“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ”
हामी सबै आशिषित् हुन चाहन्छौं। दी अमेरिकन हेरिटेज कलेज डिक्सनरी नामक शब्दकोश-अनुसार आशिष्ले “सुख, समृद्धि र सौहार्दताको” प्रवर्धन गर्छ। “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने परमेश्वर नै हुनु भएकोले प्रत्येक साँचो र चिरकालीन आशिष्हरू हाम्रो मायालु सृष्टिकर्ताबाटै हो भन्नु उचित छ। (याकूब १:१७) उहाँले आफूलाई नचिन्ने मानिसहरूलगायत सबैलाई आशिष् दिनुहुन्छ। आफ्नो पिताबारे येशूले यसो भन्नुभयो: “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) तथापि, यहोवाले उहाँलाई चिन्ने मानिसहरूप्रति विशेष चासो देखाउनुहुन्छ।—व्यवस्था २८:१-१४; अय्यूब १:१; ४२:१२.
भजनरचयिताले यस्तो लेखे: “इमानदारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्न।” (भजन ८४:११) हो, यहोवालाई चिन्ने मानिसहरूले सन्तोषजनक र अर्थपूर्ण जीवन बिताउँछन्। “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न” भनी तिनीहरूलाई थाह छ। बाइबलले यसो पनि भन्छ: “उहाँबाट आशिष पाउनेहरूले देश अधिकार गर्छन्।” (हितोपदेश १०:२२; भजन ३७:२२, २९) त्यो कस्तो आशिष्को कुरा हुनेछ!
हामी कसरी यहोवाको आशिष् पाउनसक्छौं? एउटा कुरा त, हामीले उहाँलाई प्रसन्न तुल्याउने गुणहरू खेती गर्नुपर्छ। (व्यवस्था ३०:१६, १९, २०; मीका ६:८) हामी यो पुरातन समयका यहोवाका तीन जना सेवकहरूको उदाहरणबाट बुझ्नसक्छौं।
यहोवाले आफ्ना सेवकहरूलाई आशिष् दिनुहुन्छ
नूह परमेश्वरका उल्लेखनीय सेवक थिए। उत्पत्ति ६:८ मा हामी यसो लेखिएको पाउँछौं: “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो।” किन? किनभने नूह आज्ञाकारी थिए। विवरण यसो भन्छ: “तिनी परमेश्वरको साथै हिंड़नेगर्थे।” नूहले यहोवाका धार्मिक सिद्धान्त तथा आज्ञाहरू पालन गरे। त्यतिबेला संसार हिंसा र भ्रष्ट जीवनशैलीमा चुर्लुम्म डुबेको थियो तर नूहले भने ‘परमेश्वरले आज्ञा गरेबमोजिम सबै गरे।’ (उत्पत्ति ६:९, २२) फलस्वरूप, यहोवाले तिनलाई ‘आफ्ना परिवारलाई बचाउन जहाज तयार पार्न’ भन्नुभयो। (हिब्रू ११:७) यसप्रकार, नूह तथा तिनको परिवार र तिनीहरूमार्फत सम्पूर्ण मानवजाति त्यसबेलाको विनाशबाट बच्यो। अनि नूह प्रमोदवनमा अनन्त जीवन पाउने प्रत्याशासहित पुनरुत्थानको आशा लिएर मरे। तिनले कत्ति प्रचुर मात्रामा आशिष् पाए!
अब्राहामसँग पनि परमेश्वरलाई प्रसन्न तुल्याउने गुणहरू थियो। ती गुणहरूमध्ये सबैभन्दा प्रमुख गुण विश्वास थियो। (हिब्रू ११:८-१०) आफ्नो सन्तानले पृथ्वी भरिनेछ र सबै राष्ट्रको निम्ति आशिष्को कारण हुनेछ भन्ने यहोवाको प्रतिज्ञामाथि विश्वास भएको कारण तिनले ऊर र पछि हारानको आरामदायी जीवन त्यागे। (उत्पत्ति १२:२, ३) निकै वर्षसम्म तिनको विश्वासको परीक्षा भयो तर छोरा इसहाक जन्मिंदा तिनले इनाम पाए। तिनीमार्फत अब्राहाम परमेश्वरले छान्नुभएको राष्ट्र इस्राएलको र अन्ततः मसीहको पुर्खा भए। (रोमी ४:१९-२१) यसबाहेक, तिनी “विश्वास गर्नेहरू सबैका पिता” हुन् र “उनी परमेश्वरका मित्र कहलिए।” (रोमी ४:११; याकूब २:२३; गलाती ३:७, २९) तिनले कस्तो अर्थपूर्ण जीवन बिताए र कत्ति प्रचुर मात्रामा आशिष् पाए!
