त्यसबेला हाम्रो निकै राम्रो छलफल भयो, त्यसपछि तिनले बाइबलका केही साहित्यहरू स्वीकारे। अर्को हप्ता, तिनी मसित राज्यभवनमा आए र बाइबल अध्ययन थालियो।
एक दिन रबर सामु घर घर प्रचार गर्ने इच्छा व्यक्त गरें। तिनले आफ्नो दराज खोलेर मेरोलागि एकजोर सुट ल्याइदिए। अर्को आइतबार तिनीसित पहिलोपल्ट सेवकाईमा गएँ। अन्ततः मार्च ७, १९८१ मा मैले परमेश्वरप्रतिको समर्पणलाई बप्तिस्माद्वारा जनसामु प्रकट गरें।
तनाउग्रस्त हुँदा मदत
त्यसैबेला मैले अमांडीन र तिनकी आमा विदेशमा रहेछन् भनेर थाह पाएँ। दुःखको कुरा, तिनकी आमाले आफू बसिरहेको ठाउँको ऐनकानुन प्रयोग गरेर छोरी भेट्न समेत प्रतिबन्ध लगाई दिइन्। म बर्बाद भएँ। अमांडीनकी आमाले विवाह गरिन् र तिनको पतिले मेरी छोरीलाई मेरो इच्छाबिना नै आफ्नो धर्मपुत्री स्वीकारेको कानुनी चिठी पाएपछि त म झन् खंय्राङखुङ्रुङ भएँ। अब मेरो आफ्नै बच्चामाथि पनि कुनै अधिकार रहेन। कानुनी प्रक्रिया अपनाए तापनि, तिनीसित भेट्ने कुनै अधिकार पाउन सकिनँ। एकदम गऱ्हुँगो भारी बोकिरहेझैं लाग्थ्यो।
तर यहोवाको वचनले मलाई विभिन्न किसिमले सम्हाल्यो। एक दिन असाध्यै तनाउग्रस्त हुँदा मैले हितोपदेश २४:१० लाई बारम्बार दोहऱ्याएर पढें: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्को दिनमा तँ झन् कति असहाय हुनेछस्।” यस पदले मलाई भित्रभित्रै चक्नाचुर हुनदेखि जोगायो। अर्कोपटक पनि छोरीलाई भेट्ने कोसिस गरें तर असफल भएँ। त्यसपछि म झोला च्याप्प समातेर सेवकाईमा गएँ। त्यस्तो कठिन परिस्थितिबाट मैले भजन १२६:६ को सच्चाइ अनुभव गर्नसकें। त्यहाँ भन्छ: “छर्नालाई रूँदै बिउ बोकेर लैजानेले आफ्ना बिटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछ।” मैले यसबाट सिकेको पाठ के हो भने कुनै गम्भीर समस्या आइपर्दा त्यो समाधान गर्ने सक्दो प्रयास गरिसकेपछि त्यसैलाई मात्र ध्यान दिनुको साटो
यहोवाको सेवामा लागिरहनुपर्छ। आफ्नो आनन्द नगुमाउने यो नै एक मात्र तरिका हो।
अझ राम्रो लक्ष्य प्राप्त गर्नु
ममा आएको परिवर्तनहरू देखेर मेरा आमाबुबाले विश्वविद्यालयमा अध्ययन जारी राख्न सहयोग गर्ने कुरा बताउनुभयो। मैले उहाँहरूलाई धन्यवाद दिएँ तर अहिले मेरो लक्ष्य अर्कै थियो। सच्चाइले मलाई मानव दर्शन, मिथ्यावाद र खगोलशास्त्रबाट स्वतन्त्र पारिसकेको थियो। युद्धमा कहिल्यै भाग नलिने साँचो मित्रहरू मैले पाइसकेको थिएँ। अनि मैले यस पृथ्वीमा किन यतिका धेरै दुःखकष्ट छन् भन्ने प्रश्नको जवाफ पनि पाइसकेको थिएँ। परमेश्वरप्रति आभारी हुँदै आफ्नो पूरा शक्तिले म उहाँको सेवा गर्न चाहन्थें। येशू तनमनले सेवकाईमा लाग्नुभएझैं म पनि उहाँको पाइलामा हिंड्न चाहन्थें।
