तपाईंको बानीले तपाईंलाई फाइदा गरून्
एक जना मान्छे एथेन्स शहरको मोफसलमा बसेको १२ वर्ष भइसकेको थियो। कामबाट तिनी दिनहुँ एउटै बाटो भएर घर फर्कन्थे। त्यसपछि तिनी शहरको अर्को मोफसलमा बसाइँ सरे। एक दिन कामपछि तिनी आफ्नो घरतिर लागे। आफू पहिले बसेको ठाउँमा आइपुगेपछि मात्र तिनले आफू गलत बाटो आएको चाल पाए। बानी बसिसकेकोले तिनी आफ्नो पुरानो घरतिरै पो लागेका रहेछन्!
त्यसैकारण त बानीलाई कहिलेकाहीं विचारविना गरिने क्रियाकलाप पनि भनिन्छ र यसले हाम्रो जीवनमा निकै प्रभाव पार्छ। यसर्थ, बानीलाई आगोसँग तुलना गर्न सकिन्छ। आगोले अँध्यारोमा उज्यालो दिन्छ र यसले हाम्रो शरीरलाई न्यानो बनाउनुका साथै खाना तातो पार्छ। यद्यपि, आगो धनजन सबै नाश गर्ने खतरनाक शत्रु पनि हुनसक्छ। बानी भनेको पनि त्यस्तै हो। राम्रो बानी बसालेको खण्डमा यसले धेरै लाभ पुऱ्याउनसक्छ। तर त्यो विनाशकारी पनि हुनसक्छ।
माथि उल्लिखित व्यक्तिको आफ्नो बानीले गर्दा शहरको व्यस्त ट्राफिकमा तिनको केही समय बरबाद मात्र भयो। तर त्योभन्दा महत्त्वपूर्ण कुराहरूको मामिलामा बानीले हामीलाई कि त सफलता प्रदान गर्नसक्छ या विनाशतर्फ डोऱ्याउनसक्छ। बाइबलमा उल्लिखित केही घटनाहरूलाई विचार गर्नुहोस्। यी उदाहरणहरूले हामीलाई बानीले कसरी परमेश्वरको सेवामा र उहाँसँगको सम्बन्धमा मदत वा बाधा पुऱ्याउनसक्छ, सो देखाउँछन्।
असल र खराब बानीसम्बन्धी बाइबलमा पाइने उदाहरणहरू
नूह, अय्यूब र दानियल सबैले परमेश्वरसँगको घनिष्ठ सम्बन्धको आनन्द उठाए। बाइबलमा तिनीहरूको “धार्मिकता[को]” जोडदार प्रशंसा गरिएको छ। (इजकिएल १४:१४) उल्लेखनीय कुरा के छ भने, यी तीनै जना पुरुषहरूले आफ्नो जीवनमा राम्रो बानी विकास गरेका थिए।
नूहलाई फुटबल खेल्ने मैदानभन्दा ठूलो र उचाइमा पाँच तले घरभन्दा अग्लो जहाज निर्माण गर्ने आज्ञा दिइयो। त्यस्तो विशाल कार्य गर्नु परेमा पुरातन समयका कुनै पनि जहाज निर्माता तर्सने थियो। नूह र तिनको परिवारका सात सदस्यले कुनै आधुनिक उपकरणविना नै जहाज निर्माण गरे। यसबाहेक, नूहले आफू वरपरका मानिसहरूलाई प्रचार गरिरहे। तिनले आफ्नो परिवारको आध्यात्मिक र भौतिक आवश्यकता पनि पूरा गरिरहेका थिए भनी हामी निश्चित हुनसक्छौं। (२ पत्रुस २:५) यो सबै काम निश्चय पनि नूहको काम गर्ने राम्रो बानीले गर्दा पूरा भएको हुनुपर्छ। यसबाहेक, बाइबल इतिहासमा नूह “परमेश्वरले . . . आज्ञा गरेबमोजिम” र “परमप्रभुले तिनीलाई हुकूम गर्नुभएबमोजिम” गर्ने व्यक्तिको रूपमा चिनिए। (उत्पत्ति ६:९, २२; ७:५) जलप्रलयपछि र बाबेलमा परमेश्वरको विद्रोह गर्ने प्रयासपछि समेत तिनी परमेश्वरसित हिंडेको कारण तिनलाई बाइबलमा “निर्दोष” व्यक्ति भनेर सम्बोधन गरिएको छ। साँच्चै, ९५० वर्षको उमेरमा मृत्यु नहोउञ्जेल नूह परमेश्वरसित हिंडिरहे।—उत्पत्ति ९:२९.