विश्वासी पुरुष मोशालाई पनि विचार गर्नुहोस्। तिनका उल्लेखनीय गुणहरूमध्ये एउटा आध्यात्मिक कुराहरूको निम्ति तिनको मूल्यांकन थियो। मोशाले मिश्रको सबै धनसम्पत्तिलाई तिरस्कार गरेर “अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) मिद्यानमा ४० वर्ष बिताएर बूढो भएपछि तिनी मिश्र फर्के र आफ्ना भाइहरूको स्वतन्त्रताको लागि त्यतिबेलाका सबैभन्दा शक्तिशाली व्यक्ति फिरऊनसामु खडा भए। (प्रस्थान ७:१-७) तिनले दस विपत्ति, लाल समुद्र दुई फ्याक भएको र फिरऊनका सेनाहरूको सर्वनाश देखे। इस्राएललाई व्यवस्था दिन र नयाँ राष्ट्रसँग करार बाँध्न यहोवाले तिनलाई मध्यस्थकर्ताको रूपमा चलाउनुभयो। मोशाले ४० वर्षसम्म इस्राएल राष्ट्रलाई उजाडस्थानमा डोऱ्याए। तिनको जीवनको साँचो उद्देश्य थियो र तिनले यहोवाको सेवा गरेर प्रचुर आशिष्हरूको आनन्द उठाए।
वर्तमान समयमा आशिष्हरू
यी विवरणहरूले परमेश्वरको सेवा गर्ने व्यक्तिहरूको जीवन साँच्चै अर्थपूर्ण हुन्छ भनी देखाउँछ। परमेश्वरका जनहरूले आज्ञाकारिता, विश्वास र आध्यात्मिक कुराहरूको निम्ति मूल्यांकन जस्ता गुणहरू विकास गर्दा तिनीहरू साँच्चै आशिषित् हुन्छन्।
हामी कसरी आशिषित् छौं? मसीहीजगत्का लाखौं मानिसहरू आध्यात्मिक अनिकालको चपेटामा परिरहेको बेला हामीचाहिं “परमप्रभुको कृपाको कारण . . . अति हर्षित” हुनसक्छौं। (यर्मिया ३१:१२) यहोवाले येशू ख्रीष्ट तथा “विश्वासी र बुद्धिमान दास[मार्फत]” “अनन्त जीवन[तर्फ]” डोऱ्याउन प्रशस्त आध्यात्मिक आहार दिनुभएको छ। (मत्ती ७:१३, १४; २४:४५; यूहन्ना १७:३) हाम्रा मसीही भ्रातृत्वसँग संगति गर्न पाउनु पनि अर्को प्रचुर आशिष् हो। सभा तथा अन्य अवसरहरूमा प्रेम प्रदर्शित गर्ने र “नयाँ चोला धारण” गर्न साँच्चै प्रयास गर्ने सँगी विश्वासीहरूसँग बस्न पाउनु साँच्चै ठूलो आनन्दको स्रोत हो। (कलस्सी ३:८-१०; भजन १३३:१) तथापि, हाम्रो सबैभन्दा ठूलो आशिष् भनेको यहोवासँग व्यक्तिगत सम्बन्ध गाँस्न पाउनु र उहाँको पुत्र, ख्रीष्ट येशूको पाइलामा हिंड्न पाउनु जस्तो अनमोल सुअवसर हो।—रोमी ५:१, ८; फिलिप्पी ३:८.
त्यस्ता आशिष्हरू विचार गर्दा हामीले परमेश्वरलाई चढाएको सेवा साँच्चै कत्तिको अनमोल रहेछ भनी बुझ्छौं। सायद बहुमूल्य मोती खोज्ने व्यापारीबारे येशूले दिनुभएको दृष्टान्त हाम्रो मनमा आउनसक्छ। येशूले यस मानिसबारे यसो भन्नुभयो: “त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:४६) साँच्चै यहोवासँगको हाम्रो सम्बन्ध, उहाँको सेवा गर्ने सुअवसर, हाम्रो मसीही संगति, हाम्रो मसीही आशा र हाम्रो विश्वाससँग सम्बन्धित अन्य सबै आशिष्हरूबारे हामी पनि त्यस्तै महसुस गर्छौं। हाम्रो जीवनमा योभन्दा बहुमूल्य कुरा अरू केही छैन।
परमेश्वरलाई फर्काउनुहोस्
हरेक असल वरदानको दाता यहोवा हुनुहुन्छ भनी बुझ्दा, त्यसले हामीलाई आफूले पाएका आशिष्हरूप्रति कृतज्ञता जाहेर गर्न उत्प्रेरित गर्छ। हामी कसरी त्यस्तो कृतज्ञता व्यक्त गर्नसक्छौं? एउटा तरिका हो, अरूलाई पनि यस्ता आशिष्हरूको आनन्द उठाउन मदत गर्नु। (मत्ती २८:१९) आफ्ना छिमेकीहरूलाई यस्तै आशिष्को आनन्द उठाउन मदत गर्न यहोवाका साक्षीहरू २३० भन्दा बढी मुलुकहरूमा व्यस्त छन्। अरू मानिसहरू पनि “सत्यको ज्ञानमा आऊन्” भन्ने हेतुले मदत गर्न तिनीहरू आफ्नो सीमित स्रोत जस्तै, समय, शक्ति र भौतिक चीजहरू खर्च गर्छन्।—१ तिमोथी २:४.