सन् १९८३ मा पूर्ण-समय सेवकाई गर्न डकर्मीको व्यवसाय छोडें। मेरो प्रार्थनाको जवाफस्वरूप जीविकोपार्जन गर्न पार्कमा अर्ध-समयको जागिर खाएँ। डकर्मीको शिक्षा दिने स्कूलमा साक्षी दिएको जवान पुरुष सर्जसितै अग्रगामी स्कूलमा मैले पनि भाग लिनु कति आनन्दको कुरा थियो! तीन वर्ष नियमित अग्रगामी गरिसकेपछि मलाई परमेश्वरको अझ बढी सेवा गर्ने इच्छा लाग्यो। तसर्थ, १९८६ मा विशेष अग्रगामीको रूपमा पेरिस नजिकै पर्ने प्रभानको पिक्चर्स्क्यु शहरमा खटाइएँ। प्रायजसो, साँझतिर घर फर्केपछि अरूसित यहोवाबारे कुरा गरेर बिताउन पाएको उत्साहजनक दिनको लागि म उहाँलाई घुँडा टेकेर धन्यवाद चढाउँथें। वास्तवमा, मेरा जीवनका सबैभन्दा ठूला आनन्दहरू भनेकै परमेश्वरसित कुरा गर्नु र अरूलाई उहाँबारे बताउनु हो।
अर्को विशिष्ट आनन्द भनेको फ्रान्सको दक्षिणी भेगमा पर्ने गाउँ सेबासाँमा बसोबास गर्नुहुने मेरी ६८ वर्षीया आमाले बप्तिस्मा लिनु नै हो। मेरी आमाले बाइबल पढ्न थाल्नुभएको बेलादेखि नै उहाँलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का वार्षिक ग्राहक बनाइदिएँ। उहाँ निकै व्यवहारिक व्यक्ति हुनुहुन्थ्यो र तुरुन्तै आफूले पढिरहनुभएका कुराहरूमा सच्चाइ भेट्टाउनुभयो।
बेथेल—विशिष्ट आध्यात्मिक प्रमोदवन
वाचटावर सोसाइटीले विशेष अग्रगामीहरूलाई घटाउने निर्णय गरेको बेला फ्रान्सस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा मिनिस्टेरियल ट्रेनिङ स्कूल र बेथेल सेवामा आवेदन दिएँ। मैले कसरी राम्ररी सेवा गर्नसक्छु भनेर निर्णय गर्ने काम यहोवामा सुम्पन चाहन्थें। त्यसको केही महिना बितेपछि डिसेम्बर १९८९ मा मलाई फ्रान्सको उत्तर-पश्चिमस्थित लुभियर्स बेथेल निम्त्याइयो। यो ठाउँमा काम गर्नुको परिणाम निकै राम्रो साबित भयो किनभने त्यहाँ काम गरिरहेको बेला आमाबाबु बिरामी पर्नुहुँदा मैले भाइ-बुहारीलाई सघाउन सकें। म हजारौं किलोमिटर टाढा मिसनरी सेवामा भएको भए यो काम गर्नपाउने थिइनँ।
मलाई भेट्न आमा धेरै चोटि बेथेल आउनुहुन्थ्यो। मलाई आफूबाट टाढा राखेर बलिदान चढाए सरह भए तापनि उहाँ यसो भन्ने गर्नुहुन्थ्यो: “बाबु, बेथेलमै बस। तिमीले यहोवालाई सेवा गरिरहेकोले म असाध्यै खुसी छु।” दुःखको कुरा मेरा आमाबाबु अहिले हुनुहुन्न। यस पृथ्वीलाई वास्तविक प्रमोदवन बनाइँदा उहाँहरूलाई भेट्न म कति धेरै उत्सुक छु!
