यहोवाको नजिक हुन मानिसहरूलाई मदत गर्ने
“मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन।”—यूहन्ना १४:६.
१. पुनरुत्थान हुनुभएको येशूले आफ्ना चेलाहरूलाई के आज्ञा गर्नुभयो र यहोवाका साक्षीहरूले उक्त आज्ञा पालन गर्दा नतिजा के भएको छ?
येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।” (मत्ती २८:१९) गत १० वर्षमा यहोवाका साक्षीहरूले ३० लाखभन्दा बढी मानिसहरूलाई यहोवालाई चिन्न अनि उहाँको इच्छा गर्ने आफ्नो समर्पण जनाउन बप्तिस्मा लिन मदत गरेका छन्। तिनीहरूलाई परमेश्वरको नजिक हुने मदत दिन हामी साह्रै खुसी छौं!—याकूब ४:८.
२. थुप्रै नयाँ व्यक्तिहरूले बप्तिस्मा लिए तापनि के भएको छ?
२ तथापि, केही मुलुकहरूमा थुप्रै नयाँ चेलाहरूले बप्तिस्मा लिए तापनि त्यसको अनुपातमा राज्य प्रचारकहरूको संख्या वृद्धि भएको छैन। निस्सन्देह, मृत्युको कारणले पनि यसो भएको हो भनेर मानिलिनुपर्छ किनकि प्रकाशकहरूको वार्षिक मृत्यु दर लगभग एक प्रतिशत छ। यद्यपि, गत केही वर्षमा थुप्रै प्रकाशकहरू अन्य कारणवश तर्केर गएका छन्। किन? यो अनि यस पछिको लेखले मानिसहरू कसरी यहोवाप्रति खिचिन्छन् अनि कोही कोही किन तर्किन्छन् भन्ने सम्भाव्य कारणहरूबारे छलफल गरिनेछ।
हाम्रो प्रचारकार्यको उद्देश्य
३. (क) येशूका चेलाहरूलाई सुम्पिएको काम र प्रकाश १४:६ मा उल्लेखित स्वर्गदूतको काम कसरी एउटै हो? (ख) राज्य सन्देशप्रति मानिसहरूको चासो जगाउने सबैभन्दा प्रभावशाली तरिका के साबित भएको छ तर अझै पनि कस्तो समस्या छँदैछ?
३ यस “अन्तको समयमा” येशूका चेलाहरूलाई ‘राज्यको सुसमाचारबारे’ “सत्य ज्ञान” फैलाउने काम अह्राइएको छ। (दानियल १२:४, NW; मत्ती २४:१४) तिनीहरूको काम “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार” भएको स्वर्गदूतको जस्तै हो। (प्रकाश १४:६) सांसारिक कामकुराहरूमा चुर्लुम्म डुबेको यस संसारमा परमेश्वरको राज्यप्रति मानिसहरूको चासो जगाउने अनि यहोवाको नजिक हुन मदत दिने सबैभन्दा प्रभावशाली तरिका, पार्थीव प्रमोदवनमा अनन्त जीवन पाउने आशाबारे बताउनु हो। स्पष्टतया, प्रमोदवनमा प्रवेश गर्न मात्र परमेश्वरका जनहरूसँग संगत गर्ने व्यक्तिहरू जीवनतर्फ डोऱ्याउने साँघुरो बाटोमा यताउति नअलमली हिंड्नसक्ने भएका छैनन्।—मत्ती ७:१३, १४.
४. येशूले र स्वर्गको बीचमा उडिरहेको स्वर्गदूतले बताएअनुसार हाम्रो प्रचारकार्यको उद्देश्य के हो?
४ येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही यो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) स्वर्गको बीचमा उड्ने स्वर्गदूत “अनन्त सुसमाचार” घोषणा गर्छन् अनि पृथ्वीबासीलाई यसो भन्छन्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।” (प्रकाश १४:७) तसर्थ, हामीले सुसमाचार प्रचार गर्नुको प्रमुख उद्देश्य मानिसहरूलाई येशू मार्फत यहोवाको नजिक हुन मदत दिनु हो।
यहोवाको काममा हाम्रो भूमिका
५. हामीले आफ्नो होइन तर यहोवाको काम गरिरहेका छौं भनी पावल र येशूका कुन कुराले औंल्याउँछ?