सं.रा.अ.-को ग्लेनडेल, क्यालिफोर्नियामा बसोबास गर्ने अग्रगामीहरूलाई विचार गर्नुहोस्। प्रत्येक शनिबार बिहान तिनीहरू संघीय जेलसम्म जान १०० किलोमिटर लामो दुईतर्फी यात्रा गर्छन्। कैदीहरूसँग केही घण्टा मात्र बिताउन सकिने भए तापनि तिनीहरू निरुत्साहित हुँदैनन्। तिनीहरूमध्ये एक जना यसो भन्छन्: “यस अनौठो इलाकामा सेवा गर्नु एकदमै इनामदायी छ। हामी आनन्दित भएर यो काम गरिरहेका छौं। हामीले यति धेरै जिज्ञासु व्यक्तिहरू भेट्टाएका छौं कि सबैलाई व्यक्तिगत रूपमा भेट्नै गाह्रो छ। हाल हामी पाँच जना व्यक्तिसँग अध्ययन गर्दैछौं र थप चार जनाले बाइबल अध्ययनको निम्ति आग्रह गरेका छन्।”
जोसिला मसीही सेवकहरू जीवन बचाउने यो काम निश्शुल्क गर्न आनन्दित छन्। तिनीहरू येशूको मनोभाव झल्काउँछन्, जसले यसो भन्नुभयो: “सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) संसारभरि अन्य लाखौं मानिसहरू यस्तै निःस्वार्थ सेवामा लागेका छन्, जसको फलस्वरूप, निष्कपट हृदय भएका मानिसहरू सुसमाचार सुनेर चेला भएका छन्। गत पाँच वर्षभित्र मात्र झन्डै एक लाख ७० हजार मानिसहरूले आफ्नो जीवन यहोवालाई समर्पित गरेका छन्। अटुट रूपमा भइरहेको यस्तो विस्तार कार्यका आवश्यकताहरू पूरा गर्न बाइबल तथा बाइबल आधारित साहित्यहरूका साथै नयाँ राज्यभवन तथा भेला हुने अन्य ठाउँहरू निर्माण गर्नुपर्छ। यी आवश्यकताहरू पूरा गर्न पैसा कहाँबाट आउँछ? पूर्णतया स्वेच्छिक अनुदानहरूबाट।
संसारका कुनैकुनै ठाउँको आर्थिक अवस्था एकदमै कमजोर भएको कारण थुप्रैले आफ्नो परिवारको हातमुख जोड्न निकै संघर्ष गर्नुपर्छ। न्यु साइन्टिस्ट पत्रिकाअनुसार एक अरब मानिसले आफ्नो आयस्रोतको झन्डै ७० प्रतिशत घरायसी कामको लागि खर्च गर्छन्। हाम्रा थुप्रै मसीही भाइबहिनीहरू त्यस्तै अवस्थामा छन्। सँगी विश्वासीहरूको सहयोगविना तिनीहरूले मसीही प्रकाशन वा उपयुक्त राज्यभवन पाउन सक्दैनन्।
निस्सन्देह, यहाँ त्यस्ता व्यक्तिहरू अरूले तिनीहरूको भार बोकिदिएकोमा सन्तुष्ट हुन्छन् भन्न खोजिएको होइन। तर तिनीहरूलाई सहयोग चाहिन्छ। यहोवाका आशिष्हरूको निम्ति धन्यवादी छौं भनी देखाउन भौतिक कुराहरू दान दिन इस्राएलीहरूलाई प्रोत्साहन दिंदा मोशाले यसो भने: “परमप्रभु तिमीहरूका परमेश्वरले हरेकलाई दिनुभएको आशिषअनुसार परमप्रभु आफ्ना परमेश्वरलाई हरेकले आफ्नो औकातअनुसार चढ़ाओस्।” (व्यवस्था १६:१७) तसर्थ, येशूले एक विधवाले मन्दिरमा “दुई पैसा चढ़ाएकी देख्नु” हुँदा चेलाहरूसमक्ष उहाँले तिनको प्रशंसा गर्नुभयो। तिनले आफ्नो औकातअनुसार दिए। (लूका २१:२, ३) त्यसै गरी, आर्थिक अवस्था कमजोर भएका मसीहीहरूले आफूले सक्दो गर्छन्। अनि नपुगेको खण्डमा आर्थिक अवस्था त्यति कमजोर नभएका सँगी मसीहीहरूले दिएको अनुदानद्वारा त्यस्तो कमी पूरा गर्न सकिन्छ।—२ कोरिन्थी ८:१३-१५.