आफ्नो असल बानीले गर्दा अय्यूब “निर्दोष र सोझो” मानिस हुनसके। (अय्यूब १:१, ८; २:३) बानी बसिसकेको कारण आफ्ना सबै छोराछोरीको भोजपछि तिनीहरूले ‘पाप गरेर मनमा ईश्वर निन्दा गरे होलान्’ भनी परिवारको पूजाहारीको रूपमा तिनी बलि चढाउँथे। “तिनी सधैं यसै गर्थे।” (अय्यूब १:५) अय्यूबको परिवारमा यहोवाको उपासनासित सम्बन्धित चलनहरूले निस्सन्देह प्रथम स्थान पाउँथे।
दानियलले आफ्नो लामो जीवनभरि यहोवाको “निरन्तर” सेवा गरे। (दानियल ६:१६, २०) दानियलको कस्ता असल आध्यात्मिक बानीहरू थिए? एउटा त, तिनी यहोवालाई नियमित तवरमा प्रार्थना गर्थे। यसो नगर्ने शाही आदेशको बावजूद “आफ्नो आदतअनुसार तिनी घुँड़ा टेकेर दिनमा तीनपल्ट प्रार्थना गर्थें, र आफ्ना परमेश्वरलाई धन्यवाद चढ़ाउँथे।” (दानियल ६:१०) आफ्नो जीवन नै खतरामा परे तापनि तिनी परमेश्वरलाई प्रार्थना नगरी बस्न सकेनन्। निस्सन्देह, यस्तो बानीले तिनलाई जीवनभरि परमेश्वरप्रति उल्लेखनीय निष्ठा कायम राख्न बल दियो। दानियलको अध्ययन गर्ने र परमेश्वरका रोमाञ्चक प्रतिज्ञाहरूमा गहिरिएर ध्यान दिने असल बानी पनि पक्कै थिए होलान्। (यर्मिया २५:११, १२; दानिएल ९:२) यी असल बानीले तिनलाई निश्चय पनि अन्तसम्म धीरजी र वफादार भई जीवनको दौड पूरा गर्न मदत गऱ्यो।
यसको ठीक विपरीत खराब बानीले गर्दा दीनाले दुःखदायी नतिजा भोग्नुपऱ्यो। तिनको “त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न” जाने बानी थियो, जो यहोवाका उपासकहरू थिएनन्। (उत्पत्ति ३४:१) हेर्दा अहानिकारक जस्तो देखिने यो बानीले ठूलो आपत् निम्त्यायो। सर्वप्रथम तिनी “आफ्ना बाबुका घरानामा सबैभन्दा बढ़ी आदरणीय” ठानिने युवक शकेमद्वारा बिटुलो भइन्। अनि रिसले चूर भएका तिनका दुई दाइले शहरका सबै पुरुषहरूको हत्या गरे। कस्तो भयानक नतिजा!—उत्पत्ति ३४:१९, २५-२९.
हाम्रो बानीले हामीलाई हानि होइन तर फाइदा गर्छ भनी हामी कसरी पक्का हुनसक्छौं?