५ सँगी अभिषिक्त मसीहीहरूलाई प्रेरित पावलले “मिलापको सेवा[बारे]” लेखे। अनि येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा परमेश्वरले मानिसहरूलाई उहाँसँग मिलापमा ल्याउनुभयो भनी तिनले बताए। पावलले भने, “परमेश्वरले हामीद्वारा आग्रह गर्नुभएझैं . . . ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौं, कि तिमीहरू परमेश्वरसँग मिलाप राख।” कस्तो हृदयस्पर्शी कुरा! चाहे हामी ‘ख्रीष्टको पक्षमा अभिषिक्त राजदूतहरू हौं’ या पार्थिव आशा भएका प्रतिनिधिहरू, यो काम हाम्रो होइन तर यहोवाको हो भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। (२ कोरिन्थी ५:१८-२०) मानिसहरूलाई खिच्नुहुने अनि येशूकहाँ आउनेहरूलाई सिकाउने त परमश्वर नै हुनुहुन्छ। येशूले यसो भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु। अनि ती सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन् भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्ने र सिक्ने प्रत्येक मकहाँ आउँछ!”—यूहन्ना ६:४४, ४५.
६. यहोवाले कसरी अहिले नै सबै जातिहरूलाई हल्लाउने काम गरिरहनुभएको छ र साथसाथै उहाँको उपासनाको ‘भवनमा’ कसले सुरक्षा पाइरहेका छन्?
६ यस आखिरी दिनमा यहोवाले कसरी मानिसहरूलाई खिच्नुहुन्छ अनि कसरी तिनीहरूका लागि ‘विश्वासको ढोका खोलिदिनुहुन्छ’? (प्रेरित १४:२७; २ तिमोथी ३:१) एउटा मुख्य तरिका, उहाँले आफ्ना साक्षीहरूलाई छुटकाराको सन्देश र यस दुष्ट रीतिरिवाज विरुद्ध न्याय उद्घोषणा गर्न लगाउनुभएर हो। (यशैया ४३:१२; ६१:१, २) यो विश्वव्यापी उद्घोषणाले चाँडै आउन लागेको न्यायबारे पूर्व सूचना दिएर सबै जातिहरूलाई अहिले नै हल्लाउने काम गरिरहेको छ। यसका साथसाथै परमेश्वरको नजरमा ‘धन-सम्पत्तिझैं’ हुने मानिसहरूले यस रीतिरिवाजबाट निस्केर उहाँको साँचो उपासनाको ‘भवनमा’ सुरक्षा पाइरहेका छन्। यसरी हाग्गैले लिपिबद्ध गरेका आफ्ना भविष्यसूचक शब्दहरू यहोवाले पूरा गरिरहनुभएको छ: “सबै जातिहरूलाई हल्लाउनेछु र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।”—हाग्गै २:६, ७; प्रकाश ७:९, १५.
७. यहोवाले कसरी मानिसहरूको हृदय खोल्नुहुन्छ अनि व्यक्तिविशेषलाई कसरी आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ?
७ आफ्ना साक्षीहरूले “बोलेका कुरा ध्यानसित सुनून्” भनेर यहोवाले यी ईश्वरभीरु मानिसहरू अर्थात् “सबै जाति जातिका धन-सम्पत्तिहरू[का]” हृदय खोल्नुहुन्छ। (हाग्गै २:७; प्रेरित १६:१४) यहोवाले प्रथम शताब्दीमा झैं उहाँको मदतका लागि पुकारा गर्ने निष्कपट मानिसहरूकहाँ जान आफ्ना साक्षीहरूलाई कहिलेकाहीं स्वर्गदूत मार्फत डोऱ्याउनुहुन्छ। (प्रेरित ८:२६-३१) यहोवाले आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत गर्नुभएका अद्भुत प्रबन्धहरूबारे सिकेपछि मानिसहरू यहोवाको प्रेमद्वारा उहाँतर्फ खिचिन्छन्। (१ यूहन्ना ४:९, १०) हो, परमेश्वरले आफ्नो ‘अनन्त प्रेमद्वारा’ मानिसहरूलाई आफू अनि आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ।—यर्मिया ३१:३.