“प्रमोदवन अहिले” भनेर भन्न लायक कुनै घर छ भने त्यो हो बेथेल, “परमेश्वरको घर।” किनभने वास्तविक प्रमोदवनमा अरू कुनै कुराभन्दा आध्यात्मिकता हुनुपर्छ र त्यो बेथेलमा मात्र पाइन्छ। हामीले आत्माको फल खेती गर्ने सुअवसर पाएका छौं। (गलाती ५:२२, २३) दैनिक बाइबल छलफलबाट र पारिवारिक प्रहरीधरहरा अध्ययनबाट पाउन सकिने प्रशस्त आध्यात्मिक भोजनले नै मलाई बेथेल सेवामा लागिरहन बलियो बनाएको छ। त्योभन्दा पनि धेरै त दसकौंदेखि यहोवाको सेवामा विश्वासी भई लागिरहेका आध्यात्मिकताप्रति सजग भाइबहिनीहरूसित संगत गरेकोले बेथेल आध्यात्मिक कुरामा उन्नति गर्न सकिने विशिष्ट ठाउँ हुनसकेको छ। मेरी छोरीसित छुट्टिएको १७ वर्ष भइसक्यो तैपनि, बेथेलमा अनगिन्ती जोसिला जवानहरू देखेको छु जसलाई म आफ्ना छोराछोरी सम्झन्छु र तिनीहरूकै आध्यात्मिक आनन्दमा रमाउँछु। विगत आठ वर्षमा मैले सातवटा विभिन्न जिम्मेवारीहरू सम्हालिसकें। यस्ता परिवर्तनहरू हुँदा पक्कै पनि सजिलो हुँदैन तर त्यस्तो प्रशिक्षण पछिसम्मका लागि उपयोगी हुन्छ।
मैले एक किसिमको सिमी रोपेको थिएँ जसबाट सयौं गुणा फल फल्थ्यो। त्यस्तैगरि तपाईंले खराब बीउ छर्नुहुँदा, सयौं गुणा खराबी कटनी गर्नुहुनेछ त्यसको फल फेरि धेरै चोटि भोग्नुपर्छ भन्ने कुरा मैले अनुभव गरेको छु। अनुभवबाट सिक्नु भनेको पनि स्कूलमा सिक्नुजस्तै हो जहाँ तिर्नुपर्ने अध्ययन शुल्क निकै महँगो हुन्छ। म त्यस्तो स्कूलमा कहिल्यै भर्ना हुन चाहन्नँ बरु यहोवाको मार्गमा आफूलाई लगाउन चाहन्छु। मसीही आमाबाबुले हुर्काएका जवानहरूले कस्तो ठूलो सुअवसर पाएका छन्! यहोवाको सेवामा राम्रो बीउ छर्नु र सयौं गुणा शान्ति र सन्तुष्टि प्राप्त गर्नु राम्रो हो भन्ने कुरामा कुनै शंका छैन।—गलाती ६:७, ८.
म अग्रगामी छँदा हामीले देशद्रोही लेखकको नारा कोरेको त्यो धार्मिक पुस्तक भण्डारको अगाडि ओहोरदोहोर गर्नुपर्थ्यो। त्यहाँ पसेर मैले त्यसका मालिकसित जीवित परमेश्वर र उहाँका उद्देश्यहरूबारे पनि कुरा गरेको छु। हो, परमेश्वर जीवित हुनुहुन्छ! यहोवा, एकमात्र साँचो परमेश्वर हुनुहुन्छ र आफ्ना सन्तानहरूलाई कहिल्यै नत्याग्ने विश्वासी पिता हुनुहुन्छ, त्यो नै ठूलो कुरा हो। (प्रकाश १५:४) हरेक राष्ट्रका थुप्रै मानिसहरू आध्यात्मिक प्रमोदवनमा अहिले नै रहन सकून्। अनि जीवित परमेश्वर यहोवाको सेवा र प्रशंसा गरेर आउँदै गरेको प्रमोदवनमा पनि आनन्द मनाउन सकून्!
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ २६-मा भएका चित्रहरू]
सृष्टिका अनौठा कुराहरूले गर्दा मैले परमेश्वरमाथि विश्वास गर्ने अठोट गरें। (दायाँ) हाल बेथेल सेवामा