आफ्नो बानीको सदुपयोग गर्ने
“बानी भनेको पूर्वनिर्धारित कुरा हो” भनी एक जना दार्शनिकले लेखे। तर यो पूर्वनिर्धारित कुरा होइन। हामी खराब बानी त्यागेर असल बानी विकास गर्नसक्छौं भनी बाइबलले स्पष्टसँग देखाउँछ।
असल बानीले गर्दा मसीही जीवनशैली अझ प्रभावकारी हुन्छ भने त्यो कायम राख्न सजिलो हुन्छ। ग्रीसका एलेक्स नाउँ गरेका मसीही यसो भन्छ: “तालिकाअनुसार आफ्नो कामकुरा गर्ने बानी बसाल्दा मेरो बहुमूल्य समय निकै बच्छ।” मसीही प्राचीन थियोफिलसले आफूलाई प्रभावकारी हुन मदत गर्ने एउटा कुरा योजना बनाउने बानी हो भनी बताउँछन्। तिनी भन्छन्: “योजना बनाउने राम्रो बानी बसालिन भने म मसीही जिम्मेवारीहरू सफलतासाथ पूरा गर्न सक्दिनँ भनी मलाई राम्ररी थाह छ।”
मसीहीहरूको हैसियतमा हामीलाई ‘त्यहीबमोजिम चल्न’ आह्वान गरिएको छ। (फिलिप्पी ३:१६) रुटिन भन्नाले “स्थापित प्रक्रियाअनुसार गर्ने . . . बानीलाई” पनि बुझाउँछ। त्यस्तो असल बानीले हामीलाई फाइदा गर्छ किनभने हामीले असल बानी बसालिसकेको कारण प्रत्येक पाइला चाल्नुअघि हामीले सोचिरहनु आवश्यक छैन। बसिसकेका बानीहरू विचारविना स्वतः आउने गर्छन्। गाडी हाँक्ने राम्रो बानी भएको चालकले सडकमा खतरा सामना गर्दा जसरी तुरुन्तै सही निर्णय गर्नसक्छ, त्यसरी नै असल बानीले पनि हामीलाई मसीही मार्गमा हिंड्दा क्षणभरमै सही निर्णयहरू गर्न मदत गर्नसक्छ।
अंग्रेज लेखक जेरेमी ट्रेलर यसो भन्छन्: “काम गर्दागर्दै बानी बस्छ।” हाम्रा बानीहरू असल छन् भने कठिनाइविना नै असल कार्यहरू गर्नसक्छौं। उदाहरणका लागि, मसीही सेवकको हैसियतमा नियमित तवरमा प्रचारकार्यमा भाग लिने हाम्रो बानी छ भने, क्षेत्र सेवकाईमा जान त्यति गाह्रो हुँदैन र आनन्ददायी पनि हुन्छ। प्रेरितहरूको सन्दर्भमा हामी यस्तो लेखिएको पाउँछौं, “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।” (प्रेरित ५:४२; १७:२) अर्कोतर्फ, हामी कहिलेकाहीं मात्र क्षेत्र सेवकाईमा भाग लिन्छौं भने अत्यास लाग्नसक्छ र अप्ठ्यारो नमानीकन यस महत्त्वपूर्ण मसीही गतिविधिमा भाग लिन केही समय लाग्नसक्छ।
हाम्रो मसीही रुटिनका अन्य पक्षहरू पनि त्यस्तै हुन्। असल बानीले हामीलाई नियमित तवरमा ‘परमेश्वरको वचन दिन-रात’ पढ्न मदत गर्नसक्छ। (यहोशू १:८; भजन १:२) एक जना मसीहीको बेलुका सुत्नुअघि २०/३० मिनेट बाइबल पढ्ने बानी छ। तिनी थकित हुँदासमेत बाइबल नपढी सुतेमा राम्रोसित निद्रै लाग्दैन। तिनीलाई उठेर आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्नैपर्छ। यस्तो असल बानीले तिनलाई धेरै चोटि वर्षेनी पूरै बाइबल पढी सिध्याउन मदत गरेको छ।
हाम्रो प्रमुख आदर्श, येशू ख्रीष्टको पनि बाइबल छलफल गरिने सभाहरूमा उपस्थित हुने बानी थियो। “आफ्नो दस्तुरअनुसार विश्रामको दिनमा सभाघरमा गएर पढ़नालाई खड़ा हुनु[हुन्थ्यो]।” (लूका ४:१६) ठूलो परिवार भएको जो नाउँको प्राचीनले जागिरमा धेरै समय बिताउनुपर्छ। तर बानीले गर्दा नियमित तवरमा सभाहरू धाउने इच्छा र आवश्यकता तिनले विकास गरेका छन्। तिनी यसो भन्छन्: “यस्तो बानीले मलाई अघि बढिरहन मदत गर्छ भने यसबाट म चुनौती तथा समस्याहरू सफलतासाथ सामना गर्न आवश्यक आध्यात्मिक बल प्राप्त गर्नसक्छु।”—हिब्रू १०:२४, २५.
त्यस्ता बानीहरू मसीही जीवनको दौडको निम्ति अत्यावश्यक छन्। यहोवाका जनहरूले सतावट भोग्नुपरेको एउटा मुलुकबाट प्राप्त भएको रिपोर्ट यसप्रकार छ: “असल आध्यात्मिक बानी र सच्चाइको निम्ति गहिरो मूल्यांकन हुनेहरूलाई परीक्षा आइपर्दा दृढ रहनु कुनै गाह्रो पर्दैन तर ‘समय’ अनुकूल हुँदा समेत सभाहरूमा उपस्थित नहुने, क्षेत्र सेवकाईमा अनियमित र स-साना कुराहरूमा सम्झौता गर्नेहरू ‘कठिन’ परीक्षामा असफल हुन्छन्।”—२ तिमोथी ४:२.