यहोवाले कसलाई आफूतिर खिच्नुहुन्छ?
८. यहोवा कस्ता मानिसहरूलाई खिच्नुहुन्छ?
८ यहोवाले उहाँलाई खोज्नेहरूलाई आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ। (प्रेरित १७:२७) तिनीहरू मसीहीजगत् तथा संसारभरि भइरहेका “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने . . . मानिसहरू” हुन्। (इजकिएल ९:४) तिनीहरू “आत्मामा दरिद्र” छन्। (मत्ती ५:३) साँच्चै, तिनीहरू “पृथ्वीका दीन जन” हुन् जसले प्रार्थिव प्रमोदवनमा सदा सर्वदा बास गर्नेछन्।—सपन्याह २:३.
९. यहोवाले मानिसहरू “अनन्त जीवनका लागि नियुक्त भएका” हुन् कि होइनन् भनेर कसरी थाह पाउनुहुन्छ अनि तिनीहरूलाई कसरी खिच्नुहुन्छ?
९ यहोवाले मानिसको हृदय पढ्न सक्नुहुन्छ। राजा दाऊदले आफ्नो छोरा सुलेमानलाई यसो भने: “परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाह पाउनुहुन्छ। यदि उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।” (१ इतिहास २८:९) पापहरूको क्षमा अनि परमेश्वरको नयाँ धार्मिक रीतिरिवाजमा अनन्त जीवन पाउने ईश्वरीय प्रबन्धहरूप्रति सकारात्मक प्रतिक्रिया देखाउँछ कि देखाउँदैन भनी यहोवाले मानिसहरूको हृदय, मनोभाव वा मनोवृत्तिबाट थाह पाउनुहुन्छ। (२ पत्रुस ३:१३) यहोवाले आफ्ना साक्षीहरूलाई उहाँको वचन प्रचार गर्नका साथै सिकाउन लगाउनुभएर “अनन्त जीवनका लागि नियुक्त भएकाहरू” आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ र तिनीहरू ‘विश्वास गर्न थाल्छन्।’—प्रेरित १३:४८.
१०. यहोवाले कसैलाई खिच्नु अनि कसैलाई नखिच्नु पूर्वनिर्धारित भविष्यको कुरा होइन भनेर केले देखाउँछ?
१० के यहोवाले कसैलाई खिच्नु अनि कसैलाई नखिच्नु पूर्वनिर्धारित भविष्यको कुरा हो? पटक्कै होइन! परमेश्वरले मानिसहरूलाई उहाँतर्फ खिच्नु नखिच्नु त तिनीहरूकै इच्छामा निर्भर छ। उहाँ तिनीहरूको स्वेच्छालाई कदर गर्नुहुन्छ। यहोवाले ३,००० वर्षभन्दा अघि मोशा मार्फत इस्राएलीहरूलाई छनौट गर्ने मौका दिनुभएझैं आज पृथ्वीबासीलाई छनौट गर्ने मौका दिनुभएको छ। उहाँले मोशा मार्फत यसो भन्नुभयो: “आज मैले तिमीहरूको अगि जीवन र हित, औ मृत्यु र अहित राखेको छु। . . . आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ।”—व्यवस्था ३०:१५-२०.
११. इस्राएलीहरूले कसरी जीवन रोज्नुपर्थ्यो?