यसरी परमेश्वरलाई दिंदा असल मनसाय हुनु आवश्यक छ। (२ कोरिन्थी ८:१२) पावलले यसो भने: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) खुला हृदयले दिंदा हामीले अहिले भइरहेको ईश्वरतान्त्रिक विस्तारका साथै आफ्नो आनन्द बढाउनमा योगदान पुऱ्याइरहेका हुनेछौं।—प्रेरित २०:३५.
प्रचारकार्यमा भाग लिनु र स्वेच्छिक अनुदान दिनु, यहोवाले हामीलाई दिनुभएको आशिष्को सट्टा हामीले उहाँलाई दिनसक्ने दुई तरिका हुन्। अहिले उहाँलाई नचिन्ने थुप्रै निष्कपट मानिसहरूलाई उहाँ आशिष् दिन चाहनुहुन्छ भन्ने कुरा थाह पाउँदा हामी कत्ति प्रोत्साहित हुन्छौं! (२ पत्रुस ३:९) अतः हामी यहोवाको सेवामा हाम्रा स्रोत तथा साधनहरू प्रयोग गरौं अनि निष्कपट मानिसहरूलाई भेट्टाउन र तिनीहरूलाई आज्ञाकारिता, विश्वास र मूल्यांकनजस्ता गुणहरू विकास गर्न मदत गरौं। यसो गर्दा हामीले तिनीहरूलाई “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ” भनी बुझ्न मदत गरिरहेका हुनेछौं र हामी आफै पनि आनन्दित हुनेछौं।—भजन ३४:८.
[पृष्ठ २८, २९-मा भएको पेटी]
केही व्यक्तिहरूले स्वेच्छासाथ विश्वव्यापी कामका लागि चन्दा दिने तरिकाहरू
“सोसाइटीको विश्वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा छुट्याउँछन् वा बजेट बनाउँछन्।
हरेक महिना मण्डलीहरूले यी धनराशि यहोवाका साक्षीहरूको न्यु योर्क, ब्रूकलिनस्थित मुख्यालय वा स्थानीय शाखा कार्यालयमा पठाउँछन्। स्वेच्छापूर्वक चन्दा दिइएको रूपैयाँ-पैसा The Watch Tower Bible and Tract Society of India, G-37, South Avenue, Santacruz, Mumbai 400 054, मा वा तपाईंको देशमा भएको शाखा कार्यालयमा पनि सीधै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।
परोपकारी योजना
पूर्ण दान र सर्तनामा चन्दाबाहेक विश्वव्यापी राज्य सेवाको लागि लाभप्रद दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्। ती हुन्:
बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।
बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।
ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि सोसाइटीलाई पूर्णतया उपहारको रूपमा चन्दा दिन सकिन्छ।
घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने घर, जग्गाजमिन पनि वाच टावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घर, जग्गाजमिनलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घर, जग्गाजमिनलाई दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुपर्छ।
वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ।
सोसाइटीलाई हकदारको रूपमा वसियतनामा बनाउँदा कृपया, इन्डियन सक्सेसन एक्ट, १९२५ को धारा ११८ मा पाइएको निम्न कुरालाई ध्यान दिनुहोस्, “भानिज, भतिजी वा अन्य कुनै नजिकको नातेदार भएको मानिसले आफ्नो जायजेथा धार्मिक वा परोपकारी कार्यको निम्ति दिन मिल्दैन र यदि दिने नै हो भने पनि तिनले स्वेच्छाले आफ्नो मृत्युभन्दा बाह्र महिनाअघि वसियतनामा गर्नुपर्छ र वसियतनामा गरेको छ महिनाभित्र कानुनअनुसार कुनै जीवित व्यक्तिको जिम्मामा सुम्पनुपर्छ।”
तपाईं आफ्नो वसियतनामामा वाच टावर सोसाइटीलाई हकदार बनाउन चाहनुहुन्छ भने कृपया तपाईंको वसियतनामामा उल्लेख गर्नुपर्ने सोसाइटीको निम्न पूरा नाउँ र ठेगाना याद गर्नुहोस्:
The Watch Tower Bible and Tract Society of India
G-37, South Avenue,
Santa Cruz,
Mumbai - 400 054.