खराब बानीहरू त्यागेर असल बानी बसाल्नुहोस्
भनिन्छ, ‘मानिसले ती गुणहरू मात्र खेती गर्नुपर्छ जसको तिनी दास हुन इच्छुक छन्।’ खराब बानीहरू साँच्चै दमनकारी मालिक हुन्। तैपनि, त्यस्ता बानीहरूबाट छुटकारा पाउन सकिन्छ।
स्टेलालाई एक समय असाध्यै टिभी हेर्ने बानी लागेको थियो। तिनी यसरी स्वीकार्छिन्: “मेरा सबै खराब बानीहरूपछाडि वास्तवमा ‘अहानिकारक’ कारणहरू छन्।” अत्यन्तै टिभी हेर्ने बानीको पछाडि पनि त्यस्तै कारण थियो। तिनले आफैलाई भन्ने गर्थिन्, “एकछिन आराम गर्न” वा “एकोहोरो काम नगरी मन भुलाउन” मात्र टिभी हेर्नेछु। तर तिनले आफ्नो बानी नियन्त्रण गर्न सकिनन् र घण्टौंसम्म टिभीअगाडि नै हुन्थिन्। तिनी भन्छिन्, “अरू केही नभए पनि यस खराब बानीले मेरो आध्यात्मिक उन्नतिमा अवरोध खडा गऱ्यो।” दृढ संकल्प गरेर तिनले बल्लतल्ल धेरै टिभी हेर्ने बानी कम गरिन् र कार्यक्रमहरू पनि छनौट गरेर मात्र हेर्न थालिन्। स्टेला भन्छिन्, “म सधैं यो बानी छोड्न चाहनुको कारण सम्झन्छु र आफ्नो संकल्प नतोड्न यहोवामा भर पर्छु।”
कारालमबस नाउँ गरेका मसीहीलाई आलेटाले गर्ने खराब बानीले आध्यात्मिक उन्नतिमा बाधा पुऱ्याएको थियो। “जब मैले आलेटाले गर्ने बानी राम्रो होइन भनी चाल पाएँ तब जीवनमा परिवर्तन गर्न थालें। लक्ष्यहरू निर्धारण गर्दा तोकेरै कामकुरा कहिले र कसरी सुरु गर्ने भनी म योजना बनाउँथे। आफ्ना निर्णय र योजनाहरू नियमित तवरमा लागू गर्नु नै मेरो समस्याको समाधान थियो र यो असल बानी अहिलेसम्म ममा छ।” निस्सन्देह, खराब बानी हटाएर त्यसको सट्टा असल बानी विकास गर्नु सबैभन्दा उत्तम कुरा हो।
हाम्रो सरसंगति कस्तो छ, त्यसले पनि असल वा खराब बानीहरू विकास गरिरहेको हुनसक्छ। खराब बानीहरूझैं असल बानीहरू पनि सिक्न सकिन्छ। “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ” भनेझैं असल साथीहरूले हामीलाई हितकर बानीहरू अनुकरण गर्न मदत गर्नसक्छन्। (१ कोरिन्थी १५:३३) सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, बानीले यहोवासँगको हाम्रो सम्बन्धलाई कि त बलियो बनाउँछ कि कमजोर तुल्याउनसक्छ। स्टेला भन्छिन्: “हाम्रो बानी असल छ भने त्यसले यहोवाको सेवा गर्ने हाम्रो संघर्षलाई सजिलो बनाउँछ। तर ती हानिकारक छन् भने त्यसले हाम्रो प्रयासमा बाधा पुऱ्याउँछ।”
असल बानी बसाल्नुहोस् र त्यसले तपाईंलाई डोऱ्याऊन्। ती तपाईंको जीवनमा शक्तिशाली र लाभदायी साबित हुनेछन्।
[पृष्ठ १९-मा भएको चित्र]
आगोले जस्तै बानीले लाभ वा हानि पुऱ्याउनसक्छ
[पृष्ठ २१-मा भएको चित्र]
विश्रामको दिनमा सभाघरमा गएर परमेश्वरको वचन पढ्ने येशूको बानी थियो
[पृष्ठ २२-मा भएका चित्रहरू]
असल आध्यात्मिक बानीले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई बलियो बनाउँछ