११ ध्यान दिनुहोस्, इस्राएलीहरूले ‘यहोवालाई प्रेम गरेर, उहाँका आज्ञा मानेर अनि उहाँसँगै लीन भएर’ जीवन रोज्नुपर्थ्यो। मोशाले यी शब्दहरू भन्दा इस्राएल प्रतिज्ञाकृत देशमा प्रवेश गरेको थिएन। त्यतिखेर तिनीहरू मोआबी बेंसीमा थिए अनि यर्दन नदी तरेर कनान प्रवेश गर्न लागेका थिए। आफूले पाउनै लागेको “दूध र मह बहने” “असल र ठूलो देश[बारे]” तिनीहरूले कल्पना गर्नु स्वभाविकै थियो। यद्यपि, आफ्नो कल्पना साकार बनाउन तिनीहरूले यहोवालाई प्रेम गर्नुपर्थ्यो, उहाँका आज्ञा मान्नुपर्थ्यो अनि उहाँमा लीन हुनुपर्थ्यो। (प्रस्थान ३:८) मोशाले यसो भनेर उक्त कुरा स्पष्ट पारे: “परमप्रभु परमेश्वरलाई प्रेम गर्न, उहाँको मार्गमा हिंड़न र उहाँको आज्ञा, विधि विधान पालन गर्नलाई म तिमीहरूलाई आदेश दिंदछु—तब मात्र तिमीहरू जिउने छौ, तिमीहरूको वृद्धि हुनेछ र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु परमेश्वरले तिमीहरूलाई आशिष दिनुहुनेछ।”—व्यवस्था ३०:१६.
१२. इस्राएलीहरूको उदाहरणले हामीलाई हाम्रो प्रचार र शिक्षणकार्यबारे के सिकाउनुपर्ने हो?
१२ के उक्त कुराले यस अन्तको समयमा हाम्रो प्रचार र शिक्षणकार्यबारे कुनै पाठ सिकाउँदैन र? हामी आउँदै गरेको पार्थिव प्रमोदवनबारे कल्पना गर्छौं अनि सेवकाईमा अरूलाई बताउँछौं। तर आफ्नो स्वार्थपूर्तिका लागि मात्र परमेश्वरको सेवा गऱ्यौं भने पार्थिव प्रमोदवनको प्रतिज्ञा पूरा भएको न हामीले देख्नेछौं नता हामीले प्रचार गरेका चेलाहरूले नै देख्नेछन्। इस्राएलीहरूले जस्तै हामी अनि हामीले सिकाएकाहरूले ‘यहोवालाई प्रेम गर्न, उहाँका आज्ञा मान्न अनि उहाँसँगै लीन हुन’ सिक्नुपर्छ। यो कुरा सेवकाईमा भाग लिंदा ध्यानमा राख्यौं भने, मानिसहरूलाई परमेश्वरतर्फ खिच्न हामी उहाँसँगै काम गरिरहेका हुनेछौं।
परमेश्वरका सहकर्मीहरू
१३, १४. (क) पहिलो कोरिन्थी ३:५-९ अनुसार हामी कसरी परमेश्वरका सहकर्मी बन्छौं? (ख) वृद्धिको श्रेय कसलाई जान्छ र किन?
१३ पावलले परमेश्वरसँग काम गर्ने सन्दर्भलाई खेतको दृष्टान्तद्वारा बताए। तिनले यसरी लेखे: “तब अपोल्लस के हो? र पावल के हो? हरेकलाई प्रभुले दिनुभएझैं सेवकहरू ता हुन्, र जसद्वारा तिमीहरूले विश्वास गऱ्यौ। मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्वरले चाहिं बढ़ाउनुभयो। यसकारण नता रोप्ने केही हो, न पानी हाल्ने, बढ़ाउने परमेश्वरनै हुनुहुन्छ। अब हामी रोप्ने र पानी हाल्ने एउटै हौं। तर हरेकले आफ्नो आफ्नो मेहनतअनुसार आफ्नो आफ्नै इनाम पाउनेछ। किनभने हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरू परमेश्वरका खेत . . . हौ।”—१ कोरिन्थी ३:५-९.
१४ परमेश्वरका सहकर्मीहरूको हैसियतमा हामीले मानिसहरूको हृदयमा “राज्यको वचन” राम्ररी रोप्नुपर्छ। त्यसपछि, राम्ररी तयारी गरिएको पुनःभेट र बाइबल अध्ययनद्वारा मानिसहरूको चासोलाई मलजल गर्नुपर्छ। माटो अर्थात् हृदय राम्रो छ भने, यहोवाले बाइबल सत्यको बिउलाई फलदायी रूख बनाउनुहुने छ। (मत्ती १३:१९, २३) उहाँ मानिसहरूलाई आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ। त्यसकारण निचोडमा भन्ने हो भने, यहोवाले मानिसहरूको हृदयमा सत्यको बिउ बढाउनुका साथै तिनीहरूलाई आफू र आफ्नो पुत्रतर्फ खिच्नुभएकोले राज्य उद्घोषकहरूको संख्यामा वृद्धि भएको हो।
सधैंभरि रहने निर्माण कार्य
१५. हामीले अरूको विश्वास बढाउन मदत दिने तरिका औंल्याउन पावलले कस्तो दृष्टान्त चलाए?
१५ हामी राज्य उद्घोषहरूको संख्या वृद्धि हुँदा खुसी त हुन्छौं नै। तर हामी सधैं मानिसहरूले ‘यहोवालाई प्रेम गरून्, उहाँका आज्ञा मानून् अनि उहाँसँगै लीन होऊन्’ भन्ने निष्कपट आशा गर्छौं। कोही सेलाएर तर्किंदा हामीलाई दुःख लाग्छ। के यसो हुन नदिन केही गर्नसक्छौं? पावलले अर्को दृष्टान्तमा हामी अरूको विश्वास बढाउन कसरी मदत गर्नसक्छौं भनी औंल्याए। तिनले यसरी लेखे: “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्तैन। तर यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरू, काठ, घाँस, परालको घर बनाउँछ भने, हरेक मानिसको काम प्रत्यक्ष हुनेछ। त्यो आगैमा प्रकट हुनेभएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ, र हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्ने आगैले प्रमाण दिनेछ।”—१ कोरिन्थी ३:११-१३.
१६. (क) पावलले चलाएका दुइटा दृष्टान्तको उद्देश्य कसरी भिन्नाभिन्नै छ? (ख) हाम्रो निर्माण कार्य कसरी असन्तोषजनक अनि आगोमा बच्न नसक्ने हुनसक्छ?
१६ पावलको खेतको दृष्टान्तमा बताएअनुसार बिरुवा बढ्ने प्रक्रिया होसियारी साथ बिउ रोप्नु, लगातार पानी हाल्नु अनि परमेश्वरको आशिष्मा निर्भर छ। प्रेरितको अर्को दृष्टान्तले मसीही सेवकले गरेको निर्माण कार्य कस्तो हुन्छ, त्यसको लागि त्यो सेवक नै जिम्मेवार हो भनेर देखाउँछ। के तिनले उत्कृष्ट सामग्रहीहरू प्रयोग गरेर बलियो जगमा निर्माण गरेको छ? पावल यस्तो चेताउनी दिन्छन्: “हरेक मानिसले ध्यान देओस् आफैले त्यसमा कसरी बनाउँदैलान्छ।” (१ कोरिन्थी ३:१०) प्रमोदवनमा अनन्त जीवन पाउने आशाप्रति कुनै व्यक्तिको चासो जगाएपछि के हामी तिनलाई आधारभूत धर्मशास्त्रीय ज्ञान मात्र सिकाइरहन्छौं अनि त्यसपछि चाहिं मुख्यतः अनन्त जीवन पाउन के गर्नुपर्छ भन्ने कुरालाई मात्र जोड दिन्छौं? के हामी यसो मात्र भनेको भनेकै गर्छौं: ‘तपाईं प्रमोदवनमा सधैंभरि बाँच्न चाहनुहुन्छ भने अध्ययन गर्नुपर्छ, सभाहरू धाउनुपर्छ अनि प्रचारकार्यमा भाग लिनुपर्छ’? त्यसो हो भने, हामीले तिनको विश्वास बलियो जगमा निर्माण गरिरहेका हुनेछैनौं। अनि त्यस्तो विश्वास आगोद्वारा जाँच हुँदा सायद बच्नसक्दैन वा लामो समयसम्म स्थिर रहनेछैन। केही वर्ष यहोवाको सेवा गरे बापत प्रमोदवनमा जीवन पाउने आशाको भरमा मात्र मानिसहरूलाई यहोवाप्रति खिच्नु भनेको “काठ, घाँस, परालको घर” बनाउनु जस्तै हो।
परमेश्वर र ख्रीष्टप्रति प्रेम बढाउने
१७, १८. (क) कुनै व्यक्तिको विश्वास स्थिर रहनका लागि के अपरिहार्य छ? (ख) हामी कुनै व्यक्तिको हृदयमा येशूलाई बास गराउन कसरी मदत गर्नसक्छौं?
१७ अटल विश्वास बनाउने हो भने, येशू ख्रीष्ट मार्फत यहोवा परमेश्वरसित गाँसिएको व्यक्तिगत सम्बन्धमा आधारित हुनुपर्छ। हामी असिद्ध मानिसहरू भएको हुनाले परमेश्वरसँग उहाँको पुत्र मार्फत मात्र शान्तिमय सम्बन्ध गाँस्नसक्छौं। (रोमी ५:१०) येशूले भन्नुभएको यो कुरा नबिर्सनुहोस्: “मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्तैन।” अरूलाई विश्वास जगाउने मदत दिन “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्तैन।” यसमा के विथोलित छ?—यूहन्ना १४:६; १ कोरिन्थी ३:११.
१८ ख्रीष्टलाई जग बनाएर निर्माण गर्नुको मतलब, बाइबल विद्यार्थीलाई येशूप्रति गहिरो प्रेम विकास गर्नसक्ने गरी सिकाउनु हो। उद्धारक, मण्डलीको शिर, मायालु प्रधान पुजाहारी अनि शासनारूढ राजाको हैसियतमा येशूले निर्वाह गर्नुहुने भूमिकाबारे सम्पूर्ण ज्ञान हासिल गरेर बाइबल विद्यार्थीले यस्तो प्रेम विकास गर्नुपर्छ। (दानियल ७:१३, १४; मत्ती २०:२८; कलस्सी १:१८-२०; हिब्रू ४:१४-१६) यसको मतलब, विद्यार्थीहरूका लागि येशू यति वास्तविक हुनुपर्छ कि उहाँ तिनीहरूको हृदयमा बास गर्नुभए जस्तै हुनुपर्छ। हामीले तिनीहरूका लागि गरेको प्रार्थना पावलले एफिससका मसीहीहरूका लागि गरेका बिन्ती जस्तै हुनुपर्छ। तिनले यसरी लेखे: “म आफ्ना घुँड़ा पिताको सामने टेक्तछु, . . . कि तिमीहरूका हृदयमा ख्रीष्ट विश्वासद्वारा बास गर्नुहोला, यस हेतुले कि, प्रेममा जरा हालेका र जग बसालिएका” हुनसक।—एफिसी ३:१४-१७.
१९. हाम्रा बाइबल विद्यार्थीहरूको हृदयमा ख्रीष्टप्रतिको प्रेम विकास गराउनुको परिमाण कस्तो हुनुपर्छ तर तिनीहरूलाई के सिकाउनै पर्छ?
१९ हामीले आफ्ना विद्यार्थीहरूको हृदयमा येशूप्रतिको प्रेम विकास हुने गरी निर्माण गऱ्यौं भने तिनीहरूले स्वतः यहोवा परमेश्वरलाई पनि प्रेम गर्नेछन्। येशूले देखाउनुभएको प्रेम, भावना, अनि अनुकम्पा यहोवाका गुणहरूको साँचो प्रतिबिम्ब हुन्। (मत्ती ११:२८-३०; मर्कूस ६:३०-३४; यूहन्ना १५:१३, १४; कलस्सी १:१५; हिब्रू १:३) अतः मानिसहरूले येशूलाई चिनेर प्रेम गरेपछि यहोवालाई पनि चिन्नुका साथै प्रेम गर्नेछन्।a (१ यूहन्ना ४:१४, १६, १९) येशूले मानिसजातिका लागि गर्नुभएका सबै कार्यहरूका पछाडि यहोवा हुनुभएकोले उहाँलाई धन्यवाद दिनुपर्छ, उहाँको प्रशंसा गर्नुपर्छ अनि “उद्धार गर्नुहुने परमेश्वर[को]” हैसियतमा उहाँको उपासना गर्नुपर्छ भनेर हामीले बाइबल विद्यार्थीहरूलाई सिकाउनुपर्छ।—भजन ६८:१९, २०; यशैया १२:२-५; यूहन्ना ३:१६; ५:१९.
२०. (क) हामी मानिसहरूलाई परमेश्वर र उहाँको पुत्रको नजिक हुन कसरी मदत गर्नसक्छौं? (ख) यस पछिको लेखमा के छलफल गरिनेछ?
२० आउनुहोस्, परमेश्वरका सहकर्मीहरूको हैसियतमा हामी मानिसहरूको हृदयमा प्रेम अनि विश्वास विकास गर्न मदत दिएर तिनीहरूलाई परमेश्वर र उहाँको पुत्रको नजिक हुन मदत गरौं। यसो गर्नाले तिनीहरूका लागि यहोवा वास्तविक हुनुहुनेछ। (यूहन्ना ७:२८) तिनीहरूले ख्रीष्ट मार्फत परमेश्वरसँग घनिष्ठ सम्बन्ध गाँस्न सक्नेछन् अनि उहाँलाई प्रेम गर्नेछन् र उहाँमा लीन हुनेछन्। यहोवाका अद्भुत प्रतिज्ञाहरू उहाँले तोक्नुभएको समयमा पूरा हुनेछ भन्ने विश्वास गर्दै तिनीहरू प्रेमद्वारा उत्प्रेरित भएर अनन्तसम्म उहाँको सेवामा लागिरहनेछन्। (विलाप ३:२४-२६: हिब्रू ११:६) तथापि, अरूलाई विश्वास, आशा र प्रेम विकास गर्न मदत दिनुका साथसाथै हामीले आफ्नै विश्वास पनि ठूलो तुफान आउँदा ढलपल नहुने बलियो जहाजझैं बनाउनुपर्छ। यस पछिको लेखमा यसबारे छलफल गरिनेछ।
[फुटनोट]
a येशूलाई अनि उहाँ मार्फत उहाँको पिता यहोवालाई अझ राम्ररी चिन्ने अत्युत्तम मदत वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकबाट पाउन सकिन्छ।
पुनरावलोकन गर्दा
◻ राज्य सन्देशप्रति हामी मानिसहरूको चासो अक्सर कसरी जगाउँछौं तर कस्तो खतरा छ?
◻ यहोवाले कस्ता मानिसहरूलाई आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ?
◻ प्रतिज्ञा गरिएको देशमा इस्राएल राष्ट्रको प्रवेश कुन कुरामा निर्भर थियो अनि हामी यसबाट के सिक्नसक्छौं?
◻ मानिसहरूलाई यहोवा र उहाँको पुत्रको नजिक हुने मदत दिन हामी कस्तो भूमिका निर्वाह गर्छौं?
[पृष्ठ १०-मा भएको चित्र]
हामीले मानिसहरूलाई प्रमोदवनमा पाइने अनन्त जीवनबारे बताए तापनि हाम्रो मुख्य उद्देश्य उनीहरूलाई यहोवातर्फ खिच्नु हो
[पृष्ठ १३-मा भएको चित्र]
राम्ररी तयारी गरेका छौं भने हाम्रो पुनःभेट एकदमै प्रभावशाली हुनसक